Home Insight डोइलाको सेरोफेरोमा जुम्लाको मनोसामाजिक अवस्था

डोइलाको सेरोफेरोमा जुम्लाको मनोसामाजिक अवस्था


जुम्लालगायत कर्णालीका गाउँघर र समाजमा श्रीमान्‌काे यातना र हिंसा सहन नसकेर मानसिक सन्तुलन गुमाउन पुगेका महिलाको अवस्था भयावह छ । उनीहरूमध्ये केहीका साथमा नाबालक छोरीहरू पनि हुन्छन् । कतिपयका छोरालाई परिवारले साथ दिएका हुन्छन् । तिनैका छोरी सन्तानहरू भने सडकमा भौँतारिँदै गरेकी आमासँगै अलपत्र पर्नुपर्ने अवस्था छ ।

कतिपय महिलाहरू श्रीमान्‌ले दिएका मानसिक र शारीरिक यातना खेप्न नसकेर आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको पनि देखिन्छ । आत्महत्याको बाटो रोजेकाहरूमध्ये केहीको प्रमाण तिला नदीका किनारमा भेटिने गरेको छ । त्यहाँ भेटिने अधिकांश महिलाका शवलाई गाउँ समाजले चिने पनि तिनका आफन्तले चिन्दैनन् । माइतीले त झन् हेर्दा पनि नहेर्ने चलन छ । त्यही चलनको आडमा केहीले त आत्महत्याको कारण खोज्न र प्रश्न उठाउन पनि चाहँदैनन् । अन्ततः ती महिलाका शवलाई बेवारिसे करार गरी जलाउने गरिएको छ ।

एक वर्षसम्म लगातार उपचार गरेपछि डोइलाको मानसिक स्वास्थ्य सुध्रियो । उहाँ आफूभित्र त निको हुनुभयो तर उहाँको घरपरिवार र समाजको स्वास्थ्य अवस्था अझै निको हुन सकेको देखिएको छैन ।

यसैले पनि होला, ‘मर्नुभन्दा बौलाउनु निको’ भनिएको ! यसो भन्नेहरू अहिले यही गाउँ समाजमा पनि छन् । तर के गर्नु ? महिलाको पारिवारिक र सामाजिक हकमा भने बहुलाउनु पनि खासै निको देखिएको छैन । घटना चार वर्षअघिको हो । ससाना दुई छोरीहरूलाई साथमा लिएर जुम्लाका सडकमा भौँतारिन पुगेकी डोइला रोकाया नेपाललाई कसैले मानवसेवा आश्रम, सुर्खेत पुर्‍याइदियो । त्यसपछि उहाँमा रहेको मानसिक रोगको उपचार पनि सुरु गराइयो ।

एक वर्षसम्म लगातार उपचार गरेपछि डोइलाको मानसिक स्वास्थ्य सुध्रियो । उहाँ आफूभित्र त निको हुनुभयो तर उहाँको घरपरिवार र समाजको स्वास्थ्य अवस्था अझै निको हुन सकेको देखिएको छैन । विगत तीन वर्षदेखि आफ्नै घर फर्किएर गरी खाने डोइलाको चाहना थियो । घरमा उहाँको आफ्नै नावालक छोरा पनि छ । छोरालाई भेट्ने र सँगै बस्ने उत्कट चाहना थियो । डोइलाको चाहना अझै पूरा भएको छैन । विगत चार वर्षदेखि उहाँ सुर्खेतस्थित मानव सेवा आश्रममै हुनुहुन्छ । यस बिचमा कोही आफन्तले पनि उहाँको सोधखोज गरेन । भनिन्छ, अहिलेसम्म जुम्लाबाट कोही भेट्न आएको आश्रमका कसैलाई थाहा छैन । कुनै पनि महिला र बालिकाका लागि योभन्दा ठुलो पारिवारिक र सामाजिक रोग अरू के हुन्छ ?

