Home Elaborations ‘हरेक महिलाले पहिला आफ्नो बारेमा साेच्न सके आफ्ना सपना र सिर्जनशीलता हराउन...

‘हरेक महिलाले पहिला आफ्नो बारेमा साेच्न सके आफ्ना सपना र सिर्जनशीलता हराउन पाउँदैन’ -लक्ष्मी आचार्य, दाङ


दाङमा बसेर पत्रकारिता र सामाजिक अभियानमा दुई दशकभन्दा बढीदेखि क्रियाशील हुनुहुन्छ, लक्ष्मी आचार्य । पारिवारिक जिम्मेवारी सँगसँगै सामाजिक तथा पेशागत जिम्मेवारीमा खट्ने महिलाहरूले एकसाथ निर्वाह गर्दै आए जस्तै उहाँले पनि दोहोरो/तेहेरो जिम्मेवारी सम्हाल्दै पत्रकारिता तथा सामाजिक अभियानमा क्रियाशील हुनुहुन्छ । प्रस्तुत छ, सन्धानका तर्फबाट लक्ष्मी बस्नेतले गर्नुभएकाे संवादमा आधारित आचार्यकाे जीवन भोगाइ र कामको अनुभव :

म आइए (प्रमाणपत्र तह) पढ्दै थिएँ बिहे हुँदा । म अपरिपक्व नै थिएँ । स्कुल पढ्दा राम्रो विद्यार्थीमा गनिन्थेँ । घर, स्कुल, परिवार सबैतिर धेरै पढ्नुपर्छ, ठूलो मान्छे बन्नुपर्छ भन्ने सुन्दासुन्दै ती कुरा आफ्नै सपना बनेका थिए । २०४६ सालमा बहुदल आएपछि राजनीतिक सभाहरू हुन्थे । म पनि सुन्न जान्थेँ । राजनीतिक सभाहरूमा सुनिने देश र बोलिने जनताका विषयले मलाई गहिरो प्रभाव पार्न थाल्यो । यही बीचमै स्कुल पढ्दैदेखि केही गर्नुपर्छ भन्ने लाग्ने म, त्यो ‘केही’ नखुट्याउँदै वैवाहिक जीवनमा बाँधिनुपर्ने अवस्था आयो । विवाहको प्रस्ताव आउँदा मेरो पढाइमा अवरोध हुँदैन भनेर बुवाआमाले सुनाएपछि मलाई अरू कुराको चासो भएन । प्रगतिशील विवाहको प्रस्ताव आएको थियो, त्यसले पनि बिहेपछिका भोगाइ सहज भइहाल्छन् नि भन्ने त्यो बेला मेरो बुझाइ थियो ।

सोचेजस्तो सहज कहाँ हुनु ? विवाहपछिका दिन त्यति सहज भएनन् । बिहेपछि अर्को घरमा गएर आफूले देखेको सपना पूरा गर्न सजिलो थिएन । शिक्षित नै भए पनि परिवारले बुहारीका बारेमा सोचेर सहज वातावरण बनाइदिने कमै हुन्थ्यो । उमेर जति होस्, क्षमता होस्–नहोस्, परिवारको आवश्यकता पूरा गर्नु हरेक बुहारीको कर्तव्य जसरी हाम्रो ‘माइन्ड वास’ गरिएको हुन्छ नि त ! म पनि त्यही मानसिकताको ‘सिकार’ भएँ । बिहेपछिका करिब दस वर्ष यसरी नै बिते । ती दस वर्षमा दुई सन्तान हुर्काउँदै, कलेज नगई स्वअध्ययन गरेरै मैले स्नातक तह पूरा गरेँ । पछि मास्टर्स (स्नातकोत्तर तह) पनि स्वअध्ययनबाटै पूरा गरेँ । ती दस वर्षमा मैले आफैँले जे भोगेँ, जे देखेँ, जीवनलाई जसरी बुझेँ, त्यसले मलाई जबरजस्ती पत्रकारितासँगै सामाजिक अभियानमा जोड्न बल पुर्‍यायो ।

विवाहपछिको जीवन महिलाका लागि सजिलो अप्ठेरो भन्ने कुराहरू परिवारभित्रको व्यवहार कति प्रगतिशील छ भन्ने कुराले निर्धारण गर्ने रहेछ ।

