Home Opinion भूमिहीनता नै सबै समस्याको जड – अरुण सदा

भूमिहीनता नै सबै समस्याको जड – अरुण सदा

347
1

राष्ट्रिय भूमि अधिकार मञ्च, सिरहाको जिल्ला संयोजक अरुण सदा दुई दशकदेखि भूमि अधिकारको आन्दोलनमा सक्रिय हुनुहुन्छ । सिरहाकै विपन्न मुसहर समुदायमा हुर्किंदै गर्दादेखि नै भूमि अभावको पीडाले गर्दा आफू अधिकारको आन्दोलनमा लागेको उहाँ बताउनुहुन्छ । अरुण सिरहास्थित ‘शवरी सङ्कल्प समाज’ को अध्यक्ष पनि हुनुहुन्छ । उहाँका अनुसार, संस्थाले मुसहर समुदायको शिक्षा, स्वास्थ्य, सामाजिक न्यायका साथै भूमि र माटोको अधिकारका लागि काम गर्दै आएको छ । भूमिहीनता र भूमिअधिकारकर्मीको अनुभवको बारेमा बोल्न एक कार्यक्रमको मञ्चमा पुग्दा उहाँ मञ्चमै भावुक हुनुभयो । बोल्दै गर्दा असहजताले केहीबेर मौन रहेपछि मात्रै फेरि आफ्ना भनाइलाई अघि बढाउन सक्नुभयो ।

‘जल, जङ्गल, जमिन : सङ्घर्ष र आकाङ्क्षा’ विषयमा काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा २०८० फागुन १९ र २० गते उक्त कार्यक्रम भएको थियो । फोटो सर्कल र इन्डिजिनियस विदाउट बोर्डर्स (आइडब्ल्यूबी) को संयुक्त पहलमा भएको सो कार्यक्रमका वक्ताका रूपमा अरुणले जमिनको अभावसँग जोडिएका मानिसका भोगाइ र अधिकारका बारेमा आफ्ना कुरा राख्नुभयो । कार्यक्रममा कसैले जल, जमिन र जङ्गलसँग जोडिएका भोगाइ र अभावका कुरा सुनाएका थिए भने कसैले आफूले काम गरेको क्षेत्रमा हासिल गरेको विज्ञताको अनुभव । अरुणले आफ्नो नाममा एक टुक्रा पनि जमिन नभएको अवस्थामा १४ वर्षदेखि भूमि अधिकारका लागि लडेको अनुभवसँगै भूमिहीनताको अवस्थालाई पनि प्रकट गर्नुभयो ।

उहाँको अभिव्यक्तिमा विशेषतः भूमि (जमिन) र जलसँग जोडिएका भूमिपात्र र उनीहरूका परिवारले झेल्दै आएको सङ्घर्षका साथै राज्य तहबाट अझैसम्म सुल्झिन नसकेका समस्या समेटिएका छन् । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट प्रणेताले तयार गर्नुभएको अरुण सदाको स्वकथन :

सर्वप्रथम त उपेक्षित समुदायबारे यसरी प्रस्तुति गर्ने वातावरण बनाइदिनु भएकोमा यहाँहरूलाई धेरै धन्यवाद ! यहाँ लेखन, साहित्य, सङ्गीतमा लागेका लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरू उपस्थित हुनुहुन्छ तर हामी त्यस क्षेत्र अन्तर्गतका परेनौँ । हामी एकदम भुइँमान्छे ! एक त मेरो विषयवस्तु पनि भूमि, त्यसमा पनि म एकदम ग्रामीण समुदाय, त्यसमा पनि एकदमै पिछडिएको समुदायको व्यक्ति । यसैले मैले यहाँ सबैभन्दा पिँधमा रहेको समुदायको आवाज लिएर आएको छु । सङ्घर्ष गर्दै आइरहेको कारणले मेरा धेरै कुरा सिलसिलेवार नहुन सक्छ । त्यसैले म पहिला नै यहाँहरू माझ क्षमायाचना गर्न चाहन्छु ।

