सरकारी सेवाका अमूल्य ३० वर्ष
सरकारी सेवाको आज ३० वर्ष पूरा हुँदासम्म जीवन जिउन जागिर खाएको कहिल्यै सोचिनँ । हरेक क्षण मानवको सेवा गर्न गजबको अवसर पाएको छु भन्ने ठानेँ । बुद्धि विवेकले भ्याए जति गरेँ । इमान्दार हुने प्रयास गरिरहेँ । आफूले हात हालेर काम गरेको क्षेत्रका महिला र समाजलाई उत्साहित र चलायमान बनाएर समाज नै परिवर्तन होस्, समुदायको हरेक वर्गको आपसी सम्बन्ध सद्भावपूर्ण रहोस् र सहकार्यको वातावरण बनोस् भन्ने मेरो प्रयास रह्यो । आगामी दिनमा पनि रहिरहने छ । आफ्नो आत्माको आवाजलाई पछ्याएकाले होला जीवनको उर्वर र अमूल्य ३० वर्ष सकिएको पत्तै भएन । अहिले कुनै पछुतो पनि छैन ।
पैसा कमाउनु मेरा लागि प्राथमिकतामा कहिल्यै रहेन । केटाकेटी उमेरदेखि मान्छे भएर जन्मेपछि अरूको लागि पनि काम लाग्न सक्नुपर्छ भन्ने विचार आइरहन्थ्यो । सोच्ने गर्थें, “आफ्नो परिवार त पशुपन्छीले पनि माया गरेरै हुर्काउँछ र सम्हाल्छ नै, आफ्नै परिवार मात्र भनेर बाँचेँ भने त्यो विवेक प्रयोग गर्न नसक्ने पशुपन्छी र म मान्छेमा के नै फरक भयो र ?”
यस्ता विचारहरू आउने भएकाले जागिर खाएर पैसा कमाउने र जीवन बिताउने सोच सुरुदेखि नै हुँदै भएन । अर्को, महिलालाई महत्त्व नदिने समाजका पुरुष अगुवा भएका संस्थामा काम गरे उनीहरूबाट हुनसक्ने दुर्व्यवहारको डरले झन् जागिर गर्ने सोचेकै थिइनँ । आफैँ केही न केही उद्यम गर्नुपर्छ र जीवनमा बाँधिएर हैन स्वतन्त्र र सिर्जनशील भएर अरूलाई समेत काम दिने काममा लागेर बिताउनु पर्छ भन्ने सोच बलियो थियो तर त्यस्तो कसरी गर्ने भन्ने केही थाहा थिएन । आफू हुर्केको समाजमा महिलाले घरभित्रको उराठलाग्दो एकनासे दैनिकी बाँचेको मात्र देखिन्थ्यो । आजको समय जस्तो अरूलाई देखेर, पढेर सिक्ने भन्ने पनि थिएन ।
ग्रामीण भेगका महिला दिदिबहिनीहरूको जीवन बुझ्ने, उनीहरूको जीवनस्तरमा सघाउ पुग्ने खालका केही काम गर्ने तथा ग्रामीण भूगोलको अनुभव सँगाल्ने, सिकाइ बटुल्ने सोच थियो ।
त्यसैले आफूलाई भविष्यमा उद्यमी बनाएर स्वतन्त्र बाँच्न सकिएला भनेर आफैँलाई सिपयुक्त बनाउन चाहेँ । कलेज पढ्दा–पढ्दै ‘ड्रेस डिजाइनर ट्रेनिङ’ लिइसकेको थिएँ । स्नातक अध्ययनको अन्त्यतिर विवाह भयो । अर्को वर्षमा नै बच्चा जन्मियो । तर, आफूलाई आत्मनिर्भर बनाउने सपनालाई छेक्न र विवाहपछिको पारिवारिक जिम्मेवारीबाट आफूलाई विचलित हुन दिइनँ । श्रीमान्काे जागिर काठमाडौँ बाहिरको जिल्लामा थियो । म काठमाडौँमा थिएँ । तर पनि १८ महिनाको बच्चालाई स्कुलमा भर्ना गरेर बुटिक सञ्चालन सुरु गरिसकेको थिएँ । स्नातकोत्तर तहको अध्ययन पनि साथसाथै लगिरहेको थिएँ । सासूआमाको हेरविचार गर्नु र उहाँलाई खुसी दिनु मेरो कर्तव्य हो भन्ने ठान्थेँ । समय निकालेर उहाँलाई खुसी दिने प्रयास पनि छोडिनँ ।
जागिरतिर मोडिएको दिन
