मेरो लागि नेतृत्व भनेको पद नभई जिम्मेवारी हो

Share this :

‘युवाको जीवनभोगाइ’ शृङ्खला ४

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ को गोविन्दपुर गाउँका अनुराज थारू गरिबीका बिच एकल आमाको काखमा सङ्घर्षपूर्ण बाल्यकाल बिताएर पनि २१ वर्षमै आफ्नो समुदाय र समाजमा सम्मानजनक पहिचान बनाउन सफल व्यक्ति हुनुहुन्छ ।

आमाको सङ्घर्षसँगै जीवन बुझ्न सिकेका उहाँले पढाइलेखाइलाई जीवनको लक्ष्यसँग जोड्नुभयो । विद्यालयको पढाइ सकिएपछि थप पढ्नका लागि अभिभावकसँग रणनीतिक ढङ्गले किस्ता किस्तामा माग राख्दै अघि बढ्न पनि सिक्नुभयो ।

जिम्मेवारीबोधका साथ परिआएका काम र पढाइलाई सँगसँगै अघि बढाउँदै गर्दा १६ वर्षमै आफूभित्रको क्षमता र सम्भावना पहिल्याउन सघाउने तालिम पाएको बताउने अनुराजले आफूलाई सामाजिक अभियन्ता र नेतृत्वकर्ताका रूपमा अघि निरन्तर बढाउनुभयो । त्यसले समाजमा सकारात्मक परिवर्तन पनि ल्याउन थाल्यो ।

“पढाइसँगै समाजमा मेरो पहिचान पनि बिस्तारै निर्माण हुँदै गयो । पहिले गरिबीका कारण चिनिने म, अहिले मिहिनेत, पढाइ र सामाजिक सक्रियताका कारण चिनिन थालेको छु,” उहाँले भन्नुभयो, “अहिले धेरै मानिसले मेरो नामबाट गाउँ चिन्ने कुरा गरेको सुन्दा मलाई गर्व लाग्छ ।” यसलाई उहाँ व्यक्तिगत उपलब्धिसँगै परिवारले गरेको सङ्घर्ष र योगदानको सम्मानका रूपमा लिनुहुन्छ ।

युवाको आवाज, बालबालिकाको शिक्षा, बालविवाह न्यूनीकरण, लागु पदार्थ दुर्व्यसनविरुद्ध अभियान र समुदाय विकासका क्षेत्रमा सक्रिय हुँदै गर्दा आफूले बाल्यकालमा भोगेको अभाव र हेपाइको पीडालाई उहाँले पछिल्लो समयमा अरूको पीडा बुझ्ने संवेदनशीलतामा रूपान्तरण गर्ने प्रयास गरेको सङ्केत गर्नुभयो ।

जन्म दिने बावु सानैमा गुमे पनि आमाको सङ्घर्षशील र जिम्मेवार काखमा हुर्किंदै र पढ्दै गर्दा समयक्रममा कर्म दिने बावुको साथ पनि पाउनुभएका अनुराज थारूको जीवनले एउटा गहिरो सन्देश दिन्छ- परिस्थितिले मानिसको सुरुआत निर्धारण गर्न सक्छ तर उसको भविष्य उसकै इच्छाशक्ति, निरन्तर मिहिनेत र सकारात्मक सोचले निर्धारण गर्छ ।

गरिबीजन्य अभावका बिच पनि शिक्षालाई प्राथमिकतामा राख्ने व्यक्ति स्नातक पढ्दादेखि नै समाजका लागि समृद्धितर्फको यात्राका लागि समुदायमा आशाको किरण पनि बन्न सक्छ । गरिबी र पढ्ने चाहनाकै कारण दिदीभाइले घरमा आमासँगै हुर्कने अवसर नपाए पनि दुवैले समयको महत्त्वलाई बेलैमा चिनेर सदुपयोग गरेको पनि देखियो ।

जीवनका कठिन अनुभवहरू पीडादायी सम्झना मात्र हुँदैनन्, तीमध्ये कतिपय त भोग्ने व्यक्तिलाई भित्रैदेखि बलियो बनाउने आधार, आत्मविश्वास जगाउने शक्ति र सकारात्मक परिवर्तनको लागि क्रियाशील रहिरहनका लागि प्रेरणाका स्रोत पनि बन्न सक्छन् । अनुराजको जीवनभोगाइको कथाले दिने एउटा सन्देश यो पनि हो ।

