Home Insight राउटे जातिमा परिवर्तनको सवाल र सङ्केत

राउटे जातिमा परिवर्तनको सवाल र सङ्केत

489
0

दैलेखको राउटे बस्तीका लागि विगत पाँच वर्षदेखि निरन्तर खटिएका जोडी शिक्षक हुनुहुन्छ, दुर्गा खत्री र लालबहादुर खत्री । उहाँहरू दम्पती पनि हुनुहुन्छ । दुवै जना हरेक दिन राउटे बस्तीको छेउमै गएर अफिसको काम गर्नुहुन्छ । राउटे समुदायको दैनिक क्रियाकलाप, आनीबानी, सोच, समझ आदिका बारे जानकारी राख्नुहुन्छ । दुःखसुखलाई नजिकबाट अवलोकन गरी उहाँहरूले सक्दो सहयोग पनि गर्नुहुन्छ ।

दुर्गा र लालबहादुर दैलेखकै गुराँस गाउँपालिका वडा नम्बर ३ का बासिन्दा हुनुहुन्छ । उहाँहरू सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्वारा सञ्चालित ‘राउटे परियोजना’ मा ‘जोडी शिक्षक’ भएर २०७५ सालदेखि काम गर्दै आउनुभएको छ । उहाँहरूले सोसेकका तर्फबाट राउटेहरूलाई स्वास्थ्य, सरसफाइ, खानपान तथा पोषण विषयमा जानकारी गराउँदै आउनुभएको छ । राउटे बालबालिकालाई कापीकलम र मोबाइलसँग पनि परिचित गराउँदै अक्षर चिनाउनेदेखि सामान्य प्रविधिमैत्री बनाउने काम पनि गर्दै आउनुभएको रहेछ ।

जोडी शिक्षकका अनुसार, राउटेहरू आफ्नो समुदायभन्दा बाहिरका मानिससँग घुलमिल गर्न त के कुराकानी गर्न पनि रुचाउँदैनथे । महिलाहरू त झन् राउटीबाहिरका पुरुषसँग बोल्दै नबोल्ने । त्यही भएर सोसेक नेपालले ‘जोडी शिक्षक’ को अवधारणा ल्याएर दम्पतीलाई नै राउटे बस्तीमा काम गर्नका लागि खटायो । त्यसरी खटिएपछि दुर्गाले महिला, किशोरी तथा बालबालिकासँग र लालबहादुरले पुरुष, किशोरहरूसँग नजिक हुने प्रयास थाल्नुभयो । अहिले आक्कलझुक्कल बाहेक बिहान १० बजेदेखि साँझसम्म दुर्गा र लालबहादुर राउटे बस्ती नजिकै गएर आफूहरूलाई उनीहरूको पहुँचमा रहेको आभास दिने गर्नुहुन्छ ।

राउटेलाई नेपालका लोपोन्मुख १० मध्येको एउटा जातिको रूपमा लिइन्छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार राउटेको जनसङ्ख्या ५६६ रहेको छ । यसमध्ये महिलाको सङ्ख्या २७७ रहेको छ । तर, जानकारहरू राउटेको सङ्ख्या जनगणनामा उल्लेख भएभन्दा कम भएको दाबी गर्छन् । राउटेभित्र रास्कोटी, कल्याल र सोवंशी गरी तीन वटा थर हुन्छ । हरेक थरका एक एक गरी तीन जना मुखिया हुन्छन् ।

पश्चिम नेपालका जङ्गलमा वर्षौंवर्षदेखि फिरन्ते जीवन बिताउँदै आएको यो जातिले हिजोआज गाउँबस्ती नजिकैको ठाउँमा राउटी बनाउन मन पराउँछ । राउटेहरूको अस्थायी बस्तीलाई राउटी भनिन्छ । एकै ठाउँमा घरबास गरी नबस्ने जातिको रूपमा परिचित राउटेहरूमा समुदायका कसैको मृत्यु भयो भने सकेसम्म छिटो अर्को ठाउँ सर्ने चलन अझै कायम छ । हिजोआज त झन् काठ, दाउरा, पानी आदिको अभाव भयो भने पनि बसेको ठाउँ नै छाडेर उनीहरू अन्यत्र सर्छन् । यो वर्ष २०८० पुसयता एक महिना बित्दा नबित्दै दुई पटक राउटेहरूले आफू बसेको ठाउँ छाडे र अन्यत्र सरे ।

दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ५ कागेतडा भन्ने ठाउँमा कात्तिकको अन्तिममा सरेका राउटेहरू पुस ३ गते नै त्यहाँबाट अलि माथि बाटाकै आडमा रहेको घरखेत भन्ने ठाउँमा सरे । कागेतडामा १३ वर्षीया किशोरीको मृत्यु भएकाले घरखेतमा सरेका थिए । त्यहाँ सरेको एक महिना एक दिनमा माघ ४ गते राति १२ वर्षीया बालिकाको पनि मृत्यु हुन गयो । जोडी शिक्षकका अनुसार, त्यसपछि उनीहरू दैलेखकै चामुन्डाबिन्द्रसैनी नगरपालिका वडा नम्बर ६ को लैनचौर भन्ने ठाउँमा सरेका छन् ।

‘सन्धान’ ले नेपालका ‘लोपोन्मुख’ जाति र ती जातिका महिलाहरूको अवस्था, अनुभव र जीवनभोगाइलाई उनीहरूको बस्तीमै गएर सङ्कलन गरी प्रकाशन प्रसारण गर्दै आएको छ । यसै क्रममा ‘सन्धान टोली’ २०८० पुसको पहिलो साता दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ५ कागेतडा पुगेर राउटे बस्तीको अवलोकन गरेको थियो । स्थलगत अवलोकनका क्रममा राउटेहरूको अवस्था, परम्परागत अभ्यास, चालचलनका साथै राउटे महिला र बालबालिकाको अवस्था, परिवर्तनको चाहना र अवरोधका विषयमा जानकारी लिइयो । त्यसै बेला राउटेहरू जता जता सर्छन्, उतै उतै गएर विगत पाँच वर्षदेखि काम गरिरहेका एक ‘जोडी शिक्षक’ दम्पतीसँग भेट भयो । उहाँहरूसँग ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेत र समीक्षा गाहाले २०८० पुसमा कुराकानी गर्नुभयो । त्यसपछि माघको दोस्रो साता पनि ‘सन्धान’ कार्यालयबाट उहाँहरूसँग सम्पर्क गरी थप जानकारी लिइयो । प्रस्तुत छ, सोसेक नेपालका जोडी शिक्षक दुर्गा र लालबहादुर खत्री दम्पतीसँगको कुराकानीका आधारमा तयार गरिएको राउटे जातिको अवस्था झल्काउने एउटा स्वकथन :

हामीले राउटे समुदायमा काम गर्न थालेको २०७५ साल असार १७ देखि हो । सोसेक नेपालको ‘राउटे परियोजना’ भन्ने रहेछ, त्यसैमा जोडिने अवसर मिल्यो । हामीले राउटे समुदायको बारेमा सुने पनि प्रत्यक्ष देखेको, यहाँ काम गर्न थालेपछि मात्रै हो । पहिलो पटक उहाँहरूलाई देख्दा हामीलाई अचम्म लागेको थियो । उहाँहरू आफ्नै खाम्ची भाषामा कुरा गर्नुहुन्थ्यो । कहिल्यै नदेखेको मान्छे, कहिले नसुनेको नबुझिने भाषा । हामी अल्मलिए जस्तो भयौँ । पहिलो दिन बस्तीमा पुगेर यसो यताउता हेरेर मात्र फर्कियौँ ।