आत्मनिर्भर हुने आफ्नै सोचअनुसार पाइला अगाडि बढ्दै गर्दा महिला विकास अधिकृतको परीक्षा दिई हेरौँ न त भन्ने लाग्यो । नाम निस्कियो । महिला विकास अधिकृत भएर काम गर्न दुर्गम क्षेत्रमा जानुपर्ने सर्त विज्ञापनमै उल्लेख थियो जुन मेरो तत्कालीन परिस्थितिमा पटक्कै अनुकूल थिएन । तर पनि २०४९ फागुन १८ गतेदेखि मेरो यात्रा जागिरतिर मोडियो । नियुक्ति पत्र लिएर जागिर सुरु गर्नुअघि थुप्रै कुरा मनमा आउँथ्यो । केही गर्ने अठोट पनि थियो । ग्रामीण भेगका महिला दिदिबहिनीहरूको जीवन बुझ्ने, उनीहरूको जीवनस्तरमा सघाउ पुग्ने खालका केही काम गर्ने तथा ग्रामीण भूगोलको अनुभव सँगाल्ने, सिकाइ बटुल्ने सोच थियो । त्यही भएर केही सिक्ने, केही बुझ्ने, केही अनुभव गर्ने, केही काम गर्छु भनेर आफैँसँग पहिला अठोट गरेँ । अनि त्यो अठोटमा श्रीमान्लाई सहयोग गर्न सहमत गराएँ ।
बुटिक व्यवसायबाट महिला विकास अधिकृत
महिला विकास अधिकृत पदको नियुक्ति पत्र बुझ्दा म काठमाडौँमा सुख सुविधामै थिएँ । दुई वर्षको छोरा हुर्किंदै थियो । पढाइ महत्त्वपूर्ण हो भन्ने मेरो जोसकै कारण कीर्तिपुरमा स्नातकोत्तर तहको अध्ययन गर्दै थिएँ । अनि श्रीमान्लाई आर्थिक बोझ दिन हुँदैन भनेर सुरु गरेको बुटिक व्यवसाय पनि गज्जबले चलिरहेको थियो । यी सबैका बाबजुद नयाँ कामको अनुभव गर्ने इच्छा र मेरो अठोटले जित्यो । पैसा कमाउनुभन्दा दुर्गम जिल्लामा महिला सशक्तीकरण र अधिकारका लागि काम गर्ने मन भयो । आफैँले कार्यालयको नेतृत्व गर्न पाउने अवसरलाई मैले महत्त्वपूर्ण ठानेँ ।
जागिरमा जाने निर्णय त्यसै लिएको थिइनँ । समाजले महत्त्व नै नदिएका महिलाहरूको सशक्तीकरणको लागि भनेर सरकारले सञ्चालनमा ल्याएको कार्यालयको प्रमुख भएर सामना गर्नुपर्ने चुनौती र अनुभव गर्न पाइने अवसरको कल्पना र दुर्गम स्थानको जनजीवनसँग साक्षात्कार हुन पाइने कुराले मलाई रोमाञ्चक बनाएको थियो । जसरी भए पनि अवसर नछोड्ने निर्णय गरेँ । अरूका कुरा सुनेर डगमगाइनँ ।
किन जागिर खानु ? भन्ने प्रश्नको घेरामा
नेपालमा २०४६ सालको जनआन्दोलन सफल भएर बहुदल आएको धेरै भएको थिएन । अहिले जस्तो खुला समाज भइसकेको थिएन । २०४९ सालतिरको समाजमा पुरुषहरूले मात्र घर बाहिर गएर जागिर खाने हो भन्ने सोच बलियो थियो । घरबार भएका महिलाले काठमाडौँबाहिर गएर काम गर्न हुँदैन र गर्दैनन् भन्ने सोच थियो । त्यसैले मलाई चारैतिरबाट थुप्रै प्रश्नहरू आए । यस्तो सानो काखेबालक लिएर खानै नपाएको र नपुगेको जसरी किन जागिर खान जाने ? जागिर गाउँमा गएर किन गर्न लागेको ? तिम्रै आफ्नै कमाइ छँदैछ नि ! अझ किनेर तरकारीसमेत खान नपाइने डडेलधुरा जस्तो विकट र काठमाडौँबाट निकै टाढाको ठाउँमा ? के नपुग्दो छ र तिमीलाई जान लागेको ? बच्चालाई केही नपाउने दुर्गम र दुःखी ठाउँमा किन जान लागेको ? काठमाडौँमा राम्रैसँग अगाडि बढेको मान्छेले जानीजानी दुःख पाउने बाटो किन खोजेको ? अझ त्यसमा पनि हरियो तरकारीसमेत किनेर खान नपाइने ठाउँमा केका लागि जान लागेको ? सबै शुभचिन्तकहरूबाट यस्ता थुप्रै प्रश्नहरू आइरहे । मेरो श्रीमान्, म र मेरो माइतीलाई मेरै हित चिताएर शुभचिन्तकहरूले दिनुभएको सुझावलाई मैले सुनेँ मात्र । त्यसबाट आफ्नो हृदयको आवाजलाई डगमगिन दिइनँ । मेरो अन्तरआत्माले भनिरहेको थियो, “यो उमेर सुखमा रुमलिने होइन, चुनौती सामना गर्ने, केही बुझ्ने र अनुभव बटुल्ने हो ।” त्यसैले सबैका कुरा सुनेँ तर आफ्नै निर्णयमा अडिएर जागिर सुरु गरेँ ।
जागिर डडेलधुराबाट सुरु गरेँ तर सुदूरदेखि पूर्वको मोरङसम्मका विभिन्न भूगोल, तराईका फाँटका समुदाय खासगरी महिलाहरूसँग काम गरेको फराकिलो अनुभव सँगालेको छु ।
