विश्वमा सौन्दर्य प्रतियोगिताको आरम्भ उन्नाइसौं शताब्दीको मध्यतिरबाट भएको मानिन्छ । नेपालमा यसको सुरुवात बहुदलीय व्यवस्था स्थापनापछि सन् १९९४ मा भएको हो । सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले भएन । नेपालमा हाल धेरै प्रकारका सुन्दरी प्रतियोगिताहरू हुँदै आएका छन् । नेपालमा मिस नेपाल, मिस मंगोल, मिस, गुरुङ, मिस एयरहोस्टेज, मिस तामाङ, मिस एसईई, मिस टिनलगायतका अन्य धेरै शीर्षकका प्रतियोगिता हुने गरेका छन् ।
यस्तै मध्येको एक सुन्दरी प्रतियोगिताका आयोजकबाटै आठ वर्षअघि आफू बलात्कृत भएको भन्दै एक युवतीले सामाजिक सञ्जालमार्फत् भिडियो सार्वजनिक गरेपछि यस विषयमा फेरि बहस सुरु भएको छ । उक्त भिडियो सार्वजनिक भएपछि महिलाको शरीरलाई वस्तुकरण गर्ने प्रतियोगिता बन्द गर्नुपर्ने माग विभिन्न संघसंगठनले राखिरहेका छन् । सुन्दरी प्रतियोगिताका बारेमा विभिन्न समयमा बहस पनि हुने गरेका छन् ।
यसपटक सामाजिक सञ्जालदेखि सडक र सदनसम्म यस विषयले माहोल ततायो । ‘सौन्दर्य प्रतियोगिता : सशक्तीकरण कि वस्तुकरण’ भन्ने विषयमा वैज्ञानिक समाजवादी महिला संगठन केन्द्रीय समितिले जेठ २२ गते बहसको आयोजना गरेको थियो । ‘सन्धान बहस शृङ्खला’अन्तर्गत सोही कार्यक्रममा वक्ताहरुले प्रस्तुत गर्नुभएको विचार प्रस्तुत गर्दैछौँ । उक्त बहसमा बहसकर्ताका रूपमा डा. मीना पौडेल, डा. अरुणा उप्रेती, निर्देशक मनोज पण्डित तथा कलाकार लक्ष्मी बर्देवा रहनुभएको थियो :
सौन्दर्य यस्तो हुनुपर्छ भनेर हामीलाई थोपारिएकै छ
– डा. अरुणा उप्रेती, जनस्वास्थ्यविद्
नेपालीहरू सबै जना गोरो हुनुपर्छ भन्ने छैन । पहाडमा बस्ने गहुँगोरो, हिमालमा बस्ने गोरो हुन्छ भने तराईमा बस्ने मान्छे कालो हुन्छ । यो कालो कहाँबाट आयो भने मेलानीन भन्ने छालामा एउटा तत्व हुन्छ । मेलानीनले छालालाई कालो बनाउँछ । मेरो मेलानीन कम छ, त्यसैले छाला गोरो छ । तपाईंमध्ये कत्ति जनाको छाला कालो छ भने त्यो छालामा मेलानीन बढी छ । भनेपछि मेलानीन कम वा बढी हुनु प्राकृतिक कुरा हो । तर, त्यो प्राकृतिक कुरालाई कोपरेर कालो छ भने त्यसलाई जसरी पनि गोरो बनाउने भनेर ‘फेयर एण्ड लब्ली’ले हामी युवा महिलालाई प्रभावित पार्यो । अहिले एक, दुई वर्ष अगाडि ब्ल्याक एण्ड ह्वाइटको कुराहरू आए । अहिले चाहिँ ‘फेयर एण्ड लब्ली’ क्रिमले अर्कै शब्द राखेको छ ।
यस्ता कुराहरूले महिलाहरूलाई गोरो हुनुपर्छ भन्ने मानसिकता निर्माण गरेको देखिन्छ । गोरोपन चाहिँ हामीलाई कहाँबाट हुनुपर्छ भनेर आयो भने विदेशीहरूले विशेष गरेर ‘खैरे’हरूले सबै जनाको मापदण्ड गोरो हुनुपर्छ भनेर राखे । त्यसको अर्थ अफ्रिकन महिलाहरू राम्री छैनन् त ? के मिसेल ओवामा राम्री थिइनन् ? भनेको, हाम्रो समस्या के भयो भने हामी बाहिरको छालालाई हेरेर नाक कस्तो छ, आँखा कस्तो छ, गाला, चाल, कम्मर कति इन्चको छ, त्यो हेरेर विशेषगरी किशोरी तथा युवतीहरूलाई मूल्यांकन सुन्दरी प्रतियोगिताले गर्छ । यो हामीलाई सौन्दर्य यस्तो हुनुपर्छ भनेर थोपारिएकै हो । यो मेकअप कम्पनीहरूले थोपरेको हो । जनस्वास्थ्य विज्ञको दृष्टिले मलाई के लाग्छ भने यस्तो प्रकारको सौन्दर्य प्रतियोगिताले अनुहारलाई ‘गोरो’ बनाउने विभिन्न किसिमको सौन्दर्य प्रसाधनहरूको प्रवर्धन गर्छ । तर, यी सौन्दर्य प्रसाधनले मानिसको स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ ।
