Home Stories महिलाको व्यक्तित्व विकासमा सहकारिता

महिलाको व्यक्तित्व विकासमा सहकारिता


कर्णाली कथा

जुम्लाका महिलाको व्यक्तित्व विकासमा सहकारिताको महत्त्वपूर्ण स्थान रहेको छ । सहकारिताले जुम्लाका कतिपय महिलामा बचत गर्ने बानी बसेको छ । सहकारीले नै आफूमा आत्मविश्वास बढाएको र नेतृत्व तहमा पुर्‍याउन मद्दत गरेको ठान्ने महिलाहरू पनि छन् । तिनैमध्येमा पर्छन्, तिला गाउँपालिकाकी पूर्वउपाध्यक्ष विष्णुमाया बुढा, तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावल र तिला गाउँपालिका वडा नम्बर ३ की निर्मला कठायत ।

बचतकर्ता तथा उद्यमीसमेत रहेकी बुढा आफ्नो व्यक्तित्व विकासका लागि चन्दननाथ सहकारीको महत्त्वपूर्ण योगदान रहेको बताउँछिन् । उनी भन्छिन्, “चुलोचौकोको कामले फुर्सद निकाल्न सङ्घर्ष गर्ने कतिपय महिलाहरू सहकारीमा आबद्ध भएपछि स्थानीय सरकारका जनप्रतिनिधिसमेत बन्न सफल भएका छौँ ।” उनलाई लाग्छ, बचतको रकम घरायसी तथा अन्य काममा प्रयोग गर्न पाएर आर्थिक क्रियाकलापमा आफ्नो सहभागिता बढेको हो ।

“म जनप्रतिनिधि भएर आफ्नो कार्यकाल सकिएपछि अहिले व्यवसाय सञ्चालनका लागि चन्दननाथ सहकारीबाट पाँच लाख ऋण लिएकी छु,” बुढा भन्छिन्, “सहकारीले दिएको ऋणबाट खाद्य तथा खुद्रा पसल सञ्चालन गरेकी छु ।” उनी २०७४ सालमा गाउँपालिकाको उपाध्यक्ष भएकी थिइन् ।

यस्तै, शेयर सदस्य तथा बचतकर्तासमेत रहेकी रावल सहकारीमा आबद्ध भएर काम गर्न थालेपछि आफूमा बोल्ने क्षमता र आत्मविश्वासको विकास भएको बताउँछिन् । उनी आफ्नो बोल्ने बानीको विकासका सम्बन्धमा भन्छिन्, “मलाई दुईचार जनासामु धक फुकाएर बोल्न निकै समस्या हुन्थ्यो । चन्दननाथ सहकारीमा आबद्ध भएपछि बोल्ने बानीको विकास भएको छ ।” उनी २०७९ सालको स्थानीय निर्वाचनमा तातोपानी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

गाउँपालिका उपाध्यक्ष रावल आफ्नो नेतृत्व विकासको आधार पनि सहकारीलाई नै ठान्छिन् र भन्छिन्, “आर्थिक रूपमा सहकारीले बलियो बनाएका कारण हामी आफ्नो अधिकारका लागि लड्न सक्ने भएका छौँ ।” उनको विचारमा महिला सशक्तीकरणको माध्यम भनेको आर्थिक उपार्जन पनि हो ।

बचतकर्ता तथा सदस्य कठायत आफ्नो आर्थिक क्रियाकलापको ज्ञानस्रोत र मेरुदण्ड सहकारीलाई नै ठान्छिन् । उनी भन्छिन्, “चन्दननाथ सहकारीले नै मासिक २० रुपियाँ बचत राख्न सिकायो । महिलालाई तरकारी उत्पादन गर्न सिकायो, तालिम दियो ।” उनले हेर्दाहेर्दै जुम्लाका महिलाका लागि आर्थिक क्रियाकलापमा संलग्न हुने बाटाहरू फराकिला हुँदै आएका छन् । भन्छिन्, “अहिले धेरै संस्था आएका छन् । बैङ्कहरू पनि छन् ।” पहिले यस्तो कहाँ थियो र ? उनी बचतका सम्बन्धमा भन्छिन्, “पहिले त हामीलाई बचत राख्नुपर्छ भन्ने कुरा पनि थाहा थिएन,” उनी सहकारीमा सदस्य भएपछि मात्र आफूले मासिक रूपमा बचत गर्न थालेको बताउँछिन् ।

