देवकी पौडेल मानव अधिकारका लागि महिला, एकल महिला समूह बागमती प्रदेशका अध्यक्ष हुनुहुन्छ । उहाँ एकल महिला समूह, नुवाकोट जिल्लाको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । नुवाकोट जिल्लाको साबिक मनकामना गाविस अर्चले हाल किस्माङ गाउँपालिकामा २०३७ साल जेठमा जन्मिएकी उहाँले दुई दशकदेखि एकल महिलाको हक अधिकारका लागि काम गर्दै आउनुभएको छ । २०५४ सालमा १६ वर्षको उमेरमा उहाँको बिहे साबिक खानीगाउँ गाविस हाल लिखु गाउँपालिका ढिकुरेका कुमार पौडेलसँग भएको थियो । सशस्त्र द्वन्द्वको समय नेपाली सेनामा रहेका कुमारलाई २०६० सालमा ड्युटीमै भएका बेला मकवानपुरको हेटौँडा नजिक भैँसेबाट अपहरण गरियो । त्यसपछि श्रीमान्काे हत्या भएको देवकी बताउनु हुन्छ । श्रीमान् गुमेपछिको एक्लो जीवनमा आइपरेका दुःख, पीडा र सङ्घर्षका पहाडलाई पार लगाउँदै अघि बढेकी देवकीले आफू जस्ता अरू धेरै एकल महिलाको अधिकारका लागि लड्नुभएको छ । उहाँसँग २०८० भदौमा विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको उहाँकै घरमा पुगेर ‘सन्धान’ का लागि कुराकानी गरिएको थियो । प्रस्तुत छ, देवकी पौडेलसँग एकल महिलाका चुनौती, जीवनका उचारचढाव, सङ्घर्ष र सफलताका विषयमा पत्रकार सम्झना विकले गर्नुभएको कुराकानी
एकल महिला सञ्जालमा रहेर झन्डै १८ वर्षदेखि काम गरिरहनुभएको छ । एकल महिलाको अधिकारको कुरा गर्दा तपाईंको बिहे र श्रीमान्काे मृत्युका बारेमा कुरा गर्नुपर्छ होला । यसबारे केही बताइदिनु हुुन्छ कि ?
म सात कक्षा पढ्दै गर्दा २०५४ सालमा मेरो विवाह भयो । त्यति बेला मेरो उमेर १६ वर्षको थियो । बिहे गरेको तीन वर्षसम्ममा मेरा दुई सन्तान भइसकेका थिए । मेरो श्रीमान् नेपाल आर्मीमा कार्यरत हुनुहुन्थ्यो । यो २०६० सालको कुरा हो । त्यति बेला देशमा सशस्त्र द्वन्द्व चर्किरहेको थियो । श्रीमान् हेटौँडा नजिक भैँसेमा ड्युटीमा भएका बेला अपहरणमा पर्नुभयो । उहाँलाई तत्कालीन द्वन्द्वरत पक्ष माओवादीले अपहरण गरेर हत्या गरिदिएको हो । त्यसपछि मेरो दुःखका दिन सुरु भए । श्रीमान् बित्ने बेलासम्म मेरो नागरिकता, विवाह दर्ता केही पनि थिएन । उहाँको जागिरे जीवनका कारण कागजपत्र बनाउन समय मिलेन भने पनि हुन्छ । बिहे भएको छ वर्षमा कहिलेकाहीँ भेटघाट बाहेक हामी लगातार हप्ता–१० दिन पनि सँगै बस्न पाएका थिएनौँ ।
श्रीमान् बितेको खबर कसरी पाउनुभयो, सम्झिन चाहनुहुन्छ ?
