अनुसन्धान र ज्ञान निर्माणका स्रोतमा महिला

Share this :

प्रा. डा. बिन्दु पोखरेल

अधिकांश प्राणीहरू जन्मनेबित्तिकै धेरै हदसम्म आफ्नो आवश्यकता आफैँ पूरा गर्न सक्छन् । तर, मानव यस्तो प्राणी हो, जसलाई जन्मेको पाँच वर्षसम्म पनि आधारभूत काम कुरा गर्न नै अरूको सहारा चाहिन्छ । मानवको बच्चालाई मानव बन्न धेरै कुरा सिक्नु पनि पर्छ । सिकाइको लागि उसलाई अन्य व्यक्तिहरूको दरिलो साथ र हात चाहिन्छ । त्यसैले मानवका लागि घर, परिवार र समाजको निर्माण हुन गएको हो । समाज भनेको पनि मानवका लागि एउटा बन्दोबस्ती व्यवस्था नै हो ।

समाजमा मानिसहरूले विभिन्न हैसियत (स्टाटस), नाम र पदहरू पाएका र लिएका हुन्छन् । आफ्नो पदले निर्देशित गरेअनुसारको व्यवहारमा अन्य पदका व्यक्तिसँग अन्तरक्रिया गरिरहेका हुन्छन् । पदका विभिन्न नाम र समूह हुन्छन् । यसमा आमा, बुबा, दिदी, बहिनी जस्ता नाताबोधक, वकिल, डाक्टर, नर्स, पत्रकार, अध्यापक इत्यादि पेसाबोधक पद पर्दछन् । ती पदमध्ये कुनै जन्मको आधारमा स्वतः प्राप्त हुन्छन् ।

मानव समाजमा मूलतः एउटा व्यक्तिलाई जन्मेदेखि उसको लिङ्गको आधारमा छोरी वा छोरो भनी पहिचान दिइन्छ र त्यही विन्दुबाट उसलाई महिला वा पुरुष बनाउने प्रक्रिया सुरु हुन्छ, जुन मृत्युसम्म चलिरहन्छ । यो प्रक्रिया पुरातन र विश्वव्यापी दुबै छ ।

कुनै पदलाई पछि आफूले मिहिनेत गरेरै प्राप्त गर्नुपर्ने हुन्छ । ती पदहरू नै मानवका लागि पहिचानका आधार बन्दछन् । पदबाटै मानवको पारिवारिक र सामाजिक पहिचानका साथै हैसियत बनेको हुन्छ । ती पदमा मानवको लैङ्गिकता पनि महत्त्वपूर्ण रूपमा जोडिएको हुन्छ । मानवले जुनसुकै पद लिए तापनि उसको लैङ्गिक पहिचानको आधारले त्यसको हैसियत र कामको स्वरूपलाई निर्धारण गर्दछ ।

मानव समाजमा मूलतः एउटा व्यक्तिलाई जन्मेदेखि उसको लिङ्गको आधारमा छोरी वा छोरो भनी पहिचान दिइन्छ र त्यही विन्दुबाट उसलाई महिला वा पुरुष बनाउने प्रक्रिया सुरु हुन्छ, जुन मृत्युसम्म चलिरहन्छ । यो प्रक्रिया पुरातन र विश्वव्यापी दुबै छ ।

प्रस्तुत पृष्ठभूमिमा सिमोन द बोउभ्वा (सन् १९०८–१९८६) को ‘महिलाहरू जन्मँदै महिला जन्मने होइनन्, उनीहरूलाई महिला बनाइने होे’ भन्ने भनाइ पनि जोडिन आउँछ । सन् १९४९ मा आएको यो भनाइको सारमा जीवविज्ञानभन्दा बढी समाजविज्ञान जोडिन आउँछ । समाजले छोरीलाई महिला बनाउने प्रक्रिया उनको घरबाटै सुरु हुने बन्दोबस्त मिलाएको छ । यस क्रममा आमाबाबुबाट छोरी सन्तानलाई छोराभन्दा भिन्न पहिचान दिइने मात्र होइन, भिन्न स्तरमा राखिने प्रक्रिया पनि सुरु हुन्छ । छोरीलाई छोरो सन्तानभन्दा तल्लो दर्जाको हैसियतमा लिएर सोही अनुरूप महिला र पुरुषमा गरिने असमान व्यवहारलाई समाजमा मान्य पनि बनाइएको हुन्छ । यस्तो बन्दोबस्ती व्यवस्था पितृसत्तात्मक समाजको एउटा महत्त्वपूर्ण विशेषता हो ।

