विगतमा विभिन्न सङ्घसंस्था, व्यक्ति र समूहहरूले प्रकाशन/प्रसारण गरेका महिलाका जीवन कथाहरूलाई ‘सन्धान सहकार्य’ अन्तर्गत साभार गरी हामीले ‘सन्धान’ मा प्रकाशनरप्रसारण गर्छौं। यसैक्रममा आज मोतीदेवी स्मृति केन्द्रद्वारा प्रकाशित ‘प्रेरणादायी महिलाहरू’ पुस्तकको दोस्रो संस्करणमा छापिएको नानीमैयाँ नकर्मीको जीवनी ल्याएका छौँ । प्रस्तुत छ, ‘प्रेरणादायी महिलाहरू’ पुस्तकमा ‘संघर्ष र निरन्तरताकी प्रतीक : नानीमैयाँ नकर्मी’ शीर्षकमा ममता गिरीले लेख्नुभएको नानीमैयाँ नकर्मीको जीवनकथाः
नेपालको कम्युनिस्ट आन्दोलनकी एक साहसिक योद्धा नानीमैयाँको जन्म वि.सं. १९८४ साल मंसिर पूर्णिमाको दिन काठमाडौंको डुगमवहीमा भएको थियो । आमा पूर्णमाया महर्जन र पिता तुलसीनारायण महर्जनको कोखबाट उहाँको जन्म भएको थियो । बाजे वेखनारायण र बज्यै हकमाया महर्जनको अरुलाई सेवा गर्ने भावनाबाट उहाँ सानैदेखि प्रभावित हुनुहुन्थ्यो । उहाँका बाजे र बज्यै बुद्धमार्गी भएकाले नानीमैयाँ १०/११ वर्षको उमेरदेखि भिक्षुहरूको सङ्गतमा हुर्कनुभएको थियो। अरुले गरेको सेवा भावको कामप्रति उहाँ अत्यन्तै रुचि राख्नुहुन्थ्यो । कठिन समय र परिस्थितिका बाबजूद उहाँ शुक्रराज शास्त्री, दशरथ चन्द, गङ्गालालजस्ता योद्धाहरूलाई फाँसी दिएको हेर्न बडो हिम्मतकासाथ जानुभएको थियो । जनता र समाजको सेवामा उत्रिएका ती बहादुर मानिसहरूलाई किन फाँसी दिन लागेको भनी उहाँको मनमा खुल्दुली उत्पन्न भएकोले उहाँ त्यो दृश्य हेर्न जानुभएको थियो। यसरी निरपराध व्यक्तिहरुलाई फाँसीदिएको दृश्यले नै उहाँमा विद्रोहको भावना जागृत भएको थियो ।
२००३ सालदेखि नेपाली राष्ट्रिय काङ्ग्रेसको सदस्य रहँदै आउनुभएका श्री न्हुछेबहादुर नकर्मीसँग उहाँको २००४ सालमा विवाह भएको थियो । अन्तर जातीय विवाह भएका कारण उहाँले सामाजिक रूपमा धेरै कठिनाइको सामना गर्नुपर्यो । अर्थात् समाजमा टिक्नै नसक्ने अवस्था आएपछि उहाँहरु भागेर भारत जानुभयो । केही समय त्यहाँ बसेर पुनः नेपाल फर्कनुभयो । अनि अनेकौं बाधा, कठिनाइहरु झेल्दै भक्तपुरमा बस्न थाल्नुभयो । त्यतिखेर उहाँको चेतना माथि उठिसकेको थियो । त्यसैले थप ऊर्जा र सशक्तताका साथ पुन राजनीतिमै लाग्नुभयो र आफ्नो घर व्यवहार सम्हाल्दै अगाडि बढ्नुभयो ।
