Home Stories समृद्ध कर्णालीका महिलाले मान्छे बन्न पाएको बेला

समृद्ध कर्णालीका महिलाले मान्छे बन्न पाएको बेला

283
0

पहिलो संविधानसभा (वि.सं. २०६५–२०६९) की सभासद् रहिसकेकी सोनम छेजुङ लामा चार दशकभन्दा अघिदेखि नेपालको सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँसँग निर्दलीय पञ्चायतकालमा वडा अध्यक्ष भएदेखि बहुदलीय व्यवस्थामा नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमाले जस्ता पार्टीमा आबद्ध भई राजनीति गरेको अनुभव छ । ६९ वर्षीया उहाँ अहिले नेकपा एमालेको कर्णाली प्रदेश सदस्य तथा अखिल नेपाल महिला संघ (अनेमसंघ) को केन्द्रीय सदस्य हुनुहुन्छ । कर्णालीको मुगु जिल्लामा जन्मिएकी छेजुङको भनाइमा लिङ्गका आधारमा महिलालाई मानवको दर्जा नदिने घर, परिवार र समाजमा जन्मिए पनि उहाँले घरमा आफ्नै माइला दाइको सहयोग र प्रेरणा पाएर सामाजिक काम गर्दै राजनीतिमा लाग्न पाउनुभएको हो ।

कर्णाली प्रदेश कर्मथलो भएकी छेजुङ हाल काठमाडौँको कपनमा डेरा गरी बस्नुहुन्छ । स्वास्थ्य उपचार र पार्टी बैठकको कामका लागि काठमाडौँ बसे पनि उहाँ आफ्नो काम गर्ने थलो भने कर्णाली प्रदेश नै भएको बताउनु हुन्छ । उहाँसँग ‘सन्धान’ का लागि पत्रकार सम्झना विकले २०८० चैत अन्तिम साता उहाँको डेरामा पुगेर कुराकानी गर्नुभएको थियो । देशको राजधानीबाट र सेवासुविधाको पहुँचबाट टाढा रहेको भौगोलिक दृष्टिले अप्ठेरो ठाउँमा जन्मीहुर्की सोही ठाउँका लागि सामाजिक र राजनीतिक क्षेत्रमा लामो समय काम गर्दाका उहाँका जीवनभोगाइ विशिष्ट प्रकृतिका छन् । उहाँको जीवन दृष्टिमा मुगुका आममहिलाको पहिले र अहिलेको अवस्था पनि समेटिएको छ । प्रस्तुत छ, सोनम छेजुङ लामासँग सम्झना विकले लिनुभएको अन्तरवार्ताको अंश :

तपाईंको जन्म, बाल्यकाल, परिवार र स्वभावका बारेमा केही बताइदिनुहुन्छ कि ?

मेरो जन्म २०१२ साल पुस २६ गते साबिक किम्री गाविस वडा नम्बर ६ हालको मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ३ खारीगाउँमा भएको थियो । आमाको कोख रोक्ने बेलामा जन्मेको म । आमाको उमेर ४५ वर्ष भएको थियो रे मलाई जन्माउँदा । आमाको दुध राम्रोसँग नआएको भएर चौँरीगाईको दुधले हुर्काएकाे भन्नुहुन्थ्यो आमाले । हाम्रो आमाबुबाको १० छोरा र मसहित तीन छोरीहरू हो । हामी १३ जनामध्ये अहिले ७९ वर्षका माइला दाजु र म मात्र छौँ । हामी १० वर्ष जेठो कान्छी छौँ । विद्यालय गएर पढ्न पाइनँ । छोरी पढाउन हुँदैन भन्ने थियो ।

घरभरि मान्छे थियौँ । चाैँरी, घोडा, भेडा पाल्थ्यौँ । म दाउरा टिप्न जान्थेँ । साबिकको पाँच गाविसमा लामा बस्ती थियो । नौदेखि २३ वर्षसम्म मेरो जीवन भेडीगोठमा बित्यो । बर्खामा लेकमा बस्थेँ । जाडो महिना लेकको हिउँमा भेडा राख्न नसक्ने भएकाले सुर्खेतको राम्नीकाँडा भन्ने ठाउँमा झर्थ्याैं । म सानैदेखि हक्की स्वभावको थिएँ । कसैसँग पनि बोल्न डर नलाग्ने । भेडीगोठको जीवनमा गरिब, टुहुराको बारेमा कसैले नराम्रो कुरा गर्‍यो भने म ‘एक्सन’ मा गइहाल्थेँ । मभित्र सानैदेखि माक्र्सवादी चिन्तन रहेछ जस्तो लाग्छ आजकाल । अरूलाई पनि अन्याय भएको देख्नै सक्दिनथेँ ।

भेडीगोठको जीवनबाट राजनीतिमा कसरी आउनुभयो नि ?

