Home Stories ‘जीवन सार्थक भएको ठान्छु’ -कुमारीकमला राई

‘जीवन सार्थक भएको ठान्छु’ -कुमारीकमला राई


व्यक्तिवृत्त

गुरुआमा तपाईं धेरै राम्रो हुनुहुन्छ । सबैलाई समान रूपमा हेर्नुहुन्छ । तपाईंको शिष्य हुन पाएकोमा धेरै खुशी छु ।’

शिवान्सी पराजुलीले आफ्नी शिक्षक कुमारीकमला राईको फोटो सामाजिक सञ्जालमा राखेर माथिका शब्दमा उनीप्रति सम्मान प्रकट गरिन् । शिवान्सीले गुरुङ समुदायका महिलाले लगाउने पोशाक र गहना लगाएको कुमारीकमलाको फोटो राखेकी थिइन् । विद्यालयमा केही समयअघि तमु ल्होसार पर्व मनाउँदाको फोटो थियो, त्यो ।

जनकल्याण मावि, बौद्ध-६ महाँकाल काठमाडौंकी प्रअ कुमारीकमला राईले विद्यालयमा विभिन्न समुदायका विद्यार्थीको चाडपर्व मनाउने कार्यक्रम शुरू गरेकी छिन् । हरेक माघ १ गते मनाइने मकर संक्रान्ति/माघी पर्व यस पटक पुस ३० गते विद्यालयको हलमा भव्यतापूर्वक मनाइएको थियो । सेलरोटी, उसिनेको तरुल, मुरैको लड्डु, घिउ, चाकु विद्यालयमा तयार पारिए । थारू समुदायको पोशाक र गरगहना लगाएर विद्यार्थीले नृत्य प्रस्तुत गरे । नेवार समुदायमा यो दिन घरका ज्येष्ठ सदस्यले अन्य सदस्यलाई टाउकोमा चामल र तेल राखेर ठोक्ने चलन रहेछ । नेवार समुदायका विद्यार्थीलाई प्रअ राईले चामल राखी टाउकोमा तेल लगाइदिइन् । विद्यार्थी, शिक्षक सब दंग थिए ।

कक्षा-११ की विद्यार्थी शिवान्सीले यसअघि पढेका विद्यालयहरूमा यस्तो देखेकी थिइनन् । भन्न त सबैको संस्कृतिलाई सम्मान गर्नुपर्छ भनेर भन्ने गरिए पनि व्यवहारमा त्यसो नगरिने उनको अनुभव छ । शिवान्सी भन्छिन्, ‘उहाँ राई हो तर विद्यालयमा अरू जातजातिका पर्व मनाउन शुरू गर्नुभयो । पर्व मनाउँदा उनीहरूको पोशाक लगाउनुहुन्छ । शहरमा कतिले आफ्नो संस्कृति छोडिसके । संस्कृति छोड्नुहुँदैन, लोप हुन्छ भन्ने सन्देश पनि उहाँले दिनुभएको छ । मेरो त मन–मुटु छोयो ।’

विद्यार्थीलाई खुशी देख्दा प्रअ राईलाई पनि आनन्द लाग्छ । खुशी भए सिक्न सक्छन् भन्ने उनको विश्वास छ । उनीहरू खुशी होउन्; विविध संस्कृति भएका विद्यार्थीमाझ सद्भाव र शिक्षक विद्यार्थीबीच आत्मीयता बढोस् भनेर यो कार्यक्रम शुरू गरिएको उनको भनाइ छ । उनी भन्छिन्, ‘जनकल्याण माविमा खुशी भएर सकारात्मक अनुभव बटुलेका यी विद्यार्थीले भविष्यमा समाजमा सकारात्मक सन्देश दिनेछन् भन्ने मेरो विश्वास छ ।’

