Home Insight डर र कहरको जहर पिउँदै घरमै सुत्केरी

डर र कहरको जहर पिउँदै घरमै सुत्केरी


सुरक्षित प्रसूतिका लागि भन्दै नेपाल सरकारले देशभर स्वास्थ्य केन्द्र र चौकीहरूमा बर्थिङ सेन्टरहरू सञ्चालनमा ल्याएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाका लागि प्रोत्साहन भत्ताको समेत व्यवस्था छ । घरमै सुत्केरी हुने चलनलाई शून्यमा झार्ने सरकारको नीति भए पनि जुम्ला जिल्लाका विकट ग्रामीण भेगका महिला घरमै जोखिम मोलेर सुत्केरी हुनुपर्ने अवस्थामा छन् । यसैले आमा र शिशुको जीवन र स्वास्थ्य खतरामुक्त छैन ।

महिलाहरू मानव विकासको पिँधमा डर र कहरको जहर पिउँदै मातृत्वको भार उठाइरहेका छन् । यसका लागि राज्य, समाज र घरबाट पाउनुपर्ने सहयोगी हात र मन पाइरहेका छैनन् । केही वर्ष पहिले पातारासी गाउँपालिका वडा नम्बर ३ महरी गाउँकी लालकली बुढाले घरमै बच्चा जन्माउँदा जन्मेको सात दिन मात्रै बाँचेर बच्चा खेर गयो । आफ्नो कोखमा बसेर घरमै जन्मिएको बच्चा त्यसरी खेर गएको घटनाले लालकलीलाई अझै पनि पोल्छ ।

मनमा ठुलो पिर लिएर भन्नुहुन्छ,“स्वास्थ्यचौकी गएर सुत्केरी हुन पाएको भए त्यो बच्चा बाँची पो हाल्थ्यो कि ?” बच्चाले बेलैमा औषधि उपचार पनि पाउँदो हो भन्ने उहाँलाई लागिरहन्छ । तर, महरी गाउँका महिलाले अहिले पनि स्वास्थ्यचौकी गएर गर्भ जाँच गराउने र सुरक्षित सुत्केरी हुने पारिवारिक र सामाजिक वातावरण छैन । आधारभूत भौतिक पूर्वाधार पनि बनाइएको छैन ।

बर्थिङ सेन्टर पुग्न तीन घण्टा हिँड्न पर्छ । स्वास्थ्यचौकी टाढा भएकाले पनि घरमै सुत्केरी हुन्छौँ

भनिन्छ, कुल २४० घरधुरी भएको महरी गाउँमा स्वास्थ्य स्वयंसेविकाकै बुहारीहरू पनि घरमै सुत्केरी हुने गरेका छन् । घरमै बच्चा जन्माएकी महरीकै सरिता बुढा यसको मनोवैज्ञानिक जरो खुलाउँदै भन्नुहुन्छ, “गर्भवतीले स्वास्थ्यचौकी जाने ठाउँमा भुइयार लाग्छ भन्ने छ । भुइयार भन्ने भूतप्रेत हो । त्यसैको डरले हामी घरमै सुत्केरी हुन्छौँ ।” महरी गाउँकै २५ वर्षकी निर्मला बुढा पनि सोही कुरालाई थप पुष्टि गर्दै भन्नुहुन्छ, “बाटोमा खोला तर्नुपर्छ । देउता लाग्छन् भन्ने डर पनि लाग्छ । त्यही भएर घरमै सुत्केरी हुन्छौँ ।” सरिता र निर्मलाका अनुसार, गाउँघरदेखि स्वास्थ्यचौकी जानलाई गाडी गुड्ने बाटो पनि छैन । गर्भवती हुँदा हिँडेर जान सकिँदैन, टाढा छ ।

पातारासी–३ कै हुरी गाउँकी पुन्नकली बुढा पनि लामो बाटो हिँड्नुपर्ने भएकै कारण आफूहरू घरैमा सुत्केरी हुने गरेको बताउनुहुन्छ । “बर्थिङ सेन्टर पुग्न तीन घण्टा हिँड्न पर्छ । स्वास्थ्यचौकी टाढा भएकाले पनि घरमै सुत्केरी हुन्छौँ,” उहाँ भन्नुहुन्छ । हुरी गाउँमा कुल ५२० घरधुरी रहेका छन् ।