मेरो माइला दाइ सोनाम छोबेल लामा २०२६ सालमा प्रधानपञ्च हुनुभयो । दाइ नेता भएपछि गाउँँमा कर्मचारी आउने, न्यायका काम गर्ने हुन्थ्यो । त्यो देखेर मलाई पनि बिस्तारै चासो लाग्न थाल्यो । किशोरावस्थादेखि नै यस्तैमा चासो लिएर हिँड्थेँ । बुबाले ‘तँ छोरी भएर राजनीतिको कुरा गर्ने ?’ भनेर मलाई गाली गर्नुहुन्थ्यो, झपार्नुहुन्थ्यो । तर, दाइले मलाई ‘बहिनीले समाजसेवा र राजनीति गर्नुपर्छ’ भन्नुहुन्थ्यो । मलाई राजनीतिक चेतना जगाउने पहिलो गुरु मेरो माइलो दाइ हुनुहुन्छ । पञ्चायतकालमा गाउँमा महिलाको जनवर्गीय समिति भन्ने पनि थियो । २०३५ सालमा त्यही समितिको गाउँ कार्यसमितिको सदस्यता लिएँ र पछि क्षेत्रीय सदस्य भएँ । २६ वर्षको उमेरमा २०३८ सालमा म वडाध्यक्षमा निर्वाचित भएँ । त्यहीँबाट मेरो राजनीतिको अविराम यात्रा सुरु भयो ।

तपाईं वडाध्यक्ष हुँदा पञ्चायतकालमा कार्यालयको काम गर्ने वातावरण कस्तो थियो ? समाजमा महिलालाई कसरी हेरिन्थ्यो ? के काम गर्नुभयो ?

म पहिलो पटक २०३८ सालमा साबिकको किम्री गाविस वडा नम्बर ६ को वडा अध्यक्ष भएको । त्यो बेला महिला भएर वडाध्यक्ष हुनु नै आश्चर्य थियो । महिलाले राजनीति गरेको भनेर समाजले गिज्याउँथ्यो र कुरा काट्थ्यो नि ! मैले योजना ल्याउँदा पनि गाउँँले हाँस्थे । ‘महिलाले योजना ल्याउने ?’ भनेर गिज्याउँथे । तर, मेरो दाइले ‘महिलाले घर, चुलोचौका मात्र समाल्नुपर्छ भन्ने छैन’ भन्नुहुन्थ्यो । भारतको इन्दिरा गान्धी, पाकिस्तानको बेनजिर भुट्टो पनि महिला हो, ‘मेरो बहिनी पनि त्यस्तै हुनुपर्छ’ भन्नुहुन्थ्यो दाइले । दाइको आडभरोसा र मेरो आँटले गर्दा कठिनाइहरूलाई चिर्दै गएँ ।

सोनम छेजुङ माइला दाइ छोबेल लामासँग ।

समाज धेरै फरक थियो । महिलालाई मान्छे नै नगन्ने । त्यही भएर कतै विकास–निकासमा महिलाले काम गरे भने पनि ज्याला दिँदैनथे । दिए पनि पुरुषलाई ५० रुपैयाँ दिँदा महिलालाई २० रुपैयाँ दिन्थे । म वडाध्यक्ष भएपछि आफ्नो ठाउँमा महिलाको अधिकारको कुरा गर्न थालेँ । महिला र पुरुषले बराबरी कामको बराबरी ज्याला पाउने व्यवस्था मिलाएँ । सरकारले पठाएको खाद्यको सामान घरधुरी अनुसार दिन्थ्यो । त्यसरी दिँदा छोराछोरीसँग छुट्टिएका बुढाबुढीले सामान पाउँदैनथे । तर, मैले गाउँमा भएका त्यस्ता बुढाबुढीलाई चामल, खाद्यान्न जे जे छ त्यो दिनुपर्छ भनेर व्यवस्था गर्दिन्थेँ । घरधुरी होइन भनेर सामान नदिने होइन, दिनुपर्छ भनेर मैले दिलाइदिन्थेँ । हाम्रो मुगुतिर मान्छे हिँड्दा लड्ने जस्तो बाटो हुन्थ्यो, कति मान्छे लडेर मर्थे पनि । त्यही भएर वडाध्यक्ष हुँदा बाटो खनियो, गोरेटो बाटो । गौचरण बनाएँ । विकास निर्माणका काम गरेँ । बुढाबुढी र महिलाको समस्या के छ भनेर हेर्थें । आफू नपढे पनि म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि भएँ । म ताखाखारी प्राथमिक विद्यालय (प्रावि) व्यवस्थापन समितिको अध्यक्ष थिएँ ।

तपाईं विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको बेला गाउँमा विद्यालय शिक्षाको अवस्था के थियो ? के गर्नुभयो ?

हाम्रोतिर पाँच वटा गाविसको लागि एउटा मात्र माध्यमिक विद्यालय थियो । म समितिको अध्यक्ष हुँदा गाउँतिर छोरीलाई पढाउनुपर्छ भन्दै हिँड्थेँ । त्यही भएर पनि होला, त्यति बेला म व्यवस्थापन समितिको अध्यक्ष भएको विद्यालयमा पढ्न आउने छोरीहरूको सङ्ख्या धेरै थियो । चन्दा उठाएर लेख्नको लागि कालोपाटी र बस्नको लागि कुर्सी बनाउन लगाएर विद्यालयलाई दिन्थेँ । शिक्षक पाउन गाह्रो थियो तर पनि मैले कक्षा खाली हुन दिइनँ । पञ्चायतकालकै कुरा हो, विद्यालय निरीक्षणका लागि एकचोटि डिलराज उपाध्याय भन्ने एक जना पुग्नुभएको थियो । उहाँले मलाई यस्तो दुर्गम ठाउँमा जन्मेर कसरी यस्तो चेतना आएको भनेर सोध्नुभएको थियो । उहाँले मलाई ‘तपाईंको काम देखेर प्रावि स्कुललाई निमावि बनाइदिन्छु’ भन्नुभएको थियो । पछि बहुदल आयो, त्यो (निम्न माध्यमिक विद्यालय बनाउने) काम रोकियो । म आठ वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएँ । त्यति बेला विद्यालयमा गएर छोरीहरूलाई पढ्नमा उत्प्रेरित गर्नका लागि भारतकी इन्दिरा गान्धी, पाकिस्तानकी बेनजिर भुट्टो, श्रीलंकाकी चन्द्रिका कुमारातुंगा जस्ता महिला राजनीतिज्ञहरूको उदाहरण दिन्थेँ । राजनीतिमा माथि पुगेका यस्ता महिलाहरूको बारेमा आफू पनि खुबै चासो राख्थेँ । सबैलाई ठुलो मान्छे हुनुपर्छ, अबको १५–२० वर्षपछि नपढेको मान्छे काम लाग्दैन भन्थेँ ।

