Home Elaborations शिक्षण पेसामा महिला : विभेदको विश्वव्यापी प्रवृत्ति

शिक्षण पेसामा महिला : विभेदको विश्वव्यापी प्रवृत्ति


राजकुमार बराल

विश्वमा, विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षण पेसामा पुरुषको तुलनामा महिलाको सङ्ख्या धेरै छ र त्यो सङ्ख्या द्रुत गतिमा बढ्दो छ । नेपालमा भने विद्यालय र विश्वविद्यालय तहमा महिला शिक्षकको सहभागिता कम छ । यस सन्दर्भमा शिक्षण पेसामा महिला सहभागिताको सवालमा गहन नीतिगत विमर्श जरूरी देखिएको छ ।

बढ्दो सङ्ख्या

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साबिकको शिक्षा विभाग) को २०७७ सालको तथ्याङ्कअनुसार, नेपालका निजी, सामुदायिकलगायत सबै प्रकारका आधारभूत विद्यालयमा महिला शिक्षक ४४.२ प्रतिशत र पुरुष शिक्षक ५५.८ प्रतिशत छन् । त्यस्तै, माध्यमिक तहमा महिला शिक्षक २०.८ प्रतिशत र पुरुष शिक्षक ७९.२ प्रतिशत छन् । विद्यालय शिक्षाको सबै तहमा महिला शिक्षक ३९.५ प्रतिशत मात्र छन् । पुरुष शिक्षक ६०.५ प्रतिशत छन् । यो तथ्याङ्कले नेपालका सार्वजनिक विद्यालयमा महिला शिक्षकको सङ्ख्या निकै कम देखाउँछ । नेपालका निजी र सामुदायिक विद्यालयको तुलना गर्दा सामुदायिक विद्यालयको आधारभूत तहमा महिला शिक्षक ४०.३ प्रतिशत छन् भने पुरुष शिक्षक ५९.७ प्रतिशत । त्यस्तै, निजी विद्यालयको सोही तहमा महिला शिक्षक ५४.७ प्रतिशत छन् भने पुरुष शिक्षक ४५.३ प्रतिशत छन् । सामुदायिक विद्यालयको माध्यमिक तहमा महिलाको हिस्सा १९.० प्रतिशत मात्र छ भने पुरुष शिक्षकको ८१ प्रतिशत छ । त्यस्तै, निजी विद्यालयतर्फ माध्यमिक तहमा महिला शिक्षक २४.२ प्रतिशत छन् भने पुरुष ७५.८ प्रतिशत छन् ।

समग्रमा नेपालका सार्वजनिक विद्यालयका सबै तहमा महिला शिक्षकको सङ्ख्या पुरुषको तुलनामा कम छ। युरोपेली सङ्घमा आबद्ध २७ वटा देशमा पनि पुरुषको तुलनामा महिला शिक्षकको सङ्ख्या ज्यादा छ । सन् २०१७ को तथ्याङ्कअनुसार, युरोपेली सङ्घका ६० लाख शिक्षकमध्ये ७२ प्रतिशत महिला छन् ।

समग्रमा नेपालका सार्वजनिक विद्यालयका सबै तहमा महिला शिक्षकको सङ्ख्या पुरुषको तुलनामा कम छ। निजी विद्यालयतर्फ आधारभूत तहमा महिला शिक्षकको सङ्ख्या पुरुषको तुलनामा ९.४ प्रतिशतले बढी भए पनि निजी विद्यालयको माध्यमिक तहमा पुरुष शिक्षकको तुलनामा महिला शिक्षक ५१.६ प्रतिशतले कम छन् ।

