विभेद अन्त्य भएको देख्न चाहन्छु –फूलमाया रानाभाट

Share this :

अधिवक्ता फूलमाया रानाभाटको जीवनयात्रा सङ्घर्ष, समानता र न्यायप्रति समर्पणको अद्वितीय मिसाल हो । उहाँको जन्म २०२४ असार १० गते तनहुँ जिल्लाको तत्कालीन भीरकोट गाउँ पञ्चायत वडा नम्बर २ थप्रेकमा भएको थियो । राजनीतिक परिवर्तनसँगै भीरकोट गाविसमा रहेको सो ठाउँ हाल ऋषिङ्ग गाउँपालिकामा पर्छ । अभिभावकका साथ बाल्यकालमै चितवन झर्नुभएकी उहाँको बसाइँसँगै अधिकांश पढाइ, लेखाइ, कार्यस्थल र कामको सामाजिक आधारभूमि चितवन नै भयो ।

चितवनमा २०५१ सालमा स्थापना भएको कानुनी सहायता समितिले दुई वर्षपछि २०५३ सालमा काम थालेको थियो । २०४९ सालदेखि नै अभिवक्ताको लाइसेन्स लिई काम गर्दै आएकी फूलमाया पनि सो समितिमा आबद्ध हुनुभयो । कामसँगै पढाइलाई निरन्तरता दिनुभयो । उहाँले नेपाल ल क्याम्पसबाट २०५६ सालमा कानुनमा स्नातक तह पास गर्नुभयो । २०५९ जेठमा अधिवक्ता पनि हुनुभयो । स्नातक गरेको डेढदशकपछि उहाँले २०७२ सालमा समाजशास्त्रमा स्नातकोत्तर तह पास गर्नुभयो ।

घरबाहिर काम र पढाइलाई निरन्तरता दिएकै समयमा घरभित्र सन्तान जन्माउने, हुर्काउने, पढाउने र आयआर्जन गर्नुपर्ने सबैजसो दायित्व आफैँले निर्वाह गर्नुभयो । सुरुमा ससुराले चाहेजस्ती बुहारी आफू नभएका कारण श्रीमान्‌काे घर जाने र गरिखाने सहज वातावरण बनेन । यस्तो अवस्थामा सन्तान जन्माएर हुर्काउने, पढाइ र कामलाई सँगसँगै अघि बढाउने निश्चय गर्दा उहाँले माइतीको साथ पाउनुभयो । विदेसिएका श्रीमान्‌काे सम्पर्क बिचबिचमा टुटे पनि समर्थन टुट्न पाएन । स्वदेश फर्किएपछि राम्रै साथ पाउनुभयो ।

असहज परिस्थितिमा पनि हरेश नखाई आफूले फरक बाटो नलिएका कारण वैवाहिक सम्बन्ध सफल भएको उहाँको बुझाइ रह्यो । सासूसँगको सम्बन्ध त यसै पनि सुमधुर थियो नै । त्यसमाथि ससुराले पनि उहाँलाई नकार्न सक्नु भएन । “मेरो ससुराको चाहनाबमोजिम नभए पनि हाम्रो बिहे भएर बच्चा भइसकेपछि मलाई घरमा बोलाउनुभएको थियो,” उहाँले भन्नुभयो, “पछि त ससुरा बुबाले ‘यो घरको जिम्मा अब तिमीले समाल्नुपर्छ, तिमीमा मैले आमा (सासूआमा) ले जस्तो काम गर्ने सहनशीलता देख्छु, परिवार टुट्न नदिनू’ भनेर जानुभयो ।”

अन्तिम अवस्थाका ससुराका ती वाणीमा फूलमायाले समानुभूतिक भाव र सकारात्मक ऊर्जा पाउनुभयो । “उहाँको नजरबाट हेर्ने हो भने उहाँ पनि गलत नै त हुनुहुन्थेन नि,” ससुराको ठाउँमा आफूलाई उभ्याएर उहाँले विश्लेषण गर्नुभयो, “मलाई व्यक्तिभन्दा पनि समय त्यो बेलाको सामाजिक परिवेश ठिक थिएन भन्ने लाग्छ । मेरो जीवनमा विवाहपछि असहज घटना नभएको भए म वकिल बन्न सक्ने थिइनँ होला । समयले नै मलाई बलियो बनायो भन्ने लाग्छ ।”

कानुन र समाजशास्त्रको औपचारिक कक्षाभन्दा जीवनका कठोर क्षण र परीक्षणबाट बढी सिकेर खारिएकी फूलमायाले पीडितका आँसु पुछ्ने निःस्वार्थ यात्रामा आफूलाई निरन्तर अघि बढाउनुभयो । सो क्रममा झेल्नुपरेका धम्की, आर्थिक क्षति, पारिवारिक चुनौती र सामाजिक पूर्वाग्रहलाई पेसाकै आड र अडानले उछिन्दै आउनुभयो । २०८१ माघ १२ गते सम्पन्न चितवन जिल्ला अदालत बार एसोसिएसनको निर्वाचनबाट उहाँ पहिलो महिला अध्यक्ष बन्नुभयो । उहाँ चितवन बारको पहिलो महिला सदस्य पनि मानिनुहुन्छ ।

पढाइसँगै घर, समाज, परिवार र कानुन व्यवसायको पेसाका सबै मोर्चामा लड्दैभिड्दै उहाँले चितवनको पहिलो महिला कानुन व्यवसायीेको पहिचान बनाउन सफल हुनुभयो । उहाँलाई चितवन जिल्ला अदालत बार एसोसियसनले जिल्लाको पहिलो महिला कानुन व्यवसायी मानेको आधारमा जिल्लाका विभिन्न सङ्घसंस्थाले ‘पहिलो महिला कानुन व्यवसायी’ भनी सम्मान पनि गर्ने गरेका छन् । न्याय, समानता र मानवीय संवेदनामा अडिएको उहाँको पेसागत जीवन महिलाको अधिकार र हिम्मतको शक्तिशाली कथा पनि हो ।

प्रस्तुत छ, ‘सन्धान’ का लागि सहकर्मी सरिता पौडेलले गर्नुभएको कुराकानीका आधारमा थप सहकार्य गरी तयार गरिएको फूलमाया रानाभाटको स्वकथन :

