विश्लेषण
शिक्षाले मानिसको ज्ञान, बुद्धि र सिप वृद्धि गरी आनुवंशिक गुणलाई फस्टाउन मद्दत गर्छ । ‘शिक्षाबिना मानिस पशुसमान हुन्छ’ भन्ने बुझाइ छ । शिक्षाले मानिसको चेतना स्तरमा वृद्धि गरी उसको सोच निर्माणमा सघाउँछ । विगतमा पुरुषको तुलनामा महिलालाई शिक्षा प्राप्त गर्ने अवसर नहुँदा नारी शिक्षा निकै पछाडि रह्यो । आजभोलि शिक्षाको महत्त्व बुझी छोरा सरह छोरीलाई पनि नेपाली समाजमा विद्यालय र कलेज पठाउने चलन बढ्दो छ। शिक्षाको महत्त्वको बुझाइ भने सबै स्तरका समुदायमा समान रूपमा अझ पनि पुग्नसकेको छैन । गरिब, विपन्न तथा पछाडि परेको समुदाय र कतिपय मानिसमा अहिले पनि शैक्षिक चेतनाको कमी र शिक्षामा पहुँचको अभाव छ ।
विगतमा स्त्री घरव्यवहार र वैवाहिक जीवनको भूमिकामा बाँधिएर बस्ने परम्परा बन्यो । घरव्यवहार र वैवाहिक जीवनको सफलताका लागि पनि शिक्षा सहयोगी हुन्छ भने कुरा बुझ्न समय लाग्यो । समाजको विकाससँगै नारी शिक्षाको महत्त्वलाई आज सबैले स्वीकार गरेको अवस्था छ । पुरुषप्रधान समाजमा केही अपवादबाहेक महिला शिक्षाको ओज बढ्दै गएको छ । शिक्षाबिना मानिसमा सही संस्कारको निर्माण वा विकास असम्भव हुन्छ भन्ने सोचले क्रमश: जरो गाड्दै छ । एउटा भनाइ पनि छ ‘एक जना पुरुषलाई शिक्षित बनाउँदा एक व्यक्ति शिक्षित हुन्छ तर एक नारीलाई शिक्षित बनाउने हो भने सिङ्गो परिवार र समाज शिक्षित हुन्छ ।’ मेरो अनुभवले पनि यस कुरालाई पुष्टि गर्छ । यसका अतिरिक्त मेरो अध्ययन र अनुसन्धानले पनि नारी शिक्षाको महत्त्व र आवश्यकतालाई बलियो बनाउने सोचलाई अगाडि बढाउन मद्दत गरेको छ ।
नारी शिक्षालाई पुरुष शिक्षाभन्दा कम महत्त्व दिँदा समाजको रूपान्तरणमा ठुलो अवरोध उत्पन्न हुनेमा द्विविधा छैन । घरेलु हिंसाबाट निजात पाउन र महिला विभेदलाई समाप्त पार्न नारी शिक्षाको महत्त्वपूर्ण स्थान छ । बालबालिकाको हरेक प्रगतिमा साथ दिने आमाको शिक्षाको अवस्थाले भविष्यमा बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित हुने कुरामा कुनै द्विविधा मान्नु पर्दैन ।
मेरो बोध र अनुभव
हाम्रो घरपरिवारमा हाम्री आमाको आगमनभन्दा पहिले शिक्षाको महत्त्व र आवश्यकता बारे थाहा थिएन । महिला शिक्षाले के गर्छ भन्ने कुरामा कसैलाई पनि मतलब थिएन । विरासतमा र केही आफैँले आर्जन गरेको प्रशस्त भौतिक धनसम्पत्तिका स्वामी मेरा पिताजी साक्षर मात्र थिए । तर आमा त्यसबेला भारतमा विद्यालय शिक्षा पूरा गरी पिछ्डा वर्ग र समुदायका लागि छुट्टै खोलिएको विद्यालयको कर्मनिष्ठ र उत्साहित शिक्षिका हुनुहुन्थ्यो । विवाहपश्चात् आफ्नो शैक्षिक कर्मलाई तिलाञ्जलि दिनुपरेको विवशता आमाले मलाई सुनाउनु हुन्थ्यो । यसरी, भौतिक वैभवको गृहस्थ जीवनमा प्रवेशले समाजलाई, खासगरी पिछडिएको वर्गका मानिसलाई शिक्षित बनाउने आमाको यात्रामा पूर्णविराम लगायो । शिक्षित परिवारको उहाँको परिकल्पना पनि अधुरै रह्यो ।
