राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साढे दुई दशकभन्दा बढीको इतिहासमा सात जना अध्यक्ष भए । त्यसमध्ये पहिलो महिला अध्यक्ष रीता थापा मगर हुनुहुन्छ । धादिङको हालको नीलकण्ठ नगरपालिका वडा नम्बर २ मा २०३८ फागुनमा जन्मिएकी उहाँ २०७९ फागुनमा धादिङमै भएको आठौँ महाधिवेशनबाट अध्यक्षमा निर्विरोध छानिनुभयो ।
लोकदोहोरीको स्वर्णिम युग मानिएको समयमा रीता प्रत्यक्ष दोहोरीबाट चर्चित हुनुभयो । आफूले सानैदेखि लोकदोहोरी सुन्ने र गाउने गर्दै आएर २०५९ सालतिर दोहोरी क्षेत्रमा प्रवेश गरेको र २०६० सालमा पद्मकन्या बहुमुखी क्याम्पसमा सङ्गीत विषय नै लिएर पढ्न थालेको उहाँको भनाइ थियो । अध्ययनपछि व्यावसायिकरूपमै यस क्षेत्रमा निरन्तर लाग्नुभयो र लोकदोहोरी क्षेत्रको नेतृत्व गर्ने हुनुभयो । प्रतिष्ठानको अध्यक्ष पनि हुनुभयो ।
रीतासँग ‘सन्धान’ का तत्कालीन सहकर्मी प्रणेताले २०८१ पुसमा कुराकानी गर्नुभएको थियो । कुराकानी लोकदोहोरी क्षेत्रमा कलाकार तथा गायक महिलाहरूको अवस्था, चुनौती र अवसरका साथै रीताको जीवनभोगाइका विषयमा केन्द्रित थियो ।
प्रस्तुत छ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रीता थापा मगरसँग उहाँको कार्यकालको अन्तिमतिर भएको सोही कुराकानीको अंश :
राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको स्थापनाको उद्देश्य बताइदिनुहोस् न !
खासमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको तदर्थ समिति २०५७ सालमा गठन भएर २०५८ सालमा आधिकारिक रूपमा दर्ता भएको हो । अहिले पनि हामी लोक तथा दोहोरी गाउने कलाकारहरूलाई राज्यले जसरी सहयोग गर्नुपर्थ्यो, त्यो गरे जस्तो लाग्दैन । गहना मात्रै भनेको छ । त्यही भएर लोक तथा दोहोरी गाउने अग्रज कलाकारहरूले आफूहरूको दुःखसुख साटासाट गर्न वा आँसु या हाँसोमा एकअर्कालाई ‘सपोर्ट’ गर्नुपर्छ । साथै, अर्को मुख्य उद्देश्य विभिन्न गाउँठाउँ र कुनाकन्दरामा रहेका लोकसंस्कृति, लोकभाका, मौलिकतालाई जगेर्ना गर्ने भनेर खोलिएको संस्था हो । त्यही भएर धेरै कलाकारहरू त्यहाँ आबद्ध छौँ । अग्रजहरूले धेरै भाइबैनीहरूलाई समेट्नुभयो । त्यही भएर म अहिले संस्थाको आठौँ अध्यक्ष हुन सफल भएँ ।
तपाईं किन र कसरी गायन क्षेत्रमा प्रवेश गर्नुभयो ?
मेरो हकमा ‘सपना देख्नुपर्छ पूरा हुन्छ’ भने जस्तै भएको हो । कसैले आशीर्वाद दिएर, कसैले डोर्याउँदै ल्याएर मलाई गायिका बनाएको होइन, म त्यसरी भएको होइन । सानैदेखि मनभित्रैदेखि गायक बन्ने धोको र सपना थियो । लोकगीत गाउने तीव्र इच्छा थियो । घाँसदाउरा काट्न जाँदा अथवा बाटो हिँड्दा पनि गीत गुनगुनाउँदै हिँड्थेँ ।
गाउँकै स्कुलबाट एसएलसी दिएँ र काठमाडौँ आएँ । पद्मकन्या क्याम्पसमा दुई वर्ष सङ्गीत विषय पढेँ । दोहोरी गीत गाउन चाहिँ काठमाडौँ आएपछि सिकेको हुँ । काठमाडौँमा बाक्लैसँग लोकदोहोरी साँझ खुल्न थालेको थियो । बजारमा लोकदोहोरी माहोल थियो । मेला महोत्सव पनि भइरहन्थ्यो । यो २०५९–६० सालतिरको कुरा हो । त्यो समयलाई हामी लोकदोहोरीको स्वर्णिम काल पनि भन्थ्यौँ ।
तपाईंलाई कस्ता गीत गाउन मन लाग्छ ?
