वैदेशिक रोजगारीले एकल बनाएका महिलाको सङ्घर्ष

Share this :

– ममता भट्ट

रोजगारी गर्न विदेश गएर ज्यान गुमाएका व्यक्तिको मृत्युसँगै स्वदेशमा घर गरिरहेकी श्रीमतीको जीवनमा एकाएक विशिष्ट खालको सङ्घर्षको सुरुवात हुन्छ । त्यसको अनुभव सुदूरपश्चिम प्रदेशका पूजा माली, सरस्वती ऐर, विनिता भट्ट, मीना ठगुन्ना, प्रमिला बुढा जस्ता महिलाले युवावस्थामै गर्न बाध्य हुनुभयो । २० देखि ३० वर्ष उमेर समूहभित्रका उहाँहरू एकल हुनाको कारण उत्पन्न विभेद, प्रताडना, तनाव र लाञ्छनाले ग्रस्त हुनुभयो । वैदेशिक रोजगारीमा गएका श्रीमान्‌काे मृत्युपछि जीवनका आधारभूत सपना नै भताभुङ्ग हुनु, कसैलाई अनुचित धक्का नदिई स्वतन्त्रतापूर्वक बाँच्न खोज्दा पनि अनाहकको चियोचर्चा, निगरानी र नियन्त्रणबाट घेरिनु, मानसिक शान्ति, पारिवारिक आडभरोसा र आर्थिक पक्ष झन् झन् कमजोर हुँदै जानु जस्ता समस्या खेप्नुभयो ।

आफ्नो एकल अभिभावकत्वमा रहेका बालबच्चाको उज्यालो भविष्यलाई खतरामा पर्न नदिन सजग हुँदै एक्लै अघि बढ्न खोज्दा विभिन्न कुरामा परिवार र समाजबाटै फरक व्यवहार भइरह्यो । बढ्दो सङ्ख्यामा युवा उमेरका महिलाले एकल भएर भोगिरहेका समस्यालाई तिनको निजी समस्या मात्रै हो भनेर अहिलको जमानामा पनि किनारामा राख्ने पारिवारिक र सामाजिक प्रवृत्तिलाई बढावा दिइरहनु ठिक थिएन तर त्यसको नियन्त्रणका लागि राज्यले पनि ध्यान दिएन ।

प्रस्तुत आलेखमा वैदेशिक रोजगारीले युवा उमेरमै एकल बनाएका सुदूरपश्चिम प्रदेशका महिलाको जीवनमा आइपर्ने गरेका पारिवारिक, सामाजिक, आर्थिक समस्याका प्रतिनिधिमूलक पक्षलाई समसामयिक कालखण्डका महिलाकै दृष्टिकोणबाट खोतल्ने प्रयास गरिएको छ । बेलैमा स्थितिको आकलन गर्दै समस्याको समाधान खोज्ने लक्ष्यका साथ आलेखको निर्माण गरिएको हो ।

व्यवहार फेरियो, समस्या चर्कियो

पूजा मालीले २० वर्षकै उमेरमा श्रीमान् गुमाउनुभयो । सुदूरपश्चिम प्रदेश, डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर ४, डुङरीकी पूजाको १७ वर्षको उमेरमा बिहे भएको थियो । बिहे भएको एक वर्षमै २०७३ सालमा उहाँले एक छोरीलाई जन्म दिनुभयो । परिवारका सबैमा खुसीको माहोल थियो । आफूले सोचेजस्तै माया गर्दै सुख–दुःखमा साथ दिने श्रीमान् र घरपरिवार पाएकाले पूजा खुसी हुनुहुन्थ्यो । “बिहेको यज्ञमा हरेक क्षण साथ दिने कसम जसरी खानुभएको थियो, त्यसरी नै वचनका पक्का भएर श्रीमान्‌ले मलाई माया, साथ र हौसला दिइरहनुभएको थियो,” उहाँले भन्नुभयो । त्यस्ता दिन धेरै टिक्न भने सकेनन् ।

पूजाका श्रीमान् रमेशबहादुर माली रोजगारीका लागि २०७५ सालमा मलेसिया जानुभयो । २०७७ फागुन १ गते २९ वर्षको उमेरमा गाडी दुर्घटनामा परी उतै उहाँको निधन भयो । निधन भएको दोस्रो दिन नै पूजाको म्यासेन्जरमा खबर आयो । “दुर्घटनाको खबर आएपछि म त्यति होसमा भइनँ । छरछिमेकी जम्मा भएर हातको चुरा फुटाउन र सिउँदोको सिन्दुर पुछ्न लागे । मलाई सपना हो कि बिपना जस्तै भयो,” उहाँले आँखाभरि आँसु पार्दै भन्नुभयो, “मृत्यु भएको एक महिना सात दिनमा शव घरमा आइपुग्यो ।” त्यसपछि मात्रै आफूलाई श्रीमान् बितिसक्नुभएको रहेछ भन्ने लागेको पनि उहाँले बताउनुभयो ।

आफ्नै समुदायका मान्छेले समेत विधुवा हो भन्ने, केही राम्रो खाए लाएको पनि चियोचर्चा गर्ने । कहिले ‘आज त उसले होटेलमा गएर चाउमिन खाएर आई’ भनेर त कहिले ‘घरमा खिर पकाएर खायो’ भनेर कुरा काटे । सहरमा अलि बुझ्छन् होला भन्ने ठानेर सदरमुकाममा डेरा गरी बस्न थालेँ ।

“श्रीमान्‌काे शव घरमा आइपुग्दा उहाँले बुनेका सपना, भनेका कुरा झलझली सम्झिँदै रुनबाहेक अरू के गर्न सक्थेँ र ?” पूजाले भन्नुभयो, “छोरीलाई राम्रोसँग हेर है, म केही वर्ष काम गर्छु अनि दुइटै सँगै केही गरौँला, सँगै बस्ने दिन आउँछ भन्नुहुन्थ्यो ।” अहिले एक्लै छोरीको मुख हेरेर बस्ने गरेको उहाँले बताउनुभयो । गाउँमा यसो गर्न पनि त्यति सजिलो भएन ।

