Home Stories दुःख पर्‍यो भनेर मर्ने सपना कसैले नदेखून् !

दुःख पर्‍यो भनेर मर्ने सपना कसैले नदेखून् !

234
0

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ स्थित मनेहरा मुक्तकमैया शिविरमा बस्दै आएकी सीतापती चौधरी आफ्नो समुदायको अगुवा महिला हुनुहुन्छ । उहाँको जन्म २०२६ सालमा कमैया परिवारमा भएको थियो । ऋणका कारण बुबा जमिन्दारको घरमा बस्ने हुनाले दाजुभाइ दिदीबहिनीसँगै सीतापतीले पनि कमैया–कमलरी बनेरै हुर्किन पर्‍यो । अभाव र दुःखका बिच १२ वर्षकै उमेरमा भएको उहाँको बिहे सफल भएन । २०४६ सालमा अर्को बिहे भयो । त्यो पनि जमिनदारको घरमा बसेको कमैयासँग नै भएकाले सीतापतीले बुक्रही बनेर श्रीमान्‌काे मालिकको घरमा काम गर्नुपर्‍यो ।

सरकारले २०५७ सालमा कमैया मुक्ति घोषणा गरेपछि श्रीमान्‌सँगै सीतापती पनि कमैया र बुक्रही बसेको घरबाट निस्किनुभयो । त्यसपछि गाँस, बास, कपास र रोजगारीसँग जोडिएका नयाँ समस्याहरूसँग जुध्दै मुक्तकमैया पुनर्स्थापना आन्दोलनमा पनि लाग्नुभयो । दैनिक जीवनयापनका लागि ज्यालादारीमा काम गर्दै गर्दा महिलालाई कम ज्याला दिने गरिएको थाहा पाउनुभयो । त्यसपछि उहाँले मुक्त कमैयाको अधिकारका लागि आवाज मात्र होइन, महिलालाई ज्यालामा गरिने भेदभावका बारेमा पनि प्रश्न उठाउन थाल्नुभयो । विभिन्‍न तालिम र प्रौढ शिक्षा लिएर आफू सचेत बन्दै आफ्नो समुदायका महिलाहरूको समूह बनाउने, बचत गर्ने गराउने आदि काम गर्दै आउनुभयो । उहाँको नेतृत्वमा समुदायका व्यक्तिहरूलाई महिला हिंसाका विरुद्ध सचेत बनाउँदै उनीहरूको व्यवहारमा सुधार ल्याइएको पनि छ ।

सीतापती चौधरीसँग बाल्यकालदेखि नै कमलरी भएकोदेखि बिहेपछि बुक्रही भएको र कमैया मुक्तिको घोषणापछि आफ्नो समुदायकै अगुवा भएर काम गरेकोसम्म गरी पाँच दशकभन्दा लामो जीवनभोगाइ छ । अत्यन्तै अप्ठेरो परिस्थितिबाट सामान्य परिस्थितितिर आफू मात्र होइन समुदायलाई नै डोर्‍याउन प्रयासरत उहाँसँग २०८१ वैशाखमा कुराकानी गरिएको थियो । प्रस्तुत छ, ‘सन्धान’ का लागि कैलालीकी पत्रकार उन्‍नती चौधरीले धनगढीस्थित मनेहरा मुक्तकमैया शिविरमै पुगेर सीतापती चौधरीसित गर्नुभएको कुराकानीको अंश :

तपाईं मनेहरा मुक्तकमैया शिविरमा कहिलेदेखि र किन बस्दै आउनुभएको हो ?

हामी यो शिविरमा २०५७ माघ ५ गतेदेखि बस्न थालेका हौँ । २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गर्‍यो । मुक्तिपछि हामी यहाँ नजिकैको चौरमा आएर बसेका थियौँ । त्यसको छ महिनापछिदेखि यो ठाउँ कब्जा गरेर बस्न थालेका हौँ । अहिले पनि यहीँ छौँ । कमैया मुक्ति गरेर पुनर्स्थापना गर्ने भनेपछि सरकारले हामीलाई यही ठाउँमा प्रत्येक परिवारलाई तीन तीन कठ्ठा जमिन दिएको छ । त्यसैले यहीँ बसिरहेका छौँ ।

तपाईंलाई बाल्यकालको के कुरा याद आउँछ ? अहिले भन्‍न चाहनुहुन्छ कि ?

