Home Photo Feature बयान गर्नै सकिँदैन साइकल जानेपछिको खुसी (भिडियो/फोटोसहित)

बयान गर्नै सकिँदैन साइकल जानेपछिको खुसी (भिडियो/फोटोसहित)

1083
0

सन्दर्भ : विश्व साइकल दिवस (जुन ३)

आज विश्व साइकल दिवस ! जुन ३ तारिखलाई साइकल दिवसका रूपमा मनाउन थालेको पाँच वर्ष भयो । सन् २०१८ मा संयुक्त राष्ट्र सङ्घको महासभाले जुन ३ लाई विश्व साइकल दिवस मनाउने निर्णय गरेको हो ।

नेपालका सहरी क्षेत्रहरूमा साइकल चलाउने महिलाको सङ्ख्या पनि बढ्दै छ । महानगरपालिका जस्ता ठुला सहरहरूमा साइकल चलाउन प्रोत्साहन गर्दै ‘साइकल सिटी’ जस्ता अभियान पनि चलेको पाइन्छ । यस क्रममा कतिपय मुख्य सडकहरूमा ‘साइकल लेन’ नै बनाइएको पनि देखिन्छ ।

ललितपुर महानगरपालिकाको जावलाखेल र बुङमती–खोकनामा त पाका उमेरका महिलाहरूलाई साइकल सिकाउने अभियान पनि चलिरहेको छ । ‘महिलाका लागि महिला अभियान’ को पहलमा बुङमतीमा साइकल सिकाउने अभियान यही २०८० वैशाख २२ गते सुरु गरियो ।

अभियानका स्थानीय संयोजक धनमाया शाक्यका अनुसार, स्थानीय फुटबल चौरमा हरेक बिहान ५ बजेदेखि ६ः३० बजेसम्म इच्छुक महिलाहरूलाई साइकल सिकाउने गरिएको छ ।

‘बुङ–खोकना’ नाम दिइएको सो साइकल सिकाउने अभियानमा बुङमतीसहित खोकना, चुनिखेलका महिलाहरूले साइकल सिक्ने गरेका छन् ।

‘महिलाका लागि महिला अभियान’ ले यसअघि २०७८ फागुनमा ललितपुरको जावलाखेलमा महिलाहरूलाई साइकल सिकाउने अभियान सुरु गरेको हो । जावलाखेलमा करिब १५ महिनादेखि यो अभियान चलिरहेको छ ।

‘महिलाका लागि महिला अभियान’ की संयोजक महेश्वरी विष्ट घरभित्रैको काममा मात्रै सीमित भइरहेका महिलाहरूलाई घरबाहिर ल्याएर गतिशीलता प्रदान गर्ने, सोही ‘मोबिलिटी’ को माध्यमबाट उनीहरूमा आत्मविश्वास जगाउने उद्देश्यले साइकल सिकाउने अभियान सुरु गरिएको बताउनुहुन्छ । उहाँका अनुसार, अहिलेसम्म जावलाखेलमा करिब आठसय जना महिलाले साइकल चलाउन सिकिसकेका छन् ।

“हामी तीन–चार जनाले जावलाखेलमा गएर सिक्यौँ र आफ्नै ठाउँमा सिकाउन थाल्यौँ,” ‘बुङ–खोकना’ अभियानका संयोजक धनमाया भन्नुहुन्छ । साइकल सिक्न चाहने महिलाहरूको सङ्ख्या र उत्साह आफूले सोचेभन्दा निकै बढी पाएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “यसअघि कामका लागि बाहिर नहिँडेका तथा विभिन्न पेसा व्यवसायमा भएका ५४–५५ वर्ष उमेरसम्मका महिलाहरू साइकल सिक्न आइरहनु भएको छ ।”

पचास कटेका महिलाहरूले पनि साइकल सिक्ने किन होला त ? यसको जवाफमा संयोजक महेश्वरी भन्नुहुन्छ, “साइकल सिक्दा महिलाहरूको गतिशीलतासँगै शारीरिक, मानसिक स्वास्थ्य पनि राम्रो भइरहेको पाइएको छ ।”

परिपक्व उमेरका महिलाहरूको गतिशीलतासँगै स्वास्थ्यमा सुधार भइरहेको पाएपछि अभियानलाई स्थानीय निकायले पनि सकारात्मक रूपमा हेर्न थालेको पाइएको छ । ‘बुङ–खोकना’ साइकल सिकाउने अभियानलाई ललितपुर महानगरपालिका वडा नम्बर २२ ले त साइकल नै प्रदान गरिसकेको छ । यस सम्बन्धमा वडाध्यक्ष सागर तुलाधर भन्नुुहुन्छ, “आफ्नै वडामा महिलाहरूलाई साइकल सिकाउने अभियान सुरु भएको रहेछ, अभियानमा वडाको साथ रहेको छ र केही दिनअघि तीन वटा साइकल प्रदान गरेँ ।”

हिजो शुक्रबार बुङ्मती पुगेर ‘सन्धान’ सहकर्मीहरू लक्ष्मी बस्नेत, गार्डिका बज्राचार्य र मुकुन्द बोगटीले साइकल सिकिरहेका महिलाहरूको अनुभव र दृश्य सङ्कलन गर्नुभएको थियो । प्रस्तुत छ, साइकल सिकिरहेका महिलाहरूको अनुभवसहितको भिडियो सामग्री तथा केही तस्विरहरू :

तस्बिरहरूः मुकुन्द बोगटी/सन्धान

भिडियो हेर्नुहोला

सन्धान प्रकाशन मिति : २०८० जेठ २० गते, शनिबार