– समीक्षा गाहा
सङ्खुवासभाको खाँदबारीस्थित हिमालय माध्यमिक विद्यालयले छात्रलाई अनिवार्य ढाका टोपी र छात्रालाई अनिवार्य दुई चुल्ठी बाटेर तोकिएको रिबन बाँधेर स्कुल आउनुपर्ने नियम २०८० जेठ २५ गते बनायो । राष्ट्रियताप्रतिको सम्मान र नेपाली संस्कृतिको पहिचानको लागि त्यस्तो नियम बनाइएको स्कुलको तर्क रहेछ । त्यस्तो थाहा पाएपछि सामाजिक सञ्जालहरूमा धेरैले फोटो शेयर गर्दै आफूलाई त्यस्तो कदम सही नलागेको कुरा लेखे । कसै कसैले स्कुललाई धन्यवाद पनि दिए ।
महिलाको कपाललाई सौन्दर्यको रूपमा बुझ्ने र मान्नेहरू समाजमा अझै छन् । कसैको लामो कपाल छ भने कतिपयले ‘कति राम्रो’ भन्न भ्याएका हुन्छन् । त्यसो नभने पनि सबैजसोले लामो कपाललाई राम्रो मानेकै हुन्छन् भन्ने बुझाइ छ । तिनको दिमागबाट मानव विकासको चरण कहाँबाट कहाँ पुगिसक्यो भन्ने कुराको हेक्का नै हराउँछ बेला बेलामा ।
राजनीतिक परिवर्तनका लागि महिलाले आफ्ना मुद्दासहित लडेको फलस्वरूप समतामूलक संविधान पनि लेखियो तर सामाजिक विभेदका जराहरू काटिएनन् । जमिनमुनि नै रहेर तिनले मानिसको दिमागमा सामाजिक विभेदका भावलाई जगाइरहेका छन् । लामो, सिधा, सर्लक्क परेको कपाल भएकी छोरीमान्छे देख्यो भने तिनको बानीबेहोरा नै नहेरी संस्कारी ठान्ने र भन्ने चलन यसैको एउटा उदाहरण हो ।
विद्यालय संरचनाले पनि त्यही चलनलाई धाप दिँदै छात्राहरूले दुईपट्टी बाटेर रिबन लगाउनुपर्छ भन्ने नियम बनाइदियो । यसो गर्दा राजनीतिक परिवर्तनको सार र संविधानको मर्म के हो भन्ने ख्याल नै राखिएन । त्यसमा राष्ट्रियताप्रतिको सम्मान र नेपाली संस्कृतिको पहिचान जस्ता खाइलाग्दा पदावली जोडेर महिला र पुरुषका बिचमा रहेका कृत्रिम विभेदका अवशेषलाई टेको लगाउन खोजियो ।
बुझ्नुपर्ने कुरा के हो भने नेपाली समाज यसरी पछि फर्किंदै जाने हो भने पुग्ने कहाँ त ? के समयको त्यही धरातलमा पुग्ने हो, जहाँ कुनै महिलाले आफ्नो कपाललाई नबाँधी छोडेको देखियो भने अशुभ मान्ने, हैकम भएकाले सोझै गाली गर्ने र अरूहरूले ‘झाँक्रा फिँजाएको’ भन्दै आपसमा कुरा काट्ने गरिन्थ्यो । आफूखुसी काट्न र कटाउन त के छोड्न पनि नहुने गरी महिलालाई कपालका सवालमा अनेकतिरबाट कसिकसाउ गर्ने गरिन्थ्यो ।
अहिलेसम्म पनि कतिपय ठाउँमा विवाहित महिलाले कपाल कटाउनु भनेको त घरको शोभा घटाउनु हो भन्ने पनि रहेछन् । बुझ्नुपर्ने कुरा त के भने यस्ता सोचले ग्रस्त भएका मानिसले भरिएको घरको शोभा बढाउने जिम्मा त्यस घरका महिलाको मात्र होइन । परिवारका सबैले समयको विश्वव्यापी पदचापसँगै व्यावहारिक भएर अघि बढ्न जरुरी छ । परिवारमा एकले अर्काको मनोभाव र सामर्थ्यलाई बुझ्ने अनि साथ दिनेहरूले मात्र आआफ्नो घरको शोभा बढाउन सक्छन् ।
घरको शोभा बढाउनका लागि आर्थिक आत्मनिर्भरताको राप पनि चाहिन्छ । यसैले कपाललाई महिलाको सौन्दर्य र गहना भनिँदै आएको घर र समाज पनि हिजोआज बदलिन बाध्य छ । राम्री देखिनभन्दा पनि आफ्नो व्यावहारिक सहजताको लागि कपाल छोटो बनाउने महिलाको सङ्ख्या बढ्दै आएको देखिन्छ । कतिपय कामकाजी युवा महिलाले त आफूखुसी मुण्डन नै पनि गर्ने गरेका छन् ।
काटेर छोटो बनाइएको कपालमा देखिने कामकाजी र युवा महिलालाई चिनेकाले ‘ब्वाइज कट’ कपाल भएको भनी पहिचान थपिदिने र नचिनेकाले केटा नै भन्ठाने गरेका हुन्छन् । कसै कसैले ‘कस्तो राम्रो सुहाएको’ भनेर ‘कम्प्लिमेन्ट’ पनि दिने गर्छन् । जसले जे भने पनि आर्थिक रूपमा आत्मनिर्भर, सक्षम र स्वाभिमानी महिलालाई केही फरक परेको छैन । मेरो कपाल, मेरो चाहना, मेरो निर्णय भन्ने भाव उनीहरूमा छ ।
अर्कातिर छोरीको उमेर एक–दुई वर्षको हुँदादेखि नै यसको कपाल राम्रो, बाक्लो, कालो, कैलो, पातलो, घुम्रिएको आदि भनेर अर्कासँग तुलना गर्दै कुरा काट्ने चलन पनि हराइसकेको छैन । त्यसमा पनि ‘ठुलो भएपछि यसको कपाल कस्तो आउने हो ?’ भन्ने चिन्ताबाट सुरु हुन्छ अनि त्यो बढ्दै गएर ‘छोरीमान्छेको कपाल त अलि लामो बाक्लो पो हुनुपर्छ’ भन्ने तहमा पुग्छ ।
