– सरिना द्योला
सरिना द्योला भक्तपुर नगरपालिका वडा नम्बर ५ को दलित महिला वडा सदस्य हुनुहुन्छ । आफूलाई नेवाः दलित समुदायको मान्ने उहाँ हाल स्थानीय तहमा दोस्रो कार्यकाल (२०७९–२०८४) का लागि पनि वडा सदस्य हुनुहुन्छ । पहिलो पटक दलित महिला वडा सदस्य पदमा चुनाव लडेर जितेकी उहाँ दोस्रो पटक निर्विरोध निर्वाचित हुनुभयो । बिजनेस स्टडिजमा स्नातक (बिबिएस) गरेकी उहाँले कानुनमा स्नातक (एलएलबी) अध्ययन पनि पूरा गर्नुभयो । परम्परादेखि नै सरसफाइ गर्ने पेसा अँगाल्दै आएको यो समुदायमाथि नेवाः समुदायभित्रैबाट अझै पनि विभेद हुने गरेको गुनासो छ । यसैले सरिनाले आफू बुझ्ने भएदेखि आफ्नो समुदायमाथि भइरहेको विभेदविरुद्ध आवाज उठाउँदै आउनुभयो । यसै क्रममा उहाँ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सँग आबद्ध रही जनप्रतिनिधिसमेत हुनुभयो । जनप्रतिनिधि भएपछि पनि कतिपय अवस्थामा आफूलाई विभेद भएको महसुस उहाँले गर्नुभएको छ । सरिनासँग नेवाः दलित समुदायमाथि हुने गरेका विभेद, छुवाछुत र विशेष गरी द्योला समुदायको आर्थिक तथा सामाजिक अवस्थाका विषयमा २०८१ जेठमा कुराकानी गरिएको थियो । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट प्रणेताले गरेको सोही कुराकानीमा आधारित दलित महिला वडा सदस्य तथा स्थानीय जनप्रतिनिधि सरिना द्योलाको स्वकथन :
मेरी आमा ज्ञानलक्ष्मी पोडे र बुवा शिव पोडेका चार सन्तानमध्ये म कान्छी हुँ । मेरी एक दिदी हुुनुहुन्छ र दुई भाइहरू छन् । मेरो जन्म २०४५ सालमा भएको हो । भक्तपुर (जिल्ला) को भेलुखेलमा जन्मेको हुँ । हामी आफूलाई नेवाः दलित भन्छौँ । (हाम्रो परिवार र समुदायका) पुरानो पुस्ताले आफ्नो थर पोडे भन्थे र लेख्थे । पुरानो पुस्ताका व्यक्तिहरूको नागरिकतामा थर पोडे नै (लेखिएको) हुन्छ । अचेल नयाँ पुस्ताले (आफ्नो थर) द्योला लेख्ने र भन्ने गर्न थाले । द्योला शब्द (नेपालभाषाको) द्यःपाला (Dyopala) बाट आएको हो । द्यःपालाको अर्थ पुजारी हुन्छ । त्यसकारण हाम्रो थरका कतिपय मानिसहरू मन्दिरमा पुजारी हुनुहुन्छ । उहाँहरूले मन्दिरमा पुजारी भएर काम गर्दा पालामा दियो बाल्ने, सरसफाइ गर्ने र मन्दिरमा चढाएको भेटी लिने गर्नुहुन्छ । काठमाडौँको तिलगङ्गा, भद्रकाली, दक्षिणकाली, मैतिदेवीलगायत ठाउँमा रहेका मन्दिरमा द्यःपाला समुदायका व्यक्ति पुजारी हुनुहुन्छ ।