शरीर ढाक्ने लुगा पाउन पनि निकै समस्या हुन्थ्यो । बुबाले बल्लबल्ल एकजोर कपडा दिनुहुन्थ्यो तर त्यो पनि एक वर्ष पनि नपुग्दै फाट्थ्यो । फेरि अर्को कपडा किन्‍न बुबासँग पैसा नभएर किन्दिन नसकेको मलाई याद हुन्छ । हामी सानै छँदादेखि बुबालाई ठुलो ऋण लागेको रहेछ । त्यही भएर सिङ्गो परिवार लिएर सरैया गाउँमा कमैया बस्नुभएको रहेछ भन्‍ने कुरा पनि ठुलो हुँदै जाँदा थाहा हुँदै गयो । आमाबुबाका पाँच छोरी र दुई छोरा गरी हामी सात जना छोराछोरी थियौँ ।

तपाईंले थाहा पाउँदा तपाईंहरूको दैनिक कामकाज कस्तो हुन्थ्यो ?

हामी सबै जना मालिकको घरमै बस्ने र सकेको काम गर्ने गर्थ्यौं । बुबा गाई चराउन जानु हुन्थ्यो । हामी मालिकको घरमा बच्चा हेर्ने काम गर्थ्यौं । अलि ठुलो हुँदै जाँदा बाख्रा चराउन जान थाल्यौँ । परिवारका सबैले काम गरिदिए पनि मालिकले हामीलाई दिने भनेको बिहान बेलुका खाना र वर्षमा एकजोर कपडा मात्रै हो । म अलि बढेपछि बुबाले मलाई अर्कै घरमा कमलरी बस्न पठाउनुभयो । सुरुमा म थारुकै घरमा कमलरी बसेको थिएँ ।

तपाईं कमलरी बसेको बेलाको दैनिकी कस्तो हुन्थ्यो नि ?

मालिकको घरमा बस्दाको दुःख त कति हो कति ! दिनभर काम गर्‍यो, रोटी मात्रै खान दिन्थे । पेट अघाउँदैनथ्यो, भोकै काम गर्नुपर्थ्यो । धेरै जति म बाख्रा चराउन जान्थेँ । बिहान बेलुका घरायसी काम गर्नुपर्थ्यो । बिहानदेखि राति अबेलासम्म काम गर्दा पनि पेटभरि खान नपाएपछि म अर्को मालिकको घरमा गएँ । त्यति बेला म ११–१२ वर्षको थिएँ । परिवारका सबै जनाले मालिकको घरमा काम गर्दा पनि बुबाको ऋण चुक्ता हुन सकेन । अनि बुबाले हामी दुई दिदीबहिनीको बिहे गरिदिने सोच बनाउनु भएछ ।

त्यति सानैमा कसरी बिहे भयो ? अनि अर्को बिहेको कुरो पनि बताइदिनूस् न !

हामी दुई छोरी दिएबापत केटा पक्षबाट बुबाले पाँच–पाँच सय रुपैयाँ लिनुभएको रहेछ । पछि थाहा भयो । त्यसरी १२ वर्षमै मेरो बिहे भएको हो । तर बिहे भएको घरका सबैले काम गर्न सक्दैन भनेर मलाई गाली गर्ने, पिट्ने, हेला गर्ने गर्न थाले । त्यस्तो भएपछि त्यो घरमा बस्न सकिनँ अनि भागेर फेरि आमाबुबा बसेको ठाउँमै पुगेँ । पछि बुबाले फेरि अर्को परिवारसँग मेरो बिहे गरिदिने गरी कुरा चलाउनुभयो । मेरो पहिलाको श्रीमान्‌काे परिवारलाई अहिलेका श्रीमान् (रामप्रसाद चौधरी) को परिवारले पाँच सय रुपैयाँ दिए र मलाई बुहारी बनाए । हामी छिमेकी पनि थियौँ । यसरी दोस्रो पटक मेरो बिहे भएको २०४६ फागुनमा हो । मेरो श्रीमान्‌काे घरको ठेगाना घोडाघोडी नगरपालिका–८ रामशिखरझाला हो । श्रीमान्‌काे घरको आर्थिक अवस्था पनि हाम्रो जस्तै कमजोर थियो । त्यही भएर मेरो श्रीमान् एक जना पहाडीको घरमा कमैया बसेका थिए । मलाई बिहे गरेपछि म पनि त्यही घरमा बुक्रही बसेँ ।

श्रीमान्‌सँगै मालिकको घरमा रहेर आफू बुक्रही हुँदाको अवस्था कस्तो थियो ?

