हरेक वर्ष जस्तै यो वर्ष पनि मार्च २१ मा नेपालमा २४औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदै छ । नेपालमा २०५७ साल अर्थात् सन् २००१ मा यो दिवस मनाउन थालिएको हो । ‘जातीय भेदभाव उन्मूलन’ गर्ने उद्देश्यले यो दिवस मनाइन्छ । यसका पछाडि एउटा बलियो अन्तर्राष्ट्रिय आधार छ । ‘सबै किसिमका जातीय भेदभाव उन्मूलन अन्तर्राष्ट्रिय महासन्धि १९६५’ लाई सदस्य राष्ट्रको हैसियतमा नेपालले सन् १९७१ मा हस्ताक्षर गरी अनुमोदन गरेको थियो । त्यसैमा टेकेर यो दिवस मनाउन थालियो ।
विगत २३ वर्षदेखि यो दिवसलाई उत्सवको रूपमा मनाउँदै आएको देखिन्छ । यसो गर्दा दलित समुदायका व्यक्तिले स्वतन्त्र रूपमा कति जिइरहेका छन् ? कतिले कत्तिको उत्सव मान्नसके भनेर पनि सोच्नुपर्छ भन्ने मलाई लाग्छ । यसरी सोच्दा म मेरै कुरा गर्छु । किन यो दिवसले मलाई अझैसम्म पनि सकारात्मक तरिकाले छुन सकेको छैन ? किनकि देखे/भोगे/सुनेका विभेदका कैयौँ घटनाले मेरो मन दुख्छ । मेरो मन दुख्ने केही घटनालाई ‘मार्च २१’ कै सेरोफेरोमा सम्झिन चाहेँ । यो दिवसलाई सार्थक बनाउन हरेकले आफूलाई मन, वचन र कर्मले विभेदरहित बनाउनुपर्ने सर्त पनि सुरुमै राख्न चाहेँ ।
घटना १ : मधेस प्रदेशको यात्रा
कामकै सिलसिलामा म मधेस प्रदेशको यात्रा गर्न थालेको लगभग एक वर्ष भयो । यो एक वर्षमा धेरैका कथा सुन्ने र अनुभव बटुल्ने अवसर पाएँ । पछिल्लो पटक २०८० फागुनको यात्रा भने दुःखद र अविस्मरणीय हुन गयो । सप्तरी जिल्लाको पुरानो सिमरा भन्ने ठाउँमा गएको, तोकिएको समयभन्दा एक घण्टाअघि पुगेकी थिएँ । एक कप चिया खाएँ अनि वरपर हिँडेँ । बजारको अलिकति भित्रतिर जाँदै गर्दा एक जना ५०–५५ वर्षकी महिलासँग भेट भयो । उमेरका कारण मलाई ‘आमा’ जस्तै लागेको थियो । उहाँले घर कता हो भन्नुभयो, मैले गोरखा भनेँ । अर्को प्रश्न गर्नुभयो– कसकी छोरी हौ ? मैले ‘मेरो आमाबुबा चिन्नु हुन्न होला, कसरी चिनाउने होला’ भन्दै गर्दा उहाँले सोध्नुभयो– कुन जातको छोरी हो ? मैले म परियारको छोरी हो भन्न नभ्याउँदै उहाँ मदेखि अलि पछाडि हटिसक्नुभएको थियो । म पनि तपाईं जस्तै मान्छे हो हट्नु पर्दैन भनेँ तर उहाँले ‘जात भगवान्ले बनाउनुभएको हो, भगवान्ले बनाएको नियमलाई अनुसरण गर्नुपर्छ’ भन्नुभयो । आफूलाई ‘माथिल्लो जात’ को ठान्ने ती आमा वैष्णवी सम्प्रदायको हुनुहुँदो रहेछ । उहाँले मलाई दलित, दलितकै ठाउँमा हुनुपर्छ भन्ने उपदेश पनि दिनुभयो । ‘आमा’ जस्तै लागेको मान्छेलाई मैले प्रतिप्रश्न गरिनँ । त्यसो गर्न मेरो मनले नै मानेन । तर, मलाई उहाँको जातप्रतिको भेदभावपूर्ण व्यवहार कत्ति पनि मन परेन । आफूभित्र क्रोध उत्पन्न भएको नमिठो अनुभव पनि गरेँ ।
विभेदका पीडा र भोगाइका यस्तै यस्ता घटनाका टुक्रा जोड्दै जाँदा शृङ्खलाको पहाड नै बनिसकेको छ । अझै कति पहाडहरू थपिँदै जाने हुन् ?