‘प्रगतिशील’ बिहे र ‘बुहार्तन’

मेरो बिहेताका प्रगतिशील बिहे गर्ने एक किसिमको लहर नै थियो । दाइजो विरोधी अभियान पनि चल्थे । खासगरी बामपन्थी, प्रगतिशील विचार राख्नेहरूबीच मागी विवाह पनि दाइजो, गरगहनाको प्रदर्शन नगरी साधारण तरिकाले हुन्थे । मेरो बुवाआमा र मेरो श्रीमान् दुवैतिर राम्रो चिनजान भएका व्यक्ति हुनुहुन्थ्यो, सहिद कृष्णसेन इच्छुक (तत्कालीन माओवादी नेता तथा पत्रकार) । उहाँकै प्रस्तावमा हाम्रो प्रगतिशील विवाह भएको थियो ।

प्रगतिशील बिहे भनेपछि अरू ‘बुहार्तन’ खेप्नुपर्दैन भन्ने मनस्थिति बन्दो रहेछ । तर, यो मेरो ‘केटाकेटी बुद्धि’ रहेछ जस्तो लाग्छ अहिले । किनकि, परिवारमा एउटाले प्रगतिशील विवाह भनिदियो, अरूले स्वीकार गरिदिए भन्दैमा पनि नहुँदोरहेछ । विवाहपछिको जीवन महिलाका लागि सजिलो अप्ठेरो भन्ने कुराहरू परिवारभित्रको व्यवहार कति प्रगतिशील छ भन्ने कुराले निर्धारण गर्ने रहेछ । त्यति बेलाको आफ्नो मनोदशा सम्झिँदा अहिले पनि निकै दुख्छ । परिवार खुसी पार्ने नाममा जे–जे गरियो, ती मैले बुझेको प्रगतिशीलतासँग कहीँकतै पनि मेल खाँदैनथ्यो । बिडम्बना त यो थियो कि मेरो त्यो मनोदशासँग सिंगो परिवार बेखबरजस्तै थियो । किनभने, सबैका दैनिकी पूर्ववत् नै थिए । दैनिकी थप सहज बनाइदिने बुहारी भित्रिएकी थिएँ । यो बीचमा म कहाँ छु भन्ने कुरा गौण विषय बनेको देख्दा पनि मन पिरोलिन्थ्यो । दैनिक जीवनका ‘सानातिना’ लाग्ने भोगाइले पनि मान्छेको जीवन कतातिर मोडिने भन्ने कुराले कति धेरै फरक पार्ने रहेछ ।

मेरो विवाह हुँदा नै ससुराबुवाको पत्रिका साप्ताहिक थियो । ससुराबुवा नारायणप्रसाद शर्माले २०३३ सालदेखि नै ‘युगबोध’ पत्रिका प्रकाशन सुरु गर्नुभएको थियो । ससुरासँगै मेरो श्रीमान् पनि पत्रकारितामै । पछि २०५५ सालदेखि साप्ताहिक पत्रिका ‘नयाँ युगबोध’ दैनिक रूपमा निकालिन थालियो । धेरै टाढा नभए पनि गाउँ र बजार दुईतिरको बसाइ थियो । बाबुछोरा दुवै पत्रिका र प्रेसको काम तथा राजनीतिक, सामाजिक काममा खट्ने भए पनि घरभित्रको विषयमा त्यति ध्यान नदिने । मैले खुलेर केही भन्न नसक्ने । जति प्रगतिशील भनिए पनि मेरो नजरमा ती विषयहरू दैनिक जीवनमा कहीँ देखिँदैनथे ।

श्रीमान् या ससुराबाट सिधै बिरोध, गाली या प्रताडना त्यस्तो त मैले केही अनुभव गरिनँ तर घरभित्रै पनि मेरा भोगाइहरू नबुझिदिँदा भित्रभित्रै पिल्सिन पुगेको अवस्था भने थियो । अर्कोले के भोगिरहेको छ अर्थात् मेरो मनमा के छ ? भन्ने बुझ्दै नबुझ्ने, महसुस नै नगरिदिने, मतलब नै नगर्ने । नबोलेपछि मान्छेको मनभित्र के छ, के छ भन्नेजस्तो लाग्थ्यो । अपरिपक्व उमेरमा बिहे हुँदा पनि घरभित्रका तमाम विषयहरूमा सहने, पिल्सिने अवस्था आए होला भन्ने लाग्छ ।

