Home Insight समुदायलाई सचेत बनाउँदै, सीमान्तकृतका प्रतिनिधि महिला

समुदायलाई सचेत बनाउँदै, सीमान्तकृतका प्रतिनिधि महिला

38
0

श्रीमाया चेपाङ, इस्मीता थामी र तारा माझी प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । उहाँहरू २०७९ सालको स्थानीय निर्वाचनमा अति सीमान्तकृत समूहमा पर्ने समुदायबाट वडा सदस्य निर्वाचित हुनुभएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार, चेपाङ समुदायको जनसङ्ख्या ८४ हजार ३६४ रहेको छ । धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ८ की श्रीमाया चेपाङले आफ्नो वडाबाट सोही समुदायको प्रतिनिधित्व गर्नुहुन्छ । यस्तै, कुल जनसङ्ख्या ३२ हजार ७४३ रहेको थामी समुदायको प्रतिनिधित्व दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ की इस्मीता थामीले गर्नुहुन्छ भने कुल एक लाख एक हजार ३५२ जनसङ्ख्या रहेको माझी समुदायको प्रतिनिधित्व सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर १४ की तारा माझीले गर्नुहुन्छ । आदिवासी जनजाति समुदायभित्र सीमान्तकृत, अति सीमान्तकृत र अल्पसङ्ख्यक समुदायहरू छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा उल्लिखित विवरण अनुसार, आदिवासी तथा जनजाति समुदायका ५९ वटा जातिहरूलाई पाँच समूहमा सूचीकृत गरिएको छ । ती समूहमा लोपोन्मुख समुदाय, अति सीमान्तकृत, सीमान्तकृत, सुविधा वञ्चित समूह र उन्नत समूह पर्दछन् । समग्रमा यी समुदायका मानिसलाई राजनीतिक, आर्थिक र सामाजिक रूपले पछाडि परेका तथा पारिएका भनेर बुझिन्छ । यस समुदायको बसोबास प्रायः भौगोलिक रूपमा विकट क्षेत्रमा हुने गरेको छ । यस्तो समुदायका मानिसहरू राज्यको सेवा सुविधाबाट वञ्चित रहेका र मानव विकास सूचकाङ्कमा स्थिति कमजोर भएका देखिन्छन् । आदिवासी जनजातिभित्रका अति सीमान्तकृत समूहमा पर्ने समुदायबाट वडा सदस्य हुन सफल केही महिलाहरूमध्ये बागमती प्रदेशका तीन जना वडा सदस्यसँग ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले २०८१ भदौं मा कुराकानी गर्नुभएको थियो । मूलतः जनप्रतिनिधि भएर काम गर्दाका अनुभव, हुर्काइ, बुझाइ र समग्रमा उहाँहरू सम्बद्ध समुदायका महिलाको अवस्थाबारे उहाँहरूसँग जिज्ञासा राखिएको थियो । त्यसैका आधारमा प्रस्तुत छ, श्रीमाया चेपाङ, इस्मीता थामी तारा माझीको छुट्टाछुट्टै स्वकथन :

नाम मात्रको होइन अहिले त काम नै गरिरहेको छु

– श्रीमाया चेपाङ (माया) बेनीघाट रोराङ गाउँपालिका–८, धादिङ

म श्रीमाया चेपाङ । मलाई माया पनि भन्छन् । मेरो घर धादिङ । २०३४ सालमा जन्मेको । अहिले ४७ वर्ष पुगेँ । अहिले बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ८ को महिला वडा सदस्य छु । योभन्दा पहिला २०५४ सालमा धादिङको धुसा गाविस वडा नम्बर ३ को वडा सदस्य भएको थिएँ । चेपाङ समुदाय यसै पनि पछाडि परेको समुदाय, मैले स्कुल पढ्न पाइनँ । १३ वर्षमा बिहे भयो । बिहेपछि त झन् घरायसी काममै लाग्न परिहाल्यो । दिनहरू त्यस्तै गरी बित्दै थियो । एक दिन मलाई ‘वडा सदस्यमा उठ’ भनेर प्रस्ताव आयो तर कसरी हुन्छ भन्नु र ? त्यति बेला २०/२१ वर्षको थिएँ । ‘नाम लेख्न त नजान्नेले के काम गर्न सक्छु र’ जस्तो लाग्थ्यो । नपढेकै भए पनि गाउँघरमा आवश्यक परेका बेलामा बोल्नुपर्छ भन्ने चाहिँ मलाई लाग्थ्यो र म बोल्थेँ पनि । त्यही भएर मलाई वडा सदस्य बन्न भन्नुभएको होला । त्यति बेला वडा सदस्य त भएँ तर काम भने खासै गरिनँ । काम त के बैठकमा समेत जानु परेन । वडा अध्यक्ष जानुहुन्थ्यो, गर्नुहुन्थ्यो, सकियो । निर्वाचित भएर पनि घरमै बसेँ । नामले मात्र वडा सदस्य हुँदोरहेछ भन्ने पनि मलाई लाग्थ्यो । मैले पढेलेखेको नभएर पनि मलाई कसैले नपत्याएको होला भन्ने ठान्थेँ । नपढ्नुको पीडा एकातिर छ, अर्कोतिर ‘नपढेको’ भनेर गाउँठाउँकाले गर्ने नराम्रो व्यवहारबाट बढी मन दुख्थ्यो । त्यसरी नामको मात्रै वडा सदस्य भएर पाँच वर्ष बित्यो ।