म चाहिँ त्यो घरमा सरसफाइ गर्ने, भाँडा धुने, धान काट्ने र कुटानीपिसानी जस्ता सबै काम गर्थें । त्यहीँ बस्दै गर्दा हाम्रो पनि बच्चाहरू जन्मिए । जमिन्दारकै घरमा भएकै बेला कमैया मुक्तिको घोषणा भयो । कमैया मुक्ति हुँदा मेरो तीन महिनादेखि पाँच वर्षसम्मका तीन जना बच्चाबच्ची थिए ।

कमैया मुक्तिपछि के भयो ?

कमैया मुक्ति भएपछि हामी जमिन्दारको घरबाट निस्कियौँ । तर, खान, लाउन कहाँबाट पाउनु र ? हामीले कतै पनि खान र बस्न पाउने अवस्था थिएन । हामीलाई कतै रोजगारी पनि दिएको थिएन । त्यसरी मुक्ति मात्रै गरेर त पुगेन । त्यही भएर मुक्तिपछि गाँसबास र कपासको लागि हामीले फेरि लड्न पर्‍यो । हामीले कमैया पुनर्स्थापनाको लागि भनेर पनि आन्दोलन नगरी नहुने अवस्था थियो ।

पुनर्स्थापनाको आन्दोलनमा तपाईं पनि हिँड्नुभयो ? छोराछोरी सानै थिए, होइन र ?

म आन्दोलनहरूमा धेरै हिडेँ । त्यति बेला आन्दोलनमा हिँड्दा मेरो कान्छीछोरी तीन महिनाकी थिई भने एउटा दुई र अर्को पाँच वर्षका । दुई छोराछोरीलाई घरमा छोडेर जान्थेँ । तीन महिनाकी बच्चीलाई पिठ्युँमा बाँध्थेँ र त्यसरी उसलाई बोकेरै आन्दोलनमा जान्थेँ । म त्यसरी आन्दोलनमा जाँदा सासूले मलाई गाली गर्नुहुन्थ्यो । आन्दोलनमा जाँदाजाँदै ‘यसले बच्चा मार्छे’ भन्‍नुहुन्थ्यो । ‘बच्चा मर्‍यो भने अर्को जन्माइहाल्छु नि’ भनेर हिँड्थेँ । सरकारले हामीलाई राम्रो व्यवस्था गर्नुपर्छ । बच्चाभन्दा बढी हाम्रो मुक्तिपछिको अधिकारको सवाल हो भन्दै आन्दोलनमा होमिएँ । त्यस्तै गरेर ती बच्चा हुर्किए । जे भए पनि सरकारले हामीलाई बसोबासको लागि जग्गा उपलब्ध गराओस् भनेर आन्दोलनमा उत्रिएका हौँ ।

सुरुमा शिविरको बसाइ र स्थानीयसँगको सङ्घर्ष कस्तो रह्यो ?

शिविरमा बस्दा पनि सुरुसुरुमा धेरै दुःख पायौँ । छेउछाउका छिमेकीले हामीलाई लखेट्थे । यहाँ बस्न पाइँदैन भन्दै हाम्रो खानामा बालुवा र माटो हाल्दिन्थे । हामी बस्ने छाप्रोको छानो त्रिपालको हुन्थ्यो । त्यो पनि च्यातिदिन्थे । च्यात्ने पनि अरूले होइन, नेता जस्ता मान्छेहरू आएर । उनीहरूले हामीलाई जहाँबाट आयो त्यहीँ जाऊ भन्दै धपाउन खोज्थे । तर हामी पछि हटेनौँ । जिद्दी भएरै बस्यौँ । हाम्रो पनि अधिकार छ, सरकारले हामीलाई जहाँ बस्न दियो, त्यहीँ बस्छौँ भन्दै अहिले बसेको जमिन कब्जा गरेर बस्यौँ ।

मनेहरा मुक्तकमैया शिविर। तस्विरहरूः उन्‍नती चौधरी

अनि के भयो ?