गाउँमा बुढापाका, आमा, फुपू, मामा, बाबा र हजुरबाबाले सुन्ने खालको, मौलिक संस्कृति बोकेका गीत गाउन मन लाग्छ । लोकदोहोरीसँगै गण्डक क्षेत्रको रोइला गीत पनि गाउन मन पर्छ । ११ वर्षअघि ‘यति बानी सुधार’ बोलको पशुपति शर्मासँगको रोइला दोहोरी गीतलाई दर्शक श्रोताले अत्यधिक मन पराउनुभएको थियो । त्यही गीतले मलाई देशविदेश डुलायो, मेला महोत्सवमा पनि भुलायो ।

मलाई सोरठी गीत पनि गाउन मन लाग्छ । पूर्व, पश्चिम, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी जस्ता ठाउँ, भेगअनुसार सोरठी फरक हुन्छ । मैले म जन्मेको धादिङ जिल्लाको सोह्रघर भन्ने गाउँको सोरठी भाकाको झुमरी गाएको छु । सोरठीमा झुमरी भन्ने भाग हुन्छ ।
मलाई लोकदोहोरी प्रतियोगिताहरूमा प्रत्यक्ष दोहोरी गाउन मन लाग्छ । प्रत्यक्ष दोहोरीहरू धेरै गाएँ । पछिल्लो गीत ‘ए आमा जाम् भन्यो मलाई’ भन्ने हो । त्यसलाई श्रोता/दर्शकहरूले अत्यधिक मन पराइदिनुभयो । त्यसपछि जिल्लाजिल्लामा भइरहेका मेला महोत्सवमा मलाई बोलाउनुभयो । टिकटकमा पनि त्यो गीत धेरै चल्यो । मलाई समयअनुसार चल्न सक्ने र लोकले मन पराउने गीत गाउन मन लाग्छ ।
तपाईंलाई गीतसङ्गीतमा लागेर नेतृत्वमा पुग्नका लागि परिवारका साथै यस क्षेत्रका अग्रजहरूको कत्तिको साथ थियो ?
मैले सुरुचोटि मेरो साथी, भाइ, अभिभावक रहेका पशुपति शर्मासँग स्टेजमा दोहोरी गीत गाएको थिएँ । उहाँले मलाई दोहोरीमा हाम्फाल्दा होस् या प्रतिष्ठानमा आउनका लागि साथमा साथ र हातमा हात दिनुभयो । म धादिङको मान्छे, जहाँ काँठे गीत हुन्छ, त्यहाँकाले दोहोरी गीत गाउन सक्दैनन् भन्ने पनि थियो तर उहाँले मलाई साथ दिनुभयो । पछिल्लो समय मलाई ‘तिमी दोहोरीको नेतृत्वमा आउनुपर्छ, महिलाहरू नेतृत्वमा पुग्नुपर्छ, तिमी लाग, आँट, हामी साथ दिन्छौँ’ भनेर उहाँ लाग्नुभएको थियो ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष र मेरा अभिभावक अम्बर विरही गुरुङ, रमेश बिजी, शिरीष देवकोटा र एकनारायण भण्डारी, जसले शब्द र लय दिएर मैले गाएको छु । रमेश बिजीले लेख्नुभएको चाँचर, सालैजो आदि गाएँ । सालैजो र दोहोरी गीत कुनैमा अम्बर विरही गुरुङको लय छ, कुनैमा कुमार पुनसँग गाएको छु । उहाँहरूको यसै प्रकारको साथ सपोर्टले नै म गीतसङ्गीतको सिर्जना, गायन र नेतृत्वमा पुग्न पाएको छु ।
गायन क्षेत्रमा लाग्न र संस्थाको नेतृत्वमा जानुपर्छ भनेर परिवारको साथ पनि बिर्सिनै सक्दिनँ । एक नम्बरमा परिवारको साथले प्रेरित हुँदै आएँ, सङ्गीत पढ्दादेखि नै । सङ्गीत पढ्दा ६० प्रतिशत शास्त्रीय सङ्गीतका रागहरू कक्षाको पढाइले कण्ठ गर्न सकिँदैन । बाहिर कक्षा लिन घरबाट पैसा ल्याएर पढ्नुपर्ने हुन्थ्यो । त्यो बेलामा परिवारले मलाई आवश्यक आर्थिक सहयोग गरेको म बिर्सिनै सक्दिनँ ।
अर्को, मेरो आफ्नै हिम्मत हो । मेरो हिम्मतलाई सफल बनाउन संस्थाका संरक्षक, सल्लाहकार, सम्मानार्थको भूमिका र हैसियतमा हुनुभएका अग्रज दाइ दिदीहरूको साथ सहयोग छ । उहाँहरूले ‘तिमीमा नेतृत्व गर्ने क्षमता देखेका छौँ, तिमी दरियौ भने अध्यक्ष हुन लायक छौ, हामी साथ दिन तयार छौँ’ भनेर हौसला दिनुभयो ।
धादिङमा २०७९ फागुनमा सम्पन्न आठौँ महाअधिवेशनबाट म निर्विरोध अध्यक्ष भएँ । मलाई अध्यक्ष भनेर घोषणा गर्दा खुसीले रुने धेरै दिदीहरू हुनुहुन्छ । पार्वती जिसी मलाई अङ्गालो हालेर रुनुभएको थियो । यस्तै, लक्ष्मी सुवेदी, शान्ता न्यौपाने, सीता थापा, शर्मिला गुरुङ, शिला आले दिदीहरूलाई सम्झन्छु ।
मेरा समकक्षी राधिका हमाल, जसले ‘हामी नेतृत्वमा उभिन जान नसके पनि तिमी निर्वाचित हुँदा हामी आफैँ त्यो कुर्सीमा पुगे जस्तो अनुभूति भइरहेको छ । त्यसैले तिमीले महिलाले पनि गर्न सक्छन् भन्ने उदाहरण देखाउनुपर्छ’ भनेर खुसी हुनुभएको थियो ।
हाम्रो टिममा रहनुभएका, लोकदोहोरी क्षेत्रमा बिसौँ वर्ष काटेर, राम्रो सिर्जना गर्दै दर्शक श्रोताको मन जितेर आफ्नो हैसियत बनाइसक्नुभएका समकक्षी साथीहरू रामजी खाँड, दीपक खड्का, सुवास केसी, श्रीस देवकोटालगायत अहिले नाम लिन छुटेका थुप्रै साथीहरूले ‘तिमी एकचोटि अध्यक्षको कुर्सीमा बसेकै हुनुपर्छ’ भनेर मेरा लागि आवाज र मलाई साथ दिनुभयो ।
