विगतमा विभिन्न सङ्घसंस्था, व्यक्ति र समूहहरूले प्रकाशन/प्रसारण गरेका महिलाका जीवन कथाहरूलाई ‘सन्धान सहकार्य’अन्तर्गत साभार गरी हामीले सन्धानमा नियमित रूपमा प्रकाशन/प्रसारण गर्छौं । आज मोतीदेवी स्मृति केन्द्रद्वारा प्रकाशित ‘प्रेरणादायी महिलाहरू’को दोस्रो संस्करणमा छापिएको मिठाईदेबी (परिवारका सदस्यका अनुसार “मिठाईदेवी” यस्तो नभइ “मिठाईदेबी” लेख्ने गरिएको ) विश्वकर्माको जीवनी ल्याएका छौँ । ‘प्रेरणादायी महिलाहरू’ मा ‘असमानताको सङ्घर्षका नेतृ: मिठाईदेबी विश्वकर्मा’ शीर्षकमा धनकुमारी सुनारले लेख्नुभएको हो । पुनः प्रकाशनका लागि साभार गर्दा सन्धानले यसलाई नयाँ शीर्षक ‘राजनीतिक आन्दोलनले बिर्सिएको एउटा नामः मिठाईदेबी विश्वकर्मा’ दिएको छ । प्रस्तुत छ, मिठाईदेबी विश्वकर्माको जीवनकथाः
लामो समयसम्म उत्पीडित समुदायको समानताका लागि संर्घषमा होमिएर पनि हाल राजनीतिक र सामाजिक वृत्तमा ओझेल पर्नुभएको संर्घषशील व्यक्तित्वको नाम हो मिठाईदेबी विश्वकर्मा । जसले नेपालको राजनीतिक परिवर्तन, महिला मुक्ति र जातीय उत्पीडन विरुद्ध अथक रूपमा लागि परिरहनुभयो । मिठाईदेबी विश्वकर्माले समाजमा रहेको जातीय आधारमा हुने भेदभाव, हिंसा र शोषणलाई जरादेखि नै फ्याँक्न कम्मर कसेर कठिनाइहरूसँग जुझ्न सधैँ लाग्नुभयो । बाल्यकालदेखि नै नेपाली प्रजातान्त्रिक आन्दोलन, महिला आन्दोलन र वर्गीय उत्पीडनको आन्दोलनका हस्ती र ऐतिहासिक व्यक्तित्वहरू गणेशमान, टंकप्रसाद आचार्य, पुष्पलाल, साहना प्रधान, साधना प्रधानहरूसँग उठबस गर्ने ऐतिहासिक अवसर पाउनुभएको थियो ।
प्रजातान्त्रिक आन्दोलनका धरोहर व्यक्तिहरूको साथ-संगतले उहाँले उत्पीडन र शोषणविरुद्ध लाग्ने प्रेरणा बाल्यकालदेखि नै मनग्य प्राप्त गर्नुभएको थियो । राणाहरूको एकतन्त्रीय शासनका विरुद्ध आफ्नो जीवनको पर्वाह नगरी जाइलागेका थुप्रै जुझारु र क्रान्तिकारी युवाहरूसँगसँगै किशोरी मिठाईदेबी पनि आन्दोलनमा अघिपछि हिँड्ने गर्नुहुन्थ्यो । वि.सं. २००४ मा उहाँ खेल्ने, उफ्रने उमेरकी हुनुहुन्थ्यो । टंकप्रसाद आचार्य, रामहरि शर्मा, चुडानाथ शर्मा, गणेशमान सिंहहरू जेलमा थिए, तत्कालीन राजनीतिक अवस्था सहज नभएकाले राजनीतिक भेटघाट गर्न ज्यानको बाजी लगाउनु जत्तिकै जोखिम थियो ।
