Home Photo Feature सुत्केरी, नवजात शिशु र बालबालिकाको दल्ली र चिउरीमा बिजोग (फोटो फिचर)

सुत्केरी, नवजात शिशु र बालबालिकाको दल्ली र चिउरीमा बिजोग (फोटो फिचर)

308
0

जाजरकोट केन्द्रविन्दु भएर २०८० कात्तिक १७ गते मध्यराति भएको भूकम्प र २० गतेको परकम्पबाट प्रभावितहरूले हप्ता दिन बितिसक्दा पनि पेटभरि खान, रातिमा ओत लाग्न र न्यानो कपडाले शरीर छोपिने गरी राहत पाएका छैनन् । त्यसमा पनि विशेष गरी सुत्केरी, नवजात शिशु, बालबालिका तथा वृद्धवृद्धाहरूको हालत झन् झन् सङ्कटतिर धकेलिइरहेको छ । आफन्त बितेकाहरू पनि शोकसँगै भोक र चिसाको मारमा परिरहेका छन् । ससाना बालबच्चा भएका आमा तथा भर्खरै सुत्केरी भएका महिलाहरू थप कष्ट, पीडा र तनावमा मानवीय राहतको आशा गरिरहेका छन् ।

सुत्केरी र उनीहरूका आफन्तले बताए अनुसार, सुत्केरीलाई खुवाउने खालका अत्यावश्यक खानेकुरा र नवजात शिशुलाई लगाइदिने तातो कपडा तथा बच्चाले दिसापिसाब गरेपछि फेरिदिने थाङ्नो कपडा पनि नपाएको अवस्था छ । नलगाड नगरपालिकामा मात्रै एक–दुई दिनदेखि छ–सात महिनासम्मका करिब पाँचसय जना सुत्केरी आमाहरू भएको जानकारी सोही नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई कार्यालयले दिएको छ । तर, सुत्केरी, नवजात शिशुलाई चाहिने खालका सामग्री समावेश गरी राहतमा पनि दिइएको छैन ।

भर्खरै सुत्केरी भएका महिलाहरूलाई स्वास्थ्य चौकीले पनि सुत्केरी हुनेबित्तिकै डिस्चार्ज गर्ने गरेको छ । भूकम्पका कारण कतिपय ठाउँमा पहिरो गएर मोटरबाटो बन्द भएको छ भने बाटो भएका ठाउँमा पनि गाडी नपाइने अवस्था छ । यसैले सुत्केरी भएलगत्तै महिलाले हिँडेरै आफ्नो भत्किएको घर छेउको सामान्य पालमा पुग्नुपरेको छ ।

गर्भधारण गरेको सात–आठ महिना पुगेका गर्भवतीहरूको चिन्ता पनि उस्तै छ । सुत्केरी हुन स्वास्थ्य संस्थाले दिएको दिन आउन २० दिन बाँकी भएको दिन एक गर्भवतीले यसरी चिन्ता व्यक्त गर्नुभयो– न बस्ने ठाउँ छ, न पोषिलो खानेकुरा, यता र उता गर्दा पेटको बच्चालाई केही भइहाल्ने हो कि ?

महिनावारी हुने उमेरका किशोरी र महिलाको पनि आफ्नै खालको पीडा छ । राहत भनेर खानेकुरा र केही लत्ताकपडा दिए पनि ‘प्याड’ कसैले दिएका छैनन् । पुराना कपडा प्रयोग गरौँ न त भन्दा पनि भूकम्पमा भत्किएको घरभित्रै पुरिएको अवस्था छ । प्याड र पुराना कपडा दुबै नपाउँदा भर्खरैका सुत्केरीले पनि व्यक्तिगत सरसफाइ गर्न सकेका छैनन् । यसले गर्दा सङ्क्रमणको जोखिम पनि बढेको छ ।

प्राप्त जानकारी अनुसार, भूकम्प प्रभावित क्षेत्र जाजरकोटको नलगाड नगरपालिकाको दल्ली र चिउरी गाउँ बढी प्रभावित क्षेत्रमध्येमा पर्दछन् । जिल्ला सदरमुकाम खलङ्गाबाट करिब दुई घण्टाको पैदल दुरीमा पर्ने यी ठाउँमा ‘सन्धान’ को जिल्ला प्रतिनिधिले भूकम्पपछि देखेको अवस्थालाई तस्बिरमा प्रस्तुत गरिएको छ :

सन्धान प्रकाशन मिति : २०८० कार्तिक २४ गतेशुक्रबार


Previous articleजाजरकोट भूकम्पपछिको सञ्चारमा रेडियोकर्मी लीला
Next articleगाउँमै छैनन् राहत सामग्री बोकेर पुर्‍याइदिने युवा