पुस्तक अंश
सानो छँदै मैले आमा र बाबा दुवैजना गुमाएँ । त्यसपछि हजुरआमाको संरक्षकत्वमा ससाना भाइहरूसँगै हुर्किएँ । सँगै हुर्किनेमा मेरा माहिला काकाबा र काकाका छोराहरू थियौँ । सानै भए पनि छोरी भएकीले घरायसी काममा मैले पूर्णतः सघाउनुपर्ने हुन्थ्यो । सके पनि नसके पनि लुगा धुने पानी ल्याउने काम गर्नु अनिवार्य जस्तै हुन्थ्यो तर सँगै हुर्किरहेका भाइहरूले भने खासै काम गर्नु पर्दैनथ्यो । उनीहरू घरबाहिर गएर खेल्ने र खेलेरै दिन बिताउने गरिरहेका हुन्थे तर मैले भने घरभित्रै बसिरहनुपर्ने र सधैँ काम गरिरहनुपर्ने हुन्थ्यो । यसरी सानै भए पनि घरिघरि मेरो मनमा विचार उठ्थ्यो– छोरी मान्छे किन घरबाहिर जान नहुने होला ? भाइहरू आफूआफू मिलेर अथवा साथीहरूसँग हाँस्दै–झगडिँदै–मिल्दै खेल्ने ठाउँहरूमा म किन जान नपाउने होला ? म पनि उनीहरूसँगै खेल्न जान पाए कति रमाइलो हुँदो हो !
यस किसिमको भावना मनमा उठे पनि त्यसरी घरबाहिर जाने र खेल्ने अनुमति नहुने हुँदा घरभित्रैको सीमाभित्र खुम्चिएर बस्न विवश हुन्थेँ । उमेरले सानी थिएँ तापनि यसरी समाजकै एक रूप घरभित्र छोरा र छोरीबिच गरिने फरक व्यवहारको प्रत्यक्ष पात्र बन्न पुगेकी थिएँ, छोरा र छोरीबिच हुने/गरिने भेदभाव प्रत्यक्ष अनुभूत गर्ने गरेकी थिएँ । मलाई लाग्छ, म सायद मेरो उमेरका अन्य धेरैजसो किशोरीहरूभन्दा धेरै भिन्न स्वभावकी थिएँ किनभने घर–समाजका व्यवहारलाई लिएर मेरो मनमा अनेक जिज्ञासाहरू उठिरहन्थे ।
मेरो मन ‘समाज के हो ?’ भनेर जान्न–बुझ्न खोजिरहन्थ्यो । त्यस्तै १४–१५ वर्षको उमेरकी थिएँ होला, म अक्सर मेरा मामाबाजेका घर गइरहन्थेँ । त्यहाँ मामाबाजेका छोराहरू दिवाकरप्रसाद राजभण्डारी र चित्तरञ्जन नेपाली समाजमा रहेका विकृति र त्यसको अन्त्यका लागि चाल्नुपर्ने कदमका बारेमा कुराकानी गरिरहेको सुन्थेँ । त्यहाँ उहाँहरू पत्रपत्रिका पढेर छलफल गर्ने र हामीलाई समेत सुनाउने गर्नुहुन्थ्यो । उहाँहरू शिक्षाको प्रचारका कुरा गर्नुहुन्थ्यो, लोग्नेमानिस र स्वास्नी मानिसलाई समान अधिकार हुनुपर्ने विचार पोख्नुहुन्थ्यो र प्रजातन्त्र प्राप्तिका लागि छलफल गर्नुहुन्थ्यो । उहाँहरू राणाशासनको अन्त्य गर्नुपर्ने र शिक्षाको ज्योति फैलाउनुपर्ने बारे धेरैजसो छलफल गरिरहनु हुन्थ्यो । त्यस किसिमको सङ्गत र पृथक वातावरणले मभित्र नौलो चेतना विकास हुँदै गयो । उहाँहरूका कुराबाट म झन्झन् प्रभावित हुँदै गएँ ।
