‘युवाको जीवनभोगाइ’ शृङ्खला ५
तनहुँ जिल्लाको स्याम्गामा सुरुवाती बाल्यकाल बिताएकी अन्जु श्रेष्ठ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैँडाकोटबासी हुनुहुन्छ । उहाँले देखेभोगेको पहाड र तराईको भौगोलिकदेखि बदलिँदो सामाजिक, शैक्षिक र आर्थिक परिवेशको मिश्रित पृष्ठभूमिमा आफूलाई डिजिटल युगको एउटा महत्त्वाकांक्षी युवाको रूपमा अघि बढाउँदै पनि हुनुहुन्छ ।
सानो परिवारको लागि गर्जो टार्ने आर्थिक स्रोत जुटाउनकै लागि बुवा वैदेशिक रोजगारीमा गएपछि घरमा आमाको रेखदेख र एक मात्र दाइको सामीप्यमा रहेर शिक्षा आर्जन गर्दै गर्दा घरायसी काममा आमालाई सघाउनुभयो ।
विद्यालयको पढाइमा अब्बल, अनुशासित र मिहिनेती अन्जुले आफू वरपरको सामाजिक, सांस्कृतिक परिवेशलाई नियाल्दै आउनुभएकै थियो । १९ वर्षमा विवाह भएर २० वर्षको उमेरमै सन्तान जन्माएकी अन्जुले पढाइ, परीक्षा, परिवार र सानो बच्चाको हेरचाह गर्ने जिम्मेवारीलाई एकैसाथ सम्हाल्नुपर्दा जीवनलाई चुनौतीपूर्ण अनुभव गर्नुभयो । “तर मैले हार मानिनँ,” उहाँले भन्नुभयो ।
आमा बनेपछि जीवनले आफूलाई नयाँ जिम्मेवारी र नयाँ अर्थ दिएको ठान्ने अन्जुले जीवनमा धेरै पटक मानसिक दबाब महसुस गरेको तथ्य भने लुकाउन चाहनु भएन । त्यसबाट पार पाउने उपायबारे पनि उहाँ जानकार हुनुहुँदो रहेछ ।
बाँके जिल्लाको नेपालगन्जमा २०८३ सालमा भएको स्वचिन्तन र नेतृत्व कार्यशालामा सहभागी भएका बेला उहाँले भन्नुभएको थियो, “यस्तो बेला म लामो सास लिने, केही सेकेन्ड रोक्ने र बिस्तारै सास छोड्ने अभ्यास गर्न थालेँ ।” त्यसले आफूलाई शान्त हुन र पुनः सकारात्मक सोचका साथ अघि बढ्न मद्दत गरेको उहाँले बताउनुभयो ।
अन्जुले आमा र श्रीमान्काे साथ पाएपछि बच्चा बोकेरै काठमाडौँ गएर पढ्न सकेको र समस्या देखेर हार मान्नुको सट्टा समाधान खोज्ने बानी आफूमा विकास भएको बताउँदै भन्नुभयो, “युवाका लागि आफूले निर्णय गर्ने अवसर पाए रोजगारी र सिप विकासलाई पहिलो प्राथमिकतामा राख्ने थिएँ ।”
स्थानीय सरकारले सिपमूलक तालिम, उद्यमशीलता विकास, सहुलियत ऋण, स्थानीय उद्योगको प्रवर्धन र निजी क्षेत्रसँग सहकार्य गरी रोजगारी सिर्जना गरिदिए हुन्थ्यो भन्ठान्ने अन्जुले आगामी पाँच वर्षमा आफूलाई खाद्य तथा डेरी प्रविधिको क्षेत्रमा स्थापित पेशेवर र सफल ‘कन्टेन्ट क्रिएटर’ का रूपमा देख्न चाहेको बताउनुभयो ।
