Home Opinion महिलाको समग्र विकास र सशक्तीकरणमा विशेष पहल गर्नेछु –रीताकुमारी शाही, अध्यक्ष, भैरवी...

महिलाको समग्र विकास र सशक्तीकरणमा विशेष पहल गर्नेछु –रीताकुमारी शाही, अध्यक्ष, भैरवी गाउँपालिका

653
0

वैशाख ३० गते भएको ‘स्थानीय तह निर्वाचन २०७९’ को मतपरिणाम आइरहेको छ । निर्वाचनबाट केही महिला जनप्रतिनिधिहरू पालिकाको प्रमुख पदमा पनि निर्वाचित भएका छन् । नवनिर्वाचित पालिका प्रमुख महिलाहरुलाई बधाई तथा शुभकामनासहित उहाँहरुसँग ‘सन्धान’ ले पालिकाका लागि अबको योजना र कार्यक्रमका बारेमा संवाद शुरु गरेको छ ।

तिनै पालिका प्रमुखहरूमध्ये एक हुनुहुन्छ, नेपाली कांग्रेसका रीताकुमारी शाही । २०४७ सालदेखि नेपाली कांग्रेसको विद्यार्थी संघबाट राजनीति सुरु गरेको बताउनु हुने शाही दैलेख जिल्लाको भैरवी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको छ । प्रस्तुत छ, अध्यक्ष शाहीसँग पालिकाको समग्र योजना र महिला सवालका कार्यक्रमका बारेमा ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले गर्नुभएको कुराकानीको सम्पादित अंश :

गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभयो । अबको पाँच वर्षमा पालिकामा काम गर्ने तपाईंका योजनाहरू बताइदिनुस् न ?

हाम्रो यो ग्रामीण क्षेत्र हो । त्यसैले ग्रामीण क्षेत्रमा बाटोघाटोको समस्या हुन्छ । पालिकामा सडकहरूको समस्या छ । त्यसैले सडक बाटो बनाउनु मेरो पहिलो प्राथमिकता हुनेछ । त्यस्तै शिक्षा, स्वास्थ्य, खानेपानीलाई प्राथमिकता दिनेछु । यस क्षेत्रमा विद्युत् सेवाको पनि अभाव भएकाले यसका लागि पनि पहल गरेर अगाडि बढाउने योजना छ । पालिकाको स्तरोन्नति गर्दै यस पालिकालाई समृद्ध गाउँपालिका बनाउने मेरो लक्ष्य छ ।

महिला तथा बालबालिकाको हकअधिकारका साथै उनीहरूको आर्थिक सशक्तीकरण गर्छु । महिलाहरूलाई विभिन्न क्षेत्रमा अघि बढाउने गरी सशक्तीकरणका कार्यक्रमहरूलाई पनि मैले प्राथमिकतामा राख्छु । पछाडि पारिएका तथा दलित समुदायमा पनि सशक्तीकरणका कार्यक्रमहरू गर्नुपर्ने आवश्यकता देखेको छु ।

हाम्रो क्षेत्रमा असहायहरूको सङ्ख्या धेरै छ । त्यसैले उनीहरूलाई पालिकाले नै पढाउने व्यवस्था गर्ने सपना देखेको छु । यसका लागि सहयोगी र दाताहरूको साथ र सहयोगको अपेक्षा पनि गरेको छु । आफ्नो पहलसँगै दाताहरूको सहयोग पाएमा वृद्धवृद्धालाई राख्नका लागि आश्रम बनाउने पनि मेरो योजना छ ।

तपाईंको पालिकामा महिलाहरूको अवस्था कस्तो छ ? र, विशेष गरी महिला सवालमा कस्ता काम गर्नुहुन्छ ?

हाम्रो पालिकाका करिब ७५ प्रतिशत महिला रोजगारी नभएर घरभित्रैको काम मात्र गर्नुहुन्छ । त्यसैले मैले उहाँहरूलाई लक्षित गरेर सिपमूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छु ।

यहाँका धेरै पुरुषहरू वैदेशिक रोजगारीका लागि भारत, मलेसिया, साउदी अरब जानुहुन्छ । आफ्नो ज्यानको बाजी राखेर खाडी मुलुकहरूमा काम गर्नुहुन्छ । त्यहाँ काम गरेर कमाएको पैसा खानमै सकिन्छ । महिलाहरूसँग पनि सिप भएर केही आम्दानीको बाटो भयो भने विदेशमा कमाएको पैसा स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा लगानी हुन्थ्यो । केही रकम बचत गर्न पनि सकिन्थ्यो ।

म अबको पाँच वर्षमा महिलाहरूको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्छु । पुरुषहरूका लागि पनि आफ्नै ठाउँमा बसेर कमाउन सक्ने वातावरण कसरी हुन्छ तयार गर्छु । समग्रमा पालिकालाई समृद्ध बनाउने क्रममा महिलाको समग्र विकास र सशक्तीकरणमा विशेष पहल गर्नेछु ।

तस्बिर सौजन्यः प्रेम शाही ठकुरी ।

प्रकाशन मिति : २०७९ जेठ ६, शुक्रवार ।