मैले शिक्षा आर्जनमा ढिलासुस्ती गर्दा मलाई उत्प्रेरित गर्ने क्रममा आमाले भन्नुहुन्थ्यो, “बाबु ! तिम्रो पिताजीले शिक्षा आर्जन गर्न नसकेको परिणाम मैले भोगेँ । मेरो त्यो सपना तिमीबाट पूरा होस् भन्ने चाहन्छु ।” आमाको यो भनाइ र त्यो बेलाको शिक्षा आर्जनप्रतिको जोश र जाँगर म अहिले पनि सम्झन्छु । विद्यालयको त कुरै छाडौँ, कलेज पढ्दा पनि मैले नजानेका कतिपय अङ्ग्रेजी शब्दावली आमाले सजिलैसँग प्रस्ट्याइदिनु हुन्थ्यो। त्यतिबेलाको बिहारका विद्यालयहरूको शिक्षाको स्तर हेरेर म आफैँ अचम्मित हुन्थेँ । आज वरिपरिका विद्यालय र तिनको शिक्षाको स्तर एवं अवस्था हेरेर म खिन्न हुन्छु । यसको जवाफदेहिता कसले लिने हो ? छलफलको विषय बनाउनुपर्ने हो । यताका दिनमा शिक्षा प्राथमिकतामा नपर्ने कुरा नेपालका प्रायः सबै दलका सरकारको व्यवहार र योजनाबाट प्रस्ट हुन्छ । आज प्राध्यापक भएर विश्विविद्यालयमा केही पठनपाठन गर्न पाएकोमा म आफ्नी आमाप्रति विशेष रूपमा ऋणी छु । हुन त आमाप्रति यो संसारमा को ऋणी हुँदैन होला र ?
गरिब, पिछडिएका समुदाय, दलित – खासगरी तराई-दलित र पिछडिएका क्षेत्रमा गुणस्तरीय शिक्षाको अवसरमा समस्या रहेको प्रस्ट देखिन्छ । यस्ता क्षेत्र र वर्गका लागि महिला शिक्षाको विकासमा विभिन्न तहका सरकारको ध्यान जानु अति आवश्यक छ । अर्को महत्त्वपूर्ण कुरा भनेको अभिभावक शिक्षालाई अगाडि बढाउन सरकारको विशेष योजनामार्फत शिक्षामा लगानी वृद्धि गर्नुपर्छ । यसमा पनि आमाहरूको साक्षरता र शिक्षामा विशेष जोड दिनुपर्छ ।
धेरैलाई थाहा छ- एक शिक्षित आमा असल संस्कारकी जननी पनि हुन् । ‘जस्तो शिक्षा त्यस्तै संस्कार’ भनाइ पनि छ। त्यसैले संस्कार निर्माणमा आमाको र शिक्षाको महत्त्वपूर्ण भूमिका रहन्छ । यस सन्दर्भमा संस्कृतको एउटा श्लोक सटिक लाग्छ- ‘नास्ति विद्या समे चक्षुर्नास्ति मातृ समोगुरु:’ । अर्थात् संसारमा विद्या जस्तो कुनै नेत्र छैन र आमा जस्तो कोही गुरु हुँदैनन् । वास्तवमा शिक्षा मनोविज्ञानले पनि यो कुराको पुष्टि गर्छ । बालबालिकाले गर्भावस्थादेखि जन्मँदासम्म धेरै कुरा आमाबाट नै सिक्छन् । बालिकाको विकासमा पहिलो र सबभन्दा बढी प्रभाव आमाकै हुन्छ । यहाँ महाभारतको एउटा घटना स्मरण गर्न चाहन्छु । एक दिन अर्जुनले आफ्नी गर्भवती श्रीमती सुभद्रालाई युद्धमा चक्रव्यूह निर्माण र त्यसको भेदनसम्बन्धी जानकारी गराइरहेका थिए । सुभद्रा श्रीकृष्णकी साख्खै बहिनी पनि हुन् । सुभद्राको गर्भमा रहेका अभिमन्युले चक्रव्यूहसम्बन्धी ज्ञान अर्जुनकै कुराबाट प्राप्त गरेको भनाइ छ । यसरी अभिमन्युले चक्रव्यूह तोड्ने कलाको ज्ञान अर्जुनको मुखबाट सुने । त्यो कुरा आमाको संस्कार र व्यवहारबाट सम्भव भएको पुष्टि हुन्छ । सुन्दासुन्दै आमा निदाउँदा अर्जुनले भनेको चक्रव्यूह भेदनसम्बन्धी अन्तिम भेउ अभिमन्युले पाएनन् । अभिमन्युको चक्रव्यूह भेदनसम्बन्धी ज्ञान अधुरो रह्यो र त्यसको अनपेक्षित परिणाम उनले युद्धमा भोग्नुपर्यो । यसबाट पनि नारी शिक्षाको महत्त्व र सान्दर्भिकता अनुमान गर्न मद्दत पुग्छ ।
मेरो अध्ययन तथा शोध