हामी अर्को दिन पनि गयौँ । त्यो दिन बस्तीका एक जना (लोकेन्द्रबहादुर शाही) ले ‘कहाँबाट आएको ? किन आएको ? कसले पठाएको ?’ भनेर हामीलाई सोध्नुभयो । हामीलाई सोसेक नेपाल भन्ने संस्थाले तपाईंहरूको समुदायमा काम गर्न पठाएको, तपाईंहरूलाई नै सहयोग गर्न र केही कुरा सिकाउन आएको भन्याैँ । तर, उहाँले ‘राउटेले तपाईंहरूले भनेको कुरा मान्न हुँदैन, त्यसैले जानुस्’ भन्नुभयो ।

हामी बस्तीमा गएर उहाँहरूको दैनिकी हेर्थ्यौं । उहाँहरूसँग बोल्ने प्रयास गर्थ्यौं । तर, उहाँहरू बोल्नै नचाहने । यसो बोलिहाले पनि ‘किन आएको ?’ मात्रै भन्ने ।

एक, दुई महिना त एकदमै गाह्रो भयो । प्रत्येक दिन उहाँले ‘तपाईंहरू किन आउनुहुन्छ ? तपाईंहरूको घर कहाँ हो ? हाम्रो बस्तीमा किन आएको ? हामी बसेको ठाउँमा बाहिरका मान्छे आउन हुँदैन’ भन्नुहुन्थ्यो । हामी भने बस्तीमा गएर उहाँहरूको दैनिकी हेर्थ्यौं । उहाँहरूसँग बोल्ने प्रयास गर्थ्यौं । तर, उहाँहरू बोल्नै नचाहने । यसो बोलिहाले पनि ‘किन आएको ?’ मात्रै भन्ने ।

हामी जान थालेको केही महिनापछि हाम्रो संस्थाले (राउटेहरूलाई) खाद्यान्न वितरण गर्‍यो । त्यो पाएपछि उहाँहरू खुसी हुनुभयो । हामीले पनि ‘हामी यही संस्थाको हो’ भनेपछि बल्ल उहाँहरूले हामीसँग अलि राम्ररी बोलचाल गर्न थाल्नुभयो र सजिलो हुँदै गयो ।

त्यो बेला र अहिलेका राउटे

हामी आएको अहिले (२०८० पुस) पाँच वर्षभन्दा अलि बढी भयो । त्यति बेला उहाँहरूले नुहाउने, लुगा धुने, कपाल कोर्ने केही पनि गर्नु हुँदैनथ्यो । बस्ती नजिकै दिसापिसाब गरेर बसिसक्नु हुँदैनथ्यो । उहाँहरू आफ्नो समुदाय बाहेकका मानिससँग नबोल्ने । गाउँतिर जाँदा पनि पुरुषहरू मात्र जान्थे । महिलाहरू आफू बसेको ठाउँभन्दा बाहिर कुनै गाउँमा पुग्ने गरी हिँड्दैनथे ।

अचेल महिलाहरू पनि हिँड्ने, बाहिरका अरू मानिसहरूसँग बोल्ने गर्नुहुन्छ । उहाँहरूले नुहाउने, कपाल कोर्ने, कपडा धुने गर्न पनि थाल्नुभएको छ । अचेल दिसापिसाब गर्नका लागि बस्तीबाट अलि टाढा जानुहुन्छ । पहिले कसैलाई घाउ, चोटपटक लाग्यो भने औषधी दिँदा पनि नखाने, मलमहरू दिए पनि लगाउन मान्नु हुँदैनथ्यो । अचेल औषधी मलमहरू माग्ने, लगाउने गर्नुहुन्छ ।

महत्त्वपूर्ण कुरा, हामीले भनेको कुरा पहिला सुन्नै नचाहने भए पनि अचेल सुन्ने, बोल्ने, केही कुरा सोध्ने हुँदै खुसी भएर दोहोरो कुरा गर्नुहुन्छ । आफ्नै मान्छे जस्तो सम्झिनुहुन्छ ।

