८ मार्चको संस्मरण
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चका नामले पनि चिनिन्छ । नेपालमा यो दिवसलाई पञ्चायतकालमा नारी दिवस भनिन्थ्यो । त्यसलाई व्यवस्थाविरोधी गतिविधिका रूपमा उपयोग गर्ने जमात पनि थियो ।
पञ्चायत व्यवस्था पक्षधर र विपक्षमा रही भूमिगत राजनीति गर्नेहरूले छुट्टाछुट्टै हेतुले पनि यो दिवस मनाउने गर्थे । ८ मार्चलाई पञ्चायतकालमा भूमिगत राजनीति गर्ने महिलाहरूले आ–आफ्नै तरिकाले पनि मनाउँथे ।
विश्वको कुरा गर्दा, सन् १९०८ मा ८ मार्चको दिन अमेरिकाको न्युयोर्कमा श्रमिक महिलाहरू भेला भएर उचित काम, कामको पारिश्रमिक र मताधिकारको माग राख्दै र्याली निकालेका थिए । यसलाई श्रमिक महिलाहरूले आफ्नो अधिकारको माग राख्दै सङ्गठित रूपमा उत्रिएको विश्वकै पहिलो घटना मानिन्छ ।
सन् १९१० मा डेनमार्कको कोपनहेगनमा ‘कन्फरेन्स अफ वर्किङ वुमन’ नामक सम्मेलन भयो । त्यसमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुपर्ने प्रस्ताव आयो । महिलावादी जर्मन नागरिक क्लारा जेट्किनबाट आएको त्यो प्रस्तावमा विभिन्न देशका सहभागी एक सय महिलाले सर्वसम्मत सहमति जनाएपछि डेनमार्क, जर्मनी, स्वीट्जरल्यान्डलगायत देशमा सन् १९११ को ८ मार्चमा श्रमिक महिला दिवस मनाइयो ।
विश्वले यो वर्ष ११५औँ श्रमिक महिला दिवस मनायो । यो वर्षको नारा सबै महिला र बालिकाहरूका लागि अधिकार, समानता र सशक्तीकरण रहेको थियो ।
पञ्चायतकालको अन्तिम दशकतिर यो दिवस मनाएका नेपाली महिलाहरू अहिले जीवनको उत्तरार्धमा पुगेका छन् । उनीहरूले देशका विभिन्न जिल्लामा रहेर ८ मार्च मनाउँदाका ती दिनलाई सामाजिक अभियानसँग जोडेको र भूमिगत राजनीति गरेको सम्झना गरे ।
पाँच दशकअघि विद्यार्थी आन्दोलन, शिक्षक आन्दोलन र जनआन्दोलनसँग जोडेर पनि महिलाहरूले नारी दिवस मनाएका थिए । जनआन्दोलन हुनुभन्दा केही अघिका वर्षदेखि वामपन्थी राजनीतिमा लागेका महिलामध्ये केहीले यो दिवसलाई पार्टी गतिविधिसँग जोडे भने केहीले महिला अनन्दोलनसँग । अनि केहीले कहिले विद्यालयको शिक्षक हुँदा त कहिले क्याम्पसको विद्यार्थी रहेका बेला आफूले फरक शैलीमा पनि यो दिवस मनाएको बताए ।
हामीले चार जना महिलाको अनुभव यसअघि ८ मार्चका दिन प्रस्तुत गरिसकेका छौँ । आज पनि त्यस्तै अनुभव भएका चार जना महिलाको भनाइलाई ल्याएका छौँ । यी चारमध्ये तीन जनासँग हालै अर्थात् २०८१ फागुनमा टेलिफोन कुराकानी गरिएको थियो भने एक जनाको यसअघि ‘सन्धान’ मै प्रकाशित/प्रसारित ‘२०४६ सालको जनआन्दोलनको अनुभव’ शृङ्खलाबाट ८ मार्चको सन्दर्भलाई लिइएको छ ।
प्रस्तुत छ, नेकपा मालेको स्थायी समिति सदस्य तथा अखिल नेपाल प्रगतिशील महिला संघको केन्द्रीय अध्यक्ष जनककुमारी चालिसे, शिक्षण पेसामै तीन दशकभन्दा बढी संलग्न, २०४४ सालमा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र संघकै नुवाकोट जिल्ला सदस्य सुशीला थापा, नेकपा एमालेको केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले (स्वकथन, २०८० असार १९ गते प्रकाशित/प्रसारित) र जनता समाजवादीका नेता तथा प्रतिनिधि सभा सदस्य सुशीला श्रेष्ठको स्वकथन ।