मेरो जन्म २०२४ असार १० गते तनहुँ जिल्लाको भीरकोटस्थित थप्रेकमा भएको हो । हाल यो ठाउँ ऋषिङ्ग गाउँपालिकामा पर्छ । खड्कबहादुर रानाभाट र तीला रानाभाटकी म कान्छी छोरी हुँ । हामी तीन दिदीबहिनी र दुई दाजुभाइ गरी पाँच जना छोराछोरी हौँ । अहिले आमाबुबाको निधन भइसकेको छ ।

बुबाले जग्गा किनेर चितवनको गुन्जानगरमा घर बनाउनुभएको थियो । म तीन वर्षकी हुँदा आमाबुबासँगै तनहुँबाट हामी सबै चितवन आयौँ । त्यही बेलादेखि हामी यो ठाउँमा बस्न थालेका हौँ । मैले प्रारम्भिक शिक्षा चितवनकै भीमनगर माध्यमिक विद्यालयबाट पूरा गरेँ । कक्षा ८, ९ र १० भने शारदानगर हाइस्कुलमा पढेकी हुँ ।

स्कुल जाँदा कहिले हिँडेर, कहिले बसमा झुन्डिएर त कहिले साइकलमा गइन्थ्यो । घरमा एउटा मात्रै साइकल थियो । त्यो साइकल भाइले लगिहाल्थ्यो, हामी दिदीहरू भने प्रायः हिँडेर नै गइन्थ्यो । हिँडेर जाँदा ४५ मिनेटमा पुगिन्थ्यो । हामी छोरीहरू हिँडिन्थ्यो । हिँड्नुअघि घरको काम पनि गरिन्थ्यो । घाँस, दाउरा, बारीको काममा आमालाई सघाइन्थ्यो ।

गर्मी महिनामा बिहान र जाडो महिनामा दिउँसोमा पढाइ हुन्थ्यो । सो समयमा हामी बिहानभरि घरको काम, घाँसदाउरा गरेर आएपछि मात्र स्कुल गइन्थ्यो । मेरो आमाबुबा बुझ्ने अभिभावक हुनुहुन्थ्यो । किसान हुनुहुन्थ्यो । त्यही कारण घरमा कामको दुःख थियो तर पनि उहाँहरूले कहिल्यै छोरीलाई नपढाउने भन्नु भएन । जेठी दिदीले भने पढ्न मान्नु भएन । हामी चार जनाले उच्चशिक्षा हासिल गरेका छौँ ।

बुबाले मलाई सधैँ तिमी जिज्ञासु छौ, तर्क गर्न सक्छौ, कानुन पढ्नुपर्छ भन्नुहुन्थ्यो । उच्चशिक्षा हासिल गरे पनि सामाजिक संरचना अनि त्यतिबेलाको स्थितिमा छोरीले विभेदको सामना त गर्नै पर्थ्यो । म सानो हुँदा दाइले नारायणगढ बजारमा बसेर पढ्नुभयो, हामी भने गाउँमा थियौँ । हामीसँग भाइ पनि थियो तर उसले कहिल्यै घरको काम गर्नु पर्दैनथ्यो ।

हामी छोरीहरूले चाहिँ पकाउने, भाँडा माझ्ने, सफा–सुग्घर, कपडा धुने, गाईवस्तुलाई घाँस काट्ने, कुडो खुवाउने, बारीमा गर्ने जस्ता काम गर्थ्यौं । ती काम भाइले चाहिँ गर्नु परेन । हामी सबैले भाइलाई माया पनि गर्थ्याैं । ऊ सानो पनि थियो तर घरको काममा यो छोरीले गर्ने र छोराले नगर्ने भनेर स्पष्ट फरक थियो ।

हामीलाई सानैदेखि ‘छोरीले काम गर्ने, छोराले गर्न नपर्ने’ होला जस्तो लाग्थ्यो । बुबाले पनि घरको काम गरेको देखिँदैनथ्यो, आमाले नै सबै गर्नुहुन्थ्यो । पुरुषले कम काम गर्ने, महिलाले धेरै काम गर्ने होला भन्ने अनुभूति हुन्थ्यो । त्यतिबेला त समानताको कुरा पनि थिएन । कानुनमै समानता मौलिक हकको कुरा लेखिएको त २०४७ सालको संविधानमा हो । त्योभन्दा अघि नेपालमा समानताको मौलिक हक सम्बन्धी कानुन थिएन ।

श्रीमान्‌सँग फूलमाया रानाभाट

मेरो वैवाहिक जीवन अलि फरक हुन गयो । म रानाभाटको छोरी ढकालको छोरासँग मेरो प्रेमविवाह भयो । एसएलसी दिएलगत्तै २०४२ सालमा मेरो बिहे भएको थियो । त्यतिबेला बाहुन र क्षेत्रीबिच पनि जातीय भेदभाव भएकाले मलाई घरमा सहजै स्वीकार गरिएन । यही कारण केही वर्ष म माइतीमै बसेँ ।

मेरो घर र माइती एउटै गाउँमा हो । सासूआमाले भने मलाई पहिलेदेखि नै माया गर्नुहुन्थ्यो तर सामाजिक परिवेश त्यति सहज थिएन । मेरा ससुराबा पण्डित हुनुहुन्थ्यो । त्यतिबेला उहाँको दृष्टिमा बुहारी बाहुनकै छोरी भइदिएको भए हुन्थ्यो भन्ने थियो । त्यसले गर्दा मैले माइतीमै बसेर छोरी हुर्काउँदै आफूले पनि थप पढ्ने काम गरेको हो ।

बिहे गरेको तीन वर्ष जति मेरो पढाइ रोकियो । २०४३ सालमा छोरीको जन्म भयो । त्यही वर्ष चितवनकै बालकुमारी कलेजमा कानुन विषयको पढाइ खुलेको थियो । त्यसमा भाइ भर्ना भयो तर त्यतिबेला मेरो अवस्था फरक थियो । २०४५ सालमा आमाबुबा र दाजुले पढ् भन्नुभएपछि मैले त्यहीँ आइएल पढ्न सुरु गरेँ । आइएल पास गरेपछि मैले काम पनि सुरु गरेँ ।

