नेपालमा बर्सेनी ५० देखि ६० हजार जलनका घटना हुनेको गरेको तथ्याङ्कले देखाएको छ । ती घटनामा आधाभन्दा बढी महिला र बालबालिका पर्ने गरेका छन् । जलनका घटना अधिकांश आफ्नै घरको भान्सामा हुने गरेका छन् । महिलाहरू भान्साको कामकै क्रममा जल्ने गरेको घटना धेरै देखिन्छ ।
बालबालिकाहरू आगो वा तातोपानीमा पर्ने गरेका छन् । उनीहरू भान्सामा आमासँगै हुँदा जलेका घटना छन् । यस प्रकारको जलनको घटनामा भान्सा कोठा परम्परागत हुनु, चुलो सुरक्षित तरिकाले नबनाइनु तथा आगोको छेउमा बस्नेले लगाउने कपडा सुरक्षित नहुनु जस्ता कारण रहेको चिकित्सकहरू बताउँछन् । यसै सन्दर्भमा ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतले जलनसम्बन्धी उपचार गर्ने कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्रा. डा. शङ्करमान राईसँग गरेको कुराकानीको सम्पादित अंश :
जलेकाहरूको उपचारमा तपाईं लामो समयदेखि संलग्न हुनुहुन्छ । नेपालमा हुने जलनका घटना कस्ता कस्ता छन् ?
जलनका घटना विभिन्न प्रकारका हुन्छन् । अधिकांश घटना आफ्नै घरको भान्सामा वा जाडो महिनामा आगो ताप्दा हुने गरेको छ । त्यस्तै, बालबालिकाहरू आगो वा तातोपानीमा पर्ने र भान्सामा आमासँगै हुँदा जलेका घटनाहरू छन् । विद्युत् ‘सर्ट’ भएर हुने जलनका घटना पनि छन् । विद्युत्मा काम गर्दा कहिले हाइभोल्टेज आउँछ भने कतिपय विद्युतीय तारको केही फिट वरपरसम्म पनि करेन्ट लाग्ने गर्छ ।
जलनका घटनामा पर्नेमा महिला र बालबालिकाको सङ्ख्या कति छ ?
जलनका घटनामा परेका महिला र बालबालिकाको सङ्ख्या धेरै छ । महिलाहरू जल्नुमा केही ‘तोकिएको’ भूमिकाले गर्दा हो । हाम्रो समाजको सोच अलि पछाडि परेको छ भन्नुपर्छ । यसले गर्दा महिलाहरू जलनमा पर्नुपरेको छ भने साना बालबालिका पनि आमासँगै परिरहेका घटना छन् ।
जलनसम्बन्धी आधिकारिक तथ्याङ्कबारे बताइदिनुहुन्छ कि ?
यति नै हो भनेर सरकारी डाटा (तथ्याङ्क) छैन । जलेका/पोलेका कति बिरामी सरकारी अस्पतालहरूमा पुगे भन्ने डाटा मात्रै छ । यस्तो डाटा अहिले लगभग ५० हजारभन्दा माथिको छ । डाटा पनि हामीले कत्तिको राम्रोसँग राख्न सकेका छौँ भन्ने हुन्छ । हुन त डाटा राख्ने काम पनि सजिलो छैन । डाटाका लागि जनशक्तिदेखि स्रोत साधन छुट्टै लाग्छ । मन्त्रालयका कर्मचारीले सङ्कलन गरेर मात्रै पनि डाटा बन्दैैन । विकट गाउँका डाटाहरू जिल्ला हुँदै आउने हो । यो लामो प्रक्रियाबाट आउँदा पनि वर्षको ५० हजार जना सरकारी स्वास्थ्य संस्थामा गएको देखिएको छ । सरकारीबाहेक अन्य अस्पतालमा जाने पनि कति होलान् ? कतै नगई घरमै उपचार गर्ने पनि होलान् । गाउँगाउँमा जलेका सबै जना काठमाडौँ आइपुग्दैनन् । जति देखिन्छ, त्यो डाटा पनि नेपाल जस्तो मुलुकका लागि धेरै र डरलाग्दो हो । यसो भन्दैमा ५० हजार मानिस नै गम्भीर रूपमा जलेका हुन् भन्ने पनि होइन ।
तपाईं कार्यरत कीर्तिपुर अस्पतालमा आउने बिरामीको सङ्ख्या कति छ ?