अन्जुको जीवनभोगाइ वैदेशिक रोजगारीमा गएका बावुको खर्च र घरमा भएकी आमासँगको साहचर्य र अभिभावकत्वमा पढाइलेखाइ गरेकी एक छोरीमान्छेको व्यक्तिगत कथा मात्र होइन, यो नेपाली समाजमा यसरी नै हुर्किइसकेको युवा पुस्ताका मिहिनेती, महत्त्वकांक्षी तर पढाइ सक्न नपाउँदै विवाहित भएर सन्तान जन्माइसकेका महिलाको जीवनभोगाइको वास्तविक तथ्य पनि हो ।
‘सन्धान’ ले राष्ट्रिय युवा दिवस २०८३ र अन्तर्राष्ट्रिय युवा दिवस सन् २०२६ को सन्दर्भ पारेर ‘युवाको जीवनभोगाइ’ शृङ्खला सुरु गरेको यहाँलाई थाहै छ । यसमा २० देखि ४० वर्षको उमेर समूहभित्रका यस्ता युवालाई समेटिने गरेको छ, जसको जीवनकथामा स्वचिन्तन र नेतृत्व गुणसहित ‘भिन्न परिवेश, साझा आकांक्षा’ को प्रतिविम्बलाई पनि भेट्न सकिन्छ ।
अन्जुले २०८३ साउन ११ देखि १३ गतेसम्म नेपालगन्जको होटल सिद्धार्थमा सुरु भएको तीनदिने स्वचिन्तन र नेतृत्वसम्बन्धी कार्यक्रममा सहभागी भएर नवलपुर, बर्दिया र सुर्खेतमा रही सामाजिक न्यायका लागि नेतृत्व गरिरहेका युवाका साथ आफ्नो जीवनभोगाइ र दृष्टिकोणलाई साझा गर्नुभएको थियो ।
द स्टोरी किचेनको आयोजनामा भएको सो कार्यक्रमको अवलोकनसहित ‘सन्धान’ सहकर्मी सरिता पौडेलले सामग्री सङ्कलन गर्ने क्रममा सहभागीहरूसँग थप कुराकानी पनि गर्नुभयो । सोही आधारमा ‘सन्धान समूह’ ले अन्जुको जीवनकथा लेखन र सम्पादन गरेको हो । यस क्रममा तथ्यजाँचका लागि उहाँसँग टेलिफोनबाट पनि सम्पर्क गरिएको थियो ।
विभिन्न परिवेशबाट गुज्रिँदै आए पनि सुख, शान्ति, समृद्धि, विकास, समताजस्ता साझा आकांक्षाका लागि समर्पित समकालीन युवाका विषयमा अंशमै भए पनि तथ्यपरक सामग्री तयार होस् र इतिहासमा विभिन्न कोणबाट पछि परेका र पारिएका समुदायका युवाको योगदान यत्तिकै हराएर नजावस् भन्ने उद्देश्यले यो कथा तयार गरिएको हो ।
‘युवाको जीवनभोगाइ’ शृङ्खला ५ मा प्रस्तुत छ, अन्जु श्रेष्ठको स्वकथन ।

मेरो नाम अन्जु श्रेष्ठ हो । मेरो स्थायी घर गैँडाकोट नगरपालिका–१०, भैसाखोरी, नवलपुर हो । मेरो जन्म २०५९ साल फागुन ५ गते तनहुँ जिल्ला, व्यास नगरपालिका–६, स्याम्गामा भएको हो । बाल्यकाल त्यहीँ स्याम्गामै बित्यो । २०७२ सालमा हाम्रो परिवार बसाइँसराइ गरेर गैँडाकोट आयो । त्यसयता हामी यहीँ भैसाखोरीमै बस्दै आएका छौँ ।
मेरो बाल्यकाल निकै रमाइलो थियो । हाम्रो परिवारमा म र मेरो दाइ मात्र थियौँ । म कक्षा ३ मा पढ्दै गर्दा रोजगारीका लागि बुबा मलेसिया जानुभयो । गाउँमा आमाले नै परिवारको जिम्मेवारी सम्हाल्नुभयो ।
आमाले बाख्रापालनसम्बन्धी तालिम लिनुभएको थियो । हाम्रो घरमा धेरै बाख्रा थिए । विद्यालय बिदा भएका बेला आमालाई सघाउँदै म पनि बाख्रा चराउन जान्थेँ । कहिलेकाहीँ गाउँका दिदीबहिनीहरूसँग रहरले जङ्गल पनि जान्थेँ ।
