वाद्यवादन र नाचगान वादी समुदायको पुर्ख्यौली पेसा थियो । ६६ वर्षीया श्यामादेवी वादी कुनै बेला त्यही पेसा गर्नुहुन्थ्यो । पहिले नाच्ने, गाउने काम गरेर जीविका चलाएको भए पनि अहिले उमेरका कारण आफूले यो काम गर्न नसकेको उहाँको भनाइ थियो । समयका कारण नयाँ पुस्ताले पनि यो काम गर्न नखोजेको हुनाले पुर्ख्यौली पेसा लोप भएको भनी उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो ।
श्यामाको बसाइ कैलालीको टीकापुर नगरपालिका वडा नम्बर २ सूर्यपुरस्थित वादी बस्तीमा छ । उहाँका अनुसार, वादी समुदाय विशेष गरी महिलाहरू विगतमा नाच्ने गाउने पेसा गर्दथे तर अहिलेको पुस्ताले त्यो पेसा अपनाएका छैनन् ।
पहिले आफूले गरेको पेसामा अहिले आफ्नै सन्तान नलाग्दा उहाँलाई चिन्ता लागेको हो । यद्यपि, अहिलेको पुस्ताले पढाइलेखाइ गरी जागिर खान थालेको कुराले भने आफूलाई राम्रै लागेको उहाँले बताउनुभयो । पढाइलेखाइले गर्दा पुरानो जमानामा जस्तो जातीय विभेद अहिले नभएको उहाँको बुझाइ थियो ।
श्यामामा नाच्ने र गाउने दुवै कला थियो । यसले पनि आफूले नेपालमा मात्रै होइन, भारतका विभिन्न ठाउँमा समेत पुगेर ठुला जमिनदारका घरमा भएका बिहेवारी र पूजाआजामा आफूले समूहमा गाएको र नाचेको सम्झना उहाँले सुनाउनुभयो ।
नाचगानका सामान बोकेर टाढा टाढा हिँड्न नसक्ने अवस्थामा नाचका लागि बोलाउने धनीहरूले श्यामाको समूहलाई लिन भनी गाडी नै पठाउँथे । बिहेबारी र पूजास्थलमा पुगेपछि आफ्नै दाजुभाइ र दिदीबहिनीहरू मिलेर बनाएको पाँच जनाको समूहमा रातभरि उहाँहरू गाउने र नाच्ने गर्नुहुन्थ्यो ।
वादी समुदायमा पहिले पहिले आमाबुबाले नै सानैदेखि नाच्न र गाउन सिकाउने वातावरण दिनका लागि गाउँठाउँमा जाँदा हुर्कंदै गरेका छोराछोरीलाई पनि सँगै लिएर जान्थे । श्यामाले पनि आमाबुबासँगै हिँडेर सानैदेखि नाच्न र गाउन सिक्नुभएको थियो ।
पछिल्लो समय त्यस्तो परम्परा हराएर गयो । अहिलेका पुस्तामा शिक्षाको चेतना आएको हुनाले छोराछोरीलाई पढ्न पठाउन थालियो । विद्यालय गएर पढ्न लेख्नतिर लागेकाले पहिलेको पुस्ताले जस्तो बजाउने, गाउने कुरा अचेलका केटाकेटीले सिक्दै सिक्दैनन् भन्ने श्यामाको भनाइ थियो ।
पहिले भने नाचगानबाट आउने पैसा नै वादी समुदायको जीविकोपार्जनको प्रमुख माध्यम थियो । नाचगान उनीहरूको पेसा थियो । घरखर्च चलाउने पैसा आउने ठाउँ त्यही गीत र नाच नै थियो । श्यामाका अनुसार, उहाँका आमाबुबाको पालामा मादल बनाउने र माछा मार्ने काम पनि हुन्थ्यो । उहाँले भन्नुभयो, “बुबाआमाले मादल बनाउने काम पनि गर्थे । माछा मार्थे । पैसा आउने बाटो भनेको यस्तै थियो ।”