महिलाहरूले भूतप्रेतसँग सम्बन्धित अन्धविश्वासजन्य डरसँगै धामी, झाँक्रीमाथिको परम्परागत निर्भरतालाई चिरेर अप्ठेरो लामो बाटो पार गरी सुत्केरी हुने बेला बर्थिङ सेन्टर जानसक्ने अवस्था पनि नभएका कारण हुरी र महरी गाउँमा घरमै सुत्केरी हुने चलन हट्न नसकेको स्थानीय जानकारहरू बताउँछन् ।जनस्वास्थ्य कार्यालय जुम्लाका सुरक्षित मातृत्व कार्यक्रमका सम्पर्क व्यक्ति मोर्चा शाही भन्नुहुन्छ, “जुम्लाका कतिपय ठाउँमा यस्ता खालका अन्धविश्वास छन्, जसका कारण केही गाउँका महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन मान्दैनन् ।”

अघिपछि बिरामी हुँदा उपचारको लागि महिलाहरू आउने गर्दछन् तर गर्भवती हुँदा गर्भ जाँच गराउन र सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामा आउँदैनन् ।

महरी र हुरी गाउँको बिचमा एउटा सामुदायिक स्वास्थ्य इकाइ छ । पातारासी गाउँपालिकास्थित स्वास्थ्य शाखाका प्रमुख रतन बुढथापाका अनुसार, त्यहाँ अरू समस्या हुँदा उपचारको लागि महिलाहरू आउने गरेको पाइए पनि गर्भावस्थामा आउँदैनन् ।यसको मूल कारण धामीझाँक्री प्रथा र भूतप्रेतप्रतिको अन्धविश्वास रहेको छ । उहाँ भन्नुहुन्छ, “हुरी र महरी गाउँमा जकडिएर बसेको धामीझाँक्री प्रथा र भूतप्रेतप्रतिको अन्धविश्वासका कारण अहिले पनि गर्भवती हुँदा गर्भको जाँच गराउन महिलाहरू स्वास्थ्य संस्थामा आउँदैनन् ।”

पातारासी–३ मै रहेको छुमचौर स्वास्थ्यचौकीका प्रमुख लोकबहादुर रावल पनि महरी र हुरी गाउँका गर्भवतीहरू स्वास्थ्य संस्थामा सुत्करी हुन आउनै नमान्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार, अघिपछि बिरामी हुँदा उपचारको लागि महिलाहरू आउने गर्दछन् तर गर्भवती हुँदा गर्भ जाँच गराउन र सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामा आउँदैनन् ।

पातारासी मात्र होइन, गुठीचौर, कनकासुन्दरी र तिला गाउँपालिकास्थित केही गाउँको अवस्था पनि लगभग उस्तै छ । त्यहाँका अधिकांश महिला सुत्केरी हुनका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छैनन् । गुठीचौर गाउँपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख सुस्मिता थापाको बुझाइमा उनीहरू सुत्केरी हुँदा खोला तर्नु हुँदैन, बाटामा भूतप्रेत लाग्न सक्छ भन्ने डरले घरमै सुत्केरी हुने गरेका हुन् । उहाँ भन्नुहुन्छ, “त्यहाँ बाजागारे भुत लाग्छ भनेर घरमै सुत्केरी हुने गरेका छन् ।”

झाजुवाला गाउँमा कुल २२ र फोइ गाउँमा कुल १५१ घरधुरी रहेका छन् । यी दुई गाउँबाट उक्त स्वास्थ्यचौकी आइपुग्न पाँच मिनेट पनि नलाग्ने उहाँको दावी छ । “तर त्यहाँबाट आउँदा बिच बाटामा नदी तर्नुपर्छ । सुत्केरी महिलाहरूले नदी तर्न हुँदैन भन्ने गलत मान्यताकै कारण उनीहरू यहाँ आउँदैनन्

गुठीचौर स्वास्थ्य शाखाका प्रमुख बालकराम नेपालीको बुझाइ पनि अन्धविश्वाससँगै जोडिएको छ । उहाँका अनुसार, गर्भवती हुँदा पुल र नदी तर्नु हुँदैन भन्ने गलत मान्यता छ । “अन्धविश्वासका कारण झाजुवाला गाउँ र फोइ गाउँका गर्भवतीहरू गाउँपालिकाको कार्यालयसँगै जोडिएको स्वास्थ्यचौकीमा गर्भको जाँच गराउनसमेत आउँदैनन्,” उहाँ भन्नुहुन्छ ।

