सन्धान सहकार्य ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई नेपालको कानुनले अन्य नागरिकसरहको व्यवहार गरोस् ! कोशी प्रदेश, सुनसरी जिल्लाकी पारलैङ्गिक महिला पन्नालाल चौधरीको आत्मकथाको सार वाक्य हो यो ।
सन्धानले विभिन्न सङ्घसंस्था, व्यक्ति, समूह र सञ्जालहरूबाट प्रकाशित प्रसारित महिलावादी विषयवस्तुलाई ‘सन्धान सहकार्य’ अन्तर्गत साभार गरी प्रकाशन/प्रसारण गर्दै आएका छ । यसैक्रममा यसपटक मितिनी नेपालद्वारा २०८० मङ्सिर (सन् २०२३ डिसेम्बर) मा प्रकाशित ‘हाम्रो जीवन, हाम्रा कथाहरू : नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिक’ नामक ‘कथापुस्तक’ मा समेटिएको ‘सरकार तीरैतीर, जनता पीरैपीर’ शीर्षकको आत्मकथालाई लिएका छौँ ।
पन्नालाल चौधरीको सो आत्मकथालाई सामान्य सम्पादनसहित अद्यावधिक गरी साभार गरिएको छ । यसरी साभार गर्ने अनुमति दिनुभएकोमा मितिनी नेपाल र त्यसका संस्थापक तथा अध्यक्ष लक्ष्मी घलानप्रति हार्दिक धन्यवाद !
मेरो नाम पन्नालाल चौधरी हो । म सुनसरी जिल्लाकी पारलैङ्गिक महिला (ट्रान्स वुमन) हुँ । आफूलाई ‘ट्रान्स महिला’ पनि भन्ने गर्छु । म लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको एक प्रतिनिधि पात्र हुँ ।
मेरो उमेरले ७० वर्ष नाघिसकेको छ । अहिलेसम्मको मेरो अनुभवमा नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू सुरक्षित छैनन् । उनीहरू सबैभन्दा पहिले आफ्नो घरमा सुरक्षित छैनन् । त्यसपछि समाजले पनि उनीहरूलाई स्वीकार गर्न सकेको छैन ।
कोभिड–१९ को समयमा हाम्रो समुदायका मानिसको खोपमा पहुँच थिएन र कतिपयले ज्येष्ठ नागरिक भत्ता पनि पाउन सकेका थिएनन् । म ती व्यक्तिहरूमध्येकी एक हुँ । नेपालमा सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई हरेक महिना वृद्धभत्ता दिने गरेको थियो । एक वर्षअघि मात्र वृद्धभत्ता पाउने उमेर घटाएर ६८ वर्ष पुर्याइएको थियो ।
मलाई लाग्छ, २०७२ सालको आमनिर्वाचन हुुनुभन्दा पहिले मतदातालाई प्रभावित गर्न सरकारले वृद्धभत्ता पाउने उमेर घटाएको हो । २०५१ सालदेखि नेपालमा सुरु भएको वृद्धभत्ताको राजनीति हरेक आमनिर्वाचनअघि कुनै न कुनै रूपमा प्रयोग हुने गरेको तीतो यथार्थ छ ।
सन् १९९४ मा सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ताको रकम क्रमशः बढेर मासिक चार हजार रुपैयाँ पुर्याइएको छ । यस प्रकारको भत्ताले नेपालका धेरै ज्येष्ठ नागरिकहरूको जीवनलाई सहज बनाएको मेरो बुझाइ छ । यद्यपि, मेरा लागि त्यो समयमा त्यही वृद्धभत्ता आकाशको जूनजस्तै भएको थियो, पूरा नहुने एउटा आशा !
