सङ्गठित तर विभाजन र विसङ्गतिको सिकार भएको अनुभव

Share this :

सन्धान सहकार्य

राणा शासनकालदेखि नै महिला अधिकारको लागि आवाज उठाउन थालेकी सहाना प्रधान नेपालको राजनीतिक व्यवस्था परिवर्तनको लागि भएको आन्दोलनको नेतृत्व गर्ने राजनीतिज्ञ हुनुहुन्छ । उहाँको जन्म १९८४ असार २७ गते काठमाडौँको असन टोलमा भएको थियो । उहाँ रम्भादेवी र शंकरलाल प्रधानका चार सन्तानमध्ये तेस्रो सन्तान हुनुहुन्छ ।

सहानाको बाल्यकाल बर्मा (हालको म्यान्मार) मा बितेको थियो । त्यहीँ उहाँ पढ्दै र हुर्किंदै गरेका बेला सन् १९३९ (१९९६ साल) दोस्रो विश्वयुद्ध सुरु भयो । विश्वयुद्धको प्रभावकै कारण २००१ सालमा सहानाका बुबाले परिवारै लिएर नेपाल फर्किनुभयो । सहाना र उहाँकी दिदी साधनाले नेपालमा फर्किएपछि पढ्न पाउनु भएन । त्यति बेला देशमा राणाशासन थियो र छोरीमान्छेहरूले पढ्न पाउँदैनथे ।

सहानाले धेरै ठाउँमा भन्ने गर्नुहुन्थ्यो– नेपाल आएर मैले पहिलोपटक छोरा र छोरीबिच फरक गरेको देखेँ, भोगेँ । आफ्नै दाइ र भाइ पढ्न जाने तर छोरीमान्छेले पढ्नै नपाउने चलन रहेछ । त्यसले गर्दा छोरीलाई पनि शिक्षाको अधिकार हुनुपर्छ भनेर बोल्न थालेँ ।

राणाशासनका बेला छोरी र महिला शिक्षा र मताधिकारका लागि राणा प्रधानमन्त्रीहरूसमक्ष मागपत्र पेस गर्ने अग्रमोर्चामा हुनुहुन्थ्यो सहाना । बर्मामा केही समय रहेर पढेका कारण उहाँमा परिवर्तनको चेत थियो । उहाँ र उहाँकी दिदी साधना नेपालमा महिला शिक्षा, महिलालाई पनि मतदानको अधिकार, पैत्रिक सम्पत्तिमा छोरा र छोरीको बराबरी हक लाग्नुपर्ने कुरामा राणा शासनकालदेखि नै आवाज उठाउने थोरै नेपाली महिलामा पर्नुहुन्छ ।

सहाना प्रधान प्रतिष्ठानद्वारा प्रकाशित ‘सहाना प्रधान : नेपाली महिला आन्दोलनकी शिखर व्यक्तित्व’ नामक पुस्तकका अनुसार, २००३ सालमा सहाना, साधनालगायत केही महिलाहरू छोरीले पनि पढ्न पाउनुपर्ने र मेट्रिक परीक्षा दिन पाउनुपर्ने माग लिएर श्री ३ पद्म शमशेरलाई भेट्न जानुभयो । पद्मशमशेरले उहाँहरूको मागमा सहमति जनाएपछि उहाँहरूले घरमै पढ्नुभयो । त्यसरी पढेर २००४ सालमा सहाना र साधना दुबैले दरबार हाइस्कुल पुगेर एसएलसी परीक्षा दिनुभयो र उत्तीर्ण हुनुभयो ।

राणाविरोधी आन्दोलनमा २००४ सालदेखि नै लाग्न थालिसकेकी सहाना सोही साल साउनमा स्थापना भएको नेपाल महिला संघको संस्थापक सदस्य हुनुभयो । सो संघका अध्यक्ष मंगलादेवी सिंह हुनुहुन्थ्यो । राणाविरोधी गतिविधिमा लाग्दै गर्दा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँग सहानाको भेट भयो । २०१० माघमा उहाँहरूको बिहे पनि भयो ।

बिहे भएको अर्को वर्ष छोरीको जन्म भयो । त्यसपछि सहाना घरपरिवारको काम र बच्चा हुर्काउनेतिर लाग्नुभयो । पुष्पलालको परिवार ठुलो थियो । सहानाले आयआर्जनमा योगदान गर्नका लागि स्कुल पढाउन थाल्नुभयो र करिब साढे दुई दशक शिक्षण पेसामै बिताउनुभयो ।

विसं २०३५ साउन ७ गते भारतको वनारसमा पुष्पलालको निधन भयो । निधन हुुनुअघि पुष्पलालले आफूलाई अब पार्टीको काम गर्नु है भन्नुभएको होला भन्ने सहानालाई लाग्यो । यो कुरा अलि विस्तारमा सुशीला श्रेष्ठले लेख्नुभएको ‘सहाना प्रधान : स्मृतिको आँखीझ्यालबाट’ नामक आत्मकथा पुस्तकको ९२ र ९३ पृष्ठमा उल्लेख छ ।

सहानाले श्रीमान्‌विनाका दिनहरू बिताउँदै गर्दा नेपालमा पञ्चायती व्यवस्था थियो । व्यवस्थाविरोधी गतिविधिहरू भइरहेका थिए । यस्तैमा २०३६ सालमा नेपालमा जनमत सङ्ग्रह घोषणा भयो । त्यही माहोलमा पुष्पलालका राजनीतिक सहकर्मीहरूको सल्लाहमा सहानाले साढे दुई दशकअघि छुटेको राजनीतिलाई फेरि अघि बढाउने निर्णय गर्नुभयो । उहाँ नेकपा माले हुँदै नेकपा एमालेमा आबद्ध भएर पार्टीको स्थायी समिति सदस्यसम्म हुनुभयो ।

सहानाले २०४६ मा भएको जनआन्दोलनमा वाममोर्चाको नेतृत्व गर्नुभयो र निर्दलीय राजनीतिक व्यवस्था परिवर्तनका लागि एक कमान्डर नै हुनुभयो । निर्दलीय व्यवस्था अन्त्य गरी बहुदलीय व्यवस्थाका लागि राजासँग वार्ता गर्ने एक मात्र महिला पात्र पनि उहाँ बन्नुभयो । जनआन्दोलन सफल भएपछि मन्त्री हुनुभयो, संसद्मा पुग्नुभयो ।

यसबिच सहानाले अधिकारका लागि काम गर्न महिला सुरक्षा दबाब समूह, अन्तरपार्टी महिला सञ्जाल जस्ता संस्था र ‘नेटवर्क’ स्थापना गरेर महिलाको अधिकार स्थापित गर्न योगदान गर्नुभयो । महिलामाथि हुने विभेदको अन्त्यका लागि लडिरहनुभयो । छोरी भएकै कारण आफूले भोगेको विभेदका विरुद्ध सचेत भएर बोलिरहनुभयो ।

