राष्ट्रिय जनगणना २०७८ मा उल्लेख भएअनुसार थामी जातिको जनसङ्ख्या ३२ हजार ७४३ रहेको छ । यो जाति अति सीमान्तकृत समुदायमा पर्छ । थामीहरूको मुख्य बसोबास दोलखा, सिन्धुपाल्चोक र रामेछाप जिल्लामा छ भने अरू जिल्लामा पनि थामी जातिका मानिसहरू छरिएर बसेका छन् । सिन्धुपाल्चोक जिल्लाको चोकटी, घोर्थली, धुस्कुन, पिस्कर, तौथली, राम्चे र कर्थलीमा अलि बढी बसोबास रहेको छ ।
पुरानो पिस्करस्थित चोकटीकी अस्मिता थामीले राजनीतिक तथा सामाजिक क्षेत्रका विभिन्न कार्यक्रममा प्रत्यक्ष–परोक्ष सहभागी हुँदै आएको झन्डै एक दशक भयो । उहाँको जन्म २०४८ सालमा एउटा राजनीतिक परिवारमा भयो । उहाँले पाँच वर्षको उमेरमा नटेक्दै देशमा सशस्त्र द्वन्द्व सुरु भएको थियो । त्यसको प्रभाव उहाँमा पनि पर्न थाल्यो । सात कक्षा पढ्दापढ्दै अस्मिताले पढाइ नै छोड्नुपर्यो । त्यसलगत्तै उहाँको बिहे गरिदिने काम भयो । बिहेपछि घरपरिवारको कामको बोझले उहाँलाई भ्याइनभ्याइ भयो, पढाइ अघि बढ्न सकेन । दुई सन्तानको जन्माइ, हुर्काइसँगै घरव्यवहारको कामले थिचिँदाथिचिँदै पनि उहाँले २०७५ सालदेखि भने आफ्नै गाउँठाउँमा स्वयंसेविका भएर सामाजिक काममा हात बढाउनुभयो । ‘सन्धान’ टोली २०८० असोजमा सिन्धुपाल्चोक गएको बेला त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर २ पुरानो पिस्करस्थित चोकटीमा पुगेर अस्मितालाई भेटेको थियो । त्यति बेला उहाँसँग व्यक्तिगत जीवनभोगाइसँगै स्वयंसेविका भएर काम गर्दाको अनुभव र थामी महिलाको आर्थिक, सामाजिक, शैक्षिक अवस्थाका बारेमा कुराकानी भयो । प्रस्तुत छ, ‘सन्धान’का तर्फबाट समीक्षा गाहाले गर्नुभएको सोही कुराकानीमा आधारित अस्मिता थामीको स्वकथन :
मलाई द्वन्द्वकालको अहिले पनि सम्झना छ, डर पनि लाग्छ । २०५८ सालतिर माओवादीको बिगबिगी थियो । हाम्रो घर माथितिर माओवादी आएर कपडाको पोकापोकी जस्तै डल्लो देखाउँदै ‘हामीसँग हिँड्, भनेको नमानेर पढ्न गयौ भने बम पड्काइदिन्छौँ’ भन्थे । यी यस्ता गतिविधिहरू घर वरपर देखिने भएकाले परिवारको सल्लाहमा मैले पढाइ छोड्नुपर्यो । दाइले पनि ‘दिदीले पाँच कक्षा पढ्नुभयो, मैले चार पढँे, भाइले पाँच पढ्यो, तैँले सात कक्षा पढिसकिस् अब छोड्दे’ भन्नुभयो । पढाइ छोडेपछि लगत्तै बिहे गर्दिनुभयो । यसै पनि थामी समुदायमा छोरीको सानो उमेरमै बिहे गर्दिने चलन थियो । कहीँकतै आजकाल पनि यस्तो चलन छँदैछ । ऊ बेलामा परिवारले नै अशिक्षाका कारणले पनि हो, अलि पाको उमेरको केटा पाइयो भने ‘यसले पाल्छ’ भन्दै बिहे गर्दिन्थे । अचेल सामाजिक सञ्जाल, मोबाइलबाट मायाप्रेम गरेर उमेर नै नपुगी आफैैँ बिहे गर्नेहरू पनि छन् । त्यो बेला त बिहे गर्नुपर्छ भनेर परिवारले केटा खोजिसकेपछि आफूले बिहे गर्दिनँ भन्ने कुरा हुँदैनथ्यो । मेरो पनि त्यही भएको हो । त्यो बेला जे भए पनि अहिले मेरो जीवन राम्रै चलिरहेको छ । दुई जना छोरी छन् ।