आफ्नै समुदायका मान्छेले समेत विधुवा हो भन्ने, केही राम्रो खाए लाएको पनि चियोचर्चा गर्ने । कहिले ‘आज त उसले होटेलमा गएर चाउमिन खाएर आई’ भनेर त कहिले ‘घरमा खिर पकाएर खायो’ भनेर कुरा काट्ने । बिहान पानी लिन जाँदा पनि ‘विधवा आइमाईलाई देखेँ, खराब हुने भयो मेरो दिन’ भनेर सुनाउने । यस्ता टिप्पणीहरू उहाँले बारम्बार सुन्न पर्‍यो ।

सहरमा अलि बुझ्छन् भन्ने ठानेर पूजा डडेल्धुरा जिल्ला सदरमुकाममा डेरा गरी बस्न थाल्नुभयो । “केही गरे पनि यतै गरूँ भनेर छोरीलाई लिएर आएँ,” पूजाले भन्नुभयो । उहाँको पढाइ १० कक्षासम्म मात्र हो । एउटा पसलको रिसेप्सनमा काम गर्ने गरेको बताउँदै उहाँले थप्नुभयो, “१२ हजार तलब दिएको छ । छोरीलाई पढाउन भएकै छ ।”

श्रीमान् जीवित हुँदा विदेशबाट बेला बेलामा खर्च पठाइराख्ने हुनाले घरखर्च मात्र होइन, सरसापट दिन सक्ने पनि हैसियत भएको उहाँले सम्झनुभयो । सबैलाई दिन सक्ने समयमा आफूले पनि सम्मान पाएको तर कमाउने श्रीमान्‌काे निधनपछि समाज र घरपरिवारले आफूमाथि फरक बोली र व्यवहार गरेको उहाँको भनाइ थियो । “अब त कोले खर्च दिने, कोलाई भन्ने ? गाउँमा खासै आम्दानी पनि नहुने । केही काम पनि नपाइने भएर आर्थिक समस्या हुँदै गयो,” उहाँले भन्नुभयो ।

आर्थिक समस्या चुलिँदै गएपछि पूजाले आत्मनिर्भर हुँदै छोरीको भविष्य बनाउने बाटो रोज्नुभयो । अहिलेका लागि श्रीमान्‌काे सम्झनामा छोरीको भविष्य बनाउने अठोट गर्दै पूजाले अब फेरि बिहे गर्ने सोच नबनाएको जनाउनुभयो । एकल अभिभावकत्वको जिम्मेवारी बोध गर्दै उहाँले भन्नुभयो, “छोरीले बाबा त भन्न पाएन पाएन, आफूले पनि छाडेर गए के हालत होला भन्ने चिन्ता लाग्छ ।”

सपनाको सारथि नै गुमाएपछि

डडेल्धुरा जिल्लाकै नवदुर्गा गाउँपालिका वडा नम्बर २, सेरीकी सरस्वती ऐरका श्रीमान् वीरेन्द्र ऐर २०८० सालमा मलेसिया जानुभयो । २०८२ असार २ मा २८ वर्षको उमेरमा गाडी दुर्घटनामा परी उहाँको पनि उतै निधन भयो । उहाँ एक छोरी, एक छोरा र श्रीमतीको राम्रो लालनपालन गर्न र साहुको ऋण तिर्न भनी वैदेशिक रोजगारीमा जानुभएको थियो । असारमा एक्कासि ‘कफिन’ मा श्रीमान्‌काे शव आएपछि २२ वर्षीया सरस्वतीको जीवनकै भरोसा टुट्यो, सहारा गुम्यो । “श्रीमान्‌ले धन कमाएर ल्याउला र सुखसँग जीवन बिताउँला भन्ने सपना थियो, भताभुङ्ग भयो,” उहाँले भन्नुभयो ।

लाउँला खाउँला र केही गरौँला भन्ने उमेरमा श्रीमान्‌काे अकल्पनीय मृत्यु भएको घटनाको बज्रपातले सरस्वतीलाई ‘न दिनमा भोक, न रातमा निद्रा’ को स्थितिमा पुर्‍याइदियो । “श्रीमान् भए घरपरिवार समाज सबैले साथ दिने रै’छ, श्रीमान् नै नभए कोही आफ्नो नहुने रै’छ,” उहाँले भन्नुभयो ।

लाउँला खाउँला र केही गरौँला भन्ने उमेरमा श्रीमान्‌काे अकल्पनीय मृत्यु भएको घटनाको बज्रपातले सरस्वतीलाई ‘न दिनमा भोक, न रातमा निद्रा’ को स्थितिमा पुर्‍याइदियो । उहाँका ४ वर्षकी छोरी र २ वर्षका छोरा छन् । उहाँले भन्नुभयो, “मेरो सपनाको सारथि नै गुमाएपछि अब कसरी दैनिकी चलाउने र छोराछोरीको पालनपोषण गर्ने पिर मनभरि छ ।”

श्रीमान्‌ले विदेशबाट पैसा पठाएपछि आफूले गाउँमा सानो घर बनाएको सम्झँदै सरस्वतीले भन्नुभयो, “बस्नलाई घर त भएको थियो, समयमा पैसा पनि पठाइरहनुभएको थियो । छोराछोरीलाई र आफूलाई राम्रैसँग पुगेको थियो । रिन लिएर विदेश गएको र घर बनाएको रिन पनि तिरिसकेका थियाैँ, अब खुसीका दिन आउलान् र श्रीमान् पनि घर आउलान् भन्ने सपना सपनामै सीमित हुनपुग्यो ।” त्यसपछि दैनिकी कसरी चलाउने, के काम गर्ने र कसरी बालबच्चा हुर्काउने, कसरी पढाउने भन्ने पिरले उहाँलाई छोप्यो ।