झाजुवाला गाउँमा कुल २२ र फोइ गाउँमा कुल १५१ घरधुरी रहेका छन् । यी दुई गाउँबाट उक्त स्वास्थ्यचौकी आइपुग्न पाँच मिनेट पनि नलाग्ने उहाँको दावी छ । “तर त्यहाँबाट आउँदा बिच बाटामा नदी तर्नुपर्छ । सुत्केरी महिलाहरूले नदी तर्न हुँदैन भन्ने गलत मान्यताकै कारण उनीहरू यहाँ आउँदैनन्,” यसो भन्दै गर्दा उहाँ यो पनि जानकारी दिनुहुन्छ, “ती गाउँका कतिपय महिला भने आधा घण्टा हिँडेर पुगिने देपाल गाउँमा रहेको स्वास्थ्य संस्थामा सुत्केरी हुन जाने गरेका छन् ।”

कनकासुन्दरी गाउँपालिकाका सूचना अधिकारी नेत्रबहादुर खत्रीको बुझाइ भने बाटोघाटो र अन्धविश्वास दुबैसँग जोडिएको छ । त्यहाँको रिया, सिप्टी र मर्खन गाउँका महिलाको सन्दर्भमा उहाँ भन्नुहुन्छ, “एक त भौगोलिक हिसाबले टाढा भएको पनि हो, अर्को, त्यहाँ धेरै देवता लाग्ने, पुलपुलेसा तर्न हुन्न भन्ने मान्यताले पनि स्वास्थ्य संस्थामा सुत्केरी हुन नआएका हुन् ।” रिया गाउँमा कुल ४४, सिप्टी गाउँमा कुल २३ र मर्खन गाउँमा कुल ३४ घरधुरी रहेका छन् ।

सुत्केरी ब्यथा लाग्दै गरेको नाजुक अवस्थामा गर्भवतीलाई अप्ठेरो र भिरालो बाटो हुँदै कसरी पुर्‍याउने भन्ने समस्या पनि छ । न त हिँडाएर लैजान सकिन्छ न त बोकेरै ।

त्यसो त सुरक्षित मातृत्व कार्यक्रमका सम्पर्क व्यक्ति मोर्चाका अनुसार, नागरिकको सुविधालाई मध्यनजर गर्दै सकेसम्म कम दूरी रहने गरी स्थापना गरिएका कतिपय बर्थिङ सेन्टरमा प्रसूति गराउनेको सङ्ख्या बढिरहेको पनि पाइन्छ । अहिले जुम्लामा कुल २९ वटा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । तीमध्ये चन्दननाथ नगरपालिकामा एउटा, गुठीचौर र हिमा गाउँपालिकामा तीन तीन वटा, पातारासी, तातोपानी र सिंजा गाउँपालिकामा चार चार वटा, र तिला र कनकासुन्दरी गाउँपालिकामा पाँच पाँच वटा बर्थिङ सेन्टर रहेका जानकारी पनि सुरक्षित मातृत्व कार्यक्रमले दिएको छ ।

अन्धविश्वास, पहुँच र पूर्वाधारको समस्या

तिला गाउँपालिका वडा नम्बर ७ स्थित पोख्रीगाउँकी २६ बर्षीया आशा रोकायाले आफ्ना दुबै बच्चा घरमै जन्माउनुपर्‍यो ।दुवै बच्चालाई तीन दिनसम्म घरमै छट्पटाएर जन्माउनुपरेको घटना उहाँले बिर्सन सक्नुभएको छैन । आशा भन्नुहुन्छ, “नजिक बर्थिङ सेन्टर, स्वास्थ्य चौकी, अस्पताल छैनन् । टाढा जान सकिएन ।त्यस्तो बेला बोकेर लैजानका लागि घरमा पुरुष पनि हुँदैनन् ।” गाउँका प्रायः सबै पुरुष रोजगारीका लागि व्यापार व्यवसाय, मजदुरी गर्न जिल्ला बाहिर गएका हुन्छन् । उहाँ भन्नुहुन्छ, “गाउँघरमा महिला, बूढाबूढी र बालबालिका मात्रै हुन्छन् । उनीहरूले गर्भवतीलाई बोकेर अस्पताल र बर्थिङ सेन्टरसम्म लैजान पनि सक्दैनन् । यसैले घरमै सुत्केरी हुनुपर्ने अवस्था छ । बाध्यता छ ।”