तपाईंको अनुभवमा चार दशकभन्दा अघिको समयमा कर्णालीमा महिलाको अवस्था कस्तो थियो ?

महिलामाथि धेरै दमन थियो त्यो बेला । घरमा पुरुषको शासन देशमा राणाशासनभन्दा कम थिएन । रक्सी खाने, तास खेल्ने, बिहे भएर पनि अनैतिक सम्बन्ध बनाउने, घरको ‘स्वास्नी’ (श्रीमती)लाई कुट्ने–पिट्ने । कुटो, कोदालो, घाँस, दाउरा, सोत्तर गर्ने महिलालाई त घरभित्र दास नै बनाउँथे । महिलाहरूलाई बाहिरी संसारको बारेमा थाहा नै थिएन । महिलाले टाउकोमा कपडाको घुम्चो राख्नुपर्थ्यो । घुम्चो भनेको महिलाले लगाउने घुम्टो जस्तै हो । टाउकामा घुम्चो नराख्ने महिलालाई ‘छाडा भई, यसले घर खाँदैन’ भन्थे । महिलाहरूले हात धुँदा साबुन लगाउन पनि पाउँदैनथे ।

महिलालाई परिवारको सदस्य नै मान्थेनन्, भुसिया कुकुरको दर्जामा राख्थे । बच्चा पाउने, दाउरा टिप्ने, भारी भोक्ने, खेतीको काम गर्ने, खानका लागि समय पनि छैन । पहिलाको त कुरै नगरौँ, पूरै कुरा गर्ने हो भने दिनभरि, रातभरि लाग्छ । तपाईंसँगको अन्तरवार्तामा अटाउँदैन ।

अनि अहिले ?

अहिले… पहिलेको भन्दा त आकाश–पाताल फरक छ । गणतन्त्रले गर्दा महिला, दलित महिलाको लागि आरक्षण छ । कर्णालीका महिला समावेशीको नाममा पार्टीमा, राज्यको पदमा कहीँकतै पुगेका छन् । बाहिरी संसारको मुखै नदेखेका महिलाहरू घुम्चोबाट बाहिर आएका छन् । गाउँपालिकाको उपाध्यक्ष तथा जनप्रतिनिधि भइरहेका छन् । पार्टी राजनीतिमा लागेका छन् । मेरो विचारमा महिला सहभागिताको लागि एमालेले पार्टीभित्र राम्रो गर्‍यो । बिचमा माओवादीले पनि गरेको नै हो महिला सहभागिताको लागि । अहिले अलिकति लोभीपापी भयो । आफ्नो नातालाई मात्र राजनीतिक नियुक्ति दिने, राजनीतिक पद दिने अनि भष्टाचार नबढेर के बढ्छ त ? कर्णालीकै कुरा गर्ने हो भने नागरिकको जीवनशैली धेरै बदलिएको छ । शिक्षित जनशक्ति बढ्दै गएको छ । मेरो पुस्तामा मैले पढ्न पाइनँ तर मपछिको पुस्ताका सबैले पढेका छन् । पहिलेदेखि पुरुष जन्मजात मान्छे थिए भने महिलाहरू अहिले आएर मान्छे बन्न पाएका छन् ।

बहुदल आएपछि पार्टी राजनीतिमा कसरी लाग्नुभयो र के गर्नुभयो नि ?

मेरो चिन्तन, मेरो दर्शन गोठाला जिन्दगीदेखि नै मार्क्सवादी रहेछ जस्तो लाग्छ । छयालिस सालमा बहुदल आयो । सत्चालिस सालमा नेपाली कांग्रेसमा आबद्ध भएँ । त्यसपछिको केही समय राप्रपा पनि भएँ । म नेकपा एमाले भएको २०४९ सालमा हो । महिलालाई उठाउन पर्छ, महिला र पुरुष समान हुन् भन्ने नेकपा एमालेको नारा भएको थाहा पाएँ । त्यसैले मेरो मन छोयो र म एमाले भएको । नेकपा एमालेमा आबद्ध भएपछि म मुगुको तत्कालीन २४ गाविसका सबै वडामा पुगेको थिएँ । म हिँड्न जति पनि सक्ने, घोडा जस्तै हिन्थेँ । राति पनि एक्लै हिँड्थेँ । खै किन हो डर पनि लाग्दैनथ्यो । साथमा चक्कु चाहिँ भिरेर हिँड्थेँ । पार्टी सङ्गठन बनाउन भन्दै खटिएर लागेँ । त्यही खटिएको भएर होला, बहुदल आएपछि २०४८ सालमा भएको निर्वाचनमा पार्टीले पनि टिकट दियो । म फेरि किर्मी गाविस ८ नम्बर वार्डको वार्ड अध्यक्ष निर्वाचित भएँ । राम्रो नेतृत्व गरेँ । विकास निर्माणको काम गरेँ । त्यति बेला मुगु जिल्लाभरिमा मेरो गाउँँमा मात्रै पानीको सुविधा थियो । सुर्खेतदेखि खानेपानीको पाइप बोकाएर मुगुको गाउँमा लगेर पानीको धारा बनाएँ । अझै पनि गाउँँलेहरू त्यही पानी खाइरहेका छन् ।