अनुराजको जीवनभोगाइ निम्न आर्थिक अवस्थाका थारू समुदायको कुनै एक पुरुषको व्यक्तिगत कथा मात्र होइन, यो नेपाली समाजमा थारूको पहिचान भएका शिक्षानुरागी, चेतनशील, मिहिनेती, सकारात्मक सामाजिक परिवर्तनप्रति सचेत र क्रियाशील भएर विकास निर्माणका काममा सामुदायिक नेतृत्वसमेत गर्दै आएका युवाको प्रतिनिधि कथा पनि हो ।

‘सन्धान’ ले राष्ट्रिय युवा दिवस २०८३ र अन्तर्राष्ट्रिय युवा दिवस सन् २०२६ को सन्दर्भ पारेर ‘युवाको जीवनभोगाइ’ शृङ्खला सुरु गरेको थियो । यसमा सामान्यतः २० देखि ४० वर्षको उमेर समूहभित्रका यस्ता युवालाई समेटिने गरेको छ, जसको जीवनकथामा स्वचिन्तन र नेतृत्व गुणसहित ‘भिन्न परिवेश, साझा आकांक्षा’ को प्रतिविम्बलाई पनि भेट्न सकिन्छ ।

अनुराजले २०८३ बैशाख ३० गते नेपालगन्जको होटल डायमण्डमा सुरु भएको तीनदिने स्वचिन्तन र नेतृत्वसम्बन्धी कार्यक्रममा सहभागी भएर नवलपुर, बर्दिया र सुर्खेतमा रही सामाजिक न्यायका लागि नेतृत्व गरिरहेका युवाका साथ आफ्नो जीवनभोगाइ र दृष्टिकोणका केही अंशलाई साझा गर्नुभएको थियो ।

द स्टोरी किचेनको आयोजनामा भएको सो कार्यक्रमको अवलोकनसहित ‘सन्धान’ सहकर्मी सरिता पौडेलले सामग्री सङ्कलन गर्ने क्रममा सहभागीहरूसँग थप कुराकानी गर्नुभएको थियो । सोही आधारमा ‘सन्धान समूह’ ले अनुराजको जीवनकथा लेखन र सम्पादन गरेको हो । यस क्रममा तथ्यजाँचका लागि उहाँसँग असारको दोस्रो साता टेलिफोनलगायतबाट पनि सम्पर्क गरिएको थियो ।

विभिन्न परिवेशबाट गुज्रिँदै आए पनि सुख, शान्ति, समृद्धि, विकास, समताजस्ता साझा आकांक्षाका लागि समर्पित समकालीन युवाका विषयमा अंशमै भए पनि तथ्यपरक सामग्री तयार होस् र इतिहासमा विभिन्न कोणबाट पछि पारिएका समुदायका युवाको योगदान यत्तिकै हराएर नजावस् भन्ने उद्देश्यले यो कथा तयार गरिएको हो ।

‘युवाको जीवनभोगाइ’ शृङ्खला ४ मा प्रस्तुत छ, अनुराज थारूको स्वकथन ।

मेरो नाम अनुराज थारू हो । मेरो जन्म २०६२ साल कात्तिक २४ गते हालको ठाकुरबाबा नगरपालिका–५, गोविन्दपुर गाउँमा भएको हो । हाम्रो चार जनाको परिवार थियो-बुवा, आमा, दिदी र म ।

बाल्यकाल सम्झँदा अहिले पनि धेरै रमाइला क्षणहरू आँखाअघि आउँछन् । साथीहरूसँग पढ्ने, लेख्ने, खेल्ने, विद्यालय जाने बेलाको उत्साह नै बेग्लै थियो । विद्यालय नौ बजे सुरु हुन्थ्यो, तर म त आठ बजेतिरै पुगिहाल्थेँ । साथीहरूसँग खेल्दै, रमाइलो गर्दै समय बिताउनु नै मेरो बाल्यकालको सबैभन्दा सुन्दर सम्झना हो ।

अहिले पनि सामाजिक क्षेत्रमा काम गर्दा अरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकेको अनुभूति नै मेरो सबैभन्दा ठुलो खुसी हो ।

मेरो जीवनमा मलाई सबैभन्दा धेरै माया गर्ने व्यक्ति मेरी आमा श्यामकुमारी थारू हुनुहुन्छ । मेरो जीवनमा दुई जना बुवा हुनुहुन्छ- जन्म दिने बुवा सरफर थारू र कर्म दिने बुवा अर्जुन थारू । जन्म दिने बुवाको मृत्यु हुँदा म पाँच–छ वर्षको थिएँ । उहाँको अनुहारसमेत आज स्पष्टसँग सम्झन सक्दिनँ ।