हाम्रो समुदायहरूको मुख्य काम खेतीपाती हो । त्यसैले खेतबारीमा काम गरेर हाम्रा दिनहरू बित्छन् । यसैगरी दिनहरू बित्दै गर्दा २०७९ सालको चुनावमा ‘वडा सदस्य बन्नू’ भनेर मलाई नेकपा माओवादीबाट कुरा आयो । फेरि वडा सदस्य भएँ । यो पालि त पहिला जस्तो होइन, काम नै गरिरहेको छु । वडा सदस्यको पनि धेरै काम हुँदो रहेछ भन्ने बल्ल बुझेँ । आफैँमा धेरै फरक महसुस भइरहेको छ । आफूले जानेबुझेका कुराहरू समुदायलाई सिकाउने र सचेत बनाउने गर्छु । पहिले आफूले पढेलेखेको छैन, वडा सदस्य भएर पनि केही काम गर्न सक्ने होइन भन्ने लाग्थ्यो तर हिजोआज ममा परिवर्तन आएको छ । बैठकमा जाने, कार्यक्रमहरूमा जाने, कुरा सुन्ने, एक–दुई कुरा बुझ्ने र अरूलाई बुझाउने काम गर्न थालेको छु । हाम्रो चेपाङ समुदायमा अहिले पनि बालविवाह छ । बालविवाह ठिक होइन । पढेर लेखेर आफ्नो खुट्टामा उभिन सक्ने भएपछि मात्रै बिहे गर्नुपर्छ भनेर बालबालिकालाई सम्झाउने गर्छु तर पनि बालविवाह भइरहेको छ । त्यसैले मैले वडा अध्यक्षलाई बालविवाह बढ्यो, तपाईं गएर सम्झाइबुझाइ गर्नुपर्‍यो भन्ने गरेको छु । आफ्नै समुदायमा बहुविवाह, बालविवाह ठिक होइन भन्नेदेखि लिएर विभिन्न कुरामा सचेतना फैलाउने काम गर्छु ।

मलाई एउटा बुझाइ भएको छ, घरबाहिरको काम गर्न र कुरा बुझ्न पढ्नै पर्ने भन्ने पनि रहेनछ । पढेको भए राम्रो त हुन्थ्यो होला तर नपढेको व्यक्तिले पनि आफ्नो गाउँठाउँको लागि काम गर्न सकिँदोरहेछ । घरबाहिर निस्किने, छलफलमा सहभागी हुने गर्दा मात्रै पनि बाहिरी अवस्थाका बारेमा थाहा पाइँदोरहेछ । यो कुरा सबैलाई बुझाउँछु । मेरो काममा श्रीमान्‌काे सहयोग पाएको छु । श्रीमान् पनि पढेलेखेको त होइन तर म मेरो वडाको काम, बैठक अथवा बाहिरी काममा जानुपरे ‘घरको काम म गर्छु, जाऊ’ भन्नुहुन्छ । म जस्तै उमेरका दिदीबहिनीका श्रीमान्‌हरूले पनि उहाँहरूलाई ‘समूहमा जानू, गएपछि केही कुरा थाहा हुन्छ’ भन्नुहुन्छ ।

