बहुपतिप्रथामा महिलाको अवस्थालाई परबाट नियाल्न खोज्दा

Share this :

– देवकी बिष्ट

टाऽऽढाबाट देखिन्छन् … पहाडका ठुला ठुला चट्टान, अनि तिनै चट्टानबाट चिप्लेर बनेकाजस्ता एकै किसिमका माटो–ढुङ्गाका घरहरू र स–साना फाँटहरू । त्यसको दायाँतिर गुम्बा र बायाँपट्टि बगिरहने खोला । गुम्बाको छेउमै केही वर्षअघि पहिरो आयो । त्यो पहिरो गाउँको शिरमा उभिएको झैँ लाग्छ । स्थानीय बासिन्दाको विश्वास छ, पहिरोले यो गाउँ पुरिँदैन किनभने गुम्बाको शक्ति छ । गुम्बाको छेउतिर अग्लो स्थानमा सानो स्कुल छ । स्कुलको नाम हो सुनखानी आधारभूत विद्यालय ।

सङ्घीय राजधानी काठमाडौँबाट सडक मार्ग हुँदै जाने हो भने करिब नौ सय किलोमिटर पार गरेपछि मात्र पुगिने हुम्ला जिल्लाको हिमाली क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाको सिमानामा ‘गेट’ बनाइएको छ । गाउँपालिका प्रवेश गर्न सो गेट पार गर्नुपर्छ । नयाँ मानिस गाउँभित्र छिरेमा पनि स्थानीय व्यक्तिहरू बोलि हाल्दैनन् । गाउँका अध्यक्षले ‘उहाँहरूसँग बोल्नू’ भनेर चिनाएपछि मात्रै गाउँवासी अपरिचित आगन्तुकको मुहारतिर फर्केर हेर्छन् ।

समुद्री सतहबाट एक हजार ५२४ देखि सात हजार ३३७ मिटर उचाइमा रहेको नेपालकै अतिदुर्गम जिल्ला हुम्लाका दुर्गम गाउँका गोरेटामा कि गधा, कि भेडा, कि घोडालाई भारी बोकाइएको हुन्छ । भारी बोकेका महिलाहरूको मात्रै लस्कर पनि देख्न सकिन्छ । गेटको छेउमा पुगेपछि महिलाहरूले ढुङ्गा बोक्दै गरेको देखेँ । फरक दृश्यले मलाई तान्यो । मैले फोटो खिचेँ । अकस्मात आक्रोशपूर्ण स्वर सुनियो– “खिच् ! खिच् !! हामी गाधा हो गाधा, हामी यास्तै त हो ।”

आवाज आएकोतर्फ हेरेँ । मैलो बख्खु, क्रिम रङको सुरुवाल, चराको गुँडजस्तै कपाल, गलामा सुन्तला रङको माला, राता गाला र पिठ्युँमा ठुलो ढुङ्गा बोकेकी एक महिला आक्रोशपूर्ण स्वरमा कराउँदै हुनुहुन्थ्यो । २०८० भदौमा सुनेको त्यो स्वर अहिले पनि मेरो कानमा गुन्जिरहन्छ । त्यो दृश्य पनि मेरो आँखामा घुमिरहन्छ ।

जेलिएका घरजस्तै जेलिएका भावनाहरू र लुकेका कथाहरू पनि थिए । मलाई चासो थियो बहुपतिप्रथामा, जुन अन्तर्राष्ट्रिय कथा पनि भइसकेको छ । पुरुषले तीन–चार श्रीमती ल्याउँदा फरक नपर्ने बाँकी समाजलाई देखेका व्यक्तिलाई एउटी महिला श्रीमान्‌का सबै दाजुभाइकी साझा श्रीमती भन्ने सुन्दा वा देख्दा अचम्म लाग्नु र थप जानकारीका लागि उत्सुकता जाग्नु स्वाभाविक हो । प्रायः महिलाले आफ्नो शरीर जसलाई सुम्पन्छन् उसैलाई सर्वस्व ठान्छन् । यो दृष्टिकोणबाट हुम्लाको लिमी, लाप्चा र नाम्खा गाउँका माटाले पोतिएका, घरको छतमा एकनासले राखिएका दाउरा झैँ त्यहाँका परम्परा र नियमलाई विरासतको रूपमा स्विकारिरहेका महिलालाई सम्झँदा मनमा धेरै खालका प्रश्नहरू उब्जिन्छन् ।

लिमी भ्याली

एक जना महिलाले कसरी एकै घरका दाजुभाइसँग फरक फरक दिनमा आफ्नो शरीर बाँड्न सक्छिन् ? कसरी आफ्नो प्रेम बाँड्छिन् होला ? कसरी दुई ज्यान एक हुँदै आफ्नो शरीरलाई मनैदेखि बाँड्छिन् होला ? कसरी, कहिले र कसलाई आफ्नो पीडा पोख्छिन् होला ? प्रथा, संस्कार र अवस्थाको आधारमा तय गरिएका बहुपतिकी पत्नी हुनुपर्ने अवस्थाले घेरिएका महिलाले आफूलाई मानिस ठान्न सक्छन् कि सक्दैनन् होला ? ती महिलाका कुरा कत्तिको सुनिन्छ होला ? एक जना महिलालाई सबै दाजुभाइले श्रीमती मानेर रहेका पुरुषहरूले पनि साझा श्रीमतीको बारेमा के सोच्छन् होला ? के ती महिलाले कहिल्यै ती पुरुषहरूसँग आफ्नो भावना व्यक्त गरेकी छन् ? वा गर्न सकेकी छन् ? अहिले पनि बहुपतिप्रथा कायम छ ? छ भने कस्तो अवस्थामा छ त ? यस्तै प्रश्नहरूको घेरामा थिएँ म ।

