सामूहिक आवाज
लैङ्गिक समानताका विषयमा कुनै पनि व्यक्तिको बुझाइ, देखाइ, भोगाइ र गराइले निकै ठुलो अर्थ राख्छ । यसैले विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिका सोचाइ र भनाइलाई सङ्कलन गरी ‘सन्धान’ ले बेला बेलामा ‘सामूहिक आवाज’ का रूपमा प्रस्तुत गर्दै आएको छ ।
आजको अङ्कमा गायनका साथै गीत, सङ्गीतकै क्षेत्रमा विभिन्न भूमिका र सङ्घसंस्थामा संलग्न कलाकारका विचार र अनुभवलाई ल्याएका छौँ । यसमा मुख्यतः समानताको बोध र विभेदजन्य व्यवहार हटाउने प्रतिबद्ध अभ्यासका कुरा छन् ।
समानताको अभ्यासमा योगदान होस् भन्नाका लागि आफूले खाएको जुठो भाँडा आफैँ माझेर हिँड्ने गरेको, समान कामसँगै सामूहिक आवाज पनि उठाउँदै आएको, जन्मदेखि कर्मघरसम्म समानताको अभ्यास पाउँदै आएको, कार्यक्षेत्रमा आफूले पनि समानताका लागि जोड दिएको, समानताको सोचमा डुब्दै समान व्यवहारको पक्षपोषण गरेको, आफूलाई घरपरिवारमा भेदभाव महसुुस नभएको र आफूले कर्मक्षेत्रमा पनि भेदभाव नगर्ने प्रयत्न गर्दै आएको जस्ता भनाइ यसमा समेटिएका छन् ।
आजको सामूहिक आवाजमा सहभागी कलाकारहरू हुनुहुन्छ, बद्री पङ्गेनी, सोफिया थापा, यश कुमार र देवीकुमारी बस्नेत ।
आफूले खाएको भाँडा माझेरै हिँड्छु

– बद्री पङ्गेनी, गायक तथा गीत/सङ्गीतकार
समाज, देश र संस्कृतिअनुसार समानताका कुरा हुन्छन् । हामीहरू अहिलेसम्म जुन किसिमको धर्म, संस्कार, संस्कृति र परिवेशमा बाँचिरहेका छौँ, त्यहाँ महिला र पुरुषबिच धेरै नै विभेद भएको पाउँछौँ । खासगरी लैङ्गिक असमानताहरू परिवारभित्रै देखिन्छन् ।
मेरो कुरा गर्ने हो भने पाल्पाको रामपुरमा मेरै परिवारभित्र मेरो बुबाले मेरा दुई जना आमालाई गर्ने असमान व्यवहार सानैमा देखेँ । त्यस्तो व्यवहार आफँैले पनि भोगेँ । यी भोगाइ र देखाइले लैङ्गिक समानताको कुरा सबैभन्दा पहिला परिवारभित्र आउँछ र त्यसपछि अन्य सदस्यहरूका बिचमा यो कुरा आउँछ भन्ने बुझेँ । लैङ्गिक समानता भएन भने परिवार र समाज अगाडि बढ्न सक्दैन भन्ने पनि बुझेँ ।
मैले २०५२/५३ सालदेखि आफूले खाएको भाँडा आफैँ माझ्दै आएको छु । जति बेला मैले समानताका कुरा बुझ्न थालेँ, त्यति बेलादेखि नै मामाघर होस् वा ससुराली जहाँ गएर खाना खाए पनि आफूले खाएको भाँडा आफैँ माझ्दै आएको छु । यो पनि लैङ्गिक समानताका लागि मैले गर्दै आएको एउटा सानो प्रयास हो भन्ने मलाई लाग्छ ।
तपाईंले मलाई घरमा खान बोलाउनुभयो र म खाना खान आएँ भने मेरो जुठो भाँडा तपाईंको बुबा, दाइ वा भाइले त माझ्नुहुन्न । त्यो भाँडा कि तपाईंले माझ्नुहुन्छ, कि तपाईंको भाउजू, दिदीबैनी वा आमा कोही न कोही महिला सदस्यले नै माझ्ने कुसंस्कार छ । यो कुुसंस्कार नै असमानता हो ।