यो त विभेदको पछिल्लो एउटा घटना मात्र हो । विभेदका पीडा र भोगाइका यस्तै यस्ता घटनाका टुक्रा जोड्दै जाँदा शृङ्खलाको पहाड नै बनिसकेको छ । अझै कति पहाडहरू थपिँदै जाने हुन् ? ती आमासँगको भेटपछि एक पटक फेरि सोचेँ– दलितको श्रम चल्छ, सिप चल्छ तर किन चल्दैन दलितले छोएको पानी ? अपराधका घटना हेर्ने हो भने पनि दलित बालिकामाथि गैरदलितले बलात्कार गर्ने गरेको पाइन्छ । बलात्कार पीडितको तथ्याङ्क हेर्दा दलित परिवारका बालिका र महिला नै धेरै पीडित भेटिन्छन् । उनीहरूमध्ये कतिपयलाई गैरदलितले प्रेमको बहानामा यौन शोषण गर्न मिल्छ तर विवाह गर्न किन मिल्दैन ?
घटना २ : काजकिरिया गर्न बस्ने कोठा
कोरोना भाइरसका कारण मैले २०७७ मङ्सिर २९ गते मेरो बुबा गुमाउनुपर्यो । काठमाडाैँ नयाँ बसपार्क नजिकै गुम्बा भनेर चिनिने ठाउँमा काजकिरिया गर्नका लागि घरहरू बनाइएका रहेछन् । त्यहाँ मेरा काकाहरू काजकिरिया गर्न बस्ने कोठाका लागि बुझ्न जानुभयो । त्यहाँ पहिले त ‘दलित समुदायलाई दिने गरिएको छैन’ भन्ने प्रतिक्रिया पाउनुभयो । त्यसपछि अरू चिनेका मान्छेलाई भन्न लगाएको र कानुनी प्रक्रियामा जाने कुरा गरेपछि बेलुका मात्र हामीलाई कोठा दिने निर्णय गरियो । यो कुरा मलाई काकाहरूले अलि पछि मात्रै थाहा दिनुभयो ।
बाहिरबाट हेर्ने र आफूले विभेद भोग्न नपर्नेलाई विगतको तुलनामा अहिले केही घटेको जस्तो लागेको मात्रै हो । बरु भेदभावको शैली बदलिएको छ ।
कतिपयले सहरी क्षेत्रमा जातीय विभेद घटेको तर्क गर्छन् । त्यस्तो तर्क गर्नेहरूका लागि यो एउटा प्रमाण हुन सक्छ । लेखक आहुति भन्ने गर्नुहुन्छ, “भेदभाव घटेको छैन, यसले आफ्नो रूप मात्र परिवर्तन गरेको छ ।” हिन्दु संस्कारभित्र सनातन रूपमा गडेर रहेको जात व्यवस्था र जात व्यवस्थाभित्र देखिने गरी चलनचल्तीमा रहेका जातीय आधारमा गरिने भेदभाव घटेका र हटेका छैनन् । बाहिरबाट हेर्ने र आफूले विभेद भोग्न नपर्नेलाई विगतको तुलनामा अहिले केही घटेको जस्तो लागेको मात्रै हो । बरु भेदभावको शैली बदलिएको छ । अलि ‘डिप्लोमेसी मेन्टेन’ गरे जस्तो देखाएर भेदभाव गरिन्छ । त्यस खालका विभेदका चाङ पनि उत्तिकै खापिएर रहेका छन् ।
घटना ३ : स्वस्थानीको सम्झना र कार्यस्थलका कुरा
राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत हुनुहुन्छ, मणिराज विश्वकर्मा । उहाँले केही दिनअघि मात्रै आफ्नो बाल्यावस्थाको नमिठो अनुभव सम्झँदै भन्नुभयो– २०५७–५८ सालतिर मैले सात–आठ कक्षा पढ्दै गर्दाको कुरा हो । गाउँघरमा एकमहिने स्वस्थानी व्रतकथा भन्ने र सुन्ने चलन थियो । स्वस्थानी सकिएपछि साङ्गेता (साङ्गे) गर्ने चलन थियो । त्यसो गर्दा सात वटा घरमा गएर प्रसाद खाएपछि मात्रै स्वस्थानी व्रत पूर्ण हुन्छ भन्ने मान्यता थियो । त्यही भएर हामी टोलका साथीहरू जम्मा भएर घरघरै हिँड्थ्यौँ । त्यसक्रममा एउटा घरमा ‘पुजारी बा’ भन्नेले अरू सबै साथीलाई टीका लगाइदिए तर मलाई निधारमा लगाइदिएनन्, हातमा अक्षता–टीका दिए । त्यसो गरेको मलाई मन परेन । त्यसरी हातमा दिइएको अक्षता–टीका मैले त्यतिखेरै फाल्दिएँ । त्यसपछि मैले स्वस्थानी कथा पढ्नै छाडेँ । कक्षा १० मा पुगेदेखि त हामीले हाम्रो घरमै स्वस्थानी वाचन गर्न बन्द गर्यौँ ।
हुन त समय अनुसार व्यक्तिको सोचमा परिवर्तन नआएका पनि होइनन् । गैरदलित समुदायकै कतिपय व्यक्तिले पनि जातीय विभेदविरुद्ध खुलरै आवाज उठाइरहेको देखेको छु । अझ जात व्यवस्थाविरुद्धको बहस पनि बढ्दै गएको छ । यो कुराले दलित समुदायका दबाइएका आवाजलाई बोल्नुपर्छ भन्ने कुरामा हौसला पुग्दै गएको छ र जानेछ ।
तर, यही समाजमा केही यस्ता व्यक्ति पनि छन्, जसमा दलित समुदायको व्यक्ति पद र शक्तिमा पुगेको छ भनेको सुन्दा खिसी गरेर जिस्क्याउने, होच्याएर बोल्ने र विश्वास नगर्ने बानी अझै छ । कुनै ठुलो तहमा पुग्यो वा अलि राम्रो काम गर्यो भने पनि सिधै ‘दलित समुदायकोले पनि यस्तो काम गरेको ?’ भन्ने गरिन्छ । पढेलेखेर जागिर खाएकाहरूकै बिचमा कार्यस्थलमै हुने कुरा हो यो ।
घटना ४ : पाइलटमाथि विमानमै भद्दा मजाक
अनन्त आचार्यले अलि पहिले सुनाउनुभएको अर्को अनुभव पनि छ । उहाँ मेरा हितैषी दाइ पनि हुनुहुन्छ । उहाँले भन्नुभयो– सन् २०१८ ताका काठमाडौँबाट दिल्ली फ्लाइटमा जाँदै गर्दा क्रु–मेम्बरहरूको परिचय आउँदै थियो । त्यसमा पाइलट विश्वकर्मा थरका रहेछन् । त्यो सुन्नासाथ पछाडि सिटका दुई जना हाँस्न थाले । एक जनाले ‘कामीको छोरा पनि पाइलट ?’ भने । त्यसमा अर्कोले थप्दै ‘त्यही त आफूले मात्र केही गर्न सकिएनछ’ भनेर उनीहरू खिल्ली उडाउँदै हाँसेका थिए ।
समाज अझै किन यति भेदभावले ग्रस्त छ ? समानताको हिसाबले किन अचेत भइरहेको छ मानिस ?