भारतलगायत विश्वका अन्य देशको अवस्था नेपालको भन्दा बिल्कुल फरक छ । २०२१ जुलाई ५ मा टाइम्स अफ इन्डिया मा प्रकाशित समाचारअनुसार भारतमा महिला शिक्षकको सङ्ख्याले पुरुष शिक्षकको सङ्ख्यालाई उछिनेको छ । भारतका कुल ९६ लाख ८० हजार शिक्षकमध्ये ४९ लाख २० हजार महिला छन् । त्यहाँ पनि ६–७ वर्षअघिसम्म महिला शिक्षकको सङ्ख्या पुरुष शिक्षकको तुलनामा धेरै कम थियो । सन् २०१२/१३ मा भारतमा पुरुष शिक्षक ४२ लाख ४० हजार थिए भने महिला शिक्षक ३५ लाख ८० हजार मात्र थिए । यो तथ्याङ्कअनुसार, सात वर्षको अन्तरालमा भारतमा ३७ प्रतिशतले महिला शिक्षकको सङ्ख्यामा वृद्धि भएको छ । भारतमा महिला शिक्षकको सङ्ख्या अन्य राज्यभन्दा केरलालगायत दक्षिणी राज्यमा ज्यादा छ । उत्तरी राज्यहरूमा महिला शिक्षकको सङ्ख्या पुरुष शिक्षकको दाँजोमा कम छ । दक्षिण एसियाली मुलुकहरूमध्ये माल्दिभ्स र श्रीलंकामा पनि महिला शिक्षकको सङ्ख्या ज्यादा छ । नेपाल, अफगानिस्तान र पाकिस्तानमा भने महिला शिक्षकको सङ्ख्या पुरुष शिक्षकको दाँजोमा कम छ ।

अस्ट्रिया, अस्ट्रेलिया, बेल्जियम, क्यानाडा, चिली, कोलम्बिया, कोस्टारिका, चेक गणराज्य, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, आइसल्यान्ड, आयरल्यान्ड, इजरायल, इटाली, जापान, कोरिया, लाट्भिया, लक्जेम्बर्ग, मेक्सिको, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, पोल्यान्ड, पोर्चुगल, गणतन्त्र स्लोभाक, स्लोभेनिया, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, टर्की, बेलायत र अमेरिका गरी ३८ वटा देशमा महिला शिक्षकको सहभागिताको अवस्था नेपालको भन्दा फरक देखा पर्छ । यी देशहरूमा महिला शिक्षकको सङ्ख्या सन् २००५ मा औसतमा ६१ प्रतिशत थियो । सन् २०१० मा त्यो सङ्ख्या ६५ प्रतिशत पुग्यो भने सन् २०१४ मा ६८ प्रतिशत । अमेरिकामा कुल शिक्षकमध्ये ७४.३ प्रतिशत महिला छन् भने २५.७ प्रतिशत मात्र पुरुष छन् । अमेरिकामा महिला शिक्षकको सङ्ख्या वार्षिक १ प्रतिशतका दरले वृद्धि भइरहेको देखिन्छ भने जापानमा सबभन्दा बढी वार्षिक १५ प्रतिशतका दरले महिलाहरू शिक्षण पेसामा प्रवेश गरेको देखिन्छ । माथिका ३८ वटा देशको तथ्याङ्कले औसतमा पूर्व प्राथमिक तहदेखि उच्च शिक्षासम्म महिला शिक्षकको हिस्सा दुई तिहाइ रहेको देखाउँछ ।

युरोपेली सङ्घमा आबद्ध २७ वटा देशमा पनि पुरुषको तुलनामा महिला शिक्षकको सङ्ख्या ज्यादा छ । सन् २०१७ को तथ्याङ्कअनुसार, युरोपेली सङ्घका ६० लाख शिक्षकमध्ये ७२ प्रतिशत महिला छन् । युरोपको लाट्भियामा सर्वाधिक अर्थात कुल शिक्षकमा ८७ प्रतिशत महिला छन् । लिथुआनियामा ८५ प्रतिशत र बुल्गेरिया र इस्टोनियामा ८३–८३ प्रतिशत महिला शिक्षक छन् । युरोपका कतिपय देशमा महिला शिक्षकको तुलनामा पुरुष शिक्षकको सङ्ख्या अत्यन्त कम छ । उदाहरणको लागि रसियामा पाँच शिक्षकमध्ये चार जना अर्थात् ८० प्रतिशत शिक्षक महिला छन् । प्रायः विकसित देशहरूमा महिला शिक्षकको सङ्ख्या धेरै भए पनि जापानमा अलि फरक स्थिति छ । जापानमा महिला शिक्षक ४८ प्रतिशत छन् भने पुरुष ५२ प्रतिशत । जापानमा महिला शिक्षक कम हुनामा त्यहाँ पुरुषको तुलनामा महिलाहरू श्रमबजारमै कम आउनुलाई कारण ठानिएको छ ।

पूर्वप्राथमिकदेखि विश्वविद्यालय तहमा प्रतिनिधित्वको अवस्था हेर्दा माथिल्ला तहमा महिला शिक्षकको सङ्ख्या घट्दै गएको पाइन्छ ।