नपरोस् कसैलाई पनि यस्तो

डोइला रोकायालाई चलनका नाममा बालविवाह गराइएको रहेछ । १० वर्षको उमेरमै बिहे भएछ उहाँको । आमाबुबाको काखमा बसेर खाने, खेल्ने र स्कुल गएर पढ्ने उमेरमा बिहे गरी दिएर उहाँलाई पोइलीघरमा पठाइयो । पोइलीघरमा श्रीमान्‌काे यातना, सौताले लादेको काम र दुर्वचनको तनाव । त्यसमाथि गर्भधारण र सन्तानको जन्म । डोइलाको बाला तन र मन दुवैले थेग्न सक्ने भार थिएनन् यी । परिपक्व हुन नपाउँदै उहाँको मन मस्तिष्क खजमजियो ।

त्यतिबेलाको बुद्धि ! माइतीघरमा फर्किएर दुःख बिसाउने सोच पनि पलाएन डोइलामा । यसै पनि अर्काको नासो भन्दै सानै उमेरमा पोइलीघर पठाइएकै थियो । यसैले उहाँले पोइलीघरकै विकल्प खोज्नुभयो । अलि सहज र सुबिस्ता होला कि भन्ठानेर उहाँले आफैँ दोस्रो बिहे गर्नुभयो । पहिलो पोइलीघरबाट बाहिरिएर दोस्रो पोइलीघरमा भित्रिनुभयो ।

डोइलाका अनुसार, पहिलो बिहे आमाबुबाले हिमा गाउँपालिका वडा नम्बर ४ को सिम्तली भन्ने गाउँको एक केटासँग गरिदिएका थिए । “त्यहाँ बस्नै नसकेपछि दोस्रो बिहे आफैँले सिंजा गाउँपालिका वडा नम्बर २ जाँचगाउँका प्रेमबहादुर नेपालसँग १० वर्षअघि गरेको हो,” उहाँ भन्नुहुन्छ । उहाँको जस्तै प्रेमबहादुरको पनि दोस्रो बिहे नै हो । माटाको खानीमा पुरिएर प्रेमबहादुरकी जेठी श्रीमती शान्ति नेपालको मृत्यु भएको थियो ।

दोस्रो सन्तानको रूपमा छोरीको जन्म भयो । प्रेमबहादुरले ‘त्यो छोरी मेरो होइन’ भन्दै मानसिक यातना दिएपछि आफू ‘केही समय माइतीघर ओदीमा बसेको’ डोइला बताउनुहुन्छ । “त्यसपछि फेरि लामा बिष्णुदेवताको पैट लागेको समयमा माइतीमै गएर श्रीमान् प्रेमबहादुरले नै मलाई जबरजस्ती गरेर गर्भवती बनाए

डोइलाको अनुभवमा यातना दिने मामिलामा अघिल्लो र पछिल्लो श्रीमान्‌काे व्यवहार उस्तै रह्यो । “दुवैले रक्सी पिउने अनि मलाई कुटपिट गरी मानसिक यातना पनि दिने गर्थे,” उहाँ भन्नुहुन्छ । यातनाकै कारण आफ्नो मानसिक सन्तुलन गुमेको रहेछ भन्ने उहाँलाई थाहा भइसकेको छ ।

दोस्रो बिहेपछि भने सुरक्षाका लागि डोइलाले माइतीघर रोज्नुभयो । त्यहाँ पनि श्रीमान्‌काे आउजाउ र जबरजस्ती भयो । सन्तानमाथि सन्तान जन्माउने भार थपियो । उहाँलाई माइतीघरको आश्रयले पनि श्रीमान्‌काे जबरजस्तीबाट जोगाउन सकेन । त्यसपछि नवजात र नाबालक छोरीहरू लिएर माइतीबाट निस्कनुभयो । बेसुर अवस्थामा सडकमा भौँतारिँदै यताउता हिँड्न थाल्नुभयो ।

डोइलाका दुई छोरी छन् । विगत चार वर्षदेखि छोरीहरूसहित डोइला कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ मा रहेको मानवसेवा आश्रम, सुर्खेतमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “एउटा नौ वर्षको छोरा श्रीमान्‌सँगै छ । मेरो छोराको नाम डब्बल नेपाल हो ।”

उसै पनि घर बिग्रेकी छोरीलाई माइतीघरमा बस्दा हेर्ने नजर फरक छ । त्यसैमाथि एक छोरी काखमा हुँदाहुँदै फेरि गर्भवती भएँ,” उहाँ थप्नुहुन्छ, “त्यही पिरले होला, मानसिक समस्या भएछ मलाई । केही थाहा छैन, यहाँ आश्रमसम्म कसरी आएँ ?