असमान अभ्यास, चलन, कुसंस्कारविरुद्ध म बोल्नु पनि पर्छ भन्ने लाग्छ मलाई । अनि, आफ्नो काम आफैँ गर्नुुपर्छ भनेर पनि मैले आफूले खाना खाएको जुठो भाँडा आफैँले माझ्न सुरु गरेको हुँ ।
अहिले परिवारमा म, श्रीमती र हाम्रो एक छोरी गरी तीन जना छौँ । म सधैँ घरमा हुन्नँ । म घरमा नहुँदा आमा र छोरी पालोपालो गरेर काम गर्छन्, भाँडा माझ्छन् । म घरमा हुँदा सबैको भाँडा पनि म माझ्छु । कहिलेकाहीँ हामी पालो पनि गर्छौं । जति नै नभ्याए पनि आफूले खाएको भाँडा चाहिँ मैले माझेरै हिँड्छु, छोडेर हिँड्दिनँ ।
मेरो पेसा घरमा बसेर पनि गर्न मिल्ने खाले छैन । पूर्व पश्चिम दौडिरहन पर्छ । बिसौँ वर्ष भयो, यसैगरी दौडिरहेको । तर, जहिले घरमा हुन्छु, मैले भान्साको काम गरेकै हुन्छु । भान्सामा काम गर्न रमाइलो पनि लाग्छ ।
घरमा हामी तीन जनाको सहकार्य हुन्छ । हामीले महिला र पुरुषलाई कामका आधारमा मूल्याङ्कन नगर्ने, कामकै आधारमा हैसियत नतोकी फरक संस्कारको सुरुवात गर्नुपर्छ । महिला पुरुष दुवैले घरबाहिर र भित्र दुवै काम गर्न सक्छौँ । यही अभ्यास हामीले गरिराखेका छौँ ।
हामी कहिले अस्ट्रेलिया, युरोप र अमेरिका जान्छौँ । त्यहाँ घरमा ‘किचन’ का काम, बेड मिलाउने कामदेखि घरको सरसफाइका काम परिवारमा भएका सबैले गरिरहेका हुन्छन् । घरबाहिरको ड्युटी गर्न पनि महिला र पुरुष दुवै खटिरहेका हुन्छन् । मलाई लाग्छ, त्यहाँ समानता छ । साथमा, शान्ति र समृद्धि पनि त्यहीँ छ ।
हामीकहाँ त कमाउने काम गर्ने भनेको पुरुषले मात्रै हो र घरभित्रका काम महिलाले मात्रै गर्ने हो भन्ने सोच र कुसंस्कार छ । यसैकारण हामी पछाडि परिरहेका छौँ जस्तो लाग्छ । यसैले समानताका कुरालाई व्यावहारिक रूपमा लागू गर्नुपर्छ । महिला पुरुष बराबर हौँ भन्ने नारालाई व्यवहारमा कार्यान्वयन गरेर अगाडि बढ्नुपर्छ ।
मुख्यतः लैङ्गिक विभेद परिवारबाटै सुरु हुन्छ । एउटा सन्तान भए पुग्छ, छोरी भए पुग्छ भनेर जानेर बुझेर नै हामीले अर्को सन्तान जन्माएनौँ । एउटा मात्र सन्तान छोरी छ हाम्रो । छोरीलाई नै असल व्यक्ति बन्न र कर्तव्यबोधका कुराहरू सिकाउनुपर्छ भन्ने लाग्छ ।
छोरीलाई तिमी छोरीमान्छे हौ, तिमी हाम्रो चेली हौ, देवी हौ मात्रै भनियो भने छोरीमा त्यही खालको कुरा मात्र प्रसार हुन्छ । यस्तो हुन नदिनका लागि अभिभावकले आफ्ना सन्तानलाई असल मानव र असल नागरिक हौ, सशक्त महिला हौ भन्ने कुरा छोरीमा पनि भर्नुपर्छ ।
