ललितपुरको नख्खुस्थित घरको दोस्रो तला । कोठाका झ्यालबाट बिहान उदाएदेखि बेलुकी अस्ताएसम्मकै घाम ओछ्यानमा लागिरहन्छ । सुत्ने खाटको भित्तापट्टि ५/६ वटा बट्टा । तीमध्ये कुनैमा ल्वाङ, कुनैमा सुकुमेल छन् भने कुनैमा दालचिनी र पानमसला राखिएका छन् । सिरानीको छेउमै सानो घण्टी छ । केही परेर कसैलाई बोलाउनुपर्यो भने चाहिन्छ भनेर राखिएको घण्टी हो त्यो । सिरानीकै अलि माथि भित्तामा औषधिको नाम र खाने समय लेखिएको सेतो एफो साइजको कागज टाँसिएको छ । यो चाँजोपाँजो एकसय वर्षकी इन्द्रमाया पौड्यालका लागि मिलाइएको हो ।
भारतको मणिपुरमा १९८० साल असारमा जन्मिएकी इन्द्रमायाले गत असारमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुभयो । एकसय वर्ष प्रवेशको अवसरमा इन्द्रमायाले त्यो भेट पाउनुभएको थियो । भेटमा राष्ट्रपति भण्डारीले विभिन्न जिज्ञासा राख्नुभयो र झन्डै तीन घण्टा इन्द्रमायाको जीवनका ऐतिहासिक अनुभव सुन्नुभयो ।
तुलसादेवी र दामोदर खतिवडाकी छोरी इन्द्रमायाको बाल्यकाल बर्मा (हालको म्यान्मार) मै बित्यो । इन्द्रमाया भन्नुहुन्छ, “म कहाँ जन्मेँ भन्दा पनि मैले थाहा पाउँँदा म बर्मामा थिएँ ।” उहाँका बुबा पण्डित हुनुहुन्थ्यो । बर्मामा रहेको उहाँको घरमा नै संस्कृत पाठशाला थियो । त्यही भएर इन्द्रमायाले सानैदेखि संस्कृत पढ्ने अवसर पाउनुभयो । संस्कृतसँगै नेपाली भाषा, साहित्य, व्याकरण र ज्योतिष शिक्षा लिनुभएकी उहाँलाई संस्कृत भाषाको बढी नै माया लाग्दो रहेछ ।
आमाबुबाले नौ वर्षको उमेरमा नै इन्द्रमायाको बिहे गरिदिनुभयो । बिहे भए पनि उहाँले पढाइ भने छोड्न परेन । बिहेपछिको छ वर्ष आमाबुबाकै घरमा बसेर पढ्न पाउनुभयो । १५ वर्ष पुगेपछि श्रीमान्को घर जानुपर्ने भयो । त्यतिबेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो । बर्माको ठाउँ समय खराब चलिरहेको थियो । आक्रमणबाट बच्नलाई घरै छोडेर भाग्नुपर्ने पनि हुन्थ्यो । भाग्दा उहाँका श्रीमान् कता उहाँ कता हुनुपरेका अनुभव पनि छन् । उहाँ १५/१६ दिनको सुत्केरी अवस्थामा जमिनमुनि खाडल खनेर काखेबच्चासँगै लुकेर बस्नुपरेको पनि सम्झनु हुन्छ । भर्खरैको सुत्केरी, आफूले पेटभरि खान नपाउँदा बच्चालाई दुध पुग्दैनथ्यो । दुधेबच्चालाई खुवाउने अरू केही थिएन । त्यस्तो अवस्थामा पनि बाँचेको पहिलो सन्तान केही समयपछि बितेको दुःखद स्मरण पनि उहाँसँग ताजै छ ।
आठ सन्तान जन्मिएका थिए । तीन जना बिते । यस्तैमा इन्द्रमायालाई बुबाले नेपाल बोलाउनुभयो । विभिन्न उतारचढाव भोग्दै र सङ्घर्ष गर्दै रहेको उहाँको परिवार पनि बर्मा छोडेर नेपाल आउने भयो । पाँच सन्तान लिएर नेपाल आउँदै गर्दा बाटैमा श्रीमान् बिरामी भएर बित्नुभयो । काजक्रिया सकेर २०२५ सालमा उहाँ नेपाल आइपुग्नुभयो ।
अनेक दुःख, कष्ट, पीडा र सङ्घर्षका साथ इन्द्रमाया मोरङको चुनिबारी, कल्याणपुर भन्ने ठाउँमा बस्न थाल्नुभयो । त्यहाँ बर्माबाट फर्केका अरू पनि बसेका थिए । श्रीमान् गुमाएर भर्खरै एकल भएको अवस्था । त्यसमाथि नयाँ ठाउँमा बसोबासको व्यवस्था मिलाउनुपर्ने । अहिले ७७ वर्ष भएका जेठा छोरा धर्मराज त्यतिबेला २० वर्षका मात्रै थिए । ४५ वर्षको उमेरमा नेपाल आएर आप्रवासी र एकल महिलाको रूपमा इन्द्रमायाले गरेका सङ्घर्ष र मिहिनेतका कुरा भनिसाध्य छैन ।
