Home Stories न्यायको खोजीमा भौतारिँदै रमिता

न्यायको खोजीमा भौतारिँदै रमिता


जुम्लाको तिला गाउँपालिका–९, राँसा गाउँकी रमिता रावतको बिहे पाँच वर्षअघि १७ वर्षको उमेरमै भएको थियो । सोही पालिकाकै ७ नम्बर वडास्थित तुई गाउँका लंक बुढासँग भागी बिहे गरेकी रमिता विवाह भएको छ महिनापछि गर्भवती भइन् । बालविवाह थियो उनको । रमिता गर्भवती भएपछि उनका श्रीमान् नेपाली सेनामा जागिरे भए र पोखरामा उनको ‘पोस्टिङ’ भयो । उनले रमितालाई बिहे गरेर गर्भवती बनाए तर वास्ता गरेनन् ।

एसइई पास गरे पनि उमेर नै नपुगी बिहे गरेकी रमितामाथि एकातिर श्रीमान्‌ले पैसा नठाउने अर्कातिर घरपरिवारले दुर्व्यवहार र हिंसा गर्ने सिलसिला सुरु भयो । रमिताको जीवनमा नसोचेको दुःख थपिँदै गयो । उनका लागि प्रजनन स्वास्थ्य, गर्भावस्थाको हेरचार, सुरक्षित सुत्केरी, सुनौला हजार दिन जस्ता कुरा ओझेलमै रहे । कुनै उपाय नलागेपछि श्रीमान्‌काे खोजीमा ४ महिनाको छोरा बोकेर उनी पोखरा पुगिन् ।

रमिता भन्छिन्, “त्यसपछि श्रीमान्‌काे सुर्खेत सरुवा भयो । श्रीमान् मसँगै आए । मलाई माइतीमा पठाए । आफू आफ्नो घरमा जान्छु भनेर गए । त्यसपछि एक हप्ता जति म माइतीमा बसेकी थिएँ ।”

अहिले रमिताका छोरा ४ वर्षका भएका छन् । यसबिचमा उनले बाबुलाई देख्न पाएका छैनन् । रमिताका अनुसार, श्रीमान् कहाँ गए कुनै अत्तोपत्तो छैन । सासू, जेठाजु र जेठानीले रमिता र उनको छोरालाई घरमा बस्न दिएनन्

लंक बुढाले आफू सुर्खेत अफिसमा गएँ भनेर रमितालाई खबर गरेछन् । एक हप्तापछि फोन गरेर सुर्खेत बोलाएछन् । उनी गइन् तर श्रीमान्‌काे फोन ‘अफ’ भएछ । रमिताले भेट्नै सकिनन् । त्यो बेलाको सम्झना गर्दै भन्छिन्, “मलाई बोलाएर फोन ‘अफ’ गरेर बसेछन् । भेट्नै सकिनँ । म फेरि छोरा बोकेर घर फिर्ता भएँ ।”

अहिले रमिताका छोरा ४ वर्षका भएका छन् । यसबिचमा उनले बाबुलाई देख्न पाएका छैनन् । रमिताका अनुसार, श्रीमान् कहाँ गए कुनै अत्तोपत्तो छैन ।

रमिताका सासू, जेठाजु र जेठानीले रमिता र उनको छोरालाई घरमा बस्न दिएनन् । “त्यसपछि न्याय माग्न नाग्माको प्रहरी चौकी पुगेँ,” उनी भन्छिन्, “प्रहरीले सबै घरपरिवारलाई सम्झाइबुझाइ गरेर पठायो ।”

मिलापत्र गरेर घरमा लगेपछि उनीहरूले फेरि कुटपिट गरेछन् । उनी अहिले त्यतिबेलाको घटना सम्झँदै भन्छिन्, “ममाथि फेरि कुटपिट गरे । हाम्रो घर छोडेर जा भने ।” परिवारले आफूमाथि लात हान्ने, कपाल समातेर लछारपछार गर्ने, घरबाट खाने कुरा पनि नदिने गरेको रमिता बताउँछिन् ।