मलाई लाग्छ, अहिले बालविवाहको स्वरूप बदलिएको छ । पहिले परिवारको कारण अहिले आफ्नै रहरले हाम्रो समुदायमा बालबिहे भइरहेको छ । अहिले शिक्षित भए पनि पहिलेको अशिक्षित जस्तै अवस्था भयो । विज्ञान र प्रविधिको युगमा मोबाइल जुनसुकै कुनामा पुग्यो । यसबाट थामी समुदायका बालबालिका पनि अछुतो रहेनन् । मोबाइलका कारण सानैमा बिहे हुन्छ । त्यसरी उमेर नपुगेरै गरेको बिहेले अनेक समस्या झेल्नुपर्ने देखिन्छ । बालबच्चा जन्मेपछि आर्थिक समस्या पर्छ । आमा र बच्चाको स्वास्थ्यमा समस्या पर्छ । यस्तै समस्या आइपर्ने कारणले कतिको त छोडपत्र (सम्बन्धविच्छेद) नै हुने गरेको छ ।
पहिले पहिले महिलाहरू श्रीमान्काे दबाबमा हुन्थे । आफ्नो कमाइ हुँदैनथ्यो । आफूसँग केही नभएपछि महिलाहरू बोल्न सक्दैनथे । बोल्न पाउँदा पनि पाउँदैनथे । श्रीमान् वा परिवारका सदस्यले जे भन्यो त्यही मानेर बस्नुपर्ने अवस्था थियो । कस्तो लगाउने र कहाँ जाने वा नजाने भन्ने पनि महिलाको आफ्नो निर्णयमा हुँदैनथ्यो । चाहिने कुरामा बोल्यो भने त ‘कत्ति बाठी भएको आइमाई’ भन्थे । घरकाले नभने पनि समाजले भन्थ्यो । (मानव अधिकार र महिला) अधिकारको बारेमा थाहै थिएन । अहिले बिस्तारै समय परिवर्तन भइरहेको छ । महिलाले पनि बिस्तारै बोल्न, हिँड्न, डुल्न थालेका छन् । म पनि यसो गर्छु, त्यहाँ जान्छु भन्ने अवस्था हुँदैछ । अहिले त बोल्यो भने पनि राम्रै मान्छन् । कसैको छोरी, बुहारीले बोल्यो भने पनि ‘शिक्षित भएछ, बुझ्ने भएछ’ भन्छन् । यस्तो मान्छे समाजमा चाहिन्छ पनि भन्न थालेका छन् । समाजमा यस्तो धेरै परिवर्तन आइरहेको छ । महिलाहरू आर्थिक रूपमा सशक्त हुँदैछन् । उनीहरू केही न केही कमाउने काम गर्छन् ।
आर्थिक रूपले पनि महिलाहरूले कमाउन थाले । पहिले पहिले श्रीमान्ले कमाएर ल्याउने अनि श्रीमान्कै ‘अर्डर’ (आदेश र इच्छा) मा महिलाहरू चल्नुपर्ने अवस्था थियोे । अहिले त घरमा यति सामान ल्याउने, यति खाने, यस्तो खाने भन्ने कुरा महिलाको निर्णयबाट पनि हुन थाल्यो ।
मेरो दुवै (माइती र घर) राजनीतिमा लागेको परिवार हो । म पनि राजनीतिका कुरा सुन्दै हुर्किएँ र त्यसमा मलाई चासो लाग्दै गयो । त्यो भएर म पनि राजनीति र समाजका काममा हिँड्न थालेँ । कतिले त ‘बुढा सोझो छ, जता भने पनि जान दिने, केही पनि नभन्ने’ जस्ता कुरा पनि गर्छन् । कसैले ‘कस्तो बुझ्ने श्रीमान्, कतै जान्छु भने पनि हुन्छ भन्ने’ पनि भन्छन् । जे होस्, मलाई श्रीमान्काे सहयोग छ । आफूले पनि सम्झाउन र बुझाउन सक्नुपर्छ । आफू कहाँ र किन हिँड्दैछु भनेर घरमा भन्नुपर्छ । त्यो महिला होस् वा पुरुष जसले पनि भन्नुपर्छ । कार्यक्रम र तालिमहरूमा गएर केही सिक्न र बुझ्न पाउँदा आफ्नो लागि पनि फाइदा हुन्छ ।
अहिले महिलाहरूको नाममा पनि घरजग्गा र सम्पत्ति राख्ने अभ्यास हुन सुरु हुँदैछ । आफ्नो भाषा, संस्कृति संरक्षणमा थामी समुदायका मानिसहरू लाग्न थालेका छन् । स्थानीय पालिकासँगको समन्वयमा भाषाको तालिम दिने गरिएको छ । यसका साथै, विकास निर्माणदेखि मान्छेको सोचाइमा पहिलेभन्दा निकै परिवर्तन आइरहेको छ । अहिले पढेलेखेका र अलि गनिने खालका जागिर खाएका थामी महिलाहरू पनि बढ्दैछन् ।