म वैशाखको औँसीमा दाइको घरमा बस्न गएको थिएँ । त्यहाँ गएपछि श्रीमान्लाई फोन गर्न मन लाग्यो । फोन गरेँ तर कुरा हुन सकेन । श्रीमान् वैशाख २६ गतेदेखि नै हराइसक्नुभएको रहेछ । खै कसले हो, फोनमा कुरा गरेर तपाईंको श्रीमान्लाई भन्सारमा पठाएका छौँ । बुझ्नु, खोज्नु पर्दैन, आएपछि हामी आफैँ खबर गरौँला भन्नुभयो । त्यसको केही दिनमा सिभिल ड्रेसमा सेनाका केही व्यक्ति घरमा बुझ्न आए । ‘तपाईंलाई तपाईंको श्रीमान्ले खर्च पठाइदिनुभएको छ’ भनेर पाँच सय रुपैयाँ झिकेर दिनुभयो । त्यसको केही दिनपछि जेठ ८ गते श्रीमान् जिउँदो नभएको भन्ने खबर आयो ।
दुई दशकअघिको समाजमा श्रीमान् बितेपछिका एकल महिलालाई हेर्ने सामाजिक दृष्टिकोण कस्तो थियो ? त्यसले तपाईंलाई के कस्तो असर पार्यो ?
समाजमा बाँच्न एकदमै गाह्रो थियो । समाजले बाँच्नै दिँदैनथ्यो भने पनि हुन्छ । पलपलमा मरेर बाँच्नु पर्छ । समाजले हेर्ने दृष्टिकोण, गर्ने व्यवहार मात्रै होइन, बोल्ने हरेक शब्दमा समेत विभेद हुन्थ्यो । कसैको बिहे, व्रतबन्ध, पूजाआजामा जान हुँदैन, केही छुन हुँदैन भने जस्तो गरिन्छ । सकेसम्म त उसलाई बोलाउन नपरे पनि हुन्थ्यो र बोलाइहाले पनि नआए हुन्थ्यो जस्तो गर्ने । आइहाले केही पनि नछोइदिए हुन्थ्यो भन्ने जस्तो विभेद आफन्तहरूबाटै हुन्थ्यो ।
श्रीमान्काे मृत्युपछि घरको र खेतबारीको सबै जिम्मेवारी सम्हाल्न परिहाल्यो । छोरी र छोरा सानै थिए । दिनभरि खेतीबारीको कामका लागि सधैँ ढिकुरे भन्ने ठाउँमा जान्थेँ । बच्चाहरू मात्रै घर भएका बेला मेरै आफन्तहरूले ‘तेरो आमा अब घरमा बस्दिन, अर्को बिहे गरेर जान्छे’ भन्दिँदा रहेछन् । कामबाट बेलुका घर आउँदा बच्चाहरू ‘ममी तपाईंले अर्काे बिहे गरेर हामीलाई छोडेर जाने रे हो ?’ भन्दै सोध्थे । त्यो सुन्दा कति पीडा हुन्थ्यो, रुन मन लाग्थ्यो तर बच्चाको अगाडि रुनु भएन । ‘कहीँ जाँदिनँ तिमीहरूलाई छाडेर’ भन्दै सम्झाउँथेँ र छोरा र छोरीलाई दायाँबायाँ सुताएर म बिचमा सुत्थेँ । हुन त पीडाले कयौँ पटक मर्न पनि खोजेँ । मर्छु भनेर जुरुक्क उठेर बत्ती बालेर घरबाट निस्किन खोज्थेँ तर बच्चाहरूको निर्दोष अनुहार हेरेर आफैँ जानीजानी मर्न हुँदैन भनेर आफ्नो मन बुझाउँथेँ ।
अहिले पनि त्यस्तै छ कि केही फरक ?
अहिले त म बुझ्ने भएँ । कुन स्थानबाट कुन स्थानमा आइपुुगेँ । तर, अझै पनि घुमाउरो तरिकाले मनमै बिझ्ने गरेरै भनेको सुनिन्छ । कुनै स्थानमा रहेर सार्वजनिक कामको जिम्मेवारी वहन गरेपछि विभिन्न मानिससँग भेटघाट हुन्छ । महिला, पुरुष नभनी बोल्नुपर्ने हुन्छ, सँगै हिँड्नु पनि पर्छ तर जोसँग बोल्यो, हिँड्यो उसैसँग नाम जोड्दिन्छन् ।
कमाउने व्यक्तिको मृत्युपछि घरव्यवहार चलाउँदै बालबच्चा कसरी पढाउने बढाउने गर्नुभयो ?