श्यामाहरूको समूहले प्रायः समूहमै नाचगान गरी पैसा कमाउने गर्थ्याे । नाचगानलाई नै आफूहरूले मुख्य पेसा बनाएको जनाउँदै उहाँले भन्नुभयो, “बिहेबारी भएको घरमा जाँदा हजार, दुई हजार, तीन हजार रुपैयाँ पनि पाइन्थ्यो । बिहे दुई–तीन दिनसम्म हुन्थ्यो । अलि पैसा पनि बढी हुन्थ्यो । त्यतिबेला त त्यही पैसा पनि धेरै हो ।” त्यसरी पाएको पैसा आफूहरूले बाँडेर लिने गरेको पनि उहाँले बताउनुभयो ।
वादी समुदायका लागि अहिले जीविकोपार्जनका नयाँ बाटाहरू पनि खुला भए । समयमै विद्यालय गएर शिक्षित हुन पाएका कारण जातीय भेदभाव र छुवाछुतको व्यवहार पनि हट्यो । पढेलेखेका पुस्ताले ‘इज्जत’ र ‘मानसम्मानजनक’ रोजगारीका लागि रुचि देखाए । पुर्ख्यौली पेसा भए पनि समाजले नाचगानलाई इज्जत नदिएको थाहा पाएपछि उनीहरू आयआर्जनका वैकल्पिक बाटातिर लागे ।
अहिलेको शिक्षित युवा पुस्ता रोजगारीका लागि स्वदेश र छिमेकी देश भारतमा मात्र भर पर्दैन । उनीहरू अन्य देशहरूलाई पनि श्रम तथा रोजगारीको गन्तव्य बनाउन सक्ने भए । यसबारे श्यामाको भनाइ थियो– रोजगारीका लागि विदेशतिर जानेहरू पनि बढे । कोही भारत जान्छन्, कसैले यतै कमाउँछन् ।
वादी समुदायको बारेमा खोजी गर्दै स्थलगत रिपोर्टिङ्का लागि ‘सन्धान’ टोली २०८० मङ्सिरमा कैलाली जिल्लाका विभिन्न ठाउँमा रहेका वादी बस्तीमा पुगेको थियो । त्यतिबेला टीकापुर नगरपालिका वडा नम्बर २ सूर्यपुरस्थित वादी बस्ती (साबिकको विश्व कान्तिपुर बस्ती) मा श्यामासँग पनि भेट भएको थियो । भेटेका बेला कुराकानी पनि गरिएको थियो ।
कुराकानीको विषयमा वादी महिलाको पेसागत जीवनभोगाइ, बदलिँदो सन्दर्भमा हराउँदै गरेको नाच्ने गाउने परम्परागत पेसा, आयआर्जनका वैकल्पिक बाटा, शिक्षा, समानता, इज्जत र मानसम्मान जोडिएर आएका थिए । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट क्यामेरामा मुकुन्द बोगटी र समीक्षा गाहाले श्यामादेवी वादीसँग गर्नुभएको कुराकानीको आधारमा तयार गरिएको स्वकथनको पाठसँगै भिडियो अंश :
हाम्रो वादी समुदायको पुर्ख्याैली पेसा वाद्यवादन र नाचगान थियो । मैले पनि त्यही काम गरेको । नाच्ने र गाउने दुवै कला थियो । मलाई अहिले पनि आउँछ, गीत गाउन, नाच्न ।
मेरो घर कैलाली हो । यहाँ मात्रै होइन । हामी नाच्न गाउन भारतका विभिन्न ठाउँमा पनि जान्थ्यौँ । एक दुई जना मात्रै होइन, समूहमै जान्थ्यौँ । आफ्नै दिदीबहिनी दाजुभाइ मिलेर जान्थ्यौँ । ठुला जमिनदारहरूले घरमा बिहेबारी, पूजाआजा जस्ता कार्य हुँदा गाउन नाच्न हामीलाई लगाउने चलन थियो । हामी आफ्नै दाजुभाइ, दिदीबहिनीहरू मिलेर पाँच–छ जनाको समूह भएर रातभरि गाउने र नाच्ने गर्थ्यौँ ।
