Home Stories अझै गर्न बाँकी छ

अझै गर्न बाँकी छ

227
0

मेरो एक मात्र लक्ष्य हो, बहुआयामिकरूपमा नेपाली महिलाको सशक्तीकरण । उनीहरूलाई जोखिममा पर्न नदिने, जोखिममा परेका छन् भने उद्धार गर्ने र आश्रय दिने । त्यसपछि शैक्षिक, आर्थिक र राजनीतिकरूपमा उनीहरूलाई समाजको नेतृत्वदायी स्थानमा पुर्‍याउने । मेरो जीवनको चाहना, लक्ष्य, उद्देश्य जे भने नि यही हो ।

मेरा केही संस्थापक साथीहरू अमेरिका गएर सेटल भएका छन् । एक पटक म अमेरिका गएको बेला साथीहरूले मलाई भनेका थिए, “तिमी यतै बस, तिमीलाई गर्नुपर्ने सहयोग हामी गर्छौं ।”

शक्ति समूहप्रति मेरो लगाव हुँदैनथ्यो भने सायद म अमेरिकातिरै सेटल भइसकेकी हुन्थेँ । तर, मेरो अठोट छ, जति उमेर बाँच्छु, म यही क्षेत्रमा समर्पित हुनेछु । हामी जस्ता युवा विदेश पलायन हुने हो भने स्वदेशको मुहार फेर्ने काम कसले गर्ने ? यही सोचेर म विदेश गइनँ ।

विदेश गएर पैसा कमाउने, आफ्नो जीवनलाई अझ सुखी बनाउनेभन्दा पनि स्वदेशमै केही गर्ने, शक्ति समूहलाई अझ प्रभावकारी बनाउने र अझ धेरै दिदीबहिनीलाई यस क्षेत्रमा सक्रिय बनाउनमै मेरो ध्यान केन्द्रित छ ।

शक्ति समूह मेरो पनि शक्ति हो । यो हामी सबै नेपाली महिलाको शक्ति हो । शक्ति समूहले इतिहास लेखिसकेको छ । यो इतिहासको गौरवलाई शक्ति समूहले अझ माथि उठाउनेछ ।

समूहमार्फत म जुन क्षेत्रमा लागेँ, अब यो क्षेत्रसँग मेरो आत्मीय सम्बन्ध गाँसिइसकेको छ । शक्ति समूहका सेफ होम, होस्टल र शक्ति केन्द्रहरू सबै मेरा आफ्नै घर जस्ता लाग्छन् । त्यहाँ रहेका चेलीहरू कोही मेरा दिदी त कोही बहिनीहरू झैँ लाग्छन् । एउटा गहिरो नाता गाँसिएको छ ।

शक्ति समूहका सबै मेरो आफ्नै परिवार भइसकेका छन् । उनीहरूको मायाले पनि मलाई बाँधिरहेको छ । जब म पोखरा या काठमाडौँमा रहेका हाम्रा होस्टलहरूमा जान्छु, तब बच्चाहरू हुर्रिदै मसँग झुम्मिन आइपुग्छन् । ‘मिस, आज यहीँ बस्नुस्’ भन्छन् । त्यस्तो आत्मीय सम्बन्ध भइसकेको छ ।

बेला बेलामा होस्टेलमा गएर म पनि आफ्ना कथा उनीहरूलाई सुनाउँछु । उनीहरूलाई कसरी सङ्घर्ष गरेर म यहाँसम्म आएँ भनेर बताउँछु । त्यो कुरा उनीहरूका लागि प्रेरणाको स्रोत बनिदिन्छ ।

संस्थामा सकेसम्म ‘सर्भाइवर’ लाई बढी प्राथमिकता दिने गरेकी छु । किनकि, उनीहरूलाई बेचबिखनमा परेका महिलाले भोग्ने पीडा थाहा हुन्छ । अरूलाई बेचबिखनमा पर्नबाट बचाउन उनीहरूले बढी प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन् । यसैले उनीहरूकै क्षमता वृद्धि गरी उनीहरूलाई नै नेतृत्वमा ल्याउने मेरो कार्ययोजना रहेको छ ।

एक कार्यक्रमका सहभागीहरुसँग बाेल्दै सुनिता ।

सन् २०१६ लागेपछि बालकुमारी राना शक्ति समूहको अध्यक्ष हुनुभयो । शक्ति समूहको नेतृत्व चयन प्रायः सर्वसम्मतिले नै हुँदै आएको छ । म पनि सहमतिमै चुनिएकी थिएँ । अहिलेको नेतृत्व पनि सहमतिमै चुनिएको हो ।