एक वर्षपछि सरकारले नापनक्सा गरेर प्रतिपरिवार तीन–तीन कठ्ठाका दरले जग्गा वितरण गर्‍यो । जग्गा पाएपछि बस्नलाई सानो–सानो झुप्रो बनायौँ । हातमुख जोर्ने समस्या त फेरि पनि उस्तै भइहाल्यो । ज्याला मजदुरी गर्न बजारतिर निस्किन्थ्यौँ । घरमा बालबच्चा छोडेर मजदुरी गर्न जान्थ्यौँ । ज्याला दिने बेला पुरुषलाई भन्दा हामी महिलालाई कम दिन्थे ।

ज्यालामा के कति फरक हुन्थ्यो ?

दिनभरि काम गर्दा महिलालाई २० रुपैयाँ दिन्थे, पुरुषलाई ३० रुपैयाँ । कसैले त पुरुषलाई ४० रुपैयाँ पनि दिन्थे । त्यसरी किन फरक गरेको होला जस्तो लाग्थ्यो तर पनि त्यति बेला बोलेर सोध्न त सकिँदैनथ्यो । कमैया मुक्ति भएपछि २०५७–५८ सालतिर केही ज्याला त बढ्यो तर बराबरी भएन । महिलालाई ५० रुपैयाँ दिँदा पुरुषलाई ६० रुपैयाँ दिएको हुन्थ्यो । ठेकेदारले मात्रै होइन, सरकारी अफिसले पनि हामी महिलालाई फरक गथ्र्यो ।

ज्यालाका सम्बन्धमा तपाईंलाई भन्‍न मन लागेको कुनै घटना छ भने बताइदिनूस् न !

एक चोटि जिल्ला वन कार्यालयले कार्यालयमै नर्सरी बनाउनलाई माटो बोक्ने काममा लगायो । त्यहाँ हामी नौ जना थियौँ । चार जना भर्खरका भाइहरू र पाँच जना महिला थियौँ । भर्खरकै उमेरको भएर होला, ती भाइहरू खुरुखुरु काम पनि नगरी खेल्दै र चल्दै काम गर्थे । केटाकेटी नै छन्, यस्तै हो भनेर हामी पनि केही भन्दैनथ्याैँ । हामी महिला जति सबै अलि पाको उमेरका थियौँ । राम्ररी काम गर्नुपर्छ भन्‍ने पनि लाग्थ्यो । काम सकेपछि ज्याला लिन बोलाइयो, त्यो बेला हामीले ८०–८० रुपैयाँ पायौँ, ती भाइहरूले एक–एक सय रुपैयाँ पाए । त्यो दिन सारै नराम्रो लाग्यो । हाकिमलाई भेटेर कुरा पनि राख्यौँ । ती हाकिमले नियम यस्तै छ भनेर पन्छिए । काम गर्ने मान्छे, कहिले कसकोमा, कहिले कसकोमा पुग्नुपर्थ्यो तर जहाँ गए पनि ज्याला फरक नै दिन्थे ।

त्यस्तो गर्नु पनि महिलामाथिको विभेद हो भन्‍ने थाहा थियो कि थिएन ?