श्रीमान्देखि आमाबाबा, दाजुभाइसहितका परिवारका सबैलाई भनेकी थिएँ, “जागिर मैले खाने हो, बच्चा र मलाई सहजै भए एकाध वर्ष काम गर्छु, गर्नै नसके छोडेर आउँला । बच्चालाई साह्रै नै अप्ठ्यारो पारेर म बस्दिनँ ।” तर कसैले मलाई जागिरबाट राजीनामा दिनू भनेर रोक्न भने सक्दैन पनि भनेकी थिएँ । जागिर खाने वा छाड्ने मेरै हातमा थियो । कसैलाई फकाउँदै, कसैलाई आफ्नो निर्णय सुनाउँदै, कसैको कुरा सुनेजस्तो मात्रै गर्दै सुरु गरेको जागिर ३० वर्ष पूरा भएर निवृत्त हुँदा आज आफैँलाई अचम्म लागेको छ । त्यतिबेलाको समाजमा आफूले अडिग भएर लिएको निर्णय सम्झेर आफैँप्रति गर्व पनि छ ।
जागिर डडेलधुराबाट सुरु गरेँ तर सुदूरदेखि पूर्वको मोरङसम्मका विभिन्न भूगोल, तराईका फाँटका समुदाय खासगरी महिलाहरूसँग काम गरेको फराकिलो अनुभव सँगालेको छु । पहाडको अति नै दयनीय ग्रामीण जीवनदेखि तराईको सीमावत्र्ती क्षेत्रसम्मका समुदाय र महिलाको जीवन कथा, व्यथा र परिवर्तनका लागि गरिएको समुदाय परिचालनबाट देखिएको उत्कृष्ट परिणामको साक्षी भएको छु । समुदायलाई सही ढङ्गले परिचालन गर्नसके पूरै समाजले नसोचेको फड्को कसरी मार्दो रहेछ भन्ने आफैँले गरेको सुखद अनुभव मनभरि ताजा छन् । काम गरेर सकारात्मक परिवर्तनबाट खुसी भएका समुदायका खासगरी महिलाहरूको आशिर्वाद पनि पाइरहेकै छु ।
महिला विकास अधिकृतबाट जागिर सुरु गरेर महिला मन्त्रालय, महिला आयोग र देशको सर्वाेच्च निकाय प्रधानमन्त्री कार्यालयमा समेत काम गर्ने अवसर पाएँ । कतिपय ठाउँमा खुसी र चाहनाले नपुगे पनि जिम्मेवारी लिएपछि तन, मन दिएर काम गर्नुपर्छ भनेर गरेँ । आज मसँग केन्द्रका निकाय कसरी चल्छन्, कसरी काम हुन्छ भन्ने सवालमा थुप्रै तीता र मिठा अनुभव छन् ।
नयाँ संविधानको कार्यान्वयनसँगै मैले स्थानीय तहको सरकारसँग काम गर्न पाएँ । म ललितपुर महानगरपालिकामा आफ्नै चाहनाले आएँ । यहीँ साढे चार वर्षभन्दा बढी सेवा दिएर स्थानीय सरकारको काम र अवस्थालाई राम्रोसँग बुझ्ने अवसर पाएँ । यसबाट आफू झन् बलियो भएको अनुभव गरेको छु ।
मेरो जागिरको पहिलो थलो
मैले जागिर खान सुरु गरेको जिल्ला डडेलधुरा हो । त्यो जिल्ला मेरो जागिरको पहिलो थलो हो । त्यहाँ २०४९ देखि २०५३ सालसम्म बसेँ । सुरुमा मैले देखेको महिलाको अवस्था यस्तो थियो :
- महिला मान्छे हो भन्ने नै थिएन । कुनै घरमा गएर ‘को हुनुहुन्छ ?’ भन्दा ‘घरमा मान्छे नै छैन’ भनेर महिलाहरूले नै भन्थे । उनीहरूले आफूलाई मान्छे नै ठान्दैनथे ।
- महिलाले परपुरुषसँग बोल्नु त परको कुरा नमस्ते गर्नु र फर्काउनुलाई पनि इज्जत नै गएको ठानिन्थ्यो ।
- महिलाहरू बर्सेनि बच्चा जन्माउनुपर्दा र पोषणको कमीले गर्दा २५–३० बर्षको उमेरमै ४०–४५ वर्षका जस्ता देखिन्थे ।
- अधिकांश ग्रामीण महिलाले झुत्रा र च्यातिएका लुगा लगाएको देखिन्थ्यो ।
- महिलाहरू महिनावारी हुँदा व्यवस्थापन गर्न कपडाका टालासमेत पाउँदैन थिए । टाला हुनेले पनि लगाउन जान्दैन थिए ।
- महिनावारी भएका बेला महिलाहरूले अरू सबैले हिँड्ने गोरेटो बाटोसमेत हिँड्न पाउँदैन थिए ।
- बाघ लाग्ने जङ्गल भएर महिलाहरूले घाँसपात गर्नुपर्थ्यो ।
- महिलाले सिकिस्तै बिरामी नहुँदासम्म उपचार पाउँदैन थिए । बरू गाईवस्तुको उपचार चाँडो हुन्थ्यो । किनकी गाईवस्तु त बेच्न मिल्थ्यो र पैसा आउँथ्यो ।
