साँझको बेला । २०६२ फागुन २ गते । राधा श्रेष्ठ र उहाँकी आमाले खाना खाइसक्नुभएको थियो र सँगै बसिरहनुभएको थियो । राधाले एक्कासी ग्यासको गन्ध चाल पाउनुभयो । आमाले खाना पकाएपछि ग्यास बन्द गर्न बिर्सिएको पो हो कि भन्ने सोचेर राधा भान्सा कोठातिर जानुभयो । नभन्दै ग्यास बन्द गरिएको रहेन छ । राधाले ग्यास बन्द गर्न खोज्दा ग्यास झन् ठुलो बल्यो । त्यसको लप्काले भेट्यो र उहाँ ढल्नुभयो । एकैछिनपछि आमा पनि भान्सा कोठामा पुग्नुभयो । आगाको लप्काले भेटेर आमा पनि ढल्नुभएछ । छिमेकीहरूले थाहा पाए । उहाँहरू दुबैलाई ट्याक्सीमा हालेर अस्पताल लगे । अस्पताल लगेको तेस्रो दिन आमा बित्नुभएछ । राधा भन्नुहुन्छ, “आमाको मृत्युको खबर डाक्टरहरूले मलाई भनेनन् ।”
राधा ३९ दिनसम्म अस्पतालमा उपचार गराएर घर फर्किनुभयो । घर पुगेको भोलिपल्टदेखि उहाँ काममा फर्किनुभयो । उहाँ त्यतिबेला ‘ट्रेकर्स होलिडे इन’ भन्ने होटेलको व्यवस्थापक हुनुहुन्थ्यो । काम राम्रै थियो । जलनको भोगाइले उहाँको मनलाई भने अन्तै कतै तानिरहेको थियो । उहाँलाई जलनसम्बन्धी संस्था खोल्नुपर्छ भन्ने लाग्न थाल्यो । उहाँले सन् २००७ मा ‘बर्न लेडी होम’ नामक संस्था दर्ता गर्नुभयो । संस्थाको मुख्य उद्देश्य आगाले पोलेर बाँच्न सफल भए पनि छट्पटाइरहेका महिलाहरूलाई आयआर्जनमा लगाउनु रहेको छ । त्यसैबमोजिम अहिले महिलाहरूबाटै चुरा, पोते, झुम्का, औँठी, मैनबत्ती जस्ता सामग्रीहरू उत्पादन गर्ने काम संस्थाले गरिरहेको छ ।
काठमाडौँको बसुन्धरामा रहेको यो संस्थामा अहिले २० जना महिलाहरूले आयआर्जनको काम गरिरहेका छन् । उनीहरू सबै नै राधा जस्तै आगलागीका विभिन्न घटनामा परेर बाँचेकाहरू हुन् । जलेर बसेको दाग शरीरमा सधैँभरि रहिरहन्छ । विशेष गरी अनुहार, घाँटी, हात जस्ता शरीरका देखिने भागमा खत बसेपछि घरपरिवार र समाजमा नराम्रो दृष्टिले पनि हेर्ने गरिन्छ । यसले गर्दा जलेको बाहिरी घाउ निको भए पनि मनभित्र नमेटिने घाउ लाग्ने नमीठो अनुभव जलेर बाँचेकाहरूको छ । जलेर बाँचेका व्यक्तिहरूमा मानसिक स्वास्थ्य समस्या पनि आउन सक्छ । अर्कोतिर जलनको औषधि उपचार महँगो हुन्छ । यसबाट पर्ने आर्थिक भार र अन्य विभिन्न कारणले पनि उनीहरूमाथि समस्या थपिइरहेको हुन्छ । त्यससँगै उनीहरूमाथि हिंसा पनि भइरहेको हुन्छ ।
यसै सन्दर्भमा बर्न लेडी होमकी अध्यक्ष राधा श्रेष्ठसँग आगलागीबाट जलेर बाँचेका (बर्न सर्भाइभर) महिलाहरूको अवस्था, उनीहरूले भोग्नु परिरहेको हिंसा र उनीहरूको आत्मनिर्भरताका लागि भइरहेका कामबारे कुराकानी गरिएको छ । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले गरेको कुराकानीको सम्पादित अंश :
भिडियो हेर्नुहोला