यस कार्यक्रमका लागि पूर्वतयारी गरिएन वा भनौँ स्लाइड बनाइएन । किनकि हाम्रो समुदायको आफ्नै जीवनभोगाइ राख्नु छ । मेरो पनि आफ्नो जीवनको भोगाइ जे जसरी बाँचियो, बाँचिदै छ, त्यही नै यहाँ त्यसरी नै राख्ने कोसिस गर्छु, बनावटी होइन ।

बलदेव बाले जहिले पनि मलाई भन्ने गर्नुहुन्थ्यो– म जाने बेलामा तिमीलाई भूमिको जडी दिएर जान्छु । तर त्यो ‘जडी’ दिने मौका नपाई उहाँ बित्नुभयो ।

भूमिसम्बन्धी कुरा गर्ने क्रममा हामीले जब भूमि आन्दोलन सुरु गर्‍यौँ, त्यो सम्झँदा बलदेव बा (बलदेव राम) को याद आउँछ । उहाँ २०७६ सालमा ७७ वर्षको उमेरमा बित्नुभयो । उहाँ भूमि अधिकार मञ्चको संस्थापक अध्यक्ष हो । चमार समुदायलाई सिनो उठाउनबाट मुक्ति दिलाउने पनि बलदेव राम नै हुनुहुन्छ । भूमि अधिकार मञ्चको जन्मदाता भएकोले र उमेर पनि हामीभन्दा धेरै भएकोले हामी प्रायः भूमि अभियानकर्मीहरूले उहाँलाई ‘बा’ भनेर सम्बोधन गर्थ्याैं । बलदेव बाले जहिले पनि मलाई भन्ने गर्नुहुन्थ्यो– म जाने बेलामा तिमीलाई भूमिको जडी दिएर जान्छु । तर त्योे ‘जडी’ दिने मौका नपाई उहाँ बित्नुभयो । जडी भनेको औषधीको रूपमा लगाउने बुटी होे ।

भूमि आन्दोलन सुरु गर्दा म बच्चै थिएँ, आठ–नौ कक्षामा पढ्थेँ । त्यतिखेरकै मानसिकताले मलाई भूमि आन्दोलनतिर डोर्‍यायो । पछि भूमि अभियानकर्मी र अधिकारकर्मी भनेर चिनिन सुरु गरायो मलाई त्यही आन्दोलनले । बिस्तारै दीनदुःखीहरूको घरमा गएरै उहाँहरूको अवस्था बुझ्न थालेँ । जग्गा जमिनबाट वञ्चित पीडित परिवारमध्ये म आफैँ समेत भएकाले पनि मलाई त्यतै तान्यो । त्यो सन्दर्भमा जमिन वा भूमि र आफ्नो जीवनलाई सम्झिने बित्तिकै मलाई आफैँ पनि जता गयो त्यतै जन्जिरै–जन्जिरले बाँधिएको छ जस्तो लाग्छ । (तीन मिनेट जतिको असहज मौनतापछि) सरी, म धेरै भावुक भएछु !

यसकारणले मैले यो अभियान अङ्गालेँ । त्यही सिलसिलामा भूमिसम्बन्धी नीतिका कुराहरू, नीति बनाउने कुराहरू बारेमा सङ्घर्ष गरेँ । पीडित परिवारहरूको सल्लाह सुझाव लिँदै विभिन्न जिल्लाका विभिन्न स्थानमा काम गरेँ । कामको उद्देश्य ती पीडित परिवारलाई भूमि दिलाउनु पर्छ, उनीहरूको पनि सुरक्षित बासको ग्यारेन्टी हुनुपर्छ, उनीहरूलाई पनि सुरक्षित बासको ग्यारेन्टी गराउनुपर्छ भन्ने हो । उनीहरू पनि मानव हुन्, उनीहरूले पनि स्वतन्त्र जिन्दगी बाँच्न पाउनुपर्छ । यही सोचका साथ काम गर्ने सन्दर्भमा म पहाडका जिल्लाहरूमा पनि पुगेँ, बसेँ ।

तराईका जिल्लाहरूमा सबैभन्दा पिछडिएको दलित समुदाय र दलित समुदायभित्र पनि भूमिबाट वञ्चित ९० प्रतिशत मुसहर समुदायको पीडा सङ्कलन गर्दै कहिले रोडमा सडक सङ्घर्ष गर्न त कहिले विभिन्न ठाउँमा धर्ना दिन निस्किएँ । कहिले स्थानीय सरकारलाई दबाब दिन्थेँ, कहिले उहाँ (मुसहर) हरूलाई भूमिको अधिकार कसरी दिलाउन सकिन्छ भनेर नीतिगत सुझाव दिने भन्ने सङ्घर्षमा रहेँ ।