हामी एउटा साझा मुद्दा अघि सारेर अघि बढेका महिला हौँ । हामीलाई कुनै राजनीति गर्नु थिएन । त्यसैले हाम्रो समूहमा नेतृत्वका लागि हानथाप गर्ने, एकले अर्काको खुट्टा तान्ने र नेतृत्वका लागि चुनाव नै गर्नुपर्ने संस्कार भएन ।

तँछाडमछाड गर्नुभन्दा पनि जसले गर्न सक्छ उसलाई नै सहमतिका आधारमा चयन गर्ने परिपाटी बसायौँ । संस्थामा राजनीतिको दाउपेच हैन, आपसी सहयोग र संवेदनाको महत्त्व हुन्छ ।

मलाई लाग्छ, संस्थालाई यहाँसम्म ल्याउन पनि हामी पटक–पटक बेचिएका हुन्छौँ । हामीले आफ्ना कथाहरू हरेकलाई बारम्बार सुनाउनु भनेको पनि फेरि एक पटक हामी बेचिनु हो ।
हामी त्यो त्रासदीपूर्ण कालखण्डलाई बारम्बार सम्झिरहन्छौँ र अन्य चेलीहरूलाई त्यस्तो दलदलमा फस्नबाट जोगाउने पहल गरिरहेका हुन्छौँ । ती सारा कुरा भुलेर हामी आफ्नै नयाँ सुखी संसारमा बसिरहेका त होइनौ नि !

हरेक दिन हामी त्यही कालखण्डमा देखे, सहे र भोगेका कुराको स्मरण गरिरहेका हुन्छौँ र त्यसको पीडा महसुस गरिरहेका हुन्छौँ । मिडियाले हामीबाट बेला बेलामा त्यही कुरा बाहिर ल्याउन खोज्छ ।

कुनै मिडियामा आफ्ना सारा कहानी बताएर आएपछि म एक हप्तासम्म निदाउन सक्दिनँ । बिर्सिसकेका कुराहरू कोट्ट्याउनुपर्ने हुन्छ र त्यो खाटा बसिसकेको घाउ कोतर्नुपर्ने हुन्छ ।

आठ वर्ष म समूहको नेतृत्वमा रहिनँ । यसमा अन्तराल (ग्याप) हुँदा संस्था धेरै तल खस्किसकेको थियो । त्यति बेला अन्तर्राष्ट्रिय मञ्चहरूमा हाम्रो उपस्थिति निकै घटेको थियो । अनि ‘यसरी भएन’ भनेर आफैँले नेतृत्व गरेँ । यसलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा पुनःस्थापित पनि गराएँ ।

अन्तराष्ट्रिय पुरस्कार ग्रहण गर्दै सुनिता बिचमा।

मेरो कार्यकालमा संस्थाको पहिचान अन्तर्राष्ट्रियस्तरमा निकै उचाइमा पुग्यो । हाम्रो संस्थाले विभिन्न अवार्डहरू पनि पायो ।

अहिले मेरो डर के हो भने संस्था फेरि तल नखस्कियोस् । यसले आफ्नो उचाइ खस्किन नदेओस् । यसैले भन्छु, कि योभन्दा माथि पुगोस्, कि अहिलेको उचाइ कायम रहोस् । मेरो विचारमा नेतृत्वले कुरा बुझेन र क्षमता देखाउन सकेन भने संस्था खस्किन बेर लाग्दैन ।

मेरो दाबी के छ भने मैले संस्थालाई चुचुरोमा पुर्‍याएको छु । संस्थाको अन्तर्राष्ट्रिय पहिचान कायम भएको छ । मन्त्रालयदेखि विभिन्न निकायसँग को–अर्डिनेशन भएको छ । अबको नेतृत्वले संस्थालाई शिखरमा राखिरहने चुनौती लिनुपर्छ ।

हामीले सुरुमा छ वटा जिल्लाबाट काम थालेका थियौँ । अहिले २१ वटा जिल्लामा यसका सम्पर्क कार्यालय खुलेका छन् । बेचबिखनमा परेकामध्ये पनि यौन शोषणमा परेकालाई मात्र हामीले संस्थाको सदस्य बनाउने प्रावधान राखेका छौँ ।