जन्म हुँदा मेरो शरीरमा छोराको यौनाङ्ग थियो । त्यस्तो रूपमा मेरो जन्म भयो । त्यही आधारमा मलाई छोरामान्छे ठानियो र मेरो नागरिकतामा ‘पुरुष’ इङ्गित गरियो, त्यो अहिले पनि छ । मलाई पुरुष भनिए पनि मेरो वास्तविक लैङ्गिक पहिचान फरक छ । त्यसैले म मेरो वास्तविक लैङ्गिक पहिचानसहितको सरकारी कागजात बनाउनका लागि कैयौँ पटक सम्बन्धित निकायमा पुगेँ । हारगुहार पनि गरेँ ।
मेरो उमेरका अन्य महिलाहरूले वृद्धभत्ता लिँदै आएका छन् । म भने राज्यले प्रदान गर्ने यो सुविधाबाट केही समय वञ्चित भएँ । व्यवहारमा भएको यस्तो अन्तरले म जस्ता कतिपय व्यक्तिलाई आफ्नो पहिचान र समानताप्रति सजग बनायो । यसका लागि हामीले अझै कठिन लडाइँ लड्न पर्ने छ, जुन हाम्रो लागि दुःखदायी पनि छ भन्ने मलाई लाग्छ ।

मेरो दुःखको यात्रा तब सुरु भयो, जब म पुरुष यौनाङ्गसहित जन्मेँ र छ महिनाको भएँ । म छ महिनाको हुँदा नै मैले मेरी आमालाई गुमाएँ । त्यसपछि मेरो हजुरआमाले मलाई हुर्काउनुभयो । आमा नहुनुको पीडा चलि नै रहेको थियो । यस्तैमा जब म आठ वर्षको भएँ, तब मेरो बुवाको पनि निधन भयो । त्यसपछि समाजले मलाई आठ वर्षको उमेरमा नै बिहेका लागि दबाब दिन थाल्यो ।
आठ वर्षको उमेरमा मैले सामाजिक दबाब थेग्न सक्ने कुरा थिएन । यसैले आफ्नो इच्छा तथा आकाङ्क्षालाई धरौटीमा राखेरै भए पनि मैले घरजम गरेँ । त्यो उमेरमा मलाई श्रीमान् श्रीमती बिचको सम्बन्धबारे थाहा थिएन, थाहा हुने कुरो पनि भएन । विवाह हुनुअघि म जुन केटीसँगै खेल्थेँ र उनकै अगाडि नुहाउने गर्थें, ती केटी पछि मेरी श्रीमती भएकी थिइन् ।
जुन उमेरमा मेरो बिहे भयो, त्यो उमेरमा मलाई श्रीमतीको वास्तविक अर्थ के हो भन्ने पनि थाहा थिएन । समय बित्दै गयो । म पनि परिपक्व हुँदै गएँ र आफ्नो लैङ्गिक पहिचानबारे अझ राम्ररी सचेत हुँदै गएँ । आफ्नो उमेरमा परिपक्वता आउँदै गर्दा मैले श्रीमतीप्रतिको आकर्षण भने महसुस गर्न सकिनँ ।
आकर्षण नहुँदा नहुँदै पनि पारिवारिक तथा सामाजिकरूपमा हामी विवाहित जोडी थियौँ । सन्तान भइसकेपछि आपसमा माया मोह बढ्छ भन्ने सामाजिक दबाब पनि हामीमा थियो । यही दबाबका कारण हामी सम्बन्धमा रह्यौँ र अन्ततः हाम्रो एउटा छोरा जन्मियो । सन्तान भइसकेपछि माया मोह बढ्छ भन्ने सामाजिक मान्यता र विश्वास भए पनि त्यसले मलाई असर गरेन ।
ममा कुनै किसिमको परिवर्तन पनि आएन । त्यति बेलासम्म पनि मैले आफ्नो वास्तविक लैङ्गिक पहिचान श्रीमतीलाई खुलाएको थिइनँ । जब उनले मेरो वास्तविकता थाहा पाइन्, त्यसलगत्तै उनी पनि मबाट टाढा हुँदै गइन् । मैले आफ्नो पारिवारिक जीवनलाई सुमधुर तरिकाले अगाडि बढाउनै सकिनँ ।
मेरो छोराले मलाई पहिले बुवा भनेर सम्बोधन गर्थ्याे तर जब ऊ १२–१३ वर्षको भयो, त्यति बेला उसले मेरो ‘नटुवा’ को पहिचान थाहा पायो र रिसायो । त्यस बेलादेखि अहिलेसम्म छोराले मसँग कुरा गरेका छैनन् ।