मुसहर समुदायको घरघरको पीडा देखेको छु । घरघरबाट प्रायः पुरुष सदस्य काम खोज्न भारत जान्छन् । तिनीहरूमध्ये प्रत्येक वर्ष सात–आठ जना हराएको खबर आउँछ । तर, तिनीहरूको खोजबिन हुँदैन ।

भूमि अधिकारको सवाललाई हामीले एउटा जातको पाटोबाट र अर्को महिलाको पाटोबाट हेर्नुपर्छ । जातको आधारमा हेर्दा दलित समुदायका धेरै मानिस भूमिहीन छन् । महिलाको पाटोबाट हेर्दा जति नै धनी वा सुखी र सम्पन्न परिवारका सदस्य भए पनि अधिकारको हिसाबले महिलाहरू बढी पीडित छन् । उनीहरूको नाममा पनि भूमि हुँदैन ।

म तराईका विभिन्न जिल्लामा जाँदा महिलाहरूको पीडालाई पनि हेरेको हुन्छु । तराईमा दलित समुदाय र दलितभित्र पनि पिँधमा रहेका/पारिएका मुसहर समुदायको घरघरको पीडा देखेको छु । घरघरबाट प्रायः पुरुष सदस्य काम खोज्न भारत जान्छन् । तिनीहरूमध्ये प्रत्येक वर्ष सात–आठ जना हराएको खबर आउँछ । तर, तिनीहरूको खोजबिन हुँदैन । उनीहरू बेपत्ता पारिन्छन् तर कसैले खोज्दैन । कति हराउँछन्, तथ्याङ्क पनि राज्यसँग छैन । तर, उनीहरू हराएको पीडा घरले मात्रै होइन समुदायले नै भोगिरहन्छ । हराउनेका परिवार बेचैन हुन्छन् । परिवारको ‘मुली’ नहुँदा महिलाले एक्लै दुई–तीन जना वा कति छन् ती बच्चा हुर्र्काउनुपर्छ ।

धारा नहुँदा नुहाइधुवाइ सरसफाइ गर्न पनि पाइँदैन । नुहाइधुवाइ गर्न पोखरीमा जानुपर्छ । पोखरी पनि सफा हुन्छ भन्ने छैन । त्यस्ता पोखरीमा नुहाउँदा विभिन्न खालका स्वास्थ्य समस्या देखिन्छ । बालबालिका र महिलाहरूमा बढी स्वास्थ्य समस्या देखिने रहेछ । सरसफाइ कम हुँदा महिलाहरूमा पाठेघरको समस्या आइरहेको समेत देखिएको छ । तर उपचार गर्ने अवस्था हुँदैन । सरकार स्वास्थ्य बिमा गर्नु भन्छ तर नागरिकता नभई बिमा गर्न पाइँदैन ।

जो भूमिबाट वञ्चित छ, ऊ नागरिकताबाट वञ्चित छ । जो भूमिबाट वञ्चित छ, ऊ शिक्षाबाट पनि वञ्चित छ । त्यसैले भूमि नहुनेहरू सबै अधिकारबाट वञ्चित हुन्छन् ।

मलाई लाग्छ, यही अवस्था रहिरहने हो भने भूमिहीनहरू धेरै हिसाबले पीडित हुनेछन् र पछि पारिनेछन् । जो भूमिहीन छन्, जो सुकुम्बासी छन्, समाजमा उनीहरूको हैसियत हुँदैन । उनीहरूको बोली बिक्दैन । समाजमा उनीहरू बोले पनि हावाले उडाउँछ । एउटा उखानले भने जस्तो– केही नहुनेहरू उठेर बोले हावाले उडाउँछ, बसेर बोले कसैले सुन्दैन । हो यस्तै हुन्छ । जो भूमिबाट वञ्चित छ, ऊ नागरिकताबाट वञ्चित छ । जो भूमिबाट वञ्चित छ, ऊ शिक्षाबाट पनि वञ्चित छ । त्यसैले भूमि नहुनेहरू सबै अधिकारबाट वञ्चित हुन्छन् । यदि कहीँ यसरी आफ्नो कुरा राख्दा पनि कसले बोल्यो भन्ने कुराले फरक पार्छ । ‘ए सुकुम्बासी बस्तीको केटाले बोलेको ? सुकुम्बासी बस्तीकी महिलाले बोलेको ?’ भनिन्छ । उनीहरूले बोलेका कुराको सुनुवाइ हुँदैन ।