बालबालिकाले आफ्नो प्रारम्भिक ज्ञान आमाबाट प्राप्त गर्ने र त्यो नै जीवनको स्थायी आधार बन्ने कुरामा प्रायः सबै सहमत देखिन्छन् । नारी शिक्षालाई पुरुष शिक्षाभन्दा कम महत्त्व दिँदा समाजको रूपान्तरणमा ठुलो अवरोध उत्पन्न हुनेमा द्विविधा छैन । घरेलु हिंसाबाट निजात पाउन र महिला विभेदलाई समाप्त पार्न नारी शिक्षाको महत्त्वपूर्ण योगदान रहन्छ । बालबालिकाको हरेक प्रगतिमा साथ दिने आमाको शिक्षाको अवस्थाले भविष्यमा बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित हुने कुरामा कुनै द्विविधा मान्नु पर्दैन ।
नेपालको महिला शिक्षामा विद्यमान एउटा आधारभूत विभेद भनेको बालक र बालिकाको विद्यालय छनोटमा देखिने भिन्नता हो । विद्यालय तहमा कुल भर्नामा संस्थागत या निजी विद्यालयमा बालिकाहरूको भर्ना दर कम देखिन्छ । अर्थात् बलिकाहरूको भर्ना तुलनात्मक रूपमा सामुदायिक विद्यालयमा बढी छ । यसले अभिभावकमा छोरीभन्दा छोरामा बढी खर्च गर्ने चलन रहेको देखाउँछ ।
‘बालबालिकाहरूले बीचैमा विद्यालय किन छाड्छन् ?’ भन्ने मुख्य प्रश्न राखी केही वर्ष पहिले मैले एउटा अनुसन्धान गरेको थिएँ । निचोडमा गरिबी, विद्यालयको असहज वातावरण जस्ता महत्त्वपूर्ण कारकतत्त्वहरू फेला परेका थिए । यसका अतिरिक्त अभिभावकीय शिक्षा, त्यसमा पनि आमाको शैक्षिक अवस्था नै बालबालिकाले बिचमै पढाइ छाड्नुको एउटा महत्त्वपूर्ण कारणको रूपमा देखापरेको थियो । अनुसन्धान क्रममा विद्यालय परित्याग गरेका बालबालिकाको कुल ४३० घरधुरीको सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा सहभागी घरपरिवारका लगभग ८८ प्रतिशत आमा र ७६ प्रतिशत बुबा निरक्षर थिए । यस तथ्याङ्कबाट पिछडिएको वा विपन्न समुदायका बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनाको मुख्य कारकतत्त्व आमाको निरक्षरता रहेको निचोड निकाल्न मद्दत पुगेको थियो । आमा साक्षर वा शिक्षित भएका घरपरिवारका बालबालिकाको पढाइ निरन्तर हुँदो रहेछ । निरक्षर आमाले शिक्षाको मूल्य तथा महत्त्वलाई आत्मसात् गर्न नसकेर आफ्ना बालबालिकाको पढाइलाई निरन्तरता दिन आवश्यक भूमिका निर्वाह गर्न नसक्दा रहेछन् । त्यसैले नारी शिक्षालाई विशेष प्राथमिकतासाथ अगाडि बढाइएमा सामाजिक र आर्थिक रूपान्तरणतिर समाज अग्रसर हुन्छ । आमा नै शिक्षित भएनन् भने उनीहरू आफ्नो परिवार मात्र होइन छरछिमेकलाई समेत अँध्यारोबाट उज्यालोतर्फ डोर्याउन असफल हुन्छन् ।
नेपालमा महिला शिक्षाको स्थिति
पुरुषप्रधान समाजका कारण नेपालमा पनि प्राचीनकालदेखि महिलाहरूको शिक्षा र रोजगारीमा समान अवसरको समस्या रहँदै आएको छ । सुरुसुरुमा रूढिवादी सांस्कृतिक दृष्टिकोणका कारण छोरीलाई विद्यालय पठाउन अनुमति दिइँदैनथ्यो । समाज जागृत हुन थालेपछि बिस्तारै छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने चेत पलाउन थाल्यो । यसबाट सुरुसुरुमा नेपालको सहरी क्षेत्रमा छात्राका लागि छुट्टै विद्यालय र कलेज खुले । महिला शिक्षालाई अगाडि बढाउन सरकारले कानुनको पनि निर्माण गर्यो । नेपालको संविधानमा विभिन्न मौलिक हकमध्ये महिलाको हकमा उल्लेख छ- ‘महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ ।’