बहुपतिप्रथा प्रचलनमा रहेका नेपालका गाउँपालिकाहरूमध्ये एक हो, नाम्खा गाउँपालिका । कर्णाली प्रदेशअन्तर्गत हुम्ला जिल्लाको सुदूर उत्तरपश्चिममा अवस्थित यो गाउँपालिका चीन स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ । क्षेत्रफलको हिसाबले यो नेपालकै सबैभन्दा ठुलो गाउँपालिका हो । राष्ट्रिय जनगणना २०७८ अनुसार, नाम्खा गाउँपालिकाका कुल तीन हजार ५८९ जनसङ्ख्यामध्ये पुरुष एक हजार ७५० र महिला एक हजार ८३९ छन् ।

चार दिनको प्रयासपछि नाम्खा गाउँपालिकाको हल्जीगाउँमा छिर्ने अवसर मिलेको थियो । त्यो पनि नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले अनुमति दिनुभएपछि । सबैसँग कुराकानी गरेँ । लाग्यो, हल्जी त सभ्यता र संस्कृतिको खानी नै रहेछ । कोही नयाँ मानिस आएमा स्वागत गर्ने आफ्नै परम्परा रहेछ त्यहाँ । अध्यक्ष पाल्जोरले गाउँमा सबैको घरमा खानाको लागि पालोको व्यवस्था मिलाउनुभएको थियो । एक जनाको खानाको शुल्क २५० रुपैयाँ थियो । घर–घरमा पालैपालो खाना खाने तथा खुवाउने व्यवस्थाले गर्दा गाउँमा सबैको आम्दानी समान हुन्थ्यो ।

घर–घरमा खाना खान जाँदा मेरो नजर महिलाहरूमै टिकेको हुन्थ्यो । मसँग केही बोल्छन् कि ? आफूलाई लागेका कुरा भन्छन् कि ? बहुपतिप्रथा प्रचलनमा भए पनि त्यहाँ सहजै भेउ पाउन मुस्किल थियो । अर्को दिन नजिकै सुनखानी आधारभूत विद्यालयतिर गएँ । त्यहाँ छिरिङयम्दा तामाङसँग भेट भयो । उहाँ विद्यालय सञ्चालन समितिले नियुक्त गरेका शिक्षक । छिरिङले अङ्ग्रेजी र तिब्बती भाषा पढाउनुहुँदो रहेछ । २७ वर्षका उहाँले स्कुलमा पढाउन थालेको पनि सात वर्ष भएको रहेछ ।

छिरिङयम्दा तामाङ

पढेलेखेको भन्ने थाहा पाएपछि छिरिङसँग घुमाउरो पारामा बहुपतिप्रथाको बारेमा सोधेँ, “तपाईंले पुस्तकमा बहुपतिप्रथाको बारेमा प्रश्न आएमा यहाँका विद्यार्थीलाई कसरी बुझाउनुहुन्छ ?” यसको जवाफमा उहाँले ‘केही भन्दिनँ । अब यसको बारेमा के भन्ने ?’ भन्दै फिस्स हाँस्नुभयो । मैले पुनः सोधेँ, “तपाईंको गाउँमा बहुपतिप्रथा छ ?” उहाँको जवाफ थियो, “पहिला थियो । अहिले कम छ ।”

बहुपतिप्रथा प्रचलनमा रहेको मुलुकमा नेपाल अपवाद होइन । यो प्रथा एसिया, अफ्रिका, युरोप तथा ल्याटिन अमेरिकी मुलुकहरूमा विभिन्नरूपमा रहेको कुरा ब्रिटानिका विश्वकोश (२०२५ अक्टोबर) मा उल्लेख छ । बहुपतिप्रथा एउटी महिलाले दुई वा दुईभन्दा बढी व्यक्तिसँग एकै समयमा विवाह गर्ने प्रथा हो । यो खासगरी दुई प्रकारको पाइन्छ ।

पढेलेखेको भएर पनि होला छिरिङको बोल्ने शैली फरक थियो । उहाँ नेपाली राम्रोसँग बोल्न सक्नुहुन्थ्यो तर अड्किएर । कुरा गर्दै जाँदा उहाँले बहुपतिप्रथाबारे आफूलाई लागेका कुराको बेलीविस्तार मात्र लगाउनु भएन, आफूलाई लागेको कुरा र छोरा पुस्ताको भविष्यका बारेमा फरक ढङ्गले सोचिसकेको जनाउ पनि दिनुभयो ।

अपवाद होइन नेपाल

बहुपतिप्रथा प्रचलनमा रहेको मुलुकमा नेपाल अपवाद होइन । यो प्रथा एसिया, अफ्रिका, युरोप तथा ल्याटिन अमेरिकी मुलुकहरूमा विभिन्नरूपमा रहेको कुरा ब्रिटानिका विश्वकोश (२०२५ अक्टोबर) मा उल्लेख छ । बहुपतिप्रथा एउटी महिलाले दुई वा दुईभन्दा बढी व्यक्तिसँग एकै समयमा विवाह गर्ने प्रथा हो । यो खासगरी दुई प्रकारको पाइन्छ । भात्रीय (फ्रेटर्नल) र भात्रीय नभएको (नन्–फ्रेटर्नल) ।

भात्रीय बहुपतिप्रथा दाजुभाइले एउटै महिलालाई साझा श्रीमतीका रूपमा विवाह गर्ने चलन हो । जेठो दाजुले कुनै महिलासँग विवाह गर्छ भने अन्य भाइहरू स्वतः सो महिलाका श्रीमान् हुन्छन् । यो प्रथाअन्तर्गत जेठो दाइ नै बालबच्चाको आधिकारिक बाबु मानिएका हुन्छन् भने बाँकी भाइहरू क्रमैसँग कान्छा बा अथवा काका भनिएका हुन्छन् ।

भात्रीय नभएको बहुपतिप्रथामा चाहिँ एकै समयमा एकअर्कासँग सम्बन्धित नभएका पुरुषहरूसँग विवाह गर्ने चलन हुन्छ । नेपालमा रहेको बहुपतिप्रथा भात्रीय हो । बहुपतिप्रथा स्विकारेका व्यक्तिहरूमध्ये एक हुनुहुँदो रहेछ छिरिङयम्दा तामाङ । लिमी उपत्यकाको हल्जी गाउँका छिरिङ र उहाँको भाइकी एउटै साझा श्रीमतीका दुई छोरा भए ।