तपाईंले पेसागत संस्थाको प्रमुख र कलाकार भएर सानो बच्चाको हुर्काइसँगै घरपरिवारको जिम्मेवारीलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
सोचिराख्यो भने गाह्रो हुन्छ, बोझिलो भए जस्तो लाग्ला तर मेरो जिन्दगीको लागि यो अवसर हो भनेर सकारात्मक सोच राख्नुपर्छ । म सक्छु, मैले गर्ने नै हो, मैले परिवारसँगै संस्थागत जिम्मेवारी पनि निभाउन सक्छु भन्ने अठोट हुनुपर्यो ।
मेरो दैनिकी हेर्ने हो भने बिहान ३/४ बजे उठेकै हुनुपर्यो । ६/७ बजेसम्म निद्रा लाग्नु भएन । अरू उठ्दा हामीले चार–पाँच वटा काम भ्याइसक्नुपर्छ । यो अठोट भएपछि निद्राले पनि छोड्छ । जाँगरिलो हुनुपर्यो । गर्न सक्छु भनेर सकारात्मक सोच राखेपछि जाँगर पनि आफैँ आउँछ । केही गर्छु भनेर अठोठ गर्ने हो भने त्यो जिम्मेवारी राम्रोसँग पूरा गर्न लाग्ने त आफैँ हो । आफू लाग्दा अरूबाट साथसहयोग पाइन्छ, लिनुपर्छ ।
मैले घरायसी जिम्मेवारी र पुरुषसरह दायित्व निभाउनुपरेको छ होला, त्यो छुट्टै कुरा हो तर मैले माइतमा जुन साथ पाएँ, बिहेपछि श्रीमान् र श्रीमान्काे परिवारबाट त्योभन्दा ‘डब्बल स्पिड’ मा साथ पाएँ । यसैले म यो पेसा र पदमा पुग्न सफल भएँ ।
श्रीमान्बाट असाध्यै धेरै साथसहयोग पाएको छु । आज लगाएको यो चोलोमा श्रीमान्ले नै आइरन लगाइदिनुभएको । पाल्पाको अर्गलीमा रहनुभएका सासूससुरा पनि बेलाबेला आउनुहुन्छ । मेरो सासू, ससुरा, देवर, देवरानी र परिवारका अन्य सदस्यले मलाई सक्दो साथ र हौसला दिनुभएको छ । पाँच वर्ष पुग्दै गरेको मेरो बच्चा माइतीतर्फ दाइभाउजूले राखेर हेरचाह गर्दिराख्नुभएको छ ।
विभिन्न भूमिकामा रहँदा महिला भएकै कारणले कत्तिको सजिलो र अप्ठ्यारो हुनेरहेछ ?
कलाकार मात्रै भएर बस्ने होइन, विवाह गर्नैपर्छ भन्ने दबाब त थुप्रै आउँदो रहेछ घरसमाजबाट । बुबाआमाले पनि बिहे गर्न दबाब दिनुभयो । मैले प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष भएका बेला बिहे गरेँ । मेरो अलि ‘लेट म्यारिज’ भएको हो । बिहे गरेपछि सन्तान जन्माउने दबाब आउनेरहेछ । बच्चा दुई वर्ष जतिको हुँदा अध्यक्ष भएँ । मेरा लागि यो अवसर र चुनौती दुवै हो ।
पेटबाट बच्चा चिरेर निकालियो तर सुत्केरी भएर बसेकी छ भन्ने मौका दिन नहुने दबाब मलाई थियो । परिवार, श्रीमान्, साथी र सङ्गठनले साथ दिँदादिँदै पनि स्वास्थ्य अवस्थाले गर्दा कतिपय बेला निकै चुनौती हुँदो रहेछ तर पनि त्यो चुनौती चिर्न आफैँ उभिएर हिँड्ने हिम्मत जरुरी हुँदो रहेछ । त्यो चुनौती पनि पार गरेँ ।
तपाईं सुरुमा लोकसङ्गीतको क्षेत्रमा आउँदा २०/२२ वर्षअघि र अहिले लोक तथा दोहोरी गीत र सङ्गीतको क्षेत्रमा के फरक छ ?
लोक र दोहोरी गीतको बारेमा भन्दा यी दुई फरक खालका गीत हुन् । लोकमा गाउने गीत अर्थात् हाम्रो गाउँसमाज, पाखापखेरा, कुनाकन्दरामा रहेको लोकसंस्कृति टपक्कै टिपेर ल्याएर महिला वा पुरुषले मात्र एकल रूपमा गाउने गीतलाई ‘लोकगीत’ भनिन्छ । त्यसमा पनि मेरो ठाउँको लोकगीत र काठमाडौँको लोकगीत फरक हुन्छ । पूर्व र पश्चिमको पनि फरक हुन्छ ।
अर्को भनेको महिला र पुरुष व्यक्ति व्यक्ति अथवा दुई समूह आमनेसामने बसेर प्रश्नोत्तर शैलीमा गाउने गीत ‘लोकदोहोरी’ हो । त्यो बेला गाउने र अहिले गाउने गीत सङ्गीतमा केही फरक हुँदै आएको छ । अग्रजहरूले बिस वर्षअघि उहाँहरूले गाउने गीतबारे सोध्दा यिनै गीत सुनाउनुभएको थियो :
‘धानको बाला टिपेर कपनी
तिम्रै लागि आइरा’छु म पनि
चिसो पानी हरियो खुर्सानी
लाको माया कसरी बिर्सनी’
अहिलेको पुस्ताले त्यसलाई त्यसैगरी गाउन पाइँदैन, मिल्दैन । गीतहरूमा परिमार्जन हुँदै आएको छ । शब्द र अनुप्रास मिलाएर गाउनुपर्छ भन्ने अभ्यास हुन थालेको छ ।
शब्द, अनुप्रासको कुरासँगै कतिपय चर्चित लोकदोहोरी गीतमा प्रयोग भएका शब्दहरू लैङ्गिक दृष्टिले संवेदनशील हुँदैनन् नि !?