बाल्यकालको एउटा घटना अझै पनि ताजै छ । एक दिन विद्यालयबाट फर्किएपछि साँझतिर एकजना दिदीसँग जङ्गल गएकी थिएँ । मेरो दाइ पनि सँगै हुनुहुन्थ्यो । त्यही बेला नजिकैबाट बाघ कराएको आवाज सुनियो । हामी सबै निकै डराएका थियौँ, तर भाग्यवश सुरक्षित घर फर्कियौँ । आज पनि कतै बाघको आवाज सुन्दा त्यो दिनको घटना सम्झना आउँछ ।
हाम्रो परिवार मध्यमवर्गीय थियो । आर्थिक अवस्था सामान्य भए पनि हाम्रो पढाइमा कुनै ठुलो समस्या भएन । कक्षा ७ सम्म तनहुँको गाउँकै विद्यालयमा अध्ययन गरेँ । गैँडाकोट आएपछि यहीँको जनक माध्यमिक विद्यालयमा कक्षा ८ देखि १२ सम्म अध्ययन गरेँ । मैले काठमाडौँको क्याफोडेट कलेजबाट खाद्य तथा डेरी प्रविधिमा स्नातक तहको अध्ययन पूरा गरेकी छु ।
पढाइमा म सधैँ मेहनती विद्यार्थी थिएँ । विद्यालयमा तीन पटक विद्यालय प्रथम भएँ । प्लस टुमा पढ्दा पनि प्रथम बन्न सफल भएकी थिएँ । स्नातक तहको अध्ययन पनि राम्रो नतिजासहित पूरा गरेँ ।
अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय थिएँ । विद्यालयमा फुटबल खेल्थेँ र विभिन्न खेलकुद तथा वार्षिक कार्यक्रममा पुरस्कार र सम्मान प्राप्त गर्ने अवसर पाएकी छु । अनुशासन मेरो पहिचानजस्तै थियो, त्यसैले विद्यालयमा प्रायः ‘अनुशासित विद्यार्थी’ भनी सम्मान पनि पाउँथेँ ।
गैँडाकोट आएपछि आमाले बाख्रापालन छोडेर गुडिया बनाउने काम सुरु गर्नुभयो । तर गुडिया बनाउँदा प्रयोग हुने सामग्रीका कारण आमालाई ‘एलर्जी’ भएको भन्ने थाहा भयो । त्यसपछि उहाँले त्यो काम छोड्नुपर्यो । अहिले बुबा पनि विदेशबाट स्वदेश फर्कनुभएको छ । दाइको विवाह भइसकेको छ र उहाँको एक छोरा छ । माइती परिवारमा सबैजना सँगै हुनुहुन्छ ।
मेरो विवाह भइसकेको छ । मेरो विवाह २०७८ साल मङ्सिर ३ गते भएको हो । सानै उमेरमा विवाह भए पनि मैले आफ्नो पढाइलाई निरन्तरता दिएँ । विवाह भएको एक वर्षमै म आमा बनेँ । त्यो समय मेरो स्नातक दोस्रो सेमेस्टरको पढाइ चलिरहेको थियो ।
मैले पढाइ, परीक्षा, परिवार र सानो बच्चाको हेरचाह-यी सबै जिम्मेवारी एकैसाथ सम्हाल्नुपरेको थियो । यो काम निकै चुनौतीपूर्ण थियो तर मैले हार मानिनँ । साथीहरूको साथ, परिवारको सहयोग र आफ्नै दृढ इच्छाशक्तिका कारण पढाइलाई सफलतापूर्वक पूरा गर्न सकेँ ।