श्रीमतीसँग मनका कुरा हुँदैनन्

घरका जेठा छोरा छिरिङ ८ वर्षको उमेरमा पढ्नका लागि भारतको कर्नाटकस्थित गुम्बामा जानुभएको थियो । घरको आर्थिक अवस्था कमजोर भए पनि उहाँको पढाइ जारी नै थियो । यसबिच आमाले यता विवाहको कुरा गर्नुभयो । २०७१ सालमा १९ वर्षको उमेरमा छिरिङको विवाह भयो । “अनि मेरो भाइको पनि साझा श्रीमती भयो,” छिरिङले भन्नुभयो । त्यतिबेला उहाँका भाइ १५ वर्षका हुनुहुन्थ्यो ।

“यहाँ (लिमी उपत्यकाको हल्जी गाउँमा) जति जनाका दाजुभाइ छन्, सबैका घरमा साझा श्रीमती छन् । कसैले यसको बारेमा केही भन्दैन,” छिरिङले थप्नुभयो, “मैले विवाह गरेर ल्याएपछि यहाँ भाइको पनि श्रीमती हो भनेर सबैलाई थाहा हुन्छ ।”

“यहाँ (लिमी उपत्यकाको हल्जी गाउँमा) जति जनाका दाजुभाइ छन्, सबैका घरमा साझा श्रीमती छन् । कसैले यसको बारेमा केही भन्दैन,” छिरिङले थप्नुभयो, “मैले विवाह गरेर ल्याएपछि यहाँ भाइको पनि श्रीमती हो भनेर सबैलाई थाहा हुन्छ ।” जे होस्, विवाह भएपछि उहाँ हल्जीस्थित घरमा नै बस्नुभयो र गाउँको स्कुलमा पढाउन थाल्नुभयो ।

साझा श्रीमतीबाट २०७२ सालमा छिरिङको छोरीको जन्म भएको थियो तर केही महिनामा नै ती छोरीको मृत्यु भयो । त्यसको दुई वर्षपछि २०७४ सालमा उहाँको भाइको छोरा जन्मियो । “यो मेरो भाइको छोरा हो भन्नै अफ्ठ्यारो लाग्छ,” छिरिङले भन्नुभयो । भाइको छोरा भए पनि आफ्नै छोरालाई जस्तै माया गर्ने गरेको उहाँको भनाइ थियो । पछि २०७९ सालमा उहाँको पनि छोरा जन्मियो ।

छिरिङयम्दा तामाङका दुई छोराहरू

भाइको छोरा पाँच वर्षको हुँदा उहाँको छोरा तीन वर्षको थियो । ती दुबै एउटै श्रीमतीबाट जन्मिएका सन्तान हुनाले दाजुभाइमा तेरो मेरो भन्ने छैन । उहाँले दुबैलाई बराबर माया गर्दै आउनुभयो । एउटा चिन्ताले भने बेलामौकामा उहाँलाई सताउने गर्दो रहेछ । त्यसबारे भन्नुभयो, “पछि यिनीहरू ठुलो भएर थाहा पाएपछि नराम्रो लाग्ला ।” छोराका बारेमा यत्तिको सोच्ने छिरिङले श्रीमतीलाई चाहिँ कस्तो लाग्छ होला भन्नेबारेमा चाहिँ सोच्ने गरेको पाइएन ।

छिरिङ र उहाँका भाइ दुबैको साझा श्रीमतीसँग मनका कुरा, प्रेमका कुरा हुँदैनन् भन्ने नै उहाँको भनाइ र ठम्याइ थियो । उहाँले बिहेपछिको धेरै समय घरमै बस्ने र स्कुलमा पढाउने गर्दै आउनुभयो । भाइ भने प्रत्येक वर्ष ताक्लाकोटमा काम गर्न जाने र लामाहरूको पूजा गर्न हिउँदभरि गुम्बामा बस्नुपर्ने हुँदा एकदम थोरै मात्र घरमा बस्ने गर्नुहुँदो रहेछ । “भाइ लामा हो । हल्जीमा हरेक घर–परिवारको एक भाइ लामा बस्नुपर्ने चलन छ । माइलो भए माइलो नत्र कान्छो छोरा लामा बन्नुपर्छ,” उहाँले भन्नुभयो ।

हल्जीमा पुरुषहरू थोङ्बा, मिरे र फुङ्दा गरी तीन वटा समूहमा बाँडिएका हुन्छन् । “हाम्रो चलनअनुसार थोङ्वा भन्ने हुन्छ । मिरे भन्ने हुन्छ । थोङ्वाबाट दुई छोरा भएमा एक छोरा लामा र अर्को छोरा मजस्तै मुख्या बन्छ । यस्तो नियम नै हुन्छ,” छिरिङले भन्नुभयो, “अनि घरको हेरचाह गर्ने मजस्तो मुख्याले ६५ वर्षपछि मात्रै रिटायर्ड हुन्छ । जेठो छोरा १५ वर्ष भए भने गाउँको नियमअनुसार चल्नुपर्छ । हाम्रो यहाँको चलन अनुसार ८ वर्षमै लामा छिन्नुपर्ने हुन्छ ।”

छिरिङकी श्रीमती पिठ्यूँमा भारी सहित हातमा छोरा डोर्‍याउँदै ।

“श्रीमतीसँग समय बिताउने, ओछ्यान शेयर गर्ने कुरामा हाम्रो समयतालिका आफैँ मिल्छ । अब त यो हाम्रो नियम भैसक्यो,” छिरिङले हाँस्दै भन्नुभयो, “यहाँ के अप्ठ्यारो हुन्छ ? पहिलादेखि नै यस्तै चलन रहेछ नि ! अझ मेरो बाजेका चार जना दाजुभाइका एउटा श्रीमती थिए । त्यो सोच्नु त ? चलनै यस्तै छ, केही मान्दैन ।”