मानिसहरूले मलाई नटुवा भनेर बोलाउने गर्दथे । यो भनेको विवाह, जन्मोत्सव र अन्य सभा समारोहहरूमा नाचगान गर्न महिलाको पहिरन र शृङ्गार गर्ने पुरुषहरूका लागि प्रयोग गरिने नेपाली शब्द हो । यसलाई अहिले ‘मेटी’ पनि भन्ने गरिन्छ । यो शब्दले अहिले ‘ट्रान्स वुमन’ वा पारलैङ्गिक महिलाहरूलाई जनाउने गर्दछ ।
मेरो वास्तविक पहिचानकै कारण श्रीमती र छोराले मलाई छोडेर गए । हामी एउटै आँगनमा बस्ने गर्थ्यौं तर म छुट्टै ठाउँमा, अर्को कोठामा बस्थेँ । यस्तैमा म २३ वर्षको हुँदा मैले आफ्नो पुर्ख्याैली घर छोडेँ र अहिलेको मधेश प्रदेशको सप्तरी जिल्लाको रुपनी भन्ने गाउँमा बसाई सरेँ । त्यहाँ मैले १२ वर्षसम्म दैनिक ज्यालामा मजदुर भएर काम गरेँ । लामो समयपछि म आफ्नो गृह जिल्ला फर्किएको थिएँ । घर फर्केपछि पनि मैले आफ्नो परिवारबाट कुनै प्रकारको न्यानोपन अनुभव गर्न पाइनँ ।
मेरा गाउँका मानिसहरूले त्यति बेलासम्म म पुरुष नभएर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हुँ भन्ने कुरा स्पष्टरूपमा बुझिसकेका थिए । मेरो टोलछिमेकमा मजस्ता दुई–तीन जना थिए, तिनलाई पनि नटुवा भनिन्थ्यो । त्यो समयमा तिनीहरू ‘ट्रान्स महिला’ को रूपमा खुलेका थिएनन् । अहिले त धेरै जना पहिचानसहित खुलेका छन् ।
मैले पनि परिवारको बेवास्तामा परेर दबाबमा रहिरहनुको सट्टा खुलेर स्वतन्त्ररूपमा उभिने विचार गरेँ । आफूले महसुस गरी स्वीकार गरेको लैङ्गिक पहिचानलाई अँगाल्ने निर्णय गरेँ । म आफूलाई आफ्नो स्वपहिचानसहित ‘ट्रान्स वुमन’ को रूपमा चिनाउन चाहन्छु । यही पहिचानलाई म अपनाउन पनि चाहन्छु ।
मेरो परिवार र मेरो समाजले भने पहिलेदेखि नै म जन्मँदा देखिएको यौनाङ्गको स्वरूपका आधारमा नै आफूलाई चिनाउन निरन्तर दबाब दिई नै रह्यो । उनीहरूले मेरो वास्तविक पहिचानलाई स्वीकार गरेनन् । स्वीकार नगर्दा म एउटा सन्तानको बाबु भएर पनि एक्लो हुन पुगेँ ।
सामाजिक, पारिवारिक र प्रशासनिक चुनौतीहरूका बाबजुद पनि म आफ्नो वास्तविक पहिचानअनुसार निरन्तर अघि भनेँ बढि नै रहेँ । म एकल ट्रान्स वुमनको रूपमा बस्न थालेको धेरै समय भइसक्यो । अहिले म ७० वर्ष कटिसकेको छु । अब त मेरो उमेरले पनि नेटो काट्दै गयो ।
जब शरीरले कामभन्दा ज्यादा आराम खोज्न थाल्यो, तबदेखि मलाई वृद्धभत्ता भइदिए केही सहज हुन्थ्यो भन्ने लाग्यो । पुरुष लिङ्गबाट नागरिकता प्राप्त गरेकी मैले वृद्धभत्ताका लागि कैयौं पटक सरकारी अड्डा धाए पनि पाउन सकिनँ । मैले वृद्धभत्ताका लागि दिएको निवेदन १० पटकसम्म अस्वीकृत भएको थियो ।
भत्ता प्रक्रियालाई अघि बढाउन वडाले परिवारका सदस्यलाई आफूसँगै ल्याउन मलाई निर्देशन दियो । यसका लागि ३० वर्ष उमेरको मेरो छोरासँग पनि सहयोग मागेँ तर कसैले पनि मलाई सहयोग गरेनन् । त्यसैले वडा कार्यालयले पनि ‘हामी तपाईंको निवेदनलाई प्रक्रियागतरूपमा अगाडि बढाउन सक्दैनौँ’ भन्यो ।