मैले कलेज पढ्न सुरु गरेको अर्को वर्ष देशमा जनआन्दोलन भयो । यसैले हाम्रो रिजल्ट २०४८ सालमा मात्र आयो । त्यसपछि मैले २०४९ सालमा काठमाडौँको नेपाल ल क्याम्पसमा भर्ना भएर २०५६ सालमा बिएल पास गरेँ । त्यतिबेला मेरो अर्को छोरी पनि भइसकेको थियो । मलाई त कमाउनु पनि थियो । काम सुरु गरिसकेकी थिएँ । यसैले घर बसेरै पढेर जाँच दिएँ र बिएल पास गरेँ । मेरा दुबै छोरीहरू ठुलो भइसकेपछि मात्र मैले एमए पढेको हुँ । समाजशास्त्रमा स्नातकोत्तर तह २०७२ सालमा पास गरेँ ।

अन्तरजातीय विवाह भएका कारण केही वर्ष श्रीमान् र म छुट्टै बस्नुपर्ने अवस्था आयो । तर, त्यो समयमा मैले विचलित नभई आफ्नो पढाइलाई अगाडि बढाएँ । छोरीहरू पनि हुर्काएँ । त्यतिबेला श्रीमान् भारतमा बस्नुहुन्थ्यो । लगभग १२ बर्ष हामी अलग थियौँ । करिब चार वर्ष त उहाँ सम्पर्कविहीन जस्तै हुनुभएको थियो । पछि सम्पर्कमा भए पनि केही वर्ष श्रीमान् नेपाल आउनु भएन ।

मसँग आएर समस्या देखाउँदा महिलाहरू रुन्थे, म पनि सँगसँगै रुन्थेँ । त्यो आँसु सँगालेको भए कति घैला भरिन्थे होला जस्तो लाग्छ । मैले महिलामाथिको हिंसाका घटनामा समानुभूति राख्ने गर्छु ।

मेरो ससुराको चाहनाबमोजिम नभए पनि हाम्रो बिहे भएर बच्चा भइसकेपछि मलाई घरमा बोलाउनुभएको थियो । आफ्नो पढाइ बिग्रन्छ भनेर मैले माइतीमै बसेर पढेँ । मैले मेरो पेसा, पढाइ र बच्चा हुर्काउनुपर्ने थियो । यी काममा मलाई माइतीको भरपुर सहयोग मिल्यो । बिएल पढ्दा भने श्रीमान्‌ले पनि पढाइमा सहयोग गर्नुभयो । सबै राम्रो हुँदै गए पनि त्यो समयमा मलाई कता के कता के नमिलेजस्तो लाग्थ्यो । हामीले छोएको नखाने, भान्सामा जान नपाउने भएकाले घर जाँदा झन् मानसिक पीडा हुन्छ, पढाइमा असर हुन्छ भन्ने लागेर त्यतिबेला बोलाए पनि म घर गएकी थिइनँ ।

पछि त ससुरा बुबाले ‘यो घरको जिम्मा अब तिमीले समाल्नुपर्छ, तिमीमा मैले आमा (सासूआमा) ले जस्तो काम गर्ने सहनशीलता देख्छु, परिवार टुट्न नदिनू’ भनेर जानुभयो । उहाँले त्यसो भनेर बितेर जानुभयो । उहाँको नजरबाट हेर्ने हो भने उहाँ पनि गलत नै त हुनुहुन्थेन नि ! यसो हुँदा मलाई व्यक्तिभन्दा पनि समय त्यो बेलाको सामाजिक परिवेश ठिक थिएन भन्ने लाग्छ । मेरो जीवनमा विवाहपछि असहज घटना नभएको भए म वकिल बन्न सक्ने थिइनँ होला । समयले नै मलाई बलियो बनायो भन्ने लाग्छ ।

अघि पनि भनेँ मेरो सासूआमाले मलाई सानैदेखि निकै माया गर्नुहुन्थ्यो । ससुराबुबाले पनि अन्तिम अवस्थामा मलाई खोजिरहनुहुन्थ्यो । त्यतिबेला मैले मेरा अरू सबै अभिभावक गुमाइसकेको थिएँ । अन्तिममा ससुराबुबा हुनुहुन्थ्यो । उहाँ पनि बितेपछि मैले सबै अभिभावक गुमाएँ भनेर पीडाबोध हुन्छ । मेरो स्वभाव कस्तो छ भने प्रतिशोध गर्दिनँ बरु त्यो ठाउँ छोडेर हिँडिदिन्छु । तँलाई पख् भन्ने सोच मभित्र कहिल्यै कसैप्रति पनि आएन ।

भगवान् कृष्णले भन्नुभएको छ नि कर्म गर फलको आस नगर । मलाई ईश्वर सधैँ साथमा छन् जस्तो लाग्छ । म मन्दिर धाउँदिनँ तर अध्यात्ममा विश्वास गर्छु । मान्छे पीडा पर्‍यो, समस्या आयो भनेर कहिल्यै विचलित हुनु हुँदैन । आफ्नो जीवनमा एउटा लक्ष्य तय गर्नुपर्छ । म आफैँलाई हेर्छु, हामीले डेरामा बसेर बच्चा हुर्काएर, पढाएर, बढाएर सक्षम बनाएका छौँ । मेरो श्रीमान्‌ले घर धान्नुभयो । बच्चाले उचित स्याहारसुसार र संरक्षण पाए । मैले स्वतन्त्रतापूर्वक काम गर्न पाएँ ।

मैले मेरा छोरीहरूलाई कानुनी सेवामै लगाउन सक्ने गरी पढाउन र सक्षम बनाउन सकेँ । आफैँले काम गरेर मैले घर र सवारी साधनको जोहो गर्न सकेँ । दुई–तीन जनालाई रोजगारी दिन सकेको छु । यसैमा मलाई गर्व हुन्छ । मैले आफूलाई फर्केर हेर्दा कहीँ पनि दुःख मान्नुपर्ने महसुस गरेको छैन ।