“श्रीमान् भए घरपरिवार समाज सबैले साथ दिने रै’छ, श्रीमान् नै नभए कोही आफ्नो नहुने रै’छ,” उहाँले भन्नुभयो । श्रीमान्‌ले विदेशमा पसिना बगाएर बनाएको चारकोठाको घरमा त सबैको भाग लाग्छ, तिम्रो भागमा एक कोठा पर्ने हो, त्यो कोठा पनि माइतै लग, उतै बस भन्ने वचन सुनेपछि मन झनै पोल्न थालेको उहाँले बताउनुभयो ।

“विषम परिस्थितिमा समाजले सहयोग नगर्ने त छँदैछ, घरपरिवारले पनि हेप्ने, दुर्व्यवहार गर्ने रहेछ,” उहाँले भन्नुभयो, “मैले श्रीमान्‌काे मृत्यु हुँदा पाएको १४ लाख रुपैयाँ यसलाई छोराछोरी पाल्न, पढाउन सजिलो हुन्छ भनेर सोचिदिनु त कताकता, कहिले दिदीको खातामा त कहिले आफ्नो खातामा त्यो पैसा हाल्दे भनेर जेठाजु भन्नुहुन्छ ।”

श्रीमान् बितेपछि सरस्वती माइतमा बस्न जानुभयो । उहाँका बुबा यो संसारमा हुनुहुन्न । आठ दिदीबहिनीमध्ये राहिँली उहाँले आमाबाट खासै केही अपेक्षा गर्ने कुरो भएन । १० कक्षा पढ्दा बिहे भएकी उहाँले एसएलसी पास गर्नुभयो । त्यसपछि थप पढ्न भने पाउनु भएन । भन्नुभयो, “आफू जस्तै विधवा आमालाई सहारा दिने कि आफूले उहाँसँग सहारा माग्ने भन्ने लाग्छ ।” सरस्वतीका अनुसार, पत्थरीको अपरेसन गरेको बेला पनि घरपरिवारका कसैले कस्तो छ भनेर सोधेनन्, उल्टै ‘अब पैसा लगेर पोइल जाने हो’, ‘बच्चाहरूलाई घरमा छोडेर तिमी जहाँ जान्छौ जा’ भने ।

“कतै काम गर्न जाऊँ भने आक्षेप लाग्छ । राम्रो लाउँखाउँ भने पनि आक्षेप लाग्छ,” सरस्वतीले भन्नुभयो, “मेरो सपना सबै सकियो ।” आफू यस्तो अवस्थामा पुगिसकेको अनुभव गर्दागर्दै पनि उहाँले हुर्कंदै गरेका सन्तानप्रतिको जिम्मेवारीलाई केन्द्रमा राख्दै आएको जनाउँदै भन्नुभयो, “अब के गरेर बालबच्चा हुर्काउने, कसको सहारामा बाँच्ने र कसरी बच्चाको भविष्य हेर्ने भन्ने चिन्ता लागिरहन्छ ।”

सीमा छैन रोकटोक र बन्देजको

बैतडी जिल्ला, पाटन नगरपालिका वडा नम्बर १०, मटेकी विनिता भट्टका श्रीमान् यज्ञराज भट्ट रोजगारीको सिलसिलामा २०७५ सालदेखि भारतमा हुनुहुन्थ्यो । उहाँले २०७८ असार १० गते यज्ञराजको मृत्यु भएको खबर पाउनुभयो । ‘यज्ञ भाइ रुखबाट लड्नुभयो, हस्पिटल ल्याएका छौँ, चिन्ता नलिनू, ठिक भइहाल्छ होला’ भनेर रुखबाट लडेकै दिन जेठाजु नाता पर्नेले विनितालाई फोन गर्नुभएको थियो । एकछिनपछि ‘भाइ त हामीसँग रहनु भएन’ भन्ने फोन आयो ।

विनिताले भन्नुभयो, “यस एउटै वाक्यले मेरो सिङ्गो अस्तित्वलाई हल्लाइदियो, हातबाट फोन भुइँमा खस्यो । मेरो वरिपरिको संसार फनफनी घुम्न थाल्यो । कानमा हावा सुसाएजस्तो अनौठो आवाज गुन्जियो । म त्यहीँ बेहोस भएछु ।” खबर पाउनासाथ उहाँलाई आफ्नो जिन्दगीको सारा सपना नै सकिएजस्तो भयो । श्रीमान् बित्दा उहाँ २२ वर्षकी हुनुहुन्थ्यो । साथमा दुई वर्षको छोरा थियो ।

होस खुल्दा गाउँभरिका मान्छे वरिपरि जम्मा भएका थिए । घरमा रुवाबासी चलिरहेको थियो । उहाँले भन्नुभयो, “मैले परिवार र समाजबाट दुःख पाउने काम त त्यतिबेलै सुरु भइसकेको रहेछ ।” श्रीमान्‌काे मृत्युपछि विनिताले सेतो लुगा लगाएरै कालिका माध्यमिक विद्यालयमा बालविकास पढाउन थाल्नुभयो । १२ कक्षा पास गरेकी उहाँले पछि शिक्षक सेवा अध्यापन अनुमति पत्र पनि लिनुभयो । उहाँका अनुसार, स्कुलको रातो रङको पोशाक लगाउन परिवार र समाजले के भन्ला भन्ने डर भयो । स्कुलले रातै लगाउन भने पनि सासूले रातोको सट्टा हरियो लुगा सिलाउने सल्लाह दिनुभएको थियो ।

श्रीमान् बितेपछि मासु खान हुँदैन भन्ने चलन छ । श्रीमान् बितेको चार वर्ष नाघिसक्दा पनि घरमा मासु पकाएर आफूले खान त के बच्चालाई समेत दिन सकेको छैन । “घरमै पकाउन मिल्दैन भनेपछि कहाँ गएर खाने ? बच्चालाई समेत खुवाउन सकेको छैन ।