अहिले फर्केर हेर्दा, महिलाहरूले भोग्दै आएका तमाम उत्पीडन, हिंसा र पीडाको बारेमा केही गर्नुपर्छ भन्ने लागिरहेकै थियो । परिवार या बाहिर कसैको प्रोत्साहनले होइन, अन्तरमनबाट नै केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । पत्रिकामै लेख्छु भन्ने नै चाहिँ थिएन तर केही नगरी बस्न सक्ने अवस्थामा पनि थिइनँ । बच्चाहरू हुर्कंदै थिए । यस्तैमा पत्रकारिताको आधारभूत तालिमबारेको सूचना हातमा पर्यो । त्यही तालिम मेरो पत्रकारिता यात्राको पहिलो खुट्किलो बन्यो ।

२०५८ सालमा स्तम्भ लेखनबाट मैले पत्रकारिता सुरु गरेँ । लेखनलाई निरन्तरता दिँदै गएँ । ६ दिनको पत्रकारिता तालिमले मलाई मिडिया क्षेत्रमै लाग्नुपर्छ भन्ने बनायो । लेखनलाई निरन्तरता दिँदै गर्दा सुरुसुरुमा कतिले पत्याएनन् पनि । झण्डै दुईतीन वर्ष म लेखिरहने तर बाहिर चाहिँ यो त ‘अरूले नै लेखिदिएको’ हो कि भन्ने नै कुराहरू सुनिन्थे । मैले लेख्न छोडिनँ । बरु काम विस्तार भयो । महिलाका लागि सार्वजनिक काममा निस्कनै अप्ठेरो, निस्के विश्वास दिलाउनै अप्ठेरो । सजिलै विश्वास नगर्ने प्रचलन त अझै पनि छ । पछि रेडियोहरूमा पनि कार्यक्रम चलाउन थालेँ ।

रेणु दिदीसँगको कुराकानी र अध्यक्षको जिम्मेवारीले मलाई यस क्षेत्रमा अझ बढी जोडिन प्रेरित गर्यो । सामाजिक संस्थाहरूमा मेरो आबद्धता त्यही बिन्दुबाट आरम्भ भएको हो ।

२०६१ सालमा ‘पत्रकार महिला मञ्च’ नामक संस्था स्थापना गरियो । मञ्चको संस्थापक अध्यक्ष भएर काम गर्दै जाँदा कार्यक्षेत्र फराकिलो हुँदै गयो ।

खास गरेर पत्रकार महिला मञ्च गठन गरेर जिल्लामा महिला सवालमा कार्यक्रमहरू गर्न थालेपछि चाहिँ सामाजिक संघसंस्थाहरूसँग जोडिन पुगेँ । त्यति बेला म पत्रिकामा रिपोर्टिङ गर्थें । २०६४ सालको जेठतिर दाङमा महिला मानव अधिकार रक्षकहरूको भेला राखिएको थियो । भेलामा महिला मानव अधिकार रक्षक सञ्जालका संयोजक डा. रेणु अधिकारी आउने कुरा थियो । लोकतान्त्रिक आन्दोलन लगत्तैको समय थियो त्यो । डा. रेणु (रेणु अधिकारी) शान्ति पदयात्राको क्रममा पश्चिमतिरबाट दाङ आइपुग्दै हुनुहुन्थ्यो । म उहाँकै अन्तर्वार्ता लिने मुख्य जिम्मेवारीसहित त्यो भेलामा गएकी थिएँ । हाम्रो संस्थाको अध्यक्षको नाताले आमन्त्रित पनि थिएँ । पछि त त्यो भेलाले मलाई नै महिला मानव अधिकार रक्षक सन्जाल दाङको अध्यक्ष बनाएर पठायो । रेणु दिदीसँगको कुराकानी र अध्यक्षको जिम्मेवारीले मलाई यस क्षेत्रमा अझ बढी जोडिन प्रेरित गर्यो । सामाजिक संस्थाहरूमा मेरो आबद्धता त्यही बिन्दुबाट आरम्भ भएको हो । पछि सन्जालको पहिलो महाधिवेशनदेखि नै म केन्द्रीय समितिमा रहेकी छु ।