खतरा भए पनि जुलुसमा गएरै मनाएको

– जनककुमारी चालिसे
म १४–१५ वर्षदेखि नै वामपन्थी निकट राजनीतिक विचारधारामा लागेर हिँडेँ । २०३५ सालदेखि तत्कालीन अवस्थामा प्रतिबन्धित पार्टी नेकपा मालेसँग आबद्ध भएर काम गरेँ । २०३६ सालको विद्यार्थी आन्दोलनमा पनि सहभागी भएँ, ताहाचल क्याम्पस पढ्दै थिएँ ।
मार्च ८ को कुरा गर्दा नेपालमा सबैभन्दा पहिला धनकुटामा शिक्षक महिलाहरूले मनाएको भन्ने छ । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बनेपछि तत्कालीन सरकारको तर्फबाट भनेर तत्कालीन रानीको अध्यक्षतामा मनाउँथे । पञ्चायती व्यवस्थाइतरका हामी भने छुट्टै तरिकाले मनाउँथ्यौँ ।
जिल्लाजिल्लामा पञ्चायत पक्षधर महिलाहरूको संघ हुन्थ्यो । उनीहरू खुलारूपमा मनाउँथे तर हामी पञ्चायती व्यवस्थाको विरोधी भएकाले खुलारूपमा मनाउन पाइँदैनथ्यो । बहुदलीय व्यवस्था नआउँदासम्म हामी धेरैजसो लुकेर नै मनाउने गर्थ्याैं । २०३७ सालमा म शिक्षक भएर सिन्धुली गएँ र शिक्षक आन्दोलनमा जोडिएँ । त्यो सालमा ठुलो शिक्षक आन्दोलन भएको थियो ।
शिक्षक भएर सिन्धुलीमा एक वर्ष जति जागिर खाएपछि मेरो बिहे भयो र काठमाडौँमै बस्ने अवस्था भयो । म पहिलो पटक २०३८ फागुन २४ गते रत्नपार्कबाट सडकमै जुलुस निकालेर अस्कल क्याम्पस पुगेर छलफल गरेको कार्यक्रममा सहभागी भएकी थिएँ । त्यो नारी दिवस मनाउने दिन थियो ।
व्यक्तिगत कुरा गर्दा म त्यतिबेला गर्भवती थिएँ । त्यो जुलुसमा सहभागी भएको एक हप्तापछि नै मेरो छोरा जन्मिएको । जुलुसमा जाँदा पुलिसले पक्राउ गर्ने सम्भावना थियो तर पनि डर लागेको थिएन । त्यतिबेला डर लाग्दैनथ्यो, बरु अहिले सम्झिँदा चाहिँ डर लाग्छ, म त बच्चा जन्मिने अवस्थामा पो थिएँ भनेर ।
जुलुसमा हाम्रो मुख्य नारा ‘नमितासुनिता हत्याकाण्डको दोषीलाई कारवाही गर’ भन्ने थियो । काठमाडौँका दिदीबहिनी नमिता र सुनिताको पोखरामा हत्या भएको थियो । त्यतिबेला ‘महिलाहरूलाई स्वतन्त्ररूपमा सङ्गठन गर्ने अधिकार दे’, ‘बहुविवाह, बालविवाह गर्न बन्द गर’, ‘समान कामको समान ज्याला कायम गर’, ‘संसारभरिका महिला एक हौँ’ भन्ने जस्ता नारा पनि लाउँथ्यौँ ।
‘महिलालाई प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर’, ‘पैत्रिक सम्पत्तिमा समान अधिकार हुनुपर्छ’ भन्ने नारा अलि पछिका वर्षहरूबाट लगाउन थाल्यौँ ।
शिक्षक जागिर छोडेर काठमाडौँ आएपछि फेरि विद्यार्थी राजनीति गर्नुपर्छ भन्ने उद्देश्यले म पद्मकन्या क्याम्पसमा भर्ना भएँ । विद्यार्थी हुँदा विद्यार्थी राजनीति गरेँ, शिक्षक हुँदा शिक्षक राजनीति गरेँ । अहिलेसम्म निरन्तर राजनीतिमै छु । हेर्दाहेर्दै पाँच दशक हुन लागेछ । अहिले त मार्च ८ खुलारूपमा बाहिर निस्केर मनाउन पाएका छौँ ।