स्कुल जाँदा रातो लुगा लगाउनै पर्ने भएपछि विनिताले कसैका कुरा नसुनी रातै लगाउन थाल्नुभयो । समाजले कुरा काट्दै रह्यो, उहाँले खासै वास्ता गर्नु भएन । आफूले बिस्तारै रातो टीका पनि लगाएको सम्झँदै भन्नुभयो, “समाजको हेपाहा दृष्टि, आफ्नो जिन्दगीको एक्लोपन, बच्चाको माया र बाध्यताले अल्झाइराख्छ हामीलाई तर सहँदै जाँदाखेरि यो सबै हामीले पचाइसकेका हुँदा रहेछौँ ।”

श्रीमान् बितेको चार वर्ष नाघिसक्दा पनि घरमा मासु पकाएर आफूले खान त के बच्चालाई समेत दिन सक्नु भएन । “घरमै पकाउन मिल्दैन भनेपछि कहाँ गएर खाने ? मेरो कारणले त्यो अबोध बच्चालाई पनि खुवाउन सकेको छैन,” उहाँले भन्नुभयो, “हुन त म एक्लै बस्छु तर पनि मासु पकाएर खान सकेकोे छैन ।” परिवार र समाजले लगाएका बन्देजका कतिपय कुरा सुन्दा सामान्य जस्तो लागे पनि कति मात्रै सुन्ने भन्ने पनि लाग्न थाल्यो उहाँलाई । भन्नुभयो, “विधुवा भनुन् या जे भनुन् म त अब कसैको कुरा सुन्दैन ।”

जसले जे भने पनि अन्ततः आत्मनिर्भर भएर बच्चा हुर्काउनु छ, बच्चाको भविष्य हेर्नु छ भन्ने कुरामै उहाँको मन एकोहोरिन थाल्यो । “आफ्नो सपनाभन्दा सन्तानको सपना ठुलो हुँदो रहेछ,” अर्को विवाहलाई प्राथमिकता नदिएको सङ्केत गर्दै उहाँले यो पनि भन्नुभयो, “त्यसैले अहिले त केही सोचेको छैन ।”

न मर्न सकिने, न बाँच्न

बैतडी जिल्ला, मेलौली नगरपालिका वडा नम्बर ८, कोटीगाउँकी मीना ठगुन्नाको सोही नगरपालिका वडा नम्बर ४ का आयुष भट्टसँग २०७५ सालमा बिहे भएको थियो । भारतको दिल्लीस्थित एक होटेलमा १२ वर्षदेखि कुकको काम गर्दै आएका आयुषले बिहे भएको तीन वर्षमै मृत्युवरण गर्नुभयो । मीनाले पाएको खबरअनुसार, आयुषको मृत शरीर दिल्ली नजिकै बहादुरगढस्थित कोठामा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

श्रीमान्‌काे मृत्युको खबर आएलगत्तै मीनाले आफूलाई घरपरिवार र समाजबाट मान्छेमा गन्न छाडिएको पाउनुभयो । “घरपरिवारले तेरो कारण यस्तो भयो भने । मान्छे कतिसम्म निर्दयी हुन्छन् !” उहाँले भन्नुभयो, “एकातिर आफ्नो सहारा गुमाउनुको पीडा, अर्कोतिर तिखो बोली वचनको पीडा । म कति दिन त बच्चासँगै आफू पनि मर्न तयार भएँ तर बच्चाको मायाले यो सब हुन दिएन ।”

मीनाले आफूलाई न मर्न सकिने न बाँच्न सकिने समाजमा रहेको पाउनुभयो । “आफैँले सङ्घर्ष गरेर पनि खान नदिने समाजमा म छु,” १२ कक्षा पास गरेकी मीनाले भन्नुभयो । आफ्नो सहारा भनेकै छोरा हो भन्दै उहाँले छोराकै भविष्य बनाउने चाहनाका कारण आफूलाई घरपरिवार र समाजले दिएका सबै खालका पीडा सहने हिम्मत मिलेको पनि बताउनुभयो ।

मीनाले २४ वर्षको जीवनभोगाइका आधारमा केही प्रश्न उठाउँदै भन्नुभयो– हामीले खाने, लाउने, बोल्ने, हिँड्ने, गर्ने सबै काम समाजले नियन्त्रण किन गर्छ ? के श्रीमान् गुमाए भन्दैमा महिलाले आज पनि हाँस्न–खेल्न, घुम्न–हिँड्न, बोल्न, रमाइलो गर्न नपाउने ? हामीले श्रीमान्‌सँगै जीवनमा सबै थोक गुमाउन पर्ने हो र ?

माइती परिवारको जेठो सन्तान मीनाका बुबा बितेपछि आमा पनि एकल हुनुभयो । श्रीमान् बितेर दुःख पाएका बेला घर जाँदा परिवारका कोही मुख नबोल्ने भए भने कोही उल्टै ‘भाग खान आई’ भनेर गाली गर्ने भए । स्वदेशमै जागिरको लागि उहाँले आवेदन दिनुभयो । “जागिर खान त पैसा र पावर चाहिने रहेछ,” उहाँले भन्नुभयो, “मेरो को थियो र ? अब के गर्ने भनेर आफैँ बच्चालाई बहिनीको साथमा छोडेर काठमाडौँ हिँडेँ ।”

काठमाडौँमा बच्चा पढाउन र आफूलाई खानलाउन नपुग्ने भएपछि मीनाले दुबई गएर सेक्युरिटीको काम गर्न थालेको बताउँदै भन्नुभयो, “जे होस्, भाग्यले रामै्र काम पाएको छु । गल्र्स होस्टलमा सेक्युरिटी गर्छु । छोरालाई डडेल्धुरा सदरमुकाममा आमासँग राखेर पढाउँदैछु ।”

मीनाले २४ वर्षको जीवनभोगाइका आधारमा केही प्रश्न उठाउँदै भन्नुभयो– म जस्ता एकल महिलाको लागि हाम्रो गाउँ, घर, समाज र देशमा कोले के गर्छ ? हामीले खाने, लाउने, बोल्ने, हिँड्ने, गर्ने सबै काम समाजले नियन्त्रण किन गर्छ ? के श्रीमान् गुमाए भन्दैमा महिलाले आज पनि हाँस्न–खेल्न, घुम्न–हिँड्न, बोल्न, रमाइलो गर्न नपाउने हो र ? हामीले श्रीमान्‌सँगै जीवनमा सबै थोक गुमाउन पर्ने हो र ?