मलाई यस्तो कुनै पनि सङ्गठनको बारेमा थाहा थिएन, जसले मलाई निवेदन स्वीकृत गराउनमा सहयोग गर्न सक्थ्यो । मैले खासै पढेलेखेको थिइनँ, छैन । परिवारको पनि कुनै समर्थन पाइनँ । जब म वडा कार्यालयमा गएँ, मैले मेरो अधिकारको पक्षमा वकालत गर्न सकिनँ किनभने ममा दृढता र आत्मविश्वासको कमी थियो ।
वडा कार्यालयमा आफ्नो पक्षमा कसरी वकालत गर्ने भन्ने पनि मलाई थाहा थिएन । यसमा म विश्वस्त पनि थिइनँ । यस्तैमा मेरो भेट मितिनी नेपालको सर्वेक्षणको क्रममा रहेका जेपि लिम्बुसँग भयो । उहाँबाट मैले ज्येष्ठ नागरिक भत्ताका लागि उमेर पुगेको, नागरिकता पनि भएकाले म योग्य भएको र मैले भत्ता नपाउने कुनै कारण नभएको थाहा पाएँ ।
मितिनी नेपालले मलाई पुरुषको रूपमा चिनाउने कानुनी कागजातहरू प्रयोग गरी ज्येष्ठ नागरिक भत्ताका लागि निवेदन दिन सहयोग गर्यो । साथै, परिवारको तर्फबाट मेरो जेठो दाजुका छोरालाई साक्षी बनाउन वडा कार्यालय लिएर गयो । त्यसपछि मात्रै मैले ज्येष्ठ नागरिक भत्ता प्राप्त गरेको हो ।
मैले प्राप्त गर्न थाल्दा वृद्धभत्ता महिनाको तीन हजार रुपैयाँ थियो र त्यो प्रत्येक चार महिनामा दिने गरिन्थ्यो । अहिले बढेर महिनाको चार हजार भएको छ । यसले मेरो दैनिक जीवनमा केही राहत दिएको छ । यो रकम मेरो बैङ्क खातामा नै जाने गरेको छ ।
पहिले कोभिड–१९ महामारीको समयमा सरकारले एक बोरा चामल र तेलजस्ता खाद्यान्न साथै अन्य सामग्री उपलब्ध गराएको थियो तर त्यो पर्याप्त थिएन । मितिनी नेपालले म बिरामी हुँदा र आफ्नो जीविका चलाउन काम गर्न नसक्ने अवस्थामा सहयोग गर्यो । त्यसले मेरो जीवनलाई सहज बनायो । मलाई नगद सहयोगसहित दाल, चामल, तेल जस्ता खाद्य सामग्री र मास्क, स्यानिटाइजर जस्ता आवश्यक सामग्रीहरू प्रदान गरेको थियो ।
दैनिक गुजारामा सहज हुने आशाले मैले पुरुष जनाइएकै नागरिकताबाट वृद्धभत्ता लिएँ । यसले एकातिर ममा हर्षको बहार आए पनि अर्कोतिर मलाई आफ्नो लैङ्गिकताप्रतिको सरकारी उदासीनताले भने पीडा थपिदिएको छ । सरकारसँग मेरो ठुलो गुनासो छैन । बस्, एउटै माग छ, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई नेपालको कानुनले अन्य नागरिकसरहको व्यवहार गरोस् ।
पछिल्लो समय नेपालमा समुदायको अधिकारका लागि काम गर्ने विभिन्न मानवअधिकारवादी सङ्घसंस्थाहरू पनि खुलेका हुनाले हाम्रो अधिकारलाई थप सशक्त बनाउन मद्दत पुगेको छ तर समुदायका जो ज्येष्ठ छन्, ती नागरिकहरू अझै पनि उपेक्षित छन् । म जस्ता सबै ज्येष्ठ नागरिकको हकहितको लागि सेवामा लागेका हाम्रो समुदायभित्रका युवालाई अझै परिचालन गर्नुपर्छ ।
(कथापुस्तक https://mitininepal.org.np/wp-content/uploads/2023/12/Senoir-citizen-story-book_Nepali.pdf मा उपलब्ध ।)
प्रकाशन मिति : २०८२ असार २ गते, साेमवार