राजनीतिक सहकर्मीहरूसँग साेनम छेजुङ

पार्टीमा लागेपछि तपाईंले पाएको जिम्मेवारीका बारेमा पनि बताइदिनुस् न !

म नेकपा एमाले भएपछि पार्टीको महिला सङ्गठनमा पनि लागेँ । मुगुमा अखिल नेपाल महिला संघ मैले नै स्थापना गरेको २०५१ सालमा । संघको मुगुको संस्थापक अध्यक्ष भएँ । अध्यक्षले गर्नुपर्ने काम गरेँ । पहिलेदेखिका काम पनि गरिरहेँ । मैले हिजो गाउँमा चेतना जगाउन सक्ने जति जगाइसकेँ, अब म पहिले जस्तो हिँड्न सक्दिनँ भन्छु । धेरै दिदीबहिनी हुनुहुन्छ । सबै जातजातिका मान्छे एकै हो भन्छु । मलाई उहाँहरू सबैको हरदम साथ र माया छ । ‘तपाईं हाम्रो अभिभावक हो, हिम्मत नहार्नुस्, तपाईं नभए त हामी टुहुरा हुन्छौँ’ भन्नुहुन्छ । मैले जिन्दगीभर कमाएको सम्पत्ति यही नै हो । अहिले सम्झिँदा अरूलाई पढ्न कति भनेँ, आफूले पनि प्रौढ शिक्षा भने पनि पढेको भए हुने ’रैछ जस्तो लाग्छ । महिलाले पनि बोल्नुपर्छ भन्थेँ । महिलाहरूलाई भेट्न घरघरमा पुग्थेँ । घरदैलो कार्यक्रम गरेर महिला मुक्तिको कुरा गर्थें । मलाई त दाइको सहयोग थियो । त्यसैले बाहिर निस्किन पाएको हो । नभए कहाँ निस्किन पाइन्थ्यो र ? म वडाध्यक्ष भएको बेला पनि महिलाहरूले बोल्नुपर्छ भन्दै घरघरै हिड्थेँ । मलाई पहिलो संविधानसभामा सभासद् पनि बनायो पार्टीले ।

संविधानसभामा के काम गर्नुभयो ? के गर्न पाउनु भएन ?

संविधानसभामा सभासद् भएर विकास निर्माणको काम भने जस्तो त केही गर्न सकिनँ । त्यति बेला संविधानसभा भएकाले विकास निर्माणभन्दा पनि संविधानमा राख्ने विषयमा छलफलहरू धेरै गर्नुपर्थ्यो । मेरो गाउँँ खारी पुग्न मुगु सदरमुकामबाट कस्सिएर हिँड्दा दुई दिनमा पुगिन्छ । त्यहाँ सडक पुर्‍याउन त भने जस्तो सजिलो छैन । तैपनि चाहिएको ठाउँमा गोरेटो बाटो बनाउन पहल गरेँ । गाउँमा बिजुली पुगेको बल्ल आठ वर्ष भयो । दलित समुदाय भएको ठाउँका लागि पनि प्राथमिकता दिएर खानेपानी, बालबालिकाको लागि शिक्षा, जनजाति समुदायको लागि गुम्बा बनाउन सहयोग गरेँ । पानी, बिजुली र सडकको लागि राम्रोसँग काम गर्न पाइनँ । मुगुको साबिक पिना गाविसको चुका भन्ने ठाउँमा दलित बस्ती छ, त्यहाँ बाटोको लागि पहल गरेँ र बाटो पुग्यो । थाप्पा गाविसको लापु दलित बस्तीमा काठे पुल राख्न लगाएँ । मेरो गाउँँ नजिकै माङ्ग्रीमा देवीथान बनाउन लगाएँ । दलित महिलाहरू दिनभरि ज्यामी काम गर्ने अनि दुई पोका नुन र पाँच किलो चामलको लागि घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था थियो । म सभासद् भएकै बेला उनीहरूका लागि चामल वितरणमा सहज बनाएँ । मुगुमा नमुना खालको विकास गर्ने मन थियो, त्यो गर्न पाइनँ ।

तपाईंले वडामा जनप्रतिनिधि हुँदादेखि संविधानसभाको सभासद् हुँदासम्मको राजनीतिक सामाजिक यात्रामा महिला भएकै कारण भेदभाव र खास चुनौती झेल्नुपर्‍यो कि परेन ? भन्न चाहनुहुन्छ ?