सहानाको योगदानको स्मरण गर्दै उहाँको जन्मदिन पारेर हामीले उहाँकै आत्मकथा पुस्तक ‘सहाना प्रधान : स्मृतिको आँखीझ्यालबाट’ को ‘महिला आन्दोलनमा सहभागिता’ शीर्षक सामग्रीलाई साभार गरेका छौँ । प्रस्तुत सामग्रीमा सहाना प्रधानले नेपालको महिला आन्दोलनलाई आफ्नै अनुभव र दृष्टिकोणमा रहेर विश्लेषण गर्नुभएको छ ।

हामीसँगको सहकार्यलाई साथ दिँदै ‘सन्धान’ को नीतिअनुसार सामान्य सम्पादनसहित यो सामग्री साभार गर्नका लागि अनुमति दिनुभएकोमा पुस्तकका लेखक एवं प्रतिनिधिसभा सदस्य सुशीला श्रेष्ठलाई हार्दिक धन्यवाद !

महिला आन्दोलनमा सहभागिता
महिलाहरू सङ्गठित भए

सहाना प्रधानसँग लेखक सुशीला श्रेष्ठ ।

मेरो राजनीतिक सहभागिता २००४ सालदेखि नै भएको थियो । त्यसबेला राणाकालीन शासनको जमाना थियो । मलाई राजनीतितिर उन्मुख गराउने प्रमुख कारण महिलाहरूलाई शिक्षा दिने धारणा नै हो ।

महिलालाई शिक्षा नदिने, महिला र केटीहरूको लागि स्कुल नखोलिने र केटीहरूले पढ्नु हुँदैन भन्ने कुराको विरोध गर्ने भावनाले नै म राजनीतितिर तानिएँ । त्यस बेलाको राणाकालीन शासन व्यवस्थाको विरोध नगरुन्जेल वा त्यसको विरोधमा नउठुन्जेल शिक्षा प्रणालीमा परिवर्तन आउँदैन भन्ने महसुस भएर राजनीतिकरूपले म पनि राणा शासनको विरोधमा उत्रन पुगेँ ।

विशेष गरेर १९९७ सालमा जब चार जना सहिद भए, त्यस बेलादेखि नेपालमा भित्रभित्र राजनीतिक गतिविधि सुरू भएको थियो । सङ्गठनहरू निर्माण भएका थिए । हामी २००१ सालमा बर्माबाट नेपाल फर्कियौँ । हामी नेपाल आएपछि बिस्तारै कुराहरू बुझ्न थाल्यौँ र जानकारी पाउन थाल्यौँ ।

नेपालको सबभन्दा पहिलो राजनीतिक पार्टी ‘प्रजापरिषद्’ का सबै नेताहरू त्यस बेला जेलमा परेका थिए । १९९७ सालपछि भएका घटनालाई हेर्दा विशेष गरेर नेपालमा जनताको हक अधिकार प्राप्तिको निमित्त जनतालाई गोलबन्द गर्न राजनीतिक पार्टी आवश्यक छ भन्ने भएको थियो । यो कुरा झन्‌पछि झन् बलियो गरी महसुस हुँदै गयो ।

हामी २००३ सालको अन्त्यतिर केही राजनीतिक नेताहरूको सम्पर्कमा आयाैँ । हाम्रो बारेमा पनि उनीहरूलाई जानकारी भयो । हामीले केही पढ्न लेख्न जानेका र केही बुझेका थियाैँ । हामीले दोस्रो विश्वयुद्ध आफ्नै आँखाले प्रत्यक्ष देखेका र आफैँले भोगेका थियौँ । हिन्दुस्थानको ‘भारत छोडो आन्दोलन’ पनि देखेका र अनुभव गरेका थियौँ ।

त्यस बेला राजनीतिमा लाग्दा ज्यानको बाजी लगाएर लाग्नुपर्थ्याे । हामी २००४ वैशाख १७ गते जब आन्दोलनमा उत्रियौँ, त्यस बेला हामी फेरि घर फर्कन पाइँदैन भन्ने कुरामा स्पष्ट थियौँ ।

हामीलाई ती सब कुराले गर्दा भित्र आत्मादेखि नेपालमा पनि केही गर्नुपर्छ भन्ने लागिसकेको थियो । नेपाल आएपछि हामीले पढ्न नपाएका महिलाहरूलाई देख्यौँ, महिलाहरूप्रतिको विभेदकारी सोचाइ र बन्धनलाई देख्यौँ । त्यसले हामीमा एउटा विद्रोहको भावना जगाइदियो । यो सब कारणले गर्दा म राणाशाहीको विरोधमा उत्रन तयार भएँ ।

राणाशाहीको विरोधमा उत्रनु भनेको त्यति बेला निकै ठुलो जोखिम उठाउनु थियो । त्यस बेला राजनीतिमा लाग्नु र आज राजनीतिमा लाग्नुमा आकाश पातालको फरक छ । त्यस बेला राजनीतिमा लाग्दा ज्यानको बाजी लगाएर लाग्नुपर्थ्याे । हामी २००४ वैशाख १७ गते जब आन्दोलनमा उत्रियाैँ, त्यस बेला हामी फेरि घर फर्कन पाइँदैन भन्ने कुरामा स्पष्ट थियौँ ।

स्पष्ट भएरै सारा कुराको उत्सर्ग गर्ने सङ्कल्पसहित हामीले राजनीतिमा हामफालेका थियौँ । कतिपय कुरा जानेर कतिपय कुरा नजानेर राजनीतिक जीवनको सुरुआत गरियो । वास्तवमा भन्ने हो भने राजनीति यो हो भन्ने नबुझी राणाशाहीले गरेको अन्याय अत्याचारका विरूद्ध आफूभित्र उठेको आक्रोशले गर्दा त्यस बेला आन्दोलनको राजनीतिमा लागिएको थियो ।

राजनीतिमा महिलाहरूलाई सक्रिय बनाउन अलग्गै सङ्गठन चाहिन्छ भनेर २००४ साउन २२ गते नेपाल महिला संघ निर्माण भयो । मलाई लाग्छ, त्यस बेला पार्टीहरू पनि निर्माण भएका थिएनन्, भएका भए पनि ती प्रभावशाली थिएनन् ।

नेपाल महिला सङ्घ गठन गर्दाको क्षण र सामूहिक तस्बिर खिचाउँदै सहभागिहरू । तस्बिर स्रोत : शान्ता श्रेष्ठ/ नेपाल पिक्चर लाइब्रेरी