हाम्रो वडामा महिलाहरूको ‘आमा समूह’ पनि छ । घरमै सीमित महिलाहरूलाई समूहमा बोलाउने, दुःखसुख साटासाट गर्ने अनि केही कुरा बोल्न सिकाउने गर्छौं । उहाँहरू पनि बोल्न थाल्नुभएको छ । पहिला जस्तो पुरुषहरूले पनि अहिले महिलालाई हेप्दैनन् । कहीँकतै जानुपरे ‘जानू’ भन्ने गर्छन् । वडामा केही तालिम, रोजगारीको अवसर आदिबारे एकअर्कालाई थाहा दिन र अप्ठेरोमा सरसहयोग लिन हुन्छ भनेर आमा समूह बनाइएको हो । म आफैँ पनि वडा सदस्य भएर ठुलो कुनै काम गरौँला भन्नेभन्दा पनि गाउँठाउँमा हुने गरेका विकृतिलाई कम गर्ने, आफ्नै समुदायका महिलाहरूलाई बोल्न र ‘घरबाहिर निस्कनुपर्छ’ भनेर सिकाउने जस्ता काम गर्दै आएको छु ।

महिलालाई टेको चाहिएको अवस्था

– इस्मीता थामी, कालिञ्चोक गाउँपालिका–५, दोलखा

मेरो नाम इस्मीता थामी । म ४७ वर्षको भएँ । घर दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ५ हो । हाम्रो वडामा थामी समुदायको बाक्लो बसोबास छ । म गठबन्धनबाट निर्वाचित भएँ, पार्टी त कांगे्रस हो । वडाबासीले पनि थामी समुदायबाट वडा सदस्य उठ्नुपर्छ भन्ने कुरा आएपछि म उठेँ । हाम्रो परिवारमै कांग्रेस पार्टीप्रतिको आस्था भएकाले म पनि कांग्रेस भएँ ।

वडा सदस्य हुनुअघिसम्म घरायसी काममै व्यस्त भएकी म वडा सदस्य भएपछि घरबाहिरका काममा व्यस्त छु । मैले अचेलका दिनहरूमा गर्ने काम अलि धेरै भएको छ । पढ्न त धेरै पढेको छैन, चार कक्षासम्म मात्रै पढ्न पाएँ । घरको आर्थिक अवस्था कमजोर थियो । त्यही भएर धेरै पढ्न पाइनँ । नपढे पनि म आफूलाई लागेको कुरा बोल्ने र बोल्नुपर्छ भन्ने खालको मान्छे हो । विभिन्न ठाउँमा आफ्नो समुदायको कुरा पनि राख्न सक्छु । त्यही भएर पनि पार्टीले वडा सदस्य उठ्न मलाई भनेको होला जस्तो लाग्छ । वडा सदस्य भएपछि पनि केही कुरा बुझ्न, सुन्न र थाहा पाउन सकिन्छ भन्ने थियो । त्यहीअनुसार नै गरिरहेको छु ।

हाम्रो समुदाय खेतीपातीमा संलग्न छ । म पनि घरायसी काममै दिन बिताउथेँ । वडा सदस्य भएपछि गाउँटोलमा वडामा आइपर्ने कामहरू गर्छु । समस्या समाधानको बाटो खोज्ने काम गर्दै आएको छु । हाम्रो ठाउँ अलि विकट क्षेत्रमा पर्छ । त्यही भएकाले पहिरो जाने समस्यासँगै बाटोको अवस्था नाजुक छ । यसैले त्यस्ता समस्याको व्यवस्थापनका लागि काम गरिरहेका छौँ ।

वडासँगै केही संस्थाहरूको सहयोगमा रुखबिरुवा रोप्ने जस्ता कार्यहरू गरेका छौँ । आदिवासी जनजातिमा पनि थामी अझै पछाडि परेको जाति हो । कतिलाई थामी कस्तो जाति हो भन्ने नै थाहा छैन । त्यो भएर थामी जातिका बारेमा पनि अरूलाई बुझाउन पर्छ जस्तो मलाई लाग्छ । हाम्रो समुदायको आर्थिक सहायताका लागि सिपमूलक तालिम कार्यक्रमहरू गर्नुपर्ने माग वडामा राखेँ तर पनि काम भइरहेको छैन । अन्य ठाउँमा जस्तो यहाँ सङ्घसंस्थाहरू आउने गरेका छैनन् । विकट भएकाले होला यहाँ त्यस्तो सङ्घसंस्थाहरू नआएको । महिलाहरूका लागि सिपमूलक तालिमका कार्यक्रम पनि यहाँ आउँदैन । हाम्रो समुदायका महिलाहरूले पढ्न पाउनु भएन । छोरीले पढेर के हुन्छ र भन्ने खालको मानसिकतासँगै यहाँ अशिक्षा छ । अहिले पनि केहीले माथिल्लो कक्षासम्म पढ्छन् । धेरैले त दुई–चार कक्षा पढ्दै छोड्ने गरेको अवस्था हाम्रो समुदायमा छ । यस समुदायमा केही पुरुषहरू विदेश गएका पनि छन् । घरबाहिर निस्किएर विदेशमा समेत काम गर्ने भएकाले यहाँका पुरुषहरूले बाहिरी वातावरणलाई बुझेका छन् । तर, महिलाहरू घरमै बस्ने र घरकै काम गर्ने हुँदा बाहिरी संसार बुझ्नमा पछि परेका छन् ।