आर्थिक रूपले पनि महिलाहरूले कमाउन थाले । पहिले पहिले श्रीमान्ले कमाएर ल्याउने अनि श्रीमान्कै ‘अर्डर’ (आदेश र इच्छा) मा महिलाहरू चल्नुपर्ने अवस्था थियोे । अहिले त घरमा यति सामान ल्याउने, यति खाने, यस्तो खाने भन्ने कुरा महिलाको निर्णयबाट पनि हुन थाल्यो । महिलाले गाई, भैँसी, बाख्रा, खरायो पालन गर्ने, हाँस, कुखुरा पाल्ने र बेच्ने, तरकारी खेती गरेर आयआर्जन गर्नेतिर महिलाहरू लागिरहेका छन् । गाउँघरमा अचेल श्रीमतीको कमाइमा घरव्यवहार चलेको परिवार धेरै देख्न पाइन्छ । १२/१५ वर्ष अघिसम्म यस्तो देख्न मुस्किल थियो । काम खोज्ने, आत्मनिर्भर बन्ने, उद्यमशील बन्ने चाहना यहाँका महिलामा धेरै छ । उद्यमशील बन्नका लागि तालिम पनि दिइन्छ तर बजारीकरणको भने समस्या छ । बजार नहुँदा उद्यमशील बनेर दुईचार पैसा कमाउने महिलाको चाहना पूरा भएको छैन । यहाँ सिलाइकटाइदेखि मुढा बनाउने, गलैँचा बुन्ने जस्ता तालिम आयो तर ती सामान बेच्ने ठाउँ नभएपछि त्यो त्यत्तिकै भयो । तालिम लिएका महिलाहरू यत्तिकै बस्न बाध्य छन् ।
थामी महिलाहरू समूहमा आबद्ध भएका छन् । यहाँ एक घरबाट एक जना पनि समूहमा आबद्ध नभए समूहबाट पाउने सुविधाबाट वञ्चित हुने भन्ने नियम बनाइएको छ । यसरी समूहमा लाग्दा महिलाहरूलाई भेला, बैठकमा जाने, घरबाहिर निस्कने र परेका ठाउँमा बोल्ने अवसर मिलेको छ । महिला समूहमा पैसा जम्मा गर्ने, आवश्यक परेको बेला समूहबाट ऋण लगेर केही गर्ने, आवश्यक परेको कुरा टार्न पनि सजिलो भएको छ । समूहमा भेला भएर महिलाले गाउँटोल सरसफाइको कुरा, पोषणका कुरा, महिलाको स्वास्थ्यका कुरा गर्छन् । महिलाले सामाजिक विकृति र विसङ्गतिविरुद्ध पनि बोल्न थालेका छन् । यसमा दसैँ, तिहार जस्ता चाडबाडलाई आफ्नो गच्छेअनुसार मनाउने, धेरै जाँडरक्सी नखाने, घर र समाजलाई अशान्त नबनाउने जस्ता कुराहरू हुन्छन् । यस ठाउँका महिलाहरूलाई विभिन्न सङ्घसंस्थाले पनि सहयोग गर्यो । ‘बिउपल’ (आयआर्जनका लागि दिइने सहयोग) दिन्थे । अहिले स्थानीय सरकार आएपछि सरकारले नै गर्छ भनेर होला, संस्थाहरूको सरसहयोग र तालिम, गोष्ठीहरू हुन छाडेका छन् ।
मैले २०७५ साउनबाट स्वयंसेविका भएर काम सुरु गरेको थिएँ । हालसम्म पनि त्यो काम गरिरहेको छु । सेवाको काम गर्दा आफूलाई सन्तुष्ट भएको महसुस हुन्छ । ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको अवस्थालाई हेरचाह गर्ने, आवश्यक सल्लाह, सुझाव दिने काम हामी गर्छौं । कोरोना भाइरसबाट कोभिड–१९ महामारी फैलिएको समयमा पनि मैले सामाजिक दुरी कायम गरेरै भए पनि मास्क, सेनिटाइजरहरू बाँड्ने काम गरेर आफ्नो स्वयंसेवी ‘धर्म निर्वाह’ गरिरहेँ । त्यति बेला विशेष गरी गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिकलाई सकेसम्म सेवा दिने काम गरियो । कहिले बुढाबुढी उमेरका आमाबुबाले बोलाउनु हुन्थ्यो । त्यति बेला कोरोनाको डर नमानी म उहाँहरूलाई भेट्न जान्थेँ । अनि, उहाँहरूको समस्या के हो, अस्पतालसम्म पुर्याउनुपर्ने हो कि आफैँ सरसल्लाह दिएर हुने हो, त्यो काम गर्थें । हामीले गर्भवती, नवजात शिशु र पाँच वर्षमुनिका बालबालिकाको तौलका साथै स्वास्थ्य अवस्था कस्तो छ भनेर काम गर्नुपर्छ । ज्येष्ठ नागरिकको हेरचाह, सरसफाइ र स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने जस्ता विषयमा आवश्यक सरसल्लाह दिने गर्छौं । सेवा नै धर्म हो जस्तो लाग्छ, त्यसैले पनि म आफ्नो पेसाप्रति सन्तुष्ट छु ।
प्रकाशन मिति : २०८१ मंसिर २५ गते, मङ्गलवार