पितृसत्तात्मक समाजमा छोरीलाई महिला बनाउने क्रममा सानैदेखि उसको मनोवैज्ञानिक, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक सबै प्रकारका सम्भावनाबाट टाढा राखेर हुर्काइएको हुन्छ । यसो गरेपछि उनीहरू ठुलो भएपछि पनि विभिन्न प्रकारका शक्ति प्राप्त गर्ने माध्यमहरूबाट टाढा हुन पुग्छन् । उनीहरूको व्यक्तित्वका असीमित सम्भावनालाई हुर्कने बेला नै कुण्ठित बनाइसकिएको हुन्छ । महिलाको स्थान र कार्यक्षेत्र घरपरिवारको चार दिवारभित्र मात्र हो, बिहेपछि गर्भधारण गरी बच्चा जन्माउने भएकाले आफूबाट जन्मिएको बच्चालाई स्याहार्ने काम पनि महिलाकै हो भन्ने भाष्यले बलियो मान्यता पाएको हुन्छ ।

यसैले महिलाहरू ढुङ्गेयुगमा गुफा र कृषियुगदेखि घरभित्र नै सीमित हुन पुगे र परिवारभन्दा बाहिर रहेको सामाजिक, आर्थिक, राजनैतिक शक्तिका स्रोतको पहुँचबाट टाढा हुन पुगे । जीवनमा पुरुषको जस्तो स्वाधीनता प्राप्त गर्न सकिने अन्य कामहरूबाट महिलाहरू सानैदेखि वञ्चित रहे । घर भित्र गर्ने अत्यन्त महत्वपुर्ण कामलाइ महत्वहिन घरधन्दा भनि आर्थिक मान्यता नपाउदा घर भित्र नौ दश घन्टा काम गर्ने महिलाहरुको कामको उचित मुल्याड्ढन नभइ परनिर्भर हुन पुगेका छन् ।

पुरातनकालदेखि चल्दै आएको सामाजिक ब्यवस्थाको कारण विभेदित हुनाले अहिले पनि ज्ञान निर्माण गर्न चाहने महिलाहरूलाई आवश्यक समय, सूचना र चेतना सजिलै उपलब्ध भएको पाइँदैन । उनीहरू ती कुराबाट प्रायः वञ्चित नै हुन पुग्छन् । यस्तो हुँदाहुँदै पनि इतिहासका विभिन्न कालखण्डमा केही महिला ज्ञान निर्माणको काममा अग्रसर भएर घरबाहिरको संसारमा प्रवेश गरेका पाइन्छन् । त्यहाँ पनि उनीहरूमाथि भिन्न र भेदभावपूर्ण व्यवहार गरिएको हुन्छ । जतिसुकै ज्ञानसम्पन्न भए पनि घरबाहिरको कर्मक्षेत्रमा महिलाहरूलाई क्षमताका आधारमा पत्याउने वातावरण बनेन । यस्तो अझै पनि बनिसकेको छैन ।

अहिले पनि महिलाले गरेका बौद्धिक कामलाई सितिमिति पत्याइँदैन भने पहिलेको जमानामा कस्तो गरिन्थ्यो होला ? ज्ञान र कृति निर्माणका सम्बन्धमा महिलाहरू अहिलेसम्म पनि विभेदित वातावरणमै छन् । यस्ता विभेदलाई बुद्धिमत्तापूर्वक चिर्ने काम महिला आफैँले गर्नुपर्ने हुन्छ ।

सन् १९२९ मा प्रकाशित ‘अ रूम अफ वन्स वन’ शीर्षकको एक निबन्धमा महिलाको अवस्थालाई विभिन्न तरिकाले विश्लेषण गर्दै स्पष्ट पारिएको छ– वास्तवमा महिलाले ज्ञान आर्जनका लागि पुस्तकालयमा पढ्ने समय, घरमा लेख्न भनी बस्न सक्ने उपयुक्त ठाउँ र आफ्नो लागि एउटा छुट्टै कोठा पनि भेट्टाइरहेका हुुँदैनन् ।

इतिहासतिर फर्किएर हेर्दा आजभन्दा झन्डै सय वर्षअघि पश्चिमी जगत्मा महिलाले महिलाको कृति निर्माणका सन्दर्भमा कुरा उठाएको पाइन्छ । महिलाहरू कृति निर्माण गर्ने क्रममा किन पछाडि परे त ? यस विषयमा विश्वविख्यात बेलायती लेखक भर्जिनिया उल्फ (सन् १८८२–१९४१) को एउटा लामो निबन्ध नै छ ।