उहाँहरू हरिजन स्कुलका शिक्षक पनि हुनुहुन्थ्यो । शिक्षाको महत्त्व के हो ? हामीले किन पढ्नु पर्दछ ? पढेर के हुन्छ ? भन्ने जस्ता ज्ञान पनि मैले उहाँहरूको कुराकानीबाटै थाहा पाएँ । तर समस्या के थियो भने मेरा भाइहरूलाई शिक्षा आर्जनको सहज अवसर प्राप्त भए पनि मेरा लागि त्यो सुविधा थिएन । यस्तो अवस्थामा आफ्नो जिज्ञासा, रहर र परिश्रमले गर्दा, भाइहरूले पढेको देखेरै, मैले घरमै अक्षर सिकेँ । अनि क्रमशः स्कुल जान नपाए पनि र शिक्षालय नधाए पनि मैले घरैमा भाइहरूसँगै पढेर ज्ञानगुनका थुप्रै कुरा सिकेँ र केही मात्रामा भए पनि आफ्नो शैक्षिक अवस्था सुधार्न सकेँ ।
उमेर बढ्दै जाँदा मेरो चेतनाको स्तर पनि फराकिलो हुँदै गयो । म केटा र केटीबिचको विभेदका बारेमा प्रश्न उठाउन सक्ने भएँ । त्यति मात्र नभएर म मामाबाजेका छोराहरूसँगै समाज परिवर्तनका कामहरूमा सरिक पनि हुन थालेँ ।
हरिजन स्कुलमा पढ्ने गरिबहरूका बालबच्चाको झुत्रे लुगा देखेर म टोलटोलमा गएर पुराना कपडा सङ्कलन गरी उनीहरूबिच बाँड्न लान्थेँ । यसरी लुगा दिँदा उनीहरू खुसी भएको देख्दा मलाई झनै बढी खुसी लाग्दथ्यो । त्यहीँबाट मैले सामाजिक काम गर्दा हुने सन्तुष्टिको अनुभव बटुल्न सकेँ ।
त्यसरी सामाजिक काममा अगाडि बढेका मेरा पाइला २००४ सालमा सत्याग्रह आन्दोलनमा सरिक हुँदै थप अगाडि बढे । आन्दोलनमा जाँदा गिरफ्तारीमा परी प्रहरी हिरासतमा राखेर दिइने यातना सम्झिँदा मात्रै पनि आङ सिरिङ्ग हुन्छ । घरबाट खेल्न पनि बाहिर जान अनुमति नपाउने महिला गिरफ्तारीमा परेर प्रहरी हिरासतमा रात बिताएर घरमा पुनः आउने कुरा त्यति सजिलो थिएन । तर पनि हामी महिलाको पढ्न पाउने अधिकार, मतदानको अधिकार र समाजमा सकारात्मक परिवर्तनका लागि निकै नै कष्ट उठाएर जेलनेलसम्म भोग्नका लागि तयार भएर अगाडि बढ्यौँ र गिरफ्तारीमा पर्यौँ।
हिरासतबाट मुक्त भएर सिधै घरमा जाने अवस्था थिएन । त्यस्तो स्थितिमा मलगायत मेरा सहयोद्धा साथीहरूले भोग्नुपरेको कठिनाइलाई जति बिर्सन खोजे पनि सकिँदैन । यी गतिविधिले हामीलाई आन्दोलनप्रति अझ प्रतिबद्ध बनाउने काम गरे । यसै क्रममा हामीले महिलाको हक–हितका विषयमा काम गर्ने एउटा संगठनको आवश्यकता महसुस गर्यौँ र २००४ साल साउन २२ गते मंगलादेवी सिंहको अध्यक्षतामा म महासचिव भएर नेपाल महिला संघ नामक संगठन स्थापना गरेका थियौँ । त्यसबाटै हामीले सामाजिक र राजनीतिक गतिविधि अगाडि बढायौँ ।
सामाजिक काम गर्ने अनि सत्ता र समाज परिवर्तनका काममा हिँड्नेहरूमा म अगुवा महिलाका रूपमा रहने गर्थेँ । त्यस क्रममा मैले राणा सरकार र राजासँग पटक पटक राष्ट्रहितका विषयमा कुराकानी पनि गरेकी थिएँ ।
यसरी म सामाजिक कार्यका साथै राजनीतिक गतिविधिहरूमा पनि अगाडि बढ्न थालेँ । समय र परिस्थिति ठुला गुरु हुन् । यही क्रममा हामीले २००७ सालमा भएको दिल्ली सम्झौता र त्यसअघि सफल भएको भारतीय स्वतन्त्रता सङ्ग्रामबाट धेरै पाठ सिक्ने अवसर पायौँ । राजनीतिक अगुवाहरू टंकप्रसाद आचार्य, क. पुष्पलाल श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, नरबहादुर कर्माचार्य, तुल्सीलाल अमात्य, काइँलाबा (देवेन्द्रलाल श्रेष्ठ), मोतीदेवी श्रेष्ठ, मंगलादेवी सिंह, सहाना प्रधान, हीरादेवी यमीलगायत थुप्रै साथीहरू सँगसँगै काम गरेँ ।