पहिलो महिला संघ निर्माण गर्दा काठमाडौँको म्हैपीमा हामी ६२–६३ जना महिलाहरू पिकनिक खाने भनेर जम्मा भयौँ । त्यो पिकनिकको उद्देश्य भने महिला संघ निर्माण गर्नु थियो । त्यसको आयोजक भने पुरुष दाजुभाइहरू नै हुनुहुन्थ्यो ।

महिलाहरूको महिलाहरूसँग सम्पर्क नभएकाले पुरुषहरूले पिकनिकका बहानामा भेला आयोजना गर्न सक्रिय भएर हामीलाई सघाएका थिए । यो भेला गराउन हामीलाई भक्तबहादुर दाइले खुलै रूपमा सहयोग गर्नुभएको थियो । उहाँको पुस्तक पसल पनि थियो ।

पिकनिकको बहानामा भेला भएका महिलाहरूले मंगलादेवी सिंहको अध्यक्षतामा नेपाल महिला संघ निर्माण गरे । त्यस कमिटीमा रजनी, श्रीमाया, शिलवन्ती, साधना दिदी, म, स्नेहलता, हीरादेवी तुलाधर, तुलसीदेवी सिंह आदि थियौँ । त्यसमा पाटन र भक्तपुरका गरी २४–२५ जना महिलाहरू रहेका थियौँ । उहाँहरू सबैको नाम अहिले सम्झना भएन ।

तदर्थ समितिको रूपमा त्यो कमिटीले काम गरेको थियो । यसरी महिला सङ्गठनको औपचारिकरूपबाट सुरुआत भयो भन्ने मलाई लाग्छ । त्यस बेला पार्टीहरू नभएको हुनाले महिलाहरू अहिले जस्तो पार्टीगतरूपमा विभाजित भएका थिएनन् । के कांग्रेस के कम्युनिस्ट सबै महिलाहरू एक थिए ।

मैले महिला, युवा, विद्यार्थी तीनैवटा सङ्गठनमा काम गरेँ । भौगोलिक क्षेत्रको जिम्मा नलिई जनवर्गीय सङ्गठनको जिम्मा लिएँ । राजनीतिकरूपबाट जुलुस, आमसभा, कोणसभा आदि कार्यक्रममा कहिले महिला सङ्गठन, कहिले विद्यार्थी कि युवा सङ्गठनमध्ये एउटाबाट बोल्नेमा म पर्थें ।

मैले २००७ सालमा (नेपाल कम्युनिष्ट) पार्टी सदस्यता लिएँ । पार्टी सदस्य भएपछि महिला सङ्गठनभित्र काम गर्न ‘फ्र्याक्सन’ निर्माण भएको थियो । म त्यस फ्र्याक्सनको सचिव भएँ । २००७ सालको राणाविरोधी आन्दोलनमा नेपाल महिला संघमा सङ्गठित भएर लागेँ । विद्यार्थी आन्दोलनलाई सघाउने काम गरेँ । त्यस बेला विद्यार्थी सङ्गठनको रूपमा अखिल नेपाल विद्यार्थी फेडरेशन थियो ।

युवा सङ्गठन पनि थियो । यसरी मैले महिला, युवा, विद्यार्थी तीनैवटा सङ्गठनमा काम गरेँ । भौगोलिक क्षेत्रको जिम्मा नलिई जनवर्गीय सङ्गठनको जिम्मा लिएँ । राजनीतिकरूपबाट जुलुस, आमसभा, कोणसभा आदि कार्यक्रममा कहिले महिला सङ्गठन, कहिले विद्यार्थी कि युवा सङ्गठनमध्ये एउटाबाट बोल्नेमा म पर्थें ।

हाम्रा आमसभाहरू प्रायः गरेर काठमाडौँमै हुन्थे । तीनधारा पाकशाला, भूगोलपार्क, सानो टुँडिखेल (त्रिपुरेश्वर स्टेडियम), इटुम्बहाल, यटखाबहाल आदि ठाउँहरूमा आमसभाहरू हुने गर्थे । त्यस बखत आफूलाई राजनीतिमा व्यस्त भएको पाउँथेँ ।

महिलाले मतदान गर्ने अधिकार पाउनुपर्छ भनेर हामी तत्कालीन प्रधानमन्त्री मोहन शमशेरको दरबारमा जुलुसै लिएर पनि गयौँ । यस प्रकारले निरन्तर र सशक्त सङ्घर्षद्वारा अन्त्यमा महिला मताधिकार प्राप्त गर्न सम्भव भएको थियो ।

एकातिर स्कुल, अर्कातिर राजनीति । दुबैलाई मैले बराबररूपमा समायोजन गरेर लगेकी थिएँ । मलाई मेरो घरबाट पनि एक प्रकारले त्यसरी काम गर्न प्रोत्साहन नै प्राप्त भएको थियो । यस्तैमा २००४ सालको काठमाडौँ म्यूनिसिपलिटी निर्वाचनको लागि मतदाता नामावली तयार गर्दा महिलाहरूलाई मतदान गर्न नदिने कुरा भयो ।

महिलाहरूलाई मतदान गर्न नदिने कुरा भइसकेपछि हामीले विरोध जनायौँ । महिलाहरूलाई पनि पुरुष सरह चुन्ने र चुनिने हकका लागि आवाज उठाइयो । आवाज उठाउने मात्र होइन, त्यस बेला हामीले निकै ठुलो आन्दोलन नै गर्नुपरेको थियो ।

महिलाले मतदान गर्ने अधिकार पाउनुपर्छ भनेर तत्कालीन प्रधानमन्त्री मोहन शमशेरको दरबारमा जुलुसै लिएर जादै । तस्बिर स्रोत : सहाना प्रधान / नेपाल पिक्चर लाइब्रेरी

महिलाले मतदान गर्ने अधिकार पाउनुपर्छ भनेर हामी तत्कालीन प्रधानमन्त्री मोहन शमशेरको दरबारमा जुलुसै लिएर पनि गयौँ । यस प्रकारले निरन्तर र सशक्त सङ्घर्षद्वारा अन्त्यमा महिला मताधिकार प्राप्त गर्न सम्भव भएको थियो ।

विसं २०१० मा काठमाडौँ नगरपालिकाको चुनाव भयो । त्यसमा नेपालका महिलाले पहिलो पटक मत हाल्ने मात्र होइन, उम्मेदवार हुने अधिकार पनि पाएका थिए । नगरपालिकाको चुनावमा उठेर साधना प्रधान दिदीले जित्नुभएको थियो ।

जनसभालाई सम्बोधन गर्न यही बेला म प्रशिक्षित भएकी थिएँ । त्यो चुनाव हुँदा बिहानको ७ बजेदेखि रातिको ८–९ बजेसम्म दिनको १०–१२ ठाउँको आमसभामा मैले सम्बोधन गर्नुपर्ने र बोल्नुपर्ने थियो । त्यसरी धेरै ठाउँ बोलेर स्वर सुकाएर घरमा आउँदा नुनपानी बनाएर गारगुर गर्न लगाउँथे ।