उहाँले मनमोहन अधिकारी, भरतमोहन अधिकारी र डा. केशरजंग रायमाझी, मोहनचन्द्र अधिकारी, चुडाप्रसाद हमाल, मदन प्रधानजस्ता थुप्रै नेताहरूलाई सेल्टर दिने पार्टीका नेताहरूलाई हरेक प्रकारले सहयोग पुर्याउनु कम चुनौतीपुर्ण थिएन । उहाँले त्यो काम जिम्मेवारीका साथ पूरा गर्नुभयो । उहाँले राजनीतिक जीवनको सुरुवात २००५ सालमा प्रारम्भ गर्नुभएको थियो । उहाँ भन्नुहुन्छ– ‘मलाई पहिले केही थाहा थिएन कमरेड तुलसीलाल अमात्यसँग सम्पर्क भयो र उहाँले भन्नुभयो अब देशको लागि काम गर्नुपर्छ । अन्याय, अत्याचार सहेर बस्नुहुदैन । बराबर भेट्ने र राजनीतिक प्रशिक्षण दिने काम गर्न थाल्नुभयो । त्यसपछि मलाई ठिकै हो जस्तो लाग्न थाल्यो । र, पार्टी काममा हिंड्न थालें ।’
उहाँका साथीहरू हुनुहुन्थ्यो– केशरी प्रधानाङ्ग, जगदीश्वरी हाडा, उमादेवी हाडा आदी । राणा शासनकालका विरुद्ध सङ्घर्ष गरिरहेकै बेला थुप्रै सक्रिय साथीहरू समातिएपछि नानीमैयाँसहित ११ जना साथीहरू सत्याग्रहमा बस्नुभयो । उमादेवी र जगदीश्वरीले स्कूल हड्ताल गराउने काम गर्नुभयो । नानीमैयाँ सहित अरु साथीहरूले मिलेर भक्तपुरको वंशगोपाल र तौमडीबाट दुई–दुई जना गरी सडकमा उत्रेर र राणाविरुद्ध सङ्घर्ष गर्नुभयो । त्यसक्रममा नानीमैयाँ पनि झन्डा बोकेर सडकमा निस्कनुभयो ।
राणा शासनको दमनको कति पनि परवाह नगरी नानीमैयाँ अत्यन्त साहसका साथ लड्दै अघि बढ्न थाल्नुभयो । राणा शासनको अन्धकारमय युगलाई चिरेर न्यायपूर्ण समाजको निर्माण गर्ने उत्कृष्ट चाहना थियो । उहाँहरू दुई हप्ता जति पार्टीको झन्डा लिएर सत्याग्रहमा सहभागी भएपछि सुकुलढोकामा गिरफ्तार गरिएका नेताहरूलाई छोड्नुपर्छ भन्दै उहाँले भाषण गर्नुभयो । देश र प्रजातन्त्रकोलागि लडेकाहरूलाई राणा सरकारले तुरुन्त छोड्नुपर्छ, भनेर जोडदार भाषण गरेपछि उहाँलाई गिरफ्तार गरी काठमाडौं चलान लगियो र त्यसको भोलिपल्ट उहाँलाई महिला जेल चलान गरियो ।
हातमा पर्चा सहित भेटेर पुलिसले गिरफ्तार गरेकाले पर्चा कसले दियो भनी निकै केरकार गरियो। मैले बाटोमा भेटे र के रैछ भनी टिपेको भने । किनकी तुलसीलालले जति यातना दिएपनि साथीहरूको नाम नखोल्नु भनेर सिकाउनुभएको थियो । दुई कार्यकर्ता लक्ष्मी मानन्धर र देवनानी ताम्राकार पनि जेलमा हुनुहुन्थ्यो। खाना राम्रो दिदैनथ्यो । १२ हात जति खद्दरको कपडा दिएको थियो, त्यही बेरेर बसियो ।
