कल्याणी खड्का, (रुकुम पश्चिम)
प्रदेश सभा सदस्य, कर्णाली प्रदेश
मेरो घर रुकुम पश्चिमको चौरजहारी नगरपालिका हो । म पनि अहिले भूकम्प प्रभावित व्यक्तिमध्येकै एक हो । २०८० कात्तिक १७ गतेको जाजरकोट भूकम्प र २० गतेको परकम्पका कारण रुकुम पनि धेरै प्रभावित भयो । रुकुमको सबैभन्दा बढी प्रभावित भएको ठाउँ आठबिसकोट नगरपालिका हो । त्यहाँका केही वडामा त एकै परिवारका चार जना, पाँच जनासम्मको पनि मृत्यु भएको छ । धेरै घाइते छन् । भौतिक क्षति पनि त्यस्तै छ ।
हामी सुरुदेखि उद्धार र राहतको काममा लागिरहेका छौँ । म पनि फिल्डमा खटिइरहेको छु । सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने नीति लिएको छ । सरकार तथा गैरसरकारी सङ्घसंस्था लगायत सबैले गरेको सहयोग र स्थानीय रूपमा हामीले गरेको प्रयासका बाबजुद पनि भूकम्प प्रभावितहरूको तर्फबाट हेर्दा आधारभूत राहत सुविधा नै सबैले पाउन सकेको देखिँदैन । अझैसम्म सबैले राहत सुविधा पाएका छैनन् । बाहिरबाट हेर्दा पैसा आएकोआएई देखिन्छ तर यहाँको वास्तविकता अर्कै छ ।
विशेष अवस्था र उमेरका व्यक्तिको ख्याल
शुक्रबार मध्यराति भूकम्प गयो । त्यसको भोलिपल्ट शवहरू सङ्कलन गरेर सामूहिक दाहसंस्कार गर्यौँ । दाहसंस्कारपछि किरियापुत्री बस्ने ठाउँ र खानेकुराको व्यवस्थापनमा ध्यान दियौँ । त्यस्तै, हामीले सुत्केरी अवस्थाका महिलाका साथै बालबच्चा र बुढाबुढी उमेरका व्यक्तिहरूलाई पनि प्राथमिकतामा राख्दै काम गर्दै आएका छौँ । तर, राहतको अनुभव गर्न र गराउन सकिएको छैन ।
सुत्केरीहरूले तातो खानेकुरा, न्यानो ओढ्ने तथा लगाउने कपडा नै पाएका छैनन् । सुत्केरी अवस्थामा खानुपर्ने पोषिलो खानेकुरा त झन् कसरी पाउनु र ? नवजात शिशु र बालबच्चाहरूको अवस्था पनि त्यस्तै नाजुक छ । त्यस्तै, बुढाबुढी उमेरका र रोगी तथा अशक्त अवस्थाका व्यक्तिहरूको समस्या आफ्नै खालको छ । यहाँ दिनहुँ चिसो बढ्दै आइरहेको छ । रातभर शीत पर्छ । घरभित्र बस्न सक्ने अवस्था नभएकाहरू चिसो रातमा घरबाहिर बसेर कसरी र कहिलेसम्म टिक्न सकिन्छ भन्ने प्रश्न पनि सङ्गीन बन्दै आइरहेको छ । भूकम्प त गयो, गयो । परकम्पहरू आइरहेका छन् । यस्तो समयमा बुद्धि पुर्याएर उचित व्यवस्थापन गर्न नसक्दा थपिन सक्ने सङ्कट र क्षतिसँग सम्बन्धित सवाल झनै पेचिलो हुँदो रहेछ ।
भारी बोकेर घण्टौँ हिँडेर जान सक्ने युवा गाउँघरमा पाउनै गाह्रो छ । गाउँमा भएका कतिपय युवा पनि भूकम्पमा परी घाइते अवस्थामा छन् । यहाँ बजेट अभावले भन्दा पनि जनशक्तिको अभावले समस्या चर्को देखिएको छ ।
म केही दिन अघि मुसिकोट नगरपालिकाको नगर अस्पताल गएको थिएँ । त्यहाँ तीन जना सुत्केरी भएका रहेछन् । अस्पतालले डिस्चार्ज गरिसकेको रहेछ । डिस्चार्ज भएर उहाँहरू कसरी कहाँ जाने भन्ने थाहा थिएन । सबै जना अन्योलमा परेको देखेँ । खुला ठाउँमा ओत लाग्नका लागि पनि त्यहाँ कसैले पाल पाएकै थिएनन् । बुझ्दै जाँदा थाहा भयो, त्यहाँ नजिकै एउटा अलि बस्न मिल्ने एउटा घर रहेछ । सबै लागेर त्यो घरको सरसफाइ गर्यौँ । त्यसपछि तीनैजना सुत्केरीहरूलाई त्यहीँ गएर बस्न भनी पठायौँ ।