मैले अभिवक्ताबाट कानुन व्यवसाय सुरु गरेकी हुँ । बिएल पढ्दै थिएँ । २०४९ सालमा अभिवक्ताको लाइसेन्स लिएपछि मेरा कलेजका गुरु बरिष्ठ अधिवक्ता भूपेन्द्रजंग पौडेलसँग १८ महिना काम गरेँ र पेसागत अनुभव सिकेँ । २०५१ सालबाट चितवन जिल्ला अदालत बार एसोसिएसनमा दर्ता भएर काम गर्न थालेँ । त्यतिबेला जिल्लामा महिला कानुन व्यवसायी कोही थिएनन् ।

पछि तीन जना वकिल भयो भने कानुनी सहायता समिति दिन्छ रे भन्ने कुरा आयो । वरिष्ठ अधिवक्ता कृष्णभक्त पोख्रेलले त्यतिबेला पहल गर्नुभएको थियो । चितवन जिल्ला अदालत बार एसोसियसनमा उहाँ र मैले एकैदिनमा सदस्यता लिएका हौँ । मसँगै आइएल पढेको साथीहरू मनरुपा गुरुङ र कमलकुमारी श्रेष्ठ गरी तीन जनाको लाइसेन्स राखेर हामीले चितवनमा कानुनी सहायता समिति सुरु गरेका हौँ ।

म त्यो समितिको संयोजक भएँ । समितिले हामीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउँथ्यो र बाहिर कानुनी सचेतना कार्यक्रमहरूमा जाँदा पनि सुविधा मिल्थ्यो । यसरी हामी क्रमशः आफ्नो पेसामा स्थापित भयौँ । न्यायाधीशलाई ‘श्रीमान्’ भन्दै बहस गर्नुपर्ने कुराले पनि हामीलाई खासै असहज बनाएन । त्यसलाई पेसागत सम्बोधनकै अङ्गका रूपमा बुझियो । त्यही रूपमा प्रयोग पनि गरियो ।

हामीले कानुन पढ्दा समाजमा महिला वकिलको सम्भाव्यतालाई सहजै स्विकारिँदैनथ्यो । धेरैले महिला वकिल हुन सक्दैनन् भन्ने सोच्थे । महिलाको पद वकिल भन्ने सुन्दा पनि मान्छे केही समय हेरिरहन्थे । मैले देखेँ— सफलता भनेको शिक्षा र योग्यता मात्र होइन; धैर्य, मिहिनेत र सामाजिक संरचनासँग सुझबुझसहित लड्ने साहस पनि चाहिन्छ ।

हामीले सुरुमा अदालतमा गएर नक्कलहरू सार्ने, कागजपत्रहरू उतार्ने गर्थ्यौं । हामीलाई मुद्दामा कहिलेकाहीँ विश्वास नगर्ने पक्ष पनि थियो, तर म निःशुल्क मुद्दा लड्थेँ । कानुनी सहायता समितिले निःशुल्क मुद्दा लडिदिन्छ भनी सुन्नेहरू आउँथे । त्यही समितिले मलाई कानुन व्यवसायीले गर्ने अभ्यासको अवसर दियो । अनुभव पनि दियो । मुद्दा लड्दा परियोजनामार्फत नेपाल बारले पनि पारिश्रमिक उपलब्ध गराउँथ्यो । यसले मलाई सहजै अभ्यास गर्न सहयोग गर्‍यो ।

हेटौँडाको न्यायाधीश त्यतिबेला शान्ता सेढाईं हुनुहुन्थ्यो । उहाँ नेपाल बारको परियोजनाको संयोजक पनि हुनुहुन्थ्यो । उहाँले हामीलाई तिमीहरू काम गर, म सहयोग गर्छु भन्नुहुन्थ्यो । उहाँको सहयोगले कानुनी पेसामा मेरो सुरुआत सहज र आत्मविश्वासी भयो ।

कानुनी पेसा र समाजको कुरा गर्ने हो भने पुरुष र महिला वकिललाई समाजले हेर्ने दृष्टिकोण धेरै फरक हुन्छ । पुरुषहरूको अधिवक्ताको लाइसेन्स, मेरो अभिवक्ताको लाइसेन्सभन्दा पनि पहिलेको थियो । पुरुषहरूको शैली नै फरक हुन्थ्यो- डिल गर्ने शैली, प्रश्न गर्ने शैली, तर्क गर्ने शैली । उहाँहरू पक्षसँग गएर खानपिन गर्न, उठबस गर्न सहज हुनुहुन्थ्यो तर हाम्रो त्यस्तो हुँदैनथ्यो । त्यसले हामी महिलामाथि थप चुनौती ल्याउँथ्यो ।

मैले काम सुरु गर्दा मेरो सानो बच्चा पनि थियो, जसले समस्यालाई झन् जटिल बनाउँथ्यो । त्यसमाथि मुद्दाको प्रकृतिमा पनि भिन्नता थियो । हामीसँग देवानी प्रकृतिका धेरै मुद्दा हुन्थे भने पुरुष वकिलहरूसँग फौजदारी मुद्दा । फौजदारी मुद्दा हेर्ने वकिल र देवानी मुद्दा हेर्ने वकिललाई समाजमा फरक नजरले हेरिन्छ ।

फौजदारी मुद्दामा काम गर्छ भने राम्रो वकिल होला, देवानी मुद्दामा काम गर्छ भने सामान्य वकिल होला भन्ने बुझाइ छ । वास्तविकता त्यस्तो होइन । देवानी मुद्दा पनि प्रायः सम्पत्तिसँग जोडिएको हुन्छ र यो निकै चुनौतीपूर्ण हुन्छ । मैले धेरै मुद्दा पीडितको पक्षबाट हेर्थें । २०५१ सालदेखि नौ वर्षसम्म मैले कानुनी सहायता समितिको संयोजक भएर काम गरेँ । त्यसैले पनि मलाई पीडित पक्षको मुद्दा बढी हेर्नुपर्ने हुन्थ्यो ।

मैले सेलर्ड, युएसएआइडी लगायतको सहयोगबाट सञ्चालित कानुनी सहायता परियोजना पनि हेरेँ । करिब २६ वर्ष परियोजनामार्फत जागिर खाएर, मैले धेरै मुद्दामा जनतालाई निःशुल्क सेवा दिने काम गरेँ । त्यस अवधिमा मलाई एक जोडी क्षेत्री र परियारको सम्बन्धबाट जन्मिएको बच्चासहितको नाता कायम गराउनुपर्ने थियो । क्षेत्रीले अस्वीकार गरेर भागेपछि बच्चाको न्वारन गराइपाऊँ भनेर मुद्दा हालेका थियौँ । त्यतिबेला हामीले रजस्वला बन्द भएको समयको ख्याल नगरी मुद्दा लेखिएको रहेछ ।