महिलाको शरीर उद्योगधन्दा र व्यापार प्रवर्धनका निम्ति प्रयोग गरिएको छ
– डा. मीना पौड्याल, अधिकारकर्मी
सौन्दर्य प्रतियोगिता भनेको महिला शरीरको अस्तित्वको वस्तुकरण हो, यसमा कुनै शंका छैन । विभिन्न अध्ययन अनुसन्धानले पनि भनेका छन् । महिलाको पहिचानको वस्तुकरण हो । महिलाको भावनात्मक ‘ब्ल्याकमेलिङ’ हो । महिलाको शरीरको विज्ञापन हो । महिलाको शरीर उद्योगधन्दा र व्यापार प्रवर्धनका निम्ति प्रयोग गरिएको हो । विभिन्न ठाउँमा यसका विरुद्धमा आवाज उठिरहेका छन् । विरुद्धमा आवाज उठाउने भनेको हामीले जस्तै समाजलाई आलोचनात्मक दृष्टिकोणले चिरफार गर्नुपर्छ । त्यहाँ भएका छिद्रहरूलाई सम्बोधन गर्नुपर्छ । यस्ता प्रतियोगिताहरूले कहाँ कहाँ छिद्रहरू बढाउँदै जान्छन्, थप्दै जान्छन् भनेर हेर्नुपर्छ भन्ने लाग्छ । पुँजीवादी व्यवस्थाभित्र हाम्रो व्यक्तिगत स्वतन्त्रता ठुलो कुरा होला तर त्यसको साथसाथै व्यक्तिगत स्वतन्त्रता प्रयोगको हाम्रो संस्कृति के हो ? संस्कृतिलाई कसरी आक्रमण भइरहेको छ ? संस्कृतिलाई कसरी विकृति बनाइँदैछ भन्ने पनि हामीले बिसर्नुहुँदैन । म सुन्दरी प्रतियोगितामा जान्छु कि जान्नँ, म के मा जान्छु, मेरो आफ्नो जीवन कसरी चलाउँछु भन्ने मेरो निर्णय हो तर मैले गरेको निर्णयले सामाजिक दायित्वलाई छायामा पार्छ कि पार्दैन ? म बाँच्ने संस्कृतिलाई त्यसले विकृति बनाउन मद्दत गर्छ कि भन्ने ख्याल राख्नुपर्छ । साथै संस्कृतिले सुसंस्कृत र स्वस्थ वातावरण सिर्जना गर्न मद्दत गर्नुपर्छ ।
प्रतियोगिता नै हुनुहुँदैन भन्ने धारणा राख्नुहुँदैन
– मनोज पण्डित, निर्देशक
सुन्दरता संसारमा हरेक मानव सभ्यताले खोजी गरेको अस्तित्व हो । त्यसकारणले पनि सुन्दरता एउटा महत्वपूर्ण पक्ष हो । तर, हामीले सुन्दरतासँग धेरै कुराहरू जोड्दै गर्यौं । अनि अर्को कुरा प्रतियोगिताका बारेमा । के तपाईं कल्पना गर्न सक्नुहुन्छ, हाम्रो आजको समाज प्रतियोगिताविहीन छ ? जता हेर्नुहोस्, कहाँ प्रतियोगिता छैन ? हामी बाँचिरहेको समय अनि हामीले बच्चा जन्माउने प्रक्रियादेखि नै प्रतियोगिता गर्छौँ । संसारमा सबै प्रतियोगिता हुन्छन् तर ‘सुन्दरताको प्रतियोगिता हुँदैन भन्ने मान्यता राख्यो भने प्रतियोगिताको अस्तित्वलाई बेवास्ता गरेको हुन्छ । प्रमाणमा रहेको प्रतियोगितालाई हामीले बेवास्ता गरेको ठहरिन्छ । प्रतियोगिता अस्तित्वमा छ तर प्रतियोगिता कुन कुन रूपमा अस्तित्वमा छ तर के-के मा गर्ने/नगर्ने भन्ने अर्को पाटो हो । पुरुषको पनि सौन्दर्य प्रतियोगिता हुन्छ । पुरुषको सौन्दर्य प्रतियोगितामा कहिल्यै पनि समाजको कुरा आउँदैन । किन आउँदैन भन्दा पुरुषहरू शक्तिशाली हुन्छन् । त्यसकारण उसले आफ्नो सुरक्षा गर्न सक्छ भन्ने भएर हो । यहाँ समस्या भनेको पीडित हुनेबारे भन्नेमा हो । यी कुरामध्ये सबैभन्दा उत्सुकता हुने र ध्यान दिने कुरा भनेको कुनै पनि मानिसलाई कुनै पनि कारण, स्पेसमा पीडित हुनुहुँदैन भन्ने हो । तर, मलाई के लाग्छ भने हाम्रो जीवन निकै पीडित छ । त्यो पीडित जीवनमा कम पीडित कसरी हुने भन्नेतिर हाम्रो प्रयास हुनुपर्छ ।