जन्म दिने बुवा कामको सिलसिलामा नेपालभित्रै इटहरीतिर बस्नुहुन्थ्यो । त्यसैले मलाई उहाँसँग धेरै समय बिताउने अवसर नै मिलेन । उहाँलाई मधुमेह भएको थियो । त्यही कारण उहाँको निधन भयो भन्ने सुनेको । म त्यतिबेला निकै सानो भएकाले परिवारले मलाई उहाँको किरिया बस्न पनि दिएन ।

बाल्यकालमा सबै कठिनाइका बिच पनि मैले पढाइलाई कहिल्यै छोड्ने सोचिनँ । शिक्षा नै आफ्नो जीवन परिवर्तन गर्ने माध्यम हो भन्ने विश्वास ममा झन् बलियो बन्दै गयो ।

बुवाको निधनपछि हाम्रो परिवारको सम्पूर्ण जिम्मेवारी आमाको काँधमा आयो । उहाँले हामीलाई हुर्काउन र पढाउन दिनरात दुःख गर्नुभयो । उहाँले कहिले घर बनाउने मजदुरी गर्नुहुन्थ्यो, कहिले नदी किनारमा गिट्टी चाल्ने काम गर्नुहुन्थ्यो । उहाँ जहाँ काम गर्न जानुहुन्थ्यो, म पनि सानो भएकाले उहाँसँगै जान्थेँ । नदी किनारमै झुप्रो बनाएर बस्ने, गिट्टी चाल्ने र बेच्ने काममा आमालाई सघाउँथेँ ।

आमाले मजदुरी गरेर नै हाम्रो घरपरिवार चलाउनुभयो । म पाँच–छ वर्षको हुँदादेखि नै नदी किनारमा गिट्टी चाल्ने काम गर्थें । त्यो मेरो बाध्यता थियो तर त्यही बाध्यताले मलाई जिम्मेवारी लिन सिकायो । सानो उमेरमै खाना पकाउने, कपडा धुने र घरका अन्य काम गर्ने बानी परिसकेको थियो ।

कामसँगै पढाइलाई पनि निरन्तरता दिएँ । मैले बर्दियाकै मिर्चैयामा रहेको श्री हिमालय आधारभूत विद्यालयमा पढेको हुँ । घरदेखि विद्यालयसम्म पुग्न साइकलमा ३०–३५ मिनेट लाग्थ्यो । कहिलेकाहीँ विद्यालयबाट फर्कंदा घरमा कोही हुँदैनथ्यो । पानी परेपछि भिज्दै घर आउनुपर्थ्याे । बिरामी हुँदा पनि धेरै गुनासो गर्ने अवस्था थिएन ।

मैले मेरो दिदी उर्मिला थारूसँग धेरै बस्न पाइनँ । उहाँ १२ बर्षको हुँदा पढाउन भनी अङ्कल कर्णबीर थारूले काठमाडौँ लैजानुभएको थियो । अहिले पनि दिदी काठमाडौँमै बसेर बिबिएस तेस्रो बर्षमा अध्ययन गरिरहनुभएको छ ।

हाम्रो परिवारको आर्थिक अवस्था निकै कमजोर थियो । लगाउने कपडा पनि धेरै पटक च्यातिएर सिलाइएका हुन्थे । त्यतिबेला गाउँका मानिसहरूले हामीलाई हेर्ने दृष्टिकोण पनि फरक थियो । अभावमा बाँच्ने परिवारको सदस्य भएकाले मलाई कहिलेकाहीँ हेपिएको अनुभूति हुन्थ्यो ।

बाल्यकालका कठिन दिनहरू सम्झँदा अहिले पनि मन भारी हुन्छ । सँगसँगै यस्तो पनि लाग्छ, ती अनुभवहरूले नै मलाई जीवनसँग एक्लै जुध्न सिकाए । सानो हुँदा मलाई किन हेपियो भनेर सबै कुरा गहिरोसँग बुझेको थिइनँ । ठुलो हुँदै जाँदा समाजले गरिबीलाई त्यसरी हेप्दो रहेछ भन्ने बुझेँ ।

बाल्यकालमा सबै कठिनाइका बिच पनि मैले पढाइलाई कहिल्यै छोड्ने सोचिनँ । शिक्षा नै आफ्नो जीवन परिवर्तन गर्ने माध्यम हो भन्ने विश्वास ममा झन् बलियो बन्दै गयो । मैले २०७७ सालमा बर्दियाकै बगनाहाको श्री चुरे माध्यमिक विद्यालयबाट एसईई पास गरेँ । त्यसपछि सोही विद्यालयबाट २०८० सालमा १२ कक्षा पनि पास गरेँ ।