बहसपछि विपक्षीहरू इजलासबाट बाहिर गइसकेपछि मलाई श्रीमान्‌ले च्याम्बरमा बोलाएर तपाईंहरूले यो मुद्दामा कहाँनेर त्रुटि गरेको छ थाहा छ ? भन्नुभयो । हामीलाई त त्यो लाग्दैन भनेपछि उहाँले तपाईंहरूले महिनावारी भएको मितिभन्दा पहिलाको मिति राखेर मुद्दा दर्ता गर्नुपर्थ्यो तर पछिको मिति राख्नुभएको छ । कानुनले २७२ दिनको बच्चा भएको छ भने मात्र त्यो मान्छेको हुन्छ भनेर अनुमान गर्छ । यहाँ लेख्ने बेलामा त्यो कुराको ख्याल गर्नु भएन भनेर भन्नुभयो । हामीले गलत गरिएछ भन्ने पहिलो अनुभूति त्यतिबेला भयो तर त्यो मुद्दा हाम्रै पक्षमा फैसला भयो ।

साक्षी, घटनाक्रम र अन्य प्रमाणहरूका आधारमा त्यो मुद्दा जितियो । विपक्षीहरूले पनि उपयुक्त प्रतिपादन गर्न सकेनन् । श्रीमान् (न्यायाधीश) ले च्याम्बरमै बोलाएर सुझाव दिएपछि पछिका मुद्दामा भने मुद्दा लेखिसकेपछि पुनः एक पटक अध्ययन गरेर मात्र दर्ता गर्न थालेँ । जित्नुपर्ने महिलाले मुद्दा हारेको भए ठुलो क्षति हुन्थ्यो, प्रतिष्ठामै आँच आउँथ्यो । तर, अहिले त्यो महिलाको राम्रो भएको छ ।

महिला–बालबालिकाको मुद्दामा पैसा कमाउनभन्दा पनि अधिकार दिलाउन लागिपरेकी छु । महिला भनेको करुणाको खानी हुने रहेछ । मसँग आएर समस्या देखाउँदा महिलाहरू रुन्थे, म पनि सँगसँगै रुन्थेँ । त्यो आँसु सँगालेको भए कति घैला भरिन्थे होला जस्तो लाग्छ । मैले महिलामाथिको हिंसाका घटनामा समानुभूति राख्ने गर्छु ।

एउटा घटनामा आमाबाबुको कुरा नमिलेर बच्चा आमाले कि बाबुले राख्ने भन्नेमा विमति भयो । मैले आमाको पक्षबाट मुद्दा लडेकी थिएँ । तिनका साना–साना नानीहरू थिए । बाबुले श्रीमतीलाई अर्को मान्छेसँग गएको आरोप लगाएर बच्चा दिन चाहेको थिएन । तर, मिलापत्र हुने बेलामा ५ वर्षमुनिका बच्चाहरू आमाले नै राख्न पाउने भइसकेपछि, त्यो बाबुले बच्चा दिँदा प्रहरी परिसरमा डाँको छाडेर रोयो ।

बच्चाप्रति बाबुको प्रेमभाव देखेर करुणाले म पग्लिएको थिएँ । भलै मैले मुद्दा जितेँ, तर एउटा बाबुबाट सन्तान खोसिएको थियो । त्यसमा मलाई खुसी मिल्न सकेन । केही समयपछि मैले त्यो बाबुलाई बोलाएर सम्झाइबुझाइ गरेँ, ‘काउन्सिलिङ’ गरेँ । अहिले त उनीहरू आमा, बाबु र बच्चा सँगै छन्, मलाई पनि बेला–बेला भेट्न आउँछन् । आनन्द लाग्छ ।

अर्को एउटा घटनामा चार जना बालबच्चाको आमालाई श्रीमान्‌ले अर्कोसँग गएको आरोप लगाएर घरबाट निकालेको थियो । मैले त्यो व्यक्तिलाई पनि आमालाई घरबाट निकाल्नु भनेको बालबच्चाको भविष्य बिगार्नु हो । एकपटकलाई माफ गरेर सँगै बस्नुस् भनेर सम्झाएँ । त्यसपछि त्यो व्यक्तिले मलाई आजसम्म यसरी कसैले पनि सम्झाएको थिएन भनेर श्रीमतीलाई साइकलमा हालेर घर लिएर गएको देखियो । यस्ता थुप्रै मुद्दा छन्, जुन काउन्सिलिङबाटै पनि मिलेका छन् ।

महिला हुन् या पुरुष, उनीहरूले जानेर–नजानेर गरेका गल्तीलाई एकपटकलाई माफ गर्नुपर्छ र परिवार बचाउनुपर्छ भन्ने मलाई लाग्छ । कतिपय बेलामा हामीले मुद्दा मात्र भनेर पनि हुँदैन रहेछ । परिवार र बच्चाको भविष्यको बारेमा पनि दुबै पक्षलाई सचेत गराउनुपर्ने रहेछ भन्ने शिक्षा पनि पाइयो ।

केही घटना कस्ता पनि हुन्छन् भने- रक्सी खाने, लागुऔषध सेवन गर्ने, दिनदिनै कुट्ने, पिट्ने, लछार्ने, बच्चाको मानसिकतामा असर पर्ने खालको छ भने, त्यस्तो अवस्थामा भने समयमै छुट्टिन पनि सल्लाह दिनुपर्ने हुन्छ । सही परामर्शले कसैको घर बन्छ वा जीवन बन्छ भने म मुद्दा कुनपट्टिबाट हेरिएको छ भन्ने कुरा नै हेर्दिनँ । सही कुरा यसो हुन्छ भनेर सुझाव दिइहाल्छु ।