काठमाडौँको कीर्तिपुर अस्पतालमा जलनका सबैभन्दा बढी बिरामी आउँछन् । अहिले वर्षको करिब छ सय जना भर्ना गर्नैपर्ने अवस्थाका बिरामी आइरहेका छन् । हामीले सन् २०१४ मा जलनसम्बन्धी उपचार सुरु गरेका हौँ । पहिलो वर्ष ९० जना भर्ना भएका थिए । आठौँ वर्षमा कुल ६२४ जना भर्ना भए । यो वर्ष भने सात सय नाघ्छ । किनभने गएको छ महिना जनवरीदेखि जुनसम्म ३७१ जना भर्ना भइसके । अब जुलाईदेखि डिसेम्बरसम्मको छ महिनामा पनि त्यति नै आउलान् । वर्षैपिच्छे भर्ना हुने बढे भन्नुको अर्थ धेरै जल्न थाले भन्ने होइन, उपचारका लागि आउने बिरामी बढेको भन्छौँ ।
जलेकाहरूको उपचार गर्ने अस्पताल कति छन् ? काठमाडौँबाहिर छन् कि छैनन् ?
काठमाडौँबाहिर पनि विभिन्न ठाउँमा छन् । उपचारका विभिन्न लेभल छन् । अलिअलि जलेको छ भने जहाँ उपचार गरे पनि हुन्छ । अलि धेरै जलेको भए अलि ठुलो अस्पतालमा जान प¥यो । धेरै नै जलेर जटिल भयो भने बर्नको आईसीयू भएको अस्पतालमै जानुपर्छ । बर्न (जलनसम्बन्धी उपचार हुने) अन्तर्गत जटिल खालका अपरेसन गर्ने सुविधा भएको कीर्तिपुर अस्पताल मात्र हो । त्यसैले यहाँ अहिले धेरै बिरामी आउनु हुन्छ । अरू अस्पतालहरूमा पनि उपचार भइरहेको छ तर जब बिरामी जटिल अवस्थामा पुग्छ अनि हामीकहाँ आइपुग्नु हुन्छ । कुनै बिरामीलाई आईसीयू चाहिने भयो भने हामीकहाँ नै आइपुग्नु हुन्छ । काठमाडौँकै अरू विभिन्न अस्पतालमा पनि जलन उपचार सेवा उपलब्ध छ तर त्यहाँ बेड सङ्ख्या कम छ । हाम्रोमा दुई वटा अपरेसन थिएटर छन् । आइतबारदेखि शुक्रबारसम्म निरन्तर चल्छ । एउटै अस्पतालमा जलनका दुई जना बिरामीको एकै पटक अपरेसन गर्ने सुविधा नेपालका अन्य अस्पतालमा छैन । हामीले पनि एउटा अपरेसन थिएटर र तीन बेडबाट सुरू गरेका थियौँ । दुई तीन हप्तामै यसले नपुग्ने भयो भन्ने अनुभव भयो र थप्न थाल्यौँ । हामीले हामीसम्म आइपुगेको बिरामीलाई बेड छैन, तिमी जहाँ जान्छौ जाऊ भन्न मिल्दैन भन्ने सोच्यौँ । किनकि धेरै ठाउँमा घुमेर नपाएपछि मात्रै हाम्रो अस्पतालमा आइपुगेका हुन्छन् । कीर्तिपुर अस्पताल बर्न सेन्टर हो । अस्पतालभित्र ‘बर्न सेन्टर’ भनेर लेखेरै काम गर्ने हामी मात्र हौँ । त्यसो भएकाले पनि हामीकहाँ बिरामीहरू धेरै हुन्छन् ।
तथ्याङ्कमा महिला र बालबालिका जलनका घटनामा धेरै पर्छन्, महिला र पुरुष जलनका कारण पनि फरक छन् भन्नुभयो । त्यो भनेको कस्तो हो ?