हो, अहिले युट्युबबाट अलिकति पैसा आउने भएकाले उद्दण्डता मात्रै बिक्ने भइदियो जस्तो भएको हो । अहिलेको पुस्ताका केहीले ‘तेरो बाउ मेरो बाउʼ भन्ने खालका शब्द राखेर र्याप मिसाएर, प्रस्तुतीकरण पनि हेर्नै नसकिने, दिग्दारलाग्दो गीत गाउँछन् । यसैले प्रतिष्ठानसँगसँगै दोहोरी गायक, गायिकाहरूलाई प्रश्न आएपछि हामीले कारबाहीको कदम चाल्यौँ । त्यसो गर्दा गाली पनि खायौँ र ताली पनि पायौँ ।
मैले यो कुर्सीमा बसिसकेपछि साङ्गठनिकरूपमा थुप्रै कठोर निर्णयहरू गर्नुपर्यो । मेरै टिमका कतिपय साथीहरू, मैले एकदमै माया गरेर सँगै लिएर हिँडेका गायक भाइबैनीहरू पनि कारबाहीमा पर्नुभयो । मेरो यस प्रतिष्ठानको उद्देश्य भनेको लोकसंस्कृति बिग्रन दिनु हुँदैन भन्ने हो । त्यसकारण गालीले असर गरेन । गर्नुपर्ने काम गरिरहेकै छु ।
हाम्रो टोल, समुदायको मौलिक, विविधतायुक्त संस्कृतिका गीतहरू छन् तर अगाडि आएर चर्चित नभएको अवस्था पनि छ । हामीले पनि ‘मूलधार’ का केही गीतहरूलाई मात्र नजर लाउँछौ । युट्युबमा जुन गीतको ‘भ्युज’ जान्छ वा जुन गीत ‘ट्रेन्डिङ’ मा जान्छ त्यो मात्र हेर्ने चलन छ ।
मेरो युट्युबमा हेर्नुभो भने ‘यही मगर्नी सही छ’ (यति बानी सुधार) भन्ने बत्तिएर, रत्तिएर गाएको गीत ७० लाखभन्दा बढीले हेरेका छन् तर समुदायको बारेमा गाएको कतिपय गीत मन पराईंदैन ।
राई, लिम्बू, मगर, गुरुङ, क्षेत्री, ब्राह्मण समुदायका गायकले आफ्नोभन्दा अन्य भाषाको गीत पनि गाउनुभएको छ । सुदूरपश्चिम, कर्णाली, तराईका गीतहरू पनि आएका छन् तर हेर्ने दर्शकले त्यस्तै गीतहरूलाई मात्र मन पराइरहेको अवस्था छ । अहिले ‘भाइरल’ को जमाना छ ।
दोहोरी गीत बिग्रियो मात्र भन्ने होइन कि सुध्रिएका गीतहरू युट्युबमा के–के छन् त्यो पनि हेरिदिनुपर्यो । यसमा मिडिया हाउस र मिडियाकर्मीहरूले खोज अनुसन्धान गरेर लेखिदिनुपर्छ ।
अहिले समानता बोल्ने गीतहरू किन नलेखिएका हुन् ? महिला अधिकार, समानताको कुरा गरिएका शब्द घुसाउँदा गीतमा मिठास भरिँदैन, बजार पिट्दैन भनेर त होइन नि ? गीतको आलोचना गर्ने तर रचनात्मक सुझाव दिएनन् भन्ने गुनासो हो तपाईं कलाकारहरूको ?