“छोरालाई समेत मसँग बस्न दिँदैनन् । अहिले पनि ममाथि कुटपिट गरेपछि छोरालाई रुँदारुँदै खोसेर लिन्छन् । छोराले रोएर हैरानी दिएपछि मात्रै मसँग बस्न दिन्छन्,” रमिता एकोहोरो टोलाउँछिन् र अगाडि भन्छिन्, “उनीहरूको कुटपिटबाट शरीर दुख्ने, टाउको दुख्ने र आँखा पोल्ने जस्ता समस्या आएको छ ।”

रमिताका अनुसार, घरमा गरिखान पनि नदिएपछि उनी छिमेकीकोमा सहारा माग्न पुगिन् । उनी भन्छिन्, “छिमेकीले छोराको मुख हेरेर एउटा कोठा बस्नको लागि दिए ।”

रमिताको माइती र घर भएको क्षेत्र भौगोलिक हिसाबले विकट मानिए पनि प्राकृतिक हिसाबले निकै रमणीय देखिन्छ । घरहरू नजिक नजिकै बनाइएका छन् । बस्तीहरू झुरुप्प परेका छन् । सरसहयोगका लागि छिमेकीहरू नजिकमै हुन्छन् ।

रमितालाई कोठा दिने घरमुली लाटी बुढाको दुई परिवार छन् । चार छोरा र एक छोरी गरी सात जनाको परिवार छ । “रमिताको दुःख देखेर बस्नको लागि एक कोठा घर दिएका छाैँ,” उनी भन्छन्, “हामीले कसैलाई राम्रो र नराम्रो भन्न मिल्दैन । बस् यति मात्रै, रमिता बासको खोजीमा आएपछि सहयोग गरेका हौँ ।”

“त्यहीँ बसेर अरूको काम गरेर एक छाक खाना जुटाउँदै छोरा पालेर बसेकी थिएँ,” रमिता भन्छिन्, “केही महिनापछि श्रीमान्‌ले घरमा फोन गरेछन् । आमा र दाजुभाउजूलाई भनेर मलाई छिमेकीको घरबाट पनि निकाल्न भनेछन् । त्यसपछि छिमेकीकै घरमा म बसेको कोठामा पसेर उनीहरूले कुटपिट गर्न थाले ।” उनका अनुसार, उनीमाथि फेरि कुटपिट सुरु भएको छ ।

यता रमिताकी जेठानी पार्वती बुढा रमितामाथि कुटपिट गरेको स्विकार्छिन् । “रमिताले नै हामीमाथि झगडा गर्न आएपछि हामीले कुटपिट गरेका हौँ,” उनी भन्छिन्, “हामीले उसको श्रीमान् नआउँदासम्म अंश दिँदैनौँ भनेका हाैँ। पछि वडाध्यक्षसहित गाउँका अगुवा बसेर उसले पाउने अंश दिएका हौँ ।” उनका अनुसार, रमिताले अंश मागेर छुट्टै बस्न खोजेपछि विवाद भएको हो ।

रमिताले बिहे गरेको तुई गाउँको मुख्य आयस्रोत कृषि हो । त्यो क्षेत्रमा मुख्यतः आलु, सिमी, कोदो र मकै उत्पादन हुने गर्दछ । उनीहरूको मुख्य आय खेतीपातीमा आलु र पशुपालनमा भेडाबाट हुन्छ । त्यहाँका महिला एक दिनमा १८ घण्टा काम गर्ने गर्दछन् । महिलाहरू बिहान उठेदेखि साँझ परेसम्म खेतमै काम गरिरहेका देखिन्छन् । खेती गरेको उत्पादनले भने छ महिना पनि खान पुग्दैन । यसैले उनीहरू आम्दानीका लागि हिउँदमा जडीबुटी सङ्कलन गर्न जाने गरेको पाइन्छ ।

“माइती पक्षले पनि बिहे गरेकी छोरी भनेर त्यति वास्ता गर्दैनन् । अब तपाईंले नै मलाई सहज तरिकाले बाँच्ने आधार देखाइदिनुहोस्,” उनी भन्छिन्, “तपाईंमार्फत न्यायको खोजीमा आएकी हुँ ।”