मानवअधिकार सम्बद्ध अरू संस्था तथा अभियानमा मेरो संलग्नता बाक्लिँदै गयो ।
म अहिले ‘नयाँ युगबोध’ राष्ट्रिय दैनिक पत्रिकाको सम्पादकको जिम्मेवारीमा छु । विगत दस वर्षदेखि महिला प्रधान पत्रिका ‘समरेखा’ द्वैमासिक म्यागजिन चलाइरहेको छु । महिला मानवअधिकार रक्षक सन्जालको केन्द्रीय सचिव र जिल्लास्थित नागरिक सन्जालहरूमा पनि छु । महिला हिंसाविरुद्ध, न्याय तथा दबाबमूलक अरू थुप्रै अभियानहरूमा मेरो नेतृत्व तथा संलग्नता रहँदै आएको छ ।

घरायसी र पारिवारिक जिम्मेवारीसँगै सामाजिक र पत्रकारिता क्षेत्रमा समेत हुँदा दोहोरो, तेहेरो जिम्मेवारी जीवनका अंग बनिरहेका छन् । मेरो अनुभवमा बुहारी भएर यी सबै जिम्मेवारी बहन गर्नु एकदमै अप्ठेरो छ । पहिले मात्रै होइन, अहिले पनि लगभग त्यस्तै छ भन्ने लाग्छ । हुन त अहिले बिहे गरेका महिला (बुहारी)हरू बाहिर विभिन्न पेशामा लागिरहेका छन् । विभिन्न क्षेत्रको ठूलो पदमा पुगिसकेका छन् तर विवाह भइसकेपछि प्रायः धेरै महिलाको मुख्य प्राथमिकता ‘बुहारी’ को भूमिकालाई कसरी राम्रो बनाऊँ भन्नेमै केन्द्रित हुन्छ । त्यसैले एकदमै गाह्रो चाहिँ अहिले पनि छ ।

जसरी महिलाहरू घरबाहिरका काममा हिस्सेदारी सम्हाल्न निस्किएका छन्, पुरुषहरू घरभित्रको कामको जिम्मेवारी सम्हाल्न गएका छैनन् । सार्वजनिक वृत्तमा काम गर्ने महिलाहरूमध्ये अधिकांश घरभित्रको समेत जिम्मेवारीको चाप थपेरै काम गरिरहेका छन् । बिहान सबेरै र रातसाँझ गरेर घरभित्रको काम सकेर बाहिर काममा निस्किएका छन् महिलाहरू । एकाधले परिवारभित्र सहयोग पाएका पनि होलान्, यो क्रम बढ्दै जाला तर अहिलेसम्म चाहिँ लगभग उस्तै छ । कामकाजी महिलाहरूको देख्छु, कतिले भन्छन्, आफू बाहिर काम गरेर घरमा कुनै हिसाबले व्यवस्थापन गरे पनि परिवारका सदस्यहरूको अपेक्षा चाहिँ उसै (बुहारी) ले नै पकाएर खुवाएहुन्थ्यो, बुहारीले नै यसो गर्दिएहुन्थ्यो, उसो गर्दिएहुन्थ्यो जस्तो गर्ने ।

तर, बुहारी बन्नेहरूले पनि आफ्नो खुसीलाई मार्नुभएन भन्छु । सपनाहरूलाई मर्न दिनुभएन । हामीले पनि हरेक कुरामा ‘कम्प्रोमाइज’ गर्न नहुने रहेछ । परिवारले बुझ्यो भने ठिकै छ, नबुझे पनि आफ्नो सृजनशील समय र उमेर घरभित्रै मात्र चाहिँ खेर फाल्नुहुँदैन । हुन त यस्तो कुरा कसैलाई परिवार, समाज बिगार्ने कुरा भन्ने आरोप लाग्ला, लाग्ने गरेको पनि छ तर अरूलाई खुसी दिँदा आफ्नो खुसी मार्नुपर्ने, अरूलाई सेवा दिँदा आफ्नो सपना र सृजनशीलता मार्नु चाहिँ हुँदैन नै भन्छु । घरभित्र बुहारीको भूमिकालाई महिलाको दृष्टिकोणबाट ‘री–थिङ्क’ गर्नैपर्छ । यसमा बहस र छलफल हुनैपर्छ ।