अहिले तपाईं सबल हुनुभयो, माइक समातेर मलाई प्रश्न गर्ने हैसियत राख्नुभयो । पहिले तपाईंको ठाउँमा माइक समात्ने र प्रश्न गर्ने कोही पुरुष आउँथ्यो वा तपाईंले प्रश्न गर्दा उत्तर दिने ठाउँमा पुरुष हुन्थ्यो । अहिले प्रश्न र उत्तर दुवै महिलाले गर्ने फेजमा बल्ल आइपुग्यौँ हामी ।
अबका दिनहरूमा महिलालाई होच्याएर गाउने, महिलाको खोट मात्रै देखाउने किन गरिन्छ भनेर, महिलाको उछित्तो मात्रै काढ्ने, हास्यव्यङ्ग्य कलाकारहरूलाई यो काम किन गरिएको वा यो चलन कहिलेसम्म भनेर प्रश्न उठाउने हैसियत बल्ल भएको छ हाम्रो । हामीमा प्रश्न गर्ने चेतना जागृत भइराखेको छ । अहिले महिलाहरू हरेक क्षेत्रमा सक्षम भएर बाहिर निक्लिराखेको, हिम्मतसित प्रगति गरिराखेका छन् । यो भइसकेपछि अबका दिनमा त्यस्ता खालका गीतहरू बन्दैनन् भन्ने मलाई लाग्छ ।
अहिले महिला समानताको कुरा चलिरहेको छ । हामी राज्यले दिएको जति प्रतिशत पनि पूरा सहभागी छैनौँ । आउने दिनहरूमा हरेक क्षेत्रमा अगाडि आउन महिलाहरू अझै उत्साहित हुनुपर्यो । जब महिलाहरू पुरुष बराबरीको हैसियतमा आउँछन् तब मात्रै गीतमा समानताको कुरा गरिन्छ र महिलालाई खसालिएका र खुइल्याइएका गीत लेख्न अझै कम हुन्छ ।
पहिला समाजमा किरिया कसले गर्छ छोरा नभई हुन्न भन्ने चलन थियो । अहिले हामीले एक वा दुई छोरीमा खुसी भएर बसेका बाबुआमा, छोरी भएन भनेर चिन्तित हुने बाबुआमा पनि देखेका छौँ । यस्तो युग त आएको छ त ! छोरीले बाउआमाको किरिया गरेको देखेका छौँ । यसको मतलव समाज परिवर्तन भइरहेको छ ।
हामी छोरीहरूले त्यहीअनुसारको हिम्मत गर्नुपर्छ । बाआमा बित्दा घरमै बसेर ह्वाँह्वाँ रुने चलन छ । मैले बारम्बार भन्छु– रुने काम मात्रै नगर्नुस्, हामी छोरीमान्छेले दाइभाइले सरह काँध थापेर घाट जाने हैसियत बनाउनुपर्छ ।
तपाईंको विचारमा जनमानसको सोचलाई परिवर्तन गर्न अब कस्ता गीत लेखिनुपर्छ ?
गीतकारले र गायकले समानताका लागि अब कस्ता गीत लेख्न र गाउन सक्छन् भन्ने सवालमा ठ्याक्कै जवाफ छैन । प्रत्यक्ष दोहोरीको कुरा गर्ने हो भने गाउने बेलामा हामीले दोस्रो, तेस्रो चरणबाट ‘थिम’ बनाएर दिन्छौँ ।
बिस वर्षअघि दोहोरी गाउन जाँदा हामीले फूल र भमराको, माछी र जलारेको, माछी र पानीको थिममा प्रश्नोत्तर गर्न पर्थ्यो । अहिले दोहोरी प्रतिष्ठानबाटै राष्ट्रिय लोकदोहोरी प्रतियोगिता आयोजना गर्छौं र हामीले नै ‘महिला र पुरुषले के गर्नुपर्छ, महिला अघि बढे कसको कारणले, पुरुष अघि बढे कसको कारणले, परिवारको वा श्रीमतीको कारणले’ भन्ने जस्ता थिमहरू बनाएर दिन्छौँ । अहिले सुन्न लायकका दोहोरीहरू आउँछन् ।
दोहोरी भनेको पुरुष र महिला बराबर भएपछि मात्रै गाउने हो । पुरुषले उठाएको प्रश्नमा जवाफ दिन त महिलाहरू पनि बराबर हुनुपर्यो नि हैन र ? माइक समाउने हैसियत र ट्याकल गर्ने क्षमता बराबर भएर नै महिला पुरुष दुवै जना स्टेजमा दोहोरी गाउन आउने हुन् ।
दोहोरी बराबर हो र बराबर भएरै मञ्चमा उत्रिन्छौँ हामी । प्रजापति पराजुलीसँग दोहोरी गाउनुपरे म जान्छु । उहाँसँग बराबर प्रश्नोत्तर गर्न सक्ने भएरै त्यहाँ म गएको हुँला नि त ! दसौँ हजार दर्शकलाई उचाल्ने गरी एक–दुई घण्टासम्म दोहोरी गाउन सक्ने महिला त पुरुष बराबरकै होला नि !
दोहोरी प्रतिष्ठानको सभाहलमा आठ जना अध्यक्ष भइसक्दा कम्तीमा तीन जना महिलाको फोटो टाँसिनुपर्थ्यो । यसकारण हामीले दोहोरीमार्फत समाजमा ‘छोरी कमजोर हुनुहुन्न है, हामी महिलाहरू केहीमा पनि कमजोर हुनुहुन्न है’ भनेर धेरै सन्देश दिन सकिन्छ । यसर्थ प्रतिष्ठानले र लोकदोहोरी गीतले महिला र पुरुष केहीमा पनि कम छैन भनेर अझै जागृत गर्न, चेतना र हिम्मतमा पुरुष बराबर हुनुपर्छ भन्ने सन्देश दिन सक्छ भन्ने लाग्छ ।
तपाईंले एक जना महिला भएर सोच्दा लोकदोहोरी क्षेत्रले महिलाको लागि के गर्न सक्छ भन्ने लाग्छ ?