छिरिङले भाइ घरमा आउँदा आफू बाहिर जाने र श्रीमतीले पनि केही नभन्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी दुई भाइको मात्रै त्यस्तो भए आलि लाज हुनेथ्यो है ! धेरै जनाको यस्तै छ ।” उहाँको विचारमा ‘एउटा घरमा एउटा बत्ती बाल्यो सबै उज्यालो हुन्छ । त्यही उज्यालोमा सबै बस्छन् । त्यस्तै, घरमा एउटा श्रीमती भएमा घर बलियो हुन्छ जस्तो लाग्छ’ ।

घर बलियो बनाउने महिलाको मन कत्तिको उज्यालो होला ? अनि विवाह गर्ने उमेरका बाँकी महिलाको घरको अवस्था के छ र कस्तो होला ? एक मनमा यस्तो लागिरह्यो तर छिरिङका कुरा फरक धारबाट आइरहेका थिए । ती पनि जानकारीका लिनका लागि उत्तिकै महत्त्वपूर्ण थिए । लाग्यो, गाउँको चलन र घर उज्यालो हुने आशाको आधार भनेर एउटै साझा श्रीमती स्विकार्दास्विकार्दै पनि दाजुभाइको मन कुनै न कुनै बेला त चसक्क पनि हुँदो हो ।

नभन्दै भाइ घरमा आएका बेला छिरिङ केही नबोलीकन बाहिरै बस्ने गरी निस्कनुहुँदो रहेछ । उहाँका अनुसार, कहिले खाना खाएर निस्कने हुन्छ त कहिले साथीहरूकै घरमा खाना खाने र उतै सुत्ने गरी निस्कने हुन्छ । यद्यपि, कुनै बेला ‘भाइ र बुढीको कुरा नमिलेमा पनि’ आफूले नै कुरा मिलाउँदै आएको उहाँको भनाइ थियो ।

छिरिङ्ले आफूपछिको पुस्ताको बारेमा भन्नुभयो, “जेठो छोरालाई मैले नेपाली नै सिकाउने हो । काठमाडौँ पठाउने हो । त्यहीँ पढ्छ । किनभने त्यसको ब्याही (विवाह) यहाँ नगर्ने । आफैँ लव म्यारिज गरोस् भन्ने मेरो विचार छ ।”

खासमा छिरिङलाई बहुप्रतिप्रथा गलत हो भन्ने अनुभूति भएको पाइयो । उहाँले भन्नुभयो, “मैले यो कुरा तपाईंलाई भन्नु नपर्ने हो । यो कुरा त इलिगल हुनेरैइछ । बाहिर चर्चामा आएको भए कारबाही लाग्ने नै चिज हो ।” त्यसो भनिरहँदा उहाँ हाँस्नु पनि भएको थियो । सम्भवतः त्यो एक प्रकारको उपहास थियो । एउटा जबरजस्तीको हाँसो !

छिरिङ्का कुरा सुन्दा पछिल्ला दिनहरूमा बहुपतिप्रथालाई उहाँको अन्तरमनले निश्शङ्क स्वीकार गर्न नसकेको देखियो । उहाँले आफूपछिको पुस्ताको बारेमा भन्नुभयो, “जेठो छोरालाई मैले नेपाली नै सिकाउने हो । काठमाडौँ पठाउने हो । त्यहीँ पढ्छ । किनभने त्यसको ब्याही (विवाह) यहाँ नगर्ने । आफैँ लव म्यारिज गरोस् भन्ने मेरो विचार छ ।”

छिरिङका अनुसार, कान्छो छोरो भने नाम्खामा नै बस्नुपर्छ । यो लामा छिन्नका लागि पनि हो । उहाँले थप प्रस्ट पार्दै भन्नुभयो, “जेठो छोरालाई माया गरेर कान्छोलाई हेला गरेर लिमीमै राख्ने भनेको होइन । हाम्रो चलनअनुसार सानो छोरा यहीँ बस्नैपर्ने हुन्छ । हाम्रो यहाँको चलन अनुसार ८ वर्षमै लामा छिन्नुपर्ने हुन्छ ।”

चलनको कुरा गर्दा नाम्खामा सानैदेखि टीका लगाइदिएर ज्वाइँ वा बुहारी बनाउने बाचा गर्ने र गराउने हुन्छ । छिरिङको विचारमा त्यो पनि सही होइन । उहाँले प्रश्न गर्नुभयो, “सानोदेखि टीका लगाएर राख्ने पनि इलिगल रहेछ हैन र ?” उहाँले स्कुलमा बहुपतिप्रथाका बारेमा आफूले कानुनी वा गैरकानुनी केही पनि नभन्ने गरेको र कुनै कुरामा ‘फोर्स’ नगर्ने गरेको बताउनुभयो ।

केही बेरको कुराकानीपछि बिस्तारै खुलेका छिरिङले कुराकानीको क्रममा भन्नुभएको थियो, “आफूले मन पराएको मानिस अरूलाई कसरी सुत भन्ने ? अहिले त ठिकै छ । बानी परिसके । त्यतिबेला त बिहे नै नगरौँ लागेको हो । हामी अलि पढेको मान्छे । उनीहरू नपढेको मान्छेजस्तो लाग्थ्यो ।” यो भनाइमा उहाँको पीडा मिसिएको थियो । असहमति मिसिएको थियो । उहाँलाई बहुपतिप्रथा मन परेको छैन भन्ने कुराको त्यो एकप्रकारले प्रमाण थियो ।

बहुपतिप्रथा हुनाको कारणमा सुरक्षा, भौगोलिक अवस्था र गरिबी, महिलाको तुलनामा पुरुषको सङ्ख्या बढी हुँदा लैङ्गिक सन्तुलन कायम राख्न, जमीन र भौतिक सम्पति विभाजनलाई रोक्न, बुबाको अंश भाइहरूले संयुक्तरूपमा उपभोग गर्ने वातावरणको सिर्जना गर्न भन्ने तर्क गरिन्छ ।