नाच्नका लागि घर वरपरदेखि लिएर ‘इन्डिया’ (भारत) सम्म पनि जान्थ्याैँ । इन्डियाको पलिया, लखिनपुर, लखनउतिर पनि पुग्थ्यौँ । नेपालीहरू आफ्नो कामले इन्डिया जान्थे भने ‘इन्डियन’ (भारतीय) हरू नेपालमा पनि आउँथे । आउजाउ र चिनजान भएपछि हामीले राम्रो नाचगान गर्छ भनेर लिएर जान्थे । नाचगानका लागि चाहिने सामान बोकेर टाढाटाढा हिँड्न नसक्ने अवस्थामा बोलाउनेहरूले नै हामीलाई लिन गाडी पनि पठाउँथे ।
बुबाआमाले पनि हामीलाई सानैदेखि नाचगान सिकाउने, सँगै लिएर हिँड्ने । त्यसो गर्दागर्दै हामीले नाच्न र गाउन जान्दथ्यौँ । अनि, १८–१९ वर्षको भएपछि आफैँ हिँड्ने हो । हाम्रो पेसा नै नाच्ने, गाउने भएकाले हामीलाई बुबाआमाले बाहिरबाहिर जान पनि दिनुहुन्थ्यो ।
हामी यहाँ (नेपाल) को धनगढी, टीकापुरबाट, राजापुर, नेपालगन्जतिर पनि जान्थ्यौँ । ठुला धनीका घरमा तिनको परिवारका कसैको बिहेवारी हुँदा हामीलाई कोही लिन आउँथे, कोही बोलाएर जान्थे अनि हामी जान्थ्यौँ । त्यतिबेला पैसा धेरै हुँदैनथ्यो । थोरै पैसामै पनि जान्थ्यौँ ।
बिहेबारी भएको घरमा जाँदा हजार, दुई हजार, तीन हजार रुपैयाँ पनि पाइन्थ्यो । बिहे दुई–तीन दिनसम्म हुन्थ्यो । अलि पैसा पनि बढी हुन्थ्यो । त्यतिबेला त त्यही पैसा पनि धेरै हो । रमाइलो गर्थ्यौँ । पाएको पैसा बाँडेर लान्थ्यौँ । बाँडेर लिन्थ्यौँ ।
सँगै त्यसरी हिँड्ने हाम्रो समूहको दाजुभाइ, दिदीबहिनीहरू अहिले त कति जना बितिसके । हामी भएकाहरू पनि बुढाबुढी भइसक्यौँ । हाम्रा बुबाआमाले मादल बनाउने काम पनि गर्थे । माछा मार्थे । पैसा आउने बाटो भनेको यस्तै थियो ।
हामीले गाएको स्थानीय गीत कसले बुझ्थ्यो र ? नेपाली गीतहरू रेडियोबाट सुनेर सिक्ने हो अनि त्यही गीत गाउँथ्यौँ । कहिले हिन्दी फिल्म हेरेर हिन्दी गीतहरू गाउथ्यौँ । इन्डिया जाँदा उतैका गीत गाउनुपर्थ्यो । उनीहरूले नेपाली बुझ्दैनथे । हामीले गीतसँगै बजाउनलाई कसैले मादल, कसैले हार्मोनियम, कसैले ढोलक, तबला पनि लेर हिँड्थ्यौँ र बजाउँथ्यौँ ।
यता देशभित्र नजिकैनजिकै पनि धेरै ठाउँ गइयो । एक जना कर्णराज शाहीको छोरा र छोरी दुवैको बिहेमा बोलाए र गयौँ । खेमराज शाही भन्नेको पनि तीन जना छोराछोरीकोे बिहेमा गयौँ । हामीले रातभरि नाच्ने, बिहेमा आएका जन्तीहरूलाई मनोरञ्जन गराउँथ्यौँ । छोरीको बिहे भए बिहान खाना खाएर छोरी अन्माएपछि हामीलाई बिदा गर्थे । छोराको बिहे भए दुलही घर ल्याइसकेपछि हामीलाई बिदा गर्थे । काँ’ काँ’ ग’को पनि बिर्सिसकेँ ।