अधिकांश बच्चाहरू जल्ने/पोल्ने भनेको तातो पानी, तातो तेल वा तातो भाडाँकुँडालाई छोएर वा त्यसमा परेर हो । आगोले पोलेका पनि हुन्छन् तर यस्तो सङ्ख्या एकदमै कम छ । हाम्रो अस्पतालमा उपचारका लागि आएका बच्चाहरूमध्ये ८० प्रतिशत तातो पानी, तातो तेल वा तातो भाँडोमा परेर जलेका/पोलिएका हुन्छन् । पुरुष वा ‘एडल्ट’ छोरा मान्छेहरू बिजुलीको काम गर्दा वा आगलागी वा जङ्गलमा डढेलो लागेका बेला जलेका हुन्छन् ।
अर्को जल्ने कारण, जाडो हुने समयमा आगो ताप्दा पनि हो । विशेष गरी तराईमा आगो बालेर ताप्ने चलन हुन्छ, आगो ताप्दा पनि जलेका घटना धेरै हुन्छन् । आगो ताप्दा आगोतिर फर्किएर ताप्दासम्म आफूलाई हेर्नुहुन्छ र बचाउनु पनि हुन्छ । तर कतिले पछाडिको भाग पनि सेकाउन खोज्छन् । त्यतिबेला शरीरको पछाडिका भागमा आगो लागिसक्छ । त्यस्तो बेलामा उमेर अलि बढी भएका व्यक्तिहरू हुनुहुन्छ भने त तुरुन्तै आगो निभाउन पनि सक्नुहुन्न । जाडोको मौसममा यस्ता घटना बढी हुन्छन् । त्यसैले आगो ताप्दा पछाडिको भागलाई आगोतिर फर्काएर ताप्नु हुँदैन ।
अर्को मुख्य कुरा, महिलाहरू जल्ने वा पोलिने भनेको हाम्रा भान्सा हुन् । सबैभन्दा बढी जल्ने/पोल्ने घटना हुने ठाउँ नै भान्सा हो । हामी घरलाई सुरक्षित ठान्छौँ तर त्यहीँ नै जलनका घटना धेरै हुन्छन् । अहिले पनि हाम्रो घर समाजमा ‘भान्साको काम महिलाको काम’ हो भन्ने मान्यता छ । अभ्यास पनि त्यस्तै देखिन्छ । त्यसैले पनि जलनका घटनामा पर्ने महिलाको सङ्ख्या बढी भएको हो । ग्यास लिक हुन्छ, प्रेसर कुकर पड्किन्छ, आगोको लप्काले कपडालाई टिप्छ । महिलाहरूले लगाउने साडी कुर्ताहरू लामा, यताउता गइरहने हुँदा पनि आगोको लप्काले सजिलै भेट्छ । त्यसैले यी कुरामा ध्यान दिनुपर्छ ।
त्यसो भए समाजले परिभाषित गरिदिएको काम, भूमिकाकै कारण महिलाहरू बढी जलिरहेका रहेछन् भन्न मिल्छ ?
मिल्छ, यो सत्य हो । त्यसैले एउटा त कुनै पनि काम पुरुष वा महिलाको भनेर परिभाषित गर्नु, तोकिनु हुँदैन । अर्को कुरा, भान्साको काममा महिला वा पुरुष जो गए पनि असुरक्षित भान्सालाई कसरी सुरक्षित बनाउने भन्ने कुरा महत्त्वपूर्ण हो । खाना बनाउँदा चुलो भुईँको सतहभन्दा अलि अग्लो ठाउँमा भयो भने खतरा कम हुन्छ । महिलाहरूले लगाउने कुर्ता वा साडी जस्ता कपडालाई आगोको लप्काले छोइहाल्ने जोखिम बढी हुन्छ । त्यसैले त्यस्तो कपडा लगाउन भएन । सकेसम्म त खाना पकाउँदा तुरुन्तै नजल्ने खालका कपडा लगाउनु उचित हुन्छ । विदेशतिर फायर फाइटर्सले लगाउने जस्तो कपडा खाना पकाउने वा भान्सामा काम गर्नेले लगाउँछन् । यसले उनीहरूलाई पोल्दैन, शरीरमा आगो लाग्दैन । आगो वा ग्यासको सट्टा बिजुली चुलोको प्रयोग गर्न सक्छौँ । यसो गर्नसके जलनका घटनाहरूको रोकथाम हुनसक्छ ।