छोरीमान्छे हुर्कंदै गर्दा उनले आफ्नो कपालका बारेमा अरूले कुरा काटेको पनि सुन्नुपर्छ । त्यसमा विज्ञानसम्मत ज्ञान र विवेकसम्मत चेतविनाको बनिबनाउ भाष्यमा उनिएको असान्दर्भिक सोचले पनि भाउ पाउँछ । त्यसले उनको स्वाभाविक, सरल, असल र सहज व्यक्तित्व निर्माणको सम्भावनामा नकारात्मक असर पो पार्छ कि भनी बेलैमा ध्यान दिने र सही ढङ्गले सम्झाउने अभिभावक कमै छन् ।
किशोरावस्थाका छोरीमान्छेले कपाल काटेको देखे भने कसैले त्यसलाई तिनको विवाहसँग जोडेर कुरा काट्छन् । ‘विवाह गर्ने बेलामा किन कपाल काटेको ?’, ‘छोरी मान्छे, छोरा जस्तो देखियो’, ‘आइमाई’ ले कपाल काटेको फिटिक्कै नसुहाउने’ जस्ता भनाइ परिवारदेखि छिमेकी र अन्यत्र पनि तिनले यसरी सुन्नुपर्छ कि मानौँ कपाल काटेर उनले ठुलै अपराध नै गरेकी हुन् । त्यही कुरालाई कसै कसैले ‘लामो लरक्क परेको कपाल महिलाको गहना हो’ भन्ने तरिकाले पनि उठाउँछन् ।
मेरो एक जना साथीको अनुभव यहाँ उल्लेख गर्न चाहन्छु । ती साथीले स्नातकोत्तर तहको पढाइ सकिसकेकी छिन् । काठमाडौँमा जागिर खान्छिन् । पढाइ, कार्यालय र घरको काम त छँदैछ श्रीमान्काे लागि आवश्यक खर्च पनि उनैले पुर्याउँछिन् । श्रीमान्काे कमाइ नियमित छैन, कहिलेकाहीँ मात्रै हुन्छ रे !
व्यस्त कामको रुटिनमा लामो कपालको स्याहार गर्नुभन्दा छोटो पार्नु नै ठिक ठानेर दुई वर्षअघि उनले कपाल छोटो हुने गरी कटाइन् । लामो कपाल काटेपछि त उनलाई सोचेभन्दा धेरै नै सजिलो भयो । त्यसपछि उनले लगभग दुई वर्ष आफ्नो कपाललाई लामो हुन दिएर यसै छाडिनन्, बेला बेलामा कटाउने गरिन् । त्यो कुरा उनको श्रीमान्लाई भने चित्त बुझेन किनकि केटा जस्तो देखियो रे !
‘बिहे गरेको मान्छे, के केटा जस्तो बनेर हिँडेको ?’ भन्ने प्रश्न दैनिकजसो आउन थाल्यो । झन्डै दुई वर्षपछि श्रीमान्कै जिद्दीका कारण मेरी साथीले कपाल कटाउन छाडेर पाल्न थालिन् । महिला भएपछि कपाल लामै हुनुपर्छ भन्ने अव्यावहारिक, कुटिल र रुढ मान्यता बोकेका श्रीमान्काे अगाडि उनले हारिन् र आफूलाई जतिसुकै अप्ठेरो भए पनि कपाल पाल्ने निर्णयमा पुगिन् ।
समाजमा श्रीमान्काे अबुझ इच्छाका अगाडि आफ्नो रहर मार्ने मेरी साथी एक्ली पात्र होइनन् । उनका श्रीमान् पनि एउटा प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय कपाल काटेर छोटो बनाउँदा सहज अनुभव गर्ने महिलाहरू समाजमा बढ्दै गएका छन् । सबै पुरुषहरू मेरी साथीकै श्रीमान् जस्ता कट्टर पनि छैनन् । श्रीमतीलाई छोटो कपालमा राम्री देख्न चाहने पुरुष पनि छन् । अहिले मात्र होइन, पहिले पनि यस्ता पुरुष रहेछन् भन्ने कुरा आठ दशक उमेर काटिसकेकी उद्यमी इन्दिरा सापकोटाको कपाल कटाइको रहस्य बुझ्दा थाहा हुन्छ ।
समाजशास्त्री डा. मीना पौडेलले पनि सहजतासँगै धेरै कुराको फाइदा हुने भनी सोचविचार गरेरै कपाल छोटो बनाउन थाल्नुभएको वर्षौं भयो । उता ४० वर्षको उमेरताका आफ्नै श्रीमान्ले ‘राम्रो देखिने’ भन्दै रहर गरेपछि कपाल कटाउनुभएकी इन्दिराले पनि राम्रोभन्दा बढी सजिलो अनुभव गर्नुभयो । त्यसपछि आमाले माइतको ढोका नै बन्द गरिदिए पनि उहाँले आफ्नो कपाललाई कहिल्यै लामो हुन दिनु भएन ।
अहिले युवा उमेरका कतिपय महिलाले ‘मैले कपाल किन पाल्नैपर्ने ?’ भनेर प्रश्न गर्दै पनि कपाल काटेका मात्रै छैनन्, मुण्डन नै गरेर अलौकिक अनुभव गरेका पनि छन् । यसभित्रको समाजशास्त्र, मनोविज्ञान अनि यससँग जोडिएको अर्थशास्त्रलाई बुझेका छन् । सोह्र शृङ्गारको रागसँगै सौन्दर्यकरण र बजारीकरणको निहित स्वार्थलाई पनि बुझेका छन् । बाल्यकालदेखि नै लामो कपाल पालेर स्याहार्दै आएका तर युवावस्थामा आत्मनिर्भर हुँदै गर्दा सहजताका लागि कपाल कटाएका अनि सानैदेखि कपाल काट्दै आएका केही युवा महिलासँग गरिएको कुराकानीले यस्ता विविध पक्षलाई देखाएको छ । अहिलेका महिलाको व्यक्तित्व र जीवनशैली पहिलेको जस्तो घरमै रहेर र सजिएर बस्ने व्यक्तिमा सीमित छैन । त्यसरी आलङ्कारिक मात्रै भएर रहन खोज्नेलाई समाजमा व्यक्तिको रूपमा उचित भाउ मिल्नेवाला पनि छैन ।