विकास निर्माणका काम गर्दा सुकुम्बासी भूमिहीनलाई थाहै दिइँदैन । गाउँ गाउँमा सडक जान्छन् । ठाउँ ठाउँ भएर सडक जान्छन् । मेरो आफ्नै ठाउँबाट पनि सडक जान्छ तर त्यसको पूर्वयोजना मलाई थाहै हुँदैन । यो देशमा म र म जस्ता भूमिहीनहरूको कुनै हैसियत छैन । साँच्चै यस्तो लाग्छ, जो भूमिहीन छन्, पीडित छन्, उनीहरू दोस्रो दर्जाका नागरिक हुन् । अर्थात् उनीहरू आप्रवासी नेपाली हुन् । हामीमा जति नै देशभक्ति भए पनि हाम्रो नाममा एक टुक्रा जमिन छैन भने हाम्रो केही नहुने रहेछ ।

सुकुम्बासी भूमिहीनहरूका बच्चाहरूले राम्रोसँग खेल्न र स्वच्छन्द हाँस्न, रमाउन पनि पाउँदैनन् । हातखुट्टा फुकाएर दौडिएकालाई भनिन्छ– दलितका बच्चाहरू हाम्रा गाउँतिर आएर चिच्याउँछन्, कराउँछन् । र, भन्ने गरिन्छ– खबरदार अबदेखि दौडेलास् !

भूमिहीनका बच्चाहरू बालपोषण भत्ताबाट वञ्चित छन् । भूमि नभएकै कारण नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउने एकल महिला, ज्येष्ठ नागरिकहरूले पनि भत्ता पाएका छैनन् । जरो केलाएर हेर्दा थाहा भयो, सबै कुरा भूमिसँगै जोडिने रहेछ । यसैकारण मैले आफ्नो सारा तागत भूमि अधिकारको आन्दोलनमा लगाएर घस्रिराखेको छु ।

गुनासो गर्ने ठाउँमा पनि हाम्रो पहुँच छैन । मैले जिल्लाको भूमि आयोगका अध्यक्षलाई सोध्दा भन्थे– स्थानीय निकायबाट आउनुस् !

राष्ट्रिय भूमि आयोग छ । हामीले निकै दबाब दिएर बनाएको । भूमि आयोग बन्यो तर आयोगमा हाम्रो समुदायको एक जना पनि छैनौँ । भूमि आयोगमा भूमिहीन मुसहरको प्रतिनिधित्व गर्ने कोही छैन ।

अर्को कुरा, जिल्ला जिल्लामा हेर्दा भूमि आयोगमा भूमिपीडितहरू एक प्रतिशतको पनि अनुहार देखिदैँन । त्यहाँ बिचौलियाहरू कोही पोखरीको फाइल लिएर आउँछन् त कोही योभन्दा अगाडि नापेको फाइल भनेर आउँछन् । हामीले टुलुटुलु हेर्नुपर्ने अवस्था छ । गुनासो गर्ने ठाउँमा पनि हाम्रो पहुँच छैन । मैले जिल्लाको भूमि आयोगका अध्यक्षलाई सोध्दा भन्थे– स्थानीय निकायबाट आउनुस् !

