के तिमी सोच्न सक्छौ ?
कति डरलाग्दो हुन्छ,
आफैँलाई थाहा पाउनु ?
लामो समयपछि आफ्नो अनुभव लेख्दैछु । वर्षौंदेखि मभित्र उकुसमुकस भएर बसेका छन्, विभेदका कथा–व्यथाहरू । तिनको अहिले पनि कुनै लेखाजोखा छैन । म को हुँ भनेर आफैँलाई चिन्न पाएको अवस्था साँच्चिकै डरलाग्दो हुने रै’छ । मान्छे एउटा स्वतन्त्र प्राणी हो, जसले समाजमा विनाडर, विनाहिंसा र विनाविभेद बाँच्न पाउँछ । उसलाई डर, हिंसा र विभेदरहित भएर बाँच्ने अधिकार छ भनिन्छ । यस्तो लेखिएको पनि छ तर विभेदरहित भएर बाँच्न पाउने मेरो अधिकार मेरै समाजले मबाट खोस्दै आयो र खोसिरहेको छ ।
म दलित हुँ भन्ने पहिलो आभास मलाई मेरै केटासाथीले भनेको कुराले भ’को थियो । मसँगै पढ्ने केटासाथीले मलाई ‘दमिनी’ भनेपछि यो कुरा थाहा पाएँ । यो २०६१ सालको कुरा हो । म नौ कक्षाको विद्यार्थी थिएँ । विद्यालयमै सांस्कृतिक कार्यक्रम हुनेवाला थियो । त्यसमा म र उसले नाच्नुपर्ने भनेर सरहरूले भन्नुभएको थियो । तर, त्यो साथीले एकाएक ‘म दमिनीसँग नाच्दिनँ’ भनेको सुनेँ । त्यो नकारात्मक वाक्यले प्रमाण दिएको थियो कि म दलित समुदायको हुँ भनेर । त्यस दिनदेखि नै ममाथि जातीय विभेदको सुरुवात भएको ठान्छु । त्यसपछि अन्यत्र धेरै ठाउँमा आफूमाथि विभेद भएको महसुस हुन थाल्यो ।
दलित समुदायमा जन्मिएकै कारण मैले मेरो जीवनमा भोगेका नमिठा अनुभव हुन् यी । त्यसमाथि पनि म महिला । यसैले दोहोरो तेहरो विभेदका अनुभव छन् मसँग । महिला भएका कारण, दलित भएका कारण र दलित महिला भएकै कारण मैले यी सबै किसिमका विभेदलाई भोग्नुपरेको हो ।
धारामा पानी लिन जाँदा छिमेकी काकीको गाग्री छुँदा मैले गाली खाएको थिएँ । उहाँले मेरो पानीको बाल्टिन नै फ्याल्दिनुभ’को थियो । अनि, बिस्तारै स्कुलका साथीहरू, शिक्षक र साथीका परिवारबाट समेत मैले विभेद भोग्नुपर्यो । यस्तैयस्ता विभेद भोग्नुपरेकाले होला, साँच्चिकै मलाई लाग्न थाल्यो, म को हुँ ?
विभेद सुरु स्कुलबाट
लाग्छ, विभेदको पहिलो सुरुवात प्रायः स्कुलबाट नै हुने रहेछ । मेरो घर सिन्धुली जिल्लाको खुर्कोट भन्ने ठाउँमा हो । मैले पढेको श्री जनज्योति उच्चमाध्यमिक विद्यालयमा हो । हाम्रो विद्यालयमा बर्सेनि सरस्वती पूजा मनाइन्थ्यो । वनभोज हुन्थ्यो । अतिरिक्त क्रियाकलाप र सरसफाइ कार्यक्रम आदि पनि स्कुलमा हुन्थे । मलाई अहिले पनि याद छ, सरस्वती पूजाको त्यो दिन मेरो गैरदलित साथीको आमाले मेरो हातमा दिनुपर्ने प्रसाद भुइँमा खस्ने गरी टाढैबाट फ्याल्दिएको । अनि, विद्यालयकै वनभोजमा जाँदा मलाई खाना बनाउन नदिइएको । पछि खाना पनि मेरा लागि छुट्टै राखिदिएको ।
मैले २०६२ सालमा एसएलसी दिएको । म प्रथम श्रेणीमा उत्तीर्ण भएँ । मसँगै मिल्ने गैरदलित साथी दोस्रो श्रेणीमा पास भएका थिए । म प्रथम श्रेणीमा पास भएकै कारण त्यो साथीको आमा मसँग एक वर्ष बोल्नु भएन । विभेद पनि कस्ता कस्ता र कसरी कसरी गर्ने गर्ने । यसको कुनै लेखाजोखै छैन । सुन्दा, पढ्दा सामान्य कुरा जस्तो लाग्न सक्छ तर भोग्नेलाई थाहा हुन्छ, विभेद कति विषालु हुन्छ भनेर ! मैले जातकै आधारमा जे जति विभेद भोग्नुपर्यो, त्यसको कुनै लेखाजोखा छैन ।