उजाडियो घर, एक्लियो जीवन

बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६, लेकगाउँकी २८ वर्षकी प्रमिला बुढा निद्रामा तर्सिएर उठ्न थाल्नुभयो । उहाँलाई मलेसिया काम गर्न गएर उतै बितेका श्रीमान्‌काे फोन आउँछ र ‘प्रमिला, म छिट्टै घर आउनेछु, बाबुको र आफ्नो ख्याल गर है !’ भनेको सुन्न पाइन्छ कि जस्तो लाग्छ । २०७५ भदौको झरीसँगै छिप्पिँदै गरेको एउटा रात प्रमिलालाई मलेसियाबाट गाउँलेले फोन गरेर ‘तपाईंका श्रीमान् अब यो संसारमा हुनुहुन्न’ भनेका थिए ।

एकातिर जीवनसाथीसँगको असामयिक बिछोड, बालबच्चाको लालनपालनको चिन्ता, आफूमाथि परेको जिम्मेवारी, अर्कातिर समाज र परिवारले गर्ने गलत व्यवहारले रातदिन रुवाएको प्रमिलाको अनुभव छ ।

कठोर सङ्घर्षका दिन त्यहीँदेखि सुरु भएको बताउँदै प्रमिलाले भन्नुभयो, “हामीलाई अशुभको प्रतीक मान्छन्, अभागिनीको नाम दिन्छन् र त्यही दृष्टिले हेर्छन्, श्रीमान् मरेको दोष पनि हामीलाई नै दिन्छन्, मानसिक यातनाहरू त कति भोगिन्छन् कति ? त्यसको कुनै सीमा नै हुँदैन ।” उहाँका अनुसार, यस्तो कलिलो उमेर छ भनेर समाजले नै सशङ्कित आँखाले हेर्छ । कोही पुरुषसँग बोलेको र हिँडेको देख्दा पनि ‘ऊ फलानासँग बोल्छ, हिन्छ’ भनेर बात लगाउने हिसाबले कुरा काट्न थाल्छन् ।

एकातिर जीवनसाथीसँगको असामयिक बिछोड, बालबच्चाको लालनपालनको चिन्ता, आफूमाथि परेको जिम्मेवारीको बोझ, अर्कातिर समाज र परिवारले गर्ने गलत व्यवहारले रातदिन रुवाएको बताउँदै प्रमिलाले भन्नुभयो, “बिमा के के गरेर २२ लाख रुपैयाँ पाएको थिएँ । लगभग तीन लाख खर्च भयो । अरू बाबुको पढाइ र आफ्नो घर खर्चमा चलाएँ ।” उहाँका छोरा अहिले ११ वर्षका भए ।

मलेसियाबाट शव ल्याउन दुई लाख जति खर्च भयो । काठमाडौँसम्म त आफ्नो खर्च लागेन । “त्यहाँबाट गाउँको भाइहरूले घरसम्म पुगाई दिनुभयो । आउनजान खानबस्न गरेर केही खर्च भयो । श्रीमान् बितेपछि पाइने पैसा पाउनका लागि पनि कागजपत्र मिलाउन पर्‍यो । त्यसका लागि ७० हजार रुपैयाँ सकियो,” १० कक्षासम्म पढेकी प्रमिलाले भन्नुभयो, “बाँकी पैसा आफ्नै खातामा राखेँ तर त्यो पैसा मेरो पीडाको सान्त्वना कहिल्यै बन्न सकेन ।”

वैदेशिक रोजगारीमा ज्यान गुमाएका युवकको घरमा श्रीमती र सन्तान मात्र होइन, आमाबुबाको जीवनको सुख पनि जोडिएको र अडिएको हुन्छ । घरको एक्लो छोरा बितेपछि प्रमिलाका सासूससुराले बुढेसकालको सहारा गुमाउनुभयो, उहाँहरूको पीडा एकातिर छ । अर्कोतिर जीवनसाथी गुमाएकी प्रमिलाले तरकारी बेचेर गुजारा गर्दै समाजको कुरा, परिवारको व्यङ्ग्य, आर्थिक अभाव सबैलाई सँगै लिएर छोराको सहारा बन्दै अघि बढ्न खोज्नुभयो । यस्तो बेला पनि उहाँलाई समाजले एकल भनेर हेप्न, होच्याउन छोडेन । त्यही कारण कहिलेकाहीँ मन भतभती पोल्ने र डाँको छोडेर रुन मनलाग्ने उहाँले बताउनुभयो । त्यस्तो बेला स्कुल पढ्दै गरेको छोराको मुस्कानमा आफ्नो संसार देख्ने गरेको प्रमिलाको भनाइ थियो ।

एकललाई समाजमा छैन सहज

बैतडीको पाटन नगरपालिका वडा नम्बर १० की भानु भट्टले समाजका गालीगलौज, लाञ्छना, हेपाइ आदि सहेर बसेको एकदशक नाघ्यो । उहाँले श्रीमान्‌लाई गुमाएको ११ वर्ष भयो । यसबिच एक्लैले पाँच जना सन्तानलाई हुर्काउनुभयो । यस क्रममा घरपरिवार र समाज तहको कुरा गर्दै भन्नुभयो, “बजार जाँदा, छिमेक तथा घरबाट नै विभिन्न लाञ्छना लगाइने, राम्रो लुगा लगाउँदा पनि काँबाट ल्याई, कोले दियो भन्ने कुरा त कति सुन्नुपर्‍यो कति !” त्यस्तो बेला कसैसँग झगडा गर्नुभन्दा त सहेरै बस्ने गरेको उहाँको भनाइ थियो ।

“श्रीमान् बिछोडिनुको पीडा एकातिर हुन्छ, त्यसमाथि परिवार र समाजबाट सान्त्वना, सहयोग, मायाको बदला दुर्व्यवहार खेप्नुपर्ने वातावरणले यो जीवनमा कति असहजता हुन्छ होला, आफैँ भन्नु त ?”