पढाइमा राम्रो गर्ने प्रयास गर्थें । विद्यालयमा सधैँ मिहिनेतका साथ अध्ययन गर्थें । आर्थिक अभावले धेरै पटक बाटो रोक्न खोज्यो । त्यसबाट मेरो सपना भने रोकिएन । मलाई लाग्छ, सङ्घर्षपूर्ण जीवनले मलाई सानै उमेरदेखि मिहिनेत र जिम्मेवारीको मूल्य सिकायो ।

आमाले दोस्रो विवाह गरेपछि परिवारमा कर्म दिने बुवा पाएँ । घरको अवस्था कमजोर भएकाले ममी–बुवाले सुरुमा मलाई १० कक्षासम्म मात्रै पढाउन सक्ने कुरा गर्नुहुन्थ्यो । मैले भने सानैदेखि जीवनमा जति कठिनाइ आए पनि उच्चशिक्षा हासिल गर्ने स्पष्ट लक्ष्य लिएको थिएँ । यसैले मैले आफ्नो लक्ष्यलाई १० कक्षामै सीमित हुन दिइनँ ।

कामको खोजीमा घरबाट निस्किएँ । आफ्नो श्रमबाट कमाएको पैसाले उच्चशिक्षाको यात्रा अघि बढाउने आत्मविश्वास ममा त्यही बेला पैदा भयो । त्यसले मलाई एउटा महत्त्वपूर्ण कुरा सिकायो- आफ्नो सपनालाई साकार पार्ने जिम्मेवारी अन्ततः आफैँले लिनुपर्छ ।

कक्षा १० पछि १२ सम्म पढ्ने इच्छा व्यक्त गरेँ । १२ कक्षापछि पनि पढाइलाई निरन्तरता दिन चाहेको कुरा दोहोर्‍याइरहेँ । आर्थिक अवस्था सहज नभए पनि उहाँहरूले क्षमताले भ्याएसम्म मलाई साथ दिनुभयो । मेरो जीवनमा आमापछि अर्को महत्त्वपूर्ण व्यक्ति मेरा कर्म दिने बुवा हुनुहुन्छ । उहाँले मलाई कहिल्यै आफ्नै सन्तानभन्दा फरक व्यवहार गर्नु भएन ।

जन्म नदिनुभएको भए पनि कर्मले उहाँ मेरा बुवा नै हुनुहुन्छ । उहाँले मलाई स्वतन्त्ररूपमा सोच्न, आफैँ निर्णय गर्न र जिम्मेवारी लिन सिकाउनुभयो । गलत बाटोमा नहिँड्न सल्लाह दिनुहुन्थ्यो तर अनावश्यक रोकटोक गर्नु हुन्नथ्यो । मप्रतिको उहाँको विश्वासले नै मेरो आत्मविश्वास बलियो बन्दै गयो ।

आज जब म आफ्नो बाल्यकाल सम्झन्छु, त्यहाँ अभाव, दुःख र सङ्घर्ष मात्र देख्दिनँ । त्यही सङ्घर्षले मलाई मिहिनेती, जिम्मेवार र लक्ष्यप्रति दृढ बनाएको देख्छु । जीवनले मलाई सानै उमेरमा सिकाएको सबैभन्दा ठुलो पाठ हो- परिस्थिति जति कठिन भए पनि सपना त्याग्नु हुँदैन । निरन्तर मिहिनेत र दृढ इच्छाशक्तिले कुनै पनि अभावलाई जित्दै सपनालाई साकार पार्न सकिन्छ ।

मेरो पढाइमा सबैभन्दा ठुलो आधार परिवारको विश्वास र मेरो आफ्नै दृढ सङ्कल्प थियो । ममीबुवाले आफ्नो क्षमताभन्दा बढी प्रयास गरेर मलाई साथ दिनुभयो । उहाँहरूले धेरै कुरा त्यागेर मेरो भविष्यमा लगानी गर्नुभयो । आज म जहाँ छु, त्यसको श्रेय मेरो मिहिनेतसँगै उहाँहरूको त्याग र विश्वासलाई पनि जान्छ ।

