मानव तथा प्राणीहरूको क्रियाकलापबाट फोहोरमैला उत्पादन हुने गर्छ । यो निरन्तर चलिरहने प्रक्रिया हो । बढ्दो जनसङ्ख्या, सहरीकरण र भौतिक सुविधाका कारण सहरी क्षेत्रमा बढ्दै गइरहेको बसाइँसराइले गर्दा सहरी क्षेत्रको जनसङ्ख्यामा अनपेक्षित वृद्धिसँगै फोहोरमैलाको परिमाण पनि दिनानुदिन बढ्ने गर्छ र बढिरहेको छ । यस्तै, बढ्दो आधुनिकीकरणको गतिसँगै जीवनशैली र संस्कृतिमा आएको परिवर्तनबाट फोहोरमैलाको परिमाण र स्वरूपमा समेत तीब्र परिवर्तन देखा परिरहेको छ ।
घरबाट निस्कने कम्पोस्ट मल बनाउन सकिने सामान्य जैविक फोहोरका साथै विभिन्न स्रोतबाट निस्कने औद्योगिक, रासायनिक, स्वास्थ्य संस्थाजन्य र विद्युतीय फोहोरमैलाहरू सडक, चोक र गल्लीहरूमा असरल्ल भैरहेका छन् । मानव स्वास्थ्य तथा वातावरणमा गम्भीर असर पार्ने खालका यी फोहोरमैलाहरू आफैँमा समस्या भने होइनन् । कुनै पनि सामग्रीको प्रयोगपछि त्यसलाई फोहोरका रूपमा विसर्जन गर्दा सही तरिकाले व्यवस्थापन गर्न नसक्नु नै मुख्य समस्या हो ।
विकसित देशहरूले विभिन्न प्रविधिहरू अपनाएर फोहोरहरूको उचित व्यवस्थापन गर्नुका साथै मनग्य फाइदा लिइरहेका छन् । विकासोन्मुख देशहरूमा भने दिनानुदिन फोहोरमैला व्यवस्थापन नै समस्या बन्दै गइरहेको छ । यसको मुख्य कारण स्रोत साधन र प्रविधिको कमीभन्दा पनि राजनैतिक प्रतिबद्धता, इच्छाशक्ति र दूरदर्शिताको अभाव देखिन्छ । फोहोरमैला व्यवस्थापन गर्ने पहल र सुशासनको अभाव, फोहोर व्यवस्थापन विज्ञहरूको अभाव, फोहोरमैला व्यवस्थापनमा सामुदायिक सहभागिताको कमी, फोहोर न्यूनीकरण व्यवस्थापन र सहकार्यमा कन्जुस्याइँले गर्दा फोहोर व्यवस्थापन गर्नसक्ने अवस्था हुँदाहुदै पनि यो प्राथमिकतामा परिरहेको छैन ।
काठमाडौँ महानगरले फोहोर वर्गीकरण गर्ने भनेर उनले ल्याएको कार्यक्रम राम्रो हो तर यो तयारीविना छोटो समयमा हतारहतारमा गरेर हुने कुरा होइन । त्यसैले त्यो पनि कार्यान्वयन भइरहेको छैन ।
काठमाडौँ उपत्यकामा फोहोरमैला व्यवस्थापनमा देखिएको समस्या छ महिना बितिसक्दा पनि जस्ताको तस्तै छ । जिम्मेवारीमा रहेकाहरू सबैजसो नाक थुन्दै मूकदर्शक भएर बसिरहेका छन् । खासै कहीँ कतैबाट सकारात्मक पहल भएको देखिँदैन । जनताको स्वास्थ्यसँग प्रत्यक्ष गाँसिएको संवेदनशील क्षेत्रमा काम गर्नका लागि कसैले रोक्न र बाधा पुर्याउन नपाउने नीति हुँदाहुदै पनि किन निस्प्रभावी भइरहेको छ ? किन यो रहस्यमय र राजनीतिक विषय बनिरहेको छ ? किन फोहोरमैलाको सही व्यस्थापन गर्नका लागि कसैले हिम्मत गर्न सकिरहेको छैन ?