जेल परेका राजबन्दीहरूलाई गोप्य रूपमा चिठीहरू पुर्याउनु झनै कठिन थियो, जसले गर्दा विभिन्न तरिकाहरू अपनाइन्थ्यो । यस्तै कार्यमा किशोरी मिठाईदेबीले पनि योगदान दिनुभएको थियो । तारादेवी, मेवादेवी कपाली सँगसँगै उहाँले पनि तरकारी र फलफूलभित्र लुकाएर बाहिरको चिठीपत्र जेलभित्र पुर्याइदिने काम गरेर प्रजातान्त्रिक आन्दोलनमा सघाउ पुर्याउनुभएको थियो । उहाँ १२ वर्षकी किशोरी हुँदा नै आफ्ना पिता बेखनारायण कपाली आबद्ध ‘नेपाल प्रजा परिषद्’ पार्टीको राणा विरोधी आन्दोलनमा आफ्ना पिता र ठूला बा सहर्षनाथ कपालीसँगै रातभरि पर्चा पम्पलेट तयार पार्न सघाउने कार्य गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
तत्कालीन राजनीतिक अवस्था सहज नभएकाले राजनीतिक भेटघाट गर्न ज्यानको बाजी लगाउनु जत्तिकै जोखिम थियो । जेल परेका राजबन्दीहरूलाई गोप्य रूपमा चिठीहरू पुर्याउनु झनै कठिन थियो, जसले गर्दा विभिन्न तरिकाहरू अपनाइन्थ्यो । यस्तै कार्यमा किशोरी मिठाईदेबीले पनि योगदान दिनुभएको थियो ।
मिठाईदेबी विश्वकर्माले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनुभयो । साथै मानव समुदायका लागि कलङ्कको रूपमा रहेको छुवाछुत प्रथा, जातीय भेदभाव, उत्पीडन र शोषण विरुद्धका असङ्ख्य चुनौतीहरूसँग जुझ्दै दलित मुक्तिका लागि आफ्नो जीवनकालभर नै सङ्घर्षरत नेतृको रूपमा आफूलाई समर्पित गर्नसक्नु नै उहाँको परिचायक व्यक्तित्व बनेको छ । नेपाली समाजमा रहेका विकृतिमध्ये छुवाछुत र जातीय भेदभाव पनि एक हो । जुन मानवता विरुद्धको जघन्य अपराधको रूपमा रहेको छ । जसले मान्छे मान्छेबीच छुत-अछुतको पर्खाल लगाई भेदभाव गर्दछ र मानवलाई ठूलो सानोको वर्गमा विभाजन गर्दछ ।
मिठाईदेबीले समाजको पिँधमा रहेको समुदायका महिलाहरूको हक अधिकारका लागि सङ्गठित रूपमा आवाज उठाउने काम गरेर यस क्षेत्रमा ठूलो गुन लगाउनुभएको छ । महिलाभित्र पनि अत्यन्त दयनीय अवस्थामा बाँच्न बाध्य दलितहरूको सामाजिक अवस्थालाई सुधार्न, सांस्कृतिक विभेदले जन्माएको कुसंस्कारहरूका अन्त्यका लागि उहाँले निरन्तर सङ्घर्ष गर्नुभयो । २०१२ सालमा दलित महिलाका हक र अधिकारका लागि आफ्नै नेतृत्वमा ११ सदस्य ‘नेपाल परिगणित नारी सङ्घ’ गठन गरेर तत्कालीन समयमा उठेका महिलाका मुद्दाहरू, पारिवारिक समस्याहरू झै–झगडा मिलाउने, महिलाका लागि नैतिक शिक्षा, महिला हकहित, उत्थान, चेतना र मुक्तिका आवाजहरू उठाउनुभएको थियो ।
तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको पालामा चीनका प्रधानमन्त्री चाउऐनलाई नेपाल आएका थिए । उक्त समयमा मिठाईदेबीसहित सङ्गठनको तर्फबाट अभिनन्दन पत्र बुझाउन पाँच जना महिलाहरू मेवादेवी, कलावती, पूर्णकुमारी कपाली, लीलावतीले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । मिठाईदेबीको ‘नेपाली नारीको अवस्था र अवस्थिति’ (२०६१) नामक पुस्तक पनि प्रकाशित छ, जसमा आम महिलाहरू र त्यसभित्र दलित महिलाका समस्या उठाइएको छ । यस पुस्तकमा सिङ्गो महिला आन्दोलनले सीमान्तकृत दलित महिलाहरूको आवाज उठाउन नसकेको समस्यालाई प्रस्तुत गरिएको छ ।
संविधानसभाको मागलाई लिएर २०१४ सालमा चलेको ‘भद्र–अवज्ञा’ आन्दोलनमा समेत उहाँले सक्रिय रूपमा भाग लिनुभयो । मोतीदेवी कपाली, पार्वती दर्नाल, सावित्री दर्नाल, पूर्णकुमारी कपालीलगायत यस आन्दोलनमा सहभागी हुनुभएको थियो ।
मिठाईदेबीको जन्म वि.सं. १९९३ फागुन १० गते माता मिश्री कपाली र पिता बेखनारायण कपालीकी जेठी सुपुत्रीको रूपमा काठमाडौँको इन्द्रचोकमा भएको हो । स्नातकसम्मको अध्ययन पूरा गर्नुभएकी मिठाईदेबीको महिला आन्दोलन, दलित आन्दोलन र राष्ट्रिय राजनीतिसँग जोडिएको उल्लेखनीय योगदानलाई बिर्सन सकिँदैन ।
पत्रकारितादेखि ‘भद्र अवज्ञा’सम्म
तत्कालीन सामाजिक तथा राजनीतिक परिवेशमा शिक्षा आर्जन गर्न दलित तथा महिलालाई समेत वर्जित हुनुपर्ने अवस्थामा मिठाईदेबीले उच्चशिक्षा हासिल गरी पत्रकारिता र साहित्य क्षेत्रमा समेत योगदान पुर्याउनु आफैँमा अनुकरणीय काम थियो । सँगसँगै दलित आन्दोलनको पुरानो दस्तावेजको रूपमा मानिने ‘प्रेरणा साप्ताहिक’, ‘सञ्जीवनी’ साहित्यिक मासिक पत्रिका, ‘महिला बोल्छिन्’ महिलाबारेको पत्रिकाको सम्पादक भएर काम गरेको उहाँको अनुभव छ । उहाँका यस्ता गतिविधिले दलित, महिला तथा दलित महिलाका मुद्दाका विषयमा ऐतिहासिक दस्तावेज बनाउनमा सहयोग पुग्यो ।
संविधानसभाको मागलाई लिएर २०१४ सालमा चलेको ‘भद्र–अवज्ञा’ आन्दोलनमा समेत उहाँले सक्रिय रूपमा भाग लिनुभयो । मोतीदेवी कपाली, पार्वती दर्नाल, सावित्री दर्नाल, पूर्णकुमारी कपालीलगायत यस आन्दोलनमा सहभागी हुनुभएको थियो । त्यसैगरी उक्त समयमा पशुपतिको मन्दिरमा दलित समुदायलाई प्रवेश निषेध थियो ।
वि.सं २०११ मा हजारौँको सङ्ख्यामा मन्दिर प्रवेश गर्ने कार्यक्रमको नेतृत्व गर्ने सहर्षनाथ कपाली, बेखनारायण कपाली, तेजमाया कपाली, लक्ष्मी कपालीलगायत हजारौँ सङ्ख्यामा महिलाहरू र कतिपय केटाकेटीहरू समेतको सहभागिता थियो । मन्दिर प्रवेश आन्दोलनमा समेत उहाँले सक्रिय भूमिका खेल्नुभएको थियो । यही आन्दोलनपछि मात्र दलितहरूले पशुपति मन्दिरमा प्रवेश पाउन थालेका हुन् ।
दलित समुदायमा जन्मिएका कारण सानैदेखि उहाँले धारा पँधेरोमा कुटाइ खानुपर्यो । जसले गर्दा उहाँको बालमस्तिष्कमा विद्रोहको भावना जाग्यो ।