परिवारको साथको कुरा गर्दा, साथ दिनुपर्छ भन्ने त हो तर नदिए के गर्ने त ? त्यो अवस्थाको पनि आकलन गरेर मेरो यति समय घरपरिवारका लागि, यति चाहिँ मेरो करियरका लागि भनेर समयमै निर्क्योल गर्न नयाँ पुस्तालाई मेरो सुझाव छ । सुरुमा केही अप्ठेरो होला तर अन्ततः स्वयं आफ्नो र परिवारकै लागि त्यसले राम्रो गर्छ ।

आफ्नो आमाबुवाको सम्पत्ति दाजुभाइसरह पाएको छोरीको आत्मबल त पक्कै बलियो हुन्छ नि ।

विकासको दायरा फराकिलो बनाऔँ

परम्परागत रूपमा चलिआएका गलत अभ्यास, गलत परम्पराहरूलाई छोड्दै जानुपर्छ भन्ने सोचको विकास सबैमा हुनुपर्यो । मान्छेको सोच्ने तरिकाको विकास जति हुनुपर्ने त्यति हुन सकेन जस्तो लाग्छ । विकास भन्ने बित्तिकै भौतिक विकासलाई मात्र मानिँदै आइयो, जुन अहिलेसम्म पनि यथावत् नै छ । सडक, धारा बन्नुलाई मात्र विकास मान्ने गरिएको छ, यो एकथरी विकास होला तर विकासको परिभाषालाई अब फराकिलो बनाउनुपर्छ । आज पनि समाजमा लिङ्ग, जात, धर्म, परम्परा, संस्कारका नाममा कति धेरै गलत अभ्यास भइरहेका छन् । त्यस्ता गलत अभ्यासबाट बाहिर निस्कने सोचको विकासमा धेरै काम गर्नै बाँकी छ । सचेतनाका नाममा केही काम त गरिएका छन्, तिनले अपेक्षित परिणाम दिन सकिरहेका छैनन् । परिणाममुखी काम गर्नका लागि हाम्रा योजना प्रभावकारी बन्न सकिरहेका छैनन् ।

औपचारिकता पूरा गर्ने खालका एकाध योजना अघि सारेर सदियौँदेखि जरा गाडेर बसेको गलत सोच बदल्न संभव छैन । मानव विकाससँग, सोच परिवर्तनसँग जोडिएका योजनामा सरकारी बजेट साँघुरिदै गएको छ । बरु पहिला संघीय सरकार मात्रै हुँदा महिला सशक्तिकरणलगायतका लागि दस प्रतिशत बजेट छुट्टिन्थ्यो । ‘लक्षित वर्ग’ बजेट भनेर महिला, दलित, जनजाति, अपांगता आदि क्षेत्रमा सशक्तिकरणका लागि हुन्थ्यो तर मुलुक नयाँ संरचना गएपछि त्यसरी बजेट नै आउँदैन, तीन तहकै सरकारले लक्षित वर्गको बजेटलाई घटाउँदै लगेका छन् । छुट्टिएको बजेटबाट पनि कति गुणस्तरीय काम भएको छ भन्नेमा ध्यान पुगेको छैन । जनचेतना कार्यक्रमलाई नै पनि हेर्न सकिन्छ । कुनै तालिमको प्रशिक्षक भएर जाने व्यक्तिले सिकाउने कुरा एउटै हुनुपर्यो । लक्षित वर्गको स्पष्ट पहिचान होस्, स्पष्ट योजना र कार्यविधि, मापदण्डहरू होस् भन्ने हो । गर्ने प्रयास गरिएको छ तर ठिक बाटोबाट गइरहेको चाहिँ देखिँदैन । समयमै ठिक बाटोमा हिँडे त लक्ष्यमा पुगिने हो । तर, कार्यशैली चित्तबुझ्दो छैन ।