आन्दोलनको जग जस्तै थियो नारी दिवस

– सुशीला थापा
म २०३५/३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा चासो राख्ने भएँ । चितवनको एउटा विद्यालयमा पढ्थेँ । त्यसपछि २०३७ सालमा २०–२५ जना महिला जम्मा भएर नारी दिवस मनाएका थियौँ । यसरी मनाएको चितवनकै भीमसेन नगर भन्ने गाउँमा हो । त्यो बेला नारी दिवसको नेतृत्व गर्नेहरूको अहिले निधन भैसक्यो । महिलाभन्दा पुरुषहरूकै अगुवाइमा भएको थियो । पुरुषकै बढी नेतृत्व थियो ।
म त्यतिबेला एसएलसी (अहिलेको एसइई) दिने तयारीमा थिएँ । अहिले अलिअलि याद छ, नारी दिवस भने पनि पञ्चायत व्यवस्थाविरोधी क्रियाकलाप थियो त्यो । नारी दिवसलाई माध्यम बनाएर महिलालाई सचेत बनाउने र सशक्तीकरण गर्ने उद्देश्य थियो । त्यही उद्देश्यले गरिएको पञ्चायतविरुद्धको आन्दोलन थियो त्यो ।
महिलाहरू घरबाट बाहिर निस्कन नपाउने, अहिले जसरी बोल्न नपाउने, पढ्न नपाउने अवस्था थियो । सानैमा बिहे गरिदिने चलन थियो । त्यसपछि बाहिर निस्किने इच्छा हुँदाहुँदै पनि महिलाले घरमै र घरको काममै सीमित हुनुपर्थ्याे । धनी परिवार, धनाढ्य घरका छोरीचेलीहरूले मात्र विद्यालय जान पाउँथे । त्यहीँ पनि छोरा र छोरी अनि छोरी र बुहारीमा विभेद हुन्थ्यो ।
छोरीहरू अधिकारविहीन थिए । आमाबुवा र अभिभावकले चाहे भने मात्र तिनले विद्यालय गएर पढ्न पाउँथे । त्यसकारण धनी, गरिब सबैका छोरीहरूले पढ्न पाउनुपर्छ भन्ने कुरा मनमा उठ्ने गर्थ्याे । महिलाहरू पढ्न र अगाडि बढ्न पाउन पर्छ भनेरै हामी विद्यालय जान पाएका सचेत छोरीहरू राजनीतिमा सक्रिय भएका थियौँ ।
म २०३८ सालमा काठमाडौँ आएँ र पद्मकन्या क्याम्पसमा पढ्ने भएँ । त्यतिबेला क्याम्पस नजिकै बागबजारमै डेरामा बस्थेँ । २०३९/४० सालतिर कहिले हो, यकिन समय याद भएन मलाई अहिले, तैपनि त्यो ७५औँ नारी दिवस थियो कि जस्तो लाग्छ । क्याम्पसमा साहित्यकार पारिजात, उहाँलाई दिदी भन्थ्यौँ हामी, उहाँकै प्रमुख आतिथ्यमा नारी दिवस विशालरूपमा मनाइएको थियो ।
पञ्चायतविरोधी आन्दोलनमा केन्द्रित थियो त्यो वर्षको नारी दिवस । त्यतिबेला पम्फा भुसाल, पारिजात, शशी श्रेष्ठलगायत सक्रिय हुनुहुन्थ्यो । उहाँहरूको सक्रियतामा पद्मकन्या क्याम्पसमा नारी दिवस मनाइएको थियो । अहिले जस्तो खुला भएर मनाउन पाइँदैनथ्यो, भूमिगतरूपमा लुकिछिपी मनाउनुपर्थ्याे त्यतिबेला । व्यवस्थाविरोधी आन्दोलनमा धेरै विद्यार्थी सक्रिय थिए । मलाई लाग्छ, त्यो नारी दिवस पनि पञ्चायती व्यवस्थाविरुद्धको एक प्रकारको आन्दोलन नै थियो ।
म २०४१ सालतिर लमजुङमा पढाउन गएँ । त्यहाँ तीन वर्ष पढाएँ । लमजुङको भैरव मावि पहिले निमावि स्तरको थियो । विद्यालयको अवस्था पनि नाजुक थियो । महिलाहरूले पढ्न नपाउने भएकाले छोरीलाई विद्यालय पठाउनुपर्छ भन्ने अभिभावक पनि थिएनन् । मलाई लाग्छ, सुरक्षाको चिन्ता पनि हुँदो हो ।