थपिँदो चुनौती

अमेरिका, युरोपेली सङ्घमा आबद्ध देश तथा हाम्रै छिमेक भारतमा महिला शिक्षकको बढ्दो ग्राफलाई हेर्दा शिक्षण पेसामा महिलाहरूको आकर्षण र वर्चस्व सुदृढ हुँदै गएको देख्न सकिन्छ । शिक्षण पेसामा लैङ्गिक अन्तराल घट्नु सकारात्मक हुँदाहुँदै पनि यससँग जोडिएका अन्य कैयौँ पेचिला प्रश्न र जटिलताप्रति आँखा चिम्लिन मिल्ने अवस्था छैन । विद्यालय शिक्षाका तल्ला तहमा महिला शिक्षकको सङ्ख्या धेरै अनि माथिल्ला तह र उच्च शिक्षामा महिला शिक्षकको सङ्ख्या ज्यादै कम रहेको देखिन्छ । पूर्वप्राथमिकदेखि विश्वविद्यालय तहमा प्रतिनिधित्वको अवस्था हेर्दा माथिल्ला तहमा महिला शिक्षकको सङ्ख्या घट्दै गएको पाइन्छ । उल्लिखित ३८ वटा देशको अवस्था हेर्दा पूर्वप्राथमिक तहमा महिला शिक्षकको सङ्ख्या ९७ प्रतिशत र प्राथमिक तहमा ८२ प्रतिशत रहेको देखिन्छ । मावि तहमा महिला शिक्षक ६३ प्रतिशत छन् भने उच्च शिक्षामा ४३ प्रतिशत छन् । रुसमा चाहिँ प्राथमिकदेखि उच्च शिक्षासम्मै महिला शिक्षकको सङ्ख्या ठुलो छ ।

विकसित देशहरूमा महिला शिक्षकको सङ्ख्या बढ्ने र पुरुषको घट्ने प्रवृत्तिले शिक्षण पेसामा लैङ्गिक अन्तरालको नयाँ चिन्ता पैदा गरेको छ । त्यहाँ शिक्षण पेसामा पुरुषको कम प्रवेश अनि पुरुष शिक्षकहरू उमेरका कारण सेवानिवृत्त हुँदै जाँदा निकट भविष्यमा पुरुष शिक्षकको सङ्ख्या निकै नै घट्न सक्ने देखिएको छ । तुलनात्मक रूपमा महिला–पुरुष शिक्षकबिचको अन्तराल कम रहेको जापानमा पनि पछिल्लो समयमा शिक्षण पेसामा पुरुषको प्रवेश कम रहेको देखिन्छ ।

‘शिक्षण पेसामा पुरुषको सङ्ख्या किन कम छ ?’ भन्ने प्रश्नलाई केन्द्रमा राखेर अध्ययन गरिएका विद्यार्थीमध्ये ४२ प्रतिशत र शिक्षकमध्ये ४५ प्रतिशतबाट आएको पहिलो जवाफ ‘विद्यालय तहको शिक्षण आमाको भूमिकासँग सम्बन्धित क्षेत्र भएकाले महिलालाई उपयुक्त हुने काम हो’ भन्ने थियो ।