तीन छोरीहरूसँग फूलमाया

मलाई के लाग्छ भने, जस्तो कर्म गरिन्छ त्यस्तै फल मिल्छ । जस्तो रोप्यो त्यस्तै फल्ने हो । यो मेरो पेसागत जीवनमा पनि लागु हुन्छ । अहिले मेरो एउटी छोरीले अरोमा स्कुलबाट नेपाल टप गरेर काठमाडौँ गई कानुन नै पढेर ‘प्राक्टिस’ गरिरहेकी छ । अर्की छोरीले न्याय सेवामै अधिकृतमा नाम निकालेर काम गरिरहेकी छ । ठुली छोरी मैले गरेकै पेसामा सहयोग गर्छे । छोरीहरूलाई मेरो पेसाको पुस्तान्तरण गर्न पाएकोमा गर्व लाग्छ । मैले यो सबै आफ्नो कर्मसँग जोडेर हेरेकी छु ।

मैले काम गरेको आठ वर्ष भएको थियो । त्यतिबेला मलाई न्याय सेवामा काम गर्न के छ हजुरको योग्यता भनेर सोधियो । न्याय सेवामा जान १० वर्ष पुग्नुपर्थ्यो, म जान पाइनँ तर कमसेकम सोधिएकोमा पनि म खुसी भएँ । यो सबै कर्मसँग जोडिने कुरा हो । कसैको बिग्रन लागेको घर जोगियो भने ती अबोध बच्चाहरूले आमा–बाबु दुबैको माया पाउँछन् र सुन्दर भविष्य बनाउन सक्छन् । कानुनमा लेखिएका कुरा बुझाइदिनु कानुन व्यवसायीको पनि दायित्व हो ।

मैले मानव बेचबिखनको मुद्दा दर्ता गर्नुपर्ने थियो । एकपटक मलाई ठुलो धम्की आयो । जिरो नम्बरबाट कल आयो र मलाई नराम्रोसँग तँलाई पनि मारिदिन्छु, तेरो बच्चा पनि सिध्याइदिन्छु भनेर धम्की दिइयो । कानुनी सहायता समितिमा त्यतिबेला भर्खर सुरु गर्नुभएकी गोमा न्यौपाने हुनुहुन्थ्यो । उहाँले फोन उठाउँदा पनि अपशब्दबाट गाली सुन्नुपरेको थियो । यो घटनाले मलाई निकै सशङ्कित बनायो ।

मेरो श्रीमान्‌ले एक्युपञ्चरमा प्राक्टिस गर्नुहुन्थ्यो । हाम्रो एक्युपञ्चर–होमियोप्याथिक क्लिनिक थियो । आफ्नो र बच्चाहरूको जीवनको खतरा बढेपछि हामीले त्यो पसल नै छोडिदिने निर्णय गर्‍यौँ । श्रीमान्‌ले घर र बच्चाहरूको रेखदेख गर्ने, मैले आफ्नो पेसा कानुन व्यवसायलाई अगाडि बढाउने गरी पारिवारिक सहमति गर्‍यौँ। मेरो श्रीमान्‌ले बच्चा १२ कक्षा पढ्ने बेलासम्म एकदिन पनि छोरीहरूलाई एक्लै छोड्नु भएन । दैनिक स्कुल पुर्‍याउन जाने र स्कुल छुट्टी भएपछि घर ल्याउने गर्नुहुन्थ्यो ।

मलाई धम्की आउने क्रम नरोकिएपछि मैले प्रहरीमा पनि निवेदन दिएँ । नेपाल टेलिकमबाट पनि नम्बर पत्ता लगाउन सकिएन । त्यतिबेलाको एसपीले मलाई नम्बर नै परिवर्तन गर्न सुझाव दिनुभयो । पुरानो नम्बर परिवर्तन गरी, कलर आइडीवाला नयाँ नम्बर राखियो । त्यसपछि मलाई धम्की फोन आएन । मैले त्यतिबेला भोगेको त्रासद वातावरण, मेरो श्रीमान्‌ले फोन उठाउँदा खाने गाली निकै असह्य थियो । पछि जिरो नम्बर देख्दा हामीले फोन नै उठाउँदैनथ्यौँ । टिङ–टिङ–टिङ घण्टी बजिरहन्थ्यो तर हामी उठाउन सक्दैनथ्यौँ । त्यो बेला मैले पेसाकै कारण ठुलो मानसिक हिंसा भोगेँ ।

एउटै आमाबाबुको छोरा करोडको गाडी चढेर पाँच तलाको घरमा बस्छ, छोरीले विवाह गरेर गई र सम्बन्ध बिग्रियो तर पैतृक सम्पत्तिमा हक पाउँदिन । म जीवित छँदै छोरा र छोरीबिच पैतृक सम्पत्तिमा हुने यस्तो विभेद अन्त्य भएको देख्न चाहन्छु ।

धम्कीकै कारण श्रीमान्‌ले पसल नै बेच्नुपर्‍यो । ठुलो आर्थिक क्षति पनि बेहोर्नुपर्‍यो । परिवारको सारा जिम्मेवारी ममाथि आयो तर पनि हामी बिस्तारै चलिरह्यौँ । भाडामा बसिन्थ्यो, घर बन्दै थियो । मेरो श्रीमान्‌ले मलाई पूरा सहयोग गर्नुभयो । म तालिममा जाँदा पनि बच्चा र श्रीमान्‌लाई सँगै लिएर जान्थेँ । मैले त्यो बेला जुन भोगाइ भोगेँ, त्यो म जस्ता काम गर्ने धेरै महिलाले भोग्नुपरेको समस्या हो जस्तो लाग्छ ।

कोही मानिस मुद्दामा आएपछि निकै आक्रोशित हुन्छन् । एकपटक मेरै अफिसमा आएर एक जनाले मलाई यो मुद्दा लडिस् भने छुरी रोपेर यहीँ मारिदिन्छु भनेर धम्की दियो । अहिले त्यो व्यक्तिसँग मेरो राम्रो सम्बन्ध छ । उसले आफ्नो गल्ती स्वीकार गर्‍यो, माफी माग्यो र मसँग दिदी–भाइको सम्बन्ध राख्दछ । यस्ता घटना मैले भोगेको छु ।

