Home Stories कहिलेसम्म यसरी बाटोमै सुत्केरी हुनुपर्ने होला ? – सिर्जना सार्की, अनमी

कहिलेसम्म यसरी बाटोमै सुत्केरी हुनुपर्ने होला ? – सिर्जना सार्की, अनमी

1054
0

बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ की उज्जली सुनारले यही सोमबार (भदौ ११ गते ) बिहान बाटोमै बच्चा जन्माउनुभयो । सामाजिक सञ्जाल खासगरी फेसबुक र ट्वीटरमा उहाँका तस्बिरहरूसहित विभिन्न स्टाटसहरू आउन र फैलिन थाले । केही सञ्चार माध्यममा समाचार पनि आए । सार्वजनिक भएको तस्बिरमा एक जना स्वास्थ्यकर्मीको पनि उपस्थिति देखिन्छ । उहाँ को हो त भनी सोधखोज गर्दा सिगाडा सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सिर्जना सार्की हुनुहुँदो रहेछ भन्ने बुझियो । उहाँले नै सो दिन त्यसरी बाटैमा प्रसूति हुन बाध्य उज्जलीलाई संयोगले भेटेर हतारहतार सहयोग पनि पुर्‍याउनुभएको रहेछ । सिर्जनाका अनुसार, त्यो दिन घरबाट कार्यालय जाँदै गर्दा एक जना गर्भवतीलाई बाटामा छटपटाइरहेको देखेर आफूले उहाँलाई सुरक्षित सुत्केरी हुन सघाएको हो ।

सिर्जना कसरी त्यहाँ पुग्नुभयो, त्यहाँ पुग्दा गर्भवतीको अवस्था कस्तो थियो र उहाँलाई कस्तो कस्तो सहयोग गर्नुपर्ने अवस्था आयो ? यिनै मूल प्रश्नमा केन्द्रित भएर ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतले अनमी सिर्जनासँग टेलिफोन कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ, उज्जली सुनार बाटामै सुत्केरी हुनुभएको घटनाबारे सोही टेलिफोन कुराकानीका आधारमा तयार पारिएको अनमी सिर्जना सार्कीको स्वकथन :

म बाजुराकै बुढीगङ्गा नगरपालिका वडा नम्बर १० मा रहेको आधारभूत स्वास्थ्यकेन्द्र सिगाडामा कार्यरत अनमी हुँ । नौ महिना भयो, म अनमी भएको । सोमबार (भदाै ११ गते) बिहान घरबाट कार्यालय जाँदै थिएँ । बिहानको साढे नौ जति बजेको थियो । कार्यालय जाने दुइटा बाटा छन् । त्यो दिन हिँडेको बाटो त म कहिलेकाहीँ मात्रै हिँड्थेँ । खै किन हो त्यो दिन मलाई अर्कै बाटो हिँड्न मन लागेछ जस्तो लागिरहेको छ ।

म अलि माथि नै थिएँ । तल बाटोमा दुई जना यताउता गरिरहेको, कहिले उठ्ने र बस्ने गरेको देखिरहेको थिएँ । कोही केटीहरूले टिकटक बनाएका होलान् भन्ने सोच्दै आफ्नै सुरमा हिँडिरहेँ । उनीहरू भएको ठाउँमा पुग्न दुई–तीन मिनेट लाग्थ्यो होला, तिनैमध्येकी एक जनाले ‘बचाउनू, ज्यान जान लाग्यो, छिटो आउनू, छिटो आउनू’ भन्दै आत्तिएर चिच्याएको सुनेँ ।

म त अफिस जाँदै थिएँ, हातमा लगाउने ‘ग्लोब्स’ (पन्जा) पनि थिएन । ग्लोब्स मगाएर बस्दा ढिलो हुने भएर ग्लोब्स नै नलगाई बच्चा निकालेँ ।

बोलाएको सुन्नेबित्तिकै म पनि दौडिँदै त्यहाँ पुगेँ । म पुग्दा सुत्केरी हुन लागेकी गर्भवती पो रहिछिन् ! अझ नजिकै पुगेर हेर्न थालेँ । बच्चा जन्मिनका लागि टाउको बाहिर निस्किसकेको रहेछ तर शरीर निस्किएको थिएन । बच्चाको घाँटीमा साल बेरिएको रहेछ । खासमा पहिला बच्चा निस्किसकेपछि मात्र एकैछिन पछि साल निस्किनुपर्ने हो तर उहाँको त बच्चाको घाँटीमा साल बेरिएकाले बच्चा निस्किन सकेको रहेनछ । त्यो असह्य दुखाइले आमा छटपटाइरहेको देखेँ ।