तोकिएका गुण भएका मात्रै प्रतियोगितामा भाग लिन पाउने भन्नु नै गलत छ
– लक्ष्मी बर्देवा, कलाकार
म आज सुन्दरी प्रतियोगिता आफ्नो अनुभव सुनाउँछु । सुन्दरी प्रतियोगिता कस्तो हुन्छ भनेर मैले आजसम्म नजिकबाट अनुभव गरेकी छैन । किनभने सुन्दरी प्रतियोगिताको निश्चित मापदण्डअनुसारका खाका तयार पारिएको हुन्छ । तोकिएका गुण भएका युवती नै प्रतियोगितामा सहभागी हुन पाउने भनेर निर्धारण गरिएको हुन्थ्यो । त्यसैले कुनै दिन पनि म त्यसका लागि उपयुक्त भइनँ । सौन्दर्य प्रतियोगितामा म भाग लिन जाउँला भन्ने मैले कहिल्यै सोचिनँ । पछि मात्र त्यो उमेर आएपछि मात्र चेतना आउँछ । अनि मलाई म चेतना भयो भने आफू जस्तो हो, त्यसलाई त्यसै रूपमा स्वीकार गर्नुपर्छ । तर, मलाई सानो छँदा के लाग्थ्यो भने सुन्दरी प्रतियोगितामा जो जान लायक ठहरिनुहुन्छ, ज–जसको सुन्दरी प्रतियोगितामा फोटो आउँछ, उहाँहरू प्रकृतिको वरदान हो । उक्त प्रतियोगितामा सहभागी जति पनि देख्थेँ रङको हिसाबले पनि गोरो हुनुहुन्थ्यो, त्यो मापदण्डको शरीरमा म भने थिइनँ । ‘हाइट’, ‘बडिसेप’को कुरामा अलि फरक नै थिएँ । त्यसैले सौन्दर्य प्रतियोगितासँग टाढा–टाढासम्म मेरो सम्बन्ध छैन र म हुनु सक्दिनँ भन्ने लाग्थ्यो । भनेको, यो सौन्दर्य प्रतियोगितादेखि म टाढा भएको थिएँ । म त्यो मापदण्डभित्र पर्दिनँ भन्नु, म नराम्री हुनु हो भन्नु ‘कन्फिडेन्ट लेभल’ कम भएको थियो । त्यसैले म कलाकारिता क्षेत्रमा लाग्दा पनि हिरोइन बन्छु भनेर सोचेर आएको होइन ।
म चरित्र निभाउने अभिनेत्री बन्छु भनेर आएँ । म जुन समुदायमा हुर्केँ मेरो दिमागमा पनि त्यही कुरा सेट भयो । अहिले मलाई के लाग्छ भने मजस्ता धेरै दिदीबहिनीहरू त्यो मापदण्डमा पर्नुहुन्न । उहाँले त आफूलाई स्वघोषित रूपमा नराम्रो अथवा हामीले बाह्य सौन्दर्यको जुन कुरा गर्छौँ, त्यहाँनेर आफू फिट नहुँदा, सम्बन्धित हुन नसक्दा धेरै जनालाई अर्का खालको प्रभाव पार्छ । म अरु जस्तो छैन । म सरकारी विद्यालय पढेको हो । मेरो अंग्रेजी राम्रो छैन । अथवा, मेरो हिँडाइ उनीहरूको जस्तो छैन । म मोडलजस्तो हुनुपर्ने रहेछ, त्यस्तो छैन भन्ने वित्तिकै मलाई यी कुराले जसरी ‘डाउन’ गरेको थियो, त्यसैगरी अन्य धेरै दिदीबहिनीहरूलाई त्यसरी ‘डाउन’ गरेको हुन सक्छ । मानसिकतामा आफू नराम्री, असक्षम छु जस्तो परेको हुनसक्छ । त्यसैले सौन्दर्यको कुनै पनि मापदण्ड हुन्छ, कसैले यो सौन्दर्यको परिभाषा हो है भन्यो भने पनि मेरा लागि त्यही नै सही हुन्छ जस्तो मलाई लाग्दैन ।
याे पनि पढ्नुहाेला
प्रकाशन मिति : २०७९ असार २७, साेमवार ।