श्रीमान् सेनामा भएकाले मृत्युपछि राज्यले साढे सात लाख रुपैयाँ दिएको थियो । त्यो पैसाले मैले बच्चाहरूको भविष्य सोचेर सबैभन्दा पहिला बट्टारमा घर बनाएँ । पैसा आएको थाहा पाएपछि कतिले मलाई विवाहको प्रस्ताव पनि लिएर आए । श्रीमान्काे मृत्यु हुँदा २२/२३ वर्षको थिएँ । तर फकाउनेसँग बहकिनु हुँदैन भनेर बच्चालाई बाउआमा दुवैका माया दिएर बसेँ । उनीहरूलाई बाबु नभएको आभास नहोस् भन्ने प्रयास गरेँ । घरव्यवहार चलाउने आयस्रोत खेतीपाती नै हो । गाउँमा हाम्रो घर ढिकुरे भन्ने ठाउँमा हो, खेतीपातीका लागि बट्टारबाट ढिकुरे हिँडेर ओहोरदोहोर गर्न दुई घण्टा लाग्थ्यो । ढिकुरेमा आलु र ताइचिन धान रोप्थेँ र बेच्थेँ । भैँसी र गाई पनि पालेको थिएँ । १० रुपैयाँ मानामा दुध बेच्थेँ । २०७२ सालसम्म पशुपालन गरेको थिएँ । यसैगरी भएको आम्दानीबाट छोराछोरी हुर्किए । छोराको बिहे भइसक्यो, जापानमा छ । छोरी काठमाडौँमा स्नातक तह पढ्दैछिन् ।
श्रीमान्काे मृत्युपछि घर परिवारको अवस्थामा कस्तो असर पर्यो ?
मेरो श्रीमान् घरको जेठो छोरा हुनुहुन्थ्यो । श्रीमान्सँगै मेरो देवर पनि आर्मीमा हुनुहुन्थ्यो । दाइको हत्यापछि उहाँको मानसिक स्वास्थ्यमा असर पर्यो । मानसिक अवस्था बिग्रिएपछि सेनाकै उच्च पदका सरलाई तथानाम भन्दिनुभएछ । त्यसपछि देवरलाई जागिरबाटै निकाला गरियो । एउटा छोराको हत्या अनि अर्काे छोराको मानसिक अवस्था बिग्रिएपछि दुवै छोराको घटनाले विक्षिप्त भएर होला सासूले २०६३ साउन महिनामा त्रिशुलीमा हामफालेर आत्महत्या गर्नुभयो ।
ससुरालाई पनि एक छोराको हत्या, अर्को छोराको मानसिक स्वास्थ्य अवस्था बिग्रिएको अवस्थाले पिर त थियो नै । फेरि, श्रीमतीको आत्महत्याको पीडाले होला, सासू बितेको एक महिना नहुँदै घर छोडेर हिँड्नुभयो । हरिद्वारमा सात वर्ष बसेर घर फर्कनु त भयो तर मनको बैरागीपनले होला, घर सधैँ बस्नु हुँदैनथ्यो । बेलाबेलामा विभिन्न जिल्लाका मन्दिरमा गएर बस्ने गर्नुहुन्थ्यो । त्यस्तैमा २०८० साल कात्तिक २६ गते ससुराबुबा पनि बित्नुभयो । बच्चाहरूको माया र उनीहरूको भविष्यको सोचले मात्रै मैले संसार छोड्न सकिनँ । देवरलाई पनि मानसिक आघात पर्यो । उहाँले विवाह गर्नुभयो, अहिले देउरानीसँगै चिया पसल गर्नुभएको छ ।
श्रीमान्काे मृत्युपछि सिन्दुर, पोते, चुरा, रातो टीका आदि लगाउन हुँदैन भन्दै रोक्ने चलन छ नि, तपाईंले यसलाई कसरी चिर्नुभयो ?