विकसित मुलुकहरूले अनेक उपाय अपनाएर जलनका घटना ८० प्रतिशतसम्म घटाइसकेका छन् । त्यस्ता देशहरूमा एक सय घटना हुन्थ्यो भने २० वटा घटना मात्र हुने गरी रोकथामका उपाय अपनाइन्छ । यसबाट ८० प्रतिशत घटना रोकथाम गर्न सकिन्छ भन्ने प्रमाणित भइसकेको छ । विश्व स्वास्थ्य संगठनको डाटा अनुसार पनि यो प्रमाणित भइसकेको छ । तर हामीकहाँ रोकथामका उपायमा काम नै हुँदैन भन्दा पनि हुन्छ । कुनै पनि विधि नभएकाले अनाहकमा मानिसहरू जल्नु, पोलिनु परेको छ । कत्तिको मृत्यु नै हुन्छ । हाम्रै अस्पतालमा आएका एक सयमध्ये २०/२२ जनालाई अहिले पनि बचाउन सक्दैनौँ । अमेरिकातिर एक सय जना अस्पताल पुग्दा दुई जना मात्रै मर्छन् । अधिकांशलाई उनीहरूले बचाएर पठाउँछन् । ९० प्रतिशत शरीर जलेको अवस्थाका बिरामीमध्ये ५० प्रतिशतलाई उनीहरूले बचाउन सक्छन् । हाम्रो यहाँ ९० त छोडौँ ४० प्रतिशत शरीर जलेको छ भने पनि ३० देखि ५० प्रतिशतलाई मात्रै बचाउन सकिन्छ ।
सुरक्षाका उपाय अपनाउँदा धेरै हदसम्म रोकथाम हुन्छ भन्नुभयो । त्यो रोकथामका लागि कसले के गर्नुपर्छ ?
यो हामी बसेर कुरा गरे जस्तो सजिलो त छैन तर हाम्रो भूमिका के हुनसक्छ भन्दा अहिलेसम्म हाम्रो भान्सा जस्तो छ, त्यसमा विकल्प खोज्नुपर्छ । भान्सा जस्तै अन्य ठाउँमा पनि विकल्प प्रयोग गर्नुपर्छ । विकल्प दिने भनेको तपाईंले यसो गर्नुस् वा उसो नगर्नुहोस् भनेर मात्र हुँदैन । यसमा राज्य नै लाग्नुपर्छ । कुनै परम्परागत चुलोको सट्टा सुरक्षित चुलो बनाउन पर्यो अथवा खरिद गर्न पर्यो भने सबैको त्यो क्षमता छ कि छैन ? हेर्न पर्यो । कतिपय त व्यक्तिगत तहबाटै पनि गर्न सकिन्छ तर गर्नुपर्ने मुख्य जिम्मेवारी राज्यकै हो ।
यस्तो विकल्पको सुरूवात भएको छ ?
केही मात्रामा सुरु भएको छ । कति ठाउँहरूमा सुरक्षित चुलो दिइएको छ । हामी आफैँले पनि धुवाँरहित चुला विभिन्न ठाउँमा बाँड्यौँ । विद्युतीय चुलो पनि सुरक्षित छ, तर सय प्रतिशत नै सुरक्षित चाहिँ होइन । अर्को कुरा, बिजुली पनि सबै ठाउँमा पुगेको छैन । त्यसकारण जलनका घटनाको रोकथामका लागि धेरै स्टेपहरू छन् । कहीँ न कहीँ त हामी आफैँबाट पनि सुरु गर्नुपर्छ भनेर अहिले जलन फाउन्डेसनले पनि यस्तो काम गरिरहेको छ ।
जलेकाहरूको उपचारका लागि भनेर तपाईंहरू ‘छालादान’ को कुरा पनि गर्नुहुन्छ । छालादान भनेको के हो ? कस्ता बिरामीलाई छाला आवश्यक पर्छ ?