म शिक्षक भएर लमजुङ गएपछि विद्यालय नजिकका केही अभिभावकले छोरीलाई पनि पढ्न पठाउन थाले । मलाई देखेर छोरीले पनि पढ्दा रहेछन्, पढाउँदा रहेछन् भन्ने अवस्था भयो । त्यतिबेला त्यहाँका धेरै छोरीहरूले पढ्ने अवसर पाए । उनीहरूले पढ्ने आँट पनि गरे ।
म शिक्षक भएर त्यहाँ गएपछिको पहिलो वर्ष मेरो अगुवाइमा विद्यालयमै सीमित राखेर नारी दिवस पनि मनाइयो । अरू महिलाहरूलाई बोलाएको तर आउनु भएन । उहाँहरू आउन पाउनु पनि भएन, किनकि घरबाट बाहिर निस्किने वातावरण थिएन । त्यसैले हामीले विद्यार्थीहरूकै माझमा स–साना बालबालिकाहरूलाई छोरीहरू र महिलालाई घरसमाजमा गरिँदै आएको भेदभाव ठिक होइन भनेर सुसूचित गराउँदै मनायौँ ।
लमजुङमै २०४३ सालमा पञ्चायती पक्षधर महिला संघको एक जना स्थानीय दिदी हुनुहुन्थ्यो, हाम्रै नाता पर्ने, उहाँलाई सभाको अध्यक्ष र एक जना पुरुष शिक्षकलाई प्रमुख अतिथि बनाएर पनि नारी दिवस मनाएका थियौँ । उहाँहरूले सामान्यरूपमा नारी दिवस मात्र मनाइन्छ भन्ने सोच्नुभयो होला । त्यतिबेला म उद्घोषक थिएँ । त्यहाँ शोषणका कुरा, महिला अग्रसर हुनुपर्ने र शोषणरहित समाजको सिर्जना गर्नुपर्ने कुरा उठाएँ ।
हामीमध्ये केहीले शोषण र महिलाका कुरालाई उठाएर शोषणरहित समाजको सिर्जना गर्नुपर्छ भनेर बोल्यौँ । त्यसले सभाका अध्यक्ष र प्रमुख अतिथिलाई खिन्न बनाएछ । अनि कार्यक्रम सकेर जाने बेलामा तीतो अनुभव व्यक्त गर्नुभयो । ‘तिमीहरूले हामीलाई धोका दियौ’ भने जसरी कुरा गर्नुभयो । हामीले नारी दिवस मनाउने क्रममा हाम्रो राजनीतिक उद्देश्य पनि पूरा भयो भन्ने ठान्यौँ ।
पढाउन छोडेर म २०४४ सालमा स्नातक तह पढ्न फेरि काठमाडौँ आएँ । त्यो वर्ष त्रिचन्द्र क्याम्पसमा पनि बृहत्रूपमा नारी दिवस मनाइएको याद छ । त्यसमा मेरो खास भूमिका थिएन, सहभागी मात्र भएकी थिएँ । मलाई लाग्छ, त्यो पनि पञ्चायती व्यवस्थाविरुद्धकै आन्दोलनको तयारीका लागि बनाइएको एउटा जग थियो ।
पञ्चायतकालमा नारी दिवसलाई अभियानको रूपमा लिएर महिलालाई सरिक गराउने, सचेत बनाउने र राजनीतिमा कसरी सङ्गठित गराउन सकिन्छ भन्ने नै हाम्रो उद्देश्य हुन्थ्यो । काठमाडौँमा हामीले जे जति नारी दिवस मनायौँ, ती सबैलाई कार्यक्रमको रूप दिने काम पम्फा भुसाल र साहित्यकार पारिजातको सक्रियतामा गरिन्थ्यो ।
मुक्तिचोकमा महिलाहरूको जुलुस

– मेनुका काफ्ले
म सात कक्षामा पढ्दा २०३५/३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी भएँ । १५ वर्षकै उमेरदेखि राजनीतिमा लागेँ । त्यो बेला अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा सङ्गठित थिएँ । हाम्रो घरमा पार्टीहरूको बैठक बस्थ्यो । सिनियरहरूले लिउलान्को चित्रकथा र किताबहरू दिनुहुन्थ्यो ।
डिल्ली दाइले २०३७ साल पुसमा म जस्तै पाँच जना दिदीबहिनीलाई जम्मा गरी ‘अध्ययन दल’ भनेर बनाइदिनुभयो । यस्तै कुराहरूले मलाई कम्युनिस्ट बन्न प्रेरित गरे र म कम्युनिस्ट राजनीतिमा सरिक भएँ । स्कुलबाट घर पुगेर भोकभोकै बेलुका गाउँगाउँमा बैठक, छलफल गर्न हिँड्थ्यौँ ।