हामीले अहिलेसम्म छोरीलाई असल मानव, असल नागरिक र सशक्त महिला हौ भन्ने किसिमले नै हुर्काइरहेका छौँ । छोरी अहिलेसम्म त्यही बाटोमा छिन् भन्ने लाग्छ । उनका हरेक क्रियाकलाप, उनीभित्र भएका हरेक क्षमता, प्रतिभा, खुबीका साथै पढाइमा समेत उनले आफ्नो क्षमता उजागर गर्दै गइरहेकी छिन् ।
छोरीले म एक्लो छोरी हुँ वा म छोरीमान्छे हुँ भन्ने ठान्नुभन्दा पनि म आमा, बाबा, परिवार र देशको एक जिम्मेवार नागरिक हुँ भन्ने महसुस गर्ने गरेकी छिन् भन्ने हामीलाई लाग्छ ।
घरदेखि पाउँदै आएँ समानताको अभ्यास

– सोफिया थापा, गायक तथा अध्यापक
लैङ्गिक हिसाबले मैले मेरो घरमा कहिल्यै भेदभाव भोग्नु परेन । मैले आफ्नो पढाइ र लक्ष्यका लागि महिला भएकै कारण रोकिनु परेन । जति अवसर मेरो भाइले पाउँथ्यो, त्यति नै मैले पनि पाएँ । मलाई कुनै पनि कुरामा रोकतोक भएन ।
अझै सानोमसिनो गरी कुरा गर्ने हो भने, भान्सामा पकाउनेदेखि भाँडा माझ्नेसम्मका सबै काम सबैले गर्थ्याैं । यस्ता काम ड्याडीले पनि गर्नुहुन्थ्यो, अहिले पनि गर्नुहुन्छ । मेरो भाइले पनि गर्छ । जोसँग समय हुन्छ, उसैले यस्ता काम गर्ने अभ्यास हामी गर्थ्याैं ।
जब मैले बिहे गरेँ, तब यता श्रीमान्काे घरमा पनि उस्तै अभ्यास हुने गरेको पाएँ । बिहेपछिको घरमा पनि त्यस्तै अभ्यास छ हाम्रो । दुवै जनाले एकअर्कालाई सहयोग गर्छौं । मैले श्रीमान्कै कारण वा बिहे भएकै कारण अहिलेसम्म कतै पनि रोकिनु परेको छैन ।
निर्णय लिने कुरामा होस् वा कामको लागि घरबाट एकाबिहानै निस्किने क्रममा होस् वा अबेर राति फर्किंदा होस्, हामी एकले अर्कोलाई प्रश्न गर्दैनौँ । हामी आ–आफ्नो कामको लागि असल नियतले हिँडिरहेका छौँ भन्ने कुरामा दुवै जनामा एकअर्काप्रति विश्वास छ ।
आर्थिक आत्मनिर्भरताको कुरामा पनि हामी दुवै जनाले बराबरी कमाइ गरिरहेका छौँ । मेरो पेसागत कुरा गर्दा कलेज पढाउँछु र गीत सङ्गीतका क्षेत्रमा आबद्ध छु । म शिक्षणलाई पनि कला नै मान्छु । त्यो हिसाबले भन्दा शिक्षण पेसाका साथै गीत र सङ्गीत दुवै क्षेत्रका कलाको माध्यमबाट केही परिवर्तन हुनुपर्छ भनेर कोसिस गरिरहेको हुन्छु ।
लैङ्गिकविभेदका विरुद्ध ठाउँठाउँमा आवाज उठाउने गरेको छु । जहाँ आफूलाई अलिकति बोल्नुपर्छ भन्ने लागेको हुन्छ, त्यहाँ आवाज उठाउँछु । कुनै ठाउँमा महिलाको केसमा अन्याय भएको छ भने त्यो विषयमा तत्कालै आवाज उठाउँछु । त्यसरी आवाज उठाउँदा सम्बोधन पनि भएको छ ।
मैले आवाज उठाएको विषयमा बहस भएको पनि पाउँछु । त्यसरी बहस हुनु भनेको एक हिसाबले सम्बोधन हुनु हो भन्ने मलाई लाग्छ ।