सन् १९२९ मा प्रकाशित ‘अ रूम अफ वन्स वन’ शीर्षकको सो निबन्धमा महिलाको अवस्थालाई विभिन्न तरिकाले विश्लेषण गर्दै स्पष्ट पारिएको छ– वास्तवमा महिलाले ज्ञान आर्जनका लागि पुस्तकालयमा पढ्ने समय, घरमा लेख्न भनी बस्न सक्ने उपयुक्त ठाउँ र आफ्नो लागि एउटा छुट्टै कोठा पनि भेट्टाइरहेका हुुँदैनन् । जीवनभर घरेलु श्रममा अत्यधिक व्यस्त रहनुपर्दा लेख्नका लागि आवश्यक आधारभूत कुराकै अभावमा महिलाको कृति निर्माणको चाहना र सपना पूरा हुन पाइरहेको हुँदैन । यो कुरा अहिले पनि उत्तिकै सान्दर्भिक छ । यद्यपि, यस्ता कुरालाई अन्तःस्करणमा लिने र आत्मसात् गर्नेहरू भने थोरै मात्र भेटिएलान् ।

झन्डै सय वर्षको अन्तरालमा जमाना धेरै अगाडि आइसकेको छ । सूचना प्रविधिले पनि संसारलाई फरक बनाएको छ । अहिले वास्तविकभन्दा पनि भर्चुअल संसार प्रभावी छ । ज्ञान निर्माणका अधिकांश विधामा महिलाहरूको संलग्नता छ, क्रियाशीलता पनि छ । यस क्रममा नयाँ नयाँ समस्याहरूको पहिचान पनि भइरहेको छ । यस सन्दर्भमा अनुभव गरिएको एउटा खट्किने पक्ष हो– अनुसन्धान विधि ।

महिलावादी दृष्टिकोणबाट हेर्ने हो भने ज्ञान उत्पादनको लागि प्रयोग गरिँदै आएको अनुसन्धान विधि नै त्रुटिपूर्ण छ । उपलब्ध विधिहरू वास्तवमा पुरुषले पुरुषको अनुभवलाई लिनको लागि बनाइएका हुन् । तिनले महिलाको अनुभवलाई समेट्न सक्दैनन् ।

महिलावादी दृष्टिकोणबाट हेर्ने हो भने ज्ञान उत्पादनको लागि प्रयोग गरिँदै आएको अनुसन्धान विधि नै त्रुटिपूर्ण रहेको देखिन्छ । उपलब्ध विधिहरू वास्तवमा पुरुषले पुरुषको अनुभवलाई लिनको लागि बनाइएका हुन् । तिनले महिलाको अनुभवलाई समेट्न सक्दैनन् । ती विधिको दायराभन्दा महिलाको वास्तविक संसार फरक स्थानमा छ । यसैले यथास्थितिमा ती विधिहरूको प्रयोग भएमा महिलाका सम्बन्धमा वास्तविक होइन, मिथ्या ज्ञानको उत्पादन हुने सम्भावना देखिएको छ ।

महिलाका सन्दर्भमा त्यस्ता विधिहरूको औचित्यमाथि पुनर्विचार गर्नुपर्छ । तिनलाई महिलाका कोणबाट परिमार्जन र परिष्कार गर्नुपर्छ । ज्ञान निर्माणको विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूले महिलावादी अनुसन्धान विधिको आवश्यकता अनुभव गरेका छन् । यस बारेमा महत्त्वपूर्ण कुरा अगाडि ल्याएका पनि छन् ।

महिलावादी अनुसन्धान विधिका पाँच प्रमुख बुँदा

१) ज्ञान केवल ज्ञानको लागि नभएर प्रयोगमा पनि हुनुपर्दछ, जसले भेदभावलाई बुझ्न र हटाउन सहयोग गरोस् ।

२) अनुसन्धान प्रक्रियामा शक्तिसम्बन्धलाई ध्यान दिनुपर्छ । अनुसन्धानकर्ता निर्णायक हुने भएकाले उसले ज्ञान लिन खोजेका पक्षको योगदान, अपनत्वका साथै समाज रूपान्तरणको प्रक्रियामा सो ज्ञान उपयोगी हुनुपर्ने कुरालाई बिर्सन हुँदैन । महिलावादी अनुसन्धानमा व्यक्तिलाई डाटा र सूचना दिने मेसिनको रूपमा मात्रै नलिएर उनीहरूलाई अनुसन्धानका सबै प्रक्रियामा सहभागी गराउनुपर्छ । यसरी प्राप्त भएको ज्ञानमा मात्र सहभागीहरूको दायित्व रहन्छ ।