म त २०५१ सालमै बारको सदस्यमा चुनाव उठेको मान्छे हुँ । त्यतिबेला पराजित भएँ तर फेरि २०५३ सालमा सबै पदमा चुनाव हुँदा कोषाध्यक्ष पदमा मलाई मात्र निर्विरोध निर्वाचित गराइयो । मिति याद छैन, पछि वरिष्ठ अधिवक्ता कृष्णभक्त पोख्रेल चितवन जिल्ला अदालत बारको अध्यक्ष हुने समयमा म उपाध्यक्ष पदमा निर्वाचित भएँ । २०५३ सालमा आएसी मैले केन्द्रीय पार्षद् पनि जितेँ । त्यसपछि २०७३–२०७५ को कार्यकालको लागि मैले अध्यक्षमा उम्मेदवारी दिएँ ।

गोपीलाल देवकोटा पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो । त्यो बेला मैले हारेँ, उहाँले जित्नुभयो । त्यसपछि मलाई चुनावमा उठ्न रुचि नै लागेन । अहिले आएर यो २०८२–८४ को कार्यकालका लागि ‘तपाईं उठ्नुपर्छ’ भनेर साथीहरूले भन्नुभएको थियो तर पनि मैले मेरो पारिवारिक समस्याका कारण खासै चासो देखाएकी थिइनँ । मेरो श्रीमान्‌लाई क्यान्सर भएर छ–छ महिनामा दिल्ली गइरहनुपर्छ, म भ्याउदिनँ भनेकी थिएँ ।

मैले कोही साथी महिलाहरू उठ्नुहोस्, महिलाले चितवन बारको स्थापना भएको ५० बर्ष पुगिसक्दा पनि अहिलेसम्म नेतृत्व लिएको छैन, एक जना महिला पनि ड्यासमा कल हुँदैन म पार्टी हेर्दिनँ, जुनसुकै भए पनि सहयोग गर्छु भनेर केही महिला सिनियर वकिलहरूलाई उठ्ने हो भनेर पनि सोधेकी थिएँ । अहिले चितवन बारमा २२ जना महिला वकिल हुनुहुन्छ तर अध्यक्षमा उठ्न कसैले पनि रुचि देखाउनु भएन ।

मैले पार्टी हेरेकी थिइनँ । त्यसपछि मैले मेरो टिमसँग म उठ्छु भनेर प्रस्ताव राखेँ । यसमा प्रजातान्त्रिक विचार राख्ने वकिल र कम्युनिस्ट विचार राख्ने वकिलको धार छ । मैले विचार राख्ने प्रजातान्त्रिक धारबाट मैले टिकट पाएँ र निकै झिनो मतले जित हासिल गरेँ । यो जित मेरा लागि निकै चुनौतीपूर्ण थियो । मसँग चुनाव लड्नुभएको नुनराज सिलवाल वकिलहरूमाझ लोकप्रिय नाम हो । कानुन व्यवसायीहरूले रुचाएको नाम थियो तर मैले जितेँ ।

मैले भोट माग्ने बेलामा नै म पहिला पनि अध्यक्ष हारेको मान्छे, महिला पनि हुँ, बारको स्थापना भएको ५० वर्ष हुँदा पनि अहिलेसम्म एक जना पनि महिला अध्यक्ष भएको छैन, मलाई एकपटक विश्वास गर्नुहोस् भनेकी थिएँ । साथीहरूले सहयोग पनि गर्नुभयो । नेतृत्वमा आउने क्रममा चुनाव जित्न महिलाहरूलाई गाह्रो हुन्छ । हामी खाँदैनौँ, बस्दैनौँ । चुनावको माहोलमा खानपिन पनि हुन्छ । यस्तो सबै पेसा व्यवसायीको चुनावमा हुन्छ ।

मैले जितेको चाहिँ मलाई पढाउने गुरुहरू एकनारायण सापकोटा, भूपेन्द्रजंग पौडेल, माधव खनियाँ लगायतका दाजुहरू लागिपर्नुभएकाले हो । उहाँहरू जसरी पनि जित्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । यसअघिको कार्यकालमा सहमतिमा अध्यक्ष चुनिएको थियो । उहाँ पुरुष हुनुहुन्थ्यो अहिले भने उहाँहरू सहमति गर्न मान्नु भएन । चुनावमै जानुपर्ने अवस्था आयो ।

नेतृत्वमा पुगेपछि सुरु सुरुमा कसरी काम गर्ने भन्ने लाग्थ्यो तर मैले बार एसोसियनलाई आफ्नो माइती नै ठानेकी छु । मलाई मेरो टिमको सचिवदेखि उपाध्यक्ष र हर सदस्यले खुलेर सहयोग गर्नुहुन्छ । सबैले समन्वय गर्नुहुन्छ । म हरेक कुरा दुई–तीन जनासँग सल्लाह गरेर मात्र गर्छु । बिग्रनुभन्दा अगाडि नै सचेत हुनुपर्छ भन्ने लाग्छ । म आफैँ सबै जान्नेसुन्ने छु भनेको छैन र भन्दा पनि भन्दिनँ । सल्लाहकार र विभिन्न समितिका साथीहरू मसँगै चुनाव लड्नुभएका नुनराजले पनि सहयोग गर्नुहुन्छ । अहिलेसम्म गर्न सक्दिनँ गाह्रो भयो भन्ने मलाई भएको छैन ।

गत भदौ २४ गते जेन–जीको आन्दोलनमा चितवन बार पनि जलाइयो । कार्यालय पूरै ध्वस्तै भएको थियो । हामी बिस्तारै उठ्दैछौँ । उठ्नका लागि मलाई धेरै साथीहरूको सहयोग रह्यो । बाहिरबाट पनि बार पुनर्निर्माणमा सहयोग छ । बार र बेन्चको विवाद हुन्छ कि भन्ने कुरामा अलि बढी सचेत हुनुपर्छ । यसमा पनि मलाई अदालतबाट पनि सहयोग मिलेको छ । केही अप्ठ्यारो भयो भने हामीले न्यायाधीशसँग सहजै कुरा राख्न सकिन्छ ।