हामी भूमिहीनहरू चैँ स्थानीय निकायबाट आउनुपर्ने । जसको पावर छ, पहुँच छ, जो बोल्छ, उनीहरू चाहिँ सिधै जिल्लाको आयोगमा फाइल लिएर लाइनमा बस्न पाउने ? यस्तो सम्झेर एकदमै पीडा हुन्छ ।

संविधानको मौलिक हक र कर्तव्य अन्तर्गत धारा ४० को उपधारा ५ मा ‘राज्यले भूमिहीन दलितलाई कानून बमोजिम एक पटक जमिन उपलब्ध गराउनु पर्नेछ’ र उपधारा ६ मा ‘राज्यले आवासविहीन दलितलाई कानून बमोजिम बसोबासको व्यवस्था गर्नेछ’ भन्ने उल्लेख छ । तर, त्यो कार्यान्वयनमा आको छैन । भूमिनीति सम्बन्धी (आठौँ संशोधन) ऐन, २०७६ मा भएका नीतिका कुरा जगजाहेरै छ । त्यसको कार्यान्वयन भाको छैन ।

मैले त तपाईंहरूलाई जुन ठाउँमा पीडा छ, त्यही ठाउँ मात्रै देखाइरहेको, सुनाइरहेको छु । फेरि पनि भारतमा गएका र फर्किन नपाएका सात–आठ जनाको परिवारले उनीहरूलाई ठेकेदारले फर्कन दिएन भनेर प्रत्येक वर्ष हामीलाई भनिरहेका छन् । यसतर्फ पक्कै पनि तपाईंहरूको ध्यान जानेछ भन्ने आशा छ ।

देशभक्त, देशप्रेमी मित्रहरूलाई म के भन्न चाहन्छु भने जति नै पीडा भए पनि बाहिर मन्द मुस्कान देखाउने र अभावमा पनि हाँसेर बोलिराखेका बच्चाहरूको सपना साकार पारिदिनका निम्ति तपाईंहरू एकचोटि तराई झरिदिनुस् !

जाँदाजाँदै यत्ति भन्न चाहेँ, नेपालमा जुन व्यक्तिको नाउँमा माटो जग्गा छैन, त्यही व्यक्तिले माटो दिवस मनाइरहेका छौँ । यो त नेपाल सरकारलाई व्यङ्ग्य हो । अहिले पनि ९५ प्रतिशत मुसहर समुदायका युवा र म आफैँसँग आफ्नो जमिन छैन । यदि मेरो श्रीमतीले तपाईंको नामको जग्गाको माटो सिन्दुरको लागि एक चिम्टी मलाई दिनू भन्यो भने मैले दिन सक्दिनँ । म मात्रै होइन, म जस्ता मुसहर समुदायका ९५ प्रतिशत दलित युवाले दिन सक्दैनौँ । यति ठुलो विडम्बना छ । मेरो श्रीमतीले मलाई र मेरो दिदीबैनीले उनीहरूका श्रीमान्‌लाई त्यो शब्द भनिहाले भने हामीहरू तपाईंहरूकहाँ गुहार्न आउँछौँ । त्यति बेला तपाईंहरूले हामीलाई साथ सहयोग दिनुपर्छ । पक्कै पनि साथ दिनुहुन्छ भन्ने आशा छ ।

अन्तमा, के भन्न चाहन्छु भने तपाईं जस्तो अभियानकर्मीहरू, लेखकहरू, विभिन्न ठाउँबाट आवाज उठाउनेहरूले हाम्रो र हाम्रो जस्तो उत्पीडित समुदायको बारेमा पनि लेखिदिनु होला, बोलिदिनुहोला । देशभक्त, देशप्रेमी मित्रहरूलाई म के भन्न चाहन्छु भने तराईको त्यो झुपडीमा रहेर जति नै पीडा भए पनि बाहिर मन्द मुस्कान देखाउनेहरू र अभावमा भए पनि हाँसेर बोलिराखेका बच्चाहरूको सपना साकार पारिदिनका निम्ति तपाईंहरू आइदिनुस् ! एकचोटि तराई झरिदिनुस् ! तपाईंहरूलाई निम्ता छ । आग्रह र अनुरोध पनि छ ।

प्रकाशन मिति : २०८० चैत्र ५ गते, सोमवार


Previous articleजे मैले भोगेँ !
Next article‘मार्च २१’ ले अझै नछोएको मेरो जातीय मर्म !

1 COMMENT

  1. १०० प्रतिशत सहि हो ,म्लाइ लाग्छ मुसहत समुदाय अर्काको गरिदिन जन्मेको हो ,हो यहि सम्झेर उच्च जातीका समुदायले मुसहर समुदायले हेप्ने ,काममा दल्ने प्राय:सबै गाउँमा देखिन्छ ।

Comments are closed.