यस्तो अनुभव आदानप्रदान गर्दै गर्दा लाग्छ, समाज अझै किन यति भेदभावले ग्रस्त छ ? समानताको हिसाबले किन अचेत भइरहेको छ मानिस ? दलित समुदायका व्यक्ति सक्षम छन् र शिक्षित भएर नयाँ काम गर्न सक्छन् भन्ने कुरालाई पनि खुलेर स्विकार्न किन नसकेको तिनले ? प्रशंसाको कुरा त परै छ अझै । किन भइरहेको छ विभेद ? कसरी रचियो होला मानिसलाई विभेद गरी दलित बनाउने प्रपञ्च ?
दलितमाथि हुने गरेका विविध खालका हिंसाको संरचनागत आधारलाई आहुतिको भनाइमा केही हदसम्म यसरी पनि बुझ्न सकिन्छ– उच्च जातीय शासकहरूले शताब्दीऔँदेखि वर्ण व्यवस्थामा आधारित अन्यायपूर्ण र विभेदकारी नीति र परम्परालाई राज्य सञ्चालनको आधार मानी समाजको ठुलो हिस्सा दलितहरूलाई शिक्षा, सत्ता र सम्पत्तिबाट वञ्चित गरायो, जसको फलस्वरूप दलितहरू विभिन्न हिंसा भोग्न बाध्य भए ।
अनन्त दाइले अनुभव सुनाउँदै गर्दा मेरो मनमा प्रश्न उब्जियो– जो कोही व्यक्तिले आफ्नो क्षमता अनुसार जुन कुनै पनि पेसा गर्न सक्छ भन्ने कुराको बुझाइमा हामी किन आज पनि अड्किइराखेका छौँ ? तत्कालीन राजा जयस्थिति मल्लले जात अनुसार काम तोकिदिए । त्यसलाई नै अपरिवर्तनीय कानुन जस्तै मानियो । त्यसै आधारमा जातीय छुवाछूतले पनि प्रश्रय पायो । दलितलाई आत्मविकास गर्नतिर नभएर झन् सेवामा तल्लीन रहन बाध्य गराइयो, विभिन्न क्षेत्रमा हात हाल्नै नदिएर पछाडि पारियो । फलस्वरूप नेपालमा दलित भनिएको समुदायले झन् कष्टकर जीवन बिताउँदै आजसम्म आइपुग्नुपर्यो । आज दलित समुदायको व्यक्ति अरूले जसरी अगाडि बढिहाले पनि पत्याइँदैन, बरु उडाइन्छ, ‘विश्वकर्मा पाइलट’ भने जसरी । पाइलटको थर विश्वकर्मा रहेको थाहा पाएपछिको भद्दा मजाक निन्दनीय छ ।
एक कार्यक्रममा मधेस प्रदेशकी एक दलित महिलाले भन्नुभयो, “म सानैदेखि पढ्नमा राम्रो थिएँ । प्रायः म कक्षामा पहिलो, दोस्रो भएकै हुन्थेँ । तर, सरहरूले मेरो रोल नम्बर कहिल्यै एक वा दुई लेखिदिनु भएन ।”
नेपालमा राणा शासनकालमा दलित समुदायको व्यक्तिलाई सेवामुखी काममा मात्र तल्लीन गराउने काम भयो । जातको आधारमा पेसा विभाजन गरियो । दलित समुदायका मानिसले विष्ट वा मालिक मानेर अरू जातीय समुदायको सेवा गर्ने गरी पेसा तोकेर जात बनाइयो । त्यो गलत अभ्यास थियो । त्यसले कुप्रथाको रूपमा जरो गाड्यो र त्यो जातीय विभेदका दृष्टिले विषवृक्ष बनेर अहिलेसम्म पनि उखेल्नै नसक्ने गरी फैलिइरहेको छ । त्यसले समाज र मनको विज्ञानलाई नै अनेक तरिकाले दुष्प्रभाव पारिरहेको छ ।
घटना ५ : गरिब, दलित अनि बालिका