प्रविधिमैत्री शिक्षण सिकाइ, विषयगत शैक्षिक सामग्रीको व्यवस्थापन तथा प्रयोग, विषयगत प्रयोगशाला, पुस्तकालय, व्यवस्थित कम्प्युटर प्रयोगशाला, गीत-संगीत-नृत्य तथा अन्य अतिरिक्त सिकाइ आदिका कारण यस विद्यालयमा विद्यार्थी संख्या अहिले दुई हजारभन्दा बढी पुगेको छ । राईले प्रअको जिम्मेवारी लिंदाको बेला यहाँ एक हजार विद्यार्थी थिए ।

उनी आफ्ना सहकर्मी शिक्षकहरूसँग पनि ‘साथीहरू बालबालिकाको खुशीका लागि बल गरौं है’ भनिरहन्छिन् । घर छोडेर विद्यालयको नयाँ वातावरणमा आउँदा साना बालबालिका रोए भने यहाँ एक्वेरियमभित्र पानीमा चलिरहेका थरीथरीका माछा देखाएर फकाइन्छ । विद्यार्थीलाई नमस्कार गरेर विद्यालयको गेटमा स्वागत गरिन्छ । बिहानको प्रार्थनासभाअघि केही समय गोलबद्ध भएर नाचगान गराइन्छ । ‘यस्ता क्रियाकलापबाट उनीहरू हाँस्छन्, रमाउँछन् । घरमा ‘मूडअफ’ भएर आएका रहेछन् भने पनि विद्यालयमा खुशी हुन्छन् । र, सिकाइका लागि तयार हुन्छन् । प्रअ राई भन्छिन्, ‘हामी उमेर पुगेका पनि त खुशी छौं भने जस्तोसुकै चुनौती सामना गर्न सक्छौं नि, हैन र ?’

कुमारीकमला २७ वर्षअघि यो विद्यालय आएकी थिइन् । ‘हे भगवान् देशको राजधानीमा यस्तो पनि विद्यालय हुन्छ र !’ भन्दै पाटीमा सञ्चालित विद्यालय देखेर उनी आश्चर्यचकित भएकी थिइन् । २०५१ सालमा जनकल्याण मावि (तत्कालीन प्रावि) आउँदा कुमारीकमला ३१ वर्षकी थिइन् । यो विद्यालय महाँकाल मन्दिरको सत्तलमा सञ्चालन भइरहेको थियो । विद्यार्थी भुइँमा बसेर पढ्थे । डेक्स-बेन्च थिएनन् । शौचालय थिएन । विद्यार्थी झाडीमा जान्थे । खानेपानी थिएन । गाईवस्तु आएर फोहोर गर्थे । कोठामा पिसाब गरिएको हुन्थ्यो । खातापाता स्टोरमा हुन्थ्यो । एउटा सानो कोठामा अफिस थियो । शिक्षकका लागि केही थोत्रा कुर्सी थिए । ‘म पढेको पूर्वी पहाडी जिल्ला खोटाङको भगवती माध्यमिक विद्यालयमा आफ्नै भवन थियो । कक्षाकोठा थिए । डेक्स-बेन्च थिए । कता हो कता, धेरै राम्रो थियो’, उनले भनिन् ।

जनकल्याणलाई राम्रो बनाउनुपर्छ भन्ने सोच त्यतिखेर नै उनको मनमा पलाएको थियो । उनले त्यसबेलाकी प्रअ नानु शर्मा, शिक्षक शशि पोख्रेलसँग मिलेर विद्यालयको विकासमा अगुवाहरूलाई साथ दिइन् । जनकल्याण राम्रो विद्यालय बनोस् भन्ने उनीहरूको सपना थियो । उनका अनुसार भूमिसुधार मन्त्रालय लगायत अन्य निकाय धाउँदा धाउँदा ४-५ वर्षपछिको प्रयासपछि भोगचलनका लागि नेपाल सरकारबाट २ रोपनी १३ आना जग्गा प्राप्त भएको थियो ।