हामीले राउटे समुदायको रीतिरिवाज, धर्म, संस्कृति र चालचलनमा असर नपर्ने गरी काम गर्ने भन्ने छ । त्यही भएर हामी व्यक्तिगत सरसफाइका कुरा, स्वास्थ्य र पोषण तथा बालबालिकालाई अक्षर चिनाउने काम गर्छौं ।

महत्त्वपूर्ण कुरा, हामीले भनेको कुरा पहिला सुन्नै नचाहने भए पनि अचेल सुन्ने, बोल्ने, केही कुरा सोध्ने हुँदै उहाँहरूले हामीलाई आफ्नै मान्छे जस्तो व्यवहार गर्नुहुन्छ । हामीसँग खुसी भएर दोहोरो कुरा गर्नुहुन्छ । हामी कुनै दिन नआए पनि हामी आएको दिन ‘कहाँ जानुभएको थियो ?’ भनेर उहाँहरूले सोध्नुहुन्छ, खोज्नुहुन्छ ।

बिरामी हुँदा उपचार गर्न अस्पताल जान भने उहाँहरू अहिले पनि मान्नु हुन्न । त्यही भएर कात्तिक ३० गते कागेतडा सरेको केही हप्तापछि यस्तै १२-१३ वर्षकी एक जना बहिनी बितिन् । उनी राउटे मुखिया वीरबहादुर कल्यालकी बुहारी हुन् । अर्की एक जना १२ वर्षीया बहिनी पनि एकडेढ महिनादेखि खाना नखाने गर्थिन् ।

शरीरमा कतै दुख्ने, पोल्ने पनि नहुने तर खाना नखाने । हामीले सोध्दा पनि नबोल्ने । त्यस्तो हुँदाहुँदै कमजोर भएर दुब्लाइन् । उनी माघ ४ गते राति (घरखेत भन्ने ठाउँमा) बितिन् । हामीले कागेतडा बस्तीमा हुँदैदेखि उनलाई उपचार गर्न अस्पताल लैजाऊँ भनेर धेरै पटक भन्यौँ तर बालिकाको आमाबुबा र मुखिया कोहीले पनि त्यो कुरा मान्नु नै भएन । उहाँहरूले हाम्रा कुरा सुन्नु पनि भएन ।

समुदायमा अलि पहिलेसम्म अलि बोल्ने भनेको दुई जना किशोरीहरू सम्झना र गाजली मात्रै हो । अचेल हामीसँग सबै महिलाहरू बोल्नुहुन्छ ।

यसरी बसेको ठाउँमा कोही मर्‍यो भने त्यो ठाउँ छाडेर बस्ती सार्नुपर्ने उहाँहरूको चलन छ । उहाँहरूले बस्ती सारेपछि हामी पनि उहाँहरू सरेको नयाँ बस्ती नजिकै डेरा खोजेर सर्छौं । हामी यहाँ आएर काम गर्न थालेदेखि उहाँहरू ८६औँ पटक बस्ती सार्नुभयो । कहिलेकाहीँ नजिक नजिकै पर्छ । नत्र हामीले पनि डेरा सरेको लगभग त्यत्ति नै पटक भयो । पछिल्लो पटक हामी २०८० माघ १५ गते सर्‍याैँ ।

राउटे महिला र स्वास्थ्य

राउटे महिलाहरू पहिले पहिले त बाहिरका मानिससँग बोल्दै नबोल्ने । उहाँहरू हामीसँग पनि बोल्नु नै हुँदैनथ्यो । बोलाए पनि नसुने जस्तो गर्ने र पटक पटक बोलायो भने रिसाउने गर्नुहुन्थ्यो । समुदायमा अलि पहिलेसम्म अलि बोल्ने भनेको दुई जना किशोरीहरू सम्झना र गाजली मात्रै हो । अचेल हामीसँग सबै महिलाहरू बोल्नुहुन्छ । हामी दैनिक उहाँहरूको बस्ती छेउमै हुने र उहाँहरूलाई सहयोग गर्ने भएर पनि हामीसँग घुलमिल हुनुभयो ।