मधेस प्रदेशका दलित समुदायका महिलाहरू सम्मिलित एक कार्यक्रम काठमाडौँमा भएको थियो । यो २०८० माघ अन्तिमतिरको कुरा हो । आफ्नो विभेदका भोगाइ बताउने क्रममा लगभग ३० वर्षकी एक महिलाको भनाइ थियो– गरिब परिवारकी मलाई जसोतसो आमाबुबाले स्कुल पठाउनुभयो । म सानैदेखि पढ्नमा राम्रो थिएँ । प्रायः म कक्षामा पहिलो, दोस्रो भएकै हुन्थेँ । तर, सरहरूले मेरो रोल नम्बर कहिल्यै एक वा दुई लेखिदिनु भएन । त्यो बेला केही बोल्न सक्दिनथेँ । अहिले सम्झिँदा लाग्छ, म गरिब अनि दलित समुदायकै भएका कारण मेरो क्षमता अनुसार रोल नम्बर पाइनँ ।
क्षमता अनुसार, रोल नम्बर नपाउनमा दलित बालिका हुनु पनि एउटा कारण हुन सक्थ्यो । त्यस बारेको चेतना आउन अझै बाँकी छ । लाग्छ, यो सबैभन्दा पिँधमा परेको अवस्था हो । भौगोलिक हिसाबले मधेस सुगम हो तर विभेदका कुरा र व्यवहार त्यहाँ पनि कम छैन । उच्चपहाडी तथा दुर्गम भेगका दलितमाथि स्कुलदेखि नै हुने व्यवहार झनै उदेकलाग्दो छ ।
नेपालका दुर्गम क्षेत्रमा दलित विद्यार्थीलाई अरू विद्यार्थीको छेउमा पनि बस्नु हुँदैन भनिन्छ । विद्यालयले दिवाखाजा खुवाउँदा अलगअलग ठाउँमा राख्ने गरेको आफैँले पनि देखेको छु । सुनेका घटना त कति छन् कति ? दलित भएकै कारण शिक्षकको हातबाट निर्घात पिटाइ खाएर सिकिस्तै घाइते भएका समाचार पनि बेलाबखत आएकै हुन्छन् ।
जुनसकै भेग र तहको भए पनि सरकारी कार्यालयमा जाँदा दलित नागरिकले विभेदको अनुभव गर्नुपर्ने कुरा पनि कसैबाट लुकेको छैन । सरकारी काम लिएर जाँदा दलित समुदायको व्यक्ति भएकै कारण कर्मचारीले सुरुमै बेवास्ता गर्ने, तत्काल हुने काम पनि सहजै नगरिदिने, गरे पनि ढिला गरिदिने । यति मात्रै होइन, कतिपय अवस्थामा त झन् दलित भनेर हेप्ने, होच्याउने र दुर्व्यवहार नै गर्ने । यस्ता भोगाइका अनगिन्ती अनुभव पनि चिनेजानेकै आफन्त र साथीहरूबाट सुनेको छु ।
हुन त विभेद कहाँ मात्रै छैन र ? जहाँ तहीँ विभेद छ । दलित समुदायका मानिस धार्मिक र सांस्कृतिक क्षेत्रमा समेत आफूले भनेको समयमा ढुक्कले जान पाउँदैनन् । मेरा आफ्नै अनगिन्ती अनुभव छन् यसमा । मलाई मन्दिरभित्र जानै रोक लगाइयो । हुन त मलाई यो थाहा छ, देशकै राजधानीमा रहेको पशुपति मन्दिरमा पनि पहिले पहिले दलित समुदायका मानिसले पसेर पूजा गर्न पाउँदैनथे । पशुपति मन्दिर प्रवेशका लागि त आफूहरूले ठुलै आन्दोलन गर्नुपरेको कुरा पनि आन्दोलन गर्नेहरूकै मुखबाट सुनेको छु । ती कुरा कतिपय इतिहासका किताबमा पढेको पनि छु । हरेक मन्दिरमा प्रवेश गर्नलाई हरेक पुस्ताका दलित समुदायले आन्दोलन नै गर्नुपर्ने हो र ? यस सन्दर्भमा मेरो प्रश्न यत्ति र यही हो ।