आजकाल जस्तो बस थिएन । आमसभामा गएर फर्किनका लागि हिँड्दा हिँड्दा खुट्टा दुखेर कस्तो हुन्थ्यो ! तर पनि घर आएपछि खुट्टा सेकाइ दिने र तेल लगाई दिनेसम्म गर्नुहुन्थ्यो । यसरी घरमा आउँदा हकार्ने, हतोत्साहित गर्ने होइन सहयोगी भावना र प्रोत्साहनयुक्त व्यवहार हुन्थ्यो ।

हाम्रो पूरा परिवार नै त्यसरी त्यस बेलाको चुनावी अभियानमा जुटेको थियो । काका, बुबा पसल बन्द गरेर नै मेरो भाषण सुन्न जानु हुन्थ्यो । परिवारको सहयोगी भावना र प्रोत्साहनयुक्त व्यवहारले गर्दा मैले ठुलो, राम्रो र धेरै काम गरेर आएकी छु भन्ने गर्व हुन्थ्यो ।

विसं २००८ मा राजनीतिक अस्थिरता भयो । राजा त्रिभुवनले सबै राजनैतिक व्यक्तित्वसँग कुराकानी गर्न राजनैतिक सम्मेलन बोलाएका थिए । त्यही सम्मेलनमा म नेपाल महिला सङ्गठनबाट पहिलो पटक राजदरवार पसेकी थिएँ । राजाद्वारा मातृकाप्रसाद कोइरालाको सरकारलाई बर्खास्त गरी २००९ साउनमा जनरल केशरशमशेर आदि रहेको परामर्शदातृ सरकार बनाइयो ।

राजा त्रिभुवनको त्यस्तो कदमलाई कम्युनिष्ट पार्टीले विरोध गर्‍यो । त्यस कदमको विरोधमा आमसभा, कोणसभा भए । त्यो आमसभा वा कोणसभामा नेपाल महिला सङ्गठनबाट मैले बोलेँ । त्यसरी आमसभा गर्दागर्दै भूगोलपार्कबाट मलाई र प्रभा नेपाली, ज्ञानुमैया श्रेष्ठसमेत तीन जनालाई पक्रिए ।

प्रभा र म नेपाल महिला सङ्गठन केन्द्रीय समितिमा थियौँ । ज्ञानुमैया चाहिँ सदस्य मात्र थिइन् । यसरी राजनैतिक कारणले पहिलो पटक म चार महिना जेल बसेँ । त्यस बेला अखिल नेपाल महिला संघको अध्यक्ष पुण्यप्रभादेवी ढुङ्गाना थिइन् । पहिले नेपाल महिला संघको अध्यक्ष मंगलादेवी सिंह थिइन् । नेपाल महिला सङ्गठनको अध्यक्ष कामक्षा देवी थिइन् ।

मैले २००९ सालतिर स्नातक तह पास गरिसकेकी थिएँ । म विचार गर्छु, अहिले महिलाहरू महिला समस्यामा भन्दा पार्टीभित्र कसको के मत, के हैसियत, कति प्रभाव छ भन्ने जस्ता कुरामा बढी नै चासो लिने र के हो, कसो हो भन्ने गरेको जस्तो देख्छु तर मैले त्यस्ता कुरामा चासो लिइनँ ।

पुष्पलालजीको नेतृत्वमा नै पार्टी भएको भए पनि मैले त्यस्तो चासो लिइनँ । यो उनीहरूको कुरा हो, सोध्नु हुँदैन, सोध्यो भने उनीहरूलाई पनि अप्ठ्यारो हुन्छ, गाह्रो हुन्छ भन्ने लाग्थ्यो । आफूलाई पनि अनावश्यक तनाव हुन्छ भन्ने लाग्थ्यो ।

म आफू अनुशासनमा रहनुपर्छ भनेर यस्ता कुरामा कहिल्यै चासो राखिनँ । पार्टीमा के भइरहेको छ, कसले के भन्छ भन्ने मैले कहिल्यै सोधिनँ । पुष्पलालजीले आज पार्टीमा यस्तो भयो भनेर भन्ने, कुरा गर्ने चलन नै थिएन ।

सुुरुका दिनहरूमा हामी बिचमा पार्टीको कुरै भएन तर धेरैपछि गएर केही केही कुरा हुने गरेको थियो । त्यसैले म पार्टीका धेरै कुरा थाहा पाउँदिनथेँ । त्यस बेला मैले थाहा पाउने चेष्टा पनि गर्दिनथेँ ।

सङ्गठनको नामै साटियो

कांग्रेस पार्टीमा काम गरिहनुभएका पुष्पलालजीले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेपछि सैद्धान्तिकरूपमा हामीले राजालाई हेर्ने दृष्टिकोण, प्रजातन्त्रप्रतिको धारणा, क्रान्तिप्रतिको दृष्टिकोण आदिमा फरक मत र दृष्टिकोण देखापर्‍यो । त्यसैले राणा शासन खतम गर्ने सवालमा सहमति रहेको भए पनि त्यही बेला समाजमा दुइखाले दृष्टिकोण देखा पर्न सुरु भयो । राणा शाहीलाई खतम गर्ने सवालमा सब कुरा छासमिस थियो । पहिले को कांग्रेस, को कम्युनिस्ट हो भन्ने कुरा थिएन ।

आन्दोलनकारीहरू बिस्तारै कांग्रेसबाट कम्युनिस्ट पार्टीमा आए । मानिसहरू छ्याङ्ग देखिने गरी दुई भागमा बाँडिन थाले । यी दुई पार्टीहरू भिन्नभिन्न सिद्धान्तका भए, भिन्न अडान र दृष्टिकोणका भए । त्यसले गर्दा महिला सङ्गठन पनि एउटा हुने कुरै भएन ।

हामी महिलाहरूका बिचमा ठुलो लडाइँ झगडा भएर होइन तर दृष्टिकोण नमिलेपछि अब सँगै बस्न सकिन्न भन्ने भयो । विशेष गरेर २००७ सालपछि भारतीय नेता जवाहरलाल नेहरूको नेपाल आगमनप्रतिको दृष्टिकोणमा फरक भयो ।

हामी नेहरुको आगमनलाई विरोध गर्ने पक्षमा उभियौँ । मंगलादेवीहरू समर्थन र स्वागत गर्ने पक्षमा उभिए । हामी कालो झण्डा देखाउन गयौँ । मंगलादेवीहरू फूलमाला लिएर स्वागत गर्न गए । त्यसपछि २००८ सालमा हामीले ‘नेपाल महिला संगठन’ खोल्यौँ ।