- अधिकांश गाउँका पुरुषहरू मजदुरीका लागि भारत गएका हुन्थे ।
- गाउँघरमै भएका पुरुषहरू चाहिँ रक्सीले मातेका हुन्थे । बाटो हिँड्दा तिनले केही गर्छन् कि भनेर महिलाले डराउँदै हिँड्नुपर्थ्यो ।
- छाउ हुँदा महिलाहरू गाईगोठमा सुत्थे । घर बाहिरको गरुङ्गो काम सबै महिलाले नै गर्नुपथ्र्यो । महिनावारी भएका बेला महिलाले पानीले नछोइकन दुध दुहेर भान्छामा दिन्थे तर तिनै महिलालाई ‘छाउ’ भएको भनी त्यही दुध मुखमा हाले गाई बिग्रन्छ र मर्छ भनेर खान दिइँदैन थियो ।
- महिलाको दुःख निवारणका उपायहरू देखाउँदा भन्थे– क्या गद्दे हजुर, हम बैगानीहरूलाई भगवानले भाग्य ईसई दियो, इसै ठीक छ । सरकारको ऋण लिए जन भुन्या अरू तमरो बात माडौँला ।
- बालकहरू १२–१३ वर्षमै कि त बुबा, काका, दाजुसँग, नभए गाउँलेका साथमा लागेर भए पनि काम सिक्न भारत हिँडिसकेका हुन्थे ।
- रातदिन वस्तुभाउ पाल्ने, गुजारा कृषि कर्म गर्ने महिलाहरूलाई तरकारी खेती वा अरू नयाँ कुरा सिकाउँदा ‘परदेशबाट बैगना आएपछि सोधेबारे मात्र गर्ने हो हजुर, नैत रिसाउन्नान् हजुर’ भन्थे ।
- हरेक वर्ष बच्चा जन्माउनु र वर्षात्को समयमा बच्चा मर्नु स्वाभाविक वा प्राकृतिक प्रक्रिया हो भने जस्तै गरेर स्विकारेर बाँचेका थिए ।
- उस्तै गरिबी र लवाइखवाइ भए पनि तालिममा वा अन्यत्र खाजा खाने बेलासमेत छोइछिटो गरिहाल्थे ।
- गाउँमा हरियो तरकारी रोप्ने चलन नै थिएन । हाम्रोे माटोमा फल्दैन भन्थे । महिला विकास कार्यक्रमले वितरण गरेको बिउका पोकाहरूलाई घरको कुनातिर यत्तिकै राखेको देख्दा अचम्म लाग्थ्यो ।
- हरेक घरको आँगनमा दिउँसो गाई, बाख्रा बाँध्ने चलन हुनाले झिङ्गा र फोहोर हेरिनसक्नुको हुन्थ्यो । सहिनसक्नु गन्ध हुन्थ्यो । बच्चाहरूको अनुहारमा माहुरीको गोलाझैँ झिँगा बसेको हुन्थ्यो ।
- बजारको छेउमा रहेको आफ्नै अफिस र गाउँका कुनै पनि घरमा चर्पी थिएन ।
- मेरै कार्यकक्ष रहेको घरमुनि गाईगोठ थियो । कार्यालय हो कि गाईगोठ ? जतिबेला पनि गोबर गन्हाएकै हुन्थ्यो ।
अहिले यी कुरालाई मैले देखेको इतिहासको एउटा कालखण्डका रूपमा मात्र बुझिदिन अनुरोध गर्छु । त्यतिबेला यस्ता समस्या देखेपछि मैले चाँडै काठमाडौँ फर्किने विचार त्यागेँ । त्यहीँ बसेर घर, समाज र महिलाको अवस्था परिवर्तनका लागि संवाहक बन्ने प्रयासतिर लागेँ । करिब चार वर्ष जागिर खानका लागि बस्दा मैले लगभग चौबिसै घण्टा कुनै न कुनै हिसाबले महिलाहरूसँगै हुन्थेँ । कार्यालयकै काम गरिरहेँ ।
मैले डडेलधुरा छोड्दाको अवस्था भने फरक हुन थालिसकेको थियो । त्यतिबेलादेखि अहिलेसम्म देखिएका परिवर्तनका उल्लेखनीय कुरा यस्ता छन्,
- महिला र पुरुष मिलेर तरकारी खेती गर्न थाले र उत्पादित तरकारी बेच्नका लागि डोटी, बैतडी र धनगढी पठाउन थाले ।
- महिनावारी भएका बेला महिलाहरूले कपडा लगाएर व्यवस्थापन गर्न र तालिमहरूमा सहभागी हुन थाले ।
- महिनावारी भएका महिलासँग अरू महिलाले ‘छोइछिटो’ नगरी सँगसँगै बसेर खाजा खाने भएका थिए ।
- डेढ सय जनाभन्दा बढी महिलाले बैङ्कबाट दुई–तीन पटक नै ऋण लिएर गाई, बाख्रा, कुखुरा पालन गरेका थिए । कोही तरकारी, फलफूल खेती र कोही पसल गरेर स–साना उद्यमी तथा व्यवसायी बनिसकेका थिए ।