अब गीत सङ्गीतको कुरामा भन्दा धेरैले सङ्गीतलाई मनोरञ्जनका रूपमा मात्रै लिइरहेका हुन्छन् । म भने सङ्गीतको माध्यमबाट चेतना फैलाउन सकिन्छ है, सङ्गीत पनि चेतना फैलाउनका लागि एउटा सशक्त माध्यम हो भन्नेमा विश्वास गर्छु । यस कारण मैले सङ्गीतमार्फत् विभेदविरुद्ध आवाज उठाउने गर्छु । मैले गाउने गीत सङ्गीत लैङ्गिक समानताको पक्षमा हुन्छ र तिनमा विभेदविरुद्धको सन्देश हुने गर्छ ।
जहाँ जहाँ समस्या छ, त्यहाँ त्यो समस्याको विषयमा मैले गीत बनाउने कोसिस गर्छु । चार वर्षअघि तीजको बेलामा ‘अबको तीज, नो व्रत प्लिज’ र एसिड पीडितले भोगेका पीडाका बारेमा ‘आवाज खोज्छु’ जस्ता गीत गाएको छु ।
‘अनहर्ड पिपुल’ का आवाजहरू मैले महसुस गर्न र बोल्न सकूँ जस्तो मलाई लाग्छ । महिलामाथि सामाजिक सांस्कृतिकरूपमा हुने विभेदका कुरालाई गीत सङ्गीतको माध्यमबाट पनि चेतना फैलाउन सकिन्छ भन्ने मलाई लाग्छ र त्यो काम गरिरहेको छु । कक्षा कोठामा पढाउँदा र गीत सङ्गीतका दुवै क्षेत्रमा मैले यस्ता काम गरिरहेको छु ।
मलाई यस्तो लाग्छ

– यश कुमार, गायक
समानता, यो अधिकार हो कि व्यवहार हो, धेरैको आ–आफ्नै तरिकाको बुझाइ हुन्छ । मेरो विचारमा कुनै श्रीमान्ले मैले बिहे गरेर ल्याएको श्रीमती हो भनेर उनले मेरो हरआवश्यकताहरू विनाविरोध पूरा गर्नुपर्छ भन्ने सोच राख्छ भने त्यहाँ समानता र सम्मान दुवै भएन ।
एउटा व्यक्तिले अर्को व्यक्तिलाई आफू सरह स्थान दिन्छ, सम्मान गर्छ, चाहे त्यो आमाबुबाले सन्तानलाई गर्ने व्यवहार होस् वा सन्तानले अभिभावकलाई गर्ने व्यवहार, त्यसमा समानता र सम्मान दुवै हुन्छ ।
कुनै आमा वा बुबाले मेरो छोराले मैले भनेको मान्नुपर्छ, ऊ मेरो अदबमा रहनुपर्छ, म उसको आमा वा बुबा हो भन्ने सोचाइ मात्र राखेर समानता हुँदैन । त्यसरी सम्मान पनि पाइँदैन । सन्तानले पनि मलाई जन्माएपछि मैले भनेको कुरा आमाबुबाले पूरा गर्दिनैपर्छ भन्ने सोच राखेर व्यवहार गर्नु भएन ।
कुनै एउटा अफिसको कुरा गर्ने हो भने, माथिल्लो तहमा काम गर्ने हाकिम होस् वा तल्लो तहमा काम गर्ने ‘जुनियर’, दुवै जना कर्मचारी हुन्, ‘सर्भिस होल्डर’ हुन् । दुवै खालका कर्मचारीको उपस्थिति र जिम्मेवारीपूर्ण कामले मात्रै एउटा संस्था वा ‘अर्गनाइजेसन’ अघि बढ्न र सफल हुन सक्छ । कार्यालयको काममा उनीहरूले हामी दुवै जना मिलेर नै संस्था अगाडि बढाएका छौँ भनेर सोच्नु नै समानता हो ।
मेरो कार्यक्षेत्रको कुरा गर्ने हो भने ‘जुनियर’ कलाकार, जो माथि आउन सङ्घर्ष गरिरहेको छ र मैले उसलाई ‘यो जुनियर हो’ भनेर गलत व्यवहार गरेँ भने त्यो असमान व्यवहार हो । त्यहाँ मैले असमानता गरेँ ।