अतः नेपालको दलित आन्दोलनमा प्रारम्भिक कालदेखि नै उहाँको सक्रिय भूमिका रहेकोले दलित आन्दोलनमा ऐतिहासिक, सशक्त दलित महिला नेतृको रूपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । राजधानीको मध्यवर्गीय परिवारमा जन्मिए पनि उहाँको बाल्यकाल अरू बालबालिकाको भन्दा भिन्नै तरिकाले बितेको पाइन्छ । दलित समुदायमा जन्मिएका कारण सानैदेखि उहाँले धारा पँधेरोमा कुटाइ खानुपर्यो । जसले गर्दा उहाँको बालमस्तिष्कमा विद्रोहको भावना जाग्यो ।
जातीय भेदभावको अन्त्यका लागि राजनीतिमा पहुँच हुनुपर्ने कुरालाई कपाली परिवारले बुझेको थियो । त्यसैले कपाली परिवारका सबै सदस्य दलित आन्दोलनमा सक्रिय भएकाले उहाँको परिवार पनि राजनीतिमा सक्रिय थियो । उहाँको पारिवारिक माहोल नै आन्दोलित थियो, जसको प्रभाव उहाँमा पर्नु पनि स्वाभाविक थियो । त्यसैले उहाँलाई बाल्यकालदेखि नै राजनीतिक तथा सामाजिक आन्दोलनमा भाग लिने अवसर प्राप्त भयो । यसकारण पनि उहाँ आन्दोलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा बाल्यकालदेखि नै सरिक हुँदै आउनुभयो ।
राणाहरूलाई विस्थापन गरेपछि र महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री भएपछि देशका सम्पूर्ण भेगमा शिक्षाको लहर भर्खर–भर्खर चल्न थालेको थियो । तर, दलित तथा महिलाहरूले पढ्नुपर्छ भन्ने भावना जनमानसमा आएकै थिएन । सरकारका नीति पनि त्यस रूपमा विकास भइनसकेको स्थिति थियो । यसबीचमा पनि आन्दोलनकै सक्रियताको प्रभावले होला, उहाँले औपचारिक शिक्षा प्राप्त गर्ने अवसर पाउनुभएको थियो ।
शिक्षाका साथै खेलकुदमा रुचि भएका कारण साथीहरूसँग सामान्य खेलकुदमा उहाँको समय बित्थ्यो । सानैदेखि तीक्ष्ण बुद्धि भएकी मिठाईदेबी पढाइका साथै अन्य गतिविधिमा पनि भाग लिने गर्नुहुन्थ्यो । विशेषगरी मिठाईदेबीका हजुरबुवाले दरबार हाइस्कुल तथा अन्य हाइस्कुलमा ‘अछुतले पनि पढ्न पाऊँ’ भनी चन्द्रशमशेर समक्ष बिन्तीपत्र चढाएका थिए । चन्द्रशमशेरले उक्त बिन्तीपत्रलाई स्वीकृति जनाएका थिए । जसको कारण शिक्षाको प्रभाव कपाली परिवारमा पर्यो । परिणामतः मिठाईदेबीले समेत औपचारिक शिक्षा लिने मौका पाउनुभयो । उहाँ पढाइमा तीक्ष्ण भए पनि सङ्घसङ्गठनमा सक्रिय हुन बढी रुचि राख्ने भएकोले अपेक्षित रूपमा शिक्षा प्राप्त गर्नमा उहाँले ध्यान दिन सक्नुभएन ।