हामीलाई नेवार समुदायकै भने पनि कतिपय नेवारी संस्कारका कुरा हामीसँग मिल्दैन । हामीले मुख्यमुख्य संस्कारलाई मात्र मान्दै आएका छौँ । (हामीले) सबै नेवारी संस्कार, चाडपर्व नमान्नुमा सायद गरिबीको कारणले हो जस्तो लाग्छ मलाई । पहिले हाम्रो समुदायका मानिसको आर्थिक अवस्था कमजोर थियो । नेवाः समुदायमा मनाइने ‘किजा पूजा’, जसलाई नेपाली भाषामा ‘भाइटीका’ भनिन्छ । त्यसलाई हाम्रो समुदायमा आर्थिक रूपले बलियो हुँदै गएपछि मात्रै मनाउन थालियो । त्यो भएर चाडबाड मनाउने कुरा आर्थिक अवस्थासँग जोडिने रहेछ जस्तो लाग्छ ।
द्योला समुदायका हामीले पहिल्यैदेखि सरसफाइ पेसा गर्दै आयौँ । हामीले नै सरसफाइ गर्ने, उल्टै हामीलाई फोहोरी भन्ने जस्तो व्यवहार गरियो । कतिपयले अहिले पनि गर्छन् । सफा गर्ने मान्छे आयो भने अहिले पनि छोइएला कि जस्तो व्यवहार पनि गर्छन् । दलितभित्रैका जातजातिमा पनि छुवाछुत हुन्छ, ठुलो र सानो जात भन्ने गरिन्छ । दलितभित्रै पनि श्रेणी छ । कसाही वा कसाई र कपालीहरू पहिले दलित थिए । स्थानीय तहको दोस्रो चुनावमा उहाँहरूले आफूलाई दलित नभएको बताएपछि राष्ट्रिय दलित आयोगले दलितको सूचीबाट ती थरहरूलाई हटायो ।
(सूचीबाट हटाइए पनि) कसै–कसैले अझै दलित नै हो भन्छन् । जे भए पनि (दलितभित्र र बाहिर समाजमा दलित भनिएकाहरूमाथि) विभेद अझै छ । यो यस्तो जात, त्यो त्यस्तो जातको भनेर अझै पनि विभेद गरिन्छ । कसाईले हामी (द्योला) लाई ‘चल्दैन’ भन्नुहुन्छ । उहाँहरूले आफूलाई (हामीभन्दा) ‘उच्च’ श्रेणीको ठान्नुहुन्छ । कतिपयले हामीसँग बिहेबारी गर्नुहुन्न भन्छन् । त्यो पनि विभेद नै हो । (जातका आधारमा हामीलाई) पहिले जस्तो छिः छिः, दुरदुर गर्ने, परपर गर्ने त अहिले हट्यो तर पनि हामीलाई (कतिपयले अझै पनि) ‘डोमिनेसन’ गर्न नै खोजेको महसुस हुन्छ । अरू समुदायले हामीलाई पहिला यिनीहरू ‘यस्तो’ थियो, अहिले पढेलेखेर माथि आयो, पैसा कमायो, आर्थिक अवस्था पनि राम्रो हुँदै गयो भन्छन् । यस्तो भनेर उनीहरूले हाम्राबारेमा नकारात्मक रूपले कुरा गर्छन् । हाम्रो समुदाय अझै पनि परापूर्वकालकै जस्तो (विभेद सहने) हुनुपर्छ भन्ने सोच राख्नेहरू पनि अझै छन् । नेवाः समुदायमा आफूलाई ‘हामी माथिल्लो जात’ का हौँ’ भन्ने र ‘माथिल्लो जातकै’ भनिएकाहरूले त्यस्तो सोच्ने गरेको पाइन्छ ।