मेरो बुझाइमा समानता भनेको अधिकारको कुरा गरेर बोल्नु मात्रै होइन, बोल्नुभन्दा पनि बढी व्यवहारमा लागू गर्नुपर्ने विषय हो । यस्तो लाग्छ, एउटा व्यक्तिले जब आफूलाई ‘सुपेरियर’ ठान्छ, तब गलत सोच र संस्कारलाई स्विकारेर तल र माथि भन्दै तहतह थप्दै जान्छ । त्यहीँनेर उसको सोचाइ र व्यवहारमा असमानता भइहाल्यो ।
हामीकहाँ धनी र गरीबबिच सम्मान रहेन, असमानता रह्यो भन्ने विचारहरू पनि छन् । गरीबको आफ्नै तरिकाको धरातल छ । त्यसमा आफ्नै किसिमको सहजता पनि हुन सक्छ । धनीको पनि आफ्नै तरिकाको सहजता हुन सक्छ । उसँग छैन, भए पनि कम छ तर मसँग धेरै छ भन्ने सोचले आपसमा असमान व्यवहार गराउँछ ।
असमान व्यवहार गर्ने कुरा सम्बन्धित व्यक्तिको विचारमा भर पर्छ । यसैले हुनुपर्ने के हो भने ‘हामी सबै मानव हौँ’ भन्ने कुरालाई पहिले स्वीकार गर्नुपर्छ । हाम्रो काम गर्ने शैली, हाम्रो अवस्था, हामी बाँचिरहेको परिवेश र शैली फरक हुन सक्छ तर पनि ‘हामी सबै मान्छे नै हौँ’ भन्ने सोच राख्न सक्नुपर्छ ।
तपाईं सही व्यक्ति हुनुहुन्छ भने अर्को व्यक्तिलाई पनि समानता र सम्मानपूर्ण व्यवहार अवश्य गर्न सक्नुहुन्छ । समान व्यवहार पाउन र सम्मानित हुनका लागि कहिलेकाहीँ आफू र अरूमाथि भइरहेको असमानताको विरोध पनि गर्नुपर्छ । कसैमाथि असमानता भइरहेको देखेर पनि सहनुभयो र चूप रहनुभयो भने पनि तपाईंले सम्मान पाउन सक्नुहुन्न । यसैले तपाईंले असमान सोच र व्यवहारको विरोध पनि गर्न सक्नुपर्छ । त्यो तपाईंको अधिकारभित्र पनि पर्छ । मलाई यस्तो लाग्छ ।
समान कामसँगै सामूहिक आवाज उठाउँदै

– देवीकुमारी बस्नेत, कलाकार तथा गायक
मेरो विचारमा लैङ्गिक समानता भनेको महिला र पुरुष नभनी दुवैलाई समान दृष्टिकोणले हेर्नु हो । दुवैले समानरूपले काम गर्नु र गर्न पाउनु नै समानता हो । व्यावहारिकरूपमा हरेक क्रियाकलापमा समानता देखिनुपर्छ भन्ने पनि बुझेको छु ।
घर र घरायसी कामको कुरा गर्दा म माइतीमा हुँदा पनि हाम्रो परिवारमा घरभित्रको काम महिलाले र बाहिरको काम पुरुषले गर्ने भनेर बाडँफाड गरेको हुँदैनथ्यो । आमाबुबाको हामी छोरा र छोरी दुवै थियौँ । चार छोरी र एक छोरा गरी हामी पाँच जना थियौँ । हामीबिचमा पनि यो काम छोराले गर्नु हुँदैन अथवा यो चाहिँ छोरीले नै गर्नुपर्छ भनेको थाहा छैन । मलाई छोरी भएकै आधारमा यो गर्नैपर्छ भनेको महसुस पनि भएन ।