मैले १३ दिनको काजकिरियासम्म सेतो लुगा लगाएँ । त्योभन्दा पछि पनि रातो लुगा, चुरा, टीका केही पनि लगाइनँ । सादा, फिका रङका फरिया र चोलो लगाउने गर्थें । तर, २०७४ सालदेखि मैले यी सबै छोडेर रातो लुगा, चुरा, टीका लगाउन थालेँ । एकल महिलाको संस्थाबाट म साथीहरूसँग हिँड्ने भएँ । आफू जस्ता साथीहरूले ती कुरा लगाउँदा केही हुँदैन भन्थे । ती साथीहरूले लगाएको पनि देखेँ । उनीहरूकै प्रेरणाबाट मलाई रातो लगाउन गाह्रो भएन ।
एकल महिलाको संस्थाबाट सबै ठाउँमा हिँडेपछि ममा पनि परिवर्तन आयो । रातो कपडाको पहिरन हामीलाई भात खुवाइमा लगाइदिएको हुन्छ । श्रीमान्ले सिउँदोमा सिन्दुर र गलामा पोते पनि लगाइदिनुभएको हुन्छ । त्यसैले श्रीमान्ले दिएको चिनोको रूपमा श्रीमान्काे मृत्युपछि लगाउँदा पनि फरक पर्दैन कि जस्तो लाग्छ । तर, आफ्नो इच्छा हुनुपर्यो ।
तपाईं एकल महिलाको अधिकारका क्षेत्रमा कसरी लाग्नुभयो ?
सुरुसुरुमा त म रोएर घरमै मात्र बस्थेँ । श्रीमान्काे मृत्यु भएको दुई वर्ष यसरी नै बित्यो । पछि मानव अधिकारको लागि एकल महिला सञ्जालले नुवाकोटमा शाखा विस्तार गर्यो । २०६२ सालमा १६ जना एकल महिलाको समूह बनाइयो र साथीहरूले मलाई अध्यक्षमा चुन्नुभयो । त्यसपछि केही थाहा नपाए पनि एकल महिलाका विभिन्न कार्यक्रममा हिँड्न थालेँ । केही नजान्दा सुरुमा केही अप्ठ्यारो पनि भयो ।
कस्तो अप्ठ्यारो भन्नुभएको ?
मलाई अध्यक्ष बनाएको केही समयमा काठमाडौँमा १३ राष्ट्रका एकल महिलाहरू आउने गरी अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ, आउनू भनेर मलाई खबर आयो । मसँग त्यति बेला मोबाइल थिएन । तर, मिलाएर गएँ । कार्यक्रम बुढानीलकण्ठमा भएको थियो । त्यो कार्यक्रममा जाँदा कुर्ता–सुरुवाल लगाएँ । मैले कुर्ता–सुरुवाल लगाको त्यो नै पहिलो थियो । कार्यक्रममा राखेको चिया पनि मैले कपमा हालेर खान जानेको थिइनँ । खासमा मलाई बाहिरी संसारको रहनसहनका बारेमा थाहै थिएन । सहभागी साथीहरूले जेजे गर्नुहुन्छ, मैले पनि त्यहीत्यही गरेर सिकेँ । अनि त्यही कार्यक्रमपछि मलाई महसुस भयो– हामी एकल महिलाको लागि पनि अधिकार भन्ने कुरा रहेछ, कानुन पनि रहेछ । अब बोल्नुपर्छ भन्ने लागेर मैले समाजलाई औँला ठ्डयाउन थालेँ । त्यसपछि कसैले अगाडि आएर मलाई केही भन्ने आँट गरेनन् । नुवाकोट शाखाको सञ्जालमा दर्ता भएका एकल महिलाको सङ्ख्या छ हजार पुगेको छ ।
एकल महिलाको अधिकारको क्षेत्रमा काम गरिरहँदा अरु के कस्ता चुनौतीहरू सामना गर्नुपर्यो ?