शिक्षण पेसामा महिला र पुरुषको महत्त्व र प्रभाव तथा व्यक्तिको पेसा छनोटको सोचलाई प्रभाव पार्ने पक्षहरूका बारेमा विश्वमा अनुसन्धान हुन थालेका छन् । शिक्षण पेसामा पुरुषहरूको सङ्ख्या किन घट्दै गइरहेको छ भन्नेबारे आयरल्यान्डमा भएको एक अध्ययनले ‘महिलाको बच्चासँग प्राकृतिक आकर्षण हुन्छ र महिलाहरू नै पुरुषको तुलनामा राम्रो प्राथमिक शिक्षक बन्न सक्छन्’ भन्ने आमधारणाका कारण पुरुषहरू शिक्षण पेसाको मूल प्रवेश विन्दु (प्राथमिक तहको शिक्षक हुन) बाटै तर्किएको देखाएको छ । ‘शिक्षण पेसामा पुरुषको सङ्ख्या किन कम छ ?’ भन्ने प्रश्नलाई केन्द्रमा राखेर अध्ययन गरिएका विद्यार्थीमध्ये ४२ प्रतिशत र शिक्षकमध्ये ४५ प्रतिशतबाट आएको पहिलो जवाफ ‘विद्यालय तहको शिक्षण आमाको भूमिकासँग सम्बन्धित क्षेत्र भएकाले महिलालाई उपयुक्त हुने काम हो’ भन्ने थियो । उनीहरूको दोस्रो जवाफ ‘शिक्षण पेसाप्रति आकर्षण नभएका कारणले’ भन्ने थियो । तेस्रो जवाफ ‘विद्यालय तहको शिक्षण, अझ विशेषगरी प्रावि तहको शिक्षण कार्य धेरै तनावपूर्ण हुने र यो पेसामा धेरै धैर्य चाहिने हुँदा शिक्षक हुन आकर्षण नभएको’ भन्ने थियो । शिक्षण पेसामा कम सेवा–सुविधा हुनु यसप्रतिको कम आकर्षणको कारक हो भन्ने गरिन्छ । तर, उक्त अनुसन्धानमा पुरुषहरूले शिक्षण पेसालाई कम आकर्षक मान्नाको चौथो कारणका रूपमा मात्र तलब सुविधालाई उल्लेख गरेका थिए ।

विश्वव्यापी रूपमा महिला शिक्षकको सङ्ख्या बढ्ने प्रवृत्ति तीव्र भए पनि महिला शिक्षकहरू प्राथमिक तहमा ज्यादा केन्द्रित हुनु र माथिल्ला कक्षाहरूमा कम रहनु सबैका निम्ति सोचनीय छ । त्यस्तै, शिक्षण संस्थाको नेतृत्व गर्ने सवालमा पनि महिला शिक्षकहरू पछि हट्ने गरेको अध्ययनहरूले देखाएका छन् । उल्लिखित ३८ वटा देशमा सन् २०१६ मा कुल शिक्षकमध्ये ६८ प्रतिशत महिला थिए भने प्रधान अध्यापक चाहिँ ४५ प्रतिशत मात्रै थिए । युरोपियन पार्लियामेन्ट्री रिसर्च सर्भिसको प्रतिवेदनअनुसार, हालैका अध्ययनहरूले पुरुषको तुलनामा महिला शिक्षकले प्रधान अध्यापक हुने र शिक्षालयको नेतृत्व गर्ने कम चाहना राख्ने गरेको देखाएको छ । नेपालमा पनि महिला प्रधान अध्यापकको सङ्ख्या अत्यन्तै कम छ । यसको कारण खोतल्नुपर्ने देखिन्छ ।

पेसा छनोट र वृत्ति–विकासको सन्दर्भ सामाजिक तथा ऐतिहासिक प्रक्रियामार्फत आएको पितृसत्ता तथा मातृसत्तात्मक सोचबाट प्रभावित भएको देखिन्छ । विकसित देशमा महिलाहरूको जीवनचर्या घरायसी कामबाट ‘शिक्षण पेसामा महिलाकरण’ तर्फ उन्मुख छ भने नेपाल, अफगानिस्तान, पाकिस्तान जस्ता विकासशील मुलुकका महिला सामाजिक, सांस्कृतिक, आर्थिक कारणले गर्दा यो सन्दर्भमा अझै पछाडि छन् ।

कुनै पनि पेसामा महिलाको सङ्ख्या उच्च भयो र त्यो पेसाको ‘महिलाकरण’ भयो भने त्यहाँ तलब तथा सेवा–सुविधा कम हुने सम्भावना बढ्छ ।

युरोपियन इन्ष्टिच्युट फर जेन्डर इक्वालिटीको लैङ्गिक विभेदसम्बन्धी एक प्रतिवेदनले युरोपेली सङ्घका सदस्य देशहरूमा पूर्वप्राथमिक विद्यालयको शिक्षक, नर्स, सुँडेनी, घरायसी तथा व्यक्तिगत हेरचाहका कामहरू ‘महिलाको मात्रै’ ठान्न थालिएको र इन्जिनियरिङ र प्रविधिगत क्षेत्रमा पुरुषहरूको प्रभुत्व स्विकारिएको देखाएको छ । यस्तो सोचले नेपाललगायत दक्षिण एसियाका देशहरूमा पनि गहिरोसँग जरा गाडेको छ ।