शिक्षादीक्षा, रोजगारी, जिम्मेवारी निर्वाहका लागि पनि फरक ढङ्गले प्रस्तुत हुनुपर्ने अवस्था आदिका कारण महिलाको जीवनदृष्टि फेरिँदै आएको छ । महिलालाई हेर्ने र सम्मानजनक पहिचान दिने आधार र जीवनमूल्य पनि फेरिँदै आएका छन् । छोटो समयमै हुने गरेका राजनीतिक परिवर्तनसँगै मिसिएर आइरहेका समतामूलक र समन्यायिक सामाजिक परिवर्तनलाई पछाडि धकेल्न सम्भव छैन ।
जहिले पनि परिवर्तनका लहरको दोसाँधमा रहँदै अघि बढिरहेको नेपाली समाज अहिले पनि मिश्रित र विविधि देखिने गरेको छ । देशको राजधानी काठमाडौँ विविधताले भरिएको नेपाली समाजको प्रमुख सङ्गमस्थल हो । यसैले ‘सन्धान’ को तर्फबाट मैले दुई वर्षयता काठमाडौँमा भेटिएका त्यस्ता महिलासँग कुराकानी गरेँ, जसमध्ये धेरैले लामो समयदेखि आफ्नो कपाल छोटो पारेका थिए । केही युवा महिलाले त आफूखुसी खौरिएका पनि थिए ।
उत्सुकता भयो– कपाल र महिलाको व्यक्तित्वलाई समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा कस्तो देखिन्छ ? ‘छोटो कपाल’ बनाएका महिलाहरूको अनुभव के छ ? कपाल काटेर अधिकांश केटामान्छेले जस्तै गरी छोटो बनाएका महिलालाई विनाहिचकिचाहट ‘किन ब्वाइज कट ?’ भनी प्याच्च सोध्ने र नातेदारीको प्रभुत्व जमाएर गिराउन खोज्नेहरूलाई कसरी बेहोरे, बेवास्ता गरे कि तह लगाए ? महिलावादी दृष्टिकोणबाट कपालको समाजशास्त्रीय मनोविज्ञान, बजार र व्यावहारिक सहजतालाई कसरी बुझ्ने ?
यावत् प्रश्नको पृष्ठभूमिमा हिमालय माध्यमिक विद्यालयले छात्राका लागि बनाएको ‘दुईचुल्ठे नियम’ को सन्दर्भ छ । कपाल काटेका युवा तथा कामकाजी महिलाहरूसँग कुराकानी गर्दा सो सन्दर्भलाई विशेष ध्यानमा राखिएको थियो । प्रस्तुत छ, विभिन्न पेसा, व्यवसायमा सक्रिय रहेका र अधिकांश समय कपाल काटेका महिलाको अनुभव, चेतना र ज्ञानले खारिएका भनाइको सँगालो । अन्त्यमा सचेत अनुभवीका साझा कुरा पनि छ ।
वर्षौंको बोझ शरीरबाट उतारे जस्तो

– सृजना खड्का, पत्रकार
मलाई आमाले ‘कपाल छोरीमान्छेको गहना हो’ भनेर हुर्काउनुभयो । थोरै कपाल काट्दा पनि म सबैभन्दा पहिला आमालाई सम्झिन्थेँ, गाली गर्नुहुन्छ भनेर डराउँथेँ । आफू आत्मनिर्भर नहुँदासम्म छोटो कपाल बनाउनेबारे कल्पना पनि गर्न सकिनँ । तर, बिस्तारै बाक्लो, लामो कपाल स्याहार्नुभन्दा मेरो प्राथमिकता पढाइ र कामतिर जान थाल्यो । त्यसपछि मैले थोरै–थोरै गरेर कटाउँदै छोटो बनाउन थालेँ ।
यसरी नै एक दिन मलाई ‘सर्टकट’ कपाल कटाउन मन लाग्यो । धेरैले यसलाई ‘ब्वाइज कट’ पनि भन्छन् तर म यसो भन्न रुचाउन्नँ । छोटो कपाल केटाहरूको मात्रै हुँदैन, काटेपछि केटीहरूको पनि हुन्छ । आफ्नो लामो र बाक्लो कपाललाई छोटो बनाएको दिन मैले एकदमै हलुका महसुस गरेँ । धेरै वर्षदेखिको बोझ शरीरबाट उतारे जस्तो भयो ।
मैले २०७८ सालतिर आफ्नो कपाल मुण्डन गर्ने सोच बनाएँ र गरेँ पनि । त्यस बेला मलाई आफूमा केही परिवर्तन चाहिएको थियो । छोटो कपाल बनाउँदाभन्दा मुण्डन गर्दा झनै बेग्लै अनुभूति भएको थियो ।
कपाल छोटो बनाएपछि धेरैको प्रतिक्रिया आयो । तीमध्ये केही प्रतिक्रिया हुन्, ‘यस्तो कपाल हुनेलाई कसले बिहे गर्छ ?’, ‘बिहे गर्ने उमेरमा किन कपाल काटेको ?’, ‘बिहेमा साडी लगाउँदा छोटो कपालमा सुहाउँदैन’ यस्तै–यस्तै । मैले ती कसैको कुरा सुनिनँ । आमालाई भने सम्झाएँ । आफूलाई सहज भएको र हल्का महसुस गरेको कुरा सुनाएँ । त्यस दिनदेखि उहाँले मेरो कपालबारे कहिल्यै केही भन्नु भएन ।
मैले २०७८ सालतिर आफ्नो कपाल मुण्डन गर्ने सोच बनाएँ र गरेँ पनि । त्यस बेला मलाई आफूमा केही परिवर्तन चाहिएको थियो । छोटो कपाल बनाउँदाभन्दा मुण्डन गर्दा झनै बेग्लै अनुभूति भएको थियो । कपाल मुण्डन गरेपछिको १० दिन मैले विपश्यना ध्यान केन्द्रमा बिताएकी थिएँ । त्यहाँबाट फर्किएपछि भने प्रतिक्रियाहरू आउन थालिहाल्यो ।