अहिले हरेक वडामा दुई जना महिला सदस्य छन् । धेरैजसोमा पालिकाको उपप्रमुख महिला नै छन् । ती उपप्रमुखहरूले सबै वडा सदस्यलाई भेला गरेर सक्रिय बनाउने गरेको देखिएकै छैन । कम्तिमा पालिकाभरिका महिला वडा सदस्य र दलित महिला वडा सदस्यलाई सशक्त बनाउन सकेको भए आगामी चुनावमा उनीहरू वडाध्यक्षको दाबी गर्न सक्थे होला । पालिकाको नीति तथा कार्यक्रम, योजना र बजेटमा महिलाहरूको सामूहिक जोडबल पुग्न सक्थ्यो । जनप्रतिनिधि महिलासम्म नपुगेको विकास आम महिलासम्म कहिले पुग्ला ?

त्यस्तै, भइरहेका कानुन कार्यान्वयनमा देखिएको उदासिनताले पनि हामीले उठाउँदै आएका विषयहरू अझै महिलाको जीवनसम्म पुगेका छैनन् । जस्तै– सम्पत्तिमा समान अधिकारको कुरा संविधानमा लेखिँदा कति छोरीले पैतृक सम्पत्ति पाएका छन् ? कति आमाबाबुले छोरीलाई सम्पत्ति दिएका छन् ? यो त राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, समाजका अगुवा सबैले लागू गरिसकेर आम रूपमा कार्यान्वयनको चरणमा गइसक्नुपर्ने होइन र ? आफ्नो आमाबुवाको सम्पत्ति दाजुभाइसरह पाएको छोरीको आत्मबल त पक्कै बलियो हुन्छ नि । नेतृत्वमा बस्नेहरू थाहा नपाए जसरी बसिरहेका छन् । यस्ता उदाहरण अरू पनि छन् । नीति कानुनहरू हेर्दा गर्न खोजे जस्तो, कार्यान्वयन र परिवर्तनको हिसाबले हात लाग्यो शुन्य भने जस्तो । न काम गर्ने शैली फेरिएको छ न तात्विक रूपमा सोच नै फेरिएको छ, यस्तो देख्दा कहिले परिवर्तन होला भन्ने लाग्छ । फेरि केही प्रयास त गर्दैछन्, बिस्तारै होलान् भनेर आशावादी हुनु पनि पर्यो ।

हरेक महिलाले पहिला आफ्नो बारेमा सोच्नुपर्छ । परिवारभित्र पनि एकले अर्काको कुरा सुन्ने, एकले अर्कोलाई सहयोग गर्ने वातावरण निर्माण गर्दै जान सके महिलाका रहर, सपना, सिर्जनशीलता र क्षमता संकुचित भएर हराउन पाउँदैन ।

पहिलो पदमा पुग्न कठिन

म पत्रकार महासंघको चुनावमा जिल्ला अध्यक्षको उम्मेदवार भएँ । यसबाट के अनुभव भयो भने पत्रकारको राजनीति फरक रहेछ । काँग्रेस, एमाले, माओवादी भनेर गरिने राजनीति पत्रकारिताभित्र पनि छर्लंगै देखिन्छ अझैसम्म । निर्वाचित भएपछि त पत्रकारहरूका लागि नै काम गरेको देखिन्छ । चुनावको सिंगो प्रक्रियाको कुरा गर्ने हो भने जग त फेरि त्यही राजनीतिक दलकै बाटो भएर गुज्रनुपर्ने । यस्तो परिवेश थाहा नभएको त होइन तैपनि हारजित जे भए पनि नेतृत्वमा जाने प्रक्रियामा सहभागी हुनु पनि ठूलो कुरा हो भनेर पनि उम्मेदवार बनेकी थिएँ ।