बच्चा जन्मिने बेलामा बच्चाको घाँटीमा साल बेरिनु भनेको त बच्चाको लागि ‘पासो’ लागे जस्तै हो । टाउको निस्किएको बच्चाको कुम अड्किएर शरीर निस्किन नसकेको भनेको त जटिल अवस्था हो । बच्चा बाहिर निस्किन सकेन भने आमा र बच्चा दुवैको ज्यान खतरामा पर्नसक्ने अवस्था हो । यसैले म पुगेपछि सबैभन्दा पहिला बच्चाको घाँटीमा बेरिएको साल निकालेँ । अनि बच्चा निस्कियो ।

बच्चा पनि साढे तीन किलोग्रामको रहेछ । निस्सासिएको अवस्थामा पुगिसकेको भएर, त्यस्तो बेलामा निकालेको भएर हो कि बच्चा आधा घण्टासम्म रोएन । रुन सकेन । आमालाई त अलि सजिलो भए पनि जन्मेपछि रुनुपर्ने बच्चा नरुँदा फेरि अर्को डर लाग्यो । म त अफिस जाँदै थिएँ, हातमा लगाउने ‘ग्लोब्स’ (पन्जा) पनि थिएन । ग्लोब्स मगाएर बस्दा ढिलो हुने भएर ग्लोब्स नै नलगाई बच्चा निकालेँ । खै किन हो, साथमा कपडाहरू पनि बोकेको देखिनँ । एउटा सल रहेछ, त्यही सलमा बच्चालाई पोको पारेर राखेँ ।

बाटोमा ढुङ्गैढुङ्गा भएकाले सुत्केरी र शिशुलाई सुताउन घाँस काटेर बिछ्यायौँ । घाँस काट्न हिँड्नेहरूसँग आँसी (हँसिया) मागेर घाँस/स्याउला काटेर भुईंको ढुङ्गाले नबिझाउने गरी बिछ्यायौँ । बच्चा जन्मिएपछि आमालाई पनि केही सहज भयो, बच्चा पनि बिस्तारै सामान्य भएको थियो । त्यसपछि मैले वडा अध्यक्ष र मेरो इन्चार्जलाई फोन गरेँ । इन्चार्जले सुत्केरी र शिशुका लागि कपडा, सलाइनका बोतल लिएर आउनुभयो ।

मैले भर्खरै एसबिए (प्रसूति गराउने) तालिम सकेको थिएँ । त्यो भएर त्यसरी साल घाँटीमा अड्किएको अवस्थामा पनि बच्चालाई सकुशल निकाल्न सकेँ । त्यो तालिम नलिएको व्यक्तिले त्यस्तो खालको प्रसूति गराउनै सक्दैन, मिल्दैन पनि ।

मैले निलो कुर्ता र कलेजी रङको सुरुवाल लगाएको थिएँ । त्यो पोसाकबाट उनीहरूले मलाई स्वास्थ्यकर्मी होला भनेर चिने कि जस्तो पनि लाग्यो । बाटोमा कोही मान्छे भेटिएका थिएनन्, जो देखे पनि केही सहयोग होला भनेर पनि उहाँहरूले मलाई बोलाएको हुनसक्छ । अहिले सम्झिँदा लाग्छ, सुत्केरी र शिशुको ज्यान बचाउनका लागि मलाई त्यो दिन त्यो बाटो कार्यालय जान मन लागेछ ।

मैले भर्खरै एसबिए (प्रसूति गराउने) तालिम सकेको थिएँ । त्यो भएर त्यसरी साल घाँटीमा अड्किएको अवस्थामा पनि बच्चालाई सकुशल निकाल्न सकेँ । त्यो तालिम नलिएको व्यक्तिले त्यस्तो खालको प्रसूति गराउनै सक्दैन, मिल्दैन पनि । त्यतिबेला मसँग ग्लोब्स पनि थिएन । आपत् परिसकेको देखेपछि खाली हातले नै सहयोग गर्नुपर्‍याे । बेलैमा सघाएर सकुशल र सुरक्षित प्रसूति गराउन सक्दा धेरै खुसी लागेको छ ।

कसरी बाटोमा सुत्केरी ?