म साङ्गठनिक कामको सिलसिलामा पूर्व–पश्चिम धाउँदा राष्ट्रभरि नै अन्य गीत सङ्गीतलाई लोकदोहोरी गीतले जितेको अनुभूति गरेको छु । लोकदोहोरी गीतहरू करोड क्लबमा गइरहेका छन्, जो पूर्वदेखि सुदूरपश्चिमसम्मकै दर्शक श्रोताले लोकदोहोरीलाई माया गरेको उदाहरण हो ।
पूर्वतिर म जाँदा ‘ए आमा’ भन्ने गीत गाउने मान्छे आएको छ रे भन्दै कक्षा ८, ९, १० पढेका बहिनीहरू टाढाटाढाबाट हामफालेर मलाई भेट्न आएको पाएँ । ‘हामी तपाईंजस्तै हिम्मतिलो दोहोरी गीत गाउने कलाकार र नेता बन्ने हो, सिक्दै छौँ’ भन्नुभयो । मैले उहाँहरूसँग ‘हामी छोरीमान्छेहरू हिम्मतिलो, अनुशासित हुनुपर्ने र दोहोरी वा कला क्षेत्रमा लागेर केही गर्छु भन्ने अठोट लिनुपर्ने’ बताएँ ।
मलाई हेरेर उहाँहरू ऊर्जा र उत्साह बटुल्नुहुन्छ । कलाकारिता क्षेत्रमा जिल्ला प्रदेश र केन्द्रमा भएका बैनीहरू, साथीहरू पनि मलाई देखेर केही गर्न सकिने सपना देख्नुहुन्छ, हिम्मत जुटाउनुहुन्छ । हामी महिलाहरूले महिलाका लागि धेरै गर्न सक्छौँ ।
लोक तथा दोहोरी क्षेत्रलाई माथि उकास्न, प्रविधिसँग अझै जोड्न र सभ्य बनाउनका लागि कसरी अगाडि बढिरहनुभएको छ ?
आर्थिक अवस्था राम्रो भए मात्रै कलाकार भएर देशमा बाँच्न सकिन्छ नत्र झोला बोकेर बाहिर गए हुन्छ भन्ने पनि छ । जमानाअनुसार प्रविधिको प्रयोग गरेर पैसा कमाउन सिक्नुपर्छ । त्यसैले हामीले अग्रजलाई युट्युब र ‘एम्युज’ सिकाउने भएका छौँ ।
पछिल्लो पुस्ताका भाइबैनीलाई पनि ‘दोहोरी साँझमा मात्र नबस, पैसा कमाउने सिप र प्रविधि अपनाऊ’ भनेर त्यसैमा लागिपरेका छौँ । आइटीमा दख्खल राख्नेहरूबाट उहाँहरू सबैलाई प्रशिक्षण दिने भनेर रातो माइनुटमा निर्णय गरिसकेका छौँ र प्रविधिको भरपुर प्रयोग गर्नुपर्छ भनेर लागिरहेका छौँ ।
लोकदोहोरी क्षेत्रका अवसर र चुनौतीहरू के कस्ता छन् ?
अवसरहरू नभएको त होइन छ तर अहिले धेरै कलाकारहरू राम्रो स्कुलमा बच्चा पढाइरहनुभएको छ, राम्रो जिन्दगी बाँचिरहनुभएको छ । लोकदोहोरी कलाकार भएकाले मैले त प्रधानमन्त्रीभन्दा बढी राष्ट्र घुमेको छु, परिवार नातागोता इष्टमित्रलाई त्यत्तिकै खुसी पारेको छु जस्तो लाग्छ । यसैले लोकदोहोरी गायक भएर के हुन्छ भन्ने तरिकाले सोच्ने होइन, धेरै हुन्छ ।
मिडियाले कलाकारहरू धुरु धुरु रोएको फोटो र भिडियो मात्र नभएर उनीहरू नाचेको, गाएको, हाँसेको, गाडी चढेको, घर बनाएको उन्नति प्रगति गरेको जस्ता सकारात्मक कुरा पनि ल्याइदिनुपर्छ ।
चुनौतीको कुरा गर्दा मुख्यतः परिवारबाट विश्वास आर्जन गर्नै पर्छ । अझ महिलाहरूलाई बढी यो चुनौती आउँछ । ‘गीत गाएर, दोहोरी गाएर हुँदैन, बिहे गर्नुपर्छ’ भन्ने गरिन्छ । पहिलापहिला म माइतीघरमै हुँदा पनि ‘दोहोरी चाहिँ नगाऊ है’ भन्ने चलन थियो । अहिले त्यस्तो केही कम भएको छ ।
अहिले धेरै महिला कलाकारलाई बिहे गरिसकेपछि चुनौती छ । उहाँहरूलाई ‘अब गीत गाउन हुँदैन’ भनिन्छ । केही बैनीहरूले यस्तै समस्या भोग्नुभएको छ । कतिपय बैनीहरूलाई दोहोरी साँझमा गीत गाउन लाउने तर तलब नदिएर उहाँहरूको कलाको शोषण हुने गरेको पनि छ । यस्तो अवस्थामा जसलाई घरबाट साथसपोर्ट मिलेको छैन, उहाँहरूलाई अझै गाह्रो हुन्छ ।
लोकदोहोरी क्लब, रोधीघर, कतिपय रेस्टुरेन्टमा हुने दोहोरी कार्यक्रममा श्रमको शोषणसँगै कलाकार महिलाहरूमाथि यौनहिंसा भएका घटना पनि सुनिन्छ नि ! यसमा प्रतिष्ठानले के गरिरहेको छ ?
