Home Photo Feature मर्यादित महिनावारीकी अभियन्ताको मनास्लु हिमाल आरोहण यात्रा (फोटो फिचर)

मर्यादित महिनावारीकी अभियन्ताको मनास्लु हिमाल आरोहण यात्रा (फोटो फिचर)

4388
0

सगरमाथा आरोही संगीता रोकाया मर्यादित महिनावारी अभियानकी अभियन्ता पनि हुनुहुन्छ । उहाँले हालै मनास्लु हिमालको पनि सफल आरोहण गर्नुभयो । आठ हजार १६३ मिटर उचाइ रहेको यो हिमाल विश्वको आठौँ अग्लो हिमाल हो । संगीताका अनुसार, उहाँको टोलीले असोज ४ गते बिहान ५ बजेर २० मिनेटमा मनास्लु शिखर आरोहण गरेको हो ।

छाउपडी प्रथाविरुद्धको अभियानमा क्रियाशील संगीताले यसअघि २०८० जेठमा सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । उहाँले सगरमाथाको चुचुरोमा ‘छाउपडी प्रथा अन्त्य गरौँ’ भन्ने सन्देश लेखिएको तुल (ब्यानर) पनि प्रदर्शन गर्नुभएको थियो । पायोनियर एड्भेन्चर कम्पनीबाट गएको आरोहण टोलीमा संलग्न भएकी संगीताले मनास्लुको चुचुरोमा पनि उक्त ब्यानर पुर्याएको बताउनुभएको छ ।

यसअघि सगरमाथा आधारशिविर (बेसक्याम्प) मा महिनावारी भएर पनि आरोहण नरोकेकी संगीता भन्नुहुन्छ, “हिमाल र महिनावारी दुवै प्राकृतिक कुरा हुन् । त्यसैले महिनावारी भएकै आधारमा किशोरी, महिलालाई छाउपडी प्रथा वा कुनै पनि नाममा विभेद गर्नुहुँदैन । महिनावारीलाई मर्यादित प्रक्रियाको रूपमा लिनुपर्छ भन्ने अभियानमा छु ।”

अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस डिसेम्बर ८ मा मनाइँदै आएको छ । सो दिनलाई संयुक्त राष्ट्रसंघले नै ‘मर्यादित महिनावारी दिवस’ घोषणा गरोस् भन्ने अपिल गर्दै आफूले मनास्लुको चुचुरोमा पनि ‘छाउपडी प्रथा अन्त्य गरौँ’ भन्ने सन्देश लेखिएको ब्यानर पु¥याएको संगीताको भनाइ छ ।

सबै तस्बिरहरू सौजन्यः संगीता रोकाया

बझाङको साइपाल गाउँपालिका वडा नम्बर ४ धुलीकी संगीता सगरमाथा र मनास्लु आरोहण गर्ने पहिलो बझाङी हुनुहुन्छ । उहाँको घोषित लक्ष्य छ, आठ हजार मिटरभन्दा माथिका विश्वका १४ वटै हिमाल आरोहण गर्ने !

महिनावारी र छाउपडी विरुद्धका थप कथाहरू

सन्धान प्रकाशन मिति : २०८० असाेज १७ गते, बुधबार