पहिला त कसरी थाहा पाउनु र ? कसलाई कति दिन्छन् भन्‍ने पनि थाहा हुँदैनथ्यो । कमैया मुक्ति भएपछि मुक्तकमैया पुनर्स्थापनाको माग गर्दै गर्दा महिलालाई कम ज्याला दिनु पनि हामीमाथिको विभेद हो भन्‍ने बिस्तारै बुझ्न थाल्यौँ । एक दिन कैलालीकै महिला पैरवी मञ्चको गोमा आचार्य मेडमसँग भेट भयो । उहाँसँग हामीले ज्यालामा महिलामाथि विभेद भइरहेको कुरा राख्यौँ । उहाँले त्यो बेला म अफिसमा कुरा राख्छु भनेर अश्वासन दिनुभयो । केही दिनपछि उहाँले हामीलाई पैरवी मञ्चको अफिसमा बोलाउनु पनि भयो । म त्यहाँ गएँ । एक जना विदेशी महिलालाई पनि देखेँ । उहाँसँग पनि सबै कुरा भन्दा ‘समान कामको समान ज्याला हुनुपर्छ’ भन्‍नुभयो । त्यसपछि हामीले महिलाहरूको समूह बनायौँ र यसबारेमा ठाउँठाउँमा कुरा उठाएर समान कामको लागि समान ज्याला कायम गर भन्‍न थाल्यौँ ।

महिला समूह सुरुमा कस्तो थियो र कसरी समूहमा काम गर्न सक्ने हुनुभयो ?

हामीले २०५९–६० सालतिर २७ जना भएको महिला मात्रैको एउटा समूह बनायौँ । त्यसको नाम ‘हिम्मत महिला समूह’ राख्यौँ । अध्यक्ष म नै भएँ । यसमा गोमा मेडमले नै सहजीकरण गर्दिनुभयो । त्यसपछि समूहको नियमित बैठक बसेर आ–आफ्नो कुरा भन्‍न थाल्यौँ । अरूका कुरा सुन्‍न र आफ्ना कुरा सुनाउन थाल्यौँ । केही समय यस्तै चल्यो । पछि पैरवी मञ्चले हप्तामा एक दिन समूहका सदस्यहरूलाई पढाउन थाल्यो ।

के कस्तो व्यवहारलाई विभेद भन्‍नेदेखि न्याय र अन्याय भनेको के हो आदि बारेमा धेरै जानकारी त्यो कक्षामा दिनुहुन्थ्यो । कक्षामा म मात्रै होइन, समूहका सबैजसो सानो उमेरमा स्कुल गएर पढ्न नपाएका महिलाहरू थियौँ । हामीले आफ्नो नाम लेख्न पनि त्यही कक्षाबाट सिकेको । पछि हामीलाई प्रौढ शिक्षा पनि चाहिन्छ भन्‍ने लाग्यो । अनि तीन महिनाको प्रौढ कक्षामा सहभागी भएर पनि पढ्यौँ । पढेर नाम लेख्नदेखि महिलाको अधिकारका कुरा गर्न सक्ने भयौँ । अधिकारका कुरा पनि त्यो कक्षामा छलफल हुन्थ्यो ।

प्रौढ शिक्षामा सहभागी भएर पढ्दा नास्ताको लागि भनेर एक जनालाई दिनको पाँच रुपैयाँ दिइन्थ्यो । त्यो पैसा हामी सबैले नास्ता नखाएर जम्मा गरेर राख्ने सल्लाह गर्‍यौँ । त्यसो गर्दा एकपटक दुई हजार पाँच सय रुपैयाँ जम्मा भएको थियो । त्यही पैसाबाट हाम्रो समूहको नाममा कोष सञ्चालन गर्न थाल्यौँ । आफैँले जोगाउन सकेको पैसा कोषमा राख्दै गयौँ र समूहमा कसैलाई अप्ठ्यारो पर्‍यो भने सस्तो ब्याजमा ऋण दिने–लिने गर्न थाल्यौँ । जसको घरमा खाना छैन, उसलाई समूहबाटै दालचामल किनेर पनि दिने गर्थ्यौं । बिस्तारै हामी सबैले आ–आफ्नोतर्फबाट महिनाको २० रुपैयाँ उठाउन थाल्यौँ । यसो गर्दा हाम्रो समूह सक्रिय पनि भयो । समूहका सबै जना हामी विभिन्‍न ठाउँमा गएर बोल्ने, आफ्नो कुरा ठाउँमा राख्ने गर्न थाल्यौँ ।

तपाईंहरूको महिला समूहले समुदायका लागि विशेष के गरेको छ ?