संस्थाले काम महिलाहरूका विविध मुद्दामा गरे पनि यसका सदस्य भने पीडित महिला नै हुनेछन् । किनकि, सुरुवात त्यसरी भएकाले त्यसको मर्मअनुसार काम होस् भनेर यस्तो प्रावधान राखिएको हो । सदस्यताका लागि साधारणसभाले निर्णय गर्छ । अहिले हामीसँग १६८ सदस्य छन् ।

म अहिले पनि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिवको संयोजकत्वमा गठित मानव बेचबिखनविरुद्धको राष्ट्रिय समितिमा ‘सर्भाइभर’ को तर्फबाट सदस्य छु । यो समितिमा रहेर मैले ‘सर्भाइभर’ को पक्षमा नीति निर्माणका क्षेत्रमा कसरी काम गर्ने भनेर मुख्य भूमिका निर्वाह गर्दै आएको छु ।

अन्तर्राष्ट्रिय सङ्घसंस्थामा आबद्ध रहेर बेचबिखनमा परेका महिलाको मुद्दालाई एउटा विश्वव्यापी साझा मुद्दाका रूपमा कसरी स्थापित गर्ने भनेर पहल गरिरहेकी छु । विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयमा गएर एउटा अतिथि वक्तामा रूपमा मैले नेपाली महिलाले भोग्नुपरेका समस्याका बारेमा विदेशका विद्यार्थीलाई जानकारी दिँदै आएको छु ।

नागरिक सङ्गठनहरूको छाता सङ्गठन गैरसरकारी संस्था महासंघको केन्द्रीय सदस्य एवं एटविनको सल्लाहकार रहेर पनि मैले काम गरेँ ।

गैरसरकारी संस्था महासंघको शर्मिला कार्की अध्यक्ष रहेको बेलाको मेरो पहिलो कार्यकाल र गोपाल लम्साल अध्यक्ष भएको बेलाको मेरो दोस्रो कार्यकाल पनि सफल रह्यो । त्यसका लागि दुबै अध्यक्ष, सम्पूर्ण कार्यसमिति, जिल्लाका साथीहरू र कर्मचारी परिवारप्रति ऋणी छु ।

हामीले काम गर्न धेरै बाँकी छ । आँसुलाई शक्तिमा बदल्न हामीले अझै बृहत् र व्यापक हिसाबले काम गर्न बाँकी नै छ । मेरो आँसु त शक्तिमा बदलियो । म जस्ता धेरैको आँसु मैले शक्तिमा बदल्नु छ ।

समस्या विदेशमा बेचिएका र बेचिने महिलाको मात्र पनि हैन । बेचबिखनको काम स्वदेशभित्रै पनि भइरहेको छ । मसाज पार्लर, डान्स रेस्टुराँ र क्याबिन रेस्टुराँमा पनि महिलालाई जबरजस्ती काम लगाउने र यौन शोषण गर्ने गरेको पाइएको छ ।

अहिले मानव बेचबिखनको स्वरूपमा परिवर्तन हुँदै गएको छ । यसैले हामीले अभियानलाई सोही रूपमा परिमार्जन गर्दै जानुपर्छ ।

आन्तरिक ओसारपसार तथा बेचबिखन (इन्टरनल ट्राफिकिङ) को विरोधमा पनि हामी काम गरिरहेका छौँ । त्यसका लागि काम गर्ने हाम्रो बेग्लै समूह छ । त्यो समूहले कार्यस्थलमा गएर अनुगमन गर्ने गरेको छ ।

डान्स बार, मसाज पार्लरलगायतका ठाउँहरूमा महिलाले कति घण्टा काम गरिरहेका छन्, उनीहरूलाई कस्तो काम लगाइएको छ, कति पारिश्रमिक दिइएको छ भनेर त्यो समूहले अनुगमन गर्ने गरेको छ ।

हामीले सुरक्षित ढङ्गले हिंसारहित भएर कसरी काम गर्ने भनेर उनीहरूलाई तालिम पनि दिने गरेका छौँ । त्यो समूहमा काम गर्नेहरूलाई हामीले भइरहेका टे«ड युनियनको सदस्यता दिलाउने गरेका छौँ ।

काठमाडौँको गोंगबुमा हामीले उहाँहरूकै लागि भनेर ‘शक्ति रिसोर्स सेन्टर’ खोलेका छौँ । काम गर्दागर्दै ‘बोर’ लागेको छ या मालिकले अन्याय गरेको छ भने कामदार महिलाहरू त्यो सेन्टरमा आएर आफ्ना मनका बह पोख्न सक्छन् ।