छुवाछूतको ऐतिहासिक पृष्ठभूमि
नेपालको सन्दर्भमा तत्कालीन हिन्दु धर्मका अनुयायी मनुले विभिन्न सेवामा तल्लीन गराउन वर्णको विभाजन गरे । चार वर्ण अनुसार कामकाजको समेत व्यवस्था गरे । कालान्तरमा त्यसलाई जात विभाजन भनेर बुझ्न थालियो । मनुस्मृतिमा ‘…शूद्रका नजिकै बसेर वेदपाठ गर्नुहुँदैन’, ‘शूद्रलाई ज्ञान सिकाउन, जुठो हव्य र कव्य खान, प्रत्यक्ष रूपमा धर्म र व्रतका कुराहरू सिकाउन पनि हुँदैन’ उल्लेख रहेको पाइन्छ । त्यति बेला शूद्र भनिएका मानिस अहिलेका दलित हुन् । दलितका सन्दर्भमा मनुस्मृतिमा अरू कुरा पनि छन् रे ! अहिलेको समाजमा सुन्नमा आएका कुरा हुन्– शूद्रले वेद सुन्छ भने त्यसलाई बहिरो बनाइदिनुपर्छ, तिनलाई ओढ्ने, ओछ्याउने झुत्रा कपडा र पराल दिनू । ब्राम्हणकी पत्नीलाई हेरेछ भने आँखा फुटाइदिनू भन्ने जस्ता कानुन मनुले बनाइदिए । ओहो ! कस्तो सुन्दै डरलाग्दो कानुन !
तत्कालीन राजा महेन्द्रले मुलुकी ऐन–२०२० जारी गरी सार्वजनिक स्थानमा जातीय छुवाछूत गर्न नपाइने व्यवस्था गरे । जातीय छुवाछूतको सवालमा यो कदमलाई सकारात्मक रूपमा लिने गरिए पनि कानुनी रूपमै घुमाइफिराइ दलित समुदायमा मानिसमाथि छुवाछुत गर्न पाउने अवस्था भने रहेको देखिन्छ ।
अमेरिकी समाजमा काला जातिलाई सयौँ वर्षसम्म दासको रूपमा राखियो । कुनै कालखण्डमा उनीहरू खरिदबिक्री हुने वस्तुका रूपमा पनि थिए । समान नागरिक अधिकारका लागि उनीहरू लामो समय लडे । रङमा आधारित विभेदलाई अन्त्य गर्न त्यतिले मात्र पुगेन ।
वि.सं. २०६२–६३ को जनअन्दोलनपछि पुनस्र्थापित संसद्ले २०६३ जेठ २१ गते देशलाई जातीय विभेदमुक्त राष्ट्र घोषणा गर्यो । त्यो दिन सामाजिक न्यायका पक्षधरहरूकै लागि एक ऐतिहासिक दिन थियो ।
संविधान र कानुनमा राखिएका प्रावधानले मात्र पनि व्यवहारमा समानता नहुने रहेछ । अधिकार खोज्दै अदालत जानुपर्यो । अदालतले गरेको निर्णयलाई कार्यान्वयन गराउनसमेत प्रयत्न गर्नुपर्यो । दक्षिण अफ्रिकामा रङभेद अन्त्य गर्न सिङ्गो विश्व नै लाग्नुपरेका विविध तथ्य हाम्रै सामु छन् ।
छुवाछुत विरुद्धका कानुन
संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ ले सबै मानव जाति स्वतन्त्र रूपले जन्मन्छन् र मानव प्रतिष्ठा एवं अधिकारमा समान छन् भन्ने भावनालाई समेटेको छ । प्रत्येक व्यक्ति कुनै पनि किसिमको, खासगरी जाति, वर्ण वा उत्पत्तिको भेदभावविना सम्पूर्ण अधिकार तथा स्वतन्त्रताको हकदार छन् भन्ने घोषणा गरेको छ । घोषणापत्रले सबै मानव जाति कानुनको अगाडि समान छन् तथा कुनै पनि भेदभावको प्रोत्साहनका विरुद्ध कानुनको समान संरक्षणका हकदार छन् भन्ने कुरालाई मनन गरेको छ ।