यद्यपि, संस्कारकै रूपमा विकसित भइआएको बहुपतिप्रथाविरुद्ध क्रान्तिको बिगुल नै फुक्ने आँट भने छिरिङले गर्न सक्नु भएन । दुई वर्षअघिसम्म पनि उहाँजस्ता शिक्षित र सचेत युवाले खुलेर यसको विरोध गर्न सकिरहेको पाइएन । हाम्रो गाउँको चलन यस्तो छ । यसलाई मेटाउन मिल्दैन । गाउँको नुन खाएपछि यहाँको चलनविरुद्ध बोल्नु हुँदैन । यावत् कुराले छिरिङहरूको बोली, विवेकलाई प्रभाव पारेकै थियो ।

बहुपतिप्रथा उत्पत्तिको कारण

बहुपतिप्रथा हुनाको कारणमा सुरक्षा, भौगोलिक अवस्था र गरिबी, महिलाको तुलनामा पुरुषको सङ्ख्या बढी हुँदा लैङ्गिक सन्तुलन कायम राख्न, जमीन र भौतिक सम्पति विभाजनलाई रोक्न, बुबाको अंश भाइहरूले संयुक्तरूपमा उपभोग गर्ने वातावरणको सिर्जना गर्न भन्ने तर्क गरिन्छ ।

यस्तै, भौतिक वातावरण र अवस्थासँग सङ्घर्ष गर्न नचाहनु वा जोखिम मोल्न नखोज्नु, धार्मिक र सांस्कृतिक नियन्त्रणमा रहँदै आउनु, सगोलमा बस्नु र महाभारतमा पाँच भाइ पाण्डवले द्रौपदीलाई साझा श्रीमती राखेको आधारमा पनि सोही व्यवहारलाई प्रथा वा प्रचलनको रूपमा अनुसरण गरेको लगायतका मान्यता रहिआएका छन् ।

कतिपयले यसलाई निरन्तरता दिएको र विरासतका रूपमा लिएको पनि पाइन्छ । यसो गर्दा घर र समाजमा महिलाको ठाउँमा उभिएर तिनलाई मानवीय हैसियतका साथ पुरुषकै बराबरी न्याय पर्ने गरी सम्बन्धित सबैले सोच्न सक्नुपर्ने हो ।

यसैगरी, घरमा पारिवारिक विखण्डन नभएर मेलमिलाप हुने, कम आर्थिक बोझ पर्ने र कार्यविभाजनको आधारमा घरव्यवहार सञ्चालन हुने तर्क पनि दिइएको पाइन्छ । कतिपयले यसलाई निरन्तरता दिएको र विरासतका रूपमा लिएको पनि पाइन्छ । यसो गर्दा घर र समाजमा महिलाको ठाउँमा उभिएर तिनलाई मानवीय हैसियतका साथ पुरुषकै बराबरी न्याय पर्ने गरी सम्बन्धित सबैले सोच्न सक्नुपर्ने हो । यस खालको चेतनाको चाहिँ अझैसम्म पनि विस्तार हुन नसकेको नै देखिन्छ ।

तीन दशकअघि नै विद्रोहका स्वर

बहुपतिप्रथाका पक्षमा जतिसुकै र जस्तोसुकै आधार र तर्क दिइएको भए पनि आजभन्दा तीन दशकअघि नै कमजोररूपमा भए पनि यसका विरुद्ध आवाज निस्कन थालेको थियो । नाम्खा गाउँपालिका वडा नम्बर २, केरुङका कन्जोक लामाका अनुसार, नाम्खामा बहुपतिप्रथाविरुद्ध तीन दशकअघि नै छिटपुटरूपमा आवाज उठ्न थालेको हो ।

अनुसन्धाता कन्जोक लामासँग कुराकानी गर्दै लेखक विष्ट

कन्जोकले ‘हुम्लो भोटे–लामा संस्कृति र बहुपति विवाह–प्रथा’ विषयमा खोज–अनुसन्धान गर्नुभयो र २०७८ सालमा आफ्नो खोज–अध्ययनलाई सार्वजनिक पनि गर्नुभयो । कुराकानीका बेला ४९ वर्षीय उहाँ बहुपतिप्रथालाई अस्वीकार गर्नेहरूमध्येका एक भएको पनि थाहा भयो । बहुपतिप्रथाप्रतिको असहमति र विद्रोहले नै उहाँलाई खोज–अनुसन्धान गर्न प्रेरित गरेको थियो ।

तीन दाजुभाइमध्ये कन्जोक माइलो छोरा । दाजुको विवाह भएपछि उहाँले साइनोले भाउजूलाई श्रीमती मान्न सक्नु भएन, मान्नु पनि भएन । यसैले आफूले मन पराएकी युवतीलाई लिएर उहाँ छ महिना घरबाट बेपत्ता हुनुभयो ।

कन्जोकले पुर्खाहरूद्वारा अँगालिँदै आएको सामाजिक संस्कारलाई अपनाउन अस्वीकार गर्नुभयो । उहाँले बहुपतिप्रथालाई चुनौती दिनुभयो । पढेलेखेको मान्छेले समयको परिवर्तनसँगै आफूलाई बदल्दै अघि बढ्नुपर्ने हुनाले पनि यस्ता प्रथालाई अँगाल्नु हुँदैन भन्ने उहाँको सोच थियो । यस्तैमा २०५५ सालमा उहाँका दाजुको विवाह भयो ।

दाजुको विवाह हुँदा कन्जोक २२ वर्षको हुनुहुन्थ्यो । पुस्तौँदेखि बहुपतिप्रथा अँगालेको घर हो उहाँको, जुन अहिले पनि कायमै छ । तीन दाजुभाइमध्ये कन्जोक माइलो छोरा । दाजुको विवाह भएपछि उहाँले साइनोले भाउजूलाई श्रीमती मान्न सक्नु भएन, मान्नु पनि भएन । यसैले आफूले मन पराएकी युवतीलाई लिएर उहाँ छ महिना घरबाट बेपत्ता हुनुभयो ।