त्यसपछि उनीहरूले चन्दा सहयोग जुटाउन मिहिनेत गरे । भवन बन्यो । शौचालय बन्यो । महाँकाल पानी ट्यांकीबाट पानी ल्याइयो । विद्यालयले अभिभावकको विश्वास जित्न थाल्यो । २०१० सालमा प्राविका रूपमा स्थापित सो विद्यालयबाट २०५८ सालमा पहिलोपटक विद्यार्थीले एसएलसी परीक्षा दिए । २०५९ सालमा नर्वदा पोख्रेल प्रअ भइन् । २०६० सालमा कुमारीकमला राई सहायक प्रअ भइन् । २०६४-६५ मा उनी निमित्त प्रअ भइन् । त्यतिखेर उनले कक्षा ११ सञ्चालनको अनुमति लिइन् । प्रअ अध्ययन विदाबाट फर्केपछि २०६६ मा फेरि उनी सहायक प्रअ भइन् ।

पाटीमा चलेको विद्यालयको रूप फेरिएको अनुभव त छँदैथियो, विद्यालय राम्रो बनाउन सकिन्छ भन्ने विश्वासका साथै ऊर्जा पनि थपिंदै थियो राईमा । तर यसैबीच २०६७ चैतमा उनलाई स्तन क्यान्सर भयो । त्यसबेला उनी ४७ वर्षकी थिइन् । परीक्षणको रिपोर्ट आफैं हेरेर आफूलाई क्यान्सर भएको उनले थाहा पाइन् । तर उनी आत्तिइनन् । उनले त्यहींबाट श्रीमान्लाई फोन गरेर सुनाइन् । आफूलाई केही हुँदै हुँदैन, बाँचिहाल्छु भन्ने आत्मबल विकास गरिसकेकी थिइन् उनले । ‘नमस्कार म क्यान्सर रोगी; भन्दै उपचारका लागि बिदा माग्न विद्यालय गएकी थिएँ । म त हिम्मतिली छु नि’ उनले हाँस्दै सुनाइन् । शल्यक्रिया गरी केही समय आराम गरेर २०६८ सालको तिहारपछि उनी विद्यालय फर्किइन् । र २०७१ सम्म निमित्त प्रअ भइन् ।

विव्यस अध्यक्ष अधिवक्ता दिलेन्द्रप्रसाद ढकाल भन्छन्, ‘शिक्षक, व्यवस्थापन समिति लगायतको टीममा विद्यालय राम्रो बनाउन उत्साह जगाउनुभएको छ । उहाँ आफ्नो विचार लाद्नुहुन्न । कोअर्डिनेसन साह्रै राम्रो गर्नुहुन्छ । इच्छाशक्ति छ । कुनै व्यक्तिगत स्वार्थ छैन ।

२०७२ मा भूकम्पले एउटा भवन क्षतिग्रस्त भएर अस्थायी टहरामा कक्षा सञ्चालन हुँदैथिए । तत्कालीन प्रअको स्वेच्छिक अवकाशका कारण विद्यालयमा नयाँ नेतृत्वको तयारी हुँदैथियो । ‘तपार्इंले नेतृत्व लिनुपर्छ भनेर शिक्षक तथा व्यवस्थापन समितिका साथीहरू घरमै आएर अनुरोध गरेपछि जिम्मेवारी लिएँ । र २०७२ मंसीरमा म प्रअ भएँ । ममाथि सबैको यति धेरै विश्वास देखेपछि चुनौतीका माझ म प्रअ हुन तयार भएँ’, उनले भनिन् ।