डान्स र दोहोरीमा जानेले त्यो सेन्टरमा आएर सामान्य मेकअप पनि गर्न सक्नेछन् । त्यसका लागि हामीले केन्द्रमा एक जना ‘ब्युटिसियन’ पनि राखिदिएका छौँ । ब्युटिसियनको काम हुनेछ, उनीहरूको मेकअप गरिदिने, कपाल काटिदिने र सँगसँगै ‘काउन्सिलिङ’ पनि गरिदिने ।

क्याबिन रेस्टुराँलाई कसरी पारदर्शी बनाउने, डान्स बारमा काम गर्ने केटीहरू सबै ‘सेक्स वर्कर’ हुन् भन्ने भ्रमलाई कसरी तोड्ने ? सबै मसाज पार्लरमा यौन धन्दा हुँदैन । मसाजमा काम गर्ने सबै केटीहरू सेक्स वर्कर हैनन् भनेर कसरी स्थापित गर्ने भनेर हामीले कामदार महिला र सम्बन्धित व्यवसायीलाई पनि प्रशिक्षित गराउने गरेका छौँ ।

म्याक नामक संस्था, सरकारी निकाय र प्रहरीसँग मिलेर काम गरिरहेका छौँ । पारदर्शी क्याबिन बनाउने पहल पनि सुरु भएको छ । दर्ता भएका क्याबिन रेस्टुराँ, डान्स बार र मसाज पार्लरमा सरकारले पनि नियमित अनुगमन गरोस् । त्यहाँ कुनै समस्या छ भने सरकारले तत्काल ‘एक्सन’ चालोस् भनेर ‘लबिङ’ पनि गरिरहेका छौँ ।

प्रहरीले त्यसमा पहिलेको दाँजोमा राम्रो काम गरिरहेको पनि पाएका छौँ । माथिल्लो तहका प्रहरी अधिकारीहरू समझदार छन् । तर, छापा हान्न जाने भनेका सिपाहीहरू हुन्, जसको व्यवहार कामदार महिलाप्रति अझै हेपाहा नै छ ।

कुनै डान्स बारबाट कुनै केटी फर्किरहेका छन् भने हाम्रो अगाडि पनि लुगा खोलेर नाच भन्ने प्रहरी पनि छन् । यसैले माथिको निकायले तल्लो निकायका प्रहरीलाई त्यस्ता कामदार महिलाप्रति कस्तो व्यवहार गर्ने भनेर प्रशिक्षण दिनुुपर्छ । तिनलाई आधारभूत मानवअधिकार तालिम पनि दिनुपर्‍यो ।

शक्ति समूह गठनपछि बेचिएका चार–पाँच जना महिलालाई हामीले कोठीबाट उद्धार गरेका थियौँ । उद्धार गरेर मात्र पनि समस्या समाधान नहुने रहेछ ।

भर्खर १८ वर्ष लागेकालाई उद्धार गरेर ल्याएको छ भने उनीहरूलाई समाजमा पुनःस्थापना गर्न सजिलो हुन्छ । तर, अठार वर्षमुनिकालाई ‘रेस्क्यु’ गरेर ल्याए पनि उनीहरू भागेर गइहाल्दा रहेछन् । एक त ती बालिकाहरूलाई रक्सी, मासु र चुरोट खाने बानी परिसकेको हुन्छ ।

केही समय कोठीमा बिताइसकेका छन् भने उनीहरूको त्यस्तो बानी परिवर्तन गर्न कठिन हुने रहेछ । हामीले केही महिलालाई उद्धार गरेर ल्यायौँ । उनीहरूले ‘मलाई त खाने बानी लाग्यो । मलाई रक्सी ल्याइदेऊ या चुरोट ल्याइदेऊ’ भन्थे । भागेर जान्थे ।

उद्धार गरेर ल्याइएकामध्ये कोही भने हामी समस्यामा छौँ भन्ने बुझेका पनि हुन्थे र बानी परिवर्तनको कोसिसमा लाग्थे । तिनलाई हामीले अब कसरी समाजमा अघि बढ्ने भनेर प्रशिक्षण पनि दिएका हुन्थ्यौँ ।

मुख्य कुरा, उद्धार गरेर ल्याइसकेपछि समाजमा कसरी सम्मानजनक र सुरक्षित ढङ्गले जीवनयापन गर्ने भनेर हामी उनीहरूलाई प्रशिक्षित गर्छौं ।