बचतको स्रोत के हो र यसबाट हुने फाइदा के हो भन्ने पनि महिलाहरूले बुझेका छन् । “अहिले तरकारी, स्याउ, आलु बेचेको केही पैसा आफ्नो नाममा बचत गर्न सिकेका छौँ,” कठायत भन्छिन्, “त्यसरी बचत गरेको रकम आफूलाई समस्या पर्दा पटकपटक काम लागेको छ । सहकारीमा बचत गरेबापत हामीलाई ब्याज पनि नियमित आइरहने गरेको हुन्छ ।”

आत्मविश्वास बढेसँगै फेरिएको बानी

पछिल्लो समयमा महिलाहरूको दैनिकीमा सुझबुझका साथ परिवर्तन ल्याउन सफल चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जुम्लाले महिलामा बचत गर्ने र आवश्यक पर्दा ऋण लिने बानी बसालेको त छ नै उनीहरूलाई नेतृत्व र व्यक्तित्व विकासको अवसर पनि दिएको छ । २०६८ सालमा स्थापना भएको यस सहकारीले नेतृत्व विकासका लागि वित्तीय साक्षरतासम्बन्धी तालिम दिने गरेको सो सहकारीका कार्यकारी निर्देशक ऋषिराम पाण्डे बताउँछन् ।

निर्देशक पाण्डेको अनुभवमा सहकारीका सदस्य बनेका कतिपय महिलामा राजनीतिक सचेतनासमेत बढेको पाइएको छ । केही सदस्यहरू स्थानीय सरकारको पदाधिकारीसमेत बनेका छन् । उनी किटानीसाथ भन्छन्, “तिला गाउँपालिका–९ मालापानी गाउँकी बिष्णुमाया बुढा यस संस्थाका सेयर सदस्य हुन् । उनी २०७४ सालको निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।”

“सहकारीका अर्का सदस्य तातोपानी गाउँपालिका–३ लिताकोटकी रेवती रावल अहिले तातोपानी गाउँपालिकाकै उपाध्यक्ष पदमा निर्वाचित भएकी छन्,” पाण्डे सगर्व भन्छन्, “उनी जस्तै सहकारीमा आबद्ध अरू केही महिला पनि वडा सदस्य भएका छन् ।”

साथै, महिलाहरूले सहकारीको सफल नेतृत्व पनि गर्दै आएका छन् । सहकारीसँगको आबद्धताले सदस्य महिलाहरूमा सकारात्मक परिवर्तन ल्याएको छ । चन्दननाथ सहकारीका अध्यक्ष दुर्गा न्यौपानेले सहकारीको अगुवा भएर काम गर्दा कैयौँ महिलाहरू मासिक २० रुपियाँ पनि जोहो गर्न नसक्ने अवस्थामा थिए । उनी भन्छिन्, “एक महिनामा २० रुपियाँ मात्रै राख्न लगाएर बचत गर्ने बानी बसालेका थियौँ । अहिले एक जना महिलाले पाँच सय रुपियाँसम्म बचत गर्न सक्ने भएका छन् ।”

त्यति मात्र होइन, घरको समस्या टार्न सक्ने भएपछि महिलाहरू भेला र कार्यक्रमहरूमा नियमित रूपमा आउन थालेको अध्यक्ष न्यौपानेको भनाइ छ । उनी भन्छिन्, “पहिला त सहभागी पाउनै समस्या हुन्थ्यो । नेतृत्वको तालिम नलिएको भए हामीले पनि सहकारी सञ्चालन गर्न सक्दैनथ्यौँ । अग्रणी भूमिकामा हुँदैनथ्यौँ ।”

बुढापाकाहरूका अनुसार, जुम्ला जिल्लाको ग्रामीण भेगका महिलाहरू चुलोचौकामा मात्रै सीमित थिए । उनीहरूमध्ये अधिकांशलाई बाहिरी संसारबारे खासै थाहा थिएन । १५ वर्ष अघिको कुरा हो, नयाँ मान्छे गाउँ पस्दा महिलाहरू बोल्न पनि डराउँथे । अहिले अवस्था त्यस्तो छैन, फेरिएको छ ।

अध्यक्ष न्यौपानेका अनुसार, सहकारीको स्थापनासँगै सहकारिताको पनि विकास भयो, सहकारीमै बचत गर्ने बानी पनि बस्यो । यसले जुम्लाका कतिपय महिलाको अनावश्यक खर्च गर्ने बानीमा नियन्त्रण पनि गरिदिएको छ । यो पनि सकारात्मक पक्ष भएको उनी बताउँछिन् ।