जानकारका अनुसार, उहाँ मात्रै होइन, पोख्री गाउँका अरू सबैजसो गभर्वतीहरूले भोग्दै आएको समस्या हो यो । पोख्री गाउँमा कुल ८० घरधुरी रहेका छन् । गाउँका कतिपय ठाउँबाट कुनै पनि स्वास्थ्यचौकी र बर्थिङ सेन्टर पहुँच र पायकमा पर्दैनन् । पहाडी भूगोलका साझा समस्या त एकातिर छँदैछ, अर्कातिर कतिपय गाउँबाट घण्टौँ हिँडेर पनि स्वास्थ्यचौकी र बर्थिङ सेन्टर पुग्न सकिँदैन । त्यसमाथि सुत्केरी ब्यथा लाग्दै गरेको नाजुक अवस्थामा गर्भवतीलाई अप्ठेरो र भिरालो बाटो हुँदै कसरी पुर्‍याउने भन्ने समस्या पनि छ । न त हिँडाएर लैजान सकिन्छ न त बोकेरै । आजभोलि गाउँघरमा पुरुष नभेटिने र कर्णालीका धेरैजसो ठाउँमा सवारी साधन गुड्ने बाटो पनि बनिनसकेको छैन । यस्तो अवस्थामा गर्भवतीले घरमै जोखिम मोलेर सुत्केरी हुनुको विकल्प नपाएका पनि हुन् । यसैले अन्धविश्वासलाई ‘हाइलाइट’ गरेर पहुँच र पूर्वाधारको अभावजन्य समस्याको तगारोलाई ओझेलमा पार्न नहुने विचार पनि भुक्तभोगी महिला र स्थानीय जानकारहरूको रहेको छ ।

रिया, सिप्टी र मर्खन गाउँका गर्भवतीलाई सुत्केरी हुनका लागि काब्रामा रहेको बुम्रामाडिचौर स्वास्थ्य संस्थामा पुग्नुपर्छ । त्यहाँ पुग्नका लागि रिया गाउँ र मर्खन गाउँबाट पैदल तीन घण्टा लाग्छ भने सिप्टी गाउँबाट एक घण्टा लाग्ने गरेको छ ।

“गुठीचौर गाउँपालिका वडा नम्बर ४ का नागरिकलाई १० देखि १५ मिनेट लाग्ने ठाउँमा बर्थिङ सेन्टर हुँदा समेत आउँदैनन्,” अन्धविश्वासकै कारण यस्तो भएको भन्दै गुठीचौर स्वास्थ्य शाखाका प्रमुख बालकराम पहुँच र पूर्वाधारको अभावबारे जानकारी दिनुहुन्छ, “एकातिर यस्तो छ भने अर्कातिर गुठीचौरका चोत्रा गाउँ र मुरुल्ली गाउँका सबै मानिस सुत्केरी सेवा मात्रै नभई आधारभूत स्वास्थ्य सेवाबाट पनि बञ्चित छन् ।” गुठीचौर–१ को चोत्रा गाउँमा ३५ घरधुरी र गुठीचौर–२ को मुरुल्ली गाउँमा ४२ घरधुरी रहेका छन् ।

“त्यहाँका कोही पनि महिलाले गर्भवती हुँदा चेक जाँच पनि गर्दैनन् । घरमै सुत्केरी हुन्छन्,” चोत्रा र मुरुल्ली गाउँका सन्दर्भमा उहाँ भन्नुहुन्छ । ती दुई गाउँका कुनै पनि घरबाट नजिकको स्वास्थ्य संस्थामा पुग्नै तीनदेखि चार घण्टासम्म लाग्ने गरेकाले पनि गर्भवतीहरूमाथि यस्तो अवस्था आएको उहाँको बुझाइ छ ।

हुरी र महरी गाउँका महिला घरमै सुत्केरी हुन्छन् । त्यहाँको व्यवहारमा महिला स्वास्थ्य स्वयंसेविकाले पनि परिवर्तन ल्याउन सकेका छैनन् ।

त्यस्तै, कनकासुन्दरी–१ मा पर्ने रिया, सिप्टी र मर्खन गाउँका सबै गर्भवतीहरू अझै पनि घरमै सुत्केरी हुन बाध्य छन् । उनीहरूलाई घरबाट स्वास्थ्यचौकीसम्म जानका लागि सजिलो हुने गरी बाटो पनि बनाइएको छैन । घरबाट बुम्रामाडिचौर स्वास्थ्यचौकी काब्रा जानका लागि उनीहरूले ओरालो झर्नुपर्छ भने घर फर्कंदा उकालो चढ्नुपर्छ । कनकासुन्दरी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक छाँया घर्ती (खत्री) भन्नुहुन्छ, “त्यो ठाउँमा अहिलेसम्म एम्बुलेन्स जाने बाटो पनि पुगेको छैन । गाउँदेखि झन्डै तीन घण्टाको पैदल दुरीमा बर्थिङ सेन्टर छ । टाढा भएकाले घरमै सुत्केरी हुने गरेका हुन् ।” त्यसो त केही हदसम्म अन्धविश्वासका कारण पनि त्यहाँका गर्भवतीले घरमै सुत्केरी हुने गरेका हुन् भन्ने उहाँको पनि बुझाइ छ ।