शक्ति समूहलाई प्रभावकारी बनाउन हामीले एउटा योजना के बनाएका छौँ भने भारतमा एउटा सम्पर्क व्यक्ति राख्ने । त्यो सम्पर्क व्यक्तिले दिल्लीस्थित नेपाली राजदूतावाससँग नजिकबाट समन्वय गर्ने ।

कुनै पनि कोठीमा १८ वर्षभन्दा मुनिका नेपाली चेली भएको पाइएमा सम्पर्क व्यक्तिले नेपाली दूतावासलाई खबर गर्ने र दूतावासले भारतीय प्रहरीमार्फत तत्काल उद्धार गरिहाल्ने । अबको हाम्रो गुरुयोजना यो हो ।

पहिला हामीले सीमित क्षेत्र वा ‘एरिया’ मा छरिएर काम गरेका थियौँ । जिल्लाको कुनै क्षेत्रमा मात्र सक्रिय थियौँ । अब चाहिँ जिल्लाका सबै गाविसमा केन्द्रित हुने हाम्रो योजना छ ।

अहिले सिन्धुपाल्चोक जिल्लाका धेरै गाविसमा हामी सक्रिय छौँ । त्यहाँका सबै नभई केही गाविसमा मात्र कार्यरत रहँदा अन्य गाविसमा बेचबिखन बढिरहेको हुन सक्छ । त्यसैले अब समग्र जिल्लाभरि ध्यान दिइरहेका छौँ ।

जिल्ला बढाउनेभन्दा पनि कुनै मुख्य जिल्लालाई नै मानव बेचबिखनमुक्त जिल्ला कसरी बनाउने भनेर हामी लागिरहेका छौँ । त्यसका लागि सरकारी निकायसँग समन्वय गरी किशोर किशोरी समूहहरू, ‘सर्भाइवर’ को समूह, महिला सुरक्षा समूहहरूमार्फत हामीले जनचेतनामूलक कार्यक्रम चलाइरहेका छौँ ।

बेचबिखनमा पर्ने उच्च जोखिममा भएका बालबालिकालाई शिक्षा र चेतनामूलक तालिम दिन्छौँ भने ‘सर्भाइवर’ हरूलाई आर्थिकरूपमा सक्षम बनाउन आयआर्जनका काममा सहयोग गर्छौं ।

चेतनामूलक नाटक प्रदर्शन, हाजिरीजवाफ प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने गर्छौं । आयआर्जनका काममा सहयोग गर्नका लागि सुरुमा प्रतिव्यक्ति ३० हजार रूपैयाँ दिन्छौँ । त्यो पैसा समूहमै परिचालन हुन्छ ।

एकल महिला, बाबुले बहुविवाह गरी आमामाथि सौता हालेका कारण पीडित हुुन पुगेका आमाका सन्तान या सर्भाइवरका बच्चालाई हामीले उच्च जोखिमको प्राथमिकतामा राखेर उनीहरूलाई शिक्षा दिन्छौँ ।

सुनिता (दायाँ), ओरेक नेपालकी संस्थापक अध्यक्ष एवं अधिकारकर्मी डा‍. रेणु अधिकारीसँग ।

हाम्रो यो अभियान जारी रहनेछ । हामीले गर्न धेरै बाँकी छ । शक्ति समूहलाई आजसम्म धेरै व्यक्ति र संस्थाहरूको सहयोग रहेको छ । डा. रेणु अधिकारी, गौरी प्रधान, मीना पौडेल, सीता घिमिरे, डा. विनायक राजभण्डारी, टंक पन्त, सिर्जना काफ्ले, भगवती नेपाल, सन्ध्या श्रेष्ठ, शारदा सुब्बा, कुमार भट्टराई, रत्नकाजी बज्राचार्य, विमला ज्ञवाली, सुम्निमा तुलाधर, मात्रिका पौडेल एवं शक्ति समूहको कार्यसमिति, शक्ति समूहका सदस्यहरू तथा कर्मचारीहरूको सहयोग म कहिल्यै भुल्न सक्दिनँ ।