- गाउँमा समूह गठन भएको थियो । समूह बचत कोषमा राम्रै पैसा जम्मा गरेर पुरुषलाई पर्दा पनि गर्वका साथ ऋण दिने भएका थिए । यसले पुरुषको नजरमा महिलाको ‘इज्जत’ बढ्दै गएको थियो ।
- उपभोक्ता समूहमा बसेर सम्भाव्यता हेरी गाउँमा खानेपानी र सिँचाइ कुलो समुदाय आफैँले बनाउने, मर्मत गर्ने र त्यसको संरक्षण गर्ने जिम्मेवारीसमेत महिलाले लिएका थिए ।
- महिलाहरू पहिले जस्तो पुरुषसँग डराउँदैनथे । उनीहरू खुसीसाथ पुरुषहरू सँगसँगै हातेमालो गरेर समाजको विकासको काम गर्ने भइसकेका थिए ।
- रक्सी खाएर मातेर हिँड्ने पुरुषसँग महिला डराउने अवस्थाको अन्त्य भइसकेको थियो । मातेका पुरुषहरू महिलाहरूले थाहा पाउलान् कि भनेर भाग्दै र लुक्दै हिँड्थे । पुरुषमा आएको यो परिवर्तन धेरै पुरुषहरूले नै मसँग भनेका हुन् ।
- भारत जान तयार भएका युवालाई परामर्श गरेपछि श्रीमती र श्रीमान् मिलेर ऋण लिएर व्यवसाय तथा उद्यम गर्न थाले । त्यो व्यवसायको आम्दानीले तराईमा समेत जग्गा जोडेर व्यवसाय विस्तार गर्ने धेरै छन् ।
- डाँडापाखामा पाइप सिँचाइ पुर्याइदिँदा बगैँचा, बारी हरियो तरकारीले ढाकेको देखिन्थ्यो ।
- एउटै ठाउँमा कसरी शौच गर्नु छि ! भन्ने समुदायले घर–घरमा चर्पी बनाउनुपर्छ भन्ने अभियान सुरु गरेका थिए । चर्पीमा दिसापिसाब गर्न सिकाउने, आफू बस्ने घरभन्दा टाढा बस्तुभाउ बाँध्ने, मलको लागि खाडल बनाउने, घरआँगन सरसफाइ गर्ने जस्ता अभियान सुरु भइसकेको थियो ।
- महिला र महिला अधिकारको कुरा त सुन्ने विषय नै होइन भन्ठान्ने पुरुष र जनप्रतिनिधिहरूले नै महिलाको सवालमा काम गर्ने बारेमा चासो लिएर कुरा गर्न थालेका थिए ।
- सानो रकम ऋण दिन पनि आनाकानी गर्दै आएको बैङ्कहरू पछि गएर महिलाले ऋणको सदुपयोग गरी समयमा ब्याज तथा ऋण तिरिरहेपछि महिलालाई दोस्रो, तेस्रो पटक ऋण दिन पनि उत्साहित भएको थिए ।
- गाउँघरमा कुखुरा पाल्नु झगडाको बिउ हो भन्दै त्यो त गर्दै नगर्ने भन्थे तर आम्दानीको कुनै स्रोत नभएका महिलाहरूलाई आफ्नै तलब हालिदिएर र व्यवसाय बिग्रिहाले ऋण नै तिर्न पर्दैन भनेर कुखुरापालन गर्न लगाएपछि उदाहरणीय कुखुरापालक महिलाको व्यवसाय गाउँबाट सदरमुकाम पुगिसकेको थियो । अहिलेसम्म व्यवसाय सञ्चालन गरिरहेका छन् ।
- चिन्ता र त्रासमा बाँचेका महिलाहरूको आत्मविश्वास र खुसी अनुहारमै मज्जाले देखिन थालेको थियो ।
- आफ्नै टोलमा समेत ठाडो शिर गरेर हिँड्न धक मान्ने महिलाहरू अर्को जिल्लामा तालिम दिन जानेदेखि समुदायको अगुवा, राजनीतिज्ञ भएको कुरा अहिले गर्वले सुनाउनुहुन्छ ।
- आफ्नो नामभन्दा काम्ने र नाम नै बिर्सिन्छु भन्ने दिदीबहिनीहरू संविधान निर्माण गर्दा सभासद्, प्रदेश सांसद र स्थानीय तहका प्रतिनिधि भएका छन् । अहिले पनि भेट्दा र फोनमा कुरा हुँदा मलाई ‘हरेकपल्ट बोल्न उभिँदा हजुरको अनुहार याद आउँछ’ भन्ने गर्नुहुन्छ ।
डडेलधुराका धेरै महिला दिदीबहिनी र पुरुष दाजुभाइ अहिले पनि सम्झिएर काठमाडौँ आउँदा भेट्नुहुन्छ । त्यसरी भेट्न आउँदा मन खुसीले भरिन्छ ।
मकवानपुरमा रहँदा