भानुले स्कुल गएर पढ्न पाउनु भएन । आफ्नो नामसम्म लेख्न सक्ने भानुले पूजापाठ र व्रतबन्धमा एकल महिलाले पकाएको खाना चल्दैन, पूजापाठ भएका ठाउँमा पहिला जान मिल्दैन, सबैले पूजापाठ गरिसकेपछि मात्र गर्न पाउँछौ भन्ने चलन रहेको र त्यो आफूले भोगेको बताउनुभयो । साथै, रातो टीका, रातो लुगा लगाउन र प्याज, मासु आदि खान नपाइने भन्ने चलन पनि रहेको र आफूले भोगेको समाज कहिल्यै परिवर्तन हुँदैन जस्तो लाग्ने गरेको उहाँको भनाइ थियो ।

“श्रीमान् बिछोडिनुको पीडा एकातिर हुन्छ, त्यसमाथि परिवार र समाजबाट सान्त्वना, सहयोग, मायाको बदला दुर्व्यवहार खेप्नुपर्ने वातावरणले यो जीवनमा कति असहजता हुन्छ होला, आफैँ भन्नु त ?” उहाँले भन्नुभयोे, “म जस्ता एकल महिलाले त राम्रो कपडा लगाउँदा, हिँड्दा, खाँदा, कतै बाहिर निस्कँदा, कसैसँग भेट्दा पनि समाजको अनुमति लिनुपर्ने जस्तो पो हुन्छ । स्वतन्त्ररूपमा काम गर्ने र समाजसँग घुलमिल हुने त वातावरण नै छैन । यसैले दुःख लाग्छ ।”

दैनिक पच्चिस सय जतिले छाड्छन् देश

स्वदेशमा गुजारा नचलेपछि परिवारको छाक टार्ने सपना लिएर दैनिक २५ सयभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि भुइँ छोड्छन् । त्यसमा पनि रोजगारीको खोजीमा सडकमार्ग हुँदै भारत जानेहरूको त लेखाजोखा नै छैन ।

वैदेशिक रोजगारीमा जाने क्रमको औपचारिक सुरुवात १८७२ सालमा नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीबिच सुगौली सन्धि भएपछि भएको पाइन्छ । ब्रिटिश सेनामा भर्तीसँगै नेपालीहरू वैदेशिक रोजगारीका लागि विदेश जान थाले । २०४२ सालमा ‘वैदेशिक रोजगार ऐन, २०४२’ बन्यो । त्यसपछि वैधानिकरूपमा वैदेशिक रोजगारीमा जाने क्रम चल्यो ।

विसं २०४६ को राजनीतिक आन्दोलन, २०५२–२०६२ सालको सशस्त्र सङ्घर्ष, २०६२–६३ को दोस्रो जनआन्दोलनपछि सिर्जित परिस्थितिसँगै वैदेशिक रोजगारीमा जाने क्रम बढ्यो । देशमा आर्थिक, सामाजिक तथा औद्योगिक क्षेत्रमा आशातीतरूपमा विकास हुन सकेन । मुलुकभित्र रोजगारीका अवसरहरू सीमित मात्र बाँकी रहे । कृषि क्षेत्रमा रुचि जगाउन र युवा श्रमशक्तिलाई प्रोत्साहित गर्न सरकारी संयन्त्रहरू सफल भएनन् । यावत कारणले वैदेशिक रोजगारीमा जानु अधिकांश युवाको रहर नभएर बाध्यता नै बन्यो ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कीय विश्लेषणका आधारमा राष्ट्रिय तथ्याङ्क कार्यालयले वैदेशिक रोजगारीका लागि अन्तर्राष्ट्रिय बसाइँसराइ नेपालका बहुसङ्ख्यक परिवारका लागि एक सामान्य जीविकोपार्जनको विकल्प बनेको कुरा छैटौँ विषयगत प्रतिवेदन ‘इन्टरनेसनल माइग्रेसन इन नेपाल’ मा उल्लेख गरेको छ । देशको सोह्रौं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) ले समेत ‘देशभित्र रोजगारीको अवसर सीमित रहेकोले अझ केही समय युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर रहने’ जनाएको छ ।

नेपाल सरकारले १२ वटा रोजगारदाता देशसँग मात्र श्रम समझदारी र सम्झौता गरेको छ । त्यसमा चार वटासँग द्विपक्षीय श्रम सम्झौता गरेको छ भने छ वटा देशसँग समझदारी मात्रै गरेको छ । नेपाल सरकारले मलेसिया, कतार, बेलायत, बहराइन, युएई, जोर्डन, दक्षिण कोरिया, जापान, इजरायल, मौरिसस र ओमानलगायत देशसँग श्रम सम्झौता गरेको हो । योसँगै वैदेशिक रोजगारीका लागि संस्थागतरूपमा १११ र व्यक्तिगतरूपमा १७८ देशमा जान सकिने व्यवस्था छ । नेपाली श्रमिक द्वन्द्वग्रस्त रुस, युक्रेनदेखि आन्तरिक युद्धले ग्रसित सिरिया, सोमालिया, सुडानलगायत देशमा पनि पुगेका छन् ।

श्रम स्वीकृति लिएर मात्र होइन, अध्ययनको नाममा समेत नेपालका युवा विदेश गइरहेका छन् । यो क्रम तीब्र गतिमा बढ्दो छ ।

सुदूरपश्चिम प्रदेशको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयका अनुसार, पछिल्ला १८ वर्षमा सुदूरपश्चिमबाट मात्रै दुई लाख ४५ हजार ९७१ जना वैदेशिक रोजगारीमा गए । त्यसमध्ये आठ हजार ६१५ जना महिला थिए । आर्थिक वर्ष (आव) २०८०/८१ मा मात्रै सुदूरपश्चिमबाट तीन हजार २०७ महिलासहित ३८ हजार २५४ जनाले श्रम स्वीकृति लिए । आव २०८१/८२ मा देशभरबाट ९४ हजार ४५५ महिलासहित आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका थिए ।