३) अनुसन्धान प्रक्रिया कहिल्यै पनि पूर्ण रूपमा पूर्वाग्रहरहित नहुने भएकाले अनुसन्धानकर्ताले आफ्नो सोचाइ र बुझाइको बारेमा अनुसन्धानमा स्पष्ट पार्नुपर्छ । त्यसो गरेमा कुन दृष्टिकोणबाट व्याख्या गरिएको हो पाठकले बुझ्न सक्छ ।

४) अनुसन्धानको केन्द्रमा महिला र लैङ्गिकता रहे मात्र महिलाहरूको अदृश्यतालाई देखाउन र हटाउन सकिन्छ । महिलाहरूको बोलीलाई सुनाउन र सुन्न सकिन्छ । महिलाको बारेमा अनुसन्धान गर्दा उनीहरूले वास्तविक रूपमा भोगेका कुरालाई अगाडि ल्याउनुपर्छ ।

५) महिलाहरू ज्ञान निर्माणका महत्त्वपूर्ण स्रोत हुन् भन्ने मान्यतालाई स्थापित गराउने तरिकाले अनुसन्धानका काम हुनुपर्छ ।

व्यवहारको कुरा गर्ने हो भने ज्ञान निर्माणका क्रममा अहिलेसम्म पनि महिलाहरूलाई स्रोतको रूपमा लिने गरिएको पाइँदैन । महिलाले दिएका सूचनालाई भरपर्दा तथ्य नमान्ने र खासमा महिलाहरूको बारेमा जान्न पनि पर्दैन भन्ने सोच ज्ञानात्मक समाजमा हाबी छ । यस्तो सोचलाई मान्यता दिने गरी जनस्तरमा फैलाउन कतिपय उखानहरू पनि बनाइएका छन् । त्यसमध्येको एउटा प्रचलित नेपाली उखान हो– ‘आइमाईको बारेमा दैवले बुझून् !’ यसले पनि स्पष्ट पार्दछ कि यो भौतिक संसारमा महिलाको बारेमा बुझ्न सकिँदैन भन्ने भावना प्रबल छ ।

आधुनिक युगका महिलाहरू विश्वव्यापी ज्ञानात्मक सूचना सञ्जालमा आबद्ध हुन सक्छन् र धेरै कोणबाट सचेत हुँदै आफूलाई अघि बढाउन पनि सक्छन् । उनीहरूका ज्ञानात्मक भोक र त्यसलाई मेटाउनका लागि जुध्नुपर्ने समस्या लगभग साझा पाइएका छन् ।

यद्यपि, महिलाको बारेमा बुझ्न जरूरी पनि छैन भन्ठान्नु गलत हो । महिलाहरूको ज्ञानात्मक संसारलाई बेवास्ता गरेर मानव सभ्यता सही ठाउँमा पुग्न सक्दैन । त्यसैले महिलाहरूको ज्ञानलाई बेवास्ता गरेर उनीहरूलाई ज्ञान निर्माणको कुनै पनि प्रक्रियाबाट अलग राख्दै तिनका बारेमा आफूखुसी भाष्य निर्माण गरी वस्तुकरण गर्ने परापूर्वदेखिको प्रचलनलाई निरन्तरता दिनु उचित हुँदैन । अब पनि त्यसले निरन्तरता पाइरह्यो भने ज्ञानमा सङ्कीर्णता, एकाङ्गीपन र अपूर्णताको दोष रहिरहने छ । समतातिरको समाज रूपान्तरण प्रक्रियामा त्यस्तो ज्ञानको सान्दर्भिकता र औचित्य समाप्त हुँदै जाने निश्चित छ ।