हाम्रो मूल उद्देश्य भनेकै कलाकारहरूको सुखदुःखमा र अन्यायमा परेका बेलामा साथसपोर्ट गर्ने हो । जसरी लोकसंस्कृति बिग्रिँदा हामी विरोधमा उभिन्छौँ, त्यसैगरी कलाकारहरूको श्रमशोषण हुँदा, अन्य कुनै खालको अन्यायमा पर्दा र यौनहिंसाका घटना भएको अवस्थामा हाम्रो प्रतिष्ठान कलाकारहरूको पक्षमै हुन्छ, उहाँहरूसँगै छ । उहाँहरूसँगै उभिन्छ । कलाकारले पनि आफूलाई सारोगाह्रो पर्नेबित्तिकै प्रतिष्ठानलाई नै सम्झनुहुन्छ ।
हाम्रा साथीहरू राति २–३ बजे पनि ‘एक्सन’ मा जानुहुन्छ । कलाकारको पक्षमा हामी एकदमै लडिरहेका छौँ । मैले बैनीहरूसँगै पुरुष साथीहरूलाई पनि सम्झाइरहेको हुन्छु । कतिपय अवस्थामा हामीले कलाकार भाइबैनीहरूलाई पनि ‘आफू सुध्रिनुपर्छ, इमानदार र जिम्मेवार हुनुपर्छ’ भनेर सम्झाइराखेका छौँ । विभिन्न खालका प्रशिक्षणहरू पनि दिइराखेका छौँ ।
महिला र पुरुष गायक तथा कलाकारको पारिश्रमिकमा पनि विभेद हुन्छ भन्ने गुनासो सुनिन्छ नि !
पारिश्रमिकमा विभेद हुँदै नभएको होइन तर यसो भन्दैमा सबै महिलाले कम नै पाउँछन् भन्ने पनि होइन । कतिपय कलाकार महिलाले नै ‘दाइलाईभन्दा मलाई यति हजार कम भए पनि हुन्छ’ भन्दै स्टेज कार्यक्रम तथा मेला महोत्सवमा जाने गर्नुभएको पनि पाइन्छ । यो क्षेत्रमा कोही ‘मलाई माइक र स्टेज भए हुन्छ, पैसा नभए पनि हुन्छ’ भन्नेहरू पनि हुन्छन् ।
म यति नभई म मञ्चमै चढ्दिनँ भन्ने कलाकारहरू पनि हुनुहुन्छ । म त सबैलाई ‘आफ्नो कामको पारिश्रमिक लिनुपर्छ’ भनेर भन्छु । कलाकार महिलाहरूले आफ्नो स्तर र अडान बनाउनुपर्यो भनेर हौसला पनि दिन्छु । सबैले आफ्नो कलाकारिताको मूल्य दाबी गर्ने हैसियत राख्न सक्नुपर्छ भन्ने गर्छु ।
सुरुसुरुमा कहिलेकाहीँ अडान मात्रै लिएर काठमाडौँमा घाम तापेर अथवा कोठामा बसिराखेर पनि नहुने अवस्था हुन्छ । एउटा तहमा पुगिसकेपछि भने अडान नछोडीकन चल्न सक्ने हैसियत बनाउने जिम्मा स्वयं व्यक्तिको पनि हो भन्ने लाग्छ । यस्तो लाग्दालाग्दै पनि ‘छोरी भएपछि झाडु लाउने, लुगा धुने गर्नुपर्दैन त ?’ भन्ने समाजमा हुर्किएका हामी महिलाहरू कलाकारिता क्षेत्रमै आए पनि त्यो सोच हटाउन नसक्दा रहेछौँ ।
‘दाइलाई दस हजार दिनुहुन्छ भने मलाई पाँच हजार दिए पनि हुन्छ’ भनेर पनि मञ्चमा सहभागी हुन जाने गर्छौं । कसैकसैको प्रवृत्ति यस्तो हुँदा चाहिँ संस्थागतरूपमा समान पारिश्रमिकको लागि काम गर्न गाह्रो पनि हुन्छ ।
साना बालबालिकालाई पनि जस्तोसुकै शब्दका गीत गाउन लगाउने र युट्युबमा हालेर पैसा कमाउने उद्देश्य राखेको पनि देखिन्छ । यसलाई कसरी हेर्नुभएको छ ?
एकताका युट्युबहरूमा दोहोरीको अर्थै थाहा नभएको, मर्म र भावना नै थाहा नभएका बच्चाहरूलाई ल्याएर क्यामेरा अघि राखिदिएर वयस्कले लेखेका शब्दहरू घोकाएर, ‘तिमीविना बाँच्न सक्दिनँ’, ‘सुहागरात’ जस्ता मायापिरतीका भाव जगाउने गीतहरू गाउन लगाएको देखिन्थ्यो । यसबाट एकदमै विकृति मौलाएको थियो ।
जसले युट्युब चलाउनुहुन्छ र जसले बालबालिकाको दुरुपयोग पनि गर्नुभएको छ, उहाँहरू सबैजनासँगै बालबालिकाको अभिभावकलाई समेत प्रतिष्ठानको केन्द्रीय कार्यालयमा बोलाएर हामीले ‘यो विकृति हो, यस्ता गीत गाउन लगाउनु हुँदैन, बच्चाको मानसपटलमा दोहोरीमार्फत उच्छृङ्खलता घुसाउनु हुँदैन, पढ्ने उमेरमा पढ्न दिनुपर्छ’ भनेर छलफल चलाएर सम्झाएका छौँ ।
बालबालिकाले गीत गाउनै हुँदैन भन्ने पनि होइन तर हामी ठुलाले गाएका मायापिरतीका गीतहरू बालबालिकालाई घोकाएर मञ्चमा उभ्याउने र रेकर्ड गराएर युट्युबमा हाल्नु गलत हो । १५–१६ वर्षका किशोरकिशोरी र १०–११ वर्षका बालबालिकाले गाउने गीत फरक हुन्छ भनेर हामीले बुझाइरहेका छौँ । त्यसरी सम्झाइबुझाइ गरेपछि अहिले यो काम चटक्कै रोकिएको छ भन्दा हुन्छ ।
कलाकारलाई राष्ट्रका गहना मानिन्छ तर राज्यबाट त्यति माया नपाइएको गुनासो पनि छ । यस क्षेत्रको विकासमा राज्यको भूमिका कस्तो हुनुपर्छ ?