जे भए पनि सानैदेखि सुन्दै आएको ‘दुःखमा आत्तिनु हुँदैन, सुखमा मात्तिनु हुँदैन’ भन्ने कुराले उहाँलाई प्रभाव पार्दै गयो । जीवनमा सन्तुलित बन्दै अघि बढ्न छोड्नुभएन । आधा उमेर बिताउँदै गर्दा नेपालमा आएर उहाँले पाँच छोराछोरीका लागि एकल अभिभावक बनेर जीवनमा अर्को अध्यायको सङ्घर्ष सुरु गर्नुभयो । पढ्न भनेपछि हुरुक्कै हुने उहाँले छोराछोरी पढाउन सक्दो दुःख र मिहिनेत गर्नुभयो । नेपाल आइसकेपछि चिया पसल राख्नेदेखि महिनाको पाँच रुपैयाँ लिएर गाउँका बच्चाहरूलाई ट्युसन पढाउनेसम्म गरेर गुजारा मात्रै चलाउनुभएन, सन्तानको भविष्य पनि बनाउनुभयो ।
इन्द्रमाया संस्कृत र नेपाली मात्र होइन, हिन्दी र बङ्गला भाषाको पनि ज्ञाता हुनुहुन्छ । चारै भाषा बोल्न र लेख्न सक्नुहुन्छ । देशमा भएका मुख्य घटनाका बारेमा ताजा जानकारी राख्न चाहने उहाँ नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख जस्ता उच्चपदमा महिलाहरू पुगेकामा निकै नै खुसी देखिनु हुन्छ । इन्द्रमाया भन्नुहुन्छ, “महिला पनि मान्छे हुन् भन्ने बल्ल हुनथाल्यो, नेपालमा एक पटक राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख तीनै ठाउँमा महिला प्रमुख हुँदा सत्ययुग यो हो भन्ने लाग्यो ।”
एकाध व्यक्तिले मात्र टेक्न पाउने एकसय वर्षको उमेर इन्द्रमाया पौड्यालले देख्न पनि पाउनुभयो । शताब्दी जन्मोत्सव मनाइसकेकी उहाँसँग ‘सन्धान’ ले हालै कुराकानी गरेको हो । यसमा बर्माको बसाइ, दोस्रो विश्वयुद्धको कहालीलाग्दो अनुभव, त्यो बेला महिलालाई समाजले हेर्ने दृष्टिकोणदेखि नेपालमा बसाइँ सरेपछिका सुखदुःखलगायत झन्डै सय वर्षको भोगाइ समेटिएको छ । आफ्नो स्मरणमा प्रायः आइरहने कुरालाई उहाँले बताउनुभएको छ । साथै, छोरा र छोरीको नजरमा आमाको जीवनभोगाइ कस्तो रह्यो र आमाबाट सिक्न सकिने कुरा के हुन् त ? यसको जवाफ इन्द्रमायाका जेठा छोरा धर्मराज पौड्याल र कान्छी छोरी डा. विमला राई पौड्यालले दिनुभएको छ ।
इन्द्रमाया पौड्यालसँगको एक सय बर्षको अनुभव भिडियो कुराकानी हेर्नुहोला
नोट : इन्द्रमाया कान अलि कम सुन्नुहुन्छ । कुराकानीमा सहजीकरण गर्नुभएका व्यक्ति उहाँकी छोरी डा. विमला राई पौड्याल हुनुहुन्छ ।
याे पनि पढ्नुहाेस्
- लाजले गर्दा एक्लै र अँध्यारामै जन्माएँ छोराछोरी (भिडियोसहित) – चेमकान्ती बस्याल
- ‘महिलाले गर्न हुँदैन’ भनिएका चार वटा विशिष्ट काम ५० वर्षअघि नै गरेँ’ – कविता पौडेल
- ‘जीवन सार्थक भएको ठान्छु’ -कुमारीकमला राई
- बिहे गर्दिएको भन्ने थाहा पाइनँ, भोलिपल्टै भागेर आमा भएको ठाउँमा आएँ (भिडियो सहित)
- सकुन्जेल स्वयंसेविका भइरहन पाए हुन्थ्यो जस्तो लाग्छ – कृष्णदेवी हायु (भिडियो सहित)
- एचआइभीविरुद्धकी ‘फाइटर’ – मथुरा
- श्रीमान् भए पनि एकल सङ्घर्षरत बिजमाया
प्रकाशन मिति : २०७९ पुस २३, शनिवार ।