आधुनिक युगका महिलाहरू विश्वव्यापी ज्ञानात्मक सूचना सञ्जालमा आबद्ध हुन सक्छन् र धेरै कोणबाट सचेत हुँदै आफूलाई अघि बढाउन पनि सक्छन् । उनीहरूका ज्ञानात्मक भोक र त्यसलाई मेटाउनका लागि जुध्नुपर्ने समस्या लगभग साझा पाइएका छन् । उनीहरू महिलालाई महिलाकै दृष्टिले हेर्न र महिलाको वास्तविक संसारलाई ज्ञान निर्माणको क्षेत्रमा सही ढङ्गले खोजेर विश्लेषण गर्न सक्नुपर्ने कुरा उठाउँदै अघि पनि बढिरहेका छन् । त्यसैले महिलावादी अध्ययन विधिमा महिलालाई र उनीहरूको सूचनालाई सर्वाधिक महत्त्व दिइन्छ । यसलाई महिला अध्ययन विधि पनि भन्न सकिन्छ । यही नाम दिएर ज्ञानात्मक विधि र संरचनामा स्थापित गर्न पनि सकिन्छ ।

महिला अनुसन्धानमा सबैभन्दा महत्त्वपूर्ण ज्ञानको आधार महिलाको जीवनभोगाइलाई मानिन्छ । प्रत्येक महिलाको जीवनभोगाइलाई उनको परिवेशले केही न केही विशिष्ट बनाएको हुन्छ ।

महिला अध्ययन विधि मौलिक हुन्छ र यस्तो हुनु जरुरी पनि छ । यो कुनै एक विधिमा मात्र टिकेको हुँदैन । यसमा ज्ञानको लागि खोजी गरिने पात्र र तिनको वरिपरिको विशिष्ट परिस्थितिलाई ध्यानमा राख्दै सो परिस्थिति अनुकूल विभिन्न विधिको प्रयोग गरी अनुसन्धान गर्ने गरिन्छ । यस क्रममा अहिलेसम्मको अनुभवले के देखाएको छ भने महिलावादी अध्ययन विधिले पनि सबै खालका महिलाको बारेमा यसै हो भनेर बोल्न सक्दैन ।

महिलाहरूभित्र पनि अनेकौँ खालको विविधता छ । त्यसैले कुनै एउटा समय, स्थान, विषय, घटना, पात्र आदिको सम्बन्धमा गरिएको एउटै अध्ययनले सबै खालका सबै महिलाका बारेमा वास्तविक ज्ञान निर्माण गर्छ भन्ने ठान्नु पनि हुँदैन । महिलाको वास्तविक इतिहासको खोजी र अभिलेखीकरणको लागि उपयुक्त अनुसन्धान विधिका साथै निरन्तर र समानान्तर रूपमा अन्य धेरै अनुसन्धानको आवश्यकता पर्दछ ।

महिला अनुसन्धानमा सबैभन्दा महत्त्वपूर्ण ज्ञानको आधार महिलाको जीवनभोगाइलाई मानिन्छ । प्रत्येक महिलाको जीवनभोगाइलाई उनको परिवेशले केही न केही विशिष्ट बनाएको हुन्छ । परिवेशले नै व्यक्तिको सोचाइ, बुझाइ र व्यवहारलाई पनि निर्देशित गरेको हुन्छ । यसै मान्यतालाई आधार बनाउँदै महिला अध्ययनले समाजको संरचना र व्यवस्थालाई बुझ्न महिलाको भोगाइलाई बुझ्नुपर्छ भन्ने मान्यता राखेको हो ।

अहिले आएर पहिले पहिलेका महिलाका बारेमा खोजीपस्दा उनीहरूको जीवनभोगाइलाई उनीहरूकै दृष्टिकोणबाट लिखित रूपमा उतारिएको र सुरक्षित राखिएको पाइँदैन । यसैकारणले सम्बन्धित कालखण्डका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, जैविक, भौतिक आदि इतिहासका शाश्वत तथ्यहरूमा टेकेर स्थापित हुन आएको परिवेशका आधारमा तत्कालीन महिलाका जीवनभोगाइको नजिक पुग्नुपर्ने हुन्छ ।

महिलावादी अनुसन्धानको एउटा प्रमुख मान्यता शक्तिको सिद्धान्तमा आधारित छ । यसमा विभिन्न कोणबाट तल पारिएका र परिधितिर धकेलिएका सीमान्तकृत व्यक्तिबाट समाजको यथार्थलाई पूर्ण रूपमा बुझ्न सकिन्छ भन्ने छ ।

आधुनिककालका महिलाहरूको इतिहास खोतल्न भने अझै पनि कतिपय जीवित र जानकार स्रोतहरूबाट मौखिक जानकारी लिन सकिन्छ । उनीहरूको जीवनभोगाइका लागि लगभग त्यसै विधिमा भर गर्नुपर्ने हुन्छ । त्यसैकारणले महिला अध्ययन र अनुसन्धान विधिमा मौखिक रूपमा पुस्तान्तरण भएका कथाहरूलाई सूचनाको आधार मान्नुपर्ने हुन्छ । यसरी प्राप्त ज्ञानात्मक गाथालाई ‘ओरल हिस्ट्री’ पनि मानिन्छ ।