“मसँग उहाँसँगको बिहे दर्ता छैन तर जेठो छोराको जन्म दर्ता बनेको छ,” दोस्रो बिहेका सन्दर्भमा डोइला भन्नुहुन्छ । दोस्रो सन्तानको रूपमा छोरीको जन्म भयो । प्रेमबहादुरले ‘त्यो छोरी मेरो होइन’ भन्दै मानसिक यातना दिएपछि आफू ‘केही समय माइतीघर ओदीमा बसेको’ डोइला बताउनुहुन्छ । “त्यसपछि फेरि माइतीमै गएर श्रीमान् प्रेमबहादुरले नै मलाई जबरजस्ती गरेर गर्भवती बनाए,” उहाँ भन्नुहुन्छ ।

“उसै पनि घर बिग्रेकी छोरीलाई माइतीघरमा बस्दा हेर्ने नजर फरक छ । त्यसैमाथि एक छोरी काखमा हुँदाहुँदै फेरि गर्भवती भएँ,” उहाँ थप्नुहुन्छ, “त्यही पिरले होला, मानसिक समस्या भएछ मलाई । केही थाहा छैन, यहाँ आश्रमसम्म कसरी आएँ ?”

चार वर्षदेखि आश्रममै

दोस्रो छोरी जन्मेको २६ दिनपछि डोइलाको उद्धार गरेको जानकारी मानव सेवा आश्रमले दिएको छ । “ती महिलालाई २०७६ भदौमा सुर्खेतको बराह तालबाट उद्धार गरी मानव सेवा आश्रम सुर्खेतमा दुई छोरीसहित राखिएको हो । आश्रममा बसेको एक वर्ष भइसकेपछि मात्र उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको हो,” मानव सेवा आश्रम सुर्खेतका एक कर्मचारीको भनाइ छ ।

मानवसेवा आश्रम, सुर्खेतका अनुसार, अहिले चार वर्ष पूरा भयो । अहिले उहाँलाई पूर्ण रूपमा सन्चो भएको छ । आफूलाई सन्चो भएदेखि नै डोइलाले आश्रममा जुम्लाको जो मान्छे आए पनि आफ्नो परिवारसँग मिलन गराइदिन आग्रह गर्दै आउनुभएको छ । तर, आश्रममा उहाँलाई भेट्न न माइती पक्ष न कोही आफन्त नै आएको छ ।

छोरीलाई आफूले १० वर्षको उमेरमै बिहे गरेर अर्काको घर गरी खान पठाइदिएकाले पनि मानसिक रोगी बनेको हो कि ? यस्तो अलिकति पनि लाग्दैन डोइलाका बुबालाई । उहाँ भन्नुहुन्छ, “हामीले बिहे गरी दिँदा कुनै स्वास्थ्य समस्या थिएन ।

डोइलाका छ वर्षकी स्नेया र चार वर्षकी सहारा नामका छोरीहरू उहाँसँगै आश्रममै बस्छन् । मानव सेवा आश्रमले जनाएअनुसार, डोइलाका दुई छोरीलाई आश्रमले नै पढाउने व्यवस्था गर्दै आएको छ । छोरीहरूलाई आमाबुबाको थर दिइएको छैन । उनीहरूको नामपछि थर लेख्ने ठाउँमा ‘मानव’ लेख्ने गरिएको छ ।

स्वास्थ्यमा सुधार भएपछि डोइलाले घर जान्छु भने पनि लिनका लागि कोही आफन्त पनि तयार नभएको आश्रम स्रोत बताउँछ ।

जन्मदाताको दायित्व

डोइलाका बुबा बलबहादुर रोकायाका अनुसार, १० वर्षको उमेरमै डोइलाको बिहे गरिदिएको हो । “तेतिबेलाको समयमा माइती र पोइली मिलेर बच्चा उमेरमै विवाह गर्ने चलन थियो । हामीले पनि बिहे गरिदियौँ,” आमा चुचे रोकाया थप्नुहुन्छ ।