(मेरो अनुभवमा) पढेलेखेका (कतिपय व्यक्ति) ले नै यस्तो (विभेदकारी) व्यवहार देखाउँछन् । हाम्रो वडाको बैठक बस्दा ‘माइन्युट’ लेख्दा सुरुमा वडा अध्यक्ष, त्यसपछि, कार्यपालिका सदस्य (भएमा), अनि पुरुष वडा सदस्यको नाम राखेर महिला वडा सदस्यको नाम राखिन्छ । वडा सदस्यहरूको जानकारी दिन वडामा हुने ‘डिस्प्ले’ मा पाँच जनामध्ये मेरो नाम अन्तिममा राखिएको छ । बैठकमा राखिने माइन्युटमा भने मेरो नाम ‘सेकेन्ड लास्ट’ (अन्तिमबाट दोस्रो) मा छ ।
म नेपाल मजदुर किसान पार्टीमा आबद्ध छु । म जनप्रतिनिधि भएको पनि यही पार्टीबाट हो । मैले २०७४ सालको पहिलो स्थानीय तह चुनावमा नेमकिपाले नै टिकट दिएर चुनाव लडेँ र जितेँ पनि । दोस्रो पटक २०७९ सालमा निर्विरोध निर्वाचित भएँ । जनप्रतिनिधि भएपछि पनि कहिलेकाहीँ जातको आधारमा हुने विभेदका घटना मैले भोगेको छु । दुई वर्षअघि स्थानीय चुनाव सकिएपछि जनप्रतिनिधिहरूसहित पार्टीको बैठक बस्यो । बैठकमा हाम्रो वडाका पाँचैजना जनप्रतिनिधि लहरै बसेका थियौँ । बैठक चल्दै गर्दा चिया र फलफूल दिइयो । सबैले चिया खाइसकेपछि एक जना २४–२५ वर्षको जस्तो देखिने भाइ आए र उनले सबैको हातबाट कप र फलफूलको बोक्रा लिँदै आए । हामी लहरै बसेको भए पनि उनले मेरो हातमा भएको कप र केराको बोक्रा लिएनन् । (त्यसरी त्यो घटनामा) मलाई मात्र अलग्याए उनले । मलाई त्यो घटनापछि अहिलेको युवा पुस्तामा पनि यस्तो (विभेदकारी) सोच ? (यस्तो भएपछि अब व्यवहार) परिवर्तन कसले र कसरी गर्ने ? भन्ने प्रश्न मनमा आयो । नयाँ पुस्ताले नै त्यस्तो गरेपछि पुराना पुस्तालाई कसरी बुझाउने ? कसरी सम्झाउने ? सामाजिक परिवर्तन कसरी गर्ने ? मलाई फरक व्यवहार गरेको कुराले भन्दा पनि युवा पुस्ताको सोच पनि यस्तो भनेर बढी पीडा भयो र चिन्ता लाग्यो । नबुझ्नेलाई पो बुझाउने ! बुझेर पनि बुझ पचाउनेलाई के गरौँ ?
प्रायः बुझेकै मान्छेहरू जानाजानी विभेद गर्न उन्मुख हुन्छन् । शिक्षित मान्छेले नै जानीजानी विभेद र दमन गर्ने गरेका छन् । मैले धेरै यस्तै देखेको छु । ‘यसलाई हाम्रो हाराहारीमा किन राख्ने ? यसले हाम्रो ‘लेबल’ (तह) मा किन आयो ?’ जस्तो गर्छन् । म क्षमतावान् हुँदाहुँदै पनि (अरू जातीय पृष्ठभूमिबाट आएका क्षमतावान्हरूको हाराहारीमा) राख्न चाहँदैनन् ।
विभेदकारी सोच र व्यवहार हटाउन सबभन्दा पहिला त जनचेतनाका कार्यक्रम घर–घरमा र समुदाय–समुदायमा पुर्याउनुपर्छ भन्ने मलाई लाग्छ । आखिर हामी पनि मान्छे नै हौँ भनेर (पढेलेखेका कतिपय मान्छेलाई पनि) बुझाउन अझै बाँकी भयो । समानताको सोच सबैमा हुनुपर्छ र मानिस–मानिसबिच भेदभाव हुनुहुँदैन भनेर सबैले सोच्नुपर्यो ।
प्रकाशन मिति : २०८१ मंसिर ३ गते, साेमवार