त्यसैगरी, युनिफेम (हाल युएन ओमन), महिला पुनःस्थापना केन्द्र (ओरेक), एटविन, सिविन, एक्सन एड, नवज्योति समूह, एबीसी, मान्क मामकास, अक्सफाम, सेभ द चिल्ड्रेन, ग्लोबल फन्ड फर वुमेन, फ्री द स्लेभ, किडासा, सिडब्लुएसएचके, फ्रीअगल, युएन ओडिसी, टिडिएच, आशा नेपाल, लुंता जेनेभा ग्लोबल, द एशिया फाउण्डेशन, न्यु कम्युनिटी प्रोजेक्ट, सिडिपी, सिडब्लुएसएच, युरिना इशिआरा आदि स्वदेशी तथा विदेशी सङ्घसंस्थाहरूको जुन सहयोग भयो र भइरहेको छ, त्यसप्रति सधैँ शक्ति समूह ऋणी रहनेछ ।

वरिष्ठ पत्रकार टंक पन्तले महिलाको बारेमा गरेको गहिरो पत्रकारिताका आधारमा महिला पत्रकार पनि भन्ने गरेको सुनेकी थिएँ । नभन्दै जब हामीबिचमा परिचय भयो, त्यसपछि त सुनेभन्दा पनि बढी नै सहयोग पाइयो । त्यसका लागि म र शक्ति समूह परिवार मात्र होइन सिङ्गो महिला आन्दोलन उहाँप्रति आभारी छ ।

भूकम्पपछि ‘इमर्जेन्सी पिरियड’ भनेर ‘सेभ द चिल्ड्रेन’ सँग सहकार्य भयो । ‘सेभ द चिल्ड्रेन’ को यो सहयोगप्रति हामी आभारी छौँ ।

हामीलाई मुम्बईबाट नेपाल फर्काउने ती सात संस्थाहरूलाई म सदा सम्झिरहनेछु । ओरेक, माइती नेपाल, सिविन नेपाल, नवज्योति तालिम केन्द्र, शान्ति पुनःस्थापना केन्द्र, स्त्री शक्ति र एग्रोफरेस्ट्री आदि संस्थाप्रति अहोभाव छ, जसले हामीलाई पाताललोकबाट शक्तिलोकको बाटो देखाए ।

एकपल्ट म मुम्बईको चेम्पुरस्थित सरकारी आवासगृहको भ्रमणमा गएँ । हामी बस्दा एउटै कोठामा गुटमुटिएर बस्नुपर्थ्याे । अचेल त त्यहाँ पलङहरूको व्यवस्था गरिएको रहेछ । खुसी लाग्यो । त्यहाँ हामी हुँदाकी एक प्रमुख निरू सिंहलाई पनि भेटेँ । मैले उहाँलाई आफू सन् १९९६ मा उद्धार गरेर ल्याइएकी उही उषा भएको र अहिले शक्ति समूहको नेतृत्व गरिरहेको बताएँ । सुनेर उहाँले भन्नुभएको थियो, ‘तिमीमा त्यतिबेलै नेतृत्व क्षमता थियो । अहिले नेतृत्वमा पुगेकोमा खुसी लाग्यो ।’

सन् २०१८ मा टिप हिरो अवार्ड पाएपछि सुनिता (बिचमा) लाई बधाई ज्ञापन गरिँदै ।

केही वर्ष पहिले म मुम्बईको त्यही कमाठीपुरा, बाह्र नम्बर गल्लीको भ्रमणमा गएकी थिएँ । त्यहाँको जुन कोठीमा मलाई राखिएको थियो, त्यहाँ पछि कपडा कारखाना खोलिएको रहेछ । त्यो कारखानामा धेरै महिलाहरू सिपमूलक काम गरिरहेका थिए ।

मेरो एउटै चाहना छ, विश्वका त्यस्ता सारा कोठीहरू सिपमूलक कारखाना, स्कुल या ध्यान केन्द्रमा परिणत होऊन् ! कुनै पनि चेलीले अन्धकार पाताललोकमा पुगेर नारकीय जीवन बिताउन नपरोस् !!

यो समाज चेलीहरूको एउटा यस्तो शक्तिलोक बनोस्, जसमा महिलाको शक्तिले नेतृत्वदायी भूमिका निर्वाह गर्न सकोस् र महिलाले कुनै पनि किसिमका हिंसा, अन्याय र विभेदको सिकार हुन नपरोस् !!!

महिलाले कुनै पनि किसिमका हिंसा, अन्याय र विभेदको सिकार हुुन नपरोस् भनेर शक्ति समूह सदा सक्रिय हुनेछ । अनि, मेरो सारा जीवन त्यसैका लागि समर्पित हुनेछ ।

(‘आँसुको शक्ति’ पुस्तकको पृष्ठ २६५–२७३ बाट साभार गरिएको)

प्रकाशन मिति : २०८१ पाैष १४ गते, आइतवार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here