कक्षा १२ को परीक्षा दिएपछि जीवनको अर्को कठिन मोड आयो । घरको आर्थिक अवस्था हेर्दा अब पढाइलाई अगाडि बढाउन गाह्रो हुन्छ भन्ने महसुस भयो । मेरो सपना यहीँ रोकिने हो कि भन्ने पनि लाग्न थाल्यो तर मैले हार मानिनँ । विकल्पतिर पनि सोचेँ । परिवारले सबै खर्च बेहोर्न सक्दैन भने आफैँ कमाएर भए पनि पढ्ने निर्णय गरेँ ।

कामको खोजीमा घरबाट निस्किएँ । आफ्नो श्रमबाट कमाएको पैसाले उच्चशिक्षाको यात्रा अघि बढाउने आत्मविश्वास ममा त्यही बेला पैदा भयो । त्यसले मलाई एउटा महत्त्वपूर्ण कुरा सिकायो- आफ्नो सपनालाई साकार पार्ने जिम्मेवारी अन्ततः आफैँले लिनुपर्छ ।

आज म बगनाहमै रहेको चुरे क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छु । पछाडि फर्केर हेर्दा धेरै कठिन मोडहरू पार गर्दै यहाँसम्म आइपुगेको महसुस हुन्छ । एक समय पढाइ नै रोकिएला भन्ने डर थियो तर अहिले भविष्यप्रति धेरै आशावादी बनेको छु । अब म जुनसुकै परिस्थितिमा पनि केही न केही गरेर आफ्नो बाटो बनाउन सक्छु भन्ने विश्वास मभित्र बलियो बनेको छ ।

पढाइसँगै समाजमा मेरो पहिचान पनि बिस्तारै निर्माण हुँदै गयो । पहिले गरिबीका कारण चिनिने म, अहिले मिहिनेत, पढाइ र सामाजिक सक्रियताका कारण चिनिन थालेको छु मेरो गाउँमा स्नातक तहसम्म अध्ययन गर्ने युवा धेरै थिएनन् । अहिले धेरै मानिसले मेरो नामबाट गाउँ चिन्ने कुरा गरेको सुन्दा मलाई गर्व लाग्छ । यो केवल व्यक्तिगत उपलब्धि होइन, मसँगै मेरो परिवारले गरेको सङ्घर्ष र योगदानको सम्मान पनि हो ।

गाउँका अग्रजहरू अहिले पनि भन्नुहुन्छ– पहिला तिमी सानो हुँदा यस्तो अवस्थाबाट हुर्कियौ, आज धेरै राम्रो गरिरहेका छौ । अग्रजका यस्ता भनाइले मलाई अझ जिम्मेवार बनाउँछ । व्यक्तिले समाजको विश्वास जित्न सजिलो हुँदैन तर असम्भव पनि छैन । निरन्तर मिहिनेत, इमानदारी र सकारात्मक व्यवहारले समाजको विश्वास जित्न सकिँदोरहेछ भन्ने अनुभव मैले गरेको छु ।

मेरो लागि शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्नु होइन । शिक्षा भनेको सोच बदल्ने, आत्मविश्वास बढाउने र समाजका लागि उपयोगी बन्ने आधार हो । त्यसैले आज पनि म सिक्ने यात्रामै छु । मैले बुझेको एउटा सत्य के हो भने आर्थिक अभावले अवसरलाई ढिलो बनाउन सक्छ तर सपनालाई रोक्न सक्दैन । सपना पछ्याउने दृढ इच्छाशक्ति भने हुनुपर्छ ।

शिक्षाले मलाई ज्ञान मात्र दिएन, समाजप्रति जिम्मेवार बन्न पनि सिकायो । मैले पढ्दै जाँदा आफू मात्रै अघि बढेर पुग्दैन, समाज पनि सँगै अघि बढ्नुपर्छ भन्ने सोच्न थालेँ । यही सोचले मलाई सामाजिक काम र नेतृत्वतर्फ आकर्षित गर्‍यो ।

मेरो नेतृत्व यात्रा आफ्नै गाउँबाट सुरु भयो । गाउँमा साना–ठुला सामुदायिक काम पर्दा समुदायका धेरैजसो व्यक्तिहरूले मलाई नै जिम्मेवारी दिन थाल्नुभयो । कुलो खन्ने, बाटो मर्मत गर्ने, श्रमदानको व्यवस्थापन गर्ने, बैठकमा आवश्यक कागजी काम गर्ने जस्ता जिम्मेवारीहरू मैले उत्साहका साथ सम्हाल्थेँ ।