हामी दुई जना (जोडी शिक्षक) जस्तै यहाँ अरू दुई जना स्वास्थ्य प्राविधिक जोडी हुनुहुन्छ । उहाँहरूले गर्भवती, सुत्केरी अवस्थाका महिला तथा बालबालिकालाई पोषणयुक्त खानेकुराहरू खानुपर्छ भनेर सिकाउनुहुन्छ । पहिला त्यस्ता कुरा भन्दा सुन्नै मन नगर्ने महिलाहरू अचेल (शरीरलाई फाइदा गर्छ र पोसिलो हुन्छ भनेर) हामीले भनेको खाने कुराहरू खानुहुन्छ । (त्यस्ता खानेकुरा) बालबालिकालाई पनि खुवाउनुहुन्छ ।

राउटे समुदायमा महिनावारी भएका बेला छुट्टै नबस्ने तर खाना पकाउन नहुने र पकाएको खाना छुन हुँदैन भन्नुहुन्छ । त्यही अभ्यास छ ।

कोही गर्भवती भएको थाहा पाएपछि गर्भ जाँच गरौँ भन्दा चाहिँ उहाँहरू मान्नु नै हुन्न । आफू बस्ने छाप्रोमै सुत्केरी हुनुहुन्छ । सुत्केरी हुने बेला कहिलेकाहीँ हामी पुगिहाल्यो भने पनि पुरुष सदस्यले ‘बिरामी लाग्या छ, नआउनू’ भन्नुहुन्छ । अरू बेला जान दिने ठाउँमा पनि सुत्केरी भएको एक हप्तासम्म हामीलाई पस्न दिनु हुँदैन । उहाँहरूले नवजात शिशु पनि देखाउनु हुँदैन ।

गर्भवती र सुत्केरी अवस्थाका महिलालाई हामीले मासु, लोकल धानको चामल, गेडागुडी, फलफूल जस्ता पोषणयुक्त खानेकुरा खान दिन्छौँ । अचेल त्यो खानुहुन्छ, कतिले त यस्तो चाहियो भनेर माग्नु पनि हुन्छ । आमा स्वस्थ भएपछि बच्चा पनि राम्रो हुँदोरहेछ भन्ने कुरा अचेल उहाँहरूले थाहा पाउन थाल्नुभएको छ ।

महिनावारी र प्याड

राउटे समुदायमा पनि महिनावारी हुँदा केही कुराहरू बार्ने चलन छ । बस्ने ठाउँ त छुट्टै हुँदैन, पाल हालेको छाप्रो हुन्छ । त्यही पालभित्रै परिवारका सबै बस्ने हो । तर, महिनावारी भएकाले खाना पकाउन नहुने, पकाएको खान र छुन हुँदैन भन्नुहुन्छ । त्यही अभ्यास छ ।

कतिपय महिला र किशोरीहरूलाई प्याडको बारेमा बताउँदा लगाउने इच्छा देखाउनु पनि हुन्छ । तर, मुखियाले थाहा पाउँछन् भन्ने डरले लगाउन नसकिरहेको पाइन्छ ।

महिनावारीका बेला बग्ने रगत व्यवस्थापनका लागि पुरानो कपडाको टालो प्रयोग गर्नुहुन्छ तर सबैसँग कपडा सधैँ हुँदैन । त्यही भएर हामीले सेनिटरी प्याडको बारेमा बतायौँ । तर, उहाँहरू ‘हामीले यस्तो लगाउनु हुँदैन’ भन्नुहुन्छ । उहाँहरूले सेनेटरी प्याड प्रयोग गर्नुभएको छैन ।

दुई–तीन जना किशोरी बहिनीहरूले ‘हामीलाई सेनिटरी प्याड लगाउन मन छ तर बस्तीमा थाहा पायो भने कराउँछन्’ भन्नुहुन्छ । उहाँहरू डराउनु पनि हुन्छ । ‘लगाएको थाहा पाए भने बस्तीबाटै निकाल्छन्’ पनि भन्नुहुन्छ । कतिपय महिला र किशोरीहरूलाई प्याडको बारेमा बताउँदा लगाउने इच्छा देखाउनु पनि हुन्छ । तर, मुखियाले थाहा पाउँछन् भन्ने डरले लगाउन नसकिरहेको पाइन्छ ।