एकातिर उनी क्यान्सरसँग लड्दै थिइन् । अर्कोतिर भूकम्पले क्षति पुर्‍याएको भौतिक पूर्वाधार निर्माण र शैक्षिक विकासका लागि पहल गर्दै थिइन् । त्यसबेला शिक्षा मन्त्रालय, शिक्षा विभाग लगायत थुप्रै ठाउँमा धाउँदा सहयोग नपाइएको उनको गुनासो छ । ‘अन्त्यमा चिनियाँ संस्थाको सहयोग पाएर नयाँ भवन बनायौं’, उनले भनिन् । विद्यालयले विभिन्न संघ-संस्था मार्फत स्रोत खोज्ने गरेको छ । अभिभावक भेलाबाटै निर्णय गराएर सहयोग लिने गरेको छ । प्रअ राई भन्छिन्, ‘नसक्नेसँग लिंदैनौं । दरबन्दी अभाव, सरसफाइ कर्मचारी व्यवस्थापन, अतिरिक्त सिकाइ क्रियाकलाप लगायतका लागि लिनुपर्छ । राज्यले जिम्मेवारी बोध नगरेपछि निःशुल्क शिक्षा कार्यान्वयन हुन नसकेको हो ।’ प्रविधिमैत्री शिक्षण सिकाइ, विषयगत शैक्षिक सामग्रीको व्यवस्थापन तथा प्रयोग, विषयगत प्रयोगशाला, पुस्तकालय, व्यवस्थित कम्प्युटर प्रयोगशाला, परामर्श कक्ष, बहुउद्देश्यीय सिकाइ कक्ष, राम्रा सामुदायिक विद्यालयका अभ्यास अध्ययन तथा कार्यान्वयन, गीत-संगीत-नृत्य तथा अन्य अतिरिक्त सिकाइ आदिका कारण यस विद्यालयमा विद्यार्थी संख्या अहिले दुई हजारभन्दा बढी पुगेको छ । राईले प्रअको जिम्मेवारी लिंदाको बेला यहाँ एकहजार विद्यार्थी थिए ।

‘शैक्षिक र भौतिक विकासमा उल्लेख्य प्रगति गरेको आजको जनकल्याण देख्दा साहै्र खुशी लागेको छ । अस्वस्थ भए पनि धेरै खटेर राम्रो बनाउनुभयो । पाटीमा चलेको विद्यालय राम्रो बनाउने हाम्रो सपना कुमारीकमला नेतृत्वको टिमले पूरा गरेको छ’ लामो अन्तरालपछि विद्यालय भ्रमण गरेकी पूर्व प्रअ शशि पोख्रेलले भनिन्, ‘उहाँको सबभन्दा राम्रो गुण भनेको सबैलाई प्रेम गर्नुहुन्छ । र, मिलनसार हुनुहुन्छ ।’

विव्यस अध्यक्ष अधिवक्ता दिलेन्द्रप्रसाद ढकाल काखापाखा नगरी परिवार मिलाए जस्तै सबैलाई मिलाएर राख्ने गुण भएकाले राईलाई ‘आमा’ जस्तै भन्छन् । ‘शिक्षक, व्यवस्थापन समिति लगायतको टीममा विद्यालय राम्रो बनाउन उत्साह जगाउनुभएको छ । उहाँ आफ्नो विचार लाद्नुहुन्न । कोअर्डिनेसन साह्रै राम्रो गर्नुहुन्छ । इच्छाशक्ति छ । कुनै व्यक्तिगत स्वार्थ छैन’, उनको नेतृत्वदायी भूमिकाका बारेमा ढकाल प्रष्ट पार्छन् ।

प्रअ राई भने जनकल्याण मावि राम्रो बन्नुको मुख्य श्रेय आफ्ना शिक्षक साथी, विद्यालय व्यवस्थापन समिति र अभिभावकलाई दिन्छिन् । उनी भन्छिन्, ‘विव्यस अध्यक्ष त कक्षा खाली छन् भने कक्षा पनि लिइदिनुहुन्छ । शिक्षक कर्मचारी जतिखेर बोलाए पनि आउनुहुन्छ ।’ आफूभन्दा अघिको नेतृत्वको योगदानको पनि उनी उल्लेख गर्छिन् । पारदर्शी र निस्वार्थी भई विद्यालय राम्रो बनाउँछु भन्दा विभिन्न संघ-संस्था, मनकारी, स्थानीय समुदाय र कमजोर आर्थिक अवस्था भएका अभिभावकले समेत उनीसँग हातेमालो गरे । नाङ्लो पसल चलाउने महिला अभिभावकले पनि विद्यालयलाई सहयोग गरे ।