नेपालमा महिला शिक्षाको स्थितिलाई झल्काउने केही सूचकहरूलाई ध्यानमा राखेर विश्लेषण गर्ने हो भने सकारात्मक र नकारात्मक दुवै खाले सन्देश भेटिन्छ । नेपालमा महिलाहरूको शैक्षिक स्थितिलाई देखाउन केही सूचकहरू तालिका नम्बर १ मा प्रस्तुत गरिएको छ ।
तालिका नम्बर १ : नेपालको शिक्षामा लैङ्गिक स्थितिः एक झलक
नेपालमा विद्यालय शिक्षामा छात्र र छात्राको भर्नाको स्थितिलाई दर्साउने लैङ्गिक समता सूचकाङ्क (Gender Parity Index, GPI) मा छात्राहरूको स्थिति राम्रो देखिन्छ । त्यस्तै, कक्षा ८ सम्म पढाइमा रहिरहने दर (Survival rate at grade 8) मा पनि छात्रभन्दा छात्राको स्थिति राम्रो रहेको छ । ‘नासा’ (NASA) प्रतिवेदन अनुसार, कक्षा ८ मा छात्राहरूको सिकाइ उपलब्धि लगभग छात्र सरह नै रहेको छ । समग्रमा विद्यालय तहको सिकाइ उपलब्धि न्यून रहे पनि महिला शिक्षाको सन्दर्भमा यी सबै पक्षलाई सकारात्मक मान्न सकिन्छ । तर, समग्रमा प्रौढ उमेरका नेपाली महिलाको साक्षरता स्थिति हेर्ने हो भने पुरुषभन्दा महिला धेरै पछाडि रहेको पाइन्छ । विद्यालयमा पुरुष शिक्षकभन्दा महिला शिक्षकको उपस्थिति निकै कमजोर छ । यसमा पनि माध्यमिक तहमा पुरुषभन्दा महिला शिक्षकको उपस्थिति निकै कमजोर छ ।
विद्यालयमा शिक्षकहरूको लैङ्गिक स्थिति
नेपालको महिला शिक्षामा विद्यमान एउटा आधारभूत विभेद भनेको बालक र बालिकाको विद्यालय छनोटमा देखिने भिन्नता हो । विद्यालय तहमा कुल भर्नामा संस्थागत या निजी विद्यालयमा बालिकाहरूको भर्ना दर कम देखिन्छ । अर्थात् बालिकाहरूको भर्ना तुलनात्मक रूपमा सामुदायिक विद्यालयमा बढी छ । यसले अभिभावकमा छोरीभन्दा छोरामा बढी खर्च गर्ने चलन बढी रहेको देखाउँछ । यो बालक र बालिकाको शिक्षामा गरिएको ठुलो विभेद हो ।
विद्यालयमा विद्यार्थी भर्नाको लैङ्गिक स्थिति
विद्यालयबाहिर रहेका बालबालिकाको स्थितिलाई हेर्ने हो भने बालकभन्दा बालिकाहरू नै विद्यालयबाहिर रहेको अवस्था अत्यधिक छ।
उपसंहार
हालका वर्षहरूमा आममानिसमा छोरीलाई विद्यालय पठाउनुपर्छ भन्ने चेतनामा वृद्धि भएको देखिन्छ । गरिब, पिछडिएका समुदाय, दलित – खासगरी तराई-दलित र पिछडिएका क्षेत्रमा भने गुणस्तरीय शिक्षाको अवसरमा समस्या रहेको प्रस्ट देखिन्छ । यस्ता क्षेत्र र वर्गका लागि महिला शिक्षाको विकासमा विभिन्न तहका सरकारको ध्यान जानु अति आवश्यक छ । अर्को महत्त्वपूर्ण कुरा भनेको अभिभावक शिक्षालाई अगाडि बढाउन सरकारको विशेष योजनामार्फत शिक्षामा लगानी वृद्धि गर्नुपर्छ । यसमा पनि आमाहरूको साक्षरता र शिक्षामा विशेष जोड दिनुपर्छ । शिक्षामा समावेशिताको मुद्दामा महिला पनि महत्त्वपूर्ण पक्ष भएकाले सरकारले समावेशी शिक्षाको कार्यक्रमलाई महत्त्व दिनु जरूरी छ ।
याे पनि हेर्नुहाेला
- बालिका विद्यालयमा जेन्डरको निर्मिति
- ‘जीवन सार्थक भएको ठान्छु’ -कुमारीकमला राई
- नेपालमा महिला शिक्षाको ९८ वर्ष
- शिक्षण पेसामा महिला : विभेदको विश्वव्यापी प्रवृत्ति
(द स्टोरी किचेन/सन्धान र ‘शिक्षक’ मासिकको सहकार्य )
प्रकाशन मिति : २०७९ साउन ६, शुक्रवार