जुम्लाकाे महरी गाउँ

कनकासुन्दरी गाउँपालिकाका सूचना अधिकारी नेत्रबहादुर खत्रीका अनुसार, आर्थिक वर्ष २०७९/८० देखि हालसम्म रिया र मर्खन गाउँका स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाको सङ्ख्या शून्य छ भने सिप्टी गाउँका एक जना गर्भवतीले मात्र स्वास्थ्य संस्थामा सुत्केरी भएको देखिन्छ । उहाँ भन्नुहुन्छ, “रिया, सिप्टी र मर्खन गाउँका गर्भवतीलाई सुत्केरी हुनका लागि काब्रामा रहेको बुम्रामाडिचौर स्वास्थ्य संस्थामा पुग्नुपर्छ । त्यहाँ पुग्नका लागि रिया गाउँ र मर्खन गाउँबाट पैदल तीन घण्टा लाग्छ भने सिप्टी गाउँबाट एक घण्टा लाग्ने गरेको छ ।”

पातारासी स्वास्थ्य शाखाका प्रमुख रतनका अनुसार, आर्थिक वर्ष २०७८/७९ मा १२६ महिला स्वास्थ्य संस्थामा सुत्केरी भए । आर्थिक वर्ष २०७९/८० मा १४५ जना सुत्केरी भए । उहाँ फेरि पनि भन्नुहुन्छ, “हुरी र महरी गाउँका महिला घरमै सुत्केरी हुन्छन् । त्यहाँको व्यवहारमा महिला स्वास्थ्य स्वयंसेविकाले पनि परिवर्तन ल्याउन सकेका छैनन् ।” यस्तो अवस्थामा गाउँमा प्रभावकारी तरिकाले सचेतना फैलाउनुपर्ने हुन्छ । तर, अभिमुखीकरण गर्नका लागि बजेट नै नभएको उहाँको गुनासो छ । भन्नुहुन्छ, “यसपटक अभिमुखीकरण कार्यक्रम गर्ने सोच बनाए पनि गाउँपालिकाले बजेटको व्यवस्था गरिदिएन ।”

जनप्रतिनिधिको भनाइ

पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकाया हुरी र महरी गाउँका गर्भवतीहरूलाई स्वास्थ्य संस्थामा सुत्केरी गराउनको लागि सचेतनाका कार्यक्रम गर्ने सोचमा देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अझै पनि समाजमा अन्धविश्वासले जडा गाडेको छ । यसको निराकरणका लागि हामी सचेतना जगाउने खालका विभिन्न कार्यक्रम बनाएर अगाडि बढ्ने छौँ ।”

गुठीचौर गाउँपालिकाकी उपाध्यक्ष शान्ति मल्ल (भण्डारी) भूतप्रेत र धामीझाँक्री जस्ता अन्धविश्वास र कुप्रथा हटाउन महिला तथा बालबालिका शाखामार्फत कार्यक्रम गर्ने बताउनुहुन्छ । उहाँका अनुसार, चोत्रा र मुरुल्ली गाउँका नागरिक सुत्केरी सेवा मात्र नभई अरू सेवाबाट पनि बञ्चित छन् । यी दुबै भौगोलिक रूपमा टाढा रहेका गाउँ हुन् । यसैले यी गाउँका नागरिकको स्वास्थ्य उपचारको लागि आवश्यक पहल गर्ने पनि उहाँ बताउनुहुन्छ ।

सिंजा गाउँपालिकामा १४९ जना सुत्केरी भए भने कनकासुन्दरी गाउँपालिकामा १६४ जना सुत्केरी भए । सिंजा र कनकासुन्दरीमा पनि घरमा सुत्केरी भएका महिलाको तथ्याङ्क देखाइएको छैन । यसैगरी, यस अवधिमा पातारासी गाउँपालिकामा १४५ जना सुत्केरी भए । त्यहाँ पनि घरमा सुत्केरी भएका महिलाको सङ्ख्या तथ्याङ्कमा देखाइएको छैन ।

तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढा गर्भवतीहरूका लागि पायक पर्ने ठाउँमा बर्थिङ सेन्टर स्थापना गर्नको लागि पहल गर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सचेतना कार्यक्रम गरिन्छ । घरैमा सुत्केरी हुने दरलाई शून्यमा झार्नका लागि गर्भवतीसँग कार्यक्रम गरिएको छ । गर्भवतीलाई गर्भ जाँचका लागि स्वास्थ्य संस्थामा आउन अनुरोध गरिएको छ ।” उहाँका अनुसार, शुद्ध खानेपानी खानका लागि फिल्टर वितरण पनि गरिएको छ ।

जनस्वास्थ्यको तथ्याङ्क र भ्रम

जनस्वास्थ्य सेवा कार्यालय, जुम्लाबाट उपलब्ध तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७९/८० मा जुम्लामा एक हजार ७४२ जना गर्भवतीले स्वास्थ्य संस्थामा गएर सुत्केरी भए । तीमध्ये ११ जनाले जुम्ल्याहा बच्चा जन्माए । साथै, ७१ जना गर्भवतीले भने घरमै सुत्केरी हुनुपर्‍यो ।

पालिकागत आधारमा हेर्दा यस अवधिमा चन्दननाथ नगरपालिकामा ८५२ जना सुत्केरी भएकामध्ये सात जनाले घरमै सुत्केरी हुनुपर्‍यो भने तिला गाउँपालिकामा १४४ जना सुत्केरी भएकामध्ये २२ जनाले घरमै सुत्केरी हुनुपरेको देखिन्छ । हिमा गाउँपालिकामा पनि कुल १६० जना सुत्केरी भएकामध्ये ४२ जनाले घरमै सुत्केरी हुनुपरेको देखिन्छ ।

घरमै छोरी वा छोरा जे जन्मिए पनि ३५ दिनभित्र पोषणभत्ताको लागि खाता खोल्न भने गाउँपालिकामा आउने गरेको पाइन्छ । यसैले पनि पालिकामा आएका सबै गर्भवती महिला स्वास्थ्य संस्थामै सुत्केरी भएको जस्तो देखिन्छ तर गाउँमा बुझ्दा स्थिति फरक भेटिन्छ ।

तातोपानी गाउँपालिकामा ९३ जना गर्भवतीले स्वास्थ्य संस्थामा गएर सुत्केरी भए भने गुठीचौर गाउँपालिकामा ७८ जना गर्भवतीले स्वास्थ्य संस्थामा गएर सुत्केरी भए । तातोपानी र गुठीचौर गाउँपालिकामा घरमा सुत्केरी भएका महिलाको सङ्ख्या भने उक्त तथ्याङ्कमा देखाइएको छैन । यस्तै, सिंजा गाउँपालिकामा १४९ जना सुत्केरी भए भने कनकासुन्दरी गाउँपालिकामा १६४ जना सुत्केरी भए । सिंजा र कनकासुन्दरीमा पनि घरमा सुत्केरी भएका महिलाको तथ्याङ्क देखाइएको छैन । यसैगरी, यस अवधिमा पातारासी गाउँपालिकामा १४५ जना सुत्केरी भए । त्यहाँ पनि घरमा सुत्केरी भएका महिलाको सङ्ख्या तथ्याङ्कमा देखाइएको छैन ।

जनस्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क आफैँमा भ्रमपूर्ण देखिन्छ । यस्तो किन त ? सो कार्यालयका अनुसार, स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाहरूले दिएको रिपोर्टका आधारमा सम्बन्धित पालिकाको स्वास्थ्य शाखाले ‘इन्ट्री’ गरेको तथ्याङ्कलाई जस्ताको तस्तै पठाइएको हुन्छ । सेवा कार्यालयले यसमा थप काम गर्ने व्यवस्था छैन । यसैले कुनै पनि पालिकामा निश्चित अवधिमा के कति महिला घरमा सुत्केरी भए भन्ने सम्बन्धमा यकीन र अद्यावधिक जानकारी दिन नसकिने भनाइ सो कार्यालयको छ ।

जानकारी सही नहुनाको पछाडि समन्वयको अभावका साथै केही व्यावहारिक कठिनाइहरू रहेको बताइन्छ । यसैलाई सङ्केत गर्दै महिला तथा बालबालिका शाखाका प्रमुख सुस्मिता भन्नुहुन्छ, “घरमै छोरी वा छोरा जे जन्मिए पनि ३५ दिनभित्र पोषणभत्ताको लागि खाता खोल्न भने गाउँपालिकामा आउने गरेको पाइन्छ ।” उहाँका अनुसार, यसैले पनि पालिकामा आएका सबै गर्भवती महिला स्वास्थ्य संस्थामै सुत्केरी भएको जस्तो देखिन्छ तर गाउँमा बुझ्दा स्थिति फरक भेटिन्छ ।