म जन्मेहुर्केको सल्यानमा हो । हाम्रो गाउँसमाजले भान्सा, चुलोचौकोको काम महिलाले गर्ने अनि हलो जोत्ने जस्तो बाहिरको काम पुरुषले गर्ने भन्ने गाउँघरतिर थियो तर हाम्रो घरमा थिएन । मेरो आमाले हलो पनि जोत्नुभयो । घरको खाना पकाउनेदेखि लुगाधुनेसम्म बुवाले पनि गर्नुभएको मलाई याद छ । सकेको काम सबैले गर्ने गर्थ्याैं । हामी घरमा जसको फुर्सद हुन्छ त्यसैले मिलीजुली काम गर्ने गर्छौं ।
मेरो बिहेपछि श्रीमान् अनि मेरो ससुराबुवाले पनि घरभित्रको काम गर्नुहुन्छ । महिलाले यो काम र पुरुषले यो काम गर्नुपर्छ भन्ने माइतीमा पनि थिएन । बिहे गरेको घरमा पनि छैन ।
म विगत एक दशकदेखि कलाकारिता क्षेत्रमा छु । महिलाको निम्ति महिला मञ्च नेपाल (ओफोन) को सदस्य भएको ६ वर्ष भयो । ओफोनद्वारा सञ्चालित ‘सांस्कृतिक समूह’ को संयोजकको भूमिकामा डेढ वर्षदेखि काम गर्दैछु ।
ओफोन ‘मनोरन्जन तथा सत्कार’ क्षेत्रमा कार्यरत महिलाहरूले मात्रै खोलेको संस्था हो । यसमा श्रमिक महिलाहरूको मात्र आवाज उठाउने ठाउँ थियो तर अहिले अलि व्यापक भएको छ । हामीले सांस्कृतिक समूहमा लोकगीतमार्फत् लैङ्गिक समानता र लैङ्गिक अधिकारका सवाललाई गीत सङ्गीतको माध्यमबाट उठाउँदै आएका छौँ ।
लोकदोहोरी भाकामा महिला तथा लैङ्गिक सवालमा केन्द्रीत भएर हामी गीत गाउँछौँ । हामी उत्पीडित वर्गले पनि अधिकार पाउनुपर्छ भन्ने पक्षमा छौँ । संस्थामा महिला, पुरुष तथा अन्य लैङ्गिक पहिचान भएका व्यक्तिहरू सबै मिलेर समान ढङ्गले काम गरिरहेका छौँ । लैङ्गिक समानता हुनुपर्छ भनेर दोहोरी साँझमा महिला, पुरुषलगायत सबै श्रमिकका लागि आवाज उठाउँछौँ ।
घरपरिवार, समाजदेखि देशमा पनि महिलालाई हेर्ने दृष्टिकोणमा अहिले पनि परिवर्तन भएको छैन । महिलाले पाउनुपर्ने अधिकार पनि पाएका छैनन् । ३३ प्रतिशत सहभागिताको अधिकार पाउने, समानता हुने भनिए पनि महिलाले त्यो पाएका छैनन् ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय (एल्जिबिटिआइक्युआरप्लस) का मानिसका लागि कानुन छैन । कानुन भइदिए समाजका मानिसले उहाँहरूलाई बुझिदिने थिए । यस कुरामा सरकारी निकायबाट ध्यान पुर्याए उहाँहरूले पनि समानताको अनुभूति गर्ने अवसर पाउनुहुन्थ्यो कि भन्ने लाग्छ ।
मनोरञ्जन क्षेत्रमा काम गर्ने सबै समुदायका श्रमिकले समानरूपले पारिश्रमिक पाउनुपर्ने आवाज उठाउँछौ । महिलाले मात्र पारिश्रमिक नपाएको हुँदैन र महिलालाई मात्र हिंसा भइरहेको हुँदैन । कतिपय ठाउँमा पुरुषले पनि पारिश्रमिक नपाउने र पुरुषलाई पनि हिंसा हुने हुन्छ । यसैले लैङ्गिक विभेदविरुद्ध आवाज उठाउँदा हामी समावेशी तरिकाले नै उठाउने गर्छौं ।
प्रकाशन मिति : २०८१ चैत्र ५ गते, मङ्गलवार