भूगोल र प्रकृतिको मात्रै छैन दोष
हो, रुकुमका कतिपय प्रभावित ठाउँहरूमा पुग्न तीन–चार घण्टासम्म पैदल हिँड्नुपर्छ । सबै ठाउँमा गाडीको सुविधा पुगेको छैन । सबै गाउँमा मोटर चल्न सक्ने बाटो बनाइएको पनि छैन । यसैले सङ्घसंस्थाले राहत सामग्री पनि गाडी चल्ने ठाउँसम्म मात्रै लगेर छोडिदिन्छन् । त्यहाँबाट आवश्यक परेको ठाउँमा राहत सामग्री बोकेरै पुर्याउन पर्छ । त्यसका लागि थप जनशक्ति चाहिन्छ । जनप्रतिनिधि तथा उद्धार टोलीले मात्रै भ्याएका छैनन् । भारी बोकेर घण्टौँ हिँडेर जान सक्ने युवा गाउँघरमा पाउनै गाह्रो छ । गाउँमा भएका कतिपय युवा पनि भूकम्पमा परी घाइते अवस्थामा छन् । यहाँ बजेट अभावले भन्दा पनि जनशक्तिको अभावले समस्या चर्को देखिएको छ ।
अलि काम गर्न सक्ने युवा उमेरका मानिस गाउँमा छैनन् । यसैले भत्केका घरहरूबाट महत्त्वपूर्ण सामानहरू समेत निकाल्न नपाएको गुनासो पनि स्थानीय भूकम्प प्रभावितहरूको छ ।
अर्को समस्या भनेको, गाउँघरतिर त संयुक्त परिवारमा बस्नेहरू हुन्छन् । छोरा, छोरी, सासू, ससुरा, जेठाजु, बुहारी आदि नातासम्बन्धका मान्छे एउटै परिवारमा हुन्छन् । घरमा पो कोठा–कोठा हुन्छ र उनीहरू एउटै घरमा बस्छन् । एउटै पालमुनि खुला रूपमा परिवारका सबै मान्छे बस्न त अप्ठ्यारो हुन्छ । अप्ठेरो हुने भएकाले प्रतिपरिवार एउटा पाल दिएर नहुने रहेछ भन्ने पनि देखियो ।
अलि काम गर्न सक्ने युवा उमेरका मानिस गाउँमा छैनन् । यसैले भत्केका घरहरूबाट महत्त्वपूर्ण सामानहरू समेत निकाल्न नपाएको गुनासो पनि स्थानीय भूकम्प प्रभावितहरूको छ । सुरुदेखि म पनि उद्धार र राहतका काम गर्दै भूकम्प पीडित र प्रभावितहरूसँग छु । अभाव र समस्या हिजो र आज उस्ताको उस्तै छ भन्दा हुन्छ ।
भूकम्प जस्ता प्राकृतिक प्रकोपहरू पूर्वसूचना दिएर आउँदैनन् । तर, मानिसले तिनलाई बेलैमा विश्लेषण गरेर पूर्वतयारी गरी सम्भाव्य क्षतिलाई घटाउन सक्छन् । मानिसले नै भूकम्पबाट हुन सक्ने पश्चप्रभावलाई पनि कम गर्न सक्छन् । भनिन्छ, जिम्मेवार निकायका जिम्मेवार व्यक्तिहरूले यो काम गर्नुपर्छ र गर्न सक्नु पनि पर्छ । अपेक्षित काम नभइसकेपछि जनस्तरबाट प्रश्न उठ्छन् र उठाइनु पनि पर्छ । राज्यको जिम्मेवार निकायले भूगोलको अप्ठेरो र प्रकृतिको प्रकोपलाई मात्रै दोष दिएर उम्किने र जोगिने ठाउँ अब छैन । भूगोल र प्रकृतिलाई दोष दिएर उम्किने जुक्ति खोज्ने पनि होइन । हेक्का रहोस्, कुनै एउटा भूकम्पले भूकम्पीय जोखिम क्षेत्रमा रहेका गाउँठाउँको प्रकोप टर्ने होइन । यसैले राज्यसत्ता हातमा लिएर बसेका मानिसहरूले बेलैमा हरसम्भव उपाय खोजौँ र इमानदारीपूर्वक आजको अवस्थालाई सम्हाल्दै भोलिको तयारी पनि थालौँ भन्न चाहन्छु ।
जाजरकोट भूकम्पका थप कथाहरू
- जाजरकोट भूकम्पपछिको सञ्चारमा रेडियोकर्मी लीला
- सुत्केरी, नवजात शिशु र बालबालिकाको दल्ली र चिउरीमा बिजोग (फोटो फिचर)
सन्धान प्रकाशन मिति : २०८० कार्तिक २६ गते, आइतवार