यस्तै यस घोषणापत्रको धारा (२) ले जाति, वर्ण, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य विचारधारा, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, जन्म वा अन्य कुनै हैसियत जस्ता कुनै पनि आधारमा कुनै पनि किसिमको भेदभाव नगरिने सिद्धान्त स्वीकार गरेको छ । घोषणापत्रको धारा (६) मा कानुनको दृष्टिमा प्रत्येक व्यक्तिलाई सर्वत्र व्यक्तिको रूपमा मान्यता पाउने अधिकार हुने कुरा उल्लेख छ । सबै व्यक्तिलाई यस घोषणापत्रको उल्लङ्घन गरी गरिएको कुनै पनि प्रकारको भेदभावविरुद्ध वा त्यस्तो भेदभावको दुरुत्साहनका विरुद्ध समान संरक्षण पाउने अधिकार हुने कुरा उल्लेख छ ।
वि.सं. २०७२ मा संविधानसभाबाट जारी नेपालको संविधानको मौलिक हक तथा कर्तव्य अन्तर्गतका विभिन्न धारा तथा उपधारामा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूति गरिएको छ ।, सबै नागरिक कानुनको दृष्टिमा समान हुने पनि उल्लेख छ । त्यसैगरी, धारा २४ मा ‘छुवाछुत तथा भेदभाव विरुद्धको हक’ छ भने धारा ४० मा ‘दलितको हक’ भनेर ती धारा अन्तर्गत विभिन्न उपधारा दिइएको छ । तिनमा सम्मानपूर्वक बाँच्न पाउने, कुनै पनि आधारमा भेदभाव गर्न नपाउने जस्ता कुरा उल्लेख गरिएका छन् ।
वि.सं. २०६२–६३ को बृहत् जनअन्दोलनपछि पुनस्र्थापित संसद्ले २०६३ जेठ २१ गते सिङ्गो देशलाई नै जातीय विभेदमुक्त राष्ट्र घोषणा गर्यो । त्यो दिन नेपालका दलित समुदायका लागि मात्रै नभई सामाजिक न्यायका पक्षधरहरूकै लागि एक ऐतिहासिक दिन थियो । यो घोषणापछि जातीय विभेद जस्तो जघन्य अपराधको कालकोठरीबाट बाहिर निस्किएको अनुभूति दलित समुदायले गर्यो ।
सबै प्रकारका जातीय विभेदलाई जरैदेखि उखेलेर हटाउनका लागि ‘म अर्को व्यक्तिलाई कुनै पनि आधारमा विभेद गर्दिनँ’ भन्ने सङ्कल्प गर्नुपर्छ ।
त्यसपछि ‘जातीय भेदभाव छुवाछूत कसुर र सजाय ऐन, २०६८’ जारी भयो । यसबाट दलित समुदायले भोग्दै आएको उत्पीडनबाट न्याय पाउने र जातीय विभेद गर्नेलाई कानुनी कारवाही गर्ने बाटो अझै खुकुलो भयो । तर, व्यवहारमा दलित समुदायले कल्पना गरेको जस्तो सहज वातावरण सिर्जना हुन सकेन ।
यो ऐन लागू भएको झन्डै एक दशकपछिको राष्ट्रिय मानवअधिकार आयोगको २०७७–७८ को वार्षिक प्रतिवेदनले पनि यसको पुष्टि गर्छ ।