विपश्यनाबाट फर्किएको केही समयपछि मेरो साथी, अहिले जीवनसाथीले उसको आमासँग मलाई भेटाउने योजना बनायो । कपाललाई लिएर फेरि म अर्को अनावश्यक प्रतिक्रिया सुन्न चाहँदैनथेँ तर उसले जिद्दी गरेपछि भेटेँ । भेटमा उहाँले सोध्नुभयो– तिमीलाई मसँग भेट्न डर/अप्ठ्यारो केही लागेको थियो ? मैले भनेँ– त्यस्तो त केही थिएन तर धेरैले मेरो कपाललाई लिएर टीकाटिप्पणी गर्छन् । तपाईंले पनि त्यही गर्नुहुन्छ होला भन्ने सोचेको थिएँ । यसमा उहाँको जवाफ थियो– त्यो त तिम्रो ‘च्वाइस’ हो । मेरो छोटो कपाललाई लिएर अहिलेसम्म सुनेको सकारात्मक प्रतिक्रिया यही एउटा हो ।
मभित्र छुट्टै आत्मविश्वास बढेको छ

– पुष्पा थपलिया, पत्रकार
म सेन्ट्रल डिपार्टमेन्ट अफ जर्नलिज्म एन्ड मास कम्युनिकेसनमा स्नातकोत्तर तह अध्ययनरत रहँदाको एउटा घटना बिर्सिनै सक्दिनँ । बिहानी कक्षा भएकाले एक दिन झिसमिसेमै क्याम्पस पुगेकी थिएँ । क्याम्पस पुगेर लेडिज ट्वाइलेट गएँ । दुई जना केटी (छात्रा) हरू कपडा मिलाउँदै रहेछन् । म छिर्ने बित्तिकै उनीहरूले आत्तिँदै ‘यो त लेडिज ट्वाइलेट हो’ भने । मैले ‘त्यही भएर म यहाँ आएको’ भनेँ । मेरो बोली (स्वर) सुनेर उनीहरू हाँस्दै बाहिर निस्किए ।
प्रतिक्रिया थरिथरिका हुन्छन् । म सार्वजनिक यातायातको प्रयोग गर्छु । त्यही भएकाले मेरो कपाल कटाइसँग त्यहाँका धेरै किस्सा जोडिएका छन् । कसैले मलाई अङ्कल भन्छन्, कसैले दाइ त कसैले भाइ ! महिला सिटमा बसेको बेला मलाई पुरुष भन्ठानेर सिटबाटै उठ्न पनि भनेका छन् ।
छोटो गरी कपाल काटेकै कारण पत्रकारिता क्षेत्रकै केही साथीहरूले मलाई ‘लेस्बियन’ हो पनि भन्दा रहेछन् । म विवाहित महिला हुँ भन्ने थाहा पाएपछि झसङ्ग भएकाहरू पनि धेरै भेटेको छु । कोही ‘बाइसेक्सुअल’ भन्छन्, कोही ‘लेस्बियन’ भन्छन् । तर म कसले मलाई के भन्छन् भन्ने कुरालाई वास्ता गर्दिनँ । म मान्छे हुँ, कपाल काटेपछि मभित्र छुट्टै आत्मविश्वास बढेको छ ।
पत्रकारितामा रातको समयमा पनि हिँड्न पर्छ । कपाल काटेपछि सबैभन्दा आनन्द रातको समयमा हुँदो रहेछ । कपाल लामो हुँदा केटा मान्छेहरूले पछ्याए जस्तो, घुरेर हेरे जस्तो अनुभूति हुन्थ्यो, अहिले त्यस्तो हुँदैन ।
नजिकिन खोजेको साथी साइड लाग्यो

– फूलमती, अधिकारकर्मी / राजनीतिकर्मी
म प्रायजसो कपाल छोटो गर्छु । कहिलेकाहीँ मुण्डन पनि गर्छु । ‘प्रेम गर्छु, विवाह गरौँ’ भनेर मलाई बारम्बार दबाब दिइरहेको, ‘फोर्स’ गरिरहेको एउटा साथी थियो । मैले कपाल मुण्डन गरेपछि त्यो साथी मबाट साइड लाग्यो । हुन त मलाई कामको आवश्यकता थिएन । एक दिन साथीको कामको खोजीका लागि म एउटा अफिसमा पुगेँ ।
मैले त्यो अफिसको म्यानेजरलाई यत्तिकै भनेँ, ‘मेरो लागि कस्तो काम खोजिदिने त सर रु’ जवाफमा उहाँले ‘तपाईंको कपाल नै छैन । न त तपाईं मेकअप गरेर चिटिक्क परेर हिँड्नुहुन्छ, तपाईंलाई त सबै ठाउँमा रिजेक्ट गरिदिन्छन् म्याम’ भन्नुभयो ।
मलाई लाग्छ, एकातर्फ हाम्रो समाज पितृसत्तात्मक सोचले ग्रसित छ भने अर्कोतर्फ दलाल पुँजीवादी व्यवस्थाको कब्जामा महिलाहरू छन् । यो दोहोरो मारमा परिरहेका महिलाहरूले आफ्नो सहजताका लागि कपाल मुण्डन गरेपछि महिलालाई वस्तुका रूपमा हेर्नेहरूले राम्रो मान्दैनन् ।
मेरो बुझाइमा महिलाले कपाल काटेको कुरा न त यो समाजलाई मन पर्छ, न त महिलालाई ‘माल’ बनाइरहेको पुँजीवादी व्यवस्थालाई नै ।
रोजगारीको खोजीमा रहेका महिलाहरूल काम नै नपाउन पनि सक्छन् । उनीहरूको क्षमता भन्दा पनि बजारले निर्धारण गरिएको सुन्दरताको मापदण्डमा यदि महिला फिट हुन् सकेन्न भने ।
मेरो बुझाइमा महिलाले कपाल काटेको कुरा न त यो समाजलाई मन पर्छ, न त महिलालाई ‘माल’ बनाइरहेको पुँजीवादी व्यवस्थालाई नै । समाजले आज पनि छोरीले कपाल काटेको, छोटो बनाएको कुरा पचाउन सक्दैन । यो मेरो आफ्नै भोगाइ पनि हो ।
छोरीको कपाल काटिदिँदा नै सजिलो

– मीना स्वर्णकार, दलित अभियन्ता
म सानै हुँदादेखि मेरो कपाल छोटो हुने गरी काटिएको थियो । पहिले ‘थाइकट’ थियो, पछि त्यसलाई झन् छोटो बनाएँ । यो व्यक्तिको नितान्त इच्छाको कुरा हो । कपाल पाल्ने, राख्ने, मेकअप गर्ने, नगर्ने भन्ने कुरा व्यक्तिगत हुन् । महिला स्मार्ट हुनु भनेको कपाल पालेर र चुल्ठी बाटेर मात्र हुने होइन ।