श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको कुनै कामदारको कुनै कारणले मृत्यु भएमा मृतकको हकवालाले आर्थिक सहायता पाउँछ । यसमा जीवन बिमाबापत १० लाख रुपैयाँ, किरिया खर्चबापत एक लाख रुपैयाँ, बिमितको आयको नोक्सानीबापत दुई लाख रुपैयाँ र औषधि र औषधि उपचारबापत एक लाख रुपैयाँ पाउने व्यवस्था रहेको सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालय, श्रम तथा रोजगार शाखाका नायब सुब्बा चम्पा कुमारी जोशीले बताउनुभयो ।

यद्यपि, रोजगारीका सिलसिलामा भारत गएका बेला उतै निधन भएमा स्वदेशमा एकल हुन पुगेका महिलाले परिवार र समाजबाट पाउनसम्म गोता पाएका महिला र तिनमा आश्रित बालबालिकाले कुनै पनि आर्थिक सहयोग पाउँदैनन् । शवलाई नेपाल ल्याउन पनि अनेकौँ समस्या पर्छ । खर्च जुटाउन गाह्रो हुन्छ । भारतमा काम गर्ने नेपालीको हकमा त कुनै प्रकारको जीवन बिमाको व्यवस्था पनि छैन ।

सपनाहरू फर्काइन्छन् ‘कफिन’ मा बन्द गरेर

वैदेशिक रोजगारीका लागि जन्मभूमि, परिवार र साथीसङ्गीभन्दा हजारौँ किलोमिटर पर गएका व्यक्तिहरूका मनभरि अनेक सपना साँचिएका हुन्छन् । कतिका सपनाहरू परदेशमै टुट्छन् । साहुको ऋण तिर्ने, जमिन जोड्ने अनि घर छाउने सपना पूरा गर्न केही लाख रुपैयाँ र छोराछोरीलाई झोलाभरि कपडा लिएर फर्कने रहर बोकेर विदेशी भूमिमा पुगेका कतिपय युवा दुर्घटनामा परेर समाप्त हुन्छन् । उनीहरूलाई ‘कफिन’ मा कैद गरी ढिलोचाँडो स्वदेश फर्काउने काम हुन्छ । लाशका रूपमा फर्काइनेको तथ्याङ्क बढिरहेकै छ ।

आव २०८१/८२ मा मात्रै सुदूरपश्चिमका ३३ जनाले विदेशमा ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको २०८१/८२ सालको प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार, आव २०६५/६६ देखि आव २०८०/८१ सम्म १५ वर्षको अवधिमा १३ हजार २७० जनाको विदेशमा मृत्यु भयो । धनगढीस्थित वैदेशिक रोजगार कार्यालयका अनुसार, आव २०६६/६७ देखि आव २०८०/८१ सम्मको अवधिमा सुदूरपश्चिमका मात्रै २८२ जनाले विदेशमा ज्यान गुमाए ।

आव २०८१/८२ मा मात्रै सुदूरपश्चिमका ३३ जनाले विदेशमा ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको २०८१/८२ सालको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये सबैभन्दा धेरै कैलाली जिल्लाका १० जनाले ज्यान गुमाए । साथै, बैतडीका सात, कञ्चनपुरका पाँच, दार्चुलाका पाँच, डोटीका तीन, बाजुराका दुई, डडेल्धुराका एक जनाले ज्यान गुमाए । २९ जनाको अङ्गभङ्ग भयो ।

अघिल्ला वर्षहरूको स्थिति हेर्ने हो भने वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका सुदूरपश्चिमेलीहरूमध्ये १७ जनाको आव २०७७/७८ मा, ३० जनाको आव २०७८/७९ मा, २६ जनाको आव २०७९/८० मा र ३६ जनाको आव २०८०/८१ मा मृत्यु भएको तथ्याङ्क भेटिन्छ । अधिकांशले कार्यस्थलको दुर्घटना, सडक दुर्घटना र सुतेकै ठाउँमा ज्यान गुमाएको अवस्था छ ।

मनोविद् डाक्टर गोपाल ढकालका अनुसार, मुख्य चार कारणले विदेशमा मृत्यु भएको देखिन्छ । हर्टअट्याक, आत्महत्या, सडक दुर्घटना र काम गर्दागर्दै हुने दुर्घटना । विदेशमा मौसम तथा हावापानी, तनाव, काम गराइ, खानपान आदि सबै कुरा फरक हुन्छ । घरपरिवारको तनावलाई सहन नसक्ने, भने जस्तो काम नपाउने, ठगीमा पर्ने आदि कारणले मानसिक समस्यामा पर्छन् । उपचार गर्न सहज नहुने, भाषाको कारण विविध समस्या हुने, फर्केर आउन पनि नसक्ने कारणले कतिपयले आत्महत्याको बाटो रोज्ने गरेको देखिन्छ । कामलगायत सबै कुरा सहज हुँदैन । त्यसैले विविध घटना भएर वैदेशिक रोजगारीमा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको हो ।

एकल महिलाको तथ्याङक नै यकिन छैन

एकल महिला सुरक्षा कोष (सञ्चालन) नियमावली, २०७० अनुसार, एकल महिला भन्नाले आर्थिक दृष्टिले विपन्न विधवा, ३५ वर्षसम्म बिहे नगरी बसेका, सम्बन्धविच्छेद भएका, सम्बन्धविच्छेद नभए पनि मानो छुट्टिई वा अंश बुझी श्रीमान्‌सँग छुट्टिई भिन्न बसेका र पाँच वर्षभन्दा बढी समयदेखि पति हराएको वा बेपत्ता भएका महिलालाई बुझिन्छ । सुदूरपश्चिम प्रदेशमा कहीँ कतै पनि एकल महिलाको तथ्याङ्क राख्ने गरेको पाइएन । यसैले पनि यस्ता महिलाको सङ्ख्या यकिन गर्न सकिएन ।