सुत्केरी हुनकै लागि उज्जली अछामको बयलपाटा अस्पताल पुग्नुभएको थियो । उहाँसँगै उहाँको देउरानी हुनुहुँदो रहेछ । ३२ वर्षीया उज्जलीको यो पाँचौ पटकको सुत्केरी रहेछ । सुत्केरी हुनका लागि दिइएको समयभन्दा १४ दिन ढिला भइसकेको रहेछ । अस्पतालमा ‘अब बेथा लागेर नर्मल बच्चा हुँदैन, अप्रेसन गरेर बच्चा निकाल्नुपर्छ’ भनिएको रहेछ । अस्पतालले शल्यक्रिया (अप्रेसन) गर्नुपर्छ भनेपछि उहाँले भारतमा काम गर्ने आफ्नो श्रीमान्‌लाई फोन गर्नुभएछ । श्रीमान्‌ले अप्रेसन गर्ने भए उतै (भारत) आउनु भनेपछि डाक्टरसँग थप सल्लाह नगरी उहाँहरू दुवै जना अस्पतालबाट हिँड्नुभएको रहेछ ।

प्रसूति गराइसकेपछि उज्जली र शिशुलाई यही वडाकै अर्को स्वास्थ्य संस्था (सामुदायिक इकाइ केन्द्र) छ, त्यहीँ राख्यौँ । म पनि घर नगई उहाँसँगै बसेँ राति । भोलिपल्ट आमा र बच्चा दुवै सामान्य भएपछि बिहान घर पठायौँ । उहाँको घर पुग्न दुई–तीन घण्टा लाग्छ रे ! आफैँ हिँड्दै जानुभयो ।

पछि मैले पनि ‘किन अस्पतालबाट फर्केको ?’ भनेर सोधेँ । श्रीमान्‌ले उतै आउनु भनेकाले घरमा भएको सानो बच्चालाई लिएर इन्डिया जाने सोचेर बच्चा लिन घर हिँडेको भन्ने जवाफ पाएँ । त्यसरी घर जाँदा बाटैमा बेथा लागेछ । उज्जलीको घरमा दुई वर्षको एक जना र अर्को गरी दुई सन्तान रहेछन् । उहाँका दुई सन्तान पहिले नै जन्मिएर बितेका रे ! अहिले बाटामा पाँचाँै सन्तानको जन्म भएको रहेछ । त्यो बच्चा जन्मेको ठाउँ बाजुराको बुढीगङ्गा नगरपालिका वडा नम्बर १० स्थित पानीभुवाको बाटो हो ।

अनमी सिर्जना सार्की र उज्जली सुनार । सबै तस्विरहरू : सिर्जना सार्की

बेथा लागेपछि उज्जलीको देवरानी पनि के गर्ने, कसो गर्ने भएर अलमलिनुभएको रहेछ । देउरानीको पनि चार महिनाको बच्चा साथमै रहेछ । फेरि त्यो समयमा बाटो हिँड्ने पनि कोही हुँदैनथे । बिहान काम गर्नेहरू सबै घर गएर खाना खाने बेला भएको थियो । कम्तीमा डेढ–दुई घण्टा बाटो हिँड्ने कोही हुँदैनथे । अहिले सोच्दा, त्यतिबेला संयोगले म नपुगेको भए आमा र शिशु दुवैको ज्यान जे पनि हुनसक्थ्यो भन्ने लाग्छ ।

प्रसूति गराइसकेपछि उज्जली र शिशुलाई यही वडाकै अर्को स्वास्थ्य संस्था (सामुदायिक इकाइ केन्द्र) छ, त्यहीँ राख्यौँ । म पनि घर नगई उहाँसँगै बसेँ राति । भोलिपल्ट आमा र बच्चा दुवै सामान्य भएपछि बिहान घर पठायौँ । उहाँको घर पुग्न दुई–तीन घण्टा लाग्छ रे ! आफैँ हिँड्दै जानुभयो । भर्खर जन्मिएको शिशुलाई देवरानीले आफैँ बोकिदिनुभयो । देउरानीले एक जना आफन्त बोलाएर आफ्नो बच्चालाई बोक्न लगाउनुभयो । बर्खाको समय मोटरबाटो ठाउँठाउँमा भत्केको छ । यसैले यहाँ अहिले गाडी चल्दैन । कहिलेकाहीँ गाडी चले पनि भनेको बेला गाडी नपाउने भएकाले जसरी पनि हिँड्ने नै हो ।

अलि अस्ति नै पनि हाम्रै जिल्लामा दुई जना बाटोमै सुत्केरी भएका थिए । अहिले त झन् आफ्नै हातले प्रसूति गराएँ । अप्ठ्यारो अवस्थामा सहयोग गर्न पाएकोमा त खुसी छु तर कति महिलाले कहिलेसम्म यसरी बाटोमै सुत्केरी हुनुपर्ने होला भन्ने सम्झेर दुःख लाग्छ ।

सन्धान प्रकाशन मिति : २०८० भदाै १७ गते, आइतवार


Previous articleस्वास्थ्य स्वयंसेविकाहरू चरम बेवास्तामा –भगवती राजभण्डारी
Next articleआफ्नो भाषा सिक्न उत्साहित छन् मेचे बालबालिका (भिडियो सहित) –सुनिता मेचे