नेपाल महिला संघको अध्यक्ष मंगलादेवी नै रहिन् । उनी जीवनको अन्तिमसम्म पनि त्यही संघको अध्यक्ष भएर रहिन् । नेपाल महिला संगठनको संस्थापक अध्यक्ष कामाक्षादेवी भइन् । म नेपाल महिला संगठनको महासचिव भएँ ।

नेपाल महिला संगठनका अरू सदस्यहरूमा रजनी, श्रीमाया, श्रीवन्ती शाह, साधना प्रधान, पुष्पलता, प्रभा नेपाली, कान्छी दिदी र मोतीदेवी गरी जम्मा १३ जना भयौँ । त्यति जना मिलेर हामीले संगठनको केन्द्रीय समिति बनायौँ ।

यी दुई संस्थाहरू नेपाल महिला संघ र नेपाल महिला संगठनबिच सहमति कायम गरेर जानुपर्छ भन्ने पनि हाम्रो धारणा रहेको थियो । २००८ सालमा पुण्यप्रभा देवीको अध्यक्षतामा निर्मित ‘अखिल नेपाल महिला संघ’ र त्यसअघि नै मंगलादेवीको अध्यक्षतामा निर्मित ‘नेपाल महिला संघ’ को सिद्धान्त एउटै थियो । यी दुवै पूँजीपति वर्गका हितसाधक थिए, त्यसमा नेपाली कांग्रेस पक्षधरको नेतृत्व थियो ।

पुण्यप्रभा देवीको अध्यक्षतामा बनेको अखिल नेपाल महिला संघमा के.आई. सिंहको प्रभाव थियो । यसका अरू सदस्यहरूमा रेवन्त कुमारी आचार्य, (टंकप्रसाद आचार्यकी श्रीमती) सीता शर्मा (रामहरि शर्माकी श्रीमती), माधवी शर्मा आदि थिए । उनीहरूको अफिस केशरमहल पछाडि थियो ।

ठमेलमा केशरशमशेरले अखिल नेपाल महिला संघका लागि गजबको घर दिएका थिए । मलाई लाग्छ, उनीहरूले त्यस बेला आयस्रोत पनि बनाएका थिए । सम्पन्न सङ्गठनको रूपमा चिनिन्थ्यो त्यो । संघमा १०/१२ जना महिलालाई काम पनि दिएका थिए । उनीहरू काँग्रेस विचारधाराकै थिए तर अलिक विद्रोही खालका थिए ।

पुण्यप्रभा देवीको वाकशक्ति साह्रै राम्रो र साह्रै प्रभावकारी थियो । मंगलादेवीले नेतृत्व गरेको महिला संघभन्दा पुण्यप्रभादेवीले नेतृत्व गरेको अखिल नेपाल महिला संघ अलिक अगाडि बढेको थियो । पुण्यप्रभाहरू अलिक बढी सक्रिय थिए । धेरै मिटिङ्ग बैठकहरू हुन्थे । यो सङ्गठनमा महिलाहरू अलिक बढी सङ्गठित पनि थिए र कार्यक्रम बढी हुन्थ्यो ।

महिलाहरू पनि अगाडि बढ्नुपर्छ, विभिन्न कार्यक्रममा सहभागी हुनुपर्छ भन्ने कुरालाई तिनले उजागर पनि गरे । एउटा कार्यक्रममा बहुविवाहको विरोध गर्दै उनीहरूले ‘लोग्नेमानिसले सात वटी श्रीमती वा स्वास्नी राख्नुहुन्छ भने स्वास्नीमान्छेले मात्र किन सात वटा लोग्ने राख्नु हुँदैन ?’ भने, त्यो पनि भाषणमा !

मलाई लाग्छ, अलि उरन्ठ्यौला, अनुभव नभएका र नबुझेकाहरूले त्यसरी बोले । त्यो बोलाइले गर्दा महिला आन्दोलनलाई नराम्रो गरी आक्षेप लाग्यो र ठुलो धक्का बेहोर्नु पर्‍यो । यी महिला आन्दोलनमा लागेका आइमाईहरू सात वटा पोइ बनाउन पो लागेका रहेछन् भन्ने खालको प्रभाव पर्‍यो ।

धेरै ठाउँमा उनीहरूले त्यो भनाइको खण्डन गर्नुपर्‍यो, माफीसमेत माग्नुपर्‍यो । त्यस बेलाका वक्ताहरूले महिला आन्दोलनलाई राम्रोसँग नबुझेर त्यसरी बोलेका थिए । महिला पुरुष समानताको अवधारणालाई व्याख्या गर्दा त्यसरी बोल्नु हुँदैन थियो । हामीले नराम्रो कुरामा समानता खोजेका थिएनौँ ।

अर्कोतिर राणा परिवारका महिलाहरूले पनि ‘वुमन्स भोलेन्टियर सर्भिस’ (डब्ल्युभिएस) भन्ने महिला सङ्घ खोलेका थिए । त्यसमा कमल राणा, कमल शाहहरू सक्रिय थिए । उनीहरूसँग मेरो त्यही बेला सङ्गत भएको थियो । उनीहरूले हरियो रंगको जर्जेटको साडीको ‘ड्रेस’ राखेका थिए । उनीहरूको अफिस बबरमहलको बरफबागमा थियो । डब्ल्युभिएसले आफ्नो फुर्सदको समयलाई उपयोग गर्न र शोखका रूपमा मात्र काम गर्दथ्यो ।

आम महिलाहरूलाई शोषणबाट मुक्त गर्ने भन्ने कुरा डब्ल्युभिएसको कल्पनाभन्दा बाहिरको थियो । उनीहरू शोषणबाट महिलाहरूलाई मुक्त गर्नेभन्दा पनि त्यही सामन्ती प्रथाको पक्षपोषण गर्ने र त्यसैको हितका निम्ति काम गर्ने गर्थे । कोही पनि सामन्तीहरूको हित विपरीत काम गर्न चाहँदैनथे ।

महिला सङ्घ सङ्गठनहरू एउटै हुन नसके पनि साझा सवालमा हामीहरूका बिचमा समझदारी होस्, एउटै मञ्च होस् ताकि महिला समस्यालाई लिएर एउटै आवाज उठाउन सकौं भन्ने प्रयास चाहिँ भयो ।

कसैले पनि आफूले आफैँलाई खतम गर्ने कुरै आउँदैन । मलाई लाग्छ, घरका चार दिवालभित्रबाट निस्केर मोटर चलाउने, देश विदेश घुम्ने, रामरमिता हेर्ने, पौडी खेल्ने सुविधा र सौख पूरा गर्नु नै डब्ल्युभिएसमा सङ्गठित महिलाहरूका लागि क्रान्तिकारी काम थिए ।