निर्देशक पाण्डे भन्छन्, “सहकारीले विभिन्न सहकारी विज्ञहरूको उपस्थितिमा जुम्लाका निरक्षर महिलालाई अक्षर चिनाउँदै उद्यमी बनाउने काम गरिरहेको छ ।” उनका अनुसार, सुरुमा महिलाहरू आफ्नो नाम पनि लेख्न सक्दैनथे । पछि बिस्तारै सिकाइयो । उनी सहकारीले अवलम्बन गरेका महिला सशक्तीकरणका उपायका सम्बन्धमा प्रकाश पार्दै भन्छन्, “हामीले सहकारीमा आबद्ध सबै महिलालाई सशक्त बनाउन विभिन्न खालका तालिम दिएका छौँ । सफल उद्यमी बनाउन विभिन्न स्थानको भ्रमणमा पनि लैजाने गरेका छौँ ।” यसबाट महिलाहरूको आयआर्जनका साथै व्यक्तित्व विकासमा ठुलो सहयोग पुगेको उनको बुझाइ छ ।

सेयर सदस्य महिला मात्रै साढे १४ हजार

जुम्लामा महिलालाई लक्षित गरी खोलिएको चन्दननाथ सहकारीका १८ वटा ठाउँमा शाखा र उपशाखा छन् । यसमा लघुवित्त सहकारी सामुदायिक विभाग पनि पर्छ । जुम्लाका महिलाको उद्यमशीलतामा विश्वास गर्दै ठुलो रकम लगानी गर्ने सहकारीमा चन्दननाथ बहुउद्देश्यीय सहकारी रहेको बताइएको छ । सो सहकारीबाट प्राप्त जानकारीअनुसार, अहिले कुल २१ हजार ७४४ जना सेयर सदस्य छन् । यीमध्ये महिला सेयर सदस्यको सङ्ख्या १४ हजार ५०१ रहेको छ । चार हजार ३३६ महिला समूह छन् ।

जुम्लामा मात्रै चन्दननाथ सहकारीका ८७६ वटा केन्द्र रहेको लघुवित्त विभाग प्रमुख रत्नराज शाही बताउँछन् । उनका अनुसार, कुल सदस्यमध्ये ७० प्रतिशत महिला रहेका छन् । २०७१ सालदेखि त यस सहकारीको नेतृत्व पनि महिलाले नै गरिरहेका छन् ।

शाहीका अनुसार, सहकारीले सुरुमा महिला समूहमार्फत मासिक २० रुपैयाँ बचत उठाउने गरेको थियो । अचेल १०० देखि ५०० रुपियाँसम्म उठाउने गरेको छ । चन्दननाथ सहकारीप्रति महिलाको आकर्षण बढ्नुमा यसले महिलाहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा पु¥याएको योगदानलाई मूल कारण मानिएको छ । अहिले दुई हजार ७८५ जना महिलाले चन्दननाथ सहकारीबाट ऋण लिएर व्यवसाय गरिरहेका छन् । उनीहरूले बाख्रापालन, भैँसीपालन, खुद्रा पसल र अर्गानिक कृषि खेतीमा लगानी गरेका छन् ।

सहकारीका निर्देशक पाण्डे भन्छन्, “महिलाहरूले सहकारीबाट लिएको ऋणको किस्ता तिर्नका लागि नगद रुपैयाँमै तिर्र्नै पर्छ भन्ने छैन ।” महिलासँग नगद रुपैयाँ नभएको खण्डमा उनीहरूले उत्पादन गरेको सिमी, फापर, चामल आदि जे छ त्यो ल्याएर दिए पनि सहकारीले त्यसको मूल्य किटान गरी किस्ता कटौती गर्ने गरेको उनी बताउँछन् ।

सहकारीले जुम्ला बजारलगायत विभिन्न ठाउँमा अर्गानिक सुपथ मूल्य पसलहरू पनि खोलेको छ । महिलाहरूले सहकारीबाट ऋण लिएर उत्पादन गरेका सिमी, स्याउ, तरकारी, दुध आदि तिनै सुपथ मूल्यका पसलहरूमा राखिन्छ । निर्देशक पाण्डेका अनुसार, कालोबजारी रोक्न सहकारीले तातोपानी गाउँपालिका वडा नम्बर ८ को ताम्तीगाउँमा र पातारासी गाउँपालिका वडा नम्बर ४ मा रहेको लासी बजारमा सुपथ मूल्यको पसल सञ्चालन गरेको छ ।

जिल्लाका अर्गानिक वस्तुहरूको बजारीकरण, प्रचार प्रसार, प्रवर्द्धन र संरक्षणका लागि जुम्ला र सुर्खेत जिल्लामा अर्गानिक पसलहरू सञ्चालन गरिएका छन् । नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिनका लागि ताम्तीगाउँ र लासी बजारमा मेडिकल पसल पनि राखिएको छ । यी दुई क्षेत्र जुम्लाको सदरमुकामदेखि टाढा रहेका छन् ।