राजनीति भनेको ‘जो कोहीले गर्न सक्ने विषय होइन’ भन्ने जान्दाजान्दै पनि मैले अप्ठ्यारो बाटो नै हिँड्ने निधो गरी अहिलेसम्म त्यसमा टिकेकी छु । जीवनका ७२–७३ वर्ष राजनीतिमै बिताएँ तापनि लाभको पदलाई कहिल्यै मैले महत्त्व दिइनँ । जीवन बिताउने क्रममा आर्थिक सङ्कटले घरबार तहसनहस हुने अवस्था आउँदा पनि देश र जनताका पक्षमा सतिसाल जस्तै अडिग भएर अगाडि बढिरहेँ । नेपाल महिला संघको स्थापनापछि त्यसको क्रियाशीलताका लागि मेरी हजुरआमाको कपडा र घरको अन्नसमेत बेचेँ ।
भूमिगत काम गर्ने नेतालाई खाना पकाउने भाँडाबर्तन पनि मैले घरबाटै लगेँ । सङ्गठन बनाउनु र चलाउनुमा कति फरक छ भन्ने कुरा त्यसमा आबद्ध साथीहरूका गतिविधिबाट थाहा पाएँ । कसै कसैले माइन्युटमा हाजिर गर्दा पनि ठुलै काम हुन्थ्यो । कसैले जति धेरै काम गरे पनि कमै गणना हुने गर्दथ्यो । मैले महिला संघको महासचिवको हैसियतमा रहेर मात्रै काम गरिनँ, संघको आर्थिक स्थिति सुधार, कार्यालय सरसफाइलगायतका काम पनि गरेँ । हजुरआमाको मृत्युपश्चात् रोक्ने–छेक्ने कोही नभएकाले म अलि बढी नै सङ्गठनका काममा हिँड्थेँ । त्यसैले त्यो बेलाका राजनीतिक अगुवाहरूले भन्ने गर्नुहुन्थ्यो, “स्नेहलताको समर्पण प्रशंसा गर्न लायक छ ।”
समाजमा व्याप्त पितृसत्ताका कारण हरेक कार्यमा पुरुषको वर्चस्व वा हैकम थियो । त्यो अझै पनि छ । हामीले गर्ने गरेका काम पनि त्यसबाट अछुतो रहन सकेनन् । हामीले गरेका काम र दिएका सुझावले सामाजिक–राजनीतिक गतिविधि अगाडि बढेर समाजमा परिवर्तनहरू पनि आए तर परिवर्तनकारी आन्दोलनपश्चात् महिलाका योगदानहरू ओझेलमा पर्दथे, अझ भनौँ, पारिन्थे । जसको पारिवारिक सम्बन्ध ठुला नेतासँग हुन्थ्यो, उनीहरूले नै अवसर पाउने गर्दथे । म सानो उमेरमै टुहुरी भएर हुर्किएँ । सामाजिक गतिविधिमा आफ्नै इच्छाले लागेँ । म कसैबाट निर्देशित भइनँ र सधैँ स्वाभिमानको राजनीति गरेँ । पञ्चायत शासनकाललाई निरङ्कुश मानियो र त्यसको विरोधका लागि धेरै नै काम गरियो । मेरो कामबारे थाहा पाएर राजा महेन्द्रले २०२३–२०२४ सालतिर राष्ट्रिय पञ्चायत सदस्य (रापंस) बन्न बोलाए । मैले “राष्ट्र र राष्ट्रियता बचाउनु पर्छ सरकार, अहिले म यो पदमा आउन चाहन्नँ” भनी जवाफ दिएँ । त्यो पदको त्याग पनि मैले राष्ट्रहितकै लागि गरेकी थिएँ ।