महिलाको सौन्दर्य भनेको उनको कपाल र उनले लगाएको गाजल, चुरा, टीका, पोते होइन । उनको विचार हो । उनको शिक्षा हो । उनको सही व्यवहार हो । हामीकहाँ महिला भएपछि कपाल पाल्नैपर्छ भन्ने भनाइ र बुझाइ छ । यो सब रुढीवादी परम्पराको उपज हो । यसलाई चिर्न पर्छ भन्ने मलाई लाग्छ ।
सबैभन्दा पहिले त महिलाको सौन्दर्यसँग जोडिएका परम्परागत साधन वा वस्तुहरूको प्रयोग नगर्दा महिलाको सौन्दर्य नै हुँदैन भन्ने खालको विभेदकारी दृष्टिकोणमा आधारित सोच नै हटाउन जरुरी छ ।
म घरको एउटा मात्र छोरी । पहिले मलाई बुबाले ‘कपाल पालेको राम्रो देखिन्छ छोरी, किन कपाल काट्यौ ?’ भनेर भन्नुहुन्थ्यो । मैले उहाँलाई ‘मलाई छोटो कपालमा नै सहज हुन्छ’ भनेँ । कपाल कटाउँदा नै मलाई सहज हुने कुरा थाहा पाएपछि बुबाले केही भन्नु भएन । त्यसपछि परिवारका अरू सदस्यले पनि मलाई रोकटोक गर्नु भएन, केही भन्नु भएन ।
मलाई बाहिर साथीसङ्गी/आफन्तहरूले भने ‘कपाल पाल, लामो कपालमा राम्रो देखिन्छ’ भन्ने कुरा गर्नुहुन्थ्यो । सल्लाह पनि दिनुहुन्थ्यो । आज पनि हाम्रो समाजमा विवाहित महिलाले चुरा, टीका, पोते, सिन्दुर लगाउनुपर्छ, साडी चोलो लगाउनुपर्छ भन्ने सोच छ । मलाई लाग्छ, यो पनि महिलामाथि भेदभाव बढाउने एउटा रुढिवादी सोचको निरन्तरता हो ।
हाम्रै देशका महिला प्रधानन्यायाधीश भए, राष्ट्रपति भइसके, सभामुख भइसके । विश्वका कतिपय अरू राष्ट्रका प्रमुखमा पनि महिला छन् । हाम्रो समाज भने महिलाको कपाल हेरेर नचाहिने कुरा काटेर बस्छ । महिलाको सहजता र चाहनालाई नबुझी उनीमाथि गरिने टीकाटिप्पणी ठिक होइन । यसैले महिला यस्तो हुनुपर्छ, त्यस्तो हुनुपर्छ भन्ने बानी राम्रो होइन ।
सबैभन्दा पहिले त महिलाको सौन्दर्यसँग जोडिएका परम्परागत साधन वा वस्तुहरूको प्रयोग नगर्दा महिलाको सौन्दर्य नै हुँदैन भन्ने खालको विभेदकारी दृष्टिकोणमा आधारित सोच नै हटाउन जरुरी छ । जुन सोच घरैदेखि हट्नुपर्छ । घरकै मान्छेहरूदेखि हट्नुपर्छ । मलाई त लाग्छ, सजिलोको लागि पनि सानैदेखि सबै सन्तान एकै खालका देखिने गरी छोरीहरूको कपाल काटिदिए हुन्थ्यो, कटाउन लगाइदिए हुन्थ्यो ।
श्रीमान्काे रहरले कपाल कटाएँ अनि पालिनँ

– इन्दिरा सापकोटा, संस्थापक, भोटु–इन्दिरा सामाजिक कल्याण प्रतिष्ठान
मैले मेरो कपाल छोटो बनाउन थालेको ४५ वर्ष हुन लाग्यो । कपाल कटाउनु सबैका आ–आफ्ना कारण होलान् तर मेरो भने मेरो श्रीमान्काे रहर थियो । उहाँकै रहरले गर्दा मैले कपाल काटाएँ । वास्तवमा कपाल कस्तो बनाउने भन्ने मलाई केही वास्ता र रहर थिएन । श्रीमान्ले ‘तिमी पनि कपाल काट न, राम्रो देखिन्छ’ भनेपछि मैले मेरो कपाल काटेँ ।
कपाल कटाएपछि थाहा भयो, छोटो कपाल नै सजिलो हुँदोरहेछ । त्यसपछि मलाई कपाल पाल्ने रहर नै लागेन । मैले कपाल कटाएपछि माइतमा आमालाई थाहा नहुने कुरो थिएन । मलाई आमाले माइत पस्नै दिनु भएन । मलाई उहाँले ‘अब माइती आउनै पर्दैन’ भन्नुभयो । त्यति बेला म केही बोलिनँ । मलाई छोटो कपाल ठिक लागे पनि आमालाई ठिक लागेनछ भन्ने सोच आयो ।
म घरकी जेठी छोरी, १३ वर्षमै मेरो बिहे गर्दिनुभएको थियो । मेरा दुई जना बहिनीले पनि कपाल कटाएका थिए तर आमाले उनीहरूलाई केही पनि भन्नु भएन । उनीहरू पढेलेखेका थिए । पैसा कमाउँथे । मसँग त्यति बेला पैसा कमाउने बाटो थिएन । त्यो भएर पनि मलाई र बहिनीहरूलाई फरक व्यवहार गर्नुभयो होला भन्ने लाग्छ ।
कपाल कटाएपछि मैले भने एकदमै सहज महसुस गरेँ । अहिले म ८६ वर्ष पुगिसकेँ । यो उमेरमा त झन् कति सजिलो, नुहाउन, कोर्न । मेरो बेलामा मात्र होइन, अहिले पनि कतिपय व्यक्तिमा केटाले मात्र कपाल कटाउनुपर्छ, केटीहरूको कपाल लामै हुनुपर्छ भन्ने सोच छ । मलाई लाग्छ, यी र यस्तो विभेदकारी कुरा समाजमा हुनु भनेको सङ्कुचित सोचको उपज मात्रै हो । कपाल कस्तो बनाउने भन्ने चाहिँ व्यक्तिगत स्वतन्त्रता र सहजता महसुस गर्ने कुरा पनि हो ।