धेरै गर्दा वीर अस्पतालमा पुगेर, त्यो पनि नेताहरूले हैन, कार्यकर्ताहरूले बिरामीको सेवा गर्ने वा फलफूल खुवाउने काम गर्थे । आम नेपाली महिलामा जुन शोषण छ, महिलाप्रति हेर्ने जुन दृष्टिकोण छ, त्यसतिर उनीहरूको ध्यान गएन । यसरी त्यस बेला थरिथरिका महिला सङ्घ, सङ्गठनहरू थिए ।

महिला सङ्घ सङ्गठनहरू एउटै हुन नसके पनि साझा सवालमा हामीहरूका बिचमा समझदारी होस्, एउटै मञ्च होस् ताकि महिला समस्यालाई लिएर एउटै आवाज उठाउन सकौं भन्ने प्रयास चाहिँ भयो ।

कहिलेकाहीँ उनीहरूले हामीलाई बोलाउँथे । फिल्म प्रदर्शनी गर्थे, त्यो हेर्न पनि बोलाउँथे । यसरी हाम्रो आवतजावत पनि थियो । विशेष गरेर मंगलादेवी, पुण्यप्रभा र हामी किन तीन–तीन वटा महिला सङ्घ बनाउने, किन विभाजित भएर अलगअलग महिला सङ्घमा बस्ने भन्थे । त्यसरी हाम्रो शक्ति विभाजन भयो भनेर छ–सात पटक बैठक पनि बसेका थियौँ ।

मंगलादेवीको नेपाल महिला संघ र पुण्यप्रभादेवीको अखिल नेपाल महिला संघ दुवै सम्पन्न थिए । त्यस बेला हाम्रो अफिस बाङ्गेमुढामा थियो । हाम्रो दुई वटा कोठा भएको अफिस थियो र हाम्रो आर्थिक तथा भौतिक अवस्था कमजोर थियो ।

साँच्चै भन्ने हो भने मंगलादेवीभन्दा पुण्यप्रभा देवी खुलस्त र अलिक प्रखर खालकी थिइन् । उनी कुरा गर्न पनि सिपालु र महिला समस्यालाई बुझेकी व्यक्ति थिइन् । बैठकमा महिला आन्दोलनलाई सँगै लाने समझदारी गरेअनुसार खुसियालीमा हामीले मिठाई पनि खाएका थियौँ तर पछि त्यो कुरा मिल्न सकेन । त्यसको असर अहिलेसम्म पनि परेको छ ।

हालसम्म पनि महिला आन्दोलन तितरबितर भएकै छ । महिलाहरूको आन्दोलनलाई कसरी अगाडि बढाउने भन्नेभन्दा पनि एक–एक वटा राजनीतिक पार्टीलाई प्रत्यक्ष सहयोग हुने खालका काम नै बढी भए । अलग पार्टीमा लागेर सँगसँगै महिला आन्दोलन उठाउन त्यति सजिलो पनि थिएन ।

अब सहर बजारमा महिलाहरूसँग कसरी सम्पर्क गर्ने भन्ने कुरालाई ध्यानमा राखेर हामीले गल्लीहरूमा तीन–चार वटा चुरा पसल खोलेका थियौँ । हामीले महिलाहरूको हातमा चुरा लगाउँदा लगाउँदै कुराकानी गर्न थाल्यौँ ।

महिलालाई हाम्रो अधिकार यस्तो छ, हाम्रो अधिकार नै छैन भनेर ठुलो स्वरले भन्न पनि नहुने अवस्था थियो । महिलाहरू अर्काको घरमा जाने कुरा राम्रो मानिँदैनथ्यो । ‘तपाईंका छोरीलाई स्कुल पठाउनुस्’ भनी ढोका ढकढकाउन गएका बेला नै मलाई तीतो अनुभव भइसकेको थियो ।

महिलाहरूसँग सम्पर्क बढाउन, सुखदुःखको कुराकानी गर्न त्यस बेला पँधेरो, घाँसदाउरा, मेलापात, बिस्कुन सुकाएको ठाउँ नै बढी उपयोगी हुन्थ्यो । यसो गर्न पनि सहरमा होइन, गाउँघरमा सजिलो हुन्छ । अब सहर बजारमा महिलाहरूसँग कसरी सम्पर्क गर्ने भन्ने कुरालाई ध्यानमा राखेर हामीले गल्लीहरूमा तीन–चार वटा चुरा पसल खोलेका थियौँ ।

हामीले महिलाहरूको हातमा चुरा लगाउँदा लगाउँदै कुराकानी गर्न थाल्यौँ र सम्पर्कलाई अगाडि बढायौँ । त्यसो हुँदाहुँदै पनि महिलाहरूलाई कहाँसम्म पु¥याउने र उनीहरूको निमित्त तत्काल के काम गर्ने भन्ने कुरा स्पष्ट थिएन । बालविवाह रोक्नुपर्छ, अनमेल विवाह रोक्नुपर्छ र छोरीमान्छेले शिक्षा पाउनुपर्छ भन्ने यी तीन वटा कुराको सेरोफेरोमा हाम्रा कामहरू हुन्थे ।

हामीले त्यस बेला हुन लागेको बालविवाह धेरै ठाउँमा गएर रोकेका थियौँ । विवाह गर्न तयार भएका मानिसहरू भागाभाग भएका थिए । मेलमिलाप नभएको ठाउँमा अड्डा अदालत नगई मिलापत्र गराइदिने, बुढा र बच्चीको विवाह हुँदैछ भने त्यसलाई पनि रोक्ने वा भताभुङ्ग पारिदिने काम हामीले महिला सङ्गठनबाट गरेका थियौँ । त्यस बेला त्यही हाम्रो काम थियो ।

नेपालमा यातायातको राम्रो बन्दोबस्त नभएको हुनाले त्यो काम पनि व्यापकरूपमा हुन सकेन । टाढा भनेको वीरगन्जसम्म मात्र हाम्रो सम्पर्क भएको थियो । यता धुलिखेल, पनौती, बनेपा, भक्तपुर, ललितपुर र काठमाडौँमा मात्र हाम्रो काम सीमित रह्यो । महिला आन्दोलन राष्ट्रव्यापी हुन सकेको थिएन ।

अहिले म यसो सम्झन्छु, त्यति बेला महिला सङ्घ महिला समस्या र समाधानमा लाग्नुभन्दा पनि पार्टीका कार्यक्रममा बढी दौडने गर्दथ्यो । महिला सङ्गठनले पनि महिला आन्दोलनलाई हाँक्नुपर्नेमा त्यतातिर कम लाग्ने गरेको थियो । हिजोदेखिको त्यो कमजोरीलाई पछिसम्म सच्याउन सकिएन । २०१७ सालसम्म यसरी नै चल्यो ।