म २०५४ सालमा मकवानपुरमा थिएँ । त्यहाँ एक गाउँ एक व्यवसाय भन्दै उत्प्रेरणा जगाउने अभियान सञ्चालन गरेँ । मकवानपुरको तत्कालीन हर्नामाढीमा भैँसीपालन महिला समूह, बसामाडीको जम्बूमा अतिविपन्न तामाङ महिलाहरूको बाख्रापालन समूह, मकवानपुरगढी गाउँपालिकामा हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था बनाएर गाईपालन र बेसार खेती तथा बेसार उद्योग नै स्थापना भएको थियो । आमभन्ज्याङ गाउँविकास समितिमा तिलगंगा महिला सहकारी गठन गर्न लगाएर तरकारी खेती तथा कृषि उद्योग सञ्चालन गर्न सहजीकरण गरेँ । आज पनि ती समूह र सहकारी अघि बढिरहेका छन् ।
मलाई देख्ने बित्तिकै सहायक प्रमुख जिल्ला अधिकारी भगवान श्रेष्ठले मलिन स्वरमा भन्नुभयो, “रणभूमिमा जाँदै हुनुहुन्छ म्याडम, तपाईंका बच्चाहरु साना छन्, बचेर फर्कनु होला ।
सशस्त्र द्वन्द्वकै समय थियो । २०५४ सालमा स्थानीय निकायको चुनाव हुँदा म पनि मतदान अधिकृत भएर खटिएँ । मकवानपुरका धेरै गाविस र मतदान केन्द्रहरू सुरक्षाका दृष्टिकोणले अत्यन्त संवेदनशील मानिन्थे । हेटाैँडाको सिद्धार्थ स्कूल मतदान केन्द्रलाई अतिसंवेदनशील मतदान केन्द्रमा राखिएको थियो । त्यसैले त्यस केन्द्रमा नजानका लागि कर्मचारीहरूको राम्रै प्रयास पहिलेदेखि नै भइरहेको रहेछ । सबै पुरुष कर्मचारीहरू जान डराएको ठाउँमा म जिल्लाको एक्लो कार्यालय प्रमुख महिला, त्यसमा पनि साना बच्चाको आमालाई थाहै नदिई त्यसरी खटाउलान् भनेर सोच्ने कुरै भएन । पछि सोधेँ तर हामी सुरक्षा दिन्छौँ भन्ने जवाफ पाएँ र जिम्मेवारी अनुसार गएँ ।
मेरो श्रीमान् खड्क सिंह विष्ट जिल्ला पशुसेवा कार्यालयको प्रमुख हुनुहुन्थ्यो । उहाँलाई पनि सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने सदरमुकाम बाहिर पदमपोखरी मतदान केन्द्रमा खटाइएको थियो । साना बच्चाहरू भएका कारण दुवै जना बढी चिन्तित थियौँ । तर पनि जिम्मेवारी पुरा गर्नुपर्छ, पछि हट्ने कुरा पनि आउँदैनथ्यो । उहाँ अघिल्लो दिन नै जानुभयो । म भने नजिकै भएको तथा बच्चाहरु पनि साना, समय अति नै संवेदनशील भएका कारण मतपत्रको सुरक्षा र मतदान केन्द्रमा राती बस्न नसकिने अवस्थाले गर्दा झिसमिसेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र बुझ्न पुगेँ । मलाई देख्ने बित्तिकै सहायक प्रमुख जिल्ला अधिकारी भगवान श्रेष्ठले मलिन स्वरमा भन्नुभयो, “रणभूमिमा जाँदै हुनुहुन्छ म्याडम, तपाईंका बच्चाहरु साना छन्, बचेर फर्कनु होला । म्याडमलाई त्यहाँ पठाउनु हुँदैन थियो । यहाँले पनि भन्नुपर्थ्यो, अरू हाकिमहरूले जान नमानेको ठाउँमा पर्नुभयो ।” एक त जिम्मेवारीबाट पछि हट्ने बानी छैन, अर्को त अन्य उपाय पनि थिएन त्यसैले घरमा छोडेका साना दुई अबोध छोराहरूलाई सम्झिएँ, तिनीहरू टुहुरा नहून् भनेर मनमनै प्राथना गरेँ र मतपत्र बुझेर भगवान श्रेष्ठज्यूले भन्नुभएको ‘रणभूमि’ तिर लागेँ । स्मरणमा रहिरहने तीन दिन आज पनि सम्झिएँ ।
सशस्त्र द्वन्द्वको त्रासका बेला बाँकेमा
मेरो कार्यक्षेत्र २०५९ सालदेखि २०६१ सालसम्म बाँके भयो । सबै त सम्भव छैन तर केही बिर्सनै नसक्ने काम यहाँ लेखेको छु । दुई गाउँ जोड्ने धेरै जनाको ज्यान लिइसकेको पिडारी खोलामा पुल बनाउन सहजीकरण गरेकी थिएँ । त्यसपछि तत्कालीन जिल्ला विकासबाट सहयोग पाएको र महिलाहरूले आफैँ रड सिमेन्ट बोकेर बनाएको पुलले अझै राम्रो सेवा दिइरहेको केही महिना अघि मात्र हेरेर आएँ ।