देशमा स्थानीय तहको निर्वाचन दोस्रो पटक २०७९ सालमा तामझामका साथ सम्पन्न भयो । तर, काठमाडौँको फोहोर व्यस्थापनका लागि सरकार, पार्टी र जनताबाट कुनै खास चासो र पहलहरू भएको देखिँदैन । यो लाजमर्दाे र घिनलाग्दो विषय बनेको छ । वास्तवमा सरसफाइ र स्वच्छता कुनै पनि देशको सभ्यतासँग जोडिएको हुन्छ । यस्तो अवस्थामा विश्वको सामु नेपालको छवि र पहिचान कस्तो होला ? सोचनीय विषय हो ।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहले मेयरमा निवार्चित भएर आएदेखि फोहोरमैला व्यवस्थापनका लागि प्राथमिकतासाथ पहल गरेको देखिन्छ तर लामो समयदेखि विद्यमान अनियमितता र अस्तव्यस्ततामाथि उनको मात्रै केही जोड चलेको छैन । फोहोर वर्गीकरण गर्ने भनेर उनले ल्याएको कार्यक्रम राम्रो हो तर यो तयारीविना छोटो समयमा हतारहतारमा गरेर हुने कुरा होइन । त्यसैले त्यो पनि कार्यान्वयन भइरहेको छैन ।
फोहोर व्यवस्थापनमा विकेन्द्रीकरण सिद्धान्त
फोहोरमैला व्यवस्थापनको क्षेत्रमा काम गरेको मेरो ३२/३३ वर्षको अनुभवको आधारमा यसको दीर्घकालीन समस्या समाधानका बारेमा सुझाव दिन चाहन्छु । फोहोर दैनिक रूपमा बढे पनि आजसम्मको फोहोरको प्रकृति हेर्दा ६५ प्रतिशतभन्दा बढी जैविक वस्तु अर्थात् कुहिने फोहोर छ । यस्तो फोहोरलाई कुहाएर कम्पोस्ट मल बनाउन सकिन्छ । अन्य ३५ प्रतिशत फोहोरमध्ये अजैविक फोहोरलाई पुनः प्रयोग गर्न सकिन्छ । फेरि यस्ता फोहोरलाई एकै ठाउँमा थुपारेर कम्पोस्ट बनाउन वा पुनः प्रयोग गर्न नसकिने होइन ।
विकासोन्मुख र भौगोलिक दुर्गमता तथा ऊर्जाको अभाव भएको देशमा केन्द्रीकृत रूपमा ठुला ठुला पुर्नप्रयोगीय (रिसाइकल प्लान्ट) केन्द्रहरू स्थापना गरी सञ्चालन गर्ने र त्यसलाई निरन्तरता दिने अवस्था देखिँदैन । त्यसैले सबैभन्दा पहिला घरमा नै फोहोर छुट्याउनुपर्छ ।
फोहोरमैला व्यवस्थापनमा ‘विकेन्द्रीकरण सिद्धान्त’ अपनाउनुपर्ने देखिन्छ । विकासोन्मुख र भौगोलिक दुर्गमता तथा ऊर्जाको अभाव भएको देशमा केन्द्रीकृत रूपमा ठुला ठुला पुर्नप्रयोगीय (रिसाइकल प्लान्ट) केन्द्रहरू स्थापना गरी सञ्चालन गर्ने र त्यसलाई निरन्तरता दिने अवस्था देखिँदैन । त्यसैले सबैभन्दा पहिला घरमा नै फोहोर छुट्याउनुपर्छ । त्यसपछि हरेक वडाहरूले वडाको फोहोर वडा तहमै व्यवस्थापनका लागि कम्पोस्ट बनाउने र पुनः प्रयोग गर्नका लागि पहल गर्नुपर्ने देखिन्छ ।
फोहोर उत्पादकलाई जिम्मेवार र सहभागी बनाउन नसकेसम्म फोहोर व्यवस्थापन सम्भव हुनै सक्दैन । यसैले जनतालाई उत्प्रेरणा र फाइदा दिने कार्यक्रमहरू तत्काल सञ्चालन गर्न नगरपालिकाहरूले केही नीतिहरू ल्याउनुपर्छ ।
फोहोरमैला व्यवस्थापनका लागि सुझाव
१. वैज्ञानिक शुल्क निर्धारण
क) जसले फोहोर छुट्याई घरमै कम्पोस्ट मल बनाउँछ, त्यस्ता घरका लागि कम शुल्क लगाउने, करमा छुट दिने र पुरस्कृत गर्ने ।
ख) जसले फोहोर छुट्याउँछ तर मल बनाउन सक्दैन, त्यस्ता घर वा व्यक्तिलाई फोहोरको शुल्कमा केही रकम बढाउने ।
ग) जसले फोहोर मिसाएर फाल्छ, त्यस्ता व्यक्तिहरूका लागि बढी रकम वा तेब्बर शुल्क निर्धारण गर्ने ।
२. न्यायोचित शुल्क निर्धारण
फोहोर कम उत्पादन गर्नेका लागि कम र बढी फोहोर उत्पादन गर्नेका लागि बढी शुल्क निर्धारण गर्नुपर्छ । त्यसका लागि कम्तीमा दुई वटा फरक क्षमताका फोहोर सङ्कलन भाँडो वा ‘बिन’ सशुल्क सर्वसुलभ रूपमा किन्न पाउने व्यवस्था गर्नुपर्छ ।