सामान्य नागरिकको रूपमा भन्नुपर्दा, राज्यले लोकसंस्कृतिको सबैभन्दा धेरै जगेर्ना गर्नुपर्छ भन्छु । देशको मौलिकतालाई मर्न दिनु हुँदैन । लोप भइरहेको यहाँको संस्कृतिलाई जगेर्ना गरी अब पुस्तान्तरण गर्नुपर्छ । मैले गाएको गीत मेरो सन्तानले, मपछिको पुस्ताले गाइदिएन वा मन पराइदिएन भने के हुन्छ ?
लोकगीत, सङ्गीतले राष्ट्रियता जोगाउनलाई एकदमै ठुलो भूमिका खेल्छ तर राज्य आफैँ अलमलिएको अवस्थामा छ । संस्कृति मन्त्रालय हामीसँग सम्बन्धित मन्त्रालय हो । हामीले हाम्रो माग लिएर जाँदा र लोकदोहोरी तथा संस्कृतिका बारेमा बुझाउँदाबुझाउँदै संस्कृतिमन्त्रीको मन्त्री पद खुस्किसकेको हुँदो रहेछ ।
मेरा अग्रजहरू पटकपटक सिंहदरबार धाउँदा म पनि उहाँहरूको पछिपछि लागेर गएँ । म आफैँ अध्यक्ष भएर आएपछि संस्कृति तथा पर्यटनमन्त्री माननीय सुदन किराँती भएका बेला मैले पटकपटक सिंहदरबार धाएँ । उहाँ पूर्वको राईको छोरा, त्यसैले हाम्रो पश्चिमको लोकदोहोरी बुझ्नुभएको छैन कि भनेर हामीले लोक र दोहोरी गीत प्रतिष्ठानकै बारेमा पटकपटक मन्त्रालय गएर बुझाउने कोसिस गर्यौँ।
लोक तथा दोहोरी संस्कृतिका बारेमा उहाँले बुझ्दै हुनुहुन्थ्यो, उहाँको मनमा यसलाई राज्यले जगेर्ना गर्नुपर्दो रहेछ भन्ने भावना जागृत हुँदै थियो । उहाँको हृदयमा कलाकारलाई केही गर्नुपर्छ भन्ने भावना आइसकेको थियो । त्यस्तो बेलामा उहाँको मन्त्री पद नै गयो । अब हामीले फेरि अर्को मन्त्रीलाई बुझाउन जानुपर्छ । मलाई लाग्छ, त्यति गर्दागर्दै मेरो कार्यकाल नै सकिन्छ ।
दोहोरी प्रतिष्ठानको आजीवन सदस्यसमेत रहेका रवीन्द्र अधिकारी संस्कृतिमन्त्री हुँदा राज्यबाट ४० लाख रुपैयाँ पायौँ र प्रतिष्ठानको लागि यो जग्गा किन्यौँ । कतिपय मन्त्रीहरूसमक्ष सर्जक र स्रष्टाहरूलाई रोयल्टी दिनुपर्ने कुरा लिएर जाँदा ‘दस पैसा र बीस पैसाको कुरा लिएर नआउनुस्’ पनि भन्नुभएको छ । उहाँहरूको बुझाइको स्तर नै यस्तो छ ।
जहिले पनि यहाँ कसको सत्ता टिकाउने, को प्रधानमन्त्री बन्ने, को संस्कृतिमन्त्री बन्ने भनेर तँछाडमछाड गरिन्छ । कसले कुन मन्त्रालय पाउने भन्ने खेल मात्रै हुन्छ । राज्यको यो हालत र यस्तो विडम्बना छ । यस्तो देख्दा मलाई त राज्यलाई पो ‘बिचरा’ भन्न मन लाग्छ । यस्तो राज्यको भूमिकाको बारेमा के कुरा गर्ने ?
तपाईंको कार्यकाल सकिनै लाग्यो, उल्लेख्य काम के गर्नुभयो र अबका योजनाहरू के छन् ?
मेरो कार्यकाल २०८२ फागुनसम्म हो । अब फागुनमा अधिवेशन हुँदैछ । मेरो कार्यकालमा अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ भन्ने नाराका साथ साङ्गीतिक साँझ सुरु भयो । त्यहाँबाट यस क्षेत्रका कलाकारहरू उत्पादन हुन्थ्यो । बिस्तारै मेला महोत्सवहरू ‘कमर्सियल’ हुँदै गएर प्रतियोगिताहरू पनि कम भए । यसैले अब हामीले आउने फागुनमा एउटा रनिङ सिल्ड दोहोरी प्रतियोगिता गर्दैछौँ ।
हामीले देशव्यापीरूपमा सङ्गठनको सदस्यता विस्तार पनि गर्दैछौँ । जिल्ला अधिवेशन, प्रदेश अधिवेशन हुँदै केन्द्रीय महाधिवेशन पनि सम्पन्न गर्नुपर्ने छ । यी साङ्गठनिक योजना हुन् । यससँगै बाँचुन्जेलसम्म दोहोरी कलाकार र दोहोरी क्षेत्रका भाइबैनीहरूका लागि र लोकसङ्गीतका लागि हामी योगदान दिने नै छौँ ।
प्रकाशन मिति : २०८२ असार ६ गते, शुक्रवार