धेरैले पढेलेखेको युवा भनेर ममाथि विश्वास गर्नुहुन्थ्यो । उहाँहरूको त्यो विश्वास नै मेरो लागि सबैभन्दा ठुलो प्रेरणा बन्यो । एक पटक हाम्रो गाउँको बाटोमा ह्युम पाइप राख्ने कुरा उठेको थियो । वर्षा याममा बाटो हिलो हुने भएकाले स्थानीय बासिन्दालाई आवतजावत गर्न निकै कठिन थियो । पालिकाका उपप्रमुख बिना भट्टराई गाउँमा आउनुभएको बेला यो विषय उठ्यो ।

कुरो उठेपछि गाउँ समाजका मानिसहरूले मलाई त्यो कामको नेतृत्व लिन आग्रह गर्नुभयो । मेरो अध्यक्षतामा समिति गठन भयो र आवश्यक प्रक्रिया अगाडि बढाइयो । त्यो काम सहज थिएन । योजना तयार पार्नुपर्ने, गाउँका मानिसलाई एकजुट गर्नुपर्ने, वडा कार्यालय र नगरपालिकासँग समन्वय गर्नुपर्ने, निवेदन तयार गर्नुपर्ने र आवश्यक कागजात बुझाउनुपर्ने जस्ता सबै काममा सक्रियरूपमा लाग्नुपर्‍यो ।

प्राविधिक ज्ञानको कमी मेरा लागि एउटा चुनौती थियो । कतिवटा ह्युम पाइप आवश्यक पर्छ, कसरी राख्ने र कामलाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा अनुभव कम भएकाले धेरै कुरा सिक्दै अगाडि बढ्नुपर्‍यो । कतिपय अवस्थामा साथ दिने मानिस पनि सहजै पाइँदैनथे । आफ्नै पढाइ, व्यक्तिगत काम र सामाजिक जिम्मेवारीलाई सँगसँगै मिलाउनुपर्दा थकाइ पनि लाग्थ्यो ।

स्थानीय बासिन्दाको विश्वासले भने मलाई कहिल्यै पछि हट्न दिएन । सबैसँगको सहकार्य र निरन्तर प्रयासपछि अन्ततः त्यो काम सम्पन्न भयो । अहिले त्यो बाटोबाट तीन–चार गाउँका मानिसहरू सहजरूपमा आवतजावत गर्न सक्नुहुन्छ । त्यहाँबाट हिँड्ने मानिसलाई देख्दा आफूले गरेको सानो प्रयासले धेरैको जीवन सहज बनेको अनुभूति हुन्छ ।

साथीहरूको पहलमा पहिले पनि गाउँको हिलो बाटो सुधार गर्ने काममा मैले नेतृत्व गरेको थिएँ । साथीहरू र स्थानीय बासिन्दालाई एकजुट गरेर बाटो खोल्ने, माटो सम्याउने र हिँड्न मिल्ने बनाउने काम गरेपछि त्यो ठाउँको अवस्थाबारे वडा र नगरपालिकाका प्रतिनिधिलाई पनि जानकारी गराएँ ।

बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, आत्मनिर्भरता र भविष्यमा ठुलो असर पार्छ भन्ने कुरा मैले नजिकबाट महसुस गरेको थिएँ । यसको न्यूनीकरणका लागि मैले आफ्नै नेतृत्वमा युवा समूह परिचालन गरेँ ।

प्रतिनिधिहरूले स्थलगत अवलोकन गरेर आवश्यक पूर्वाधार निर्माणका लागि पहल गर्नुभयो । यसले स्थानीय समस्या समाधान गर्न समुदाय, स्थानीय सरकार र युवाबिचको सहकार्य कति आवश्यक हुन्छ भन्ने कुरा अझ स्पष्ट बनायो । यी अनुभवले मलाई नेतृत्व भनेको पद होइन, जिम्मेवारी हो भन्ने कुरा सिकाए ।

नेतृत्व गर्नुअघि आफ्नै क्षमतामा विश्वास हुनुपर्छ र स्थानीय मानिसहरूलाई सँगै लिएर हिँड्न सक्नुपर्छ भन्ने अनुभूति भयो । कुनै पनि परिवर्तन एक्लैले सम्भव हुँदैन । साझा उद्देश्य, आपसी विश्वास र निरन्तर प्रयास भए मात्र समाजमा सकारात्मक परिवर्तन सम्भव हुन्छ भन्ने विश्वास मेरो अनुभवले अझ बलियो बनाएको छ ।