राजधानीमा जन्मिएको र हुर्किएका कारण जतिखेर दलितले पढ्नु हुँदैन भन्ने स्थिति थियो, त्यति बेला पनि उहाँले पढ्ने आँट गर्नु साहसकै कुरा थियो । यस क्रममा प्राथमिक तहसम्मको कक्षा शान्ति निकुञ्ज विद्यालयमा, त्यसपछि कक्षा ८ सम्मको अध्ययन कन्यामन्दिर, प्यूखा (हालको दरबार हाइस्कुल) मा पूरा गरी मिडवाइफको तालिम भारतको इलाहावादबाट लिनुभयो । तत्पश्चात् दरबार हाइस्कुलको त्रिभुवन प्रौढ शिक्षा निकेतनमा भर्ना भई त्यहीँबाट २०१४ सालमा मेट्रिक (त्यस बेलाको एसएलसी) उत्तीर्ण गर्नुभयो । त्यसपछि मानविकी सङ्कायतर्फबाट मनोविज्ञान, नेपाली, मानवशास्त्रजस्ता विषयहरू लिएर उहाँले उच्च शिक्षा (स्नातक तहसम्म) हासिल गर्नुभयो ।
मिठाईदेबीको ‘नेपाली नारीको अवस्था र अवस्थिति’ (२०६१) नामक पुस्तक पनि प्रकाशित छ, जसमा आम महिलाहरू र त्यसभित्र दलित महिलाका समस्या उठाइएको छ । यस पुस्तकमा सिङ्गो महिला आन्दोलनले सीमान्तकृत दलित महिलाहरूको आवाज उठाउन नसकेको समस्यालाई प्रस्तुत गरिएको छ ।
संभवतः दलित महिलाको तर्फबाट स्नातक गर्नेसमेत उहाँ पहिलो हुनुपर्दछ । उहाँले जुन बेला स्नातक तहको अध्ययन गर्नुभयो, त्यति बेला सो तहमा पुग्ने दलित पुरुषहरू पनि अत्यन्त कम थिए । यस घटनालाई हेर्दा उहाँमा सानैदेखि अप्रत्यक्ष रूपमा देशमा चलेको मूलप्रवाहको राजनीतिमा सहयोगी भूमिका निर्वाह गर्नुभयो । विश्वकर्माले २००९ सालमा सहर्षनाथ कपालीको अध्यक्षतामा रहेको सङ्गठन, ‘नेपाल राष्ट्रिय परिगणित जनविकास परिषद्’मा रहेर पनि काम गर्नुभयो । उक्त सङ्गठन दलित हक अधिकारका लागि गठन गरिएको थियो । त्यसभन्दा पहिला ‘टेलर युनियन’ नामक सङ्गठन क्रियाशील थियो । दलित आन्दोलनको प्रारम्भमा उपत्यकामा विभिन्न दलितभित्रकै जातीय सङ्गठनहरू मात्र थिए । जातीय सङ्गठनको एकल आन्दोलनले मात्र दलित आन्दोलनले गति लिने नदेखेपछि उपत्यका बाहिरका अन्य दलितहरूलाई पनि समटेर लैजाने प्रयत्न भए । परिणामस्वरूप ‘नेपाल राष्ट्रिय परिगणित जनविकास परिषद्’को स्थापना भएको थियो । यस सङ्गठनमा मिठाईदेबीले निरन्तर रूपमा काम गर्दै आउनुभयो । उहाँ दलित आन्दोलनमा सक्रिय रहिरहँदा दलित आन्दोलनलाई सशक्त बनाउने क्रममा सङ्गठनको संरचनामा समेत परिवर्तन हुँदै आएको पाइन्छ । परिवर्तित रूपमा विकास भएका यी सङ्गठनहरूमा पनि उहाँको सक्रिय संलग्नता रह्यो ।