रमिताको भने घरबार तहसनहस भइरहेको छ । पार्वती भन्छिन्, “रमिताको श्रीमान् कहाँ छन् भन्ने विषयमा जानकारी छैन । हामीसँग कुनै सम्पर्क छैन ।” परिवारका सदस्यहरू र नातासम्बन्धका बारेमा उनी भन्छिन्, “म जेठी जेठानी हुँ । हाम्रा दुवै परिवार राराबजारमा पसल गरेका बसेका छौँ । मपछिको माइली देवरानी पनि छ । त्यसपछिकी काइँली देवरकी श्रीमती हो रमिता !” उनका अनुसार, परिवारमा पाँचभाइ छोरा छन् । “पाँचै जनालाई कति पर्छ त्यति अंश छुट्याएर दिएका छौँ । उसले गरेर खानु पर्‍यो । हामीलाई टाउको दुखाइ छैन,” पार्वती भन्छिन् ।

रमिता अहिले फाटेको लुगा, धेरै दिनदेखि खान नपाएको जस्तो शरीर र निराश अनुहारमा न्याय पाइनँ भन्दै भौतारिँदै गरेको देखिन्छ । “तपाईंको नाम सोध्दै भेट्न जुम्ला बजार आएकी हुँ । तपाईं महिला पत्रकार भएकाले पनि महिलाको अधिकारको लागि सहयोग गर्नुहुन्छ भन्ने सुनेको थिएँ,” उनी भन्छिन् । श्रीमान्‌को कुनै अत्तोपत्तो नभएको, घरपरिवारको रातदिनको यातनाले आफूलाई बसिसक्नु नभएको र आफूमाथि हिंसा भयो भनेर प्रहरी र गाउँका अगुवासँग हारगुहार माग्दा पनि न्याय नपाएको उनको गुनासो छ ।

“माइती पक्षले पनि बिहे गरेकी छोरी भनेर त्यति वास्ता गर्दैनन् । अब तपाईंले नै मलाई सहज तरिकाले बाँच्ने आधार देखाइदिनुहोस्,” उनी भन्छिन्, “तपाईंमार्फत न्यायको खोजीमा आएकी हुँ ।”

परिवारसत्ताले दुःख दियो र अन्याय गर्‍यो भने राज्यसत्ताले पीडितलाई संरक्षण गरिहाल्छ नि । यस्तो कुरा उठाउँदा रमिता भन्छिन्, “मलाई कानुनको बारेमा थाहा छैन, प्रहरीसँग गएँ, मिलापत्र गरेर पठाइदियो ।”

रमिता भन्छिन्, “पूर्ववडाध्यक्ष हस्तबहादुर बुढाको नेतृत्वमा रहेको वडास्तरको न्यायिक समितिमा गएकी हुँ । उनीहरूले छलफल गरेर घरपरिवारबाट छुट्टै बस्ने व्यवस्था गरिदिएका हुन् ।” उनी गाउँपालिकाको उपाध्यक्षको नेतृत्वमा रहेको न्यायिक समितिमा भने नगएको बताउँछिन् । किन त ? “भोट दिएर जिताएका जनप्रतिनिधिले कसैको पक्ष र विपक्ष गरी बोल्न सक्दा रहेनछन्,” उनी भन्छिन्, “खासै न्याय देलान् जस्तो मलाई लागेन । त्यही भएर म गाउँपालिकाको न्यायिक समितिमा गइनँ ।”

तिला गाउँपालिका–७ का पूर्ववडाध्यक्ष बुढा रमितामाथि घरपरिवारबाट कुटपिट भएको घटना सम्झन्छन् र प्रस्ट पार्दै भन्छन्, “वडास्तरमा रहेको न्यायिक समितिभन्दा पनि सबै गाउँले नै बसेर रमिताको भागमा पर्ने अंश बण्डा गरिदिएका थियौँ ।” त्यसपछि फेरि रमितामाथि भएको कुटपिटको बारेमा भने आफूलाई जानकारी नभएको उनी बताउँछन् । पूर्ववडाध्यक्ष बुढाका अनुसार, रमिता र उनका श्रीमान् लंक बुढाको प्रेम विवाह भएको हो । पछि के समस्या आयो र रमितालाई छोडेर लंक बुढा कहाँ गए भन्ने आफूलाई थाहा नभएको बताउँदै उनी भन्छन्, “हामीले वडा कार्यालयबाट छोराको जन्म दर्तासमेत बनाई दिएका छौँ ।”