त्यस घटनापछि मलाई गैरदलितलाई साथी बनाउन पनि डर लाग्न थाल्यो । त्यसपछि अहिले पनि मैले गैरदलित साथीहरू खासै बनाएको छैन ।
अर्को भोगाइ २०६४ सालतिरको सम्झिन चाहन्छु । प्लस टु पढ्दै गर्दा मेरो एकदम मिल्ने साथीको बिहे भयो । ऊ गैरदलित समुदायको थियो । मलाई पनि निम्तो आएकाले बिहेमा गएँ । एक मनले त नजाऊँ कि भन्ने पनि नसोचेको होइन तर अर्को मनमा आफ्नो मिल्ने साथी हो, नगए रिसाउने हो कि भन्ने भयो । यस्तै दोधारमा पर्दापर्दै म उसको बिहेमा गएँ ।
मङ्सिरको महिना थियो । रातिको बिहे रहेछ । चिसो भएर वा रातिको बिहे भएर पनि होला, बिहे घरभित्रै गर्ने गरी तारतम्य मिलाइएको रहेछ । म दलित भएकै कारणले मलाई घरभित्र पस्ने अनुमति थिएन । मैले साथीलाई बाहिर बोलाएर गिफ्ट दिएँ र म घर जान्छु भनेँ । त्यसो भन्दा साथीले ‘नजा नत्र म रिसाउँछु’ भने । त्यसपछि मैले त्यहाँ बस्ने निर्णय गरेँ । तर, म एक्लै घरबाहिर बस्नुपर्यो । साथीको बिहे घरभित्र भइरहेको थियो ।
मैले ढोकाबाट बिहे हेरिरहेको थिएँ । यस्तैमा पानी पर्यो । आकाशेपानीले मेरो आधा शरीर भिज्यो । त्यस्तो हुँदा पनि कसैले मलाई भित्र बोलाएनन् । राति एक्लै आफ्नो घर फर्किने आँट पनि आएन । त्यो समयमा मलाई आफैँदेखि धेरै रिस उठेको थियो । मनमा प्रश्न पनि उब्जियो, म किन दलित समुदायमा जन्मिएको होला भनेर । म गैरदलित समुदायमा जन्मिएको भए आज साथीको बिहेमा उनको घरभित्रै पसेर साथीसँगै बस्न त पाउँथे भन्ने जस्ता कुरा मनमा खेले ।
एकछिनमा पानी पर्न त रोकियो तर झन् चिसो बढ्न थाल्यो । चिसो बढेकाले गर्दा म बसेको नजिकै बिहेमा आएका पाहुनाहरूले आगो बाले । त्यसले गर्दा मलाई त्यो रात काट्न अलि सजिलो भएको थियो । त्यो बिहेको रातले मेरो सोचमा ठुलो परिवर्तन ल्यायो । त्यस घटनापछि मलाई गैरदलितलाई साथी बनाउन पनि डर लाग्न थाल्यो । त्यसपछि अहिले पनि मैले गैरदलित साथीहरू खासै बनाएको छैन ।
जबसम्म जात व्यवस्था रहिरहन्छ, मैले भोगे जस्तै वा त्योभन्दा पनि बढी विभेदका स्वरूपले दलित समुदायका मानिसलाई अपमानित बनाइरहन्छन् । यसैले जातीय विभेदका विरूद्ध सचेत भएर बोल्न र लेख्न छोड्नु हुँदैन ।
केही महिनाअघिको कुरा हो, एउटा छलफल कार्यक्रममा गएको थिएँ । कार्यक्रमको सुरु परिचयात्मक थियो । मैले म सुनिता परियार भनेर परिचय दिएँ । एकैछिनमा मसँगै बसेको एक जनाले भने– तिमी परियार हो र ? दलित जस्तो त देखिँदैनौ त ! उनी गैरदलित रहेछन् । उनको त्यस्तो कुरा सुनेपछि मेरा मनमा थुप्रै प्रश्न आए । दलित चाहिँ छुट्टै ग्रहको मान्छे हो र जो हेर्दामा नै फरक देखिने ? आफूले आफैँलाई प्रश्न गरेँ– के म मान्छे जस्तो छैन र ? मेरो प्रश्नले मलाई उत्तर पनि दियो । म ढुक्क भएँ, खासमा ती गैरदलितको प्रश्नले उनको मानसिकताको परिचय दिएको हो भनेर । दलित समुदायप्रति ती गैरदलित व्यक्तिको मानसिकता कस्तो रहेछ भन्ने मलाई प्रस्ट भयो ।
जातीय विभेदसँग जोडिएका तीता र पीडादायी अनुभव धेरै छन् मसँग । केही वर्षअघिको कुरा हो । सहरमा कोठा खोज्न जाने क्रममा एक जना गैरदलितको घर पुगेँ । घरधनी प्रोफेसर र उहाँको श्रीमती डाक्टर हुनुहुँदो रहेछ । कोठा खाली रहेछ, कुरा मिल्यो । कुराकानीकै क्रममा हामीले परियार हौँ पनि भनेका थियौँ । मैले तीनचार दिनपछि कोठा सर्छौं भनेको थिएँ ।