म वडा सदस्य भएपछि पनि ‘काम गर्न सक्दैन’ भन्ने समाजको सोचले मलाई घेरेको थियो । तर, मैले जनप्रतिनिधि भएर आफ्नो ठाउँमा गर्नुपर्ने केही काम गरेँ । आफ्नै समुदायका महिलालाई ‘घरबाहिर निस्क’, ‘केही कुरा सुन्नुपर्छ, बुझ्नुपर्छ’ भनेँ । म आफैँ पनि वडा सदस्य नै भएर त हो घरबाहिर निस्केको । घरायसी कामै गर्नेभन्दा पनि घरबाहिर निस्केर दुई–चार कुरा बुझेँ । आफूले बुझेका कुरा वडाका विशेष गरी थामी महिलाहरूलाई सिकाएँ । यसरी सिकाउनु पनि मलाई ठुलो कुरा लागेको छ । वडा सदस्य भएर समुदायमा पूर्ण परिवर्तन त होइन तर आफैँमा पनि स–साना परिवर्तन आएको महसुस भएको छ ।

पहिले घरको काम गर्‍यो, मेलापात गर्‍यो, कसैसँग नबोल्ने, बोल्न पनि लाज मान्ने अवस्था थियो । अहिले म त्यस्तो छैन । यसैले महिलाहरू घरकै काममा व्यस्त हुने र घरबाहिर केही बैठक, छलफल भए पनि अघि नसर्ने अवस्थाका महिलाहरूलाई बोल्न नजाने ’नि घरबाहिरका काममा हिँड्नु चाहिँ पर्छ भन्ने गरेको छु । पछिल्लो समय महिलाहरू बैठकमा जाने, घरबाहिर समुदायका कुरा सुन्ने र बुझ्ने गर्न थालेका छन् । हाम्रो समुदायमा कतिपय परिवारका लोग्नेमान्छेहरूले अहिले पनि महिलाहरूलाई ‘घरबाट बाहिर निस्केर के हुन्छ ?’ भनेर मनोबल घटाउने जस्ता क्रियाकलाप गर्नुहुन्छ ।

हामीले विशेष गरी थामी महिला र अन्य वडाका महिलाहरू, जो घरभित्र मात्र व्यस्त हुनुहुन्छ, उहाँहरूका लागि सिपमूलक तालिमहरू उपलब्ध गराउने योजना छ । यसले गर्दा आर्थिक उपार्जनको लागि उहाँहरूको बाटो खुला हुने आशा गर्न सकिन्छ । मैले वडाका विभिन्न बैठकहरूमा थामी समुदायका महिलाहरू एकदमै पछाडि परे, अलिकति माथि उठ्न टेको लाउनुपर्‍यो भनेर प्रस्ताव गर्ने गरेको छु । यस समुदायमा महिलाहरू हातमा गन्न सकिने सङ्ख्यामा मात्रै जागिरमा छन् । आर्थिक अवस्था सामान्य मात्रै छ । त्यसकारण थामी महिलाका लागि पालिकाले विशेष रूपमा हेर्नुपर्छ भन्ने गरेको हुँ ।

बिस्तारै परिवर्तन देखिन थालेको छ

– तारा माझी, कमलामाई नगरपालिका–१४, सिन्धुली

मेरो नाम तारा माझी हो । म सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १४ को वडा सदस्य हुँ । ४० वर्षको भएँ । मैले १० कक्षासम्म पढ्न पाएँ । म पहिलादेखि नै नेकपा एमालेको राजनीतिमा थिएँ । टोल कमिटीको सदस्य थिएँ । हामी अलि पछाडि परेको जातिको मानिस हो । त्यो भएर आफूले बुझेको कुरा समुदायलाई बुझाउनुपर्छ भन्ने पहिल्यैदेखि मलाई लाग्थ्यो । त्यही भएर होला २०७४ सालको स्थानीय तहको चुनावमा उठ्न भन्नुभयो र उठेँ तर हारेँ । २०७९ सालमा मलाई फेरि उठाउनुभयो, यो पालि जितेँ र जनप्रतिनिधिको रूपमा काम गरिरहेको छु । म पहिलादेखि नै आफ्नो समुदायका लागि केही न केही गर्नुपर्छ भनेर काम गरिरहन्थेँ । विशेष गरी यो समुदायमा शिक्षा र स्वास्थ्यका बारेमा सचेतना फैलाउनुपर्ने भएकाले त्यो काम गरेँ । टोल कमिटीको सदस्य हुँदा टोलमा खानेपानीको समस्या थियो । त्यसो हुँदा खानेपानीको लागि पहल गरेँ र सफल भयो पनि ।

