Home Photo Feature अपाङ्गता भएका महिलाहरूले प्रस्तुत गरे प्रतिभा (फोटो फिचर)

अपाङ्गता भएका महिलाहरूले प्रस्तुत गरे प्रतिभा (फोटो फिचर)

1622
0

वि.सं. २०८० जेठ २० गते शनिवार । ललितपुर जिल्लाको सानेपास्थित हेरिटेज गार्डेनको हलमा त्यो दिन अलिक फरक कार्यक्रमको आयोजना भइरहेको थियो । कार्यक्रमको नाम थियो, ‘मिस एन्ड मिसेस् डिस्याबिलिटी क्विन–२०२३’ । यो फरक तर शारीरिक अपाङ्गता भएका देशभरका इच्छुक महिलाहरूले प्रतिभा प्रस्तुत गर्न सक्ने एउटा मञ्च थियो । ‘मिस एन्ड मिसेस् डिस्याबिलिटी क्विन’ को यो तेस्रो संस्करण थियो ।

आयोजक संस्था ग्रीन आर्ट्स मिडिया प्रा.लि. का अनुसार, शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा अलग्गै पहिचान दिने र उनीहरूको क्षमता प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतियोगितामा २३ जना महिलाहरू सहभागी भए । उनीहरू विभिन्न कारणबाट शारीरिक रूपमा अपाङ्गता भएका अवस्थामा थिए । प्रतियोगीहरूमध्ये अधिकांश ह्विलचेयर प्रयोगकर्ता थिए । केही भने बैसाखीको सहयोगमा प्रतिस्पर्धामा उत्रिएका थिए ।

शारीरिक रूपमा अपाङ्गता भएर आर्थिक तथा सामाजिक क्षेत्रमा पछि परेका तथा रोजगारीको अवसर नपाएका महिलाहरूको क्षमता पहिचान गर्न कार्यक्रम आयोजना गरिएको ग्रीन आर्ट्स मिडिया प्रा.लि. का संस्थापक एवं कार्यकारी प्रमुख प्रवीण लाकौलले बताउनुभयो ।

यसअघि भएका दुई प्रतियोगिताका केही सहभागीहरूले शिक्षा र रोजगारीका क्षेत्रमा राम्रो अवसर पाएका कारण यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइएको उहाँको भनाइ छ ।

तेस्रो पटकको प्रतियोगितामा धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, तेह्रथुम, खोटाङ, कालिकोट, कैलालीलगायत जिल्लाहरूबाट सहभागी भएका थिए ।

प्रतियोगीहरूमध्ये एक हुनुहुन्थ्यो, अरुणा छन्त्याल । उहाँका पुस्तकहरू अङ्ग्रेजी भाषामा प्रकाशित छन् । विश्वकै ठुला अनलाइन प्लेटफर्महरू अमेजन डट कम, इबे डट कम आदिबाट समेत उहाँका पुस्तकहरू खरिद गर्न सकिन्छ । कार्यकारी प्रमुख प्रवीणको भनाइ छ– अरुणा जस्ता प्रतियोगीलाई नेपाल र नेपालीले भने कमै मात्रामा चिनेका छन् ।

प्रतियोगिताका निर्देशक एवं कोरियोग्राफर अनिला श्रेष्ठ प्रतियोगितालाई अपाङ्ता भएका महिलाहरूको सिप र क्षमताको पहिचान र वृद्धि गर्ने अवसरको रूपमा हेरिनुपर्ने बताउनुहुन्छ ।

“प्रतियोगीहरूमध्ये कतिपयले माइक, क्यामेरा आदि नजिकबाट देख्न र त्यसको प्रयोग गर्न पाउनुभएको थिएन,” कोरियोग्राफर अनिला भन्नुहुन्छ, “त्यसैले हामीले उहाँहरूको शारीरिक क्षमता, प्रतिभा र इच्छा अनुरूप प्रशिक्षण दिएर प्रतियोगितामा प्रस्तुत गर्‍यौँ ।”

प्रतियोगीहरूमध्ये ह्विलचेयरमै बसेर कतिपयले नृत्य प्रस्तुत गर्नुभयो भने कसैले गीत गाउनुभयो । केहीले विभिन्न ताल निकालेर मादल बजाउनुभयो । कतिपयले कविता सुनाउनुभयो ।

प्रतियोगितामा विवाहिततर्फ सुर्खेतकी नन्दा साउदले ‘वेस्ट पर्फर्मेन्स’ को उपाधिसहित ‘मिस एन्ड मिसेस् डिस्याबिलिटी क्विन नेपाल–२०२३’ को उपाधि हात पार्नुभयो । यस्तै, गुल्मीकी झरना घिमिरेले ‘बेस्ट पर्सनालिटी’ को उपाधिसहित फस्ट रनर अप र स्याङ्जाकी निर्मला खाँडले सेकेन्ड रनर अपको उपाधि हात पार्नुभयो । अविवाहितातर्फको उपाधि रमिला साउदले पाउनुभयो ।

तस्बिरहरूः मुकुन्द बोगटी/सन्धान

सन्धानमा प्रकाशित भएका फोटो स्टोरीहरू

सन्धान प्रकाशन मिति : २०८० जेष्ट २३ गते, मंगलवार


Previous articleसमानताको खोजीमा सङ्घर्षरत दलित महिलाहरू
Next articleम बाबु, म आमा