गीत, नाचका लागि श्यामालाई बोलाउनु भन्थे । उसले छानेर राम्रोराम्रो नाचगान गर्नेलाई लिएर आउँछ भनेर मसँग मान्छे आउँथे । अनि म आज फलानो घरमा, फलानो ठाउँमा बिहे छ, न्वारन जे भए पनि चार, पाँच, छ जना भर्खरका केटीहरू बटुलेर लिएर जान्थेँ । हामी अहिले त यस्ता छौँ, पहिले त झन् राम्रा थियौँ ।
कहिले भैँसीको ‘बयल गाढा’ चढेर पनि जान्थ्यौँ । कसैले त गाडी पनि पठाउँथे । नभए त त्यत्रो तबलाहरू बोकेर हिँडेर जानै सकिँदैनथ्यो नि ! लम्की, टीकापुरतिर पनि लान गाह्रो ’थ्यो । त्यही भएर केही सवारी साधन त चाहिन्थ्यो ।
जबसम्म गालामा रगत भयो, तबसम्म नाच्ने, गाउने काम भयो । त्यसपछि स्वर पनि सुक्दै गयो । छाला पनि चाउरिँदै गयो । त्यसपछि नाच्न गाउन मन पनि नलाग्ने भयो । अब त त्यस्तो ‘सिस्टम’ (चलन) पनि छैन । कसैले बोलाउँदा पनि बोलाउँदैनन् । बोलाए पनि रातभरि नाच्न गाउन सकिँदैन ।
हाम्रो सन्तानले, अहिलेको पुस्ताले त हामीले जस्तो गरेनन् । अब त झन् के गर्लान् र ? हामीले ऊ बेला धेरै दुःखकष्ट झेल्यौँ । त्यो भएर छोराछोरीलाई पढाउनुपर्छ भनेर पढाउनतिर लागियो । त्यो भएर उनीहरूले यो पेसा गरेनन् ।
कतिले त भन्छन्– हामी नाच्ने गाउने गर्दैनौँ, तपाईंहरूले ‘बेइज्जत’ भएर पैसा कमाउनुपर्यो । हामी त त्यस्तो गर्दैनौँ । पढाइ लेखाइतिर लाग्छौँ । अहिलेको पुस्ताले अब त सिक्दै नसिक्ने भए । तिनका कुरा सुन्दा हामीले नाचेर, गाएर कमाएको पैसा ‘बेइज्जत’ नै रहेछ कि भन्ने पनि लाग्छ ।
हामी सानो छँदा पढ्न लेख्न पाइएन । त्यतिबेला छुवाछुत हुन्थ्यो । हामीलाई अलग्गै राखेर खान दिन्थे, अलग बसाउँथे । कतिले त हामी हिँडेको बाटोमा हिँड्न पनि हुँदैन भन्थे । अहिले त्यस्तो छैन ।
अहिले हाम्रा छोरीबेटीले त्यो काम गरेनन्, गर्दैनन् । उनीहरूको अहिले इज्जत छ, मानसम्मान छ । स्कुलमा गएर पढ्छन्, लेख्छन् । हाम्रा छोराछोरी क्षेत्री, बाहुन, ठकुरीका छोराछोरी सँगसँगै हिँड्छन् ।
ठुला जातका साथी हामीसँग भए त उनीहरूलाई नै घृणा गर्थे पहिला त ! यस्तासँग साथी भएर हिँड्छेस् भनेर उनीहरूलाई भन्थे । त्यो भएर हामीसँग ठुला जातका साथी पनि हुँदैनथे । अहिलेका हाम्रा छोराछोरीको सबै साथी हुन्छन् ।
अहिले हाम्रा छोराछोरीहरू लेखपढ गर्छन् । जीविकोपार्जनका बाटाहरू पनि धेरै भए । रोजगारीका लागि विदेशतिर जानेहरू पनि बढे । कोही भारत जान्छन्, कसैले यतै कमाउँछन् । हाम्रो त बुढेसकाल लाग्यो । खाने, बस्ने, अलिअलि खेती किसानी गर्छाै ।
हामीले जे गर्छौं, त्यही काम गर भन्दा छोराछोरीले नमानेपछि हामीलाई त नराम्रो लागेको थियो तर अहिले आएर त खुसी लाग्छ । छोराछोरीले चुनेको बाटो पनि राम्रो रहेछ भन्ने लाग्छ । अहिले त त्यो खालको भेदभाव पनि छैन नि !
भिडियो अंश :
प्रकाशन मिति २०८१ चैत्र २४ गते आइतवार