बिहे गरिदिएपछि छोरीलाई आफूले माया गर्ने तर कुनै प्रकारको दायित्व नलिने सोच बुबामा देखिन्छ । बलबहादुर भन्नुहुन्छ, “छोरीको माया लाग्छ । म गोठालो मान्छे खोजी गर्न सकिनँ । तपाईंले भनेर थाहा पाएँ, मानव सेवा आश्रममा रहिछन् ।”

मानव सेवा आश्रमबाट आए पनि डोइलालाई माइतीघरमा भने राख्न मन नभएको बलबहादुरको भनाइ छ । दुःख, बिमार भएर बिचल्लीमा पर्दा पनि आफ्नी छोरीलाई माइतीघरमा राख्न किन मन नलागेको त भन्दा उहाँ भन्नुहुन्छ, “पोइल गएको छोरी राख्न हुन्न । उसले बिहे गरेको श्रीमान्‌ले राख्न चाहेको खण्डमा मात्रै जुम्ला ल्याउँदा राम्राे होला नत्र हामी पाल्न सक्दैनौँ ।” कर्णालीमा केही यस्ता बुबाहरू पनि छन्, जसले तिनले विवाहित छोरीलाई परायाको व्यवहार गर्छन् । ६८ वर्षका बलबहादुरको बोलीमा यस्तै व्यवहारको प्रतिनिधित्व झल्किएको छ ।

छोरा होस् कि छोरी, सन्तान जन्माउने प्रक्रिया उस्तै हो । यो कुरा बुझे पनि कुनै बहस नगरी मनमै राख्छन् कर्णालीका अधिकांश आमाहरू । उनीहरूको प्रजनन स्वास्थ्य र सन्तान जन्माउने अनुभवका कुरा सुन्ने पनि कोही हुँदैनन् ।

छोरीलाई आफूले १० वर्षको उमेरमै बिहे गरेर अर्काको घर गरी खान पठाइदिएकाले पनि मानसिक रोगी बनेको हो कि ? यस्तो अलिकति पनि लाग्दैन डोइलाका बुबालाई । उहाँ भन्नुहुन्छ, “हामीले बिहे गरी दिँदा कुनै स्वास्थ्य समस्या थिएन ।” विवाहपछि पनि छोरीप्रतिको दायित्व बुझ्ने बुबा कमै भेटिन्छन् कर्णालीमा । उहाँ त एउटा प्रतिनिधि पात्र मात्रै हो ।
डोइलाकी आमा चुचे भने छोरीको मर्म बुझ्नुहुन्छ । यसैको सङ्केत गर्दै उहाँ भन्नुहुन्छ, “पहिले बिहे गरेको जुवाइँले उसलाई दुःख दियो ।” यो दुःखभित्र देखिने र नदेखिने, भित्री अनि बाहिरी संसारका धेरै कुरा समेटिएका छन् ।

तर, केही बुबाहरूले देख्ने भनेको छोरीको बाहिरी संसार मात्रै हो । त्यही संसार देखाउँदै बलबहादुर भन्नुहुन्छ, “पहिलो बिहे गरेको श्रीमान्‌बाट डोइलाको एक छोरा छन् । श्रीमान्‌ले दुःख दिएपछि डोइलाले पनि प्रेमबहादुर नेपालसँग दोस्रो बिहे गरेकी हो । प्रेमबहादुरबाट पनि डोइलाको पहिलो छोरा जन्मिएको थियो ।”

छोरा होस् कि छोरी, सन्तान जन्माउने प्रक्रिया उस्तै हो । यो कुरा बुझे पनि कुनै बहस नगरी मनमै राख्छन् कर्णालीका अधिकांश आमाहरू । उनीहरूको प्रजनन स्वास्थ्य र सन्तान जन्माउने अनुभवका कुरा सुन्ने पनि कोही हुँदैनन् । डोइलाका सन्दर्भमा भने पाँच सन्तानकी आमा चुचे मौन रहन नसक्ने हुनुभएको रहेछ । बुझ्नेलाई सङ्केत नै पर्याप्त हुन्छ । उहाँ भन्नुहुन्छ, “पहिलो श्रीमान्‌सँग डोइला छुटिएर बसेकी थिई । फेरि पोइल गई । त्यसपछि उसलाई मानसिक रोग लागेको छ । देवता लागेको हो कि या उसको दिमाग किन बिग्रेको हो थाहा भएन । म आफ्नी छोरी डोइलाको लागि रोइरहेको छु ।”

मलाई सन्चो भइसक्यो अब आफूले जन्माएको एक छोरा र दुई छोरीलाई सँगै लिएर आफ्नै गाउँफेर दुःखसुख गरेर बस्न मन छ,” उहाँले यो रिपोर्टरलाई दुई हात छोडेर यसो भन्नुभएको थियो, “बैनी, तपाईंको घर जुम्ला रहिछ, मलाई पनि जुम्ला लिएर बस्ने वातावरण मिलाई दिनु न है ?