“मलाई बहुपतिभित्रको द्वन्द्व थाहा थियो । त्यसैले आफैँ जिउन र कमाउन सिक्नुपर्छ भनेर मैले त्यो प्रथाको विरोध गरेको थिएँ,” कन्जोकले भन्नुभयो । उहाँका अनुसार, बहुपतिप्रथाको अवज्ञा गर्नेहरूले बझाङ, बाजुरा र हुम्लाको सिमानामा पर्ने साइपाल डाँडा काट्नुपर्थ्याे । मान्छे मारेमा पनि त्यो साइपाल डाँडा काट्नुपर्ने । समाजका लागि बहुपतिप्रथा अस्वीकार गर्नु वा नमान्नु भनेको मान्छे मारेसरहको अपराध थियो । यो एकप्रकारले सामाजिक बहिष्करण गर्ने तरिका थियो ।

आजभन्दा २७ वर्षअघि भएको घटनाको स्मरण गर्दै कन्जोकले भन्नुभयो, “मैले गरेको विद्रोहपछि गाउँमा विद्रोह गर्नेको सङ्ख्या धेरै भयो । त्यसपछि पुर्खाहरूले दिनेजस्तै सजाय दिन सकेनन् । म मात्रै होइन । त्यत्तिखेर विद्रोह गर्ने ग्याङ सबैलाई गाउँसमाजले स्वीकार गर्‍यो ।”

साथै, समाजबाट गरिने निष्काशन थियो त्यो । निष्काशनको कारबाहीको प्रभावका सन्दर्भमा कन्जोकले भन्नुभयो, “यसैले अहिले हाम्रा धेरै पुर्खा अथवा नातेदार बझाङ र दार्चुला जिल्लामा बसेका छन् । ती छोडेर गइसकेकाहरूले पैतृक अंश दाबी गर्न पाउँदैनन् ।” उहाँले भने त्यो हदको सामाजिक कारबाही सहनु परेन । समयको परिवर्तनसँगै गाउँमा सामाजिक चेतना पनि अलि व्यापक र फरक हुँदै आएको थियो ।

“मलाई पनि बहिष्कार गर्थे होलान् तर समाजमा विद्रोह सुरु भइरहेको बेला कतिलाई डाँडा कटाउने ? कतिलाई कारबाही गर्ने ?” कन्जोकले भन्नुभयो । सम्भवतः यही सोचेर पनि उहाँमाथि सामाजिक कारबाही गरिएन । घरबाट बेपत्ता भएका बेला उहाँ जिल्लाबाट बाहिर पनि जानु भएन, जिल्लाभित्रै परिवारबाट लुकेर बस्नुभयो । उहाँको बुझाइ थियो, “बाउआमालाई सन्तान भनेको सन्तान नै हो । रिस कतिबेलासम्म रहन्छ र ? आजीवन दुश्मन सम्झिइरहँदैनन् । बाउआमाले मेरो सन्तानले मात्रै होइन, फलानाकोले पनि त्यही गरेको छ भनेर देखे ।”

‘हुम्लो भोटे–लामा संस्कृति र बहुपति विवाह–प्रथा’ विषयक खोज–अनुसन्धानमा उल्लेख भएअनुसार, महिलाहरू सहनशील छन् । उनीहरू दुई वटा कारणले खुल्न चाहँदैनन् । महिलाहरूलाई घरपरिवारको डर, सासूससुराको डर छ । यौन जीवनलाई अलिकति लाजको हिसाबले लिने भएकाले खुल्न चाहँदैनन् । केटीमान्छेहरू शिक्षित छैनन् ।

आजभन्दा २७ वर्षअघि भएको घटनाको स्मरण गर्दै कन्जोकले भन्नुभयो, “मैले गरेको विद्रोहपछि गाउँमा विद्रोह गर्नेको सङ्ख्या धेरै भयो । त्यसपछि पुर्खाहरूले दिनेजस्तै सजाय दिन सकेनन् । म मात्रै होइन । त्यत्तिखेर विद्रोह गर्ने ग्याङ सबैलाई गाउँसमाजले स्वीकार गर्‍यो ।”

कन्जोकको अनुसन्धानमा महिला

‘हुम्लो भोटे–लामा संस्कृति र बहुपति विवाह–प्रथा’ विषयक खोज–अनुसन्धानमा उल्लेख भएअनुसार, महिलाहरू सहनशील छन् । उनीहरू दुई वटा कारणले खुल्न चाहँदैनन् । पहिलो, विवाह भनेको घरमा परिवार सङ्ख्या थप्ने मात्रै होइन । यो जीवनको पार्टनरको कुरा पनि हो । माया, पिरती बाँड्ने, दुःखसुखमा साथ दिने, यौन जीवनको पनि पार्टनर हुनु हो ।

अर्को कुरा, महिलाहरूलाई घरपरिवारको डर, सासूससुराको डर छ । यौन जीवनलाई अलिकति लाजको हिसाबले लिने भएकाले खुल्न चाहँदैनन् । केटीमान्छेहरू शिक्षित छैनन् । एउटा परिधिमा बाँधिएका छन् तर केटाहरूबाट प्रस्ट के थाहा हुन्छ भने हामी अधिकारमुखी कुरा गर्छौं । स्वतन्त्रतामुखी कुरा गर्छौं । हामी यसरी बन्धनमा बाँधिनु हुँदैन भन्ने केटामान्छेको तर्क छ ।

केन्जोकले अध्ययनका क्रममा सबैबाट साझा माया प्राप्त हुने भन्दाखेरि पनि साझा समस्याहरू गाँजिएर अझै ठुलो समस्या बन्दै आएको पनि पाउनुभयो । उहाँले दिनुभएको निष्कर्षअनुसार, समय, परम्पराअनुसार अहिले नयाँ पुस्ताले बहुपतिप्रथालाई सहर्ष स्वीकार गरेको छैन ।

उक्त अनुसन्धानका लागि २०७२ सालमा साबिक मुचु, खगालगाउँ, हेक्पा र बरगाउँ गाविसका १४ गाउँबस्तीका ६८८ घरधुरीको सर्भेक्षण गरिएको, ६८८ घरधुरीमध्ये ७१ घरधुरीमा बहुपति विवाह कायम रहेको र सो सङ्ख्या कुल सङ्ख्याको १०.३ प्रतिशत थियो । बाँकी ८९.७ प्रतिशत घरधुरीमा बहुपति विवाह प्रथा नरहेको वा छोडेको अवस्था पाइएको पनि कन्जोकले बताउनुभयो । उहाँका अनुसार, बरगाउँ गाविसमा बहुपति विवाह प्रथा सबैभन्दा बढी २२.५ प्रतिशत रहेको पाइएको थियो भने बाँकी तीन गाविसमा तुलनात्मकरूपमा कम पाइएको थियो ।

बहुपतिप्रथामा पनि प्रजातन्त्र !