राष्ट्रिय मानवअधिकार आयोगको उक्त प्रतिवेदनले कोभिड–१९ को समयमा भएको पहिलो बन्दाबन्दीमा दलितमाथि मानवअधिकार उल्लङ्घनका ६० वटा उजुरी परेको देखाएको छ । तीमध्ये अधिकांश जातीय विभेदसँग सम्बन्धित छन् । प्रतिवेदन अनुसार, ३१ प्रतिशत जातीय विभेद, २० प्रतिशत दुर्व्यवहार, १५ प्रतिशत दलित हत्या, १५ प्रतिशत भोकमरी र १२ प्रतिशत कोभिड–१९ सँग सम्बन्धित छन् । सात प्रतिशत दलित महिला तथा बालिकाको बलात्कार र हत्याका घटना भए ।
राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०७९–८० मा जातीय छुवाछूत तथा भेदभाव सम्बन्धी ५५ वटा घटनाको अभिलेखन भयो । त्यसमध्ये दलित हक अधिकार हननका चार वटा घटना थिए भने जातीय छुवाछूत र भेदभाव, गालीगलौज तथा कुटपिटका ३६, अन्तरजातीय प्रेम/विवाहका चार, हत्या तथा मृत्युका तीन र अन्य प्रकृतिका घटना आठ वटा थिए ।
भोगेकालाई मात्र थाहा हुन्छ, जातीय विभेदको मर्म ! त्यसैले पनि होला, समानता र विभेदरहित समाज निर्माणका लागि भन्दै गरिएका विभिन्न कार्यक्रममा पुग्छु । त्यहाँ ताली पिट्दै गरेको जमातलाई पनि सम्झन्छु र सोच्छु म । त्यसरी ताली पिट्दै गर्दा हामीमध्ये कतिले घरपरिवार, समाज र राज्यतहसम्म कुनै न कुनै रूपमा आवाजविहीन बनाइएका नागरिकको आवाजलाई सुन्ने गरेका छौँ ? हामीले ती आवाज उठाउनेहरूप्रति कत्तिको समानुभूति राख्ने गरेका छौँ ? आफ्नो तर्फबाट उनीहरूलाई कतिसम्म न्याय दिन खोजिरहेका छौँ ? न्यायको यात्रामा विभेदबाट पलपल पीडित हुन पुगेकाहरूलाई कत्तिको साथ दिन सकिरहेका छौँ ? यस्तो लाग्छ, अब त यी प्रश्नको जवाफ आफूले आफैँसँग खोज्न र महसुस गर्न आवश्यक भइसक्यो कि ?
न्यायपूर्ण समाज बनाउने अभियानमा लाग्दै गर्दा हरेकले युगौँयुगदेखि पछाडि पारिएका व्यक्ति तथा समुदायको अधिकारको लागि लड्न जरुरी छ । हरेकले आफूलाई जातीय दृष्टिले समानतामैत्री बनाउनु सबैभन्दा उत्तम उपाय हो । सबै प्रकारका जातीय विभेदलाई जरैदेखि उखेलेर हटाउनका लागि ‘म अर्को व्यक्तिलाई कुनै पनि आधारमा विभेद गर्दिनँ’ भन्ने सङ्कल्प गर्नुपर्छ । अनि मात्र हरेक वर्ष मार्च २१ मा मनाइने जातीय छुवाछुत विरुद्धका दिवसले सार्थकता पाउँदै जानेछन् । यस्ता दिवसले मलाई पनि सकारात्मक भावमा छुन सक्नेछन् ।
प्रकाशन मिति : २०८० चैत्र ८ गते, बिहीवार
याे पनि पढ्नुहाेला
- समानताको खोजीमा सङ्घर्षरत दलित महिलाहरू
- सांसद हुँदा पनि दलित महसुस गरायो समाजले (भिडियो सहित) – चमेली देवी दास
- दलित महिलामा क्षमता हुँदैन भन्ने गलत मानसिकता –संगीता अछामी
- पशुपति मन्दिर प्रवेशको आन्दोलनमा जाँदा पक्रेर दिनभरि गाडीमै राख्यो (भिडियो सहित)