‘छोरा प्राथमिकता’ को परिवार र समाजमा थिचिएर जसोतसो बाँचिरहेकी चुचेलाई आफ्नी छोरीको जन्म साल पनि कति हो भन्ने थाहा रहेनछ । उहाँ डोइलाको मानसिक अवस्थाप्रति चिन्तित देखिनुहुन्छ । उहाँका अनुसार, डोइलाका एक दाइ, दुई भाइ र एक बैनी भएका हुन् । “कान्छी बैनीको मुगुमा बिहे भएको थियो । उनले पनि आत्महत्या गरेकी हुन्,” उहाँ मुटुमा गाँठो पर्ने घटना सुनाउनुहुन्छ ।

मानसिक रोग लागे पनि बाँचिरहेकी छोरी डोइलाको सम्बन्धमा चुचे एकसासमा भन्नुुहुन्छ, “छोरीको मुख देख्न मन लागेको छ । म एक्लै जान सक्दिनँ । निको भएको भए म ल्याउन तयार छु ।” उहाँमा बिहे गरेर पठाइएकै भए पनि आफ्नी छोरीप्रतिको अभिभावकीय दायित्वबोध पनि भेटिन्छ ।

बलबहादुरको बोलीमा भने पितृसत्ताको जब्बर भाव आउँछ । उहाँ भन्नुहुन्छ, “जुवाइँ राम्रै थियो तर छोरी मानसिक रोगी भएकाले समस्या आएको हो ।” उहाँले डोइलाको मनको संसार किन भासिएको भन्ने नै चाल पाएको देखिँदैन । तर, ‘उसैको बानी बिग्रेकोले दुःख पाएकी हो’ भनी अत्यन्तै कठोर निष्कर्ष पनि सुनाइदिनुहुन्छ । त्यसमा जन्मदाताको दायित्व भाव रत्ति पनि देखिँदैन ।

जुम्लामा आमालाई चिन्ता, सुर्खेतमा छोरीलाई ! मानव सेवा आश्रममा भेटिएकी डोइला घर फर्कन चाहनुहुन्छ । “मलाई सन्चो भइसक्यो अब आफूले जन्माएको एक छोरा र दुई छोरीलाई सँगै लिएर आफ्नै गाउँफेर दुःखसुख गरेर बस्न मन छ,” उहाँले यो रिपोर्टरलाई दुई हात छोडेर यसो भन्नुभएको थियो, “बैनी, तपाईंको घर जुम्ला रहिछ, मलाई पनि जुम्ला लिएर बस्ने वातावरण मिलाई दिनु न है ?”

पुनर्स्थापनाकाे सूत्र खोज्दै

डोइला र प्रेमबहादुर नेपाल दम्पतीका आफन्तको खोजी गर्दा तीर्थ नेपाल भेटिनुभयो । सिंजा गाउँपालिका वडा नम्बर २ जाँचगाउँका स्थानीय आफन्त तीर्थ भन्नुहुन्छ, “डोइलाले दोस्रो बिहे गरेका प्रेमबहादुर मेरा बाजे नाता पर्ने गाउँले हुनुहुन्छ । उहाँले अर्को बिहे गर्नुभएको छैन । यतिबेला घरमा हुनुहुन्न । व्यापार गर्नका लागि भारतमा जानुभएको छ ।” उहाँका अनुसार, ५० वर्षीय प्रेमबहादुरले मोबाइल फोन पनि बोक्ने गर्नुहुन्न ।

डोइलाको माइती गाउँपालिकाको अध्यक्ष भएको नाताले पनि म डोइला रोकायाका श्रीमान् प्रेमबहादुर नेपालसँग आवश्यक सल्लाह गर्छु र डोइलालाई घर फर्काउन सुझाव दिन्छु ।