पछिल्लो समय आफ्नो गाउँमा बहुपतिप्रथा शून्यमा झरेको अनुसन्धाता कन्जोकको भनाइ थियो । उहाँका अनुसार, अहिले त स्वतन्त्र छाडिएको छ । अभिभावकबाट निगरानी र नियन्त्रण हुँदैन । “नेपालमा प्रजातन्त्र आयो भनेजस्तै हाम्रो बहुपतिप्रथामा पनि प्रजातन्त्र आएको छ,” कन्जोकले हाँस्दै भन्नुभयो । उहाँले त्यसपछि आएका पुस्तालाई धेरै नै सहज हुँदै गएको, फलानाले मानेन मैले किन मान्ने भन्ने प्रश्न पनि उठ्न थालेको बताउनुभयो ।

पछिल्लो समय विकट क्षेत्रमा समेत आर्थिक, राजनीतिक, शैक्षिकसँगै चेतना र सूचना प्रविधिको प्रभाव बढ्दै आयो । यसले पनि होला, नयाँ पुस्ताले बहुपतिप्रथामा रुचि देखाउन छाडे ।

बाह्य संसारसँगको सम्पर्कले पनि स्थितिमा परिवर्तन ल्याउन सघाउ पुग्यो । पछिल्लो समयमा शिक्षा, व्यापार, व्यवसाय, आवागमन हुँदा पनि सबैले देख्न थाले । त्यसपछि मानिसहरूको दृष्टिकोणमा र व्यवहारमा पनि परिवर्तन आउन थाल्यो । पहिला बाहिरी आवरण भौगोलिक विकटताले सुरक्षित गरेको थियो । पछि भित्री आवरण सांस्कृतिक अतिवादले सुरक्षित गर्‍यो । पहिला यो प्रथा उपयुक्त मानिएको थियो । समयले त्यसमा परिवर्तन ल्यायो ।

पछिल्लो समय विकट क्षेत्रमा समेत आर्थिक, राजनीतिक, शैक्षिकसँगै चेतना र सूचना प्रविधिको प्रभाव बढ्दै आयो । यसले पनि होला, नयाँ पुस्ताले बहुपतिप्रथामा रुचि देखाउन छाडे । साझा श्रीमती भएका दाजुभाइमा घरायसी कलह बढ्न थालेको पनि देखियो । पहिलेतिर वर्षामा ६ महिना कुनै भाइले भेडापालन गरी भोटतिर चरन गर्न लैजाने र नुन साटेर ल्याउने गर्दथे । ६ महिना हिउँदमा भेडालाई तराईतिर लैजाने र अन्न साटेर ल्याउने काम गर्दथे । बिस्तारै यस्ता काम बन्द हुन थालेपछि भाइहरू घरै बस्नुपर्ने अवस्था आयो ।

भाइहरू घरै बस्न थालेपछि परिवारमा बेमेलको अवस्था पनि सिर्जना भयो । बहुपतिका कारण उत्पन्न पारिवारिक तनाव र पीडा महिलाले बढी झेल्नुपर्ने त छँदै थियो, त्यस्तो अवस्थामा पुरुषले पनि प्रथा भन्दै साझा श्रीमती मन नपरे पनि स्विकार्नुपर्ने स्थितिलाई रुचाउन छाडे । साझा श्रीमती भएका कारण त्यसबाट उत्पन्न पारिवारिक मार र पीडा महिलाले बढी खेप्नुपर्‍यो । यद्यपि, त्यसको लेखाजोखा हुन सकेको छैन ।

हुम्लाको हिमाली क्षेत्रमा रहेको बहुपतिप्रथा समयको मागअनुसार परिवर्तन हुनुपर्छ भन्ने धारणामा ४० प्रतिशत रहेको र ६० प्रतिशतले यसलाई स्वतन्त्ररूपमा छोडिदिनु राम्रो हुने धारणा व्यक्त गरेको कन्जोकको अध्ययनमा देखियो ।

महिलाको स्वतन्त्रता पनि हरण भयो । अझ पछिल्लो समयमा त साझा श्रीमतीका श्रीमान्‌ले बाहिर पनि विवाह गरेर राख्ने गरेको पाइयो । साझा श्रीमतीले पतिहरूसँग सुत्ने तालिका मिलाउन नसक्दा पनि श्रीमतीले हैरानी बेहोर्नुपर्‍यो । महिला र पुरुष दुवैको इच्छाअनुसार यौन सम्बन्ध नहुँदा र महिलाको इच्छाविरुद्ध पुरुष नै हाबी हुँदा पारिवारिक तनाव घट्नुको सट्टा बढ्यो । यी यावत् कारण पनि बहुपतिप्रथाको निरन्तरतालाई साथ दिन चाहनेको सङ्ख्या पनि घट्न थाल्यो ।

हुम्लाको हिमाली क्षेत्रमा रहेको बहुपतिप्रथा समयको मागअनुसार परिवर्तन हुनुपर्छ भन्ने धारणामा ४० प्रतिशत रहेको र ६० प्रतिशतले यसलाई स्वतन्त्ररूपमा छोडिदिनु राम्रो हुने धारणा व्यक्त गरेको कन्जोकको अध्ययनमा देखियो । कन्जोकले भन्नुभयो, “हामीले ठिक बेठिकको बहस गर्नुभन्दा पनि त्यतिखेर उपयुक्त थियो । अहिले सङ्कटमा पर्‍यो । अहिले परिवर्तन भयो । हरेक कुराले परिर्वतन खोज्छ ।” त्यसो त परिवर्तनका नाममा पहिलेका मानिसले अवलम्बन गरेका व्यवहारका सबै पक्ष नराम्रा मात्रै थिए भन्ने पनि होइन भन्ने उहाँको आशय रह्यो ।