नुवाकोट शाखाको अध्यक्ष हुँदा अध्यक्ष किन भएको भनेर आफन्तहरूले गाली गर्नुहुन्थ्यो । महिलालाई अधिकार, कानुनको कुरा सिकाएर बुहारीलाई ‘बाठी’ बनाउन लागेको भन्दै कतिका सासूहरूले पनि गाली गर्थे ।
द्वन्द्वपीडित महिलाहरूको लागि कसले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
मेरो परिवारमा जुन किसिमको बज्रपात पर्यो, त्यसपछि म भोगेको जुन मानसिक यातनाबाट गुज्रिएँ, तपाईं आफैँ भन्नु न ! के मैले न्याय पाएकी छु त ? श्रीमान्लाई सहिद घोषणा गरेको छ तर अझै पनि सहिद भत्ता दिएको छैन । मैले पेन्सन खान्छु, त्यही भएर एकल महिला (विधुवा) भत्ता काटिदियो । त्यो भत्ता पुनः सुचारु गरिदिए हुन्थ्यो । मेरो श्रीमान् लगायतसेनाबाट जति पनि सहिद हुनुभएको छ । उहाँहरूलाई राज्यले नै लड्न जाऊ भनेर गएको हो । त्यसैले उहाँहरूका बच्चालाई सरकारी सेवामा लड्ने छुट्टै कोटा छुट्ट्याइदेओस् । मुख्य कुरा, घरपरिवार र समाजले मान्छे भएर बाँच्न देओस् । श्रीमान् बितेको पीडामा परेकालाई झन्झन् एक्लो नबनाओस् ।
तपाईंले भोगेको, देखेको अनुभवमा परिवार र समाज एकल महिलालाई के कस्ता समस्या परेका हुँदा रहेछन् र तिनलाई सुल्झाउन एकल महिला समुह वा तपाईंले के कस्ता काम गर्नुभएको छ ?
कतिको नागरिकता हुँदैनथ्यो । कतिको विवाह दर्ता गरेको हुँदैनथ्यो । घरपरिवारसँग लडेर नागरिकता, विवाह दर्ता बनाउन सहयोग गरिदिएको छु । अंश दिनुपर्दा पनि परिवारले ‘खाए खा, नखाए घिच’ भने जस्तै राम्रो ठाउँको अगाडिको जग्गा नदिएर पछाडिको दिन्थे । त्यस्तो बेला बाटो भएको जग्गा उपलब्ध गराउन मालपोत कार्यालयलाई दबाब दिएर निकास भएको जग्गा उपलब्ध गराएको छु ।
एकल महिलाको हक अधिकारको बारेमा चेतना जगाउने, हामीले पनि केही गर्नुपर्छ भनेर प्रेरणा दिने, क्षमता अभिवृद्धिको तालिम दिने, महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनून् भन्दै स्थानीय पालिकासँग मिलेर एकल महिलाको लागि बजेट छुट्याउन लगाउने जस्ता काम गर्छु ।
विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र लिखु गाउँपालिकामा एकल महिलाको लागि कार्यक्रमका लागि बजेट माग गरेको छु । विभिन्न आयमूलक तालिममा कृष्टलको माला बनाउनेदेखि कुखुरा, बाख्रा पालन गर्ने र कुखुरा, बाख्रा वितरण गर्ने काम पनि गरिसकेको छु ।
एकल महिलाहरूलाई आफ्नो अंश माग्नुपर्छ भनेर सिकाउने र अंश पनि सबैले छोडेको मात्रै दिएर हुँदैन भनेर धेरैसँग भनेको छु । कतिपयको परिवारसँग लडेर पनि एकल महिलालाई जग्गा दिलाएका छौँ ।
पटक पटक मालपोत कार्यालय गई दबाब दिएर न्याय दिलाएकी छु । परिवारको हेपाइ र अन्यायमा परेका कति महिलाहरू म अब बाँच्दिनँ, मर्छु पनि भन्नुहुन्थ्यो । उहाँहरूलाई हौसला दिँदै अंशका लागि कानुनी लडाईं लड्नुपर्छ भन्थेँ, आवश्यक पर्दा मैले र सञ्जालकै तर्फबाट पनि सहयोग गरेका छौँ । जिल्ला अध्यक्ष भएका बेला त नुवाकोट जिल्लाका गाउँगाउँसम्म पनि गएर काम गरेँ । २०७८ सालदेखि म एकल महिला समूहको बागमती प्रदेश अध्यक्ष भएको छु । अहिले त प्रदेशका १३ वटा जिल्लामा एकल महिलाको अधिकारका लागि काम गरिरहेको छु ।
प्रकाशन मिति : २०८१ बैशाख २७ गते, बिहीबार