तीर्थको अनुमानमा डोइलाको उमेर लगभग ३५ वर्षको जस्तो देखिन्छ । उहाँको उमेर खुल्ने कुनै कागजात नभएको पनि उहाँ बताउनुहुन्छ । प्रेमबहादुरकी जेठी श्रीमतीबाट एक छोरा र तीन छोरी गरी चार जना बच्चा भएका बताउँदै स्थानीय आफन्त तीर्थ यो पनि भन्नुहुन्छ, “दुई वटी छोरीले बिहे गरिसकेका छन् । एक छोरी मालिका माध्यमिक विद्यालय जाँचगाउँमा कक्षा ४ मा पढ्दै छन् ।” मानसिक समस्या भएपछि एक छोरी लिएर डोइला घरबाट निस्कनुभएको र अर्को छोरी जन्मिएको आफूलाई थाहा नभएको उहाँको भनाइ छ ।

विगत चार वर्षदेखि सुर्खेतमा रहेको मानव सेवा आश्रममा राखिएकी डोइलाको माइतीघर हिमा गाउँपालिका वडा नम्बर २ ओदीमा पर्छ । हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाही डोइलाको साथमा रहेका दुई छोरीहरूको शिक्षाको लागि सहयोग गर्न चाहनुहुन्छ । उनीहरूलाई हिमा गाउँपालिकाले सञ्चालन गरेको आवासीय विद्यालयमा ल्याएर पढाउन आफूले पहल गर्ने उहाँ बताउनुहुन्छ ।

पालिका अध्यक्ष लक्ष्मणले भारतमा व्यापार गर्न गएका प्रेमबहादुर दसैँमा घर आउने कुरा थाहा पाउनुभएको रहेछ । यसैले प्रेमबहादुर घर आएपछि डोइलालाई सुर्खेतबाट जुम्ला ल्याउने विषयमा आवश्यक छलफल गर्ने योजनामा आफू रहेको पनि बताउनुहुन्छ । उहाँ यसरी ढाडस दिनुहुन्छ, “डोइलाको माइती गाउँपालिकाको अध्यक्ष भएको नाताले पनि म डोइला रोकायाका श्रीमान् प्रेमबहादुर नेपालसँग आवश्यक सल्लाह गर्छु र डोइलालाई घर फर्काउन सुझाव दिन्छु ।”

मानसिक समस्यामा महिला बढी

समग्र कर्णालीमा मानसिक स्वास्थ्यका बारेमा अध्ययन भए नभएको बताउने पनि कोही भेटिँदैनन् । जुम्लामा भने सन् २००७ मा, २०११ मा र २०१६ मा गरी तीन पटक मानसिक स्वास्थ्य समस्याका बारेमा अनुसन्धान भएको थाहा हुन्छ । जानकारका अनुसार, २०१६ मा जुम्लामा गरिएको अनुसन्धानको प्रतिवेदन भने अझै पनि सार्वजनिक भएको छैन । उक्त अनुसन्धान टिपिओ नेपाल र अमेरिकी मेडिकल डाक्टर ब्रन्डन कोहोटको पहलमा भएको बुझिएको छ ।

चन्दननाथ नगरपालिका वडा नम्बर १ का नन्दराज आचार्य मनोसामाजिक परामर्शदाता हुनुहुन्छ । उहाँले जुम्लामा १४ वर्षदेखि परामर्श दिने काम गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “सन् २००७ मा र २०११ मा गरिएको अनुसन्धानबाट जुम्लामा मात्रै २८ प्रतिशत मानिसमा मानसिक स्वास्थ्य समस्या देखिएको थियो ।” उहाँका अनुसार, पछिल्लो समयमा जुम्लामा मानसिक रोगीको सङ्ख्या बढेको छ र अवस्था गम्भीर हुँदै जान थालेको छ । यसअघि टिपिओ नेपाल नामक संस्थाले मानसिक स्वास्थ्य समस्या भएकालाई सेवा दिँदै आएको थियो । मनोपरामर्शदाता नन्दराज भन्नुहुन्छ, “जुम्लामा अहिले त्यो कार्यक्रम सकियो ।” सो संस्थाले जुम्लामा केही प्राविधिक सहयाेग गरेको पनि उहाँ स्पष्ट पार्नुहुन्छ ।