सशस्त्र द्वन्द्वका बेला सरकार र द्वन्द्वरत पक्षका श्रीमान् गुमाएका एकल महिलाको वेदना महसुस गर्थें । आफ्नो पीडा बाहिर ल्याउन उनीहरूलाई सहजीकरण गर्नुपर्ने ठानेँ । उस्तै उस्तै पीडा भएका महिलाहरूको समूह होस् भनेर “द्वन्दपीडित एकल महिला समूह” गठन गर्न सहजीकरण गरेँ ।
त्यतिबेला चरम उत्कर्षमा थियो, सशस्त्र द्वन्द्व । आफ्नो निवास समेतरहेको कार्यालय खजुरा रोडमा सशस्त्र प्रहरी कार्यालय थियो । राति दोहोरो फाइरिङको आवाज आउने गथ्र्यो । यसैले साँझ परेपछि सधैँ त्रसित बनिन्थ्यो । बिदाका बेलामा बच्चाहरू आफूसँग आउँदा गोली र बमको आवाजले तर्सिएलान् भनेर गढीको टायर पड्केको भनेर ढाँट्थेँ । बच्चाहरूले मलाई त प्रतिक्रिया दिँदैनथे तर पछि थाहा भयो उनीहरूको स्कुलमा द्वन्द्वको झन् बढी चर्चा हुँदो रहेछ ।
बच्चाहरू दिनभर व्यस्त रहून् भनेर चित्र बनाउने सबै सामग्रीहरू दिन्थेँ । एक दिन साँझ घर फर्कंदा ७ वर्षको कान्छो छोराले दिउँसो आफूले बनाएको चित्र ल्याएर देखायो । छोराको चित्रमा त माओवादी र सुरक्षाकर्मीबिच ब्यारेकमा भएको लड़ाइँ, रगतपक्ष भएर मान्छे ढलेको दृश्य पो रहेछ । आजसम्म बच्चालाई द्वन्द्वको प्रभाव पर्न नदिन लागिपरेको मेरो प्रयास त मेरै लागि मात्र रहेछ भन्ने भयो । सशस्त्र द्वन्द्वका बेला सरकार र द्वन्द्वरत पक्षका श्रीमान् गुमाएका एकल महिलाको वेदना महसुस गर्थें । आफ्नो पीडा बाहिर ल्याउन उनीहरूलाई सहजीकरण गर्नुपर्ने ठानेँ । उस्तै उस्तै पीडा भएका महिलाहरूको समूह होस् भनेर “द्वन्दपीडित एकल महिला समूह” गठन गर्न सहजीकरण गरेँ । यसको संस्थापक अध्यक्ष शोभा बिसी, दोस्रो अध्यक्ष एकमाया विक र वर्तमान अध्यक्ष जयन्ती केसी हजारौँ महिलाको नेतृत्वकर्ता बन्नुभएको छ । आज त्यही समूहमा एकल महिला सदस्यको सङ्ख्या पाँच हजार पुगेको उहाँहरू बताउनुहुन्छ । समूहकै सदस्यहरूमध्ये कोही पालिकाको उपप्रमुख तथा कोही प्रतिनिधिसभाकै प्रत्यक्ष निर्वाचनमा लड्ने अवस्थामा पुगेका छन् ।
पूर्वमा मोरङको सन्दर्भ
सोचेको थिएँ, सुदूरपश्चिमभन्दा पश्चिम र पश्चिमभन्दा पूर्वमा चेतनास्तर पक्कै राम्रो छ । मोरङ पहिलेदेखि राजनीतिक चेतना र अध्ययनको लागि भारतमा पहुँच भएको क्षेत्र पनि हो । तर, त्यहाँ पुगेपछि थाहा भयो, विराटनगरमै रहेका र पहुँच भएकाको मात्र जीवन अलि फरक रहेछ । पहाडस्थित गाउँका बस्तीमा महिलाहरू डराएर नबस्ने, आयआर्जनका लागि घरबाहिर हिँड्ने गर्दा रहेछन् । दक्षिण भेगमा रहेको मधेसी समाजमा भने नेपालगन्जमा जस्तै घुम्टो प्रथा रहेछ । त्यति मात्र होइन, डरलाग्दो दहेज प्रथा र बालविवाह पनि उस्तै रहेछ । आफ्नै परिवारबाट समेत यौनजन्य हिंसा अझै बढी हुने गरेको पाएँ ।
पहाडका बस्तीमा रहेका महिलासमेत गर्भ जाँच र सुत्केरी हुन स्वास्थ्य संस्थामा नजाने गरेको देखियो । यस्तो देखेपछि ‘गर्भवती हेरचाहको लागि गर्भवती कोसेली अभियान’ सञ्चालन गर्ने प्रयास गरियो । गर्भवतीलाई सबैको सहयोग आवश्यक हुन्छ भनेर सन्देश दिन देखिने गरी ‘गर्भवतीको घरको आँगनमा झन्डा गाड्ने’ अभियान सञ्चालन गरेँ । यो अभियान विभिन्न स्थानीय सरकारले अहिले पनि सञ्चालन गरेका खबरहरू आइरहन्छन् । खुसी लाग्छ ।
ज्ञान र अनुभव नै अमूल्य धन