त्यति बेला धारा–पँधेरा, पसलजस्ता सार्वजनिक स्थलमा जातकै कारणले कुटपिट, भुत्लाभुत्ली हुन्थ्यो । ठूलो र सानो भन्ने भेदभाव थियो, पसलमा पनि अलग्गै बसेर सामान किन्नुपर्दथ्यो । त्यस बेला उहाँको मनमा ‘हामी पनि त मान्छे हो, हामीलाई किन अलग गरेको होला ?’ भन्ने प्रश्न उठ्थ्यो र समानता हुनुपर्ने भावना जाग्थ्यो । यसर्थ यस्तै र यी अनगिन्ती घटनाहरूले उहाँलाई झनै विद्रोही बनायो । परिणामस्वरूपः आजीवन उहाँ दलित आन्दोलनमै सक्रिय हुनुभयो । तिनै आन्दोलनकै बीचमा लैंगिक भेदभावले समेत उहाँलाई छोएको थियो, तदनुरूप महिला मुक्तिका लागि पनि क्रियाशील रहँदै आउनुभयो । उहाँको पारिवारिक जीवनको कुरा गर्दा २७ वर्षको उमेरमा दलित नेता, साहित्यकार तथा पत्रकार टीआर विश्वकर्मासँग २०२० सालमा विवाह भएको थियो ।
मिठाईदेबीले अनवरत रूपमा दलित आन्दोलनमा दिएको योगदानको कदरस्वरूप विभिन्न सङ्घ संस्थाहरूले उहाँलाई सम्मानित गरेका छन् । खासगरी उहाँको जीवनका अविस्मरणीय सम्मानहरूमा भारतीय दलित साहित्य एकाडेमीले सन् १९८६ मा उहाँलाई ‘अम्बेड्कर फेलोसीप’ र सन् १९८८ मा दलित तथा अन्य समानताको आन्दोलनमा योगदान पुर्याएकाले अन्तर्राष्ट्रिय व्यक्तित्वहरूलाई प्रदान गरिने ‘अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरेको थियो । साथै उहाँले देवकोटा साहित्य पुरस्कार पनि प्राप्त गर्नुभएको थियो । त्यसैगरी दलित गैरसरकारी संस्था महासङ्घले सन् २००४ को ३८ औँ अन्तर्राष्ट्रिय जाति तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा ‘दलित आन्दोलनमा ऐतिहासिक योगदान पुर्याएबापत’ सम्मान प्रदान गरेको थियो भने ९२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उहाँलाई दलित महिलाका तर्फबाट प्रथम स्नातक घोषणा गरी अभिनन्दनसमेत गरिएको थियो ।
निहित व्यक्तिगत स्वार्थ, पदलोलुपता, संयुक्त मोर्चाको अभावजस्ता कारणले दलित आन्दोलन अघि बढ्न नसकेको ठहर उहाँंको छ । हाल शारीरिक रूपमा अलि कमजोर अवस्थामा भएकाले उहाँ बाहिरतिर त्यतिसारो हिँडडुल गर्न सक्नुहुन्न । अतः अन्य कडा शारीरिक श्रम पनि गर्न नसक्ने अवस्था भएकोले आजकाल उहाँको फुर्सदको क्षण र एकान्तको साथी नै पुस्तकहरू भएका छन् । उहाँ दर्शन र साहित्यको अध्ययनमा तल्लीन हुँदै समय बिताइराख्नु भएको छ । विगतमा लेखिएका, छरिएर रहेका कृतिहरूको सङ्कलन र सम्पादन कार्यमा व्यस्त भइरहेको उहाँ बताउनुहुन्छ । साथै दलितहरूको हक अधिकारका लागि अझै धेरै गर्न बाँकी रहेको र त्यसका लागि सम्बन्धित क्षेत्रका सबैले सकारात्मक योगदान दिनुपर्ने सुझाव उहाँको छ ।
साभार: मोतीदेवी स्मृति केन्द्रद्वारा प्रकाशित ‘प्रेरणादायी महिलाहरू’को दोस्रो संस्करण (प्रथम संस्करण प्रकाशन २०६९ श्रावण) बाट ।
सन्धान प्रकाशन मिति : २०७८ फागुन २८ गते, शनिवार