पहिला हाम्रो टोल एकदमै बिग्रेको थियो । रक्सी खाएर श्रीमान्‌ले श्रीमतीलाई पिट्ने घटना यहाँ धेरै हुन्थ्यो । कतिले बहुविवाह गर्थे । पछि हामीले महिला हिंसा हुन हुँदैन, घरेलु हिंसा गर्न हुँदैन भनेर तालिम लियौँ र समुदायमा पनि तालिम दियौँ । अहिले हाम्रो टोल सुध्रिएको छ । महिलामाथि कुटपिट र हिंसाका घटना हुँदैन भने पनि हुन्छ । श्रीमतीलाई हिंसा गर्‍यो भने कानुन लाग्छ भन्‍ने धेरैले थाहा पाएका छन् । समुदायमा गएर हामीले पनि यस्ता कुराहरू भन्छौँ । हिंसाका विरुद्धमा महिलाहरू आफैँ पनि बोल्छन् । राम्रो हुँदै गएको छ ।

तपाईंको समुदायमा राम्रो हुँदै गएको बेला समुदायभन्दा परका महिलाहरूतिर पनि हेर्नुभएको होला, कस्तो लाग्छ ?

मलाई एकदमै खुसी लाग्छ । कमैया मुक्ति भयो, कमलरी मुक्ति भयो । हामी महिला, साना केटीहरूले समेत विनापैसा अरूको घरमा गएर सकीनसकी काम गर्नुपर्थ्यो । काम गरेको पैसा पनि पाइँदैनथ्यो । अहिले जे जस्तो भए पनि स्वतन्त्र भएका छौँ, आफैँ गरेर खान्छौँ । अचेल त महिला र पुरुषमा फरक गर्नुहुँदैन भन्‍ने कानुन पनि बनिसक्यो । पहिला महिलालाई घर परिवारले दबाएर राख्थे, अहिले त्यो कम भइरहेको छ । आजभोलि जुनसुकै काममा पनि महिलाहरू बराबरी जस्तै छन् । अर्को खुसी चाहिँ हामीले राष्ट्रपति महिला भएको पनि देख्न पायौँ । विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा म एकदमै खुसी भएको थिएँ । महिलाले जस्तोसुकै काम पनि गर्न सक्छन् भन्‍ने प्रमाणित हुँदै गएको देख्दा एकदमै खुसी लाग्छ ।

हिजोआज तपाईं के काममा व्यस्त हुनुहुन्छ ?

समुदायमा केही समस्या भयो भने आफूले जानेबुझेको जे छ, त्यो अनुसार भन्छु, सहजीकरण गर्छु । आफ्नो ज्यानले सकेको काम गर्छु । पहिले जस्तो दिनभरि बालुवा बोक्ने, र ज्यालामजदुरीको काम गर्न भने सक्दिनँ । त्यसैले शिविर नजिकै अरू बस्तीहरू छन् । त्यहाँ काम पाइन्छ । बोलाएको घरमा गएर घरायसी काम गर्दिन्छु । बिहे, भोज, पार्टीहरू हुँदा पनि काम पाइन्छ । आयआर्जनको लागि सकेको काम गर्नैपर्छ । काम गरेर खान लाज मान्‍न हुँदैन, म अरूलाई पनि त्यही भन्छु ।

अन्त्यमा केही भन्‍न चाहनुहुन्छ ?

हामी त धेरै दुःखमा हुर्कियौँ । अहिलेका बालबालिका सुखमा हुर्किन पाएका छन् । आमाबुबाले पनि बच्चाहरूलाई पढाउने, राम्रो जागिर खुवाउने भनेर ठुलो सपना बोकेका हुन्छन् । तर, अहिलेका कतिपय बालबालिका र किशोरकिशोरी भने नराम्रो बाटोतिर पनि लागिरहेको देखिन्छ । स–साना कुरामा आत्महत्यासम्म गरिरहेको पनि देखिन्छ, सुनिन्छ । यस्तो घटना देख्दा र सुन्दा एकदमै दुःख लाग्छ । त्यसैले मेरो अनुरोध छ, जति दुःख आइपरे पनि मर्ने सपना कसैले नदेख्नू । जे जस्तो दुःखकष्ट र समस्या परे पनि बाँच्ने उपाय भेटिन्छन् ।

प्रकाशन मिति : २०८१ जेठ ९ गते,  बुधवार

याे पनि पढ्नुहाेला