अनि बुबाले नै कपाल कटाउन लैजानुभयो

– सन्जुला रानापल, विद्यार्थी, नेपाल ल क्याम्पस
मेरो कपालको ‘क्वालिटी’ मलाई खासै मन परेको थिएन । मेरो बुबालाई पनि मन परेको थिएन । राम्रो हुन्छ कि भनेर पाँच वर्षसम्म नरिवलको तेल लगाइरहेँ तर उस्तै रह्यो, क्लालिटीमा सुधार आएन । एक दिन बुबाले मेरो कपाल छुनुभयो र मुख बिगार्नुभयो अनि ‘ल हिँड, यो कपाल पुरै छाटौँ’ भन्नुभयो । उहाँ र म हजामकोमा गयौँ र फेदैसम्म काटेर मुुडुलो पार्न लगायौँ ।
मैले पहिलो पटक कपाल कटाउँदा बैशाख १ गते नयाँ वर्षको दिन थियो । नयाँ वर्षमा नयाँ ‘लुक्स’ भन्न पनि भयो । मैले त्यसरी कपाल कटाइसकेपछि अनेक थरिका प्रश्नहरू आए । कसैले ‘किन कपाल काटेको ?’ भने । कसैले ‘कपाल काटेपछि ऐनामा हेर्दा आफूलाई चिन्नुहुन्छ ?’ भने । मलाई ‘हिजडा जस्तो देखेको छ तर माइन्ड नगर ल’ भन्दै हाँस्नेहरू पनि धेरै थिए ।
कतिले ‘ए भाइ’ भनेर पनि बोलाउँथे । कतिले शरीरमा तलदेखि माथिसम्म अप्ठ्यारो लाग्ने गरी हेरेर ‘यो केटा हो कि केटी हो ?’ पनि भन्थे । कतिले ‘स्याम्पू बचाउनका लागि !’ भनेर पनि उडाउँथे ।
अरूले मलाई छोरीमान्छे भन्दै विभेदका आँखा लगाएर ‘जज’ गर्ने होइन, म पनि त्यही तरिकाले जज गरेर अरूको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्न चाहन्नँ ।
मलाई केही केटी साथीहरूले मात्रै सकारात्मक प्रतिक्रिया दिएका थिए । उनीहरूले ‘कस्तो कुल देखिएको’ भने । जसले जे भने पनि मलाई सबैभन्दा सजिलो नुहाउनलाई भयो । यति सजिलो र छिटो भयो कि, बोनसमै टाउको नुहाए जस्तो लाग्ने । रबर, क्लिप, काँटा किन्ने र लगाउने झन्झट पनि भएन ।
कपाल कटाइसकेपछि मलाई ऐना हेर्दा पनि मज्जा लाग्यो । अहिले पनि उत्तिकै मजा लाग्छ । महिला भएपछि यो कुराहरू मात्र गर्नुपर्छ, यस्तै हुनुपर्छ भनेर समाजले भनेका कारण यी सबै प्रश्न र प्रतिक्रिया आएका हुन्, जुन गलत हो । यो पनि मलाई थाहा छ, कपाल काटौँ कि नकाटौँ ? कटाउँ कि नकटाउँ ? काटे पनि कस्तो काटौँ, कति काटौँ ? नकाटे पनि बाटौँ कि नबाटौँ या जे जस्तो गरौँ ? त्यो मेरो व्यक्तिगत इच्छाको कुरा हो । अरूले मलाई छोरीमान्छे भन्दै विभेदका आँखा लगाएर ‘जज’ गर्ने होइन, म पनि त्यही तरिकाले जज गरेर अरूको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्न चाहन्नँ ।
सामान्य कुरा हो तर जटिल बनाइएको
– डा. मीना पौडेल, समाजशास्त्री

मैले सहजताको लागि कपाल छोटो पारेको छु । मलाई साडी, कुर्ता लगाउन मन पर्दैन । यी सब लगाउन मात्रै होइन, लगाइसकेपछि सँभाल्न पनि सजिलो लाग्दैन । म चाहिँ छोटो कपाल हुनुमै फाइदा देख्छु । छोटो कपाल हुँदा कपालको स्याहार गर्ने समयको बचत हुन्छ, नुहाउन सजिलो, कोर्न सजिलो अथवा काइँयो नै नलगाई हातैले मिलाए पनि भइहाल्यो ।
तर समाजमा लुगा र कपाल जस्ता नितान्त व्यक्तिगत मामलाहरु पनि परिवार र समाजको दृष्टिकोणबाट हेरिन्छ मात्र होइन, सामाजिक मापदण्ड नै तय गरिन्छ र लैङ्गिक तुलोमा जोखेर भनिन्छ महिलाको कपाल र उसले लगाउने पहिरन यस्तो हुँदा इज्जतिलो हुन्छ र उस्तो हुँदा इज्जतिलो हुँदैन ।
समाजको यही पुरातन चिन्तन र बुझाइले मलाई केटाले लगाउने जस्तो पहिरन गर्ने, केटाको जस्तो कपाल बनाउने भन्थे । समाजले महिला र पुरुषलाई तोकेको सीमाबाट फरक देखिनुभयो भने मलाई जस्तै तपाईंलाई पनि समाजको संस्कृतिलाई नमानेको, बिगारेको, समाजको विपरित हिँडेको भनिन्छ ।
मूल कुरा भनेको यी र यस्ता भ्रामक टिकाटिप्पणीबाट हामी विचलित हुनु हुँदैन, बरु सम्भावित हिंसा, झन्झट र असहज हुने खालका यस्ता गरगहना, पहिरन र व्यर्थका शृङ्गारपटारबाट टाढा रही त्यस्ता अनावश्यक वस्तुमा लाग्ने आर्थिक स्रोत र समयलाई ज्ञान र चेतनाको बृहत सामाजिक हितका पक्षमा आफुलाई केन्द्रित गर्नुपर्छ । समाजमा प्रतिस्पर्धा शृङ्गार, गरगहना र पहिरनलाई प्राथमिकता दिनुको सट्टा ज्ञान, चेतना र विवेकका आधारमा सामाजिक अन्तरसम्बन्ध बिस्तार गर्दा समाज रुपान्तरणमा सहयोग हुन्छ । आफैँलाई बाँध्ने र असहज हुने पहिरन र शृङ्गारिक सुन्दरताको भ्रममा स्वयंम महिलाहरू लाग्नु हुँदैन ।