दाजुभाइ राजी हुन्छन् र श्रीमतीले पनि स्वतन्त्र दिलले स्विकार्ने भए त्यो प्रथा पनि ठिक रहेको, त्यसका पनि केही गुणहरू, फाइदाहरू रहेको कन्जोकको ठम्याइ थियो । उहाँले भन्नुभयो, “जस्तै; अंशबण्डाका कुरा, प्राकृतिकरूपमा प्रजनन दरलाई रोकिएको कुरा । सरकारले परिवार नियोजनमा गर्नुपर्ने खर्च अटोमेटिकरूपमा रोकिएको छ । नत्र सिङ्गल विवाह गरेमा चार वटा भाइका चार वटी श्रीमती, चार वटी श्रीमतीबाट दुई दुई वटा सन्तान जन्मिए पनि आठ वटा हुन्छन् । तर, बहुपतिप्रथामा दुई वटा जन्माए सबैको दुइटै हुन्छ । त्यसैले उसका लागि ठिक छ । हामीले अन्याय भयो, कुसंस्कार भयो भनेर किन भन्ने ?” कसैलाई नकारात्मक असर गरेछ भने पो त्यसको समाधान खोज्ने र खोज्न सकिने उहाँको भनाइ थियो ।

निष्कर्ष

बहुपतिप्रथाका सकारात्मक र नकारात्मक दुबै पाटा जल्दाबल्दा छन् । कुनै बेला सकारात्मक पक्षलाई बल दिइयो, पुरुषहरूले थोपरेको निर्णयलाई मात्र महत्त्व दिइयो । विवाह परम्परामा अनिवार्य सहभागी पक्षमध्येका महिला र पुरुष दुबैलाई समानरूपमा हेरेको पाइएन । दुबैका सवाललाई महत्त्व दिएर समन्यायिक ढङ्गले निर्णय गरी विवाह परम्परा चलाइएको पनि देखिएन । त्यसमाथि महिलाले आफूलाई मान्छेका रूपमा देख्न, हेर्न र लिन पाउने कि नपाउने त भन्ने सवाल अहं हुँदै आएको समय छ ।

पाण्डवहरूबाट महाभारतकी द्रौपदीले अधिकांश समयमा पाएको जस्तो कदर, आत्मीयता र सुखदुःखमा सबैले मिलेर कुनै न कुनै कोणबाट साथ नै दिन्छन् भन्ने विश्वास आफ्ना श्रीमान्‌हरूबाट पाउने गरेका भए सायद महिलाले आफूलाई साझा श्रीमतीका नाममा मानिस हुनबाटै वञ्चित गरिएको महसुस गर्ने थिएनन् । गाउँमा आएका पाहुनाका अगाडि आफूलाई अर्काको भारी बोक्न बाध्य बनाइएका पशुसँग दाँजेर आक्रोश पोख्न खोज्ने पनि थिएनन् ।

विवाहसँग सम्बन्धित कुनै पनि प्रथाको निरन्तरतामा त्यसका सहभागीहरूको जीवनभोगाइ र रोजाइ के छ भन्ने कुराले प्रभाव पार्दछ । बहुपतिप्रथाका कारण विवाह गर्न योग्य श्रीमान् नै नपाएका तर एकल आमा बनेर बस्न बाध्य पारिएका महिला र तिनका बालबच्चाको अवस्था अझै ओझेलमा छ ।

विवाहसँग सम्बन्धित कुनै पनि प्रथाको निरन्तरतामा त्यसका सहभागीहरूको जीवनभोगाइ र रोजाइ के छ भन्ने कुराले प्रभाव पार्दछ । आफ्नो घरको उज्यालो मान्ने गरिएकी साझा श्रीमतीलाई सन्तानको आमा बनाउने तर त्यो प्रक्रियामा रहेका बेला तिनका मनमा के होला भन्ने कुरामा समेत ध्यान नदिने, माया नदेखाउने, प्रेमका कुरा पनि नहुने भन्ने पति पक्षका कुराले अहिलेको दुनियामा यस्तो प्रथा धान्नलाई सघाउँछ जस्तो लाग्दैन ।

बहुपतिप्रथाका कारण विवाह गर्न योग्य श्रीमान् नै नपाएका तर एकल आमा बनेर बस्न बाध्य पारिएका महिला र तिनका बालबच्चाको अवस्था अझै ओझेलमा छ । एकातिर एकाघरका दाजुभाइकी साझा श्रीमती हुनुपर्ने महिलाको काँधमा थोपरिएको थामिनसक्नुको भार, अर्कातिर विवाहेतर सम्बन्ध राखी समाजमा दोस्रो तहको समुदाय निर्माण भइरहेको अवस्था । यी दुबै पक्ष र तथ्य अन्यायपूर्ण रहेको देखिएकाले समयसापेक्ष सुधारको पर्खाइमा छन् ।

सचेत र शिक्षित स्थानीय समाज पनि सुधारका लागि होस्टेमा हैँसे गर्न तयार नै देखिन्छ । अबका दिनमा राज्यले मानव अधिकार, लैङ्गिक समानता र महिला तथा बाल अधिकारको कोणबाट रचनात्मक तरिकाले हस्तक्षेप गरी समन्यायिक समाज निर्माणको जग बसाउँदै स्थानीय समुदायलाई अघि बढ्न सघाउनु उपयुक्त पनि हुन्छ ।

‘बहुपतिप्रथामा महिलाको अवस्थालाई परबाट नियाल्न खोज्दा’ शीर्षकको यो स्टोरी ‘द स्टोरी किचेन’ ले प्रदान गरेको ‘सन्धान फेलोसिप २०२५’ कार्यक्रम अन्तर्गत देवकी बिष्टले तयार गर्नुभएको हो ।

सबै तस्बिरहरू लेखकबाट प्राप्त ।

प्रकाशन मिति : २०८२ पुष २४ गते, बिहिवार

सन्धान फेलोसिप २०२५ का थप स्टोरीहरू

Share this :