आर्थिक वर्ष २०७८/७९ मा एक हजार २२० महिला र ८५६ जना पुरुष मानसिक स्वास्थ्य समस्यामा परेका भेटिएका थिए । आर्थिक वर्ष २०७९/८० मा भने भदौभित्रै एक हजार ३८८ जना महिला र ८६१ जना पुरुष मानसिक स्वास्थ्य समस्यामा परेर प्रतिष्ठानमा सेवा लिन आइसकेका छन् ।

केही वर्ष यतादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट मनोसामाजिक परामर्श दिने काम गर्दै आएका नन्दराज भन्नुहुन्छ, “प्रतिष्ठानमा सेवा लिनका लागि सबैभन्दा बढी महिला आउने गरेका छन् । महिलामा पनि १५ देखि ५० वर्ष उमेर समूहका छन् ।” यो भनेको प्रजनन उमेर समूह हो । यस उमेरमा श्रीमान्‌बाटै हुने यौन हिंसा र अनिच्छित गर्भधारणको समस्याले कतिपय किशोरी र महिलाहरू सताइएका हुन्छन् ।

परिवार र समाजले दिने मानसिक प्रताडनाबाट उत्पन्न हुने तनावका कारण पनि धेरै व्यक्तिमा मानसिक विचलन आउने विचार नन्दराजको छ । उहाँका अनुसार, जुम्लामा मदिरापानका कारणले घरघरमा महिला हिंसा बढेको छ र घरेलु हिंसाकै कारणले महिलाहरू मानसिक रोगी बनेका पाइएको छ । त्यसलाई अझै स्पष्ट पार्दै उहाँ भन्नुहुन्छ, “कर्णालीका महिलाहरू सबैभन्दा बढी श्रीमान्‌काे यातनाले मानसिक समस्यामा परेका देखिन्छन् ।”

स्थानीय जानकारका अनुसार, आमाहरूमा मानसिक समस्या हुँदा तिनका बालबालिकामा पनि मानसिक असर पर्ने र श्रीमान्‌काे यातनाका कारण मानसिक रोगी हुन पुगेका कतिपय महिलाहरूले आत्महत्या गर्ने गरेको पनि देखिन्छ ।

घरभित्रको हिंसाकै कारण धेरै महिला मानसिक रोगका सिकार भएका छन् । सङ्घीयतापछि जुम्लाका सबै स्थानीय तहले सडक खन्ने, भवन बनाउने जस्ता कार्यलाई विकास मान्दै आएका छन् ।


विगत दुई वर्षयता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी र इमर्जेन्सी वार्डमा स्वास्थ्य सेवा लिन आएका व्यक्तिहरूको दर्तालाई आधार मानेर हेर्दा केही तथ्य थाहा पाउन सकिन्छ । प्रतिष्ठान स्रोतले जनाए अनुसार, आर्थिक वर्ष २०७८/७९ मा एक हजार २२० महिला र ८५६ जना पुरुष मानसिक स्वास्थ्य समस्यामा परेका भेटिएका थिए । आर्थिक वर्ष २०७९/८० मा भने भदौभित्रै एक हजार ३८८ जना महिला र ८६१ जना पुरुष मानसिक समस्यामा परेर प्रतिष्ठानमा सेवा लिन आइसकेका छन् ।

यसले मानसिक स्वास्थ्य समस्याको बढ्दो आकारलाई देखाउँछ । यस अनुसार समयमै सेवा विस्तार गर्नुपर्ने अवस्था पनि छ । तर, अहिलेसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक रोगको उपचारका लागि चिकित्सक भने उपलब्ध नगराइएको बुझिन्छ ।