महिलावादीअनुसन्धानको एउटा प्रमुख मान्यता शक्तिको सिद्धान्तमा आधारित छ । यसमा विभिन्न कोणबाट तल पारिएका र परिधितिर धकेलिएका सीमान्तकृत व्यक्तिबाट समाजको यथार्थलाई पूर्ण रूपमा बुझ्न सकिन्छ भन्ने छ । सामान्यतः महिलाहरू सीमान्तकृतको पनि पिँध तहमा रहेका र पिँधको पनि केन्द्रबाट परिधितिर धकेलिएर घरपरिवारको सेरोफेरोभित्रै सीमित रहन बाध्य पारिएका व्यक्तिमा पर्दछन् । महिलाले आफ्नो र आफ्नो परिवारको बारेमा जुन कुरा जे जसरी बुझेका हुन्छन्, त्यो कुरा त्यही रूपमा पुरुषले बुझेको हुँदैन र उसलाई महिलाले बुझेको जसरी बुझ्न जरूरी पनि हुँदैन ।

सीमान्तकृत व्यक्तिहरूले बाँच्नको लागि आफू वरिपरिको वातावरण अनुसार आफ्नो क्रियाकलाप मिलाउन पर्ने हुन्छ । शक्तिको केन्द्र र केन्द्रको नजिकमा रहेका व्यक्तिहरू भने वातावरणलाई नै आफू अनुकूल बनाएर प्रभुत्वशाली ढङ्गले बाँचिरहेका हुन्छन् । यस्तो अवस्थामा शक्तिको केन्द्र र केन्द्रको नजिकमा रहेका महिला र सीमान्तकृत महिलाहरू लैङ्गिक शोषणका दृष्टिले एक ठाउँमा देखिए पनि अरू कतिपय दृष्टिले उनीहरूबिचको जीवनभोगाइमा आकाश जमिनको भिन्नता हुन्छ ।

प्रस्तुत किताबमा भएका लेखका सन्दर्भमा भन्नुपर्दा महिलाको विविधतालाई ख्यालमा राखेर फरक फरक तरिकाबाट अनुसन्धान गरिएको छ । झट्ट हेर्दा यसमा प्रयोग गरिएका विधिहरू समाज वैज्ञानिक (समाजशास्त्री) का लागि अधुरो र कता कता नमिलेको हो कि जस्तो पनि लाग्न सक्ला ।

बिर्सनै नहुने कुरो के छ भने महिलावादी अनुसन्धान पद्धतिले ज्ञान निर्माणको मात्र कुरा गर्दैन, त्यसको प्रयोगको कुरा पनि गरेको हुन्छ । उपयुक्त विधि र पद्धतिबाट उत्पादन गरिएको ज्ञान समाज परिवर्तनको लागि उपयोगी हुनुपर्दछ ।

तर, मेरो विचारमा यसले पछिल्लो कालखण्डमा क्रियाशील समेत रहेका विभिन्न क्षेत्र र समुदायका प्रतिनिधि महिलाको वास्तविक भोगाइका अंशहरूलाई समेट्ने कोशिश गरेको छ । साथै, इतिहासमा समसामयिक नेपाली महिलाको दरिलो उपस्थिति जनाउन सक्ने तथ्यका साथ महत्त्वपूर्ण आलेखहरूको निर्माण गरेको छ । यस्ता आलेखहरूको माध्यमबाट समसामयिक परिप्रेक्ष्यमा समय समयमा सञ्चार क्षेत्रबाट ज्ञान निर्माणको पेसागत प्रकाशन तथा प्रसारण पनि गरेको छ ।

बिर्सनै नहुने कुरो के छ भने महिलावादी अनुसन्धान पद्धतिले ज्ञान निर्माणको मात्र कुरा गर्दैन, त्यसको प्रयोगको कुरा पनि गरेको हुन्छ । उपयुक्त विधि र पद्धतिबाट उत्पादन गरिएको ज्ञान समाज परिवर्तनको लागि उपयोगी हुनुपर्दछ । बदलिँदो समाजमा सो ज्ञान लैङ्गिकमैत्री समाज बनाउन प्रयोग गर्न सकिने खालको पनि हुनुपर्दछ भन्ने मान्यता राखिन्छ ।