आज गाउँका मानिसहरूले ममाथि गरेको विश्वासलाई म सम्मानका रूपमा लिन्छु । त्यो विश्वास कायम राख्नु नै मेरो सबैभन्दा ठुलो जिम्मेवारी हो । त्यसैले जहाँ सम्भव हुन्छ, त्यहाँ आफ्नो ज्ञान, समय र श्रम समाजका लागि प्रयोग गर्ने प्रयास गरिरहेको छु ।

मेरो सामाजिक यात्राको सुरुआत सानै उमेरदेखि भयो । म १६ वर्षको हुँदा हाम्रो पालिकामा सञ्चालन भएको एउटा नेतृत्व विकास कार्यक्रमसँग जोडिने अवसर पाएँ । हाम्रो क्षेत्रमा बि ग्रुपले प्लान इन्टरनेसनलको साझेदारीमा सञ्चालन गरेको ‘परिवर्तनका संवाहक’ कार्यक्रममा सहभागी भएँ । करिब १८ महिना चलेको उक्त कार्यक्रम मेरो जीवनको एउटा महत्त्वपूर्ण मोड बन्यो ।

‘परिवर्तनका संवाहक’ कार्यक्रमले मलाई आफ्नै क्षमता पहिचान गर्न सिकायो । त्यसअघि मभित्र बोल्ने, आफ्ना विचार राख्ने क्षमता र नेतृत्व गर्ने सम्भावना छ भन्ने कुरा मैले राम्रोसँग बुझेको थिइनँ । प्रशिक्षण, छलफल र विभिन्न अभ्यासमार्फत मैले आफूभित्रको आत्मविश्वास बढाउँदै लगेँ । त्यहीँबाट मलाई महसुस भयो- अवसर पाएमा युवाले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छन् ।

परिवर्तनका संवाहकका रूपमा प्रशिक्षित भएदेखि म सामाजिक अभियानहरूमा सक्रियरूपमा सहभागी हुँदै आएँ । समाजमा देखिएका समस्याहरूलाई केवल हेरेर बस्ने होइन, समाधानको प्रयासमा आफू पनि सहभागी हुनुपर्छ भन्ने सोच मभित्र विकास भयो ।

समाजमा देखिएका गम्भीर समस्यामध्ये बालविवाह एउटा प्रमुख समस्या हो । बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, आत्मनिर्भरता र भविष्यमा ठुलो असर पार्छ भन्ने कुरा मैले नजिकबाट महसुस गरेको थिएँ । यसको न्यूनीकरणका लागि मैले आफ्नै नेतृत्वमा युवा समूह परिचालन गरेँ ।

बालविवाहविरुद्ध हामीले विभिन्न गाउँमा घरदैलो अभियान सञ्चालन गर्‍यौँ । समुदायका अभिभावक, युवा र स्थानीय बासिन्दासँग भेटघाट गर्दै बालविवाहका नकारात्मक प्रभावबारे छलफल गर्‍यौँ । बालविवाह केवल व्यक्तिगत र पारिवारिक विषय नभई समाजको विकाससँग जोडिएको विषय हो भन्ने सन्देश फैलाउने प्रयास गर्‍यौँ ।

बालबालिकालाई शिक्षा दिने, उनीहरूको इच्छा र क्षमतालाई सम्मान गर्ने र सही उमेरमा सही निर्णय लिन सहयोग गर्ने वातावरण निर्माण गर्न समुदायको भूमिका महत्वपूर्ण हुन्छ भन्ने विषयमा सचेतना फैलायौँ । यस अभियानबाट मैले एउटा महत्त्वपूर्ण कुरा सिकेँ- परिवर्तन केवल भाषणबाट सम्भव हुँदैन, त्यसका लागि समुदायसँग निरन्तर संवाद, विश्वास निर्माण र व्यावहारिक पहल आवश्यक हुन्छ ।

मैले लागु पदार्थ दुर्व्यसनविरुद्धको अभियानमा पनि काम गरेँ । लागु पदार्थको दुर्व्यसनले विशेषगरी युवापुस्तालाई समस्यामा पारिरहेको छ । यसले व्यक्तिको स्वास्थ्य मात्र होइन, परिवार र समाजको भविष्यमा समेत समस्या पारेको छ । यस विषयमा समुदायमा सचेतना फैलाउन हामीले युवाको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गर्‍यौँ ।

लागु पदार्थ दुर्व्यसनबाट बच्ने उपायबारे गाउँ–गाउँमा पुगेर जानकारी दिने काम पनि गर्‍यौँ । सन्देशलाई प्रभावकारी बनाउन हामीले नाटक तथा समुदाय केन्द्रित कार्यक्रमको माध्यम प्रयोग गर्‍यौँ । नाटकमार्फत लागु पदार्थले व्यक्तिको जीवन, परिवारको सम्बन्ध र सामाजिक वातावरणमा पार्ने असरलाई प्रस्तुत गर्‍यौँ ।