“तपाईंको साथ सहयोग पाए म कानुनी उपचारमा जान्छु ।” यसो भन्दै गर्दा रमिता यो पनि भन्छिन्, “अदालत जान धेरै पैसा हुनुपर्छ भन्ने कुरा सुनिन्छ । कि त ठुलाबडाको पहुँच हुनुपर्छ भन्ने सुनेको छु ।” रमिताको पछिल्लो भनाइले जुम्लामा परिवारसत्ताबाट हिंसामा परेका महिलाहरू राज्यसत्ताको एउटा अङ्ग अदालतप्रति पनि सशङ्कित रहेको देखाउँछ ।

श्रीमान् र उनका परिवारका सदस्यहरूबाट भइरहेको बारम्बारको दुर्व्यवहार, हिंसा र ज्यानै मार्ने धम्कीका कारण रमिताको मनोदशा कमजोर भइसकेको देखिन्छ । उनी भन्छिन्, “अब बाँच्ने आशा मरिसक्यो ।

परिवारबाटै पीडित र प्रताडित मानिसका लागि अदालत गए पनि आफूलाई न्याय पर्न सक्दैन भन्ने भावना जति निराशाजनक अवस्था अरू केही हुन सक्दैन । रमिता जस्ता पढालेखा महिला पनि कानुनको खेलका बारेमा आफू खासै जानकार नभएको ठान्छन् । यसले पीडितलाई झनै गहिरो निराशातिर धकेल्न सक्छ ।

जिल्ला अदालत जुम्लाका श्रेस्तेदार सरोजराज रेग्मीले पैसा र पहुँचबिना न्याय पाइँदैन भन्ने मानसिकता महिला मात्रै नभएर सबैले हटाउनुपर्ने बताउँछन् । “पैसा नभएर न्याय रोकिएको अवस्था छैन,” यसो भन्दाभन्दै पनि उनी थन्छन्, “कहीँ कतै न्यायका लागि अदालत आएका महिलाहरूका एक दुई घटना त्यस्तै पर्न गएको हुन सक्छ ।”

श्रीमान् र उनका परिवारका सदस्यहरूबाट भइरहेको बारम्बारको दुर्व्यवहार, हिंसा र ज्यानै मार्ने धम्कीका कारण रमिताको मनोदशा कमजोर भइसकेको देखिन्छ । उनी भन्छिन्, “अब बाँच्ने आशा मरिसक्यो । मलाई मार्छु भनेर धम्की दिन्छन् । म नै मर्छु भने छोरा सम्झेर के काम ?” यसो भन्दै उनी भक्कानिएर रुन्छिन् ।

श्रेस्तेदार रेग्मीका अनुसार, अदालतमा कानुनी सहायता समिति पनि छ । जिल्ला अदालतमा वैतनिक वकिलको व्यवस्था गरिएको छ । पीडितहरू आएर आफ्नो आर्थिक अवस्थाको बारेमा बताएपछि सरकारी वकिलले आफैँ मुद्दा लेखिदिनेसमेत गरेको रेग्मी बताउँछन् ।

“वैतनिक वकिल भनेको अदालतबाटै राखिएको र तलब पनि अदालतले दिने हो । उसले न्याय माग्न आएका पीडितलाई निःशुल्क कानुनी सेवा दिने हो,” रेग्मी भन्छन् । उनी धेरै महिलाले यस्तो व्यवस्थाका बारेमा सूचना नपाएर पनि न्यायको पहुँचमा नआएका हुनसक्ने बताउँछन् । साथै, संविधानदेखि राज्यस्तरमा महिलाका मुद्दाको लागि विशेष कानुन निर्माण भएकाले अदालतले पनि त्यसैमा टेकेर महिलाका मुद्दालाई सुनुवाइ गर्ने गरेको उनको दाबी छ ।

जिल्ला अदालतमा पहिलेको तुलनामा अहिले महिलाका मुद्दा आउन थाले पनि पुरुषभन्दा कमै रहेको पनि श्रेस्तेदार रेग्मी बताउँछन् । उनका अनुसार, जुम्ला जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी आउने गरेका छन् ।

रमिताको समस्या भने उनकै श्रीमान्‌को चरम बेवास्ता र परिवारका सदस्यमार्फत गराइने गरेको कुटपिट र ज्यानै मार्नेसम्मको धम्कीसँग जोडिएर जब्बर बनिरहेको छ ।

प्रकाशन मिति : २०७९ असार १, बुधवार ।