अझैसम्म त्यस किसिमको कमजोरीलाई सच्याउन सकिएको छैन । महिला आन्दोलनको उद्देश्य, नीति, कार्यक्रम र दिशामा नेपाल महिला संघ र अखिल नेपाल महिला संघ दुवैमा खासै अन्तर थिएन । काम गर्ने शैली र प्रभावमा अखिल नेपाल महिला संघको राम्रो थियो । नेपाली कांग्रेसको भगिनी थियो, नेपाल महिला संघ । सङ्गठनको रूपमा जाने भएकाले यसको जनआधार राम्रो जमेको थियो ।

नेपाल महिला संगठन र ती दुई महिला संघहरूको बिचमा धेरै अन्तर थियो । हाम्रो उद्देश्य सामन्तवाद र साम्राज्यवादलाई जरैबाट उखेल्ने थियो तर उनीहरू थोरै सुधारका कामहरू मात्र गर्न खोज्थे । हामी पनि सुधारका कामभन्दा पर त गएनौँ तर हाम्रो लक्ष्य वा उद्देश्य चाहिँ स्पष्ट थियो ।

हामी महिलाहरूको शोषणको कारण सामन्तवाद र साम्राज्यवादलाई मान्थ्यौँ तर उनीहरू त्यो मान्न तयार थिएनन् । त्यसैमा हामीहरूका बिच मूल अन्तर थियो, भिन्नता थियो । फलतः २००७ सालपछि गएर बालविवाह, अनमेल विवाह, बहुविवाहलाई रोक्न बनाइएका ऐन र कानुनहरू फितला बने ।

फितला भए पनि २००७ सालपछि बनेका ऐन र कानुनहरूमा टेकेर हिँड्न महिला आन्दोलनमा लागेका आजका महिलाहरूलाई अलिक सजिलो भएको छ । महिला हकहित र अधिकारको निम्ति धेरै खुलस्तरूपले हिँड्न सक्ने, सङ्गठन गर्न सक्ने गरी हिजोआज महिला सङ्गठन सञ्चालन भएको छ ।

देशमा २०१७ सालपछि फेरि कुठाराघात भयो । सबै महिला सङ्घ, सङ्गठनहरू गुप्त भए । पार्टीका मानिसहरूसमेत को कहाँ छ भन्ने कुरा कयौँ दिन र महिनौँसम्म थाहा भएन । देशमा भएका सबै राजनीतिक पार्टीहरूलाई प्रतिबन्ध लगाइयो । जनवर्गीय सङ्गठनहरूमा पनि प्रतिबन्ध लाग्यो । कसैले पनि काम गर्न सकेनन् ।

पञ्चायती शासकहरूलाई मद्दत गर्ने छ वटा जनवर्गीय सङ्गठन निर्माण भए । महिलाहरूको बिचमा काम गर्न ‘नेपाल महिला संगठन’ आयो । पञ्चायती व्यवस्थाका पृष्ठपोषकहरूले हिजो प्रगतिशीलहरूले सञ्चालन गरेको संस्थाको नाम ‘नेपाल महिला संगठन’ नै राखे र गतिविधि गर्न पुगे ।

विसं २०१७ पुसको काण्डपछाडि राजनैतिक गतिविधिहरू ठप्प भए । कम्युनिस्ट पार्टीहरू पनि विभाजित भई गुट र उपगुटमा बाँडिए । यस्तो इतिहासको खोजी कतिले गरे गरेनन् मलाई थाहा भएन ।

सुरुमा निर्मित ‘अखिल नेपाल महिला संघ’ नेपाल कम्युनिष्ट पार्टीको भगिनी सङ्गठन होइन । त्यस बेलाका महिलाहरूमा कम्युनिस्ट पार्टीले राम्रोसँग अनुसन्धान नगरी अनुभव भएका वा इतिहास बोकेका जानिफकार मान्छेसँग नसोधी अखिल भनेपछि नेपाल नै ढाक्छ भन्ने सोचका साथ सो नामकरण गरियो होला ।

विद्यार्थीहरूले नामको अगाडि अखिल शब्द राखेको र त्योभन्दा अगाडि अखिल नेपाल किसान संघ पनि बनेको हुनाले प्रगतिशीलहरूले अखिल राख्न थालेको हुनुपर्छ । ने.क.पा.चौथो महाधिवेशनले २०३२ सालमा ‘अखिल नेपाल महिला संघ’ निर्माण गर्‍यो । नेपाल कम्युनिष्ट पार्टी मालेले पनि २०३७ फागुन १७ गते अखिल नेपाल महिला संघको पुनर्गठन गर्‍यो । यसरी यो नाम त्यतिकै त्यतिकै साटिन पुग्यो ।

पञ्चायतलाई पनि करै लाग्यो

पञ्चायती शासकहरूले महिलाहरूलाई शोषण र अन्याय अत्याचारबाट मुक्त गराउनै पर्छ भन्ने सोंचका साथ महिला सङ्गठन खोलेका थिएनन् । अन्तर्राष्ट्रिय जगत्मा महिला आन्दोलनको लहर चलिरहेको थियो ।

संयुक्त राष्ट्र संघले आफ्ना सदस्य राष्ट्रहरूलाई महिलाहरूको हित, महिलाहरूको स्तरसम्बन्धी प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो । युरोपेली देशहरू फिनलैण्ड, आइसलैण्ड, डेनमार्क, स्वीडेन, नर्वे आदिमा महिलाहरूको प्रगति भइरहेको थियो । ती देशहरूमा राजनैतिक, आर्थिक सामाजिक स्तर माथि उठेको थियो ।

संसद् र सरकारमा प्रतिनिधित्व गर्ने महिलाहरूको प्रतिशत पनि ती देशहरूमा धेरै थियो । यसैले हुन सक्छ, एसियाका देशहरूमा किन महिला पछाडि परेका छन् र युरोपेली देशहरूमा महिला किन अगाडि बढेका छन् भन्ने जिज्ञासा संयुक्त राष्ट्र संघको रह्यो ।

विश्वमा महिलाहरूको स्तरलाई कसरी उठाउने भन्ने सोच भइरहेको थियो । त्यसैले सन् १९६२ –६३ तिर भारत, पाकिस्तान, फिलिपिन्स र इन्डोनेसियालाई प्रश्न गरिएको थियो । हरेक सदस्य राष्ट्रहरूलाई राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिकरूपले उत्थान गर्ने कार्यक्रमहरू बनाउन दबाब पनि दिइएको थियो ।

नेपाल पनि संयुक्त राष्ट्र संघको सदस्य भइसकेकाले नेपाल सरकारलाई पनि संयुक्त राष्ट्र संघले दबाब दियो । त्यसैले हाम्रो देशमा पनि आफ्नो राजनीतिक इच्छा भएर होइन, दबाबको भरमा महिला हक अधिकारसम्बन्धी कार्यक्रमहरू बनाउन थालियो । त्यसपछि महिलाहरूलाई अगाडि ल्याउनुपर्छ भन्ने सोच बन्न थाल्यो र महिलाहरूमा पनि अलिकति जोश देखा पर्‍यो ।