कुनै पनि पेसामा महिलाको सङ्ख्या उच्च भयो र त्यो पेसाको ‘महिलाकरण’ भयो भने त्यहाँ तलब तथा सेवा–सुविधा कम हुने सम्भावना बढ्छ । उन्नाइसौँ शताब्दीको अन्त्य र बिसौँ शताब्दीको सुरूमा बेलायत र फ्रान्समा महिलालाई पुरुषको तुलनामा थोरै ज्याला दिँदा पनि हुने भएको कारण त्यहाँको शिक्षण पेसामा महिलाको सङ्ख्या धेरै हुन पुगेको थियो । त्यसले समग्र शिक्षण पेसामै नकारात्मक प्रभाव पारेको थियो । सोभियतकालीन समयमा पूर्वी युरोपका कम्युनिस्ट सरकार भएका देशमा डाक्टरी पेसामा पनि महिला सङ्ख्या अत्यधिक हुने गर्दथ्यो र त्यहाँका महिला डाक्टरहरूले थोरै तलब पाउँथे । अहिले पनि नेपाल जस्ता विकासशीलदेखि विकसित देशमा समेत थोरै तलब तथा सेवा–सुविधा दिँदा हुने, महिलाका लागि विद्यालयमा समय बिताउन उपयुक्त हुने आदि कारणले निजी विद्यालयहरूमा महिला शिक्षकको सङ्ख्या धेरै छ । यस्ता देशका महिला शिक्षकले निजी विद्यालयमा राज्यले तोकेको मापदण्डभन्दा कम र बाँच्नै कठिन पर्ने तलब तथा सेवा–सुविधा पाउँदै आएका छन् । विकासोन्मुख देशहरूमा मात्र नभएर विकसित देशहरूमा समेत यस्तो विभेद भेटिन्छ । जिप्पिया डट कम का अनुसार, अमेरिकाका पुरुष शिक्षकको तुलनामा महिला शिक्षकले ९५ प्रतिशत मात्रै तलब तथा सेवा–सुविधा पाउँछन् । यो न्याय तथा शिक्षाको गुणस्तर प्रवर्द्धन गर्ने दृष्टिले चिन्ताको विषय हो ।

शिक्षा क्षेत्रमा महिला शिक्षकको सहभागिता पुरुष बराबरी हुनु राम्रो भए पनि महिलाको सङ्ख्या धेरै हुनु र त्यो दिनदिनै बढ्दै जानु अनि पुरुषको अनुपात घट्नु विश्वव्यापी चिन्ता र चासोको विषय हो । यसले लैङ्गिक समता, समानता र सामाजिक न्याय व्यवस्थालाई खलल पुर्‍याउँछ नै, विद्यार्थी र शैक्षिक संस्थाको गुणस्तरमा समेत प्रभाव पार्छ । नेपालले भने शिक्षण पेसामा महिला शिक्षकलाई अझै आकर्षित गर्नु जरूरी छ । साथसाथै शिक्षण पेसामा समान लैङ्गिक सहभागिता, पेसागत अथवा विषयगत पक्षमा निरन्तर सबलीकरण र प्रोत्साहन कार्यक्रमहरूसमेत अघि सार्नु जरूरी छ ।

सन्दर्भ सामग्री

Burchell, B., Hardy, V., Rubery, J., & Smith, M. (2014). A New Method to Understand Occupational Gender Segregation in Europen Labour Markets. European Commission – Directorate-General for Justice.

Jha, J., Minni, P. & Ahmed, M. (2020). Teachers and Teaching Profession in South Asia: CBPS Working Paper. Center for Budget and Policy Studies

Katsarova, I. (2020). Teaching: A Woman’s World. European Parliament.

Ministry of Finance (2021). Economic Survey 2077/78 (in Nepali). Nepal Government.

OECD (2021). Education at a Glance: OECD Indicators. OECD Publishing. https://doi.org/10.1787/b35a14e5-en

TNN (2021 July 5). For first time, more women teachers in schools than men. The Times of India. https://timesofindia.indiatimes.com/city/bengaluru/for-1st-time-morewomen-teachers-inschools-than-men/articleshow/84129488.cms

Zippia (n.d.). Teacher turnover and employment statistics. Zippia: the Career Expert https://www.zippia.com/teacher-jobs/demographics/

(द स्टोरी किचेन/सन्धान र ‘शिक्षक’ मासिकको सहकार्य )

प्रकाशन मिति : २०७९ जेठ २३, साेमवार