अस्पताल नगई झारफुकतिरै

राउटे समुदायमा कोही बिरामी पर्‍यो भने थाहा पाउनासाथ हामीले उपचार गर्न अस्पताल जाने कुरा गर्छौं । उहाँहरू ‘उपचार गर्न जाने चलन छैन’ भन्नुहुन्छ । हामीले लगिदिने कुरा पनि गर्छौं, त्यो पनि उहाँहरू मान्नुहुन्न । कोही त लामो समयसम्म बिरामी पर्नुहुन्छ । उहाँहरूको रोग पहिचान नै हुँदैन । ‘के भयो थाहा पाउन अस्पताल लैजान्छौँ, तपाईंले पैसा तिर्नु पर्दैन’ भन्दा पनि उहाँहरू जान र लान मान्नुहुन्न ।

रोग नै पहिचान नभएर पछिल्लो तीन महिनामा दुई जना किशोरीको मृत्यु भयो । ‘अस्पताल लैजाऊँ, हामी पनि जान्छौँ’ भन्दा उहाँहरू सबै रिसाउने । लैजानु मान्नु भएन ।

हात खुट्टा दुख्छ, टाउको दुख्यो भनेर हाम्रै स्वास्थ्य प्राविधिकसँग भन्नुहुन्छ । अचेल औषधी माग्नु पनि हुन्छ । ‘औषधि दिनुस्’ चाहिँ भन्न थाल्नुभएको छ । तर, उपचारका लागि अस्पताल जान नमान्ने । रोग नै पहिचान नभएर पछिल्लो तीन महिनामा दुई जना किशोरीको मृत्यु भयो । यही माघमा बितेकी बहिनी पनि रोग पहिचान नै नभई थलिएर बितिन् । ‘अस्पताल लैजाऊँ, हामी पनि जान्छौँ’ भन्दा उहाँहरू सबै रिसाउने । तर, अस्पताल जान र लान मान्नु नै भएन ।

पैसा नभएर नलगेको हो कि भनेर हामीले तपाईंहरूको पैसा लाग्दैन पनि भन्थ्यौँ । काठमाडौँसम्मै लगेर उपचार गर्नुपरे पनि संस्थाले सबै खर्च बेहोर्छ पनि भन्थ्यौँ । तर, जति सम्झाए पनि उहाँहरू अस्पताल जानै मान्नु भएन । कहिलेकाहीँ उहाँहरू झारफुक गर्नुहुन्छ । त्यसपछि रोग आफ्नै तरिकाले ठिक हुन्छ भन्ने विश्वास गर्नुहुन्छ । डाक्टरी उपचारमा अझैसम्म पनि उहाँहरूले विश्वास गर्नुभएको छैन ।

कापीकलम समाउँदा रमाउँछन् बालबालिका

राउटे समुदायमा पढ्न हुँदैन भन्ने मान्यता रहेको समुदायका मुखियाहरू बताउनु हुन्छ । त्यही भएर अहिलेसम्म कोही बालबालिका पनि विद्यालय जाँदैनन् । तर, बालबालिकाहरू कापीकलम देख्यो भने समाउने, लेख्ने गर्नुहुन्छ । हामीले पोस्टरहरू देखाउँदै जनावरको चित्र देखाउँछौ अनि भैँसी, गाई, बाख्रा हो भनेर सिकाउँछौँ । मोबाइलमा भिडियो देखाएर पनि बालबालिकालाई सिकाउँछौँ । त्यसरी खेल्दै, पढ्दै, लेख्दै गर्न बालबालिकाहरू रमाउनु हुन्छ । बच्चाहरूलाई हामीले उहाँहरूको बस्तीकै छेउमा बोलाएर यस्ता कुरा सिकाउँछौँ ।