आमा बनेपछि जीवनले मलाई नयाँ जिम्मेवारी र नयाँ अर्थ दियो । जीवनमा धेरै पटक मानसिक दबाब पनि महसुस गरेँ । यस्तो बेला म लामो सास लिने, केही सेकेन्ड रोक्ने र बिस्तारै सास छोड्ने अभ्यास गर्न थालेँ । यसले मनलाई शान्त हुन र पुनः सकारात्मक सोचका साथ अघि बढ्न मद्दत गरेको महसुस भयो ।
अहिले पनि दबाब महसुस भएका बेला सासको अभ्यास गर्ने गर्छु । अनुशासन, आत्मनियन्त्रण र सकारात्मक सोच नै मेरा बलिया पक्ष हुन् भन्ने मलाई लाग्छ । यसमा मेरो विश्वास पनि छ ।
मेरो जीवन यात्राका मुख्य चुनौतीहरू पारिवारिक र व्यक्तिगत जिम्मेवारी एकसाथ सम्हाल्नुपर्ने समयमा देखापरेका थिए । सानै उमेरदेखि मैले धेरै ठुलो जिम्मेवारी सम्हाल्नुपर्यो । पढाइ, परिवार र भविष्यलाई सँगै अघि बढाउन सजिलो थिएन । तर पनि ती चुनौतीहरूले मलाई धैर्य राख्न, मेहनत गर्न, समय व्यवस्थापन गर्न र आत्मनिर्भर बन्न सिकाए ।
म बच्चा बोकेर काठमाडाैँ पढ्न गएँ । यसमा आमाको साथ थियो । श्रीमान्ले पनि सहयोग गर्नुभयो । समस्या देखेर हार मान्नुको सट्टा समाधान खोज्ने बानी विकास भयो । आज म जुन अवस्थामा छु, त्यसमा ती सङ्घर्ष र अनुभवको ठुलो योगदान छ ।
अहिले मैले स्नातक तहको अध्ययन पूरा गरेकी छु र आफ्नो विषयसँग सम्बन्धित रोजगारीको खोजीमा छु । विशेष गरी खाद्य तथा डेरी प्रविधि क्षेत्रमा काम गर्ने इच्छा छ । साथै, डिजिटल माध्यममा कन्टेन्ट सिर्जना, भिडियो निर्माण र सम्पादनप्रति मेरो विशेष रुचि छ । भविष्यमा आफ्नो ज्ञान, सिप र सिर्जनशीलतालाई जोडेर उद्यमशीलता र डिजिटल क्षेत्रमा अगाडि बढ्ने योजना बनाएकी छु ।
मेरो विश्वास छ-अवसरको प्रतीक्षा मात्र गरेर हुँदैन, आफ्नै सिप, मेहनत र आत्मविश्वासबाट अवसर सिर्जना गर्न सकिन्छ । त्यसैले मेरो जीवनभोगाइको यात्रा अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बन्न सकोस् भन्ने चाहना छ ।
मेरो लागि अहिलेसम्मको सबैभन्दा ठुलो उपलब्धि भनेको चुनौतीपूर्ण परिस्थितिमा पनि आफ्नो पढाइ सफलतापूर्वक पूरा गर्न सक्नु हो । यसले मलाई अझ ठुलो सपना देख्ने र त्यसका लागि मेहनत गरे सफल भइन्छ भन्ने आत्मविश्वास दिएको छ ।
इमान्दारी, मेहनत, अनुशासन, जिम्मेवारी र निरन्तर सिक्ने बानी मेरा जीवनका मूल मूल्य हुन् । असफलतालाई म अन्त्य होइन, नयाँ सिकाइको अवसरका रूपमा लिन्छु । मेरो विचारमा सफलता भनेको इमान्दारीपूर्वक मेहनत गर्दै आफ्नो लक्ष्य हासिल गर्नु हो ।
फुर्सदको समयमा पुस्तक पढ्न, भिडियो बनाउन, भिडियो सम्पादन गर्न र परिवारसँग समय बिताउन मन पराउँछु । मलाई सबैभन्दा धेरै प्रेरणा मेरी आमाबाट मिल्छ । कठिन परिस्थितिमा पनि उहाँले कहिल्यै हार नमानी परिवारलाई अघि बढाउँदै आउनुभएको देखेर मैले पनि सङ्घर्षबाट भाग्ने होइन, त्यसलाई अवसरमा बदल्ने सोच विकास गरेकी छु ।