जनकल्याणलाई जीवनको झण्डै तीन दशक दिएँ । एक दशकदेखि बिहान ६ बजे विद्यालय आउने र ५–६ बजे घर जाने गरेकी छु । आर्थिक, सामाजिक रूपले पछाडि रहेका बालबालिकाका लागि ३३ वर्ष बिताउन पाउँदा मेरो जीवन सार्थक भएको छ । शिक्षण महान् पेशा हो भन्ने यथार्थ अनुभूत गरेकी छु ।

काम गर्दै जाँदा आलोचना हुन्छ, चुनौती पनि आउँछन्, यसलाई अवसरमा बदल्नुपर्ने प्रअ राईको ठम्याइ छ । उनी भन्छिन्, ‘महिला प्रअ भएकै आधारमा कसैले हेपेको थाहा छैन । तर नेतृत्वका लागि निरन्तर अध्ययन, व्यक्तित्व निखारमा भने हामीले ध्यान दिनै पर्छ । असल योजनाकार बन्नुपर्छ । पारदर्शी र निष्पक्ष भएर सही निर्णय गर्न सक्नुपर्छ । समूह कार्यलाई विशेष महत्व दिनुपर्छ । सहकर्मीको समस्यालाई भावनात्मक रूपमा सम्बोधन गर्न सक्नुपर्छ ।’

कुमारीकमला अत्यन्त नम्र, शान्त र सरल लाग्छिन् । विद्यालयमा कोही जंगिएर कुरा गर्न आए उनी सम्झाउँछिन् ‘नरिसाइकन शान्त भएर कुरा राख्नुस् न । यो बानीले तपाईंलाई अघि बढ्न दिंदैन ।’ आवश्यक परे ‘बोल्ड’ रूपमा प्रस्तुत पनि हुन्छिन् । महिला प्रअको सबल पक्ष भनेका चाहिं बालिकाको पीडा बोध बढी गर्न सकिन्छ भन्ने उनलाई लाग्छ । टोलाइरहने वा अँध्यारो अनुहार देखेपछि बुझ्दै जाँदा, उनीहरूलाई विश्वासमा लिंदै जाँदा समस्या थाहा हुन्छ । उनी भन्छिन्, ‘आफन्तबाटै यौन दुव्र्यवहार भोगिरहेका कैयौं छात्राको समस्या समाधान गरिएको छ । मिहीन तरिकाले यस्ता संवेदनशील समस्या केलाई सम्बोधन गर्न सकिन्छ ।’

२०२० सालमा खोटाङमा जन्मेकी कुमारीकमला राईका बुवा ब्रिटिश आर्मीमा थिए । छोरीले कम्तीमा पनि स्नातकसम्म पढोस् भन्ने बुवाको चाहना थियो । तर उनले स्नातकोत्तर नै गरिन् । कमलालाई खासमा विज्ञानमा रुचि थियो । तर घरपरिवारको सुझावमा शिक्षा पढिन् । २०४५ सालमा सप्तकन्या निमावि, खोटाङबाट सेवा शुरू गरेकी राई दुई वर्षपछि सेवा निवृत्त हुँदैछिन् ।

‘जनकल्याणलाई जीवनको झण्डै तीन दशक दिएँ । एक दशकदेखि बिहान ६ बजे विद्यालय आउने र ५-६ बजे घर जाने गरेकी छु । कहिले त बिहान १० बज्दा दुईवटा बैठक सकिसकेकी हुन्छु’ गर्व गर्दै प्रअ कुमारीकमला राई भन्छिन्, ‘आर्थिक, सामाजिक रूपले पछाडि रहेका बालबालिकाका लागि ३३ वर्ष बिताउन पाउँदा मेरो जीवन सार्थक भएको छ । शिक्षण महान् पेशा हो भन्ने यथार्थ अनुभूत गरेकी छु ।’

(द स्टोरी किचेन/सन्धान र ‘शिक्षक’ मासिकको सहकार्य )

सन्धान, प्रकाशन मिति २०७९ वैशाख १४ गते बुधवार