सन् २०१४ देखि हामीले छालादानको कुरा गरिरहेका छौँ । छालादानका लागि आग्रह गरिरहेका छौँ । छालादान किन भनिरहेका छौँ भने अधिकांश बिरामीहरू धेरै भाग जलेर आउँछन् । त्यस्ता बिरामीलाई आफ्नो छालाले पुग्दैन । ३०/३५ प्रतिशत मात्र जल्यो भने पनि बिरामीको शरीरबाट छाला निकाल्ने ठाउँ नै हुँदैन । गहिरो भएर जलेको भाग मरेको हुन्छ । त्यसलाई अपरेसन गरेर काटेर फाल्नुपर्छ । स्वस्थ छाला नभेटिँदासम्म काटेर फाल्नैपर्छ र त्यो ठाउँमा स्वस्थ पातलो छाला राख्नुपर्छ । तत्कालको उपचार हो यो पनि । त्यसरी जलेको छाला निकालेको ठाउँमा अर्को छाला राख्नुपर्छ । त्यसका लागि छाला लिने ठाउँ नजलेको हुनुपर्यो । सजिलैसँग छाला लिने भनेको हाम्रो तिघ्रा हो । दुवै तिघ्रा जल्यो भने छाला निकाल्ने अरू ठाउँ हुँदैन । अनुहार, हात, घाँटी, जोर्नी वा खुट्टाहरूबाट छाला निकाल्न मिल्दैन । ३०–४० प्रतिशतसम्म जलेको बिरामीलाई पनि उसकै शरीरको छालाले पुग्दैन । त्यसरी छाला नपुगेको बेला अर्को मानिसको छाला हाल्न सक्यौँ भने तीनचार हप्तासम्म अर्काेको छालाबाट बिरामीलाई बचाउन सकिन्छ । सुरुमा अर्काको छाला राखेर ज्यान बचाउनुपर्छ र अन्त्यमा बिरामीको आफ्नै छाला राखेर उपचार गर्नुपर्छ ।
यस्तै, छाला निकाल्ने ठाउँ नभएका गम्भीर खालका बिरामीका लागि अरूको छाला राख्नुपर्ने हुन्छ । त्यसका लागि हामी छालादानका लागि आह्वान गर्छौं । तर, आठ वर्षदेखि छालादानको कुरा गरे पनि आठ वर्षमा जम्मा २९ जनाले मात्र छालादान गरेका छन् ।
छालादान गर्नेको छाला कहिले निकालिन्छ ?
छालादान गर्नेको छाला उसको मृत्युपछि निकाल्ने हो । ज्यूँदै छाला निकाल्ने भनेको बिरामीकै आफ्नो मान्छेको मात्रै हो । आफन्त भनेको बाबु, आमा, दाजुभाइ, दिदीबहिनी हुनुपर्छ । अरूसँग त एउटा बिरामीेका लागि भनेर तपाईंको छाला दिनूस् भनेर माग्ने कुरा हुँदैैन ।
अर्को कुरा, एक जना मानिसको छाला धेरै निकाल्न मिल्दैन । एउटा थाइको तीन चौथाइ भाग मात्रै निकाल्न मिल्छ । एक चौथाइ भाग राख्नुपर्छ । त्यतिले पनि जलेको भागलाई पूरै कभर गर्दैन । त्यसैले छालादान गरेको व्यक्ति भए त मृत्यु भइसकेको मानिसको दुईवटै थाइ र अन्य भागबाट पनि निकाल्न मिल्छ । त्यसरी मरेको मानिसको छालाले जलेको मानिसको उपचारमा ठुलो सहयोग गर्छ । मरेपछिको छाला कुनै बिरामीका लागि होस् भन्ने सोचेर छालादान गरौँ भनेर हामी आग्रह गर्छौं ।
बिरामीको शरीरमा अरूको छाला सधैँका लागि पनि राखिन्छ कि ?