घरले कपाल पाल्नुपर्छ, छोरीमान्छेको कपाल लामो हुनुपर्छ भन्दिने र विद्यालयहरूले छात्राहरूलाई दुई चुल्ठी बाट्न अनिवार्य गर्दिने, यी दुबै गलत सोचका उपज हुन् ।
महिलामाथि यस्ता टिप्पणीहरू गर्नु भनेको महिलाको यौनिकता, महिलाको पहिचान, महिलाको बाहिर देखिने व्यक्तित्वलाई पुरानो सोचबाट हेरिनु हो । पुरुष हुने बित्तिकै छोटो कपाल हुनुपर्छ भन्ने सोच हुन्छ । त्यसैले महिलाले छोटो गरी कपाल कटाउने बित्तिकै ‘ब्वाइज कट’ गरेको र पुरुषले लामो कपाल पाल्यो भने उसलाई ‘केटीको जस्तो कपाल पालेको’ भनिन्छ ।
मानिसलाई उसको कामको प्रकृति, योग्यता, क्षमताभन्दा पनि कपाल, लुगा, जुत्ता आदिलाई हेरिन्छ । त्यसैले म कतिपय बिहे, पार्टीमा जाँदिनँ । नजानुको कारण त्यहाँ मलाई देखेर कुरा गर्न थाल्छन्, जसले मलाई असहज हुन्छ । हुन त यस्ता कुरालाई धेरै बेवास्ता गर्दै गएँ तर पनि कतिपय ठाउँ र त्यहाँको माहोलको बिचमा कतिपय मानिसको रुढीले भरिएको प्रश्नले गर्दा अर्काे पटक त्यस ठाउँमा जान मलाई मन लाग्दैन ।
कतिपय त्यस्ता ठाउँमा भने मन र जाँगर नलागे पनि जानुपर्ने हुन्छ । गयो भने फेरि अवस्था उही हुन्छ, मानिसहरू हेर्न थाल्छन्, प्रश्न गर्न थाल्छन् । मलाई थाहा छ, पटक पटक यस्तो भएपछि समाजमा भएका सांस्कृतिक, सामाजिक क्रियाकलापमा आफूलाई बन्देज गर्न मानिस बाध्य हुन पुग्छ । यस्तो हुनु भनेको सामाजिक गतिविधिमा समतावादी परिवर्तन चाहनेले आफूलाई बन्देज गर्नु पनि हो ।
पुरातन सोच बोकेका मानिसहरूको अनावश्यक प्रश्नका कारण सहजता र स्वतन्त्रतापूर्वक आफ्नो व्यक्तित्व बनाइरहेका मानिसले सामाजिक गतिविधिमै बन्देज लगाउनुपर्ने अवस्था हुन्छ । यसले उनीहरूको मनोविज्ञानमा नकारात्मक असर पर्छ । हुन त कपाल छोटो बनाउने कि लामो भन्ने कुरा सामान्य हो । यो व्यक्तिको इच्छाको कुरा हो तर यसप्रतिको विभेदकारी दृष्टिकोणले भरिएको टिप्पणीले मानिसको जीवनमा दीर्घकालीन नकारात्मक असर पर्न जान्छ ।
घरले कपाल पाल्नुपर्छ, छोरीमान्छेको कपाल लामो हुनुपर्छ भन्दिने र विद्यालयहरूले छात्राहरूलाई दुई चुल्ठी बाट्न अनिवार्य गर्दिने, यी दुबै गलत सोचका उपज हुन् । यस्तो गर्नु विभेदलाई नै निरन्तरता दिनु हो । यसैले यो गलत हो । यो खालको हाम्रो शिक्षा धार्मिक रुढिवादमा आधारित विभेदित नैतिक शिक्षाको उपज हो । यस्तो शिक्षाले महिलालाई चेतना दिने, अधिकारमुखी बनाउनेभन्दा पनि सामन्ती नैतिकता सिकाउँछ ।
सुन्दरतादेखि बजारीकरणको चपेटासम्म

– मीना उप्रेती, समाजशास्त्री
पहिलेपहिले महिलाको ‘सुन्दरता’ सँग जोडिएको कपाल अहिले बजारसँग जोडिएको छ । बजारसँग जोडिनु भनेको महिलाको सुन्दरताको बेचबिखन र मोलमोलाइ हुनु हो । हिजो कैलो कपाल भएका महिलालाई अलच्छिना हुन्छ भन्थे, विज्ञापनको बजारले गर्दा अहिले कैलो, खैरो कपालको फेसन नै चलेको छ ।
कपालको रङमा आफ्नो कमाइको कति पैसा गइरहेको छ भनेर कसैले हेरेको छैन । त्यसैले अहिले एक त बजारले महिलाको कपाललाई प्रयोग गरेर पैसा कमाइरहेको छ । छोरीमान्छे वा महिलाको कपाल लामो हुनुपर्छ भन्ने पुराना मान्यता, अनेकौँ डिजाइन र रङका कपाल बनाउने होडभन्दा माथि रहनुपर्छ ।
साथै, महिलाले होस् या पुरुषले आफ्नो इच्छा र सहजता हेरेर आफ्नो टाउकाको कपाल पाल्ने कि काट्ने कि कटाउने बारेमा निर्णय गर्न पाउनुपर्छ । यो कुरामा अर्काले टीकाटिप्पणी गर्ने होइन । कुन समयमा आफूलाई के कस्तो कपाल बनाउन मन लाग्छ, त्यो कुरा व्यक्ति आफैँले सोचेर गर्न पाउनुपर्छ । हामीले अब यस्तै सोच बनाउनुपर्छ ।
सचेत अनुभवीका साझा भावको विश्लेषण
पितृसत्तात्मक समाजले महिला कस्तो हुनुपर्ने र पुरुष कस्तो हुनुपर्ने भनेर फरक विम्ब बनाइदिएको कुरा अब धेरैबाट लुकेको छैन । त्यस्तैमध्येको एउटा विम्ब हो, लामो वा छोटो कपाल । कुनै पनि बच्चा हुर्किने क्रममा उ आफैँले आफ्ना बारेमा केही पनि निर्णय गर्न सक्दैन । यस्तै अवस्थादेखि नै छोरीलाई ‘कस्तो राम्रो कपाल’, ‘कपाल लामो पार्नुपर्छ है !’ भनेर सिकाइन्छ । कपालमा ‘चिम्टी, क्लिप, धागो लगाउनुपर्छ’ भनेर दिइन्छ अनि ‘यी यसरी लगाउने’ भनेर सधाइन्छ ।