पहिला पहिला त मुखियाहरूले यस्तो कुरा सिकाउनु पर्दैन भनेर हामीलाई भन्नुहुन्थ्यो । बच्चाहरू हामीतिर आए गएको देख्यो भने पनि उनीहरूलाई गाली गर्नुहुन्थ्यो । तर, अचेल बच्चाले कापीकलम समाएको देखे पनि ठुलो मान्छेले केही भन्नु हुँदैन ।

हामीले बालबालिकालाई औपचारिक रूपमा पढाउने नै भन्दा पनि अक्षर चिनाउने, नाम लेख्न सिकाउने र व्यक्तिगत सरसफाइ, स्वास्थ्य, पोषण र खानपानमा ध्यान दिनुपर्ने कुरा सिकाउने गर्छौं ।

अहिले समुदायका २०–२५ जना बालबालिकाले केही अक्षर र आफ्नो नाम लेख्न सक्नुहुन्छ । कसैले क, ख जस्ता अक्षर लेख्नुहुन्छ । कतिले कापीमा कोर्नुहुन्छ । अरू बेला पनि बालबालिकाले क, ख, ग, घ भनेको सुनिन्छ । राउटे बालबालिकालाई सामान्य अक्षर पढ्न र लेख्न सिकाउने प्रयास गरिरहेका छौँ । उहाँहरू ‘हामीलाई पढ्न मन लाग्छ तर आमाबुबा रिसाउनुहुन्छ, मुखियाको डर लाग्छ’ भन्नुहुन्छ ।

बालबालिकाले कापीकलम छोएको, उनीहरूलाई हामीले पढाउँदै गरेको देख्नुभयो भने हामीलाई पहिला त मुखिया तथा उहाँको आमाबुबाले ‘पढाउने होइन, पढ्यो, लेख्यो भने तपाईंहरू जस्तै हुन्छ, बाहिर जतासुकै जान्छन्, जागिर खान्छन्, बिग्रिन्छन्’ भन्नुहुन्थ्यो । अचेल भने अभिभावकहरूले त्यस्तो केही भन्नुहुन्न ।

हामीले बस्तीको एकापट्टि राखेर पढाउने, लेखाउने गर्छौं । ठुला मान्छेहरूले त्यसो गरेको देखे पनि नदेखे जसरी हिँड्नुहुन्छ । एक हिसाबले भन्दा मौन स्वीकृति दिनुभएको होला जस्तो लाग्छ । हामीले बालबालिकालाई औपचारिक रूपमा पढाउने नै भन्दा पनि अक्षर चिनाउने, नाम लेख्न सिकाउने र व्यक्तिगत सरसफाइ, स्वास्थ्य, पोषण र खानपानमा ध्यान दिनुपर्ने कुरा सिकाउने गर्छौं ।

भत्ता मात्रै दिएर भएन

सचेतनाका लागि भए पनि राउटे बालबालिकालाई साक्षर बनाउन राज्यकै तर्फबाट प्रयास हुनुपर्थ्यो भन्ने लाग्छ । एउटा गैरसरकारी संस्थाले त कहिलेसम्म गर्न सक्छ र ? वडा, पालिका सरकारले नै पनि कुनै हिसाबले बालबालिकालाई शैक्षिक चेतना पुर्‍याए हुन्थ्यो । सामान्य जान्नैपर्ने कुरा बस्तीमा खटिएर सिकाउन पर्थ्यो ।

राउटे बस्तीमा झैझगडा हुँदैन । अन्य जाति समुदायमा जस्तो राउटे महिलामाथि पुरुषबाट हिंसा, कुटपिट पनि हुँदैन । केही कुरामा निर्णय लिनुपर्‍यो भने महिलाहरूसँग सरसल्लाह गरेर मात्र निर्णय गर्ने चलन रहेछ ।