सुरक्षित मातृत्व, पोषण, बाल तथा महिला स्वास्थ्यका जानकारहरूका अनुसार, जुम्लामा घरमै जन्माइएका बालबालिकाले कुपोषण, निमोनिया, ज्वरो जस्ता समस्या भोग्दै आएका छन् । घरमै सुत्केरी हुन वाध्य महिलाहरू पनि यौनाङ्गबाट सेतो पानी बग्ने, पाठेघरको सङ्क्रमण हुने र पाठेघर खस्नेलगायतका समस्याबाट पीडित भइरहेका पाइएका छन् ।

सुरक्षित मातृत्वका सन्दर्भमा विकट गाउँका महिला, शिशु र बालबालिकाको यथार्थलाई जनस्वास्थ्यको तथ्याङ्कले समेट्न सकेको र बुझ्न खोजेको पाइँदैन । यस सम्बन्धमा तथ्याङ्कको महत्त्व बुझेका तथा स्वास्थ्य, समाज, महिला अधिकार आदिका विषयमा संवेदनशील भएर चासो राख्दै आएकाहरू कुनै पनि जिम्मेवार निकायले तथ्याङ्कलाई यसरी भ्रमपूर्ण बनाउन नहुने विचार राख्छन् । जुम्लामा कतिपय ठाउँका अधिकांश महिलाले ‘भूतप्रेत’, ‘देवीदेउता’ लाग्छ भन्ने अन्धविश्वास र विविध असुविधाका कारण घरमै सुत्केरी भइरहेका छन् । जुन अवस्थालाई कसैले नजरअन्दाज गर्न खोजे पनि लुकाउनै भने सक्दैन ।

समस्याको पहिचान र सही समाधान

सुरक्षित मातृत्व, पोषण, बाल तथा महिला स्वास्थ्यका जानकारहरूका अनुसार, जुम्लामा घरमै जन्माइएका बालबालिकाले कुपोषण, निमोनिया, ज्वरो जस्ता समस्या भोग्दै आएका छन् । घरमै सुत्केरी हुन वाध्य महिलाहरू पनि यौनाङ्गबाट सेतो पानी बग्ने, पाठेघरको सङ्क्रमण हुने र पाठेघर खस्नेलगायतका समस्याबाट पीडित भइरहेका पाइएका छन् । यो भनेको मानव विकासका दृष्टिले अत्यन्त नाजुक अवस्था हो । कुनै पनि बहानामा राज्यले यस्तो अवस्थालाई निरन्तरता दिइराख्नु उचित हुँदैन ।

सचेतना अभियानबाटै महिलाहरूले महिनावारी भएको बेला ‘छाउ’ भएको भन्दै घरमै बसे ‘पाप’ लाग्ने भनी गलत अनुभूति गर्ने अवस्थाको अन्त्य गर्न सकिन्छ । मनको डरलाई हटाउन जानकारहरूले महिनावारी भनेको शारीरिक विकासको क्रममा महिलामा हुने परिवर्तन हो र यसलाई बच्चा जन्माउन सक्षम भएको सङ्केतका रूपमा बुझ्नु र बुझाउनुपर्ने कुरामा जोड दिँदै आएका छन् ।

कर्णाली प्रदेशस्थित जुम्लाका कतिपय महिलाले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका सन्दर्भमा सहनुपर्ने जहरिला व्यवहारका कारण अकल्पनीय जोखिम मोल्दै आएका छन् । जानकारहरूका अनुसार, उनीहरूले गर्भवती र सुत्केरी हुँदा मात्रै यस्ता व्यवहार भोग्नुपर्ने होइन, महिनावारी हुँदासमेत सानो उमेरदेखि छाउगोठमा बसेर ज्यानकै जोखिम मोल्नुपर्छ । यस्तो अवस्था अझै पनि हटिसकेको छैन । महिला स्वास्थ्य र अधिकारकर्मीका अनुसार त झन् उनीहरू अन्धविश्वासजन्य डरले गर्दा अविकासजन्य कहरलाई पनि नियति ठान्छन् र जहर पिएरै बाँचिरहेका छन् । यसैले अन्यत्रका महिलाले जसरी आफ्नो हकहितको लागि आवाज उठाउने कोसिससमेत गर्दैनन् । वास्तवमा गर्न सकिरहेका छैनन् ।