एसएलसी (हालको एसइई) २०४० सालमा दिएँ । त्यसपछि राजनीतिमा झन् क्रियाशील हुनको लागि २०४१ सालमा घर छोडेर हिँडेँ । २०४६ सालको जनआन्दोलनमा सक्रिय हुने क्रममा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्च पनि मनायौँ । त्यो वर्ष यो दिवस फागुन २४ गते परेको थियो ।
मार्च ८ का लागि पर्चा छपाउने सल्लाह भयो तर त्यहीँ छपाउन नसकिने भयो । त्यस्तो भएपछि इन्द्र बुढाथोकी र म सिलगुडी गयौँ, अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका दिन छर्ने भनेर पर्चा छपाउनका लागि । म पहिलो पटक त्यही बेला सिलगुडी गएको थिएँ ।
गएकै दिन सिलगुडीमा पर्चा छापिएन । इन्द्र बुढाथोकीले मलाई ‘तपाईं फर्किनुस्, म पर्चा लिएर आउँछु’ भन्नुभयो । म एक्लै डराई डराई फर्किएँ । पानीट्याङ्की कति बेला आइपुग्छ भन्दै मुटु ढुकढुक हुँदै आएँ र पानीट्याङ्कीमा उत्रिएँ । त्यसपछि काँकडभित्ता आएर आफ्नो कार्यक्षेत्रतिर लागेँ ।
फागुन २४ गते ८ मार्चको दिन । आठ वटा पार्टीका झन्डा अनि अखिल नेपाल महिला संघ (अनेमसंघ) को झन्डा र प्लेकार्डसहित मुक्तिचोकमा चारतिरबाट एकैचोटि १२ बजे जुलुस निकाल्ने योजना थियो । त्यही भनेर तयारी गरी त्यो दिन महिलाहरूको जुलुसको आयोजना गर्यौँ । ८ मार्चलाई महिलाहरूकै कार्यक्रम गर्ने भनेर त्यसो गरेका थियौँ ।
जुलुसमा एकैचोटि निस्कने क्रममा त्यतिबेला ३२ जना महिलाहरूलाई गिरफ्तार गर्यो । त्यो गिरफ्तारीमा परेका साथीहरू कतिले हामी घुम्न आएको भनेपछि उहाँहरूलाई ट्राफिक कार्यालयमा राखेर छोड्यो । ३२ जनामा २० जनालाई छोडिदिएको थियो ।
घुम्न आएको भनेर छुट्न नचाहने १२ जना महिलाहरूलाई प्रहरीले जेल चलान गर्यो । त्यसमा गीता गजुरेल, टीका घिमिरे, जीवन घिमिरे, तारा काफ्ले, बबिता उप्रेती, कृष्णकुमारी पाठकलगायतका साथीहरू हुनुहुन्थ्यो । उहाँहरूलाई गिरफ्तार गरी जेल चलान गरियो ।
हामी त्यतिबेला भूमिगतरूपमा पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै अबका दिनमा कसरी आन्दोलन गर्ने भनेर छलफलतिर पनि लाग्यौँ । झापाको जिल्ला कमिटी नै गिरफ्तार भइसकेपछि पार्टीलाई कसरी अघि बढाउने भन्ने अन्योल थियो । त्यसका बिच पनि आन्दोलनमा लागिरह्यौँ ।
काठमाडौँमा के हुन्छ भनेर जिल्लामा रहेका हामी जानकारी लिनका लागि पर्खिन्थ्यौँ । काठमाडौँमा आन्दोलन चर्किएको समाचार आउँदा हामी यहाँ पनि जुर्मराउँथ्यौँ । त्यो आन्दोलन बहुदल प्राप्तिका लागि थियो । त्यो वर्षको ८ मार्चमा महिलाहरूले मुक्तिचोकमा निकालेको जुलुस पनि बहुदल प्राप्तिका लागि नै थियो ।
स्थानीय मुद्दा उठाउँथ्यौँ

– सुशीला श्रेष्ठ