फोहोर वर्गीकरण गरेर पुनः प्रयोग गरी कम्पोस्ट बनाउने घरमा हरियो ‘प्लेटिङ्ग’ गरी सरकारी सुविधा उपलब्ध गराउनुपर्छ ।
३. वातावरणमैत्री जीवनशैली कार्यक्रम
वातावरणमैत्री जीवनशैली पहिचान गर्ने कार्यक्रम ल्याउनुपर्छ । कुनै व्यक्तिले वातावरणमा सघाएको छ भनी प्रदर्शन गराउन वातावरणमैत्री घरको ‘प्लेटिङ्ग’ गर्ने कार्यक्रमका लागि हरियो, पहेँलो र रातो रङको प्लेट बनाई घरघरमा राख्ने गर्नुपर्छ । फोहोर वर्गीकरण गरेर पुनः प्रयोग गरी कम्पोस्ट बनाउने घरमा हरियो ‘प्लेटिङ्ग’ गरी सरकारी सुविधा उपलब्ध गराउनुपर्छ । फोहोर छुट्याउने तर मल बनाउन नसक्ने खालको घरमा पहेँलो प्लेट राख्ने र फोहोर मिसाएर फाल्ने घरमा रातो प्लेट राख्ने र फोहोरको शुल्क पनि तेब्बर गर्दा सबैमा वातावरणमैत्री बन्ने होड अवश्य चल्छ ।
४. जैविक फोहोरको व्यवस्थापन
जैविक फोहोरको व्यवस्थापन तीब्र पार्न कम्पोस्ट बिन घरघरमा वितरण गरी प्राविधिक सहयोग, सल्लाह र निरन्तर अनुगमनको व्यवस्था गर्न यस क्षेत्रमा काम गर्ने सङ्घसस्था तथा स्वयंसेवक र सम्बन्धित विषय अध्ययन गरिरहेका विद्यार्थीहरूसँग सहकार्य गर्नुपर्छ ।
५. कौसीखेतीको बिस्तार र सहयोग
आजभोलि बढ्दै गइरहेको कौसीखेतीको बिस्तार र निरन्तरताका लागि प्राविधिक सहयोग, उन्नत जातका बिउबिरुवा, मल र आवश्यक सामग्रीहरू सहज र सस्तो मूल्यमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ ।
६. मलखाद र बायोग्यास प्लान्ट
हरेक वडाले जग्गाको व्यवस्था गरेर सानोसानो ‘सामुदायिक मल खाद’ र बायोग्यास प्लान्ट बनाउनुपर्छ ।
फोहोरमैला व्यवस्थापनमा दिगो विकास हासिल गर्न आमजनताको व्यवहारमा परिवर्तन र सरकारको कार्यशैलीमा नीतिगत परिवर्तन हुन जरुरी छ ।
७. पुनः प्रयोग केन्द्रको स्थापना
अजैविक फोहोरका लागि सानासाना प्लाष्टिकलाई पुनः प्रयोग गर्ने गरी ‘पुनः प्रयोग केन्द्र’ खोल्नुपर्छ । त्यसका लागि तीनै तहको सरकारले समन्वयमा काम गर्नुपर्छ । आवश्यक परे नयाँ नीतिनियम पनि बनाउनुपर्छ ।
८. फोहोरमैला व्यवस्थापन निकायको व्यवस्था
फोहोरमैला व्यवस्थापन गर्नका लागि छुट्टै निकाय हुनु जरुरी देखिन्छ । जति नै उपायहरू अवलम्बन गरे पनि फाल्नुपर्ने केही न केही फोहोर निस्कन्छ । त्यसका लागि डम्पिङ साइट आवश्यक पर्छ । एउटा पालिकाले मात्र यो समस्या समाधान गर्न सम्भव छैन । एउटा प्रदेशबाट अर्काे प्रदेशमा समन्वय र सहकार्य गर्नुपर्ने हुन्छ । त्यसका लागि सङ्घीय सरकारको पहलमा उच्चस्तरीय अधिकारसम्पन्न ‘फोहोरमैला व्यवस्थापन’ निकाय बनाउनु जरुरी छ ।
फोहोरमैला व्यवस्थापनको क्षेत्रमा धेरै प्रविधिहरूको विकास भैसकेको आजको अवस्थामा यसलाई व्यवस्थापन गर्न त्यति गाह्रो छैन । सबैको इच्छाशक्ति, सामूहिक पहल, जिम्मेवारी, कर्तव्यबोध र आआफ्नो भूमिका निर्वाहमा पहल र सहभागिता भएमा पक्कै पनि सहर सफा र स्वच्छ हुनसक्छ । फेरि पनि फोहोरमैला व्यवस्थापनमा दिगो विकास हासिल गर्न आमजनताको व्यवहारमा परिवर्तन र सरकारको कार्यशैलीमा नीतिगत परिवर्तन हुन जरुरी छ ।
लेखक थकाली महिला वातावरण संरक्षण समितिकी अध्यक्ष हुनुहुन्छ । यो संस्थाले २०४७ सालदेखि फोहोरमैला व्यवस्थापनमा काम गर्दै आएको छ ।
याे पनि पढ्नुहाेला
सन्धान प्रकाशन मिति : २०७९ भदाै १८ गते, शनिवार