आम्मामा, त्यस्तो चुनौतीको त कुरै नगरौँ । परिवारको कुरा गर्ने हो भने माइलो दाइको समर्थन र सहयोग थियो तर परिवारका अरू सदस्यबाट केही न केही बन्धन थियो नै । घरबाट बाहिर निस्किँदा गाउँँसमाजले महिला भनेर गिज्याउने । म दिनरात जति बेला पनि सामाजिक र राजनीतिक काममा हिँड्थेँ । भनिसकेँ, झोलामा चक्कु सधैँ हुन्थ्यो । आफ्नो ज्यानको सुरक्षाको लागि चक्कु बोकेर हिँड्थेँ । गाउँमा महिलाले जति राम्रो काम गरे पनि विश्वास नै नगर्ने । जति राम्रो योजना ल्याए पनि मलाई गाउँ पञ्चायतमा बाख्राको भुवाको फेरुवामा बस्न नदिनेसम्म हुन्थ्यो । फेरुवा भनेको बाख्राको ऊनबाट बनाइने अहिलेको गलैँचा जस्तो ओछ्याउने सामान हो । म वडाध्यक्ष भए पनि मलाई पुरुषहरूले भेदभाव गर्थे र फेरुवामा बस्न पनि दिँदैनथे । त्यसमा त पुरुष मात्र बस्न मिल्छ भन्थे । उनीहरूले मलाई उनीहरू जस्तै जनप्रतिनिधि हो भनेर स्वीकार नै गर्दैनथे । त्यसो गरेपछि मलाई पनि त्यहाँको फेरुवामा बस्न मन लाग्दैनथ्यो । मैले आफ्नै तरिकाले वडाको काम गर्दै गएँ । बिस्तारै वडाका सबैले मलाई मन पराउन थाले । यस्ता धेरै चुनौतीलाई सामना गरेर मैले आफ्नो स्थान बनाएँ । आफैँले स्थान बनाएपछि बल्ल पुरुषहरूबाट जनप्रतिनिधिको व्यवहार पाएँ । चुनौतीकै कुरा गर्ने हो भने त अरू पनि छन् । कहीँ कार्यक्रम गरेर भाषण गर्न समय दिँदा पनि मलाईभन्दा पुरुषलाई धेरै समय दिन्थे । मलाई ‘थोरै बोल’ भन्थे तर मैले त्यो कुरा मान्दैनथेँ । संविधानसभामा पनि मैले सबै ‘सभासद्को हैसियत बराबर हो, बराबर समय पाउनुपर्छ’ भनेर बोल्थेँ ।

अनि, पार्टी राजनीति गरेर भोट माग्न र सङ्गठन बनाउन गाउँघरतिर हिँड्दा कस्तो व्यवहार पाउनुहुन्थ्यो ? त्यो कुरा सम्झँदा अहिले कस्तो लाग्छ ?

धेरैले गाली गर्थे ’नि पहिले पहिले नबुझ्दा त ! आमा हुन सजिलो हुन्छ र ? नौ महिनासम्म गर्भमा बोक्न पर्‍यो, कष्ट सहेर जन्मायो, दुःख गरेर हुर्कायो । त्यस्तै हो राजनीति पनि ! त्यो बेला महिलाहरूले नै मलाई केटाहरूसँग हिँड्छे भन्दै नराम्रो भन्थे । तर, उहाँहरूले नबुझेर भनेको, मैले त उहाँहरू जस्तै महिलाको सोचाइ फराकिलो बनाउनका लागि काम गरिरहेको छु भन्ने सम्झिँदै राजनीतिमा अघि बढ्दै गएँ । कसैले यसो भन्यो भनेर हिम्मत हारिनँ । बिस्तारै त छेजुङले भनेपछि सबैले मान्ने पनि भए । अहिले त त्यस्तो भेदभाव पनि छैन, सबैको माया पाउँछु । सबैले मलाई विश्वास पनि गर्छन् । त्यो बेला हामीले गरेको भएर अहिले त्यस्तो अप्ठेरो अवस्था छैन । राजनीति नै गर्ने महिलालाई पनि अलि सजिलो छ, समाजमा । त्यति बेला हामीले दुःख गरेका थियौँ र अहिलेका छोरी, महिलाहरूले स्वतन्त्रता पाइरहेका छन् ।

अनेमसंघका नेताकार्यकर्तासँग साेनम छेजुङ (बिचमा)

म त्यो बेला मेरो लागिभन्दा पनि गाउँसमाजको विकास र परिवर्तन, महिलाहरूको अवस्था परिवर्तनका लागि हिँडेको हो । मैले राजनीति विशुद्ध भावना लिएर गरेँ । आफ्नो गाउँसमाजमा चेतना फैलाउन र महिलाहरूको अवस्था परिवर्तन हुनुपर्छ भनेर गरेँ । व्यक्तिगत स्वार्थका लागि गरेको भए कहाँ पुगिसक्थेँ होला ? व्यक्तिगत रूपमा व्यापार व्यवसाय मात्रै गरेको भए पनि कति कमाउँथे होला ? अहिले म काठमाडौँ बस्दा कपनमा कोठा भाडामा लिएर बस्छु, एउटा कोठा लिएको छु । त्यसैको भाडा तिर्न पनि मुस्किल छ । इमान्दार राजनीति गर्ने हो भने सामान्य मुटुले कहाँ गर्न सकिन्छ र ? सबै कुरा पचाएर यहाँसम्म आइपुगेको छु । हाम्रो बेलाकै जस्तो भन्दा त अहिले राम्रो छ ।

तर, धेरैतिर नेतृत्व र निर्णायक भूमिकामा महिलाको खासै उपस्थिति देखिँदैन नि, किन होला ?