चुनावको प्रक्रियाबाट गुज्रिरहँदा यस्ता पेशागत संस्थाहरूका निर्वाचनमा भित्रिएका फोहोरी खेलसँग नजिकबाट अनुभव गरेँ । मुख्य चाहिँ अरू बेला थाहा पाएर पनि गौण ठानिएका विषय निर्णायक हुने रहेछन् । सिद्धान्त, निष्ठा, प्रतिबद्धता, पेशागत क्षमता मात्रैले चुनाव जितिँदो रहेनछ । आफूले नेतृत्व गरेको प्यानलभित्रको मत संख्या हेरेर मात्र पनि हुँदो रहेछन । सांगठिनक रूपमा बनेको एलायन्सभित्र आफैँ आबद्ध भएको प्रेस युनियनले अन्तर्घात गरिदिँदा म निर्वाचितमा पराजित भएँ ।

त्यस्तै, महिला भएकै कारण हिजोदेखिका ग्यापहरू हुँदा रहेछन् । पुरुष पत्रकारहरूसँग साँझ बिहानको बसाइ र त्यति बेला हुने हाइहेलोले पनि फरक पारेको हो कि ? महिलाको नेतृत्व स्वीकार्न कठिन भएको हो कि ? सल्यानमा जम्मा एक मतले महिलाले हार्नुभयो । सायद त्यहाँ पनि त्यस्तै सोचले काम गरेको हो । प्रमुख पद र त्यो कुर्सीमा महिला सकेसम्म नहोस् भन्ने अदृश्य सोचले काम गर्दा पनि मैले जित्न सकिनँ कि भन्ने लाग्छ ।

महिलालाई कुनै पनि क्षेत्रको पहिलो पदमा पुग्न सजिलो छैन भन्ने उदाहरण म पनि भएँ । कामको हिसाबले कम छैन, पत्रकारिता पेशामा अनुभव, क्रियाशीलता र निरन्तरतादेखि विषय उठानमा मज्जाले प्रतिस्पर्धामा उत्रिन र जित्न सकिन्छ । निर्वाचित भइसकेपछि संस्था सञ्चालनका हिसाबले कम हुन्नथेँ । यस्ता प्रश्नका आधारमा मलाई भोट नदिएको हो भन्ने पनि लाग्दैन । तर, नजित्नुको कारण चाहिँ  अघि मैले भनेका र गौण लागेका कुरा नै निर्णायक बने भन्ने लाग्छ । हामी निष्ठाको कुरा गर्छौं । निष्ठाको काम गर्नेहरूका लागि अझै समय आइसकेको रहेनछ भन्ने अनुभूति पनि गरेको छु । यसो भन्दैमा महिलाहरू चुनावी प्रतिस्पर्धामा आउन चाहिँ डराउनु हुँदैन ।

अन्तिममा के भन्छु भने हरेक महिलाहरूका लागि आफू जन्मेको घरमा कुनै पनि विभेदको सिकार हुनुनपर्ने परिवेशको जरुरी छ । छोरीलाई बच्चैदेखि दब्बु मानसिकतामा हुर्किन बाध्य पार्ने प्रचलनहरू अभिभावकले छाड्नैपर्छ । अपरिपक्व उमेरमै विवाह नगरिदिने, पढाइ र करियर या जीवनप्रतिको लक्ष्य निर्धारणमा सहयोगी बनिदिने, सहने नाममा सम्झौतापरस्त दब्बु मानसिकतामा धकेलिएर होइन, सबल, सक्षम र स्वाभिमानी भएर बाँच्न सिकाउने अभिभावकको खाँचो छ ।

आफू खुसी नभई परिवारलाई खुसी राख्न सकिँदैन । आफू सक्षम नभई परिवारलाई सबल बनाउन पनि सकिँदैन । यसका लागि पनि हरेक महिलाले पहिले आफ्नाे बारेमा सोच्नुपर्छ । आफ्नो कामलाई महत्व दिनैपर्छ । परिवारभित्र पनि एकले अर्काको कुरा सुन्ने, एकले अर्कोलाई सहयोग गर्ने वातावरण निर्माण गर्दै जान सके महिलाका रहर, सपना, सिर्जनशीलता र क्षमता संकुचित भएर हराउन पाउँदैन । त्यसो हुँदा महिलाको सिर्जनशीलता र क्षमताको लाभ महिला स्वयंले मात्र होइन, सिंगो परिवार अनि समाज र राज्यले नै प्राप्त गर्न सक्दछ । 

प्रकाशन मिति : २०७९ जेठ १९, बिहीवार