हामीले प्रहरी, समुदायका अगुवा, युवा र स्थानीय बासिन्दालाई एक ठाउँमा ल्याएर छलफल तथा सचेतनामूलक कार्यक्रम पनि चलायौँ । समस्याको समाधानका लागि सबै पक्षको सहकार्य आवश्यक हुन्छ भन्ने विश्वासका साथ हामीले यो काम गर्‍यौँ ।

मेरो सामाजिक कामको अर्को महत्त्वपूर्ण क्षेत्र शिक्षा पनि हो । मैले सधैँ विश्वास गरेको छु- शिक्षाले मानिसको जीवन परिवर्तन गर्ने शक्ति राख्छ । हामीले समुदायका बालबालिकालाई पढाइप्रति आकर्षित गर्न र घरमै अध्ययन गर्ने वातावरण बनाउन ‘पढाइ कुना’ निर्माणको अवधारणालाई अगाडि बढायौँ ।

सामाजिक काम गर्ने क्रममा सबैले एउटै दृष्टिकोण राख्दैनन् । कसैले आलोचना गर्छ भने पहिले म त्यसलाई सुन्ने प्रयास गर्छु । सुनिसकेपछि केही सुधार गर्नुपर्ने भए आफूलाई परिवर्तन गर्ने प्रयास गर्छु ।

अभिभावकहरूलाई बालबालिकाको पढाइमा ध्यान दिन, उनीहरूलाई समय दिन र घरमा सिकाइमैत्री वातावरण बनाउन प्रेरित गर्यौं । पढाइमा कमजोर देखिएका भाइबहिनीलाई सकेसम्म व्यक्तिगतरूपमा सहयोग गर्ने प्रयास पनि गरेँ । आफूले जानेको कुरा अरूलाई सिकाउनु पनि सामाजिक जिम्मेवारी हो भन्ने मेरो विश्वास छ ।

हाल म ठाकुरबाबा गाउँपालिका युवा सञ्जालको उपाध्यक्षको जिम्मेवारीमा पनि सक्रिय छु । यो भूमिकाले मलाई युवासँग अझ नजिक भएर काम गर्ने अवसर दिएको छ । मेरो बुझाइमा नेतृत्व भनेको केवल आफैँ अगाडि बढ्नु होइन, अरूलाई पनि अगाडि बढ्ने अवसर सिर्जना गर्नु हो ।

नयाँ सोच भएका युवालाई पहिचान गर्ने, उनीहरूको क्षमता विकास गर्ने र समाज परिवर्तनको यात्रामा सहभागी गराउने कामलाई प्राथमिकता दिन्छु । म चाहन्छु कि गाउँका अधिकांश युवा अवसरको खोजीमा बाहिर जानुपर्ने अवस्था नहोस् । सिप, ज्ञान र नेतृत्व विकासको अवसर पाएमा युवाले आफ्नै ठाउँबाट पनि सकारात्मक परिवर्तन ल्याउन सक्छन् ।

सामाजिक काम गर्ने क्रममा सबैले एउटै दृष्टिकोण राख्दैनन् । कसैले आलोचना गर्छ भने पहिले म त्यसलाई सुन्ने प्रयास गर्छु । सुनिसकेपछि केही सुधार गर्नुपर्ने भए आफूलाई परिवर्तन गर्ने प्रयास गर्छु । सही उद्देश्यका साथ गरिरहेको काममा भएको अनावश्यक आलोचनाले भने मलाई बदल्न सक्दैन ।

आज म पछाडि फर्केर हेर्दा महसुस गर्छु- सामाजिक कामले मलाई समाज बदल्ने अवसर मात्र दिएको छैन, आफूलाई पनि अझ राम्रो मानिस बन्न सिकाएको छ । मेरो लागि नेतृत्व भनेको पद होइन, जिम्मेवारी हो । समाजले दिएको विश्वासलाई सम्मान गर्दै आफ्नो ज्ञान, समय र क्षमतालाई समाजको सकारात्मक परिवर्तनका लागि प्रयोग गर्नु नै मेरो वास्तविक उद्देश्य हो ।

प्रकाशन मिति : २०८३ भदाै १७ गते, बुधवार

युवाको जीवनभोगाइका शृङ्खलाहरू

Share this :

Leave a Reply

Your email address will not be published. Required fields are marked *