महिलाहरूले समानताको लागि लड्न अझै बाँकी छ । चुनाव पहिलाको जस्तो सजिलो छैन । अहिले भड्किलो र खर्चिलो बन्दै आइरहेको छ । हामी महिलाहरूले चुनावमा पुरुषले जति खर्च गर्न सक्दैनौँ । आर्थिक रूपमा पनि महिलालाई अलि गाह्रै छ । सम्पत्तिको हक अझै पनि पुरुषसँगै छ । लालपुर्जा पनि पुरुषकै नाममा हुन्छ । महिलाको नाममा धेरथोर भए पनि निर्णय पुरुषकै हुने हो । घरमा पुरुषकै निर्णय चल्छ । पार्टी र देश पनि त्यस्तै हो जस्तो लाग्छ ।

जे भए पनि अहिले तपाईंको परिचय बलियो बनिसकेको छ, कस्तो लाग्छ ? के भन्न चाहनुहुन्छ ?

गर्व लाग्छ । उहिले मैले राजनीति गर्दा कस्तो नराम्रो शब्द प्रयोग गरेर यो त यस्तो हो भनेर मेरै समुदायका महिला पुरुष सबैले भन्थे । बन्दुकको गोली मैले खाइनँ तर मान्छेको भनाइको गोली त मैले कति खाएँ खाएँ ! त्यस्ता नमिठो वचनको गोलीले गर्दा कहिले त समाजसेवा, राजनीति नगरौँ जस्तो पनि लाग्थ्यो । पछि आफ्नो दबिएको थर र दबिएको लिङ्ग भएको थाहा पाएँ । महिला भएका नाताले यस अवस्थाबाट मुक्ति पाउन म थाक्नु र डराउनु हुँदैन भन्ने जस्तो लाग्थ्यो । मन, वचन र कर्म साक्षी राखेर हिँडेँ । अहिले सम्मान पाउनु, पुरुष बराबरको मान्छे हो भनेर स्वीकार पाउनु ठुलो हो भन्ने लाग्छ । राजनीतिमै लागेर मैले धेरै जिल्ला घुमेँ । कर्णालीको कालिकोट बाहेक सबै जिल्लामा पुगेको छु । त्यहाँको भूगोल मात्रै होइन, धेरथोर समाज र महिलाको अवस्था बुझेको छु । मलाई पनि धेरैले चिन्नुहुन्छ, माया र विश्वास गर्नुहुन्छ । यही हो मैले पाउने जस्तो लाग्छ ।

युवा अवस्थामा सोनम छेजुङ ।

सामाजिक र राजनीतिक काम गरे पनि व्यक्तिगत जीवन चलाउन त पैसा नै चाहिन्छ, तपाईंको आर्थिक स्रोतको खास बाटो के हो ? खर्च कसरी चलाउँदै आउनुभएको छ ? यो कुरा पनि भनिदिनुहुन्छ कि ?

आर्थिक पाटो बलियो नभई त केही पनि चल्दैन । मलाई त अरू कमाउनुभन्दा पनि राजनीति र सामाजिक काम गर्दा हिँड्नका लागि चाहिने पैसाको जोहो गर्नुपर्ने थियो । त्यसैका लागि काम गर्थें । हामी भोटे जातिले लगाउने तुथु माला, महिलाले लगाउने कपडा, जडीबुटी सङ्कलन गरेर बेच्ने गर्थें । मैले आफ्नो लागि मात्र सोचिनँ । आफूले त एकजोर लुगा दिउँसो लगायो, राति धोएर सुकायो, बिहान त्यही लगाएर सङ्गठनको काममा गयो, यस्तै गरेँ । यसरी नै सङ्गठनको काममा जान्थेँ । आफूले कमाएको पैसा सङ्गठन बनाउँदा र सामाजिक राजनीतिक कामका सिलसिलामा हिँड्दाहिँड्दै खर्च हुन्थ्यो । जहाज भाडा त्यसैबाट निकाल्थेँ । पहिलेको एउटा कुरा भन्छु, काठमाडौँमा अखिल नेपाल महिला संघको पाँचदिने एउटा कार्यक्रम थियो । मसँग एउटा बख्खु मात्रै थियो, तेस्रो, चौथो दिन पनि त्यही बख्खु लगाएको देखेपछि विद्या दिदी (विद्यादेवी भण्डारी) र अष्ट दिदी (अष्टलक्ष्मी शाक्य) ले आफ्नो सारी लगाउन भन्नुभएको थियो । मैले लगाउन त लगाइनँ । अहिले माइतीबाट मलाई केही सहयोग मिलेको छ । एक्लै छु, जसोतसो पुगिहाल्छ । तर, म पहिलेदेखि नै भन्थेँ ‘मेरो मानो म आफैँ खोजिहाल्छु’ । राजनीति गर्ने मान्छे अरूको आशामा हिँड्ने पनि होइन ।

तपाईंको व्यक्तिगत जीवनको बारेमा पनि बताइदिनुहुन्छ कि ?