सधैँका लागि राख्ने होइन । बिरामीको शरीरमा छाला बनुन्जेलका लागि मात्रै राखिने हो । तीनचार हप्तापछि अर्काको छाला निकालेर फेरि आफ्नै छाला राख्ने हो, जुन सम्बन्धित व्यक्तिकै नजलेको भागबाट फेरि निकाल्न सक्छौँ । त्यस्तो छाला प्रत्येक दुई हप्तामा निकाल्न सक्छौँ । त्यो छालाले सुरुमा काम दिने हो । जस्तो कसैलाई मिर्गौैला प्रत्यारोपण गरेपछि हामी के गर्छौं भने त्यो मानिसकोे शरीरले मृगौला रिजेक्ट नगरोस्, शरीरले अरूको मिर्गौला हो भनेर चिन्ने भएकाले त्यो नचिनोस् भन्नका लागि औषधिहरू खुवाउनु पर्छ । त्यस्तै, धेरै जलेको अवस्थाको शरीरले पनि केही समयसम्म अर्काको छाला हो भनेर चिन्न सक्दैन । तीनचार हप्ता राखेपछि बिरामीको शरीरमा आफ्नै छाला पनि पलाउन थाल्छ । यसरी पलाइसकेपछि अरूको छाला शरीरले चिनेर राखिएको छालालाई रिजेक्ट गर्न थाल्छ । त्यसैले निकाल्नुपर्छ । त्यसैले अरूको छाला सधैँ राख्ने होइन ।
अलिकति प्राथमिक उपचारको कुरा गर्दिनूस् न, कसैको शरीर वा शरीरको कुनै भाग जल्यो, पोल्यो भने सबैभन्दा पहिला के गर्ने ?
कुनै पनि जलन हुँदा हामीले तुरुन्तै पानी हाल्नुपर्छ । कुनै पनि प्रकारको जलन, आगोले पोलेको, केमिकल, बिजुली वा तातोपानी जे भए पनि आधा घण्टासम्म पानी लगाउनुस् वा पानी हाल्नुस् । पानी हाल्ने भनेको जति सक्दो छिटो गर्नुपर्छ । कस्तो पानी भन्ने लाग्ला । धारामा आउने वा बाल्टिन, गाग्रीमा राखिने सफा पानी हाल्दा हुन्छ । पानी हाल्दा पोलाइ गहिरो हुन पाउँदैन । पोलेर निस्किने हिटलाई शरीरभित्र पस्न नदिएर बाहिर पठाउनाका लागि पानी हाल्ने हो ।
चिसो लगाउने भनेर आइस लगाउने गर्नु हुँदैन । आइस लगाउँदा रक्त सञ्चालन कम हुन्छ । त्यहाँ पोलाइ झन् गहिरिन्छ । त्यस्तै अन्य कुनै औषधि पनि पहिलो आधा घण्टामा लगाउनु हुँदैन ।
फोनबाट पनि प्राथमिक उपचारका विधि वा अन्य केही सल्लाह दिने गर्नुहुन्छ ?
हो, दिने गरेका छौँ । हाम्रो टोल फ्रि नम्बर १६६००१५१००० छ । यो नम्बरमा कसैले फोन गर्नुभयो भने हामी सल्लाह दिन्छौँ । मुख्यतः फोन उठाउनेले नै आधा घण्टासम्म पानी लगाउनु होस् र नजिकको स्वास्थ्य संस्था जानूस् वा लैजानूस् भन्छन् । त्यसपछि बिरामीको नम्बर लिएर त्यो नम्बर हामीलाई पठाइएको हुन्छ । हामीले सम्पर्क गरेर कस्तो अवस्था छ भनेर सोध्छौँ । बिरामी गएको अस्पतालको डाक्टर अथवा स्वास्थ्य संस्थाको स्वास्थ्यकर्मीसँग पनि हामी नै कुरा गर्छौं । पोलेको ठाउँमा पानी लगाउनुपर्छ । शरीरको लागि पनि पानी एकदमै आवश्यक हुन्छ । स्वास्थ्य संस्था गइहाल्यो भने शरीरलाई आवश्यक पर्ने पानी नसाबाट पनि दिइन्छ । कहिलेकाहीँ त १० लिटरसम्म पनि पानी दिनुपर्ने हुन्छ । तपाईं हाम्रो शरीरबाट पूरै रगत निकालियो भने जम्मा पाँच लिटर हुन्छ तर जलनमा परेको मानिसलाई १० लिटर पानी चाहिन्छ । भन्नुको मतलब पोलेको बिरामीलाई धेरै पानी चाहिन्छ । हामीले फोनदेखि अस्पतालमै आएपछिका लागि सम्पूर्ण सेवा दिइरहेका छौँ ।
यो पनि पढ्नुहोला
- जीवनभर रहन्छ जलेको पीडा (भिडियो अन्तर्वार्ता) – राधा श्रेष्ठ
- एसिड आक्रमणका पीडितहरूको अधिकार मेरो एजेन्डा– विन्दवासिनी कंसाकार (अडियो सहित)