भनिन्छ, वनको बाघभन्दा मनको बाघ खतरनाक हुन्छ । यसैले सचेतना अभियान चलाएर व्यक्ति, परिवार र समाजको मानसिकतामै जकडिएर रहेको अन्धविश्वासलाई हटाउनुपर्ने कुरामा मोर्चा शाहीको जोड छ । सुरक्षित मातृत्वका लागि बाधक रहेका मानसिक र भौतिक दुवै खालका समस्यालाई चिर्नुपर्ने हुन्छ । यी दुवैका सन्दर्भमा ‘रिया, सिप्टी र मर्खन जस्ता जुम्लाका सबै गाउँका गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनका लागि पालिकाले नजिकै बर्थिङ सेन्टर स्थापना गरी सचेतनाका कार्यक्रम गर्नुपर्ने’ सूचना अधिकारी नेत्रबहादुरको भनाइ मननीय छ ।

सचेतना अभियानबाटै महिलाहरूले महिनावारी भएको बेला ‘छाउ’ भएको भन्दै घरमै बसे ‘पाप’ लाग्ने भनी गलत अनुभूति गर्ने अवस्थाको अन्त्य गर्न सकिन्छ । मनको डरलाई हटाउन जानकारहरूले महिनावारी भनेको शारीरिक विकासको क्रममा महिलामा हुने परिवर्तन हो र यसलाई बच्चा जन्माउन सक्षम भएको सङ्केतका रूपमा बुझ्नु र बुझाउनुपर्ने कुरामा जोड दिँदै आएका छन् । उनीहरूका अनुसार, महिनावारी र मातृत्वसँग सम्बन्धित मनको डरलाई भगाउन वैज्ञानिक ज्ञानविधिलाई भरपुर उपयोग गर्न सक्नुपर्छ ।

साथै, सुरक्षित मातृत्व सेवालाई गुणस्तरीय र पहुँचयोग्य बनाउन जरुरी छ । घरदेखि स्वास्थ्यचौकी, बर्थिङ सेन्टर आदि जान र आउनका लागि सुविधाजनक बाटोघाटो र यातायात सेवाको भरपर्दो सुविधा पनि अपरिहार्य सर्त हो । यत्ति सर्त पूरा हुनसके पनि डर र कहरको जहर पिउँदै घरमै सुत्केरी हुनुपर्ने अवस्थाको अन्त्य हुने निश्चित छ । कुन चाहिँ महिलाले सुरक्षित सुत्केरी सेवा लिएर आफू र आफ्नो शिशुको स्वास्थ्यलाई बलियो बनाउँदै घरमा खुसी र अमनचयन भित्र्याउन नचाहने होला र ? जुम्लाको विकट गाउँका महिलाहरू मात्रै यसका अपवाद हुन सक्दैनन् ।

सचेतनादेखि विकास निर्माणका काममा स्थानीयदेखि सङ्घीय सरकार र गैरसरकारी निकायहरूले हातेमालो गरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्नसके महिलाहरू निर्धक्क भएर खोलानाला र पुलपुलेसा तरेर भए पनि सुरक्षित सुत्केरी हुनका लागि नजिकको स्वास्थ्य संस्थामा जान सक्छन् । खासमा उनीहरू यस्तै अवस्थाको प्रतीक्षामा रहेका छन् । आमाहरू आफूसँगै आफ्ना शिशु र बालबालिकाहरूलाई लिएर मानव विकासको लहरसँगै माथि उठ्न चाहन्छन् । राज्यले पनि सबै ठाउँका महिला, शिशु र बालबालिकालाई सुरक्षित वातावरण दिएर स्वस्थ र सक्षम बनाउनसके मात्र समृद्धिको सपना साकार हुने हो । यही धरातलबाट हरेकले उठेपछि मात्र समग्रमा मानव विकासले ऊचाइ लिने हो । उठ्न नसकेका र नपाएकाहरूलाई भने बेलैमा हरतरहले उठ्न सघाउनु राज्यको परम कर्तव्य हो ।

कर्णालीका थप कथाहरू पढ्न यहाँ क्लिक गर्नुहाेस्

सन्धान प्रकाशन मिति : २०८० भदाै ४ गते, साेमवार


Previous articleसामुदायिक वनमा महिलाको नेतृत्व उदाहरणीय छ (भिडियो सहित) – अप्सरा चापागाईं
Next articleखेलाडी महिलामाथि सबैतिरबाट विभेद (भिडियो सहित) – विमला पौडेल