पछि, समय क्रममा निर्दलीय पञ्चायती व्यवस्था फालेर बहुदलीय प्रजातन्त्र ल्याइयो । म पनि उमेरले अलि पाको हुँदै गएँ । विडम्बना, प्रजातन्त्र प्राप्तिपछिका वर्षहरूमा हाम्रा योगदानहरूको सम्झना गर्ने खासै कोही भएनन् । मागेर लिने मेरो प्रवृत्ति थिएन र छैन पनि । तसर्थ, लाभको पद सम्हाल्ने अवसर मलाई प्राप्त भएन । त्यसो भए पनि म भने हरेक मोडमा गरिब, दुःखी, मजदुर, किसान र महिलाका पक्षमा अविचलित भएर लागेकै छु । अहिले पनि राजनीतिमा रहेको विकृतिले मलाई अत्यन्त दुःखी बनाउँछ । हामीले स्वाभिमानको राजनीति गर्यौँ। अहिले चाकरीले स्थान लिएको आभास हुन्छ । त्यसले मलाई अत्यन्तै दुःखी बनाउँछ । पहिले नीतिले पार्टीहरू चल्दथे भने अहिले नेता हावी भएको महसुस हुन्छ । यो प्रवृत्तिले ठुलालाई हित र सानालाई अहित गर्ने हुँदा फेरि पनि आन्दोलनको आवश्यकता खट्किन्छ । तर, समस्याको अर्को पाटो के हो भने सधैँ आन्दोलन, सधैँ क्रान्ति गरेर त हामीले कहिले पो औद्योगिक क्रान्ति गरी आत्मनिर्भरताको बाटोमा हिँड्न थाल्ने होला भन्ने चिन्ता लागिरहन्छ ।
बेलाबखत मैले आजसम्मको जीवनमा जे जति काम गरेँ, ती सबै मसँगै सकिन्छन् कि भन्ने चिन्ता लागिरहन्थ्यो । यसले गर्दा आफूले गरेका विविध कामका विषयमा सम्झे जति घटना र प्रसङ्गहरू लिपिबद्ध गर्नुपर्छ भन्ने सोचाइ धेरै पहिलेदेखि मनमा आइरहेको थियो । यो कार्य कसरी गर्ने ? कसलाई भन्ने ? लागिरहेको थियो । राजनीतिक अगुवा भनेर भेट्न र सल्लाह लिन आउनेहरूको त कमी थिएन तर मेराबारेमा लेखेर म र मेरो समयसित जोडिएको इतिहासलाई सुरक्षित गर्ने उद्देश्य बोकेर आउने व्यक्ति भेटेकी थिइनँ ।
यस्तै छटपटाहटको बेला एकदिन क. अष्टलक्ष्मी शाक्यका साथमा अरू पनि केही राजनीतिक अगुवा महिलाहरू आउनुभएको थियो । उहाँहरूसित कुरा गर्दै जाँदा मैले गरेका सामाजिक–राजनीतिक कामहरू र मेरो समग्र व्यक्तित्व अटाउने गरी एउटा पुस्तक लेख्नुपर्छ भन्ने निष्कर्षमा सबै जना पुगियो । त्यो छलफलका सहभागी साथीहरूमध्ये शान्ता बस्यालले अत्यन्त उत्साहपूर्वक आफूले लेख्ने दृढता व्यक्त गर्नुभयो । उहाँको आत्मविश्वास देखेर मलाई पनि निकै खुसी लाग्यो । उहाँ त्यो बेला पाटन क्याम्पसको विद्यार्थी (हाल सोही क्याम्पसमा लेक्चरर) भएकाले भेटघाट गर्न पनि सजिलो भयो र उहाँले भोलिपल्टै मकहाँ आएर प्रस्तावित किताबका लागि काम सुरु पनि गरिहाल्नु भयो । मैले आफ्नो विगतदेखि वर्तमानसम्मका घटना र प्रसङ्गहरू भन्दै जाने र शान्ताले लेख्दै जाने गर्दै किताबको धेरै काम अगाडि बढायौँ ।
यही क्रममा मेराबारेमा पुस्तक लेख्ने इच्छा जाहेर गर्दै सुशीला श्रेष्ठ (सहाना प्रधानका जीवनी लेखक), हिसिला यमी (मेरो सहयात्री हीरादेवी यमीको छोरी तथा नेकपा माओवादी र हाल जनता समाजवादी पार्टीकी स्थापित नेत्री), निनु चापागाईं (वरिष्ठ साहित्यकार) एकपछि अर्को गर्दै आउनुभयो । मैले त्यस विषयमा काम सुरु भैसकेको छ भनेँ । जो म र मैले गरेका कामलाई महत्त्व दिएर म कहाँ आउनुभयो, उहाँहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