कोठा सर्ने दिन त ती प्रोफेसरले मेसेज पो पठाएछन् । मेसेजमा थियो– मेरो श्रीमतीको आफन्त आउने रे, त्यही भएर कोठा दिन नसक्ने भयौँ । त्यसो भए ठिकै छ भनेर चुपचाप बस्याैँ तर कुरा बुझ्दै जाँदा तीन महिनासम्म त्यो कोठा खाली नै भएछ । तीन महिनापछि अरू नै कोही गैरदलित आएर बस्नुभयो, जुन कुरा मैले पछि थाहा पाएँ । यहाँबाट पनि थाहा हुन्छ, प्रोफेसर, डाक्टर जस्ता शिक्षित व्यक्तिमा पनि जात व्यवस्थाले कतिसम्म नकारात्मक प्रभाव पारेको छ भनेर ।
दलित समुदायमा जन्मिएकै कारण मैले मेरो जीवनमा भोगेका नमिठा अनुभव हुन् यी । त्यसमाथि पनि म महिला । यसैले दोहोरो तेहरो विभेदका अनुभव छन् मसँग । महिला भएका कारण, दलित भएका कारण र दलित महिला भएकै कारण मैले यी सबै किसिमका विभेदलाई भोग्नुपरेको हो । एक्काइसौँ शताब्दीमा पनि म जस्ता पढेलेखेका युवाले त जातीय र लिङ्गीय आधारमा विभेद भोगिरहेका छौँ भने पहिले झन् कस्तो हुँदो हो ? लाग्छ, कमसेकम अहिलेका हामीले यस्ता विभेद भोग्नुपर्दा र न्याय नपाउँदा आवाज उठाउन र विभेदका बारेमा लेख्न त सक्छौँ । यसरी आवाज उठाउन र लेख्न नसक्नेहरूले आफूमाथि भएका कैयौँ विभेद, हिंसा, दुर्व्यव्यहार र अपमानलाई कसरी झेलेका थिए होलान् ? उनीहरूको मनोदशा र समग्र अवस्था कस्तो हुँदो हो ? आवाज उठाउन नसक्दा दलित समुदायका मानिसले कति धेरै जातीय विभेद भोग्नुपरेको होला ? दलित महिलाले झन् कति धेरै लिङ्गीय विभेद भोग्नुपरेको होला ? सजिलै अनुमान गर्न सकिन्छ ।
मानिसले मानिसलाई गर्दै आएका कुनै पनि प्रकारका विभेदलाई निषेध गर्नुपर्छ । कामना गर्छु, नयाँ आउने युवा पुस्ताले मैले भोगे जस्तो विभेद, गाली, अपमान र बहिष्करणलाई भोग्नु नपरोस् ।
उति बेला मेरो बालमस्तिष्कमा ‘उपल्लो’ जातिबाट पाएको गाली, अपमान र बहिष्करणले पारेको चोटको जवाफदेही को हुन्छ ? शरीरको घाउचोट त ठिक होला तर गाली, अपमान र बहिष्करणका कारण मनमा लागेको चोट कहिल्यै ठिक नहुने रहेछ । प्रतिष्ठामा लागेको खोट कहिल्यै नमेटिने रहेछ । मलाई सधैँभरि हीनताबोधले डसिरहन्छ । आफूलाई पलपलमा दोस्रो दर्जाको नागरिक भएको महसुस भइरहन्छ । यसको भर्पाई कहिले र कसरी हुन सक्छ ? के यो जुनीमा सम्भव छ ? छैन भने किन छैन ? मेरा मनमा यस्तैयस्ता प्रश्नका ज्वारभाटा बेलाबेलामा उठिरहन्छन् ।
मलाई लाग्छ, जबसम्म जात व्यवस्था रहिरहन्छ, मैले भोगे जस्तै वा त्योभन्दा पनि बढी विभेदका स्वरूपले दलित समुदायका मानिसलाई अपमानित बनाइरहन्छन् । यसैले जातीय विभेदका विरूद्ध सचेत भएर बोल्न र लेख्न छोड्नु हुँदैन । यो समाजमा मान्छेले आफूलाई म पनि अरू जस्तै मान्छे हो भन्न पनि अझै कति समय लाग्ने हो ? जुन खालको विभेद मैले भोगेँ नि, त्यो विभेद अमानवीय र स्त्रीद्वेषी छ । यसैले मेरा लागि असह्य पनि छ । यसलाई यहीँ रोक्नुपर्छ । पक्कै पनि मानिसले मानिसलाई गर्दै आएका कुनै पनि प्रकारका विभेदलाई निषेध गर्नुपर्छ । कामना गर्छु, नयाँ आउने युवा पुस्ताले मैले भोगे जस्तो विभेद, गाली, अपमान र बहिष्करणलाई भोग्नु नपरोस् ।
प्रकाशन मिति : २०८० चैत्र २ गते, शुक्रबार