अलि बुझ्ने खालका मानिसलाई कहिलेकाहीँ उहाँको समुदायबाट बाहिर लगेर बाहिरी संसारसँग पनि परिचित गराउनुपर्छ जस्तो लाग्छ । त्यस्तो गरेपछि उहाँहरूले बाहिरको वातावरण देख्नुहुन्छ । दुनियाँ बुझ्न थाल्नुहुन्छ । त्यसरी पनि राउटेहरूको जीवनमा सकारात्मक परिवर्तन आउँथ्यो कि ? सरकारले मासिक चार हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता दिने बाहेक राउटेहरूलाई केही गरेको छैन भन्दा हुन्छ ।

सल्लाह र निर्णयमा महिला

राउटे बस्तीमा झैझगडा हुँदैन । हामी आएदेखि एकअर्काबिच झगडा भएको देखेका छैनौँ । उहाँहरू सबै एकआपसमा मिलेर बस्नुहुन्छ । अन्य जाति समुदायमा जस्तो राउटे महिलामाथि हिंसा, कुटपिट हुँदैन । केही कुरामा निर्णय लिनुपर्‍यो भने पनि महिलाहरूसँग सरसल्लाह गरेर मात्र निर्णय गर्ने चलन रहेछ । बस्ती सार्नुपरेको बेलामा कहाँ जाने भनेर मुखियाले ठाउँ हेरेर आउने । त्यसरी आइसकेपछि श्रीमतीलाई बताउने । कहिलेकाहीँ महिलाहरू पनि त्यो ठाउँ हेर्न जाने । महिलाले हुन्छ भनेपछि मात्रै बस्ती सारेको पनि पायौँ ।

अहिलेका बालबालिकालाई हेर्दा चाहिँ पछि गएर यो समुदायमा समय अनुसार परिवर्तन आउँछ जस्तो लाग्छ । बालबालिकाहरू लेखपढमा रहर गर्ने, नयाँ नयाँ कुरा चलाउन खोज्ने गर्नुहुन्छ ।

त्यस्तै, सामाजिक सुरक्षा भत्ता आएपछि पनि श्रीमान्‌ले आफ्नो भत्ता पनि श्रीमतीलाई नै राख्न दिने । बच्चाहरूको भत्ता पनि घरमुली महिलाले नै राखेर खर्च चलाउने अभ्यास छ । बच्चाले केही उपद्रव गर्दा, चकचक गर्दा हामी अरूले त गाली गर्छौं, तर यो समुदायमा भने बच्चालाई उसले जति नै ठुलो उपद्रव गरे पनि गाली गर्ने, कुटपिट गर्ने गरेको हामीले देखेका छैनौँ । उहाँहरूले आफू वरपर रहने बच्चालाई गाली र कुटपिट गर्ने गर्नुहुन्न ।

परिवर्तनको चाहना

अहिलेका बालबालिकालाई हेर्दा चाहिँ पछि गएर यो समुदायमा समय अनुसार परिवर्तन आउँछ जस्तो लाग्छ । बालबालिकाहरू लेखपढमा रहर गर्ने, नयाँ नयाँ कुरा चलाउन खोज्ने गर्नुहुन्छ । हामीले बाइक चलाएको देख्नुभयो भने उहाँहरू पनि त्यो बाइक चलाउन खोज्नुहुन्छ । सडकमा गाडी देखेपछि अरू जस्तै आफू पनि चढ्न खोज्ने । आफ्नो बस्तीमा पनि काठको खेलौना, गाडी बनाएर चलाउने गर्नुहुन्छ । मोबाइलमा पनि उहाँहरूको त्यत्तिकै ध्यान छ । हाम्रो स्मार्ट फोनमा उहाँहरूले भिडियो आफैँ लगाएर हेर्ने, गीत लगाउने, फोटो खिच्ने गर्न जान्नुभएको छ ।

सन्धान, प्रकाशन मिति : २०८० माघ १८ गते, विहीवार


Previous articleभलमन्सा भएर काम गर्दाको खुसी (भिडियो सहित)
Next articleसाथीहरूकै घरमा लुकेर गरेको हो सडक आन्दोलन