मैले बिहे नगर्ने निर्णय गरेँ । कमरेड मदन भण्डारी ‘राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन’ भन्नुहुन्थ्यो । मेरो आँखा सधैँ समाजमा तल भएको वर्गतिर नै जान्छ, त्यही वर्गलाई उठाउनमै मेरो ध्यान जान्छ । मेरो जिन्दगी मैले यसरी नै बिताउँदै आएँ । यस्तो काम गर्नलाई स्वतन्त्रता चाहिन्छ बिहे गरेपछि मैले चाहेको स्वतन्त्रता नपाउन पनि सक्छु भनेर मैले बिहे गरिनँ । बिहेको कुरा गर्न त घरमा कति आउँथे, घरमा पनि बिहे गर्नु भन्ने नै परिवारको सल्लाह हुन्थ्यो तर मैले गर्दिनँ भनेर गरिनँ । त्यसपछि परिवारबाट पनि बिहे गर्नैपर्छ भन्ने जबर्जस्ती त भएन । जबर्जस्ती नभए पनि बिहे नगरेपछि एक्लो हुन्छ, बुढेसकालमा सहारा हुँदैन भन्थे । उनीहरूलाई भन्थेँ, ‘८० किलो चामल बोकेर जुम्लाको सिंजाबाट गाउँसम्म पुगेको छु । एकमुठ्ठी रगत हुन्जेल आफैँ कमाएर खान्छु भन्ने आँट छ ।’ सबैलाई यही भनेर जवाफ दिन्थेँ ।

राजधानी काठमाडौँबाट बुझिएको र तपाईंले स्थानीय तहबाट बुझ्दै आउनुभएको कर्णालीमा के फरक छ ?

हिमाली चिया बनाउँदै साेनम । तस्विरहरू साैजन्य : साेनम छेजुङ

भूगोलको हिसाबले काठमाडौँबाट टाढा हो त्यसैले राजधानीबाट देखिने कर्णाली विकट छ । त्यही भएर काठमाडौँले कर्णालीलाई सधैँ दुर्गम, गरिबीको चपेटामा परेको, दुखीमान्छे बस्ने ठाउँ भनेर चिन्छ । तर, त्यस्तो मात्रै होइन । मेरो विचारमा कर्णाली आफैँमा समृद्ध छ । हिजो १०४ वर्षे राणाशासन काल, ३० वर्षे पञ्चायती शासनकालमा मात्रै होइन, छयालिस सालमा बहुदल आएपछि पनि कर्णालीमा राज्यको आँखा सही ढङ्गले पुगेन । त्यसैले कर्णाली राज्यसँग दुखी भएको हो । मैले चवन्न सालमा नेपालगन्जमा भएको एक कार्यक्रममा पनि यही भनेको थिएँ । त्यस कार्यक्रममा अखिल नेपाल महिला संघको त्यति बेलाका अध्यक्ष विद्यादेवी भण्डारी पनि हुनुहुन्थ्यो । उहाँ पछि राष्ट्रपति हुनुभयो । त्यस्ता केन्द्रीय नेताहरू भएका कार्यक्रमहरूमा म पहिलेदेखि नै कर्णालीलाई यसै भनेर चिनाउँथे । सबैले बोल्दा र लेख्दा अहिले पनि कर्णाली दुखी छ, त्यहाँ औषधी पनि पाइँदैन, यातायात छैन भन्छन् । यसै भनेर बोलिन्छ, लेखिन्छ तर म भन्छु– कर्णालीसँग राज्यलाई पाल्ने सम्पदा छ, हिमाल, ताल, नदी छ । म जङ्गलमा गोठाला जिन्दगी बिताएर राजनीतिमा आएको मान्छे । जङ्गलभरि जडीबुटी कति छ कति ! यार्चागुम्बाको माग कति छ, यसले रोजगारी पनि दिएको छ । भविष्यमा राज्यलाई पाल्ने कर्णाली, मेरो आँखाले त्यस्तो देख्छ । केन्द्रीकृत सामन्ती शासकहरूले हेरेनन् । कर्णालीमै त्यस्ता गरुङ्गो नेता पनि जन्मिएनन् कि जस्तो पनि लाग्छ । त्यसैले म त भन्छु, हाम्रो कर्णाली दुखी होइन सुखी हो । हाम्रो कर्णाली प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।

कर्णालीको मुगुबाट काठमाडौँ आउजाउ गर्न लाग्ने समय र यातायात भाडाका सम्बन्धमा तपाईंको अनुभव के छ ?