किताबको सङ्कलनमा भएका अनुसन्धानमूलक २२ वटा आलेख सामग्रीले देशका विभिन्न समुदाय र क्षेत्रमा रहेका महिलाका वास्तविक जीवनभोगाइका अंशलाई तथ्यपरक ढङ्गले अगाडि सारेका छन् । अगाडि सार्ने क्रममा सम्बन्धित महिलाहरूभित्र भिन्न रूपमा देखिएका सान्दर्भिक कुरालाई पनि उजागर गरिदिएका छन् । यसमा विवेका थापाको ‘बलियो साझेदारी र समझदारीको खोजीमा छ मातृत्व’ शीर्षकको आलेख उदाहरणीय छ । यसले मातृत्वको विषयलाई बुझ्ने बुझाउने आजसम्मका कथ्यलाई फरक चेत राखेर सुझबुझका साथ बुझ्न पर्छ र यसो गर्नाले समाजलाई लैङ्गिकमैत्री बनाउन मद्दत गर्छ भन्ने देखाएको छ ।

यसैगरी, आजसम्म दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति आदिको व्याख्याले महिलाको वास्तविक जीवनभोगाइलाई बुझाउन सकेका छैनन् भन्ने भाव पनि सम्बन्धित विषयका आलेखहरूले देखाएका छन् । यसमा आदिवासी महिलाहरूको भाषासँग सम्बन्धित भिन्नताको कुरा, अपाङ्गता भएका महिलाहरूलाई विवाह र यौनिकतासँग जोडेर गरिने यस्ता टिप्पणीहरू उल्लेख्य छन्, जुन महिला भएकै कारणले भोग्नुपरेको विभेदकारी अवस्था छ ।

यस्तै, आदिवासी महिलाको पहिचानलाई अनपढ, यौनिक रूपमा स्वच्छन्द, अराजनैतिक, असभ्य इत्यादि रूपमा बुझाइने भाष्यहरूले उनीहरूलाई समाजमा हेरिने दृष्टिकोण र त्यसभित्र पनि महिलाको विभेदित अवस्थालाई इङ्गित गरेको छ । यस्ता विभेदकारी सोच र व्यवहारलाई बदल्नुपर्छ र उनीहरूलाई भिन्न रूपबाट सम्मानजनक ढङ्गले बुझ्नुपर्छ भन्ने कुरा किताबमा भएका विभिन्न लेखहरूमा देखाइएको छ ।

विभिन्न आन्दोलनका समयमा महिलाहरू सक्रिय सहभागी भए पनि आन्दोलन सकिएपछि घरभित्रै सीमित हुन पुग्ने र पुर्‍याइने अवस्था छ ।

कैलाश राईको ‘नेपालको आदिवासी जनजाति महिला आन्दोलन’ शीर्षक आलेखमा महिलाहरूलाई कर्ताको रूपमा बुझ्न सक्नुपर्ने कुरा पनि उठाइएको छ । यो भाव महिलावादी दृष्टिकोणबाट एकदमै महत्त्वपूर्ण छ । उहाँको भाष्यले आदिवासी जनजाति महिलालाई आन्दोलनमा महिलाहरूको भेषभूषामा सजिएर आउने एउटा सामान्य सहायक भूमिकामा मात्र ‘हाइलाइट’ गरिने प्रचलनले यो समुदायका महिलाले गरेका वास्तविक योगदान अदृश्य भएर लुकेको र यो भाष्यलाई परिवर्तन गरी महिलालाई एउटा कर्ताको रूपमा बुझ्न र बुझाउन पर्छ भन्ने स्पष्ट पारेको छ ।

महिलालाई कर्ताको रूपमा बुझ्न र हेर्न सक्नुपर्ने कुराले अहिलेसम्म भएको राजनीतिक परिवर्तनलाई वास्तविकतामा आदिवासी जनजाति महिलामैत्री परिवर्तनका रूपमा पनि अथ्र्याउन सकिने ठाउँ सिर्जना गरेको छ । यस खालको ज्ञान निर्माणले राजनीतिक परिवर्तनको युगान्तकारी इतिहासमा आदिवासी जनजाति महिलाको महत्त्वपूर्ण योगदान रहेको तथ्यलाई स्थापित पनि गर्न सक्छ ।