छोरालाई भने लामो भयो भन्दै कपाल कटाउन हजामकहाँ लगिन्छ । चिम्टी, क्लिप, धागो त लगभग छुन पनि दिइँदैन । बरु कपालमा ती वस्तु लगाएका केटीमान्छेलाई कस्तो राम्री भन्दै हेर्न सिकाइन्छ । यस्तै यस्तै प्रक्रियाबाट सुरु हुन्छ, छोरालाई महिला हेप्ने पुरुषको रूपमा र छोरीलाई पुरुषको हेराइमा राम्री बन्ने महिलाको रूपमा हुर्काउँदै लग्ने काम । यसरी दुवैलाई समान तहका मानव हुनेभन्दा पनि असमान तहका महिला र पुरुष हुने तरिकाले हुर्काइन्छ ।
सामाजिकीकरणमा पनि महिला र पुरुषका रूपमा एकलाई शक्तिहीन र अर्कोलाई शक्तिशाली भन्ने भाव घोलेर हुर्काउँदै लगिएको हुन्छ । त्यही क्रममा लामो कपाललाई ‘महिलाको गहना’ को रूपमा बुझिन्छ र त्यही सोचमा अडिएर परिभाषित गरिन्छ । यस्तो हुने गरेको छ अझै पनि । कपाल छोटो बनायो भने कस्ता कस्तासम्म प्रश्नको सामना गर्नुपर्छ भन्ने अनुभव गर्नेहरू यही समाजमा छन् ।
केही प्रतिनिधि उदाहरण पनि यहाँ आइसकेका छन् । यो देशको राजधानी काठमाडौँको कुरा हो । यहाँको मिश्रित समाजले देशको पनि केही न केही प्रतिनिधित्व अवश्य गर्न सक्छ । कपालका सवालमा विभिन्न ठाउँका घरमा मात्रै होइन, विद्यालयमा पनि छात्राहरू विभेदित तरिकाले निर्देशित छन् । तिनका लागि छोटो कपाल र फुक्काफाल जीवन बाँच्न पाउने छुट छैन ।
लामो कपाललाई पनि तलमाथि गर्ने होइन भने जस्तो गरी ‘दुईचुल्ठे नियम’ मै बाटेर रातो, पहेँलो, हरियो, निलो आदि रङको रिबन लगाउनुपर्ने नियम बनाइएका हुन्छन् । सहरबजारका कतिपय विद्यालयहरूले छात्राहरूका लागि दुई चुल्ठी नै बाट्नुपर्ने कडा नियम बनाएका छन् । कतिपय विद्यालयहरूले एक चुल्ठी मात्रै बाट्ने अथवा बाँध्ने मात्र पनि गर्न नपाइने गरी कडाइका साथ निगरानी नै गरेका हुन्छन् ।
विद्यालयमा सन्तानमाथि दुव्र्यवहार होला भन्ने डरले अभिभावकहरू सार्वजनिक भने हुन सकेका छैनन् । व्यस्त दैनिकीमा उनिएका सचेत अभिभावकहरू छोरीको कपाललाई दुई चुल्ठी बाटिदिनुपर्दा आफ्नो समय मात्र होइन, समतामूलक चेत पनि खेर गएकोमा मुर्मुरिने गरेका छन् । लैङ्गिक समानताका बारेमा सचेत, एकल परिवारमा आर्थिक आत्मनिर्भरताका साथ व्यस्त जीवन चलाइरहेका अभिभावकहरू विद्यालयमा हुने गरेका दुईचुल्ठे नियम जस्तै कतिपय विभेदकारी व्यवहारबाट आजित भइसकेको बताउँछन् ।
एकातिर अभिभावकहरू समाचार र सामाजिक सञ्जालमा खुलेर आउन भने चाहँदैनन् । विद्यालयमा आफ्नो सन्तानलाई कुनै तरिकाले ‘टार्गेट’ पो गरिने हो कि भन्ने डरले उनीहरूलाई नराम्ररी घेरेको छ । अर्कोतिर कतिपय शिक्षण संस्थाका मालिकहरूले समतामूलक समाज रूपान्तरणको मूलमर्मलाई नै नबुझिरहेको जस्तो पनि देखिन्छ । कुनै पनि विद्यालयमा लादिएका विभेदकारी र जडसूत्रवादी नियम यसका उदाहरण हुन् ।
बाटो बिराउँदै गरेका विद्यालयका कर्ताधर्ताहरूलाई सही बाटो देखाउन सक्ने भनेका सचेत अनुभवी व्यक्तिहरू नै हुन् । असमानताको सवालमा सबैभन्दा बढी जानकार र प्रभावित भएका र हुने व्यक्ति पनि महिलाहरू नै हुन् । महिलाको आवाजलाई पुरातनवादी समाजमा उचित र सम्मानजनक स्थान पनि दिइँदैन । त्यो ‘सन्धान’ ले बुझेको छ । यसैले कपालका सवालमा पनि महिलाको अनुभवी आवाजलाई नै प्राथमिकतामा लिइएको हो ।
सन्तानलाई घरदेखि नै कृत्रिम विभेदमा राखेर होइन, समतामूलक र समन्यायिक भावका साथ मानव बन्न सक्ने गरी हुर्काऔँ । त्यसमा शैक्षिक संस्थाले नियमका बहानामा कुनै पनि हस्तक्षेप गर्न नखोजोस् । हस्तक्षेपलाई थाहा पाएर पनि आफूलाई छोरीको दुईचुल्ठो बाट्न विवश ठान्ने व्यस्त तर सचेत अभिभावकहरू पनि हिम्मत गरौँ । विद्यालयले कतै आफ्नो सन्तानमाथि नै केही गरिदिने पो हो कि भनी चुप्पी कसेर नबसौँ । असल समाज निर्माणका लागि सचेतता र समझदारीपूर्वक साझेदारी खोजौँ । बेलैमा हातेमालो गरी सार्वजनिक खबरदारी पनि गरौँ ।
प्रकाशन मिति : २०८२ कार्तिक १३ गते, बिहिवार