मेरो जीवनको मन्त्र हो-सफलता यत्तिकै एकैचोटि आउँदैन, निरन्तर मेहनत र धैर्यले त्यसलाई कुनै न कुनै दिन अवश्य ल्याउँछ ।

मेरो विचारमा आजका युवाको सबैभन्दा ठुलो चुनौती रोजगारीको अभाव हुनु हो । सिपअनुसार अवसर नपाउनु र बढ्दो विदेश पलायन हुनु थप चुनौती हुन् । युवाका लागि केही अवसर भए पनि ती पर्याप्त छैनन् ।
विशेष गरी गैँडाकोट नगरपालिकामा पनि पर्याप्त रोजगारी नभएकै कारणले युवालाई विभिन्न समस्या परिरहेको देखिन्छ । यसैले मलाई लाग्छ, स्थानीय सरकारले अब सिपमूलक तालिम, उद्यमशीलता विकास, सहुलियत ऋण, स्थानीय उद्योगको प्रवर्धन र निजी क्षेत्रसँग सहकार्य गरी रोजगारी सिर्जना गर्नुपर्छ ।
रोजगारीको समस्यालाई पालेर समृद्धि पाउन सकिँदैन । यसैले नेतृत्वमा रहेकाहरूसँग युवालाई उत्पादनसँग जोड्ने कार्यक्रम हुनुपर्छ । मैले निर्णय गर्ने अवसर पाएँ भने यहाँका युवाका लागि स्वदेशमै रोजगारी र सिप विकासलाई पहिलो प्राथमिकतामा राख्ने थिएँ ।
मेरो व्यक्तिगत जीवनको खास लक्ष्य पनि छ । आगामी पाँच वर्षमा म आफ्नो अध्ययन र करियरमा उल्लेखनीय प्रगति गर्दै खाद्य तथा डेरी प्रविधिको क्षेत्रमा स्थापित पेशेवर र सफल कन्टेन्ट क्रिएटरका रूपमा आफूलाई देख्न चाहन्छु । त्यसका लागि अन्तर्राष्ट्रिय स्तरका अवसर प्राप्त गर्ने प्रयास पनि निरन्तर गर्नेछु ।
आफ्नो क्षेत्रमा आफ्नै मेहनत र लगनले बढे–बढाएको ज्ञान र अनुभवलाई समाजमा पनि बाँड्ने छु । युवालाई आत्मविश्वास, सिप र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गर्ने लक्ष्य पनि मैले राखेकी छु ।
मेरो सबैभन्दा ठुलो सपना भनेको सफल, आत्मनिर्भर र जिम्मेवार व्यक्ति बन्नु हो । आफ्नै मेहनतबाट परिवारको सपना पूरा गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने र आफ्नो काममार्फत धेरै युवाका लागि प्रेरणा बन्ने मेरो चाहना छ ।
मेरो दृष्टिमा मेरो जीवन चुनौतीहरूलाई अवसरमा बदल्दै निरन्तर सिक्ने, मेहनत गर्ने र कहिल्यै हार नमान्ने यात्राको वास्तविक कथा हो । सफलता सजिलै आउँदैन, तर धैर्य, इमान्दारी र सही सोचका साथ अघि बढेमा लक्ष्य अवश्य हासिल गर्न सकिन्छ ।
म सबै युवालाई सन्देश दिन चाहन्छु- आफ्नो सपना ठुलो राख्नुस्, आफूमा विश्वास गर्नुस् र सपना साकार पार्ने लक्ष्यका साथ निरन्तर मेहनत गर्न नछोड्नुस् ।

प्रकाशन मिति : २०८३ भदाै २४ गते, बुधवार
युवाको जीवनभोगाइका शृङ्खलाहरू