यस्ता विविध काम गर्ने र आफ्नो समुदायको लागि बोल्ने, आवाज उठाउने भएकाले मप्रति वडाका मानिसको विश्वास बढेको थियो । वडा सदस्यको जिम्मेवारीमा रहेपछि त झन् वडामा गर्नुपर्ने काम के छ, बिजुली नपुगेको घर कति छ, खानेपानीको धारा चाहिने कति छन् भनेर बुझ्नेदेखि भइरहेका विकासका कामको अनुगमन गरेर समस्या समाधान गर्नेतर्फ पनि काम गरियो । गाउँका र वडाका स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गरेँ । यहाँको विद्युत्को र बाटोघाटोको अवस्थालाई पनि हामीले प्राथमकितामा राखेर काम गर्दै आएका छौँ ।

हामीले बाख्रापालन कार्यक्रम ल्याएर वडाका जनजाति महिला र विपन्न वर्गका महिलालाई सहयोग पनि गर्‍यौँ। हाम्रो वडामा माझी समुदायका मानिसहरू धेरै हुनुहुन्छ । यस समुदायका महिलाहरूलाई ‘केही कुरा बुझ्न र सुन्नका लागि घरबाहिर जानुपर्छ’ भनेर सम्झाउँछु । हुन त कति महिलाहरू आफैँ अगाडि बढ्न नखोज्ने खालको पनि हुनुहुन्छ भने कतिको घरपरिवारका व्यक्तिले नै महिलाहरूलाई बाहिर हिँड्नु पर्दैन जस्तो गर्नुहुन्छ । पछिल्लो समय यसमा बिस्तारै परिवर्तन देखिन थालेको छ । पछिल्ला पिँढीलाई पढाउनुपर्छ भन्ने सचेतना सबैमा भएको छ । जुनकुनै समुदायबाट कुनै पनि सङ्घसंस्था र वडादेखि गाउँपालिकामा पनि आफ्नो समुदायको मानिस रहनुपर्ने रहेछ भन्ने महसुस हुँदैछ । विशेष त हामी पछाडि परेका समुदायका मानिसलाई के थाहा वडामा, गाउँमा के हुन्छ र के कस्ता कार्यक्रमहरू आउँछन् भन्ने ? त्यसकारण वडामा गाउँ, टोलमा भएका गतिविधि बुझ्नका लागि पनि केही अवसर आए त्यो प्राप्त गर्ने र त्यसको सदुपयोग गर्नु पनि आवश्यक रहेछ ।

वडा सदस्य नहुँदा मलाई वडामा भएका केही कुरा थाहा हुँदैन थियो । समुदायबाट कोही त्यहाँ पुग्दा समग्र समुदायकै लागि केही हुनेरहेछ भन्ने भएको छ । महिलाहरूको जमघटका लागि एउटा समूह पनि बनाएका छौँ । गाउँका महिलाहरू जति बेला पनि मेलापात र घरायसी काममा व्यस्त हुने भएकाले केही समय घरबाहिर निस्किएर सुखदुःखका कुरा गर्न पाउन् भनेर यो समूह बनाइएको हो । एकछिन भए पनि महिलाले घरबाट बाहिर निस्कन पाउँछन् । त्यही अवसरमा कहाँ के भइरहेको छ, कतै काम लाग्ने सिप सिकाउने अवसर छ कि भनेर बुझ्न पाउँछन् । समूहको जमघटमा जाँदा काम गर्ने र काम सिक्ने अवसर हुन सक्छ । यस्तै कुरा थाहा पाउन पनि महिलालाई सजिलो भइरहेको छ । समूहमा केही पैसा पनि बचत गर्ने गरिएको छ । त्यही बचतको पैसाले आर्थिक अप्ठेरामा परेका महिलालाई सानोतिनो सहयोग गर्ने गरिन्छ ।

प्रकाशन मिति : २०८१ असाेज २२ गते, मङ्गलवार


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here