अब त अवस्था बदलौँ

देशमा व्यवस्था बदलिए पनि अवस्था नबदलिएको भाष्यले धेरै विषय र क्षेत्रमा व्यापकता पाइरहेको छ । कर्णालीका महिलाको सन्दर्भमा यो भाष्यले झनै गहिरो मनोसामाजिक अर्थ राख्छ । यहाँ मानसिक रोगको उपचारको व्यवस्था त निकै टाढाको विषय हो । मनोसामाजिक परामर्शको कार्यक्रम पनि केही गैरसरकारी संस्थाले मात्र सञ्चालन गरेका छन् । यहाँका आम नागरिकले दिउँसै बत्ती बालेर सरकारको उपस्थिति खोज्नुपर्ने अवस्था छ । आम महिलाहरू परिवारसत्ताबाटै थिचोमिचोमा परेर मानसिक रूपले विचलित भइरहेका छन् । यसलाई राज्य व्यवस्थाले बेलैमा सुझबुझका साथ हस्तक्षेप गर्न सक्नुपर्छ । यसैले नन्दराज भन्नुहुन्छ, “मानसिक रोगको रोकथामका लागि सरकारी स्तरबाटै मनोसामाजिक सेवा कक्ष राख्न जरुरी छ । सरकारले हरेक स्वास्थ्यचौकीमा मानसिक रोगसम्बन्धी विज्ञ व्यक्ति राख्नुपर्छ ।”

घरेलु हिंसाले नै यहाँका महिलामा मानसिक समस्या निम्त्याउने गरेको छ । यसैले हिंसापीडित महिलाको लागि उपाध्यक्ष कार्यक्रम मार्फत केही बजेट विनियोजन गरिएको छ ।

जुम्लामा डोइला जस्ता घरेलु हिंसाबाट पीडित महिला र तिनमा आश्रित बालबालिकाहरूको सङ्ख्या घट्न सकेको छैन । यस्तो बेला पनि स्थानीय सरकारले महिलाका लागि आयआर्जनसम्बन्धी कुनै पनि कार्यक्रम नगरेको जुम्लाका नागरिक समाजका अध्यक्ष राजबहादुर महतको भनाइ छ । महिलाको मानसिक स्वास्थ्य समस्या र स्थानीय सरकारका काम कारवाहीका सम्बन्धमा उहाँ भन्नुहुन्छ, “घरभित्रको हिंसाकै कारण धेरै महिला मानसिक रोगका सिकार भएका छन् । सङ्घीयतापछि जुम्लाका सबै स्थानीय तहले सडक खन्ने, भवन बनाउने जस्ता कार्यलाई मात्रै विकास मान्दै आएका छन् ।”

डोइला रोकाया नेपाल

महिलामाथिको घरेलु हिंसा रोक्ने र मानसिक रूपमा स्वस्थ भएर बाँच्न पाउने महिला र बालबालिकाको अधिकारको कुरा उठाउँदा जुम्लाकै तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावल भन्नुहुन्छ, “घरेलु हिंसाले नै यहाँका महिलामा मानसिक समस्या निम्त्याउने गरेको छ । यसैले हिंसापीडित महिलाको लागि उपाध्यक्ष कार्यक्रम मार्फत केही बजेट विनियोजन गरिएको छ ।” आगामी दिनमा आफूले हिंसाबाट प्रताडित भएका महिलाका लागि विशेष कार्यक्रम गर्ने सोच बनाएको पनि उहाँ बताउनुहुन्छ । यस्तो सोचले आकार नपाउँदासम्म कर्णालीका डोइला जस्ता आमाहरूले छोरी लिएर आश्रममा रहनुपर्ने र डोइलाका बहिनी जस्ता युवतीहरूले यो संसारमा कतै पनि आफ्नो सुरक्षित भविष्य नदेखेर आत्महत्याको कठोर निर्णय लिने अवस्था बढ्दै जाने निश्चित छ ।

तीला नदीमा भेटिने गरेका महिलाका बेवारिसे शवको मर्मलाई समयमै बुझौँ । हरेक घरलाई लैङ्गिक भेदभाव र हिंसामुक्त बनाउन हस्तक्षेपकारी भूमिका पनि निर्वाह गरौँ । महिलाको वर्तमानलाई इतिहासको पानामा सुरक्षित गरौँ । जसरी हुन्छ अवस्था बदलौँ र सबैको समान भविष्य सुनिश्चित गरौँ ।

कर्णालीका थप कथाहरू पढ्न यहाँ क्लिक गर्नुहाेस्

सन्धान प्रकाशन मिति : २०८० असाेज १५ गते, साेमवार