एकल महिला समुह सुदूरपश्चिम प्रदेशकी अध्यक्ष वेद अवस्थीका अनुसार, सात वर्ष पहिले एकल महिला संघसँग १७ हजार ८९९ एकल महिला आबद्ध थिए । अहिले एकल महिला समुह सक्रिय नहुँदा आफूले पनि केही गर्न नसकेको उहाँले बताउनुभयो । “कहीँ यसको न त तथ्याङ्क हुन्छ न त खासै कार्यक्रम । हामीले सबै पालिकामा बुझेपछि मात्र थाहा पाउन सकिन्छ होला,” उहाँको भनाइ थियो ।

वैदेशिक रोजगारीको कारणले होस् या विपत्तिमा परेर धेरै पुरुषको विदेशमा अकाल मृत्यु हुँदा सानो उमेरका धेरै महिला एकल भएको स्थिति छ । यसबारे खासै केही अध्ययन भएको पाइएन । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखासँग पनि यससम्बन्धी कुनै तथ्याङ्क नभएको बुझियो । महाशाखाका अधिकृत बिन्दु कुमारी चटौतले भन्नुभयो, “केही कार्यक्रमहरू सञ्चालन भए पनि एकल महिलाको तथ्याङ्क हामीसँग छैन ।”

समस्या समाधान र प्रभावकारी नियन्त्रण जरुरी

वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा मृत्यु हुन पुगेका नागरिकका परिवारको समस्यालाई समाधान गर्नका लागि राज्यले सबैभन्दा पहिले त एकल हुन पुगेकी महिलाको जीवन र प्रायः एक्लो छोरा बितेका कारण सहाराविहीन बुढेसकाल बिताउन बाध्य आमाबाबुको पक्षबाट उदारतापूर्वक हेर्न, बुझ्न र प्रभावकारी ढङ्गले काम पनि गर्न जरुरी छ ।

अहिलेसम्म बेरोजगारी समस्या समाधानका लागि राज्यका तर्फबाट प्रयास हुँदै नभएका भने होइनन् । बेरोजगार नागरिकलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न नेपाल सरकारद्वारा ठुलो स्रोतको लगानीमा विभिन्न रोजगारीमूलक कार्यक्रम तथा सिप विकास, लघुउद्यम, गरिबी निवारण तथा स्वरोजगार नीति तथा कार्यक्रम लागु गरियो । सरकारले तयार गरेका कैयौँ नीतिमा रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकतामा राखियो । तर, ती कार्यक्रमले ठुलो सङ्ख्यामा बेरोजगार नागरिकलाई स्वदेशमै रोजगारी दिन र वैदेशिक रोजगारीमा जानबाट रोक्न सकेका छैनन् ।

एकल महिलाहरू मानसिकरूपमा पीडित बन्ने अवस्थालाई रोक्न राज्यले बलियो कानुन बनाएर प्रभावकारी ढङ्गले लागु पनि गर्नुपर्छ । एकल महिलाको मानव अधिकारलाई कसैले कुनै पनि बहानामा उल्लङ्घन गर्न नपाउने कुराको प्रत्याभूति हुनुपर्छ ।

एकल महिलाले सन्तान हुर्काउन पनि एक्लै सङ्घर्ष गर्नुपर्ने अवस्थाको लेखाजोखा हुनुपर्छ । राज्यले वैदेशिक रोजगारीमा ज्यान गुमाएका व्यक्तिका श्रीमती, जो एकल हुन पुगेका छन्, ती महिलाको अलग्गै तथ्याङ्क राख्नुपर्छ । सानै उमेरमा एकल हुन पुगेका र सन्तानको अभिभावकत्व निर्वाह गर्दै रहेका महिलाको उचित रेखदेख गर्ने व्यवस्था मिलाउने जिम्मेवारी राज्यको हो । वैदेशिक रोजगारीमा गएका सन्तानलाई गुमाउन पुगेका आमाबाबुको पक्षबाट पनि राज्यले बेलैमा सोचविचार गरेकै हुनुपर्छ । होइन भने युवालाई स्वदेशमै रोजगारी र अध्ययनको व्यवस्था गर्नुपर्छ ।

घरव्यवहारका विषयमा पनि अलगथलग गर्दै एकल महिलालाई विभिन्न कानुनी झमेलामा पार्ने खतरालाई ध्यानमा राखी कानुनी सहायता पनि उपलब्ध गराइनुपर्छ । उनीहरूका लागि राज्यले निःशुल्क कानुनी सहयोगका लागि छुट्टै निकायको स्थापना गर्नुपर्छ । एकल महिलाहरू मानसिकरूपमा पीडित बन्ने अवस्थालाई रोक्न राज्यले बलियो कानुन बनाएर प्रभावकारी ढङ्गले लागु पनि गर्नुपर्छ । बेला बेलामा यस्ता परिवारको अवस्था के कस्तो छ भनी अनुगमन गर्नु आवश्यक छ ।

एकल महिलाको मानव अधिकारलाई कसैले कुनै पनि बहानामा उल्लङ्घन गर्न नपाउने कुराको प्रत्याभूति हुनुपर्छ । खासगरी घरभित्र र घरबाहिर हुने विभिन्न प्रकारका सामाजिक तथा सांस्कृतिक हिंसाबाट एकल महिला र तिनका सन्तानलाई सुरक्षित राखिनुपर्छ । साथै, आर्थिक आत्मनिर्भरताका लागि स्वदेशमै रोजगारी गर्न पाउने वातावरण सिर्जना गरिनुपर्छ ।

‘वैदेशिक रोजगारीले एकल बनाएका महिलाको सङ्घर्ष’ शीर्षकको यो स्टोरी ‘द स्टोरी किचेन’ ले प्रदान गरेको ‘सन्धान फेलोसिप २०२५’ कार्यक्रम अन्तर्गत ममता भट्टले तयार गर्नुभएको हो ।

प्रकाशन मिति : २०८२ पुष १० गते, बिहिवार

सन्धान फेलोसिप २०२५ का थप स्टोरीहरू

Share this :