मैले सरकारी सेवाको ३० वर्षमा ठुला ठुला विश्वविद्यालयमा गरिने अध्ययनबाट भन्दा बढी ज्ञान लिएको छु । सबैभन्दा महत्त्वपूर्ण त सुदूरपश्चिम र पूर्वदेखि पहाड र तराई मधेस अनि राष्ट्रिय महिला आयोगदेखि २०६६/६७ सालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा स्थापना गरिएको लैगिक हिंसा समन्वय एकाइमा २०६६ सालदेखि २०७१ असारसम्म केस नै हेर्ने जिम्मेवारी रहेर काम गरेँ । ती निकायहरूबाट फरक फरक ज्ञान र अनुभव हासिल गरेको छु । यो नै मेरो जीवनको अमूल्य धन हो । आज ३० वर्षयताका विभिन्न कालखण्डका समयलाई फर्केर हेर्दा आफूले झेलेका सबै चुनौती, सङ्घर्ष र उतारचढावले मलाई ‘मान्छे’ बनाउन मद्दत गरेको छ भन्ने बुझेको छु । विगतलाई फर्केर हेर्दा समयले जता जता लग्यो र जे जे गरियो ती सबै राम्रैको लागि भएछ भन्ने लागेको छ ।
पारिवारिक सहयोग र कृतज्ञता
जिल्लामा बच्चा च्यापेर काम गर्न हिँड्ने बहिनी, हरेक पल बुबाले झैं भूमिका निभाएर सदा हौसला र साथ दिने मेरो जेठो दाजु महेन्द्र सिंह रावल, जिल्लाबाट आउँदा सधैँ सहयोग र उत्साह दिने मेरी जेठी भाउजु सुधा, मेरा घर तथा माइती परिवारका सबै सदस्य तथा आफन्तहरू, मेरा सबै शुभचिन्तक, बिचमा धेरै समयसम्म म सम्पर्कमा नरहँदा पनि मलाई माया गरिरहने मेरा साथीहरू, हरेक जिल्ला र हरेक कार्यालयमा रहँदा सहकार्य गर्ने मेरा कर्मचारी मित्रहरू, हरेक तह र निकायमा मलाई बाटो देखाउने मेरा ‘सिनियर’ हरू सबैलाई अन्तरमनदेखि हार्दिक धन्यवाद !
जागिर सुरु गर्दा नाबालक रहेका मेरा दुई छोराहरू विराज र विशालसँग उनीहरूको बालापनको आमासँग खेल्ने रमाउने समय खोसेर आफूलाई दिदीबहिनीको सेवामा लगाएकोमा क्षमा पनि माग्छु । मेरो श्रीमान् र छोराहरूले साथ दिएकैले मैले ती ग्रामीण समुदाय र त्यो समुदायका दिदीबहिनीहरूको सेवा गर्न सकेको हो ।
अनुभवको शिखरमा उभिएर
अन्तिममा भन्न चाहन्छु, मैले मेरो कामलाई जागिर मात्रै ठानिनँ । जागिर ठानेको भए बिहान १० बजेदेखिको सात–आठ घण्टा काम गरे पुग्थ्यो । त्यसबाट मात्रै त मैले उदाहरण दिनसक्ने काम र अमूल्य अनुभव गर्न नै पाउने थिइनँ । परिवर्तन गर्नुपर्छ भनेर लागेकै कारण धेरै महिलाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने माध्यम बनेँ । मलाई लाग्छ, बितेका ३० वर्ष म चौबिसै घण्टा कुनै न कुनै रूपले कार्यालयकै काममा हुन्थेँ । ग्रामीण महिलाहरूलाई आफ्नै तलबबाट सानोतिनो उद्यम गर्न, कुखुरा, गाईवस्तु पालन गर्न आर्थिक सहयोग गरेँ । कतिले कमाएपछि फिर्ता पनि दिनुभयो । फिर्ता दिन नसक्नेसँग मागिनँ । त्यो मेरो सहयोग हो भनेर छोडेँ । कसैको भावनामा चोट पुर्याउने आशयसम्म पनि मैले राखेको छैन । यति हुँदा हुँदै पनि मेरो यस अनुभवको कुनै अंशले कहीँ कतै कसैको भावनामा आंशिक मात्र पनि चोट पुग्न गएमा क्षमा चाहन्छु ।
मेरो अनुभवको शिखरमा उभिएर विनम्रतासाथ भन्छु, अझै पनि मैले व्यक्ति र समाजको सकारात्मक परिवर्तनका लागि बल दिइराख्न केही न केही गर्नुपर्छ । जीवनको यात्रा मोडिएको मात्र हो, रोकिएको छैन । महिला विकास र लैङ्गिक समानताको यात्रा जारी छ, गन्तव्य फेरिएको छैन ।
यो पनि पढ्नुहोला
बल्ल बुझ्दैछन् सहरी महिलाले आफूमाथिको हिंसा (भिडियो सहित) –महेश्वरी विष्ट
सन्धान, प्रकाशन मिति २०७९ चैत्र २९ गते बुधवार