चन्दननाथ सहकारीका कुल सदस्यमध्ये ७० प्रतिशत महिला रहेको बताइएको छ । उक्त सहकारीको हालको नेतृत्व पनि महिलाले नै सम्हालेकी छन् ।

ताम्ती र लासीबाट स्वास्थ्य चौकी जान निकै टाढा पर्ने भएकाले महिलाहरूलाई नै लक्षित गरी उपचारमा सहजता ल्याउनका लागि एक जना एच.ए. उत्तीर्ण गरेको जनशक्तिसहितको व्यवस्था गरी मेडिकल खोलिएको छ । त्यो मेडिकलमा जटिल खालका अप्रेशन बाहेकका अरू सबै उपचार सेवा दिइने गरिएको सहकारीको लघुवित्त विभागका प्रमुख शाही बताउँछन् ।

कर्णाली, गण्डकी, लुम्बिनी र बागमती गरी चार वटा प्रदेशका ३८ वटा जिल्लामा सहकारीले कार्यक्षेत्र बिस्तार गर्न सक्ने अवस्था छ । यो कुरा उल्लेख गर्दै निर्देशक पाण्डे कर्णालीका १० जिल्लाका प्रत्येक स्थानीय तहमा सहकारीले सेवा केन्द्र स्थापना गरी काम गर्ने रणनीति लिएको बताउँछन् । उनका अनुसार, आगामी वर्षबाट जुम्लामा हाटबजार सञ्चालन गर्ने र दुध डेरी पनि स्थापना गर्ने लक्ष्य छ । चन्दननाथ सहकारीमा २९ वटा सेवा केन्द्र, ११ वटा लघुवित्त, दुई वटा मेडिकल, दुई वटा सुपथ पसल र दुई वटा अर्गानिक पसल सञ्चालनमा छन् ।

सहकारीले एक अर्ब ४९ करोड ८४ लाख रुपैयाँ लगानी गरेको छ । एक अर्ब १७ करोड २० लाख रुपियाँ ऋण असुली भएको छ । सहकारी अध्यक्ष न्यौपानेका अनुसार, सबै लगानी आयआर्जन र उत्पादन क्षेत्रमा गरिएको छ । अहिले सहकारीमा पुरुषभन्दा बढी महिला आबद्ध छन् । लगानी पनि महिलाको क्षेत्रमा नै धेरै गरिएको छ । महिलाको आय आर्जन, क्षमता अभिवृद्धि, नमुना कृषि क्षेत्रको भ्रमण जस्ता कार्यक्रमहरू सञ्चालित रहेको पनि न्यौपाने बताउँछिन् ।

सहकारीमा १०५ जना तलबी कर्मचारी छन् । कुल कर्मचारीमध्ये ४६ जना महिला छन् । बढीभन्दा बढी महिलालाई रोजगारी दिने उद्देश्य राखिएको बताइएको छ । जुम्लाका एक नगरपालिका र सातवटा गाउँपालिका गरी आठ वटै पालिकामा शाखाहरू छन् । सबै गाउँमा महिला समूह छन् । सहकारीले जिल्लाको हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा दुई वटा निजी स्कुल खोलेको छ । विशेषगरी सहकारीमा आबद्ध महिलाका छोरीहरूलाई घरनजिकै सरकारी स्कुलभन्दा सस्तो, सुलभ र गुणस्तरीय शिक्षा दिन ती स्कुल खोलिएको निर्देशक पाण्डे बताउँछन् ।

चन्दननाथ सहकारीका कुल सदस्यमध्ये ७० प्रतिशत महिला रहेको बताइएको छ । उक्त सहकारीको हालको नेतृत्व पनि महिलाले नै सम्हालेकी छन् । महिला नेतृत्वको क्षमताका विषयमा अध्यक्ष न्यौपाने भन्छिन्, “सहकारीको नेतृत्व तहमा रहेका महिलाले गरेको परिवर्तनले महिलाले नेतृत्व गर्न सक्दैनन् भन्नेमा मलाई कति पनि विश्वास छैन ।” उनका अनुसार, प्रचलित कानुनअनुसार सहकारीको नेतृत्व तहमा पनि ३३ प्रतिशत महिला हुनुपर्ने भए पनि कतिपयमा त्यो लागु भएको छैन । उनका लागि यो भने चित्त दुखाइको विषय बनेको छ ।

कर्णालीका थप कथाहरू

सन्धान प्रकाशन मिति : २०७९ भदाै ५ गते, आइतवार


Previous articleबिहे गर्दिएको भन्ने थाहा पाइनँ, भोलिपल्टै भागेर आमा भएको ठाउँमा आएँ (भिडियो सहित)
Next articleमहिला उद्यमी व्यापार मेला सम्पन्न (फोटो फिचर)