विभिन्न आन्दोलनका समयमा महिलाहरू सक्रिय सहभागी भए पनि आन्दोलन सकिएपछि घरभित्रै सीमित हुन पुग्ने र पुर्‍याइने अवस्था छ । यस्तो बेला ती महिलाहरूलाई खोज्न उनीहरूको विगत बुझेर उनीहरूकै घरभित्र पुग्नुपर्ने हुन्छ । यथार्थमा उनीहरूले आन्दोलनमा गरेको योगदानको कदर भयो कि अनादर भन्ने सम्बन्धमा यत्तिकै धारणा बनाउन मिल्दैन । यसका लागि उनीहरूको घर मात्र होइन, मनभित्रै पुगेर जीवन भोगाइका बारेमा बुझ्न सक्नुपर्छ । यो काम सामान्य इतिहासकारले गर्दैनन् वा गर्ने गरेका छैनन् । यी कुरा माधुरी महतोका ‘पुरुषहरू मोर्चामा, महिलाहरू विनाचर्चामा’ र ‘तराई मधेसमा महिलाका मुद्दा ः विगत र वर्तमान’ शीर्षक आलेखहरूमा पनि स्पष्ट झल्किएका छन् ।

महिलाहरूको घर मात्र होइन, मनभित्रै पुगेर जीवन भोगाइका बारेमा बुझ्न सक्नुपर्छ । महिलाको जीवनभोगाइका कुरा नखोतलिएसम्म आन्दोलनमा मात्र होइन, कुनै पनि क्षेत्रमा महिलाले गरेका योगदानको पाटो अदृश्य नै रहन जान्छ ।

यसरी महिलाको योगदानप्रति कदर भाव राखेर उनीहरूको घरभित्र पुगेर उनीहरूसँग अन्तरङ्ग कुराकानी गर्नु र इतिहासको दस्तावेजीकरण गर्नु अहिलेको बौद्धिक आवश्यकता पनि हो । यसरी ऐतिहासिक महत्त्वका तथ्यहरूको खोजीसँगै ज्ञान निर्माण गर्नका लागि महिलावादी अनुसन्धान विधि नै उपयोगी हुने रहेछ भन्ने पनि स्पष्ट भएको छ ।

सुजाता ढुंगानाको ‘झापा आन्दोलनमा महिला सहभागिता, नेतृत्व र योगदान’ शीर्षक आलेखमा कुनै पनि आन्दोलनलाई हेर्दा जुलुसमा भाग लिने व्यक्तिको सहभागितालाई मात्र लेखिन्छ तर उनीहरूका घरपरिवारका महिलाका कुरा कसैले लेखेको हुँदैन भन्ने वास्तविकतालाई देखाइएको छ । साथै, यसमा महिलाले घरपरिवारलाई समय दिएर पुरुषलाई आन्दोलनमा सहभागी हुने वातावरण दिलाएका हुन्छन् भन्ने वास्तविकतालाई पनि लुकाइएको छैन ।

महिलाको जीवनभोगाइका कोणबाट यस्ता कुरा नखोतलिएसम्म आन्दोलनमा मात्र होइन, कुनै पनि क्षेत्रमा महिलाले गरेका योगदानको पाटो अदृश्य नै रहन जान्छ । यस्तो नहोस् भनेर पनि होला, प्रस्तुत किताबमा प्रकाशित लेखहरूमा कुनै न कुनै तरिकाले महिलावादी अनुसन्धानको सिद्धान्तलाई नै समातेको पाएको छु । यसमा यस्ता अनुसन्धान विधि र पद्धति समेटिएका छन्, जसबाट नेपाली महिलाहरूबिचमा रहेका विविधता र विभिन्नताको अवस्थालाई देख्न सकिन्छ । यसबाट समानताका साथै आपसी एकताको शक्ति र एकताबाटै हासिल हुन सक्ने सकारात्मक परिणाममुखी परिवर्तनतिरको लगावलाई पनि बुझ्न सकिन्छ ।

निष्कर्षमा भन्नुपर्दा यस प्रकाशनले आन्दोलनलाई, इतिहासलाई र महिलाको बारेमा भिन्न रूपको ज्ञान निर्माण गर्ने र महिलाहरूको अदृश्यतालाई उजागर गर्न सफल हुन सक्छ । साथै, महिलावादी अनुसन्धान विधि र पद्धतिलाई स्थापित गर्ने काममा योगदान पुग्न सक्छ ।

द स्टोरी किचेनद्वारा प्रकाशित ‘महिला आन्दोलनको सहखोजी’ पुस्तकबाट साभार ।

प्रकाशन मिति : २०८३ बैशाख ८ गते, मङ्गलवार

Share this :