मुगु जिल्ला सदरमुकामसम्म अस्थायी गाडी पुगेको बल्ल १० वर्ष भयो । असारमा पानी पर्न थालेदेखि गाडी चल्दैन । एकपटकमा आतेजाते गरेर मुगुबाट नेपालगन्ज अनि काठमाडौंँ पुग्दा प्लेन भाडामा ३० देखि ३५ हजारसम्म खर्च हुन्छ । मैले सुरुमा राजनीति गर्दा मुगुमा एयरपोर्ट पनि थिएन । नेपालगन्ज आउनुपर्थ्यो, नेपालगन्ज आएर पनि प्लेन पाइहालिन्थ्यो र ? महिना दिनसम्म पनि कुर्नुपर्थ्यो । २०५८ सालमा रारामा ‘रारा महोत्सव’ भएको थियो । त्यति बेला पर्यटनमन्त्री बलबहादुर केसी हुनुहुन्थ्यो । हामी राजनीति गर्ने र स्थानीय सबै मिलेर एयरपोर्ट बनाएको हो । कहिले हेलिकोप्टरमा चढ्नुपर्थ्यो, १४/१५ हजार रुपियाँ त त्यसै गइहाल्थ्यो ।

कहानी जस्तो छ मेरो जीवन यात्रा ! मैले सानोतिनो भए ’नि व्यापार गर्थें । कपडा, माला, जडीबुटी बेच्थेँ । म मुगुबाट हिँडेर जुम्ला र बाजुरा जिल्लामा पनि व्यापार गर्न पुग्थेँ । मैले चौँरीगाई पनि पालेको थिएँ । मेरो माइती मध्यम वर्गको परिवार हो । अप्ठ्यारो परेको बेला धेरथोर सहयोग पनि गर्नुहुन्थ्यो । यसैले मलाई राजनीति गर्न पैसाले कहिल्यै रोकेन । मैले नगरेको काम केही छैन । पुरुषले बोक्ने ७०/७५ किलोको चामल मैले सदरमुकामबाट खारीसम्म बोकेर पुर्‍याउँथेँ । बलमा पनि कुनै पुरुषभन्दा कम थिइनँ । अरूले पनि ‘पुरुष जस्तै बलियो छ’ भन्थे । यस्तै काम र व्यापार गरेर प्लेनको भाडा निकाल्थेँ । पार्टीलाई चन्दा पनि दिनुपर्थ्यो । चुनाव लड्न सक्ने आर्थिक अवस्था नभए पनि मैले मुगुबाट राजधानीसम्मको राजनीति यसैगरी गर्दै आएको छु । अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य भएको अहिले तीन पटक हो । अहिले तेस्रो कार्यकाल हो । मेरो अनुभवमा आँट हुनुपर्छ, बाँकी सबै मिल्दै जान्छ भन्ने छ ।

अन्तमा केही भन्न चाहनुहुन्छ ?

जनआन्दाेलन २०६२/६३ मा सहभागी हुँदा प्रहरीकाे लाठीबाट घुँडामा लागेकाे चाेट देखाउँदै साेनम छेजुङ ।

हिजोभन्दा आज महिलाका लागि समाजले धेरै फड्को मारेको छ तर सहर, बजार, गाउँ, लेक जहाँ भए पनि महिलालाई चुनौती घरबाटै छ र त्यो अझै बाँकी छ । राजनीतिक, सामाजिक आन्दोलन सामान्य हुँदैन । त्यसमा लागेको मान्छेले पार्टीले खटाएको काम पनि गर्नुपर्छ । पार्टीको निर्देशनमा २०६२/६३ को जनआन्दोलनमा निरन्तर काठमाडौँकै आन्दोलनमा खटिएँ । त्यो बेला तीन महिना काठमाडौँमै बसेँ । जनआन्दोलनमा प्रहरीले बाँसको लाठीले हान्यो, घाइते भएँ । त्यति बेला एकछिन दुख्यो बिसेक भयो भनेको, छ महिनापछि बल्झिन थालेको थियो । तरुनी जोसमा पीडालाई पचाइदिएँ । तर पछि मात्र थाहा भयो, दायाँ खुट्टाको घुँडाको नसा च्यापिएको रहेछ । राम्रो ख्याल नगर्दा दायाँ खुट्टाको प्रेसरले बायाँ खुट्टामा पनि असर पारिसकेछ । घाइते भएको दुई घुँडाको अप्रेसन गर्न चार लाख रुपैयाँ लाग्छ भनेको छ । मसँग त्यत्रो पैसा छैन । उपचारको लागि पार्टीले सहयोग गर्छ कि भन्ने आशा छ । जीवनमा कसैको आशा गरिनँ । यति बेला पार्टीले के गर्छ ? जोरपाटी अपाङ्ग अस्पतालमा उपचार गराइरहेको छु । डाक्टरले साउन नभए भदौभित्र अप्रेसन गराइसक्नुपर्छ भन्नुभएको छ । मैले आफ्नो सङ्घर्ष र चुनौती सबै बताइसकेँ । समानताको लागि घरभित्रै लड भनेर अखिल नेपाल महिला संघले बारम्बर भन्दै आएको छ । हुन पनि हामी महिला सबैभन्दा पहिला घरभित्रै बोल्नुपर्छ, घरबाट बाहिर निस्किन्छु भन्न सक्नुपर्छ । यसै पनि राजनीति गर्न, नेता हुन सजिलो छैन । राजनीति गर्ने हो भने महिलाले अर्काको आशामा मात्रै बाँच्नु हुँदैन । राम्रोसँग पढ्नु पनि पर्छ । सिप सिक्नुपर्छ । सानै भए पनि व्यवसाय गरेर आयआर्जनको बाटो बनाउनुपर्छ । आफ्नो आयआर्जन हुनैपर्छ । अर्को कुरा, म गर्न सक्छु भनेर महिलाले नै आँट गर्नुपर्छ, आँट भनेको सबैभन्दा ठुलो सम्पत्ति हो ।

प्रकाशन मिति : २०८१ जेठ ३१ गते, बिहीवार