त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्करकी हर्कमाया थामी शक्तिशाली भूकम्पबाट घर भत्किँदा घाइते मात्रै हुनु भएन पछि विस्थापित पनि हुन पुग्नुभयो । उहाँको घर भएको जिल्ला सिन्धुपाल्चोकमै २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछिका परकम्पहरूका कारण सबैभन्दा बढी जनधनको क्षति भएको थियो ।
गोरखा भूकम्पका नामले पनि चिनिने उक्त भूकम्प भएको आठ वर्ष हुँदा पनि सिन्धुपाल्चोकका पीडित र प्रभावित व्यक्तिका दुखाइ र भोगाइहरू आलै भेटिए । त्यहाँका भूकम्प पीडित र प्रभावितले त्यति बेलाका कम्पनहरू आफूलाई ताजै लाग्ने गरेको पनि बताए । त्यस्तै र तिनैमध्येकी एक हुनुहुन्छ, हर्कमाया थामी ।
हर्कमायाका अनुसार, त्यति बेला भत्किँदै गरेको आफ्नै घरको भग्नावशेषले उहाँलाई पुर्यो र तिघ्राको हड्डी नै भाँचियो । उहाँलाई उपचारका लागि सिन्धुपाल्चोकस्थित चौतारा लगेर नभएपछि काठमाडौँ पुर्याइयो । औषधि उपचार सरकारबाट भयो ।
तत्काल उपचार पाए पनि दुखाइले भने हर्कमायालाई आठ वर्षसम्म पनि छोडेको थिएन । एक वर्षअघि भेट हुँदा उहाँले भन्नुभएको थियो, “गाउँमा भूकम्प पीडितमध्ये म अलि बढी प्रभावित भएकाले तालिममा सहभागी हुन पाएँ र त्यहीँबाट सिकेको कामले गुजारा चलाइरहेको छु ।”
हर्कमायाले बाँसको चोयाका मुडा, भकारी, डोको, थुन्चे, पेरुङ्गा, मकैको खोस्टाको चकटी र परालको सुकुल बनाउने गरेको बताउनुभयो । यी कुरा बताइरहँदा उहाँ ६५ वर्षकी हुनुहुन्थ्यो । उमेरका कारण खेतीपातीको काम गरेर खान नसक्ने अवस्था भयो । हर्कमायाले भन्नुभयो, “मेरो स्वास्थ्य देखेपछि बसेरै गर्न सकिने काम सिकाउन २०७४ सालमा जस्तो लाग्छ, पालिकाले सिफारिस गर्यो र एउटा संस्थाले धादिङ लगेर तालिम दियो, संस्थाको नाम पनि बिर्सिसकेछु ।”
उक्त तालिममा बाँस, मकैको खोस्टा र परालका विभिन्न सामग्री बनाउन सिकाइयो । त्यसबाहेक पनि आफूले ऊनका गलबन्दीदेखि स्वेटरहरू बुन्नुका साथै हस्तकलाका सामानहरू बनाउने गरेको हर्कमायाले बताउनुभयो । ती काममा आफूलाई छोराले साथ दिएको र सहयोग गरिरहेको पनि उहाँको भनाइ थियो ।
बजारको अभावले भने सामानको बिक्री हुन नसकेर आफूहरूलाई गाह्रो पारिरहेको हर्कमायाको अनुभव थियो । उहाँले बाँस आदि कच्चा पदार्थ किनेर सामान बनाउनुपर्ने तर ती सामान हत्तपत्त बिक्री नहुने, बिक्री भइहाले पनि आफ्नो लगानी र मिहिनेतको खर्च उठाउनै गाह्रो हुने गरेको गुनासो गर्नुभयो ।
‘सन्धान’ टोली ऐतिहासिक घटना र ती घटनाले स्थानीय महिलामाथि पारेका प्रभावको खोजीका क्रममा २०८० असोजमा सिन्धुपाल्चोक पुगेको थियो । त्यति बेला हर्कमाया पिस्करस्थित उहाँकै घरमा आफूले बनाएका सिपमूलक सामानका साथमा भेटिनुभयो । उहाँसँग कुराकानी पनि भयो । कुराकानी २०७२ सालको भूकम्पको असर, सिपमूलक वस्तुहरूको उत्पादन, बिक्री, आयआर्जनसँगै चुनौतीपूर्ण जीवनभोगाइका विषयमा केन्द्रित थियो ।
प्रस्तुत छ, हर्कमाया थामीसँग ‘सन्धान’ का तर्फबाट समीक्षा गाहा र मुकुन्द बोगटीले गर्नुभएको सोही कुराकानीको भिडियो अंश :
प्रकाशन मिति : २०८१ पाैष १० गते, बुधवार