म २०२८ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक आन्दोलनमा लागेँ । मैले बढी पूर्वका जिल्लाहरूमा काम गरेँ । म बढी गाउँगाउँमा विद्यार्थी, महिला र किसानहरूसँग नजिक भएर पञ्चायतकालमा पार्टीको काम गरेँ । पार्टी सङ्गठनको लागि तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रका १४–१५ वटा जिल्लामै पुगेँ । भूमिगत राजनीति गर्ने क्रममै म २०३६ सालमा मोरङमा गएँ ।
मार्च ८ मनाएको कुराभन्दा हामी त्यतिबेला बढी स्थानीय मुद्दा उठाउँथ्यौँ । मोरङको एउटा घटना सम्झिन्छु । मोरङको केही समुदायमा विवाह गरेका जोडीमध्ये, नवदुलहीले पहिलो रात त्यहाँ जमिनदारलाई दुलही दिनुपर्थ्याे । कसैको बिहे भयो भने त्यो दुलहीलाई जमिनदार लिन आउँथ्यो र लिन आएपछि पठाउनै पर्थ्याे । एकपटक त्यसरी दुलही लिन आएको जमिनदारलाई वरपरका सबै साथीहरू मिलेर आक्रमण पनि गरियो ।
स्थानीय गाउँका महिलाहरू, गरीब, किसानहरूमाथि भइरहेका यस्ता विभिन्न खालका मुद्दाहरू पञ्चायतमा हामी उठाउँथ्यौँ । अन्याय र अत्याचारको विरुद्धमा, महिलाहरूमाथि तथा आमजनसमुदायलाई भइरहेको विविधखाले हिंसा हुन्थ्यो, तिनैका विरुद्धमा हामीले राजनीति गरेको ।
मार्च ८ मा पनि व्यवस्था परिवर्तनदेखि नेपाली महिलाको अवस्था परिवर्तन हुनुपर्छ भन्थ्यौँ । स्थानीयस्तरदेखि नै जनचेतना जगाउँथ्यौँ । त्यहाँ भएका क्रूरता र अन्याय अत्याचारका विरुद्धमा आवाज उठाउनका लागि स्थानीयलाई सङ्गठित गर्यौँ ।
म २०३७ सालको साउनतिर भोजपुर गएँ । तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रमा १४–१५ वटा जिल्ला थिए । पूर्वतिर भएकाले धेरै काम मैले भोजपुरमा गरेँ । सङ्खुवासभा, खोटाङ जिल्लामा रहेर पनि काम गरेँ । त्यसपछि २०३९ सालदेखि अखिल नेपाल महिला संघ (अनेमसंघ) को केन्द्रमा जोडिएँ । महिला संघबाट मैले त्यहाँका धेरै जिल्लामा पुगेर विद्यार्थी, महिला र किसानहरूलाई सङ्गठित गर्ने काम गरेँ ।
हामीले २०३७ साल फागुन १७ गते अखिल नेपाल महिला संघ पुनर्गठन गर्यौँ । पुनर्गठित महिला संघमा म परिनँ किनभने मलाई हिँड्न, डुल्न गाह्रो थियो । गाह्रो भएको कारणले मलाई पार्टीले सिफारिस गरेसरह भयो । २०३९ सालदेखि अनेमसंघको केन्द्रीय कमिटी राखियो र मैले त्यसको सदस्य भएर काम गरेँ ।
पञ्चायतकालमा, बहुदल ल्याउनु केही अगाडि मार्च ८ मनाउँदा साथीहरूले खुलारूपले जुलुस निकाल्नुभयो । त्यसरी खुलारूपमा जुलुस र्याली त विष्णु ओझा (हाल समावेशी आयोग सदस्य) हरूले मनाउनुभयो तर अन्य ठाउँहरूमा त्यसरी खुलेर गर्न गाह्रो थियो । म त्यतिबेला पूर्वमा भएकाले हामीले भूमिगतरूपमा त्यहाँका स्थानीय मुद्दामा काम गर्नका लागि स्थानीय महिलाहरूलाई सङ्गठित गर्ने काम गर्यौँ ।
अन्याय अत्याचारमा भएका कुराहरू, स्थानीय मुद्दाहरूलाई बढी उठाउँथ्यौँ । त्यतिबेला महिला मात्र होइन, पुरुषहरू पनि सङ्गठित भएका थिए । महिला अधिकार स्थापित गर्नका लागि, सामाजिक मान्यता, सामाजिक अधिकारको रूपमा महिला अधिकार स्थापित गर्नका लागि हामीले बल गरेका थियाैँ ।
प्रकाशन मिति : २०८१ चैत्र २ गते, शनिवार
यो पनि पढ्नुहोला