Home Stories लाजले गर्दा एक्लै र अँध्यारामै जन्माएँ छोराछोरी (भिडियोसहित) – चेमकान्ती बस्याल

लाजले गर्दा एक्लै र अँध्यारामै जन्माएँ छोराछोरी (भिडियोसहित) – चेमकान्ती बस्याल

614
0

सुरक्षित सुत्केरीका लागि योगदान गरेकी चेमकान्ती बस्याल आफू भने एक्लै सुत्केरी हुनुभएको थियो । १९८५ सालमा पाल्पाको साबिक बराङ्दी गाविस–५ साफाकुममा जन्मेकी उहाँको सानैमा बिहे भएको थियो । बिहेपछि सोही ठाउँको बेलौतीखर्क पुग्नुभयो ।

उहाँ जन्मिनेबित्तिकै उहाँका बाबुको मृत्यु भएछ । त्यसपछि उहाँलाई आमाले हुर्काउनुभयो र नौ वर्ष पुग्दानपुग्दै बिहे गरिदिनुभयो । बिहेको प्रसङ्गमा उहाँ सम्झिनु हुन्छ, “मलाई दिदीको र श्रीमान्लाई भिनाजुको बिहेको कपडा लगाएर बेहुलाबेहुली बनाइएको थियो ।” सासूससुरा नभएको घरमा उहाँको बिहे भएको र घर गएकै दिनदेखि दुःखका दिनहरू सुरु भएको उहाँ बताउनु हुन्छ । त्यसमाथि उहाँका श्रीमान् प्रेमनारायण बस्याल २२ वर्ष त विदेशमै बस्नुभयो । घरबार सम्हाल्नुपर्ने कामको भार चेमकान्तीको एक्लो काँधमा थियो ।

चेमकान्तीका सात सन्तान जन्मिए । पहिलोपल्ट बेथा लाग्दा लाजको कारण तत्कालै मकैबारीमा पस्नुभयो । सुत्केरी हुँदा भोगेको कष्टको त लेखाजोखा नै भएन । मकैबारीमै बच्चा जन्मिएर रोयो । त्यसपछि मात्रै अरूले थाहा पाएका थिए । दुःखको कुरा, उहाँको पहिलो बच्चा एक दिन पनि रहेन । जन्मिएको दिनकै बेलुका खेर गयो । त्यसपछि अरू छ जना छोराछोरी जन्मिए । उनीहरू जन्मिँदा पनि उहाँ बेथा लाग्नेबित्तिकै अँध्यारो कोठातिर पस्नु हुन्थ्यो । श्रीमान्‌ले पनि बच्चा जन्मिएर रोएपछि मात्रै थाहा पाउनु हुन्थ्यो । उहाँ आफूले एक्लै सुत्केरी हुनुपर्दा भोगेको जस्तो पीडा र जोखिममा अरू नपरून् भन्ने चाहनु हुन्थ्यो । यसैले पछि आफैँ सुँडेनी बन्नुभयो । झन्डै ५० वर्ष गाउँका महिलाहरूलाई सुत्केरी गराएको अनुभव पनि उहाँसँग छ । कतिले अहिले पनि आफूसँग सुरक्षित सुत्केरीका लागि सल्लाह लिने गरेको उहाँ बताउनु हुन्छ ।

सात छोराछोरी जन्माउनु भएकोमा अहिले उहाँका दुई छोरी र तीन छोरा जीवित छन् । ती छाेराछाेरीबाट १९ जना नातिनातिना, र २१ जना पनातिपनातिना र दुई खनातिनी छन् । उहाँ रुपन्देहीको तिलोत्तमा नगरपालिका –१६ मधवलियामा छोराबुहारीसँग बस्ने गर्नुहुन्छ । उहाँको एक छोरी र दुई ज्वाईँको मृत्यु भइसक्यो भने छोराबुहारी, छोरीज्वाईँ तथा नातिनातिना, पनातिपनातिना र खनातिनीसहित ६१ जना अहिले उहाँको छातामुनि छन् । उहाँ काठमाडौँमा भएका छोराछोरी र नातिनातिनाकोमा पनि बेलाबखत आउजाउ गर्नुहुन्छ । केही समयअघि उहाँ काठमाडौँमा भएको बेला ‘सन्धान’ ले भिडियो अन्तर्वार्ता गरेको थियो । ९४ वर्षीया उहाँ कान कम सुन्नुहुन्छ । यसैले उहाँकी छोरी शान्ता बस्यालले अन्तर्वार्ताका लागि सहजीकरण गर्नुभएको थियो ।

चेमकान्तीसँग ‘सन्धान’ ले विशेष गरी बालविवाह, प्रजनन स्वास्थ्य, लोकलाजले एक्लै सन्तान जन्माउनुपर्ने अवस्था, प्रसव पीडा, मातृशिशु स्वास्थ्य, सुरक्षित सुत्केरीका साथै श्रीमान् विदेसिएका बेला एक्लै घर सम्हाल्दै छोराछोरी हुर्काउँदा खेप्नुपरेको दुःख र गर्नुपरेको सङ्घर्षका कुरा गरेको छ ।

भिडियाे हेर्नुहाेला

सन्धान, प्रकाशन मिति २०७९ मंसिर ८ गते बिहीवार


Previous articleबल्ल बुझ्दैछन् सहरी महिलाले आफूमाथिको हिंसा (भिडियो सहित) –महेश्वरी विष्ट
Next articleलैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान सुरु