कार्यक्रमहरू पञ्चायती व्यवस्था लागु हुनेबित्तिकै बने । त्यस बेला केही कानुनहरू पनि बने । जस्तो, लोग्नेस्वास्नी छुट्टिँदा महिलाले अंश पाउने, छोराछोरी पाँच वर्षसम्म आमाले राख्न पाउने, बालविवाह र अनमेल विवाह रोक्ने आदि व्यवस्थाका साथ २०२० मा मुलुकी ऐन बन्यो र पञ्चायती व्यवस्थाका भ्रातृ सङ्गठनको रूपमा ७५ वटै जिल्लामा महिला सङ्गठनहरू खोलिए ।

महिलाहरूलाई केही केही कार्यक्रममा लिएर हिँड्न पनि थालियो । राष्ट्र संघमा विभिन्न वर्षमा महिलाहरूको प्रगति र उत्थानका कुराहरूका बारेमा बनेका सोच र धारणाअनुसार नेपालमा पनि महिला आन्दोलनहरू भएका थिए । आज त्यही अनुरूप महिला आन्दोलन अघि बढिरहेको छ ।

संयुक्त राष्ट्र संघले महिला दशक मनाउने भनेर विसं २०३२ (सन् १९७५) देखि २०४२ (सन् १९८५) सम्म १० वर्ष महिलाहरूको उत्थान र प्रगतिको बारेमा कुरा गरिरह्यो । सबभन्दा पहिला सन् १९७५ मा मेक्सिकोमा आठ हजार महिलाहरू भेला भएर पहिलो अन्तर्राष्ट्रिय महिला सम्मेलन गरियो ।

सम्मेलनमा शान्ति, प्रजातन्त्र र विकास (पिस, डेमोक्रेसी एन्ड डिभलपमेन्ट) भन्ने नारा राखिएको थियो । त्यसको प्रभाव नेपालमा पनि पर्‍यो । त्यस बेलाको महिला संघले महिला दशक मनाउँदा प्रचार गर्ने काम पायो र ‘हामीले धेरै नै काम गर्‍यौँ’ भन्ने र देखाउन सक्ने आधार त्यही थियो ।

अन्तर्राष्ट्रिय लहर नै चलेको हुनाले महिला आन्दोलनमा सक्रिय भूमिका खेल्न सक्ने ठाउँ हुनुपर्छ भन्ने भयो । सन् १९८० मा डेनमार्कको कोपनहेगनमा दोस्रो र सन् १९८५ मा केन्याको नैरोबीमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनहरू सम्पन्न भए । यसरी राष्ट्रिय पञ्चायतमा निर्वाचित माहिलाहरूले देश विदेश घुमेपछि महिला आन्दोलनको जानकारी पाए र नेपालमा पनि केही गरौँ भन्ने प्रयास गरे ।

पार्टीको जनवर्गीय सङ्गठनले गर्ने काम र त्यस बेलाको महिला सङ्गठनले गर्ने काम नै फरक थियो । पार्टीको जनवर्गीय सङ्गठनले गर्ने काम नेपालका समस्त महिलाहरूलाई समेट्ने, उनीहरूलाई नै नेता बनाउने किसिमको थियो । पञ्चायतका महिला सङ्गठनले भने अलिक टाठाबाठा महिलालाई टप्प टिप्ने, नेता बनाउने र अरू महिलालाई जतासुकै जाउन् वास्ता नगर्ने ।

फेरि उनीहरूलाई स्वतन्त्ररूपले काम गर्न नदिई नियन्त्रणमा राख्ने अवस्था थियो । आम नेपाली महिलामाथि भएको अन्याय अत्याचारलाई निर्मूल पार्न नीति तथा कार्यक्रम नबनाएको हुँदा तीन वटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर आएका महिलाहरूसँग सोध्दा पनि यही उपलब्धि भयो भन्न सक्ने अवस्था मैले भेटिनँ ।

खालि सम्मेलनमा भाग लिनु, देश देख्नु र आउनुमा नै सीमित भएको पाएँ । पछि बिस्तारै पञ्चायतभित्रको गुटबन्दीले गर्दा काम सेलाउँदै गयो । नेतृत्वमा होडबाजी, छिनाझपटी र विवादले गर्दा सुरुमा जस्तो महिला हक अधिकारका कामले गति लिन सकेन ।

मलाई लाग्छ, त्यस बेलाको महिला संघलाई काम गर्न आर्थिक कठिनाइ थिएन । यो काम गर्छौं भन्दा काम गर्न सक्ने अवस्था थियो किनभने महिलाहरूको नाममा धेरै दातृ संस्थाहरूले पैसा दिने गर्थे । हामीले यो काम गछौँ भन्दा काम गर्न सक्ने अवस्था थियो तर जुन ठाउँमा पैसा खर्च गर्नुपर्ने हो, त्यहाँ त्यो पैसा खर्च भएन । दुरुपयोगसम्म भएको पनि मैले अनुभव गरेकी छु । २०१९ देखि २०३५ सालसम्म यस्तो अवस्था रह्यो ।

महिलाहरूको समस्याको लागि बोल्दा महिला दशक मनाइरहेको बेला एउटी महिलाको जागिर खोसिएको थियो । त्यो जागिर मेरो बाँच्ने आधार थियो ।

संयुक्त राष्ट्र संघको नीति अनुरूप सन् १९७५ मा महिला वर्ष र महिला दशक मनाउन नेपालमा गर्मागर्मी वहसका फोरमहरू सञ्चालन भए । त्यस बेला म विश्व विद्यालयमा पढाउँथेँ । मलाई बोल्न निम्ता गरियो । मैले आफूले बुझेको सिद्धान्त अनुरूप बोलेँ तर त्यहाँ उपस्थित मानिसहरूलाई त्यो कुरा पचेन ।

आयोजकदेखि उपस्थितहरूसम्मको र मेरो उद्देश्य, बाटो र दृष्टिकोण फरक थियो । त्यही बेला नयाँ शिक्षाविरोधी आन्दोलनको समर्थन गरेको र पञ्चायती महिला सङ्गठनको विरोध गरेकाले होला, २०३२ सालमा मेरो जागिर पनि गयो ।

महिलाहरूको समस्याको लागि बोल्दा महिला दशक मनाइरहेको बेला एउटी महिलाको जागिर खोसिएको थियो । त्यो जागिर मेरो बाँच्ने आधार थियो । त्यही खोसिएपछि मेरो बाँच्ने आधार पनि गयो । मलाई त्यति बेला आफूले देखेको सही कुरा बोल्दा पनि कसरी विस्थापित होइँदोरहेछ भन्ने कुराले किंकर्तव्यविमूढ पनि बनाएको थियो ।

प्रकाशन मिति : २०८२ असार २७ गते, शुक्रवार

Share this :