महिला र पुरुषबिच स्वतन्त्रता र समानता प्राप्त गर्न सामाजिक, कानुनी, आर्थिक र सांस्कृतिक तहका चारै मोर्चामा काम गर्न आवश्यक छ । यो केवल नीति बनाउने वा नबनाउने कुरा होइन । सोच, व्यवहार र संरचना परिवर्तनसँग जोडिएको गहिरो प्रक्रिया हो । महिला–पुरुषबिच स्वतन्त्रता र समानता चाहिन्छ भने सबैभन्दा पहिले सोच बदल्नुपर्छ । छोरी–छोरा बराबर छन् भन्ने विश्वास व्यवहारमा उतारिनुपर्छ । महिलालाई शिक्षा, अवसर र आर्थिक स्रोतमा पहुँच दिनुपर्छ । हिंसा, विभेद र अन्यायका विरुद्ध कानुन मात्र होइन, समाजले पनि शून्य सहनशीलता देखाउनुपर्छ ।

घर, समाज र राज्य सबैले हातेमालो गरेर जिम्मेवारी बाँड्नसके बराबरीको अवस्था स्वतः स्थापित हुन्छ । समानता भनेको कसैलाई माथि उठाउने कुरा होइन, सबैलाई समान अवसरको ढोका खोलिदिने कुरा हो । अधिकारसँगै कर्तव्य र दायित्व पनि आउँछ । श्रीमान्–श्रीमतीको बराबर हक र दायित्व हुनुपर्छ । कर्तव्य, दायित्व र अधिकारसँगै लैजान सकिएन भने समस्याग्रस्त हुन्छ ।

बिहान उठेपछि घर सफा गर्ने, चिया पकाउने, कपडा धुने, बच्चाको गृहकार्य हेर्ने, स्कुल तयारी गर्ने, जागिर जानुपर्ने अवस्था आउँछ । पुरुषले पनि यस्ता कामको बाँडफाँड स्वीकार गर्ने हो भने सहज हुन्थ्यो । हामीले खोजेको स्वतन्त्रता भनेको– जसरी बिहान घरबाट निस्केर बेलुका फर्कंदा श्रीमान्‌लाई प्रश्न गरिँदैन, त्यसैगरी श्रीमतीलाई पनि बिहान घरबाट निस्केर बेलुका फर्कंदा प्रश्न नगरियोस् भन्ने नै हो ।

म बिहान कहिल्यै खाना पकाउँदिनँ, नगर्ने भनेर होइन, नभ्याएर हो । श्रीमान्‌ले बनाउनुहुन्छ । मलाई केही महिलाले नै हजुरले त खाना पकाउनु पर्दैन केरे सरले पकाउनुहुन्छ भन्नुहुन्छ क्या ! मलाई अचम्म लाग्छ । मेरो घर किन्ने बेलामा पनि घरका परिवारले श्रीमान्‌लाई कसको नाममा पास गरिस् भन्नुभएको थियो रे ! उसको कमाइ उसैको नाममा पास गरेँ भन्नुभएछ । किन उसको नाममा गरेको, तेरोमा गर्न पर्थ्यो नि भन्ने कुरा भएको थियो भन्ने पनि सुनेँ ।

अझै पनि महिला पुरुषबिच कागजमा समानता हुने भन्ने कुरा लेखिए पनि व्यवहारमा हुन नसक्दा दुःख लाग्छ । कानुनमा त समान लेखिएको छ तर प्रशासनमा जाँदा त्यहाँका फारामहरू पुरानै ढाँचामा लेखिएका छन् । त्यो फाराम हेर्दा बुबा र हजुरबुबाको नाम लेख्ने ठाम हुने तर आमा र हजुरआमाको नाम लेख्ने ठाउँ नै नहुने । यो त मिलाउनुपर्‍यो नि !

नेतृत्वको पदमा पुगेपछि मैले पदीय जिम्मेवारीका कार्यक्रम, मिटिङ, पार्टी आदि कार्यक्रममा जानुपर्छ । विशेषगरी ककटेल पार्टीमा कहिलेकाहीँ एक्लो महसुस हुन्छ । म पिउँदिनँ । सबैजसोले पिइरहेका हुन्छन्, खाइरहेका हुन्छन् । मैले त अलिकति खानेकुरा खाने हो, त्यति भए पेट भरियो । मलाई लाग्छ, आर्थिकरूपमा महिला सशक्त नभएसम्म परिवर्तन सम्भव छैन । महिलाले पारिवारिक, सामाजिक, राजनीतिक विषयमा पनि चासो राख्नुपर्छ ।

मैले जीवित छँदै छोरा र छोरीबिच पैतृक सम्पत्तिमा हुने विभेद अन्त्य भएको देख्न चाहन्छु । एउटै आमाबाबुको छोरा करोडको गाडी चढेर पाँच तलाको घरमा बस्छ, छोरीले विवाह गरेर गई सम्बन्ध बिग्रियो, तर सम्पत्तिमा हक पाउँदिन । यसरी दाइभाइको आर्थिक हैसियत जन्मसिद्ध बलियो हुनु, दिदीबहिनीले पीडा र अपहेलना खेप्नुपर्ने अवस्था छ । यसको अन्त्य हुनुपर्छ ।

युवापुस्तालाई म के भन्न चाहन्छु भने तपाईंहरू आफ्नो सपनालाई पढाइ, मिहिनेत र अनुशासनले मजबुत बनाउनुहोस् । अधिकार माग्ने मात्र होइन, कर्तव्य पूरा गर्ने बानी बसाल्नुहोस् । समाजमा देखिने अन्याय, विभेद र हिंसाविरुद्ध नडराई आवाज उठाउनुहोस् तर तथ्यमा टेकेर, विवेकसहित मर्यादामा रहेर मात्र ।

युवापुस्ता यो देशको ठुलो शक्ति हो । यसैले सिपहरू सिक्नुहोस्, आर्थिकरूपमा आत्मनिर्भर बन्नुहोस् । सबैभन्दा ठुलो कुरा- मानिसप्रति सम्मान, इमानदार चरित्र र सकारात्मक सोच राख्न कहिल्यै नछाड्नुहोस् । यही तीन गुणले तपाईंलाई जीवनको हरेक मोडमा सही बाटो देखाउँछ र सम्मानजनक जित दिलाउँछ ।

प्रकाशन मिति : २०८३ असार २५ गते, बिहीवार

Share this :

Leave a Reply

Your email address will not be published. Required fields are marked *