किताब लेखनको सुरुआत भइसकेपछि तयार हुन पनि लामै समय लाग्यो । यसो हुनुका पछाडि मैले लगातार धेरै कुरा गर्न नसक्नु र हाम्रा आफ्नै घरायसी कारणहरू मात्रै जिम्मेवार रहेनन्, यसमा त राष्ट्रिय विपत्ति २०७२ सालको भूकम्पले पनि असर पा¥यो । ‘ढिलै होस् राम्रै होस्’ भने जस्तै हामीले पनि सम्झी–सम्झी धेरै कुरा समेट्ने अवसर प्राप्त गर्यौँ ।
यो पुस्तकमा जे जति कुरा लेखिएका छन् ती सबै मैले आफैँ भोगे गरेका काम भएकाले पूर्ण रूपमा सत्य छन् । तिनलाई पुष्टि गर्ने योभन्दा अगाडि प्रकाशित भएका पाठ्यसामग्रीलाई समेत अध्ययन गरी सकेसम्म यथार्थ जानकारी दिने प्रयास गरिएको छ । यसमा एकतर्फी सूचना प्रवाह गर्ने प्रवृत्तिका विरुद्धमा अनि मेरा सहकर्मी र त्यो बेलाको सिङ्गो राजनीतिक गतिविधिका बारेमा प्रस्ट पार्न खोजिएको छ । ‘एउटा लौरोको त छायाँ हुन्छ भने आफ्नो मात्रै कुरा गर्नु भनेको सङ्कीर्णता हो’ भन्ने मेरो ठहर छ । त्यसैले मेरा तमाम सहयोद्धा साथीहरूका महत्त्वपूर्ण योगदानका कतै लिपिबद्ध नभएका कुराहरू मेरो जानकारीमा भएसम्म यसमा समावेश गर्ने इमान्दार कोसिस गरेकी छु । यस पुस्तकमा हामीले हाम्रा गतिविधि र त्यससँग सम्बद्ध तस्बिरलाई एकै ठाउँमा राख्ने कोसिस गरेका छौँ जसका कारण यो पुस्तक आफैँमा एउटा महत्त्वपूर्ण दस्तावेज हुन पुगेको छ । तस्बिरहरूले तत्कालीन समयको सामाजिक र सांस्कृतिक स्वरूपको स्पष्ट व्याख्या गरेका हुन्छन् । त्यसैले उ बेलाका राजनीतिक एवं सामाजिक आन्दोलनहरूमा सहभागी हुनेहरूका तस्बिर र आन्दोलनका तस्बिरहरू यस किताबमा समावेश गरिएको छ ।
अन्त्यमा, म यो पुस्तक निकाल्नका लागि सबै खालका कष्ट उठाउन तयार भएर लामो समयसम्म निरन्तर मसँग सम्पर्कमा रही काम गर्ने बहिनी शान्ता बस्याल र अन्य सहयोगीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । भेट भएको दिनदेखि अहिलेसम्म आफ्नै सन्तानले जस्तो माया, ममता र स्नेह प्रदान गरेर मेरा हरेक गतिविधिमा साथ दिँदै आउनुभएकोमा बहिनी शान्ता बस्यालप्रति विशेष आभार प्रकट गर्न चाहन्छु । अहिले म मेरा परिवारका अग्रजहरू तथा राजनीतिक गुरुहरू, १९९७ सालका सम्पूर्ण सहिदहरू– जसको रगतको प्रेरणाले म राजनीतिमा लागेँ– का सन्तानको रूपमा म आफूलाई सम्झन चाहन्छु । यससँगै, मुलुकको सकारात्मक परिर्वतनका लागि जीवन आहुति गर्ने सम्पूर्ण आदरणीय सहिदहरूलाई सम्झेर उहाँहरूप्रति नतमस्तक छु ।
यो सामग्री शुक्रबार (आज) विमोचन हुन लागेको शान्ताकुमारी बस्यालद्वारा लिखित ‘स्नेहलता : जीवनकथाका पानाहरू’ पुस्तकबाट साभार गरिएको हो । साभारका लागि अनुमति दिनुभएकोमा लेखकलाई धन्यवाद ।
सन्धान प्रकाशन मिति : २०७९ साउन २० गते, शुक्रवार