जेलमा उहाँले अत्यन्त धेरै यातना खेप्नुभयो । उहाँलाई कोर्रा हानिएको थियो। त्यस क्रममा खुट्टाबाट भल्भली रगत बगेको थियो । पिँडौलामा हान्दा फुटेर रगत मासु बाहिरै आएको थियो । उहाँ १५ दिन जति त उठनै सक्नुभएन । कोर्राले पेटमा पनि हानिएपछि उहाँ बेहोस हुनुभएछ । पछि देवनानी र लक्ष्मीको विशेष सहयोगमा उहाँ विशेष हेरचाहमा केही सञ्चो हुनुभएको थियो । देवनानी र लक्ष्मी बिन्तीपत्र हालेर जेलबाट छुट्नुभयो । तर नानीमैयाँको स्वाभिमानले त्यसो गर्न मानेन । कैयौं यातना सहदाँ पनि उहाँले पार्टीको गोपनियता खोल्नुभएन । ‘तुलसीलाल कहाँ छन् ?’ झन् भन्दै उहाँलाई कठोर यातना दिइएको थियो । ९ महिनापछि मोहन शम्शेर नेताहरूलाई भेट्न भारत जानेबेला राजबन्दी छोड्नुपर्ने बाध्यता भएकाले उहाँलाई छाडियो ।
उहाँलाई स्पष्टीकरणको लागि दरबार बोलावट भयो । त्यहाँ जादाँ उहाँ कुर्सीमा बस्नुभयो । राणाका सुसारे, बैठकहरुले कुर्सीमा बस्नुहुन्छ ?’ भनेर भन्दा उहाँले भन्नुभयो– ‘हामी मान्छे होइन र ? किन बस्न नहुने र ? त्यहाँ पनि तुलसीलाल खोई ! भनेर सोधियो । उहाँले थाहा छैन भनेपछि यसलाई ठोक्नु पर्नेभयो । निकै मात्तिएकी रहिछ भनियो । उहाँले ठोक्छौँ भने ठोक’ भन्नुभयो ।
बन्दुक तेर्स्याएर सानो कोठामा लगियो । तर केही गरिएन । अनि पुनः जेलमा लगियो । उहाँलाई केही समय गोलघरमा राखी नेल पनि ठोकियो। यसरी जेलमा बस्दा उहाँले अत्यन्त कष्टकर क्षणहरू गुजार्नुभयो । उहाँ भन्नुहुन्छ– ‘ती दिनहरू र यातना सम्झिँदा म अचम्मित हुन्छ । कसरी सहेँ हुँला ती कठोर क्षणहरू भन्ने लाग्छ ।
नानीमैयाँले आफ्नो घरको खर्चका लागि मिल चलाउनुहुन्थ्यो । एक दिन मिलको लोटा उछिट्टिएर छातीमा लाग्यो बज्रियो र घाउ लाग्यो । त्यसको उपचार गर्न पैसा उहाँसँग थिएन । भक्तपुरका एक डाक्टरले निःशुल्क औषधि गरिदिएपछि उहाँको घाउ निको भयो । उहाँले राजनीति गरेको जेठाजु मन पराउनुहुन्थेन । ती दिन सम्झदै उहाँ भन्नुहुन्छ– म ढाटी लुकी पार्टी काममा हिँड्थे । सूर्यविनायकको खोलामा लुकेर हामी मिटिङ बस्थ्यौं । आफन्त र पुलिसले नचिनुन् भनेर म पाइन्ट लगाएर मिटिङमा जान्थे । राणाहरुको अत्याचारले उहाँलाई यति आक्रोशित बनाएको थियो कि ‘बरु मारे मारोस्’ भन्दै हिँड्नुहुन्थ्यो । पछि भाषण गर्दागर्दै तुलसीलाल, उमादेवी, जगदीश्वरीलाई पालैपालो गिरफ्तार गरेर लगिएको थियो ।
नानीमैयाँ भन्नुहुन्छ– ‘कमरेड तुलसीलालले हामीलाई आन्दोलन सञ्चालन, पर्चा वितरण झण्डा बनाउने जस्ता कामको प्रशिक्षण र निर्देशन दिनुहुन्थ्यो । ‘हामी १३ जना जति थियौं । हाम्रो त्यतिखेरको नारा थियो । राणाशाही– मुर्दावाद ! इन्कलाव– जिन्दावाद ।’ सुरक्षाका कारण आन्दोलनकारीलाई तीन समूहमा विभाजन गरिएको थियो । केसरी र साथीहरु पहिलो समूह र उमादेवी, जगदीश्वरी र साथीहरू दोस्रो समूह नानीमैयाँले तेस्रो समूहको नेतृत्व गर्नुभएको थियो । उहाँहरूले भक्तपुरमा तीव्र रूपमा आन्दोलन चलाउनुभयो। वि.सं. ०३९ सालमा नानीमैयाँ तुलसीलाललाई भेट्न भारत जानुभयो । तीन दिनसम्म उहाँहरुसँगै बसेर आन्दोलनका बारे छलफल गर्नुभयो । साथै काठमाडौंमा आई नेतृत्व दिनुपर्यो भनी उहाँले तुलसीलाल कमरेडलाई आग्रह गर्नुभयो । अन्ततः तुलसीलाल तीन विद्यार्थीसहित नेपाल फर्कनुभयो ।
भेष बदलेर तुलसीलाललाई स्वदेश फर्काउन उहाँको महत्वपूर्ण भूमिका थियो । त्यस समय तुलसीलाललाई पाटनमा लुकाएर राख्ने र विभिन्न मानिसहरूसँग सम्पर्क गराउने काममा नानीमैयाँले विशेष सहयोग पुर्याउनुभयो ।
उहाँसँग भारत जानेहरूमा तीर्थकुमार दुवाल, मचाभाइ महर्जन र दानबहादुर महर्जन हुनुहुन्थ्यो । तुलसीलाल अमात्यलाई उहाँ आफ्नो राजनीतिक गुरुका रूपमा मान्नुहुन्छ । ‘म जस्तो राजनीतिकरूपमा अशिक्षित साधारण युवतीलाई शिक्षित तुल्याई चेतनाको दियो बाल्ने काम कमरेड तुलसीलालले नै गर्नुभयो। उहाँ अत्यन्त आदरणीय व्यक्तित्व हुनुहुन्छ ।’ नानीमैयाँले संझिदै भन्नुभयो, पार्टीले दिएको जिम्मेवारीलाई जसरी पनि पूरा गर्ने नेताहरूलाई भूमिगतरूपमा लुकाउने, गन्तव्यसम्म पुर्याउने, समस्याहरू आदानप्रदान गर्ने र जेलमा थुनिनुभएका कमरेडहरूलाई हरेक प्रकारले सहयोग गर्नेजस्ता काम उहाँले गर्नुभएको थियो । उहाँले पुलिस प्रशासनका आँखा छल्दै ०१८/१९ सालतिर कमरेड पुष्पलाललाई पनि घरमा लुकाएर राख्नुभयो । पछि पुष्पलालकी दिदीकहाँ पुर्याउने कार्य उहाँले गर्नुभएको थियो । मनमोहन अधिकारी, भरतमोहन अधिकारीलगायतका नेताहरूलाई ०१७ को शाहीकाण्डपछि मनमोहन अधिकारी, भरतमोहन अधिकारी लगायत नेताहरुलाई हेरविचार गर्ने काममा उहाँ आफै लाग्नुभयो ।
श्रीमानको नै नेपाल कम्युनिस्ट पार्टीसँग वि.सं. २००६ सालदेखि संलग्नता रहेकाले उहाँको पनि पार्टीसँग सम्बन्ध भएको थियो । तथापी उहाँले विधिवत रुपमा नेकपाको सदस्यता डा. केशरजङ्ग रायमाझीसँग ०२५ सालमा लिनुभयो । यसैगरी पुण्य प्रभा देवीले महिला संघ बनाउँदा नानीमैयाँ त्यसको सदस्य र हुनुभएको थियो । तर त्यस सम्बन्धलाई उहाँले निरन्तरता दिन सक्नुभएन । पछि रायमाझी समूहबाट विष्णुबहादुर मानन्धरको समूह अलग बनेपछि उहाँ त्यसमै रहनुभयो । उहाँलाई पञ्चायती गाउँ फर्क अभियानले कुनै पदमा मनोनित गर्न खोजेको थियो । तर त्यस प्रस्तावलाई उहाँले अस्वीकार गरि दिनुभयो । किनभने उहाँले आफुलाई सर्वहारा–श्रमजीवी वर्गको मुक्तिका निम्ति समर्पित गरिसक्नुभएको थियो । प्रतिक्रियावादीका कुनै प्रलोभनमा फस्नु उहाँका निम्ति स्वीकार्य थिएन । कमरेड तुलसीलालले देश र जनताका निम्ति लड्न जुन शिक्षा दिनुभयो । म उहाँप्रति सदैव आभारी छु उहाँ कृतज्ञताकासाथ भन्नु हुन्छ ।
उहाँले पार्टीको काठमाडौँ जिल्ला कमिटीमा बसेर काम गर्नुभयो । नेकपा एमाले काठमाडौंको सल्लाहकार कमिटीमा पनि रहनुभयो । ८३ वर्ष पुगे पनि उहाँको उत्साह र जाँगरमा कुनै कमी आएको छैन । पार्टीका अधिकांश कार्यक्रममा उहाँ सकेसम्म उपस्थित हुनुहुन्छ । संविधानसभाको निर्वाचन ०६४ मा पनि उहाँ सक्रियतापूर्वक खट्नुभयो । नेताहरूले दृढतापूर्वक इमान्दारीकासाथ देश हाँक्नुहोस्, बाँकी उमेर र समयभरी मैले उहाँहरूलाई साथ दिनेछु । आफ्नो विगत स्मरण गर्दै उहाँ भन्नुहुन्छ– मैले जनता र पार्टीका निम्ति जुन सङ्घर्ष गरे, त्यो यात्रा अझै पुरा भएको छैन, देशमा गणतन्त्र आयो त्यसमा निकै खुशी लागेको छ । तर जनताको हातमा पूर्ण अधिकार प्राप्त हुन अझै बाँकी छ । त्यो दिन पूरा हुन प्राप्त उपलब्धिहरु संस्थागत हुनुपर्छ । यसरी आज पनि उहाँको भावना र विचार बुलन्द रहेको छ।
यसरी नेपालको लोकतान्त्रिक आन्दोलनकी एक अथक योद्धा हुनुहुन्छ नानीमैयाँ । आज हामीले कामका दौरान कति कठिनाइहरूको सामना गर्नुपर्दछ । तर राणा शासनको क्रुर दमन र अत्याचारलाई चिर्दै कैयौँ समस्या र दमन र यातनासँग उहाँ निरन्तर क्रान्ति र मुक्तिका निम्ति कसरी लड्नुभयो होला । वास्तवमा नानीमैयाँको त्यही सङ्घर्षमय जीवनबाट नयाँ पुस्ताले सिक्नुपर्दछ । उहाँको समर्पण र साहसले हामीलाई प्रेरणा दिइरहेको छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन नानीमैयाँ नकर्मीको भुमिका अत्यन्तै महत्वपूर्ण रहेको छ । मुलुकको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन उहाँले खेलेको भूमिका अविस्मरणीय छ । त्यसका निम्ति सिंगो कम्युनिष्ट आन्दोलन उहाँ प्रति कृतज्ञ छ । उहाँको सङ्घर्षमय जिवन अनुकरणीय छ । नेपालको महिला मुक्ति आन्दोलनमा पनि एक साहसिक योद्धाका रुपमा उहाँ क्रियाशील रहनुभयो । यो हामी सबैका निम्ति गौरवको कुरा हो । त्यसबाट हामीले धेरै कुरा सिक्न सक्छौँ । कमरेड नानीमैयाँ नकर्मीका योगदानहरुले हामीलाई निरन्तर मार्ग निर्देशित गरिरहने छन